पाहुनामहात्म्य

- होम सुवेदी

पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–“डेरा सरूँ अर्काे कुनै टोलतिर ।”
हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको थियो । मलाई पनि पाहुनाको समस्याले उभिन्ड्याइसकेको थियो । तर म भने कसै गरी थामिरहेको थिएँ । कुनै दिन पनि पाहुनाले एक्लै रहनै दिएका थिएनन् । कोही म्यानपावरका लागि अन्तर्वार्तामा आएका, कोही छोराछोरीको बिहेका सामान किन्न आएका, कोही औषधी उपचार गर्न आएका, कोही भिसा र पासपोर्ट बनाउन आएको त कोही केटी हेर्न आएका कोही प्रेमको फर्माइसका लागि । साँझ पर्नै पाउँदैन एक न एक जनाको आगमन भइहाल्छ । कहिले त निकै जनाको आगमन पो हुन्छ । कुनै एक राते मात्र त कुनै त निकै लामो समयको लागि पाहुना लाग्ने गरी आएका हुन्छन् । शहरको डेरा, जागिरे जीवन, भर्खरभर्खर बिहे गरेको, लगभग दाम्पत्यजीवनको आरम्भदेखि नै पाहुनाको पीडा भोगेकी मेरी श्रीमतीलाई अब थामिसक्नु भएनछ र मेरो मन बुझ्न भनी— “अब हामी कि एक कोठाको मात्र डेरा लिऊँ कि यहाँबाट अन्तै सरुँ । के भन्नुहुन्छ ?”
मैले उसलाई ठुटे अर्ती दिंदै भने– “हेर् केटी, डेरा सर्नु नै पाहुनाको पीडाबाट समाधान हुने उपाय होइन । भोलि यहाँको साटो त्यहाँ पनि पुगिहाल्छन् नि । तैंले एउटा कोठा मात्र लिनु भनिस् । यो पनि उचित होइन । तेरै माइतबाट तेरै आमा वा तेरै दाजुभाइहरु पनि त आउन सक्छन् । सधैं मेरातिरका मात्र आउँछन् भन्ने के छ र ? त्यस बेलाको समस्या कसरी टार्छेस् लौ भन् त ? बरु अरु कुनै उपाय सोच्नु पर्छ ।” मैले उसलाई थामथुम पारें । अनि कसै गरी पाहुनाको बोझ बोकैरै समय काटिँदै गयो ।
वास्तवमा मेरी बाहुनी निकै सहू रहिछे । मलाई यसमा निकै खुशी लागेको छ । उसका मनमा पाहुनाप्रति उति सारो अनादर गर्ने बानी छैन । मेरो पनि पाहुनाप्रति अनादर गर्ने बानी छैन । तर मलाई र मेरी बाहुनीलाई परेको मार्का भने बेग्लै छ । अरु अरुले बिहेभन्दा अघि नै सुहागरात मनाएर धुम गर्छन् आफूले भने बिहे भएको यतिका दिन भयो तैपनि आजसम्म पनि धीत मर्ने गरी र भनेजस्तो गरी सुहागराग मनाउन पनि पाएको छैन र आजसम्म पनि राम्रो गरी बिहे भएको मजा मनाउन पाएको होइन । बिहे हुनुभन्दा अघिदेखिका पाहुनाको खलिकप्पुर उस्ताको उस्तै । बिहेको पहिलो दिनमा समेत पाहुनाले छोडेनन् । त्यस दिनदेखि मात्र होइन त्यसपूर्वदेखि नै मेरोमा पाहुनाको दोहोरिलत्ता छ, छ । धन्न घरभेटी सहू परेछन् र मात्र नत्र भए उनले मेरो सातो लिने थिए । तैपनि उनी पनि मान्छे हुन्, कति दिन सहेर बसून् मेरा पाहुनाको पीडा !
एक दिन अचानक ढोका ढक्ढकाउँदै मेरो कोठामा घरभेटी पसे ।
“आज त तपाईंकोमा गुज्राँती भैंसी नै पो परेछन् कि क्या हो ? अघाउँजी खान दिनुभएछ क्यारे चर्पी र बाथरुम भरि गोब्¥याएछन् ! थलो चाँडै सोहोर्नुहोस् त ! यत्रो थास हग्ने यस्ता गुज्राँती भैंसीहरु नपाल्नुहोस् है ! घाँस धेरै नदिनुहोस् !” अनि मेरा अर्का कोठातिर जसमा सधैं पाहुना बस्छन् र आज राति पनि तीन जना पाहुना बसेका थिए तिर हेर्दै उनले फेरि भने–“गइसके गुज्राँती भैंसीहरु ? कि छँदैछन् ? छन् भने चाँडै लघार्नुहोस् ।”
उनले मलाई आज प्रकारान्तरले अलि गाली गरेको अनुभव भयो । घोसेघोसे मुन्टो लाएर चर्पीमा गएको त हेरिनसक्नु पो रहेछ । आज भने मलाई उनको चर्पी सफा गर्ने मेरै भाग लगाए । उनका भनाइअनुसार थासहरु मेरै पाहुनाका भएपछि अब कसले थला सोहोरोस् त ? स्वीपरले आनाकानी गरेको कारणले यसो भएको रहेछ । चर्पीभरि थासका थास र रासका रास छन् । छिप्पिएका र बटारिएका घोर्ले लिंडहरुले चर्पी भरिएको छ । यता थास छन् उता थास छन् । खुट्टो टेक्ने ठाउँ नै छैन । इज्जतका लागि भए पनि अब मैले नै त्यो सबै सफा नगरी भएन । गोब्र्याउने मेरा अतिथिका रुमपा आएका गुज्राँती भैंसीहशरु बिहानै धाइफल तोडिसकेकै थिए । यो सब देखाएर उनीहरुलाई नै सफा गर्न लगाउने अवस्था पनि थिएन । किनभने उनीहरु त मेरा अतिथिहरु हुन् । शास्त्रले पनि अतिथि देवो भव भनेकै छ । अनि म उनीहरुलाई अपमान कसरी गर्न सक्थें र ?
