- सानु शर्मा

"ए ! नानी पनि नेपाली ?" कसैले मेरो काँधमा स्पर्श गर्दै भन्यो ।

एकमन त लाग्यो, सुनेको नसुनै गरेर अघि बढूँ तर फेरि अमिलो मनका साथ अनुहारमा बडो मेहनतले मुस्कान अन गरेर म स्वरधनीतिर फर्किएँ । मेरो सामुन्ने सर्ट, प्यान्ट र ढाका टोपीमा सुसज्जित अधवैंशे भलादमी उभिएका थिए ।

"हजूर !" मैले बिस्तारै भनेँ ।

"जाती भयो ! ट्रेन १६ मिनेट ढिला छ रे, कुरा गर्ने साथी भयो ।" उनले बडो विश्वास र आत्मीयताका साथ यसरी भने मानौँ उनको र मेरो गन्तव्य एउटै थियो । म केवल मुस्कुराएँ मात्र । तर वेचैन हुँदै मनले भन्यो, “उफ् ! अब कसरी काट्ने होला यो १६ मिनेट ?"

युजुअल्ली म ड्राइभ गर्छु तर यतिबेला गाड़ी सर्भिसिङमा थियो । त्यसैले काम सकेर ट्रेनमा घर फर्कंदै थिएँ ।

"नानीको श्रीमान् के गर्नुहुन्छ नि ?" अपेक्षित प्रश्नको यो पहिलो झटारो थियो उनको ।

मेरो विगतमा जे पनि थियो- राम्रो नराम्रो, त्यसलाई मेरो जीवनमा समावेश मान्छेहरुले त बुझेनन्, पत्याएनन् भने त्यसलाई म यी नितान्त बिरानाहरुसँग किन बाँडौं ? त्यसमाथि झुटो म बोल्न चाहन्नँ, सत्य म भन्न चाहन्नँ । त्यसैले पनि चुप बस्न रुचाउँछु । तर, यो समाज लठ्ठी लिएर पछि पर्छ । मल्हम लगाएको बहानामा घाउ खोतलेर झनै गहिरो बनाइदिन्छ । किन देख्न नसकेको होला यो समाजले मलाई केवल 'म' बनेर उभिएको ?

"म एक्लै छु ।" मैले यसरी भने मानौँ कुनै अपराधको स्वीकारोक्ति गर्दैछु ।

"ए ! त्यसो भए श्रीमान् नेपालतिरै ?" उनले प्रश्नको अर्को झटारो हाने ।

मेरो मनले आर्तनाद गर्‍यो- बस गर विद्वान ! एक्लै हुनुको अर्थ श्रीमान् नेपालमा हुनु होइन ! म डिबोर्सी हुन सक्छु । विधवा हुन सक्छु । डिफेक्टो/पार्टनर या अविवाहित हुन सक्छु । लेस्बियन हुन सक्छु र सबैभन्दा महत्वपूर्ण— मैले यो विषयमा केही भन्न/बोल्न नचाहेको हुनसक्छु ।

"आउने जाने त भइरहन्छ होला नि, होइन ?" उनी झन् उत्साहका साथ मेरो पछि परे ।

म अफ्ट्यारो मानेर चुप लागिरहेँ ।

"नर्स हो ?" उनले मेरो ड्रेस हेर्दै अर्को प्रश्न गरे ।

"हजुर !" मैले भनेँ ।

"स्टाफ नर्स ?"

मलाई थचक्क बस्न मन लाग्यो । के लिनुदिनु छ यिनको, मेरो स्टाफ नर्स हुनु या इनरोल नर्स हुनुसँग ?

"हजुर !" यो संस्कार भन्ने चिज पनि गतिलो होइन । सात समुन्द्रपारि आएर पनि टाँसिरहन्छ चेतनामा । त्यसैले त यो अब्युज सहन्छौँ हामी ।

"यहाँ त नर्सिङमा टन्नै पैसा कमाइन्छ भन्छन् । नानीले आफ्नै घर किनिसक्नुभयो कि भाडामा बस्नुहुन्छ ?"

हे भगवान ! यो १६ मिनेटभन्दा पहिल्यै कतै प्रलय त आउँदैन ? मेरो मन कल्प्यो ।

"हजुर ! आफ्नै घर छ ।"

"ओहो ! प्रगति राम्रो गर्नुभा रै’छ ।"

उनको स्वरमा खुसी थियो या ईर्ष्या, मैले वास्ता गरिनँ ।

"कति वर्ष भयो रे यता आउनुभएको ?"

"१४ वर्ष !"

"ए ! वर्ष पनि त निक्कै भएछ ।" अब उनी अभिभावकको रुपमा प्रस्तुत भए, "यसरी एक्लै बस्न हुन्न ! यति राम्रो कमाइ छ । घरबार छ । अब श्रीमानलाई पनि यतै ल्या..."

त्यसैबेला उतापट्टिको ट्रयाकमा विपरीत दिशातिर जाने ट्रेन आएर रोकियो । मैले उतै लम्कँदै भने, "माफ गर्नुहोला, मेरो ट्रेन आयो । पछि कुरा गरौंला ।"

म लगभग बन्द हुनै लागेको ट्रेनको ढोकाबाट भित्र हाम्फालेँ । ट्रेन अघि बढेपछि मैले देखेँ- ती भलादमी मुख बाएर मलाई लिएर अघि बढेको ट्रेनतिर हेर्दै थिए । उनको अनुहारमा अझै प्रश्नको थुप्रो बाँकी नै थियो ।

मैले लामो सास फेरेँ ।

यो कस्तो नियति हाम्रो ? हामी आफ्नो मेहनतले जहाँसुकै पुगौं, जेसुकै बनौं, हामीसँग पहिलो भेटमा/कुराकानीमा सोधिने प्रश्न यिनै हुन् । किन हामीलाई एउटा पुरुषसँग नजोडिकन हेरिन्न ? किन जरुरी छ एउटी स्त्रीले बाउसँग, लोग्नेसँग या सन्तानसँग जोडिएर प्रस्तुत हुन ? के हाम्रो व्यक्तित्व/अस्तित्व त्यति नै गौण छ कि हामी अरु कसैसँग नजोडिई पूर्ण हुनै सक्दैनौ ? किन हामीसँग केवल हाम्रो बारेमा सोधिँदैन ? हामी जे छौं, जस्तो छौं, त्यस्तै प्रस्तुत हुन किन सक्दैनौँ ? किन हाम्रो अगाडि, पछाडि र दायाँवायाँको खानतलासी नगरी हाम्रो अस्तित्व स्वीकार्नै सक्दैन यो समाज ? एउटै हातका सबै रेखा त समान हुँदैनन् भने जिन्दगी एकसमान र सीधा हुने त कुरै आएन । मेरो पनि छैन र म यो कुरा हरेकसँग बाँड्न चाहन्नँ । यो चाहनु किन मेरो व्यक्तिगत हुन सक्दैन ? मेरो दुःख मेरो सुख र खुसीको जिम्मेवार हिजो जो—जो भए पनि आज म खुद छु । यो 'म' बन्नलाई धेरै हण्डर खाएकी छु मैले । धोका पाएकी छु । दुखेकी छु । दुखाइएकी छु । तर, अब त्यो विगत भैसक्यो । अब म जे छु, जस्तो छु, केवल 'म' छु । यो मेरो 'म' लाई कसैले बोकेन । कसैले डोर्‍याएन । अँ, आमाले नौ महिना गर्भमा बोकेको म नकार्दिनँ । १२-१४ वर्ष डोर्‍याएको पनि स्वीकार्छु । त्यसपछि त 'म' आफैं हिँडें । लडें । ठक्कर खाएँ । दुखेर रोएँ र फेरि उठेर हिँडेँ । यसरी कैयौं ठक्कर खाएर 'म' बनेकी म किन कसैलाई भागीदार गराऊँ मेरो 'म' मा ? जब मेरो चोट, आँशु, एक्लोपन मेरो मात्रै थिए भने मलाई अरु कुरा बाँड्न किन कोही चाहिन्छ ?