“घरपतिले भनेको कुरा त मैले बुझ्नै सकिनँ के भएछ ?” मेरी बाहुनीले बाथरुमतिर जाँदै मसँग सोधी ।
“तेरा बाजेले यहाँ के के गरेछन् हेर्न आइज न !” उसलाई भनें ।
उसले नजिकै आएर हेरी र भनी–“बल्ल आज तपाईंले भोग्नुभयो । म त सधैं यो अवस्था भोगिरहेकी छु । त्यसै हो मैले डेरा सर्ने कुरा उठाएको ?” उसले भनी ।
यस्तो स्थिति बेहोरेकी मेरी बाहुनीले अनि किन डेरा सर्ने कुरा नगरोस् त ! अनि त्यही मौका पारेर उसले अझै भनी “राम राम राम ! के भन्नु र ? कहिले पानीले चर्पी भरिएको हुन्छ । कहिले चर्पीको बाहिरै थासका थास जमाएका हुन्छन् । कहिले पानीको धारो खुलै हुन्छ । कहिले बिजुली दिनभर बलिरहेको हुन्छ, जाडाका बेलामा पनि कहिले पङ्खा घुमिरहेको हुन्छ । कहिले के कहिले के ! म त पाहुनाहरुदेखि आजित भइसकें ।” उसले पाहुनामहात्म्य लगाई र भनी । यस्तो कुरा भोगेर पनि मलाई थाहै नदिएको देखेर मेरी बाहुनीदेखि मलाई खुब माया लाग्यो । गाउँठाउँका बाहुनीहरु गाईभैंसीको थास समेत गनाउला झैं गरेर परपर सर्छन् यो मेरी बाहुनीचाहिँ मान्छेका राससमेत सोहोर्दी रहिछे । यस्तो भइन्जेलसम्म पनि मलाई थाहै नदिई भकारो सोहोर्नुमा मेरी बाहुनीको कम गतिली परिनछे भन्ने लागिलागी मैले मेरा पाहुनाहरुको भकारो सोहोरें । मेरा मनमा कुराहर पनि खेखिरहेका थिए– ‘यस्तो अवस्था बेहोरिरहेकी रहिछे, अनि यो मेरी बाहुनी किन नतिल्मिलाओस् त ! उसमाथि रासन सकिएको बेलामा टुप्लुक्क आइपुगेका पाहुनाले त मेरो र मेरी बाहुनीको मगजै तताइदिन्छ । आज भने पाहुनाबिनाको दिन भयो है भन्न कहिल्यै पाइन्न । साँझ पर्न लाग्यो कि टुप्लुक्क !’ उहिले उहिले चर्पी भरिन्छ भनेर पाहुना आएको देखेपछि घरपतिहरु त्राहित्राहि हुन्थे, तर यो समस्या अब उति छैन । खालि चर्पी फोहोर नहोस् भन्ने मात्र चिन्ता बुझिन्छ ।
कुनै उपाय गरेर मैले बाथरुम र चर्पी सफा गरें । साहूजीले हेरिरहेका रहेछन् । मेरी बाहुनीका कुरा पनि सुनिरहेका रहेछन् । “म जस्ता घरभेटी पाउनुभयौ भने त राम्रै होला नत्र भने डेरा सरेर यो समस्याको समाधान होला भन्ने मैले देखिनँ ।” उनले भने ।
“कसले डेरा सर्ने कुरा ग¥यो र ?” मैले थाहा नपाएझैं गरी भनेें ।
“मलाई थाहा छ तपाईको कुरा ! छाड्नुहोस् त्याँ !” घरभेटी भन्दै थिए । मैले बल्लबल्ल चर्पी सफा पारे्र । अनि उनी हलुकिन भित्र पसे । मैेले खालीखाल्सा गरिदिएँ ।
“तपाईंका लागि यो एक दिनको कुरा हो । मैले त यस्तो काम निकै दिनदेखि गर्दै आएकी छु !!” बाहुनीले फेरि भनी ।
‘“तेरो कुरा बुझें । म कुनै जुक्ती गरौंला । वास्तवमा निकै समस्या परेको रहेछ ।” मैले मेरी बाहुनीलाई थामथुम पारें ।
दिउसो भरी हाकिमको आदेश, र तोकलाई तामेल गर्दै दिमागमा कुनै कुरा खेल्नै पाएन । घरको समस्या समाधानका लागि कुनै सुझ दिमागमा चढ्नै पाएको थिएन । साँझ पर्न–पर्न लाग्दा डेरा पुगें । डेरामा पुगेको त के देख्छु भने—