मन नचाहँदा नचाहँदै पनि गुणराज गौतमलाई सम्झन पुग्यो ।

"धन्यवाद बा ! मलाई 'म' बन्न सहयोग गर्नुभएकोमा ।" म बिस्तारै बडबडाएँ ।

० ० ०

"के गर्छेस् बिहे नगरेर ?" आमा गर्जिनुभयो ।

"पढ्छु ।" मैले रुँदै भनेँ ।

"कल्ले पढाएर पढ्छेस् ?" आमा मभन्दा ठूलो स्वरमा रुन थाल्नुभयो, "हात मुख जोर्न गारो छ । ४-४ जानामा एकजना कम भए पनि मलाई अलि सजिलो हुन्थ्यो । दुःख बुझ्ली भन्यो तर के गर्नु आफ्नो त कर्मै उस्तो ।"

आमाको आँशु मेरो सबैभन्दा ठूलो कम्जोरी । तर त्यतिबेला मैले ती आँसुलाई देखेको नदेख्यै गर्ने कोसिस गर्दै भनेँ, "मै किन त ?"

"अरु को त ?" अब आमा जंगिनुभयो, "तँ अर्काको घर जाने जात, तैंलै दाइहरुको बराबरी गर्न मिल्छ ? बाउ भैदिएका भए कुरा अर्कै थियो तर तेरो अलक्षिनको ग्रह ! जन्मनासाथ बाउलाई खाइस् । अब के मलाई पनि मारेरै चैन आउँछ तँलाई ?"

आमाको यो आरोपले सधैं अधमरो पार्छ मलाई । मिल्दो हो त म अझै तयार थिएँ बाबाको ठाउँमा आफू गएर बाबालाई फिर्ता ल्याउन । तर त्यो सम्भव थिएन, त्यसैले आमाले लगाएको त्यो आरोपले अधमरो बनाउँछ मलाई । बारम्बार ।

हाम्रो घरको आर्थिक स्थिति पटक्कै राम्रो थिएन । बाबाले जोडेको जति सबै काकाहरुले कुम्ल्याएर अनपढ आमालाई बिचल्ली पारेर छोडेका थिए बाबाको मृत्युपछि ।

२७ वर्षकी ३ सन्तानकी आमा आजसम्म कसैगरी हामीलाई पालपोस गर्दै हुनुहुन्थ्यो ।

बाबा बित्दा ठूलो दाइ सात वर्षको, माहिलो दाइ पाँच र म तीन वर्षका थियौं । धन्न माइती सहयोगी नै थिए, त्यसैले चल्दै थियो आमाको घरबार कसैगरी ।

आफ्नो छोराको लागि मेरो ठूलोबुबाको मभन्दा ६ वर्ष जेठी छोरीलाई हेर्न आएका गुणराजलाई कुन्नि के मनपर्‍यो ममा, उनले मलाई रोजे आफ्नो छोराको लागि । म, जो गाउँभरिमै बेढंगी र बदमाश मानिन्थेँ । न बोल्ने ढंग थियो न अरू केही कामको । गाउँ चहारेर हिँड्ने मेरो खुबी एउटै थियो- गाउँभरिमै सबैभन्दा सुन्दर थिएँ । धूलो, मैलोले ढाकिएको मेरो सौन्दर्यले या केले प्रभावित गर्‍यो बूढालाई, उनले अड्डी कसे- मलाई नै बुहारी बनाउने ।

ठूलोबाउ र अरु नातागोताले उनलाई सम्झाउनुसम्म सम्झाएर थाके हाम्रो घरको डामाडोल आर्थिक स्थितिको बारेमा । मेरो उद्दण्ड बानीव्यहोराको बारेमा । र टन्नै दाइजो दिने प्रलोभन पनि देखाए । तर, बूढा कसैगरी राजी भएनन् ।

अन्त्यमा मलाई अघि लगाएर उनी हाम्रो जीर्ण खण्डहर घरमा पुगे ।

त्यहाँ उनले कुनै भूमिका नबाँधिकनै भने, "लम्जुङको गौतम हुम् । पुर्खौली जेथा जमिन टन्नै छ । तीन भाइ छोरामध्ये दुईको बेवारी भैसक्यो । दुई बहिनी छोरीमध्ये एउटीको उतै गाउँतिर बे भा'छ । यौटी यतै कठमाडौंमा छे । ज्वाइँको घर त चित्तौनतिर हो तर काम काठमाडौंमै अर्छन् । कान्छो छोरो विदेशाँ छ । यो असाराँ बे अर्न बोलाम्दैछु तेल्लाई । उसैलाई भनेर तपैंको जेठाजुकी छोरी हेर्न आ'को," उनले पुलुक्क मलाई हेरे अनि जोडे, "तर मलाई यी नानी मन परिन् । हुन्त मेरो छोरो उमेराँ अलि जेठै छ यीभन्दा तर लोग्ने छोराआ उमेर कल्ले हेर्छ ? छोरी दिनयो भने हामी सुखले पालम्ला । दुईछाक खान लाउन कुनै कमी छैन ।" उनले कुरा टुंग्याएर आमालाई हेरे । आमालाई आपत्ति त के हुन्थ्यो र, तर बिहे गर्ने खर्चको समस्या थियो । आमाको समस्याको समाधान पनि उनैले निकाले । मन्दिरमा टीकाटालो गरेर लैजाने । उता गाउँमा गएर ठूलो भोजभतेर गर्ने । आमालाई अरु के चाहिन्थ्यो ?

उनले खल्तीबाट एउटा पचासको र एउटा एकको नोट झिकेर मेरो हातमा हाले र मेरो धूलोमैलोले भरिएको टाउकोमा आशीर्वादको हात राखे ।

त्यो दिन सारा आफन्तको विरोधको विरुद्ध मेरी आमाले त्यो चिन्दै नचिनेको मान्छेको देख्दै नदेखेको छोरोसँग मेरो बिहे छिनिदिनुभयो ।

असार आउन केवल एक महिना बाँकी थियो । मेरो स्कुल नछोड्ने रुवाबासी र बिहे नगर्ने जिद्दीको केही जोर चलेन ।

आखिरमा असारको एउटा कालो दिनमा लगभग १४ वर्षकी म गौरी न्यौपाने आफू जन्मिएको थलो, पढेर लेखेर बाबाजस्तै पुलिस बन्ने सपना र सँगै खेले कुदेका साथीसंगीलाई लाई छोडेर सहस्र धारा आँशुका साथ धादिङ बेसीबाट बिदा भएँ ।

बाटोभरि पनि ससुराले नै मेरो सोधखोज गरिरहे । लोग्ने भनेको जन्तु मभन्दा पाँच हात परपरै रहे । मलाई पनि ससुरासँग भन्दा धेरै डर राम्ररी अनुहारै नदेखेको उनैसँग लागिरह्यो ।

कच्ची बाटोमा धूलोमैलो हुँदै हामी- ससुरा, तीनजना जेठाजु, एउटी आमाजू, उनका श्रीमान्, उनीहरुका दुई छोरा, मेरो लोग्ने र म गाउँ पुग्यौं ।

जिप खोलाको छेउमा रोकिएपछि उनीहरुले पोकापन्तुरो र सुट्केश बोके । मेरा दुबै हात पहिलोपल्ट भिरेको साडी स्याहार्नै व्यस्त थिए । पसिनाले निथ्रुक्क भिजेकी थिएँ । त्यसमाथि सुक्दै बग्दै गरेको आँशुधाराको डाम राम्रै बसेको थियो गालामा । ससुरा घरिघरि अडिएर मलाई सहनुभूतिपूर्ण भावले हेर्थे र आमाजूलाई मेरो ख्याल गर्न भन्थे । आमाजू मुखले त केही बोल्थिनन् तर अनुहारमा तीतो भाव छाउँथ्यो उनको । ससुराले सबैलाई बूढी औंला तल दबाएर राखेका थिए- मलाई यो अनुभव भैसकेको थियो यी दिनहरुमा । के छोरा के छोरी, सबैको पसिना छुट्थ्यो उनको सामु उभिँदा मात्रै पनि । खासगरी मेरो लोग्ने हुनेको । मलाई भने उनी सबैभन्दा जाती लागे । रिस एउटै कुराले मात्र उठेको थियो- उनले गाउँभरिका केटीहरुमा मलाई नै किन चुने आफ्नो बुहारी बनाउन ?

लगभग २० मिनेट हिँडेपछि हामी घर पुग्यौं ।

वनको पुछारमा कमेरोले पोतेको, घुमाउने बार्दली भएको बडेमानको घर । म अलि चनाखो भएँ । आमाजुले अघि बढेर मेरो पछेउरा तानेर अनुहार लगभग छोपिदिँदै भनिन्, "टाउको ढाकिराख् ! नयाँ बेहुलीले अनार ह्वाङ देखाको रुचाइन्न ।"

उनको स्वरको कडाइले मेरो मन चिसो भयो । मैले एउटा हातले साडी र एउटाले पछ्यौरा समातें । पछेउराले लगभग अनुहार ढाकेको थियो मेरो, त्यसैले कहीँ ठोक्किएँ र लडखडाएँ । त्यतिबेला मेरो पछाडि भएका ससुराले लम्केर मेरो पाखुरा थामे र कराए, "ल ल ल ! "

आमाजू र जेठाजुहरुले मुखामुख गरे ।

ससुरा बाजे कड्किए, "ओइ भरते ! बज्जे ! जाहनलाई सँगै नहिँडा'र... झन्नै लडेकी । लौ सँगै हिँड !"

बूढाले पछि हटेर छोरालाई अगाडि आउन इशारा गरे ।

उनी मेरो छेउमा आएर उभिए ।

"ऐया !" मेरो मुखबाट अनायास निस्कियो । मलाई लाग्यो मेरो लोग्नेले जानीजानी मेरो खुट्टामा टेकिदिए ।

"के भयो ?" अघि बढिसकेका ससुराबाजे पछाडि फर्किए ।

"केही होइन बा !" मेरो लोग्नेले मेरो पाखुरा समाउँदै भने । ससुराले एकैछिन हामी दुबैलाई हेरे र अघि बढे ।

मैले आफ्नो पाखुरा उनको समाताइबाट फुत्काएँ किनकि उनका औँलाहरु मेरो पाखुरामा सुइरोझैं गाडिएका थिए । उनी जानीजानी मलाई दुखाइरहेकाथिए, यो सोचेर मेरो ओभाएका आँखा फेरि भिजे ।

त्यो घरको चिसो न चिसो वातावरणले मेरो स्वागत गर्‍यो । मेरो त्यहाँ भित्रनुले कोही खुसी भएको जस्तो लागेन मलाई । छिट्टै नै मलाई थाहा भयो- म ससुरा बाजेको रोजाइबाहेक अरु कसैको रोजाइमा पर्थिनँ । म त मेरो लोग्नेको रोजाइमा पनि पर्थिनँ, जोसँग मेरो भविष्य, मेरो जिन्दगी बाँधिएको थियो ।

बिस्तारै-बिस्तारै मेरो जिन्दगीका सबैभन्दा कठिन दिन सुरु भए । ससुराले पक्ष लिइदिने भएको भएर बाँकी घरकाहरुको आँखाको छारो भएँ म । खासगरी सासू त मलाई देख्न सक्थिनन् । बाहाना खोजीखोजी दुःख दिन्थिन् । ससुराले केही भनेदेखि रोएर, खाना नखाएर घुर्की लगाएर थलै परिदिन्थिन् । म सबैसँग त्राहिमाम रहन्थेँ । बोल्न त मैले बिहे भएकै दिनदेखि छोडिदिएकी थिएँ ।

मेरो लोग्ने २० दिन पनि घर नबसी अस्ट्रेलिया फर्किसकेका थिए ।

मेरो दिनचर्या बिहानको ४ बजेबाट सुरु हुन्थ्यो र राति ११-१२ बजे सकिन्थ्यो । बिहान अगेनामा आगो सल्काएर, बढारकुँढार गरेर, खोलामा नुहाइधुवाइ गरेर खोलाबाट २-३ खेप र कुवाबाट दुई खेप पानी ओसारेपछि बल्ल सूर्यनारायणले दर्शन दिन्थे । कुवा अलि टाढै थियो तर खोलाको पानी पिउने लायक मानिन्थेन । त्यसैले जति टाढा भए पनि कुवासम्म धाउनैपर्थ्यो ।

मेरो लागि सबैतिर समस्यै समस्या थियो । फरिया चोलो कहिल्यै नलगाएकीले त्यो स्याहार्दा स्याहार्दा हैरान हुन्थेँ । पेटीकोटबिना बाँधेको त्यो सुतीको बाक्लो न बाक्लो फरिया जतिबेला पनि खुस्किने डरले त्राहिमाम रहन्थेँ । त्यसमाथि भित्री वस्त्र लगाउने चलन थिएन त्यो ठाउँमा । खासगरी भित्री बस्त्र लगाउने स्त्रीलाई त्यहाँ राम्रो दृष्टले हेरिन्थेन । त्यसैले पहिलो दिन खोलामा नुहाउँदा अरु कसैले नलगाएको र धोएर सुकाउन लाज लागेकोले मैले आफ्नो चिसो कट्टु खोलामै बगाइदिएँ । साथमा आफ्नो आत्मविश्वासलाई पनि ।

त्यसपछि मलाई आफू सधैं नांगै भएजस्तो अनुभूतिले राम्ररी सास फेर्न पनि दिन्थेन । सारा समय आफैँभित्र आफूलाई खोजिरहन्थें म ।

घाँस दाउरा गर्नु । मेलापर्म गर्नु । सबैको सुन्नु र आफ्नै बोली सुन्न कान तर्सनु । राति सासूको खुट्टा मिच्दा मिच्दै थकाइले चुर भएर उँघ्नु र सासूको लात खानु । यही थियो मेरो दैनिकी । मलाई जतिबेला पनि यही लाग्थ्यो- म यौटा यस्तो पिँजडामा कैद थिएँ जहाँ सास पनि अरुको इच्छाबिना फेर्न निषेध थियो ।

पढाइ मेरो एउटैमात्र सौख थियो मैले जाने बुझेदेखि र त्यही छुटेको दुःख सबैभन्दा धेरै थियो मलाई ।

यहाँ घरमा जेठाजुहरुका प्रायः सबै छोराछोरीहरु स्कुल जान्थे । म उनीहरुलाई ड्रेसमा सजिएर झोला बोकेर स्कुल गएको लोभलाग्दो आँखाले हेरिरहन्थेँ ।



सधैं एक समानको दैनिकी यति निरस र कठिन थियो, कहिलेकाहीँ मलाई आफूलाई जिउँदो छु भनेर जाँच्न चिमोटेरै हेर्नुपर्थ्यो । घचघच्याउनै पर्थ्यो आफूलाई । त्यसैले पनि आफूलाई भुलाइराख्न एउटा बहाना खोजेकी थिएँ मैले । म जेठाजुका छोराछोरीका पुराना किताब कापीहरु लुकाएर घाँसपात गर्न जान्थेँ र काम छिट्छिटो सकेर ती किताब पढ्थेँ । कापीमा मनको बह लेख्थें । किताब कापी र पेन/पेन्सिलसँग अनौठो लगाव थियो मेरो । लेख्नु, पढ्नुले मलाई त्यो कष्टकर जीवन बाँच्ने हौसला दिएजस्तो लाग्थ्यो । म आफूले लेखेको अक्षरहरुमा आफ्नो आवाज सुन्थें । किताबहरुसँग बात मार्थें ।

त्यो दिन गोठमा घाँसको भारी बिसाएर डोकोमा गाग्री बोकेर पँधेरा जान लागेकी मलाई पछाडि हात गरेर आँगनमा उभिएका ससुराबाजेले बोलाए,"कान्छी ! याँ सुन् त !"

म गएर उनको सामु टाउको झुकाएर उभिएँ । ससुराबाले एकैछिन मलाई तलदेखि माथिसम्म हेरे र आफ्नो हात अगाडि ल्याए ।

मेरो सातोपुत्लो उड्यो । त्यो दिन मैले साथै लगेको किताब सधैंझैं घाँसको भारीबाट झिकेर लुकाउनै बिर्सेछु।

"अ...ब गर्दिनँ.. अब आइन्दा म किताब छुँदा पनि छुन्न.. सत्ये, धरोधर्म !" म रुन थालेँ ।

"के तालकी रै'छ ?" बूढा कराए, "कल्ले के भन्य छ र रो'की ?"

म डराएर चुप लागेँ ।

"तँलाई पढ्न रहर लाउँछ ?" यसपटक उनले नम्र स्वरमा सोधे । मेरो बोल्ने हिम्मत भएन ।

"हैन मुखाँ दै जमाआ छस् कि क्याहो ? बोल्न सउदिनस् ?"

"म... मन लाग्छ... ।" मैले आत्तिँदै भनेँ तर तुरुन्तै जिब्रो टोकेँ । शायद त्यो उत्तर सही थिएन ।

"हुँ !" बूढा केवल हुँकार भरेर त्यो किताब मेरो हातमा थमाएर अघि बढे । म जिल्ल परेर त्यहिँ उभिइरहेँ ।

दोस्रो दिन खाना खाँदा उनले आफ्नो हुकुम जारी गरे, "कान्छीलाई पढाउन मास्टर आउँछ घरआँ भोलिदेखि । येल्लाई साँझाँ घण्टा दुइएक कुनै काम नलाउनू ।"

उनको त्यो हुकुमले बिस्फोटको काम गर्‍यो । सासूले हंगामा मच्चाइन् । घरमा मप्रति जो अलिअलि दयाभाव राख्नेहरु थिए, ती पनि मेरो विरुद्ध भए तर ससुरा टसकामस भएनन् । सासू एक हप्ता ओच्छ्यानबाट उठिनन् तर ससुराले मेरो पढाइ बन्द हुन दिएनन् ।

सधैं 'बिरामी भएँ' भनेर टाउकोमा यत्रो फेटा गुथेर लडिरहने मेरी सासू एकदिन साँच्चैनै सिकिस्तै भइन् । उनलाई धामी झाँक्री र फुकफाकमै आस्था थियो, त्यसैले उनले ससुरा बाजेको अस्पताल जाने कुरा ठाडै नकारिदिइन् ।

झारफुक, धामी झाँक्रीको चक्करमा २-३ महिना बित्दानबित्दै सासूको पेट डम्म फुलेर आयो । अगाडि पछाडिबाट पिप र रगत बग्न थालेपछि सबै मिलेर उनलाई जबर्जस्ती अस्पताल पुर्‍याए ।

पेटको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेकोले अस्पताल र डाक्टरले गर्न बाँकी केही बचेको थिएन । अत: सबैको विरोधको विपरीत ससुराले उनलाई घर फिर्ता लिएर आए ।

सासू हलचल गर्न सक्थिनन् । सडेको रगत र पिपको दुर्गन्धले कोही छेउछाउमा पर्न खोज्दैनथे । ससुरा एकजना बडो निष्टापूर्वक उनको ख्याल गर्थे तर फोहर सोहर्नु, सासूलाई सफा गर्नु उनको पनि वशमा थिएन । सासूको दुर्गति देखेर भन्दा ससुराको बाध्यतासँग दया लाग्थ्यो मलाई । बिस्तारै सासूको सारा स्याहारसुसारको जिम्मा मैले लिएँ । बिना कुनै हिचकिच म उनको फोहोर सफा गर्थें । सधैं सफासुघ्घर राख्थेँ उनलाई । उनको खुवाइ, पियाइ, नुहाइधुवाइ सबैको जिम्मा मेरो थियो । रातदिन उनलाई रुँगेर बस्थ्यौं हामी ससुरा बुहारी । सासूकै काममा हरघडी व्यस्त रहने भएकाले ससुरा बाजेले मलाई अरु कुनै काम नलगाउन आदेश जारी गरिदिए घरमा, जुन कसैलाई मन परेन ।

दुई-चार गाउँमै धाक जमाएका, गाउँकै मुखिया, मेरा ससुराबाजेको भनसुनले गाउँको स्कुलमा भर्ना गरिएकी म स्कुल नगए पनि गएल हुन्थिनँ । सासूको स्याहारसुसार गर्दै मैले घरमै पढेर ९ कक्षाको जाँच दिएँ ।

ससुराबा त सधैं ख्याल राख्थे मेरो, बिस्तारै सासूको पनि मन पग्लियो । उनी प्राय: आँखाभरि आँशु बोकेर मलाई हेरिरहन्थिन् । कहिलेकाहीँ मेरो हात थामेर भन्थिन्, "तेरो गुन कसरी उतारौंला कान्छी म ?"

म उनलाई अँगाल्थेँ । त्यतिबेला म मनले चाहन्थेँ- उनी ठीक भैदिऊन् । मलाई सताउन, दुःख दिनै सही- ठीक भैदिऊन् उनी ।

लगभग १०-११ महिना काट्नु गोता काटेर सासूले आफ्नो सडेगलेको देह त्यागिन् । तर देह छोड्नुअघि उनले मेरो हात थामेर ससुरासँग अस्पष्ट स्वरमा भनिन्, "एसको राम्रो हेरचार अर्नू ।"

ससुराले कैयौं पटक खबर पठाउँदा नआएका मेरा श्रीमान् आमाको मृत्युमा घर आउन बाध्य भए ।

१३ दिन बितेपछि बल्ल उनको आँखा मेरो भर्खर फक्रदै गरेको रुप, यौवनमा पर्‍यो । उनको आँखामा लालच भरियो ।

मदेखि पाँचहात पर उभिने उनी मेरैवरिपरि मडारिइरहेको देखेर ससुराबाजेले सबैभन्दा पहिले हाम्रो बिहे दर्ता गराइदिए ।

ससुराबाजे उनीसँग मलाई साथै लैजान आग्रह गरिरहे तर उनी 'जानेबित्तिकै कागज बनाएर पठाउँछु' भनेर टारिरहे । यसपटक २०-२५ दिनको लागि भनेर आएका उनी बिदा थपेर ४५ दिनको काम नसकुन्जल बसे र घर बसुन्जेल उनले मेरो शरीरमाथिको आफ्नो हक, अधिकार राम्रैसँग उपयोग गरे ।

यो पटक उनी घर छोडेर जाँदा मेरो मन पनि उनको पछि लाग्यो । म कैंयौ दिन उनलाई सम्झीसम्झी रोएँ ।

यसबीच मेरो एसएलसीको नतिजा निस्कियो । चोरचार गरेरै भए पनि प्रथम श्रेणीमा पास भएछु म । ससुरा बा दंग परे । तर, घरकाहरु अब ससुरा बा र मेरो सम्बन्धलाई अर्कै रंग दिन थालेका थिए ।

"तरुनी ब्वारी च्याप्न रै'छ र पो जहानलाई ओखतीमूलो नगरी मारे... पापी बूढ़ा !" जेठानीहरुको मुखबाट निस्किएका ती बिखभन्दा पोल्ने शब्दहरु सुनेर पनि मैले कान थुन्नुशिवाय अरु केही गर्न सकिनँ । कसैसामु ती पाप मुछिएका शब्दहरु दोहोर्‍याउने मेरो साहस भएन ।

"आफ्नालाई रोज्या रछन् र पो कसैको कुरो नसुनेका ! नत्र यो माग्नेकी छोरी किन रोज्थे ? सोधखोज अर्ने माइती मावली नभ'र पो मरिहत्ते अरेका रछन् बूढाले ।" ससुराको अगाडि कसैको केही भन्ने हिम्मत नभए पनि मेरो सामु उनीहरु यस्तै कुराहरु दोहोर्‍याइरहन्थे ।

"बूढी कुर्ने भनेर बस्थे ससुरा ब्वारी रातैभरि । क्यार्थे क्यार्थे ? कस्ले देख्याथ्यो र ?"

"त्यैभ'र त यल्ले जे भने नि सुन्छन् । होइन भने हाम्लाई किन फुट्या आँखाले देखिसहन्नन् ? बाबै नि, ब्वारी च्यापेर सुत्ने कस्तो पातकी बूढो ?"

घरमा सुरु भएको कुरो गाउँमा फैलन कत्तिबेर लागेन ।

अब म बाहिर निस्कँदा गाउँलेहरु मलाई विचित्र भावले हेर्थे र खासखुस गर्थे ।

"हैन ए गौरी ! तिम्रो पोइले लाँदैनन् कि क्या हो हँ तिम्लाई ? बे अरेको यत्रा वर्ष भैगयो, कि ससुराबाजेले जान दिन्नन् ?" सबै मेरो खिल्ली उडाउँथे । तर कुरा यति भयावह लाग्थ्यो मलाई, म ससुराबाको अगाडि उच्चारण गर्न सक्थिनँ ।

भन्छन्- राम्रो कुरामा त्यति प्रभाव हुन्न कि त्यो हरेक कानसम्म पुग्न सकोस् तर नराम्रो कुराले हरेक कानसम्म पुग्ने बाटो भेट्टाएकै हुन्छ । शायद ससुराको कानमा पनि यी कुराहरु पुगेर नै होला, एकदिन उनले मलाई आफ्नो लुगाफाटो पोको पार्न अह्राए र कसैसँग एक वचन नबोली मलाई लिएर जिप चढे । मलाई लाग्यो- उनी मलाई मेरी आमाको जिम्मा लगाउन जाँदैछन् । साँच्चै भन्ने हो भने मलाई आमाको घर जाने इच्छा पटक्कै थिएन । मैले आमाले लगाएको आरोप र दाइहरुलाई साथमा राखेर मलाई त्यति कलिलो उमेरमा त्यसरी पाखा लगाउनुभएको बिर्सनै सकेकी थिइनँ । त्यतिबेला त म अटिनँ उहाँको घरमा, अहिले त झन् के साथमा राख्नुहोला उहाँले मलाई ? के-के आरोप होलान् उहाँसँग, म घरबाट लखेटिएकी मान्छेको लागि ? यी वर्षहरुमा पनि म धेरै कम गएकी थिएँ आमाको घरमा । उहाँले मेरो कलिलो मनमा लगाउनुभएको चोटले अझै रन्थन्याइरहन्थ्यो मलाई बेलाबखत ।

मेरो सोच गलत निस्कियो ।

ससुराबाले मलाई काठमाडौं आफ्नी छोरीकोमा पुर्‍याए । हामीलाई देखेर आमाजूले मुख बिगारिन् तर ससुराबाले परवाह गरेनन् ।

त्यहाँबाट उनले मेरो लोग्नेलाई पटक-पटक फोन गरेर मलाई लैजान भने तर मेरो लोग्नेको एउटै जवाफ थियो- मैले अंग्रेजीमा भनेजति नम्बर नल्याएसम्म उनले मलाई लैजान मिल्दैन । टाढाको कुरा थियो, ससुराबाको बाध्यता थियो विश्वास गर्नैपर्ने । तर, ससुराबा मलाई कसैगरी अस्ट्रेलिया पठाउन कटिबद्ध थिए, त्यसैले सोधखोज गर्न एजेन्सी पुगे । त्यहाँ सोधखोज गर्दा पढ्न जाने भिसा पाए कसैले लैजानै पर्दैन भन्ने बुझे र मलाई एजेन्सीले व्यवस्था गरेको अंग्रेजी पढ्ने क्लास ज्वाइन गराइदिए- मैले विरोध गर्दागर्दै पनि ।

भनेजति स्कोर ल्याउन सक्ने क्षमता आफूमा नभएको कुरा जब मैले डराईडराई उनलाई भनेँ, उनी साँच्चै रिसाए ।

"जतिसुकै पैसा खर्च होस्, तँलाई जतिसुकै दुःख होस्, तैंले यो पास अर्नैपर्छ तेरालाई नभए' नि मेरालाई ।" बूढाको स्वर रुँघियो । त्यसपछि मैले केही भन्न सकिनँ ।

आमाजू मलाई आफ्नो घरमा राख्ने पक्षमा थिइनन् तर ससुराले महिनावारी रकम भर्न कबोल गरेपछि ससुराका ज्वाइँ राजी भए ।

लगभग दुई वर्ष मैले आमाजूको बुहार्तन खपें । उनको भात भान्सा र घर स्याहारेँ । एकरात नबिराई उनका खुट्टा मिचें । उनको लोग्नेले जाँडले टिल्ल परेर गरेको अभद्र व्यवहार सहेँ । छुद्र वचन सहेँ तर आईईएलटीएसमा चाहिएजति स्कोर ल्याएँ र साथमा प्राइभेट पढेर परीक्षा दिई आईकम पास गरेँ । ससुराबाको छाती नाङ्लोजत्रो भयो ।

यसबीच म न आमाकहाँ गएँ न गाउँ । बरु ससुराबा नै आइरहे आक्कल झुक्कल काठमान्डू ।

त्यसपछि एजेन्सीमार्फत सिड्नीको एउटा राम्रो युनिभर्सिटीमा नर्सिङका लागि अप्लाई गरें ।

भिसा हातमा परेपछि टिकट बुक गरेर ससुराबाले छोरालाई म जाने फ्लाइटको नम्बर टिपाए र मलाई लिन एयरपोर्ट आउन कडा हुकुम जारी गरे । म भने साह्रै डराएकी थिएँ । कसरी पुग्छु, लिन आएनन् भने के गर्छु, कहाँ जान्छु ?

मैले ससुरा बासमक्ष आफ्नो डर पोखेँ ।

"के कुरा अर्छे यो ?" बूढा जंगिए, "यत्रो औंरैजी पढाको के काम ? म पढ्दै नपढ्या मुन्छे काँ'ट काँ पुग्छु, तँ यत्रो पढेकाले यस्ता कुरा अर्न स्वाउँछ ? लाछी । काँतर !"

"लिनै आउनुभएन भने ?" मैले हिम्मत गरेर भनेँ ।

"के भो त ? तँसँअँ ठेआना छँदैछ ट्याउसी समा'र जा ।"

"भित्रै हुल्नुभएन भने ?"

"कसरी हुल्दैन ?" बूढालाई भन्न सजिलो थियो, भनिदिए, "स्वास्नी पो हो, खेलाँची हो र ? केई गरी निहुँ खोज्यो भने बे दर्ता अरेको चिर्कटो लिएर पुलिसाँ जा र उजुर अर्दे ।"

र, त्यो दिन जन्म दिने आमाले झैं चार चौरास सम्झाएर बुझाएर ससुराबाले मलाई एयरपोर्ट ल्याएर छोडे । त्यो दिन पो मलाई लाग्यो मेरो बिहे भएजस्तो ।

अलग्गिने बेलामा बूढाले मेरो हातमा फेरि केही पैसा थमाउन खोजे ।

"दिइसक्नुभाछ त्यत्रो पैसा, अरु चाहिन्न...।" मैले विरोध गर्न खोजेँ ।

तर उहाँले जबर्जस्ती मेरो हातमा पैसा राख्नुभयो र स्नेहपूर्ण स्वरमा भन्नुभयो, "राखिहाल्, विदेशा ठाम । छोरी मुन्छे, पहिलो बाजी जानला' । भरतेले के कस्तो अर्नी हो ! जतन अरेर राख् !"

मेरो मन पग्लियो र आँखामा छचल्कायो ।

"यसरी मन सानो अर्नलाइस् भने के अरेर टिक्छेस् त्याँ ?" उनले भिजेको स्वरमा भने, "जे जस्तो आपदविपद आइपरोस्, त्यतै टिकेस् । गारो साउँरोमा मलाई सम्झेस् तर घर माइती छँदै छैन भन्ने जानेर त्यतै मन भुलाएस् । के अर्नी, आफूले पनि खासै केई अर्न सकिनँ । पैले सोच्थें- दुनियाँ हाँक्न सौछु तर आफ्नै घरकाले यति निर्धो बनाइदे, मन परेर भित्राकी ब्वारीलाई एक्लै डाँडा कटाउँदैछु । तँ यताको सोचेर मन सानो नबनाएस् । मन उज्यालो राखेस्, चलित्र सफा राखेस् । जस्को चलित्र उजेलो हुन्छ, तिन्लाई यस्ता थुकका बाछिट्टाले कैले भिजौउँदैन, दागदार बनौदैन ।"

बूढाले मेरो टाउकोमा हात राखे र भक्कानिँदै अघि बढे । मलाई मन लाग्यो- म दौडँदै गएर उनलाई अँगालौँ र डाँको छोडेर रोऊँ । तर, म डेग चल्न सकिनँ । केवल उनी गएकोतिर हेरेर विह्वल हुँदै रोइरहेँ ।

डराउँदै, हराउँदै । सबैखाले तनावमा जेलिँदै म सिड्नी पुगेँ ।

उनी मलाई लिन एयरपोर्ट आएका थिएनन् वा मैले उनलाई खोजेर फेला पर्न सकिनँ तर पनि निकै बेर म उनलाई कुरेर त्यहीँ बसेँ । उनी देखा पर्दै परेनन् ।

मेरो मन छड्किरहेको थियो । वान्ता होलाहोला जस्तो, बेहोश भएर ढल्छु कि जस्तो, कस्तो-कस्तो भैरहँदा मलाई ससुराबा खुब याद आए । साथै उनले भनेको 'उतै टिकेस् । घर, माइती क्यै नभाको सम्झेर जस्तो आपदविपद परे नि उतै टिकेस्' भनेको याद आयो । त्यसपछि म हिम्मत गरेर बाहिर निस्किएँ । सोधखोज गरेर ट्याक्सी समाएँ ।

चार फेर भन्दा पनि ड्राइभरले ठेगाना नबुझेपछि मैले ठेगाना लेखेको पाना मोडेर नोटबुक ड्राइभरलाई जिम्मा लाएँ । उसले नोटबुकबाट ठेगाना पढेर नेभिगेटरमा फिड गर्‍यो र नोटबुक मलाई फिर्ता थमायो ।

ट्याक्सी अघि बढेपछि म त्योभन्दा अघिअघि दौडिरहेको मनलाई समेट्ने कोसिसमा लागें ।

बिल्डिङको मेन ढोका खुल्लै थियो । डर र त्रासले थरथराउँदै म सुट्केस र ब्याग घिसार्दै भित्र छिरेँ । करिडोरमा भेटिएको मान्छेसँग डराईडराई नम्बर भनेर अपार्टमेन्टको बारेमा सोधखोज गरेँ, जुन दोस्रो तलामा रहेछ । म सुट्केस र ब्याग घिसार्दै कसैगरी भर्‍याङ चढेँ । अपार्टमेन्ट सामुन्ने उभिएर निधारको पसिना पुछेर घण्टी बजाएँ र कन्चटमा बजिरहेको मुटुलाई हौसला दिने कोसिस गर्दै ढोका सामुन्ने उभिइरहेँ । सारा बाटो बेतोडसँग धड्किरहेको मेरो मुटु अचानक बन्द भएझैं भयो, ढोकामा भरेभोलि भएको पेट लिएर मेरो लोग्नेको स्वास्नी उभिएकी थिई ।

त्यसपछिको चर्काचर्की र रुवाबासीमा चर्काचर्की त उनीहरु नै गरिरहे, रुवावासी म गरिरहेँ । मेरो रुनुको सबैभन्दा ठूलो कारण मेरो लोग्नेको विश्वासघात थियो । यहाँ बिहेवारी गरेर घरजम बसाइसकेको लोग्नेले आमाको किरिया बस्न आउँदा पनि मलाई भोग्ने लोभ छोड्न सकेन । जब अपनाउनै थिएन भने मेरो शरीरसँग किन खेल्नपरेको उसलाई ? एउटी ५-६ वर्षकी छोरी थिई, अर्कोको स्वागतको तयारी गरिरहेका थिए । बाउसँग डराएर मसँग बिहे गर्न बाध्य भए पनि मेरो शरीरसँग उसले आफ्नै मर्जीले खेलेको थियो । कुन हक र हैसियतले ? म सोध्न चाहन्थें तर त्योभन्दा पहिल्यै उसकी स्वास्नीले च्याँठिएको स्वरमा भनी, "बाउसँग सल्किएकी स्वास्नी कुन मर्दले अपनाउँछ ?"

मैले अवाक, लोग्नेको अनुहारतिर हेरेँ । उसले टाउको झुकायो । अचानक मेरो अनुहार रातोपिरो भयो । यत्रा वर्ष म यो पाप सुन्दै र सहँदै आएकी थिएँ तर यतिखेर मैले खप्न सकिनँ । मेरो हात उठ्यो र स्वास्नीको छेउमा उभिएको मेरो लोग्नेको गालामा बज्रियो । उनीहरुले प्रतिक्रिया जनाउनुभन्दा पहिल्यै म तीव्र स्वरमा कराएँ, "खबरदार ! एक शब्द बाको विरुद्ध बोल्यौ भने... !" मतिर झम्टिएको लोग्नेतिर औंला ठड्याउँदै मैले भने, "दोष नै लगाउन थियो भने अरु कुनै कुराको लगाएको भए हुन्थ्यो । मेरै चरित्रमा चाहेजति कालो दलेको भए हुन्थ्यो । केवल कसैले सुनाएको भरमा, सत्य तथ्य नबुझी आफ्नो जन्मदातालाई त कमसेकम यति तल नखसालेको भए हुन्थ्यो । तर, तिमीजस्तो नैतिकता शून्य पुरुषसँग म अरु के आश गरौँ ? जो यहाँ मायाप्रेमको सम्बन्ध गाँसेर घरजम गरेकी स्वास्नीलाई छोडेर उहाँ आमाको किरियामा बस्दा पनि जबर्जस्ती वरण गराइएकी स्वास्नीको शरीरसँग खेल्ने लोभ छोड्न सक्दैन ।" मैले एकैक्षण धमिलो हुँदै गएको उस्की स्वास्नीको अनुहारमा हेरेर तटस्थ स्वरमा भनेँ, "तिम्रो लोग्नेले नेपाल गएर बाध्यतावश मसँग बिहे गरेको कुरालाई जतिसुकै फूलबुट्टा भरेर तिमीलाई सुनाएर आफ्नो फेवरमा बनाए पनि आमाको किरिया बस्न जाँदा एक महिनासम्म स्वेच्छाले मसँग सुतेको कुरा तिमीलाई सुनाउने हिम्मत पक्कै गरेको छैन होला ।"

भनिसकेर एक मिनेट नअडिई म सुट्केश घिसार्दै बाहिर निस्किएँ । मेरो पछाडि लोग्नेस्वास्नीको घमासान मच्चियो ।

बाहिर निस्केर निकै बेर रोएँ म । कहाँ जाने ? के गर्ने ? अन्योलमा थिएँ । डराएकी थिएँ । दुखेकी थिएँ ।

ससुरा बालाई फोन गरेर सारा वृतान्त सुनाउन चाहन्थेँ तर मलाई फेरि उनले भनेको 'उतै टिकेस्' याद आयो । गरे त उनले आफ्नो कर्तव्य पूरा । देखाए त भविष्यको बाटो मलाई ! अब पनि उनलाई दुःख दिइरहनु कहाँ उचित थियो ? अब अगाडि जे त होला, मेरो नितान्त मेरो थियो । मेरो मात्रै ।

निकै हन्डर खाएँ । दुःख पाएँ । तर फेरि बाढीको भेलमा बगेर यो किनार र त्यो किनार ठोकिँदा ठोकिँदा थाकेर किनारा लागेको बिरुवाले अलिकति माटो भेट्नासाथ फेरि उखालिएर बगाइने डरबिना त्यहीँ सरेजस्तै म पनि यो बिरानो सहरमा किनारा लागेँ र थोरै हिम्मतरुपी माटोको आड भेटेपछि यहीँ सरेँ । सरेर मौलाएँ- 'म' भएर ।

त्यतिखेर चार चौरास हन्डर खाइरहँदा ससुराबाले दिएको लगभग ८ हजार डलर मेरो ठूलो सहारा बन्यो ।

यस्तै हन्डर खाँदै, गोता काट्दै मैले गोल्ड मेडलसहित ब्याचलर इन नर्सिङ सकेँ । मलाई आफ्नो मेहनत होइन, ससुराबाको सपना साकार भएझैं लाग्यो ।

४ वर्षपछि जब म सिड्नीको सबैभन्दा ठूलो अस्पतालमध्येको एउटा अस्पतालमा न्यूग्र्याड (इन्टर्न ) गर्दै थिएँ, ससुराबाले इन्भिटेसन पठाएको/निम्त्याएको लगभग एक वर्षपछि स्ट्रेलिया आउन लागेको खबर सुनाए । आजसम्म फोनमा हाम्रो जेजति संक्षिप्त कुराकानी हुन्थ्यो, त्यसमा मैले उनको छोराको बारेमा कहिल्यै केही सुनाइनँ । छोराको बारेमा सोधिएका प्रश्नहरुलाई मैले इग्नोर गरेको भएर हो कि किन हो, उनले पनि सोध्न छोडे । पढाइको बारेमा सोध्थे । खर्च बर्चको सोध्थे । राम्ररी बस्न भन्थे तर छोराको बारेमा सोध्थेनन् पछि-पछि ।

उनले आइपुग्ने दिनबारे खबर गरेपछि म एयरपोर्ट पुगेँ उनलाई लिन । मेरो लोग्ने पनि पुगेको रहेछ बाउलाई लिन । हामी दुई अपरिचितझैं दुई छेउमा उभिएर उनलाई कुरिरह्यैँ । उसको उपस्थितिले मलाई खासै फरक परेको थिएन बरु यत्रा वर्षपछि ससुराबालाई देख्न पाउने खुसीले तरंगित बनाएको थियो मेरो मन । तर, ऊ आन्दोलित देखिन्थ्यो । घरिघरि मतिर हेर्थ्यो र यताबाट उता गर्थ्यो । एकाध फेर नजिक आएर बोल्न पनि खोज्यो शायद तर मेरो उपेक्षा र तटस्थता देखेर हिम्मत गरेन ।

निकै बेर लगाएर बूढा बाहिर निस्किए । मेरो अनुहारमा मानौं सूर्य उदायो र निभ्यो पनि ।

कठै ! त्यस्तो हट्टाकट्टा मान्छे कस्तरी गलेछन् । विचरा ! मेरो आँखा रसायो । मैले फर्किएर उसलाई हेरेँ । उसको अनुहार पनि निन्याउरो देखिन्थ्यो । डराएको पनि ।

बूढाले एकैछिन अडिएर चारैतिर हेरे । नजिक उभिएको छोरोमाथि एकैक्षण नअडिई उनको आँखा मतिर सोझिए । अनुहारको गम्भीरता पुछियो । उनी छोरोको छेउबाट मतिर बढे । मेरो लोग्नेको अनुहार खरानी जस्तो भयो ।

म हतारिँदै उनलाई अँगाल्न अघि बढेँ तर नजिक पुगेपछि हिम्मत गर्न सकिनँ ।

"दर्शन गरेँ," मैले उन्को सामुन्ने टाउको झुकाएँ ।

"सौभा..." बूढा बोल्दाबोल्दै अडिए अनि मेरो टाउकोमा हात राख्दै भने, "चिरायू दीर्घायू रहेस् । आफ्नो खुट्टाँ एति अग्लो उभेस् कि तेरो उचाइमा कोही पुग्न नसकोस् ।" उनको स्वर रुँघियो । मैले आँसु पुछेँ । छोरो हिच्किचाउँदै बाउको छेउमा आएर उभियो र केही झुक्यो ।

"हुन्दे !" बूढाले बिस्तारै भने ।

"अरु सामान छैन ?" मैले उन्को एउटामात्रै ब्याग हेर्दै सोधेँ ।

"एक्लो ज्यानलाई यै पनि धेरै...।" बूढाले खिन्न स्वरमा भने । त्यसपछि मैले केही भनिनँ । छोराले ब्याग उठयो । ससुराबा मेरो हालखबर सोध्दै मसँगसँगै हिँडे ।

बाहिर निस्केपछि मैले केही हिचकिचाऊँदै भनेँ, "हजूर मेरो घर जानुहुन्छ नि होइन ?"

बूढाले मलाई केहीबेर नियालेर हेरे । मैले आँखा झुकाएँ र विनम्र स्वरमा भनेँ, "म... म यिनीसँग बस्दिनँ, यहाँ आएकै दिनदेखि, यिनका लोग्नेस्वास्नीले बस्न दिएनन् मलाई ।" मेरो आँशु चुहियो ।

"मैले भनेझैँ पुलिसाँ उजुर अरिनस् ? बे अरेको दसी पर्मान बनाईद्याथें त मैले ! त्यै लेर पुलिसाँ किन नगाकी ?" उनको स्वर शान्त थियो । उनको छोरोको अनुहारले कैंयौं रंग फेर्‍यो ।

"बा ! जो मान्छेलाई आफ्नै जन्मदाताको इज्जतको ख्याल छैन, त्यो मान्छेसँग बसेर सुख काट्नुभन्दा गोता काट्न जाती लाग्यो मलाई ।" मैले टाउको उठाएर उनको आँखामा हेर्दै भनेँ ।

एकैक्षण मैले गरेको 'बा' सम्बोधनले भावबिह्वल भएर बूढा केही बोल्न सकेनन् । सम्हालिइसकेपछि उनले बिस्तारै भने, "जे होस् यतिखेर तँ मसँअँ हिन् । यस्कैमा । पछि देखाजाला ।"

त्यसपछि पहिलो पटक उनी छोरोको अनुहारमा हेरेर ऊसँग सम्बोधित भए, "कता जानी हो, भन्...!"

छोरो आफ्नो गाडी पार्क गरेकोतिर लम्कियो ।

"मेरो आफ्नै गाडी छ," मैले भनेँ ।

"ठेआना भन्," बूढाले आदेश दिए । उसले अडिएर एड्रेस भन्यो । मैले मोबाइलमा नोट गरेँ ।

"म तँसँ आम्छु," बूढा मतिर लम्किए । पछाडि चिन्तित, मेरो लोग्नेलाई त्यत्तिकै छोडेर हामी मेरो गाडी पार्क गरेकोतिर लाग्यौं ।

ऊ पुग्नुभन्दा पहिल्यै हामी उसको घर पुग्यौं । मलाई देख्नेबित्तिकै उसकी स्वास्नीले महाभारत सुरु गरिहाली । बूढाले हप्कीदप्की गर्न थालेपछि उसले उनलाई र मलाई लिएर नानाथरी भन्न थाली । बूढाले अविश्वासपूर्वक मलाई हेरे ।

"हजुरकै छोराले भनेको हो यो पाप यसलाई । यही सुन्न नसकेर म निस्किएर गएँ," मैल टाउको झुकाएर भनेँ । बूढाको अनुहारमा अपार वेदना, अपराधबोध र याचना झल्कियो ।

"म... मलाई माफ अरेस्, मैले यस्तो कुलंघार सँ तँलाई बाँधिदि..." उनी छाती थामेर घोप्टिए । म आत्तिएर उनलाई थाम्दै चिच्याएँ, "बा ऽऽऽऽऽ !"

मेरो लोग्नेको गाडी गेटबाट भित्र छिर्दैगर्दा बालाई बोकेको एम्बुलेन्स बाहिर निस्कँदै थियो ।

३ दिन आईसीयूमा राखेर त्योदिन बल्ल ससुराबालाई बाहिर ल्याइएको थियो । उहाँलाई अस्पताल ल्याएदेखि मैले अस्पताल छोडेकी थिइनँ । यसबीच मेरो लोग्नेले मसँग कुरा गर्न कति कोसिस गर्‍यो तर म उठेर अर्कोतिर हिँडिदिएँ । मेरो जिन्दगी बर्बाद गरेकोमा भन्दा बालाई यो अवस्थामा पुर्‍याएकोमा धेरै क्रोधित थिएँ म यतिबेला । बालाई रुममा ल्याएपछि बल्ल म घर जान निस्किएँ ।

नुहाइधुवाइ गरेर कालो कफी पिउँदापिउँदा बाक्लो भएको जिब्रोले नमान्दा