मेरी बासै !! अघिल्ला रातकै जस्ता अतिथिदेवोभव पधार्नुभएको रहेछ । कोठामा पस्नुअघि नै कोठो डुङ गनायो । सिन्की, गुन्द्रुक र कुहिएको घिउ हालेको हर्पेको खुँगी गनाएको जस्तो गन्ध आयाो । बिस्तारै बिचार गर्दा उनीहरु घिउबेपारी नै रहेछन् । मनमनै भनेें घिउ भनेको त अमृत समान हो । बिहानको जस्तो नर्क गनाएको त होइन नि ! गन्धैले त के नै बिग्रिन्छ र ? सके घिउ नै पो ल्याइदिएका छन् कि ? मलाई अलिकति आशा पनि पलायो । तर कहाँ घिउ ल्याउनु अिितथिले ! उनीहरु त यता सहरमा गुन्द्रुक, सिन्की र घिउको बेपार कत्तिको हुन्छ त्यसबाट कत्तिको नाफा होला भन्ने बुझ्न र वजारको सम्भाव्यता अध्ययन गर्नका लागि पो आएका रहेछन् ।
“आज पनि चर्पी भरिने भयो अब कसरी सोहोर्ने हो ?” बाहुनी थक्थकाई ।
“चूप लाग् । म भोलिदेखि उपाय गर्छु ।” मैले भनें ।
“के उपाय गर्नुहुन्छ ?”
“हेरिमात्रै राख् न के गर्दाे रहेछु ।”
हाम्रा बीचमा त्यो साँझ कुरा चले । मैले उपाय गर्छु त भनें तर के उपाय गर्ने हो मलाई नै थाहा थिएन । रातभरि जस्तो सोचिरहें तर उपाय फुरेन । भोलिपल्ट अफिसमा पुगेपछि मलाई एउटा उपाय फु¥यो । मैले एउटा ठूलो फुलिस्केपमा कम्प्युटरमा लेखें र छापें—
यो कोठामा एक रात सुतेको रु २०० ।
दुई रातको ५००।–
तीन रातको १०००।–
(द्रष्टव्य ः तीन रातभन्दा बढी सुत्न÷बस्न पाइने छैन । खाएको अलग लाग्नेछ ।)
अब चर्पीका बाहिर पनि लेखेर पनि केही टाँस्नु पर्ने हो कि भन्ने सोच्दै थिएँ तर त्यसमा यो उपाय उति फलदायी होला जस्तो लागेन । किनभने घरका अरुअरु मान्छेहरु पनि चर्पीको त प्रयोग गर्छन् । उनीहरुको लागि पैसा लिने कुरा भएन । फेरि चर्पीको बाहिरपट्टि पैसा उठाउन को बस्ने ? यो उपाय उति राम्रो लागेन ।
तैपनि लेखें—
चर्पीको प्रयोग गर्नेले
एक जनाको रु १०।—
परिवारको रु. २५।—
भोलिपल्ट पाहुनाकोठाको बाहिर र चर्पीमा भित्रपट्टि देखिने गरी सूचना जारी गरें । साँझ पर्न नपाई आए खजन्ती ।
“सूचना राम्रो गरी पढ्नुहोला है !” मैले नडराईकन भनें— पाहुना महाशयलाई ।
पाहुनाले कुनै प्रतिक्रिया जनाएनन् । भोलिपल्ट बिहानै मेरी बाहुनीसँग तिनले पैसा थमाउँदै भने—“रत्नपार्कमा त्यति सस्तो चर्पी छ यहाँ को बढी तिरोस् ? चर्पी उतै गर्छु यो सुतेको चंै पैसा लेऊ त ब्वारी नानी !”
उनका हातबाट मेरी बाहुनीले २०० रुप्या लिएर मख्ख परी । मेरो जुक्ती देखेर ऊ निकै दङ्ग परेको अनुभव मैले गरें । तर त्यसै बेला पाहुनाले तुरुन्तै भने—“खोइ, बिल, भ्याटसहितको बिल दिनुपर्छ । नत्र हालिदिन्छु अख्तियारमा.........।”
अब प¥यो अर्काे फसाद । हे राम ! ‘अतिथि देवोभव भनेको कुरा गलत रहेछ । अब ता ‘अतिथि दैत्यो भव’ पो हुँदो रहेछ भन्ने लाग्दै थियो । मैले कुनै उपायले उनलाई बिदा गरें र तत्कालको समस्या समाधान गरें ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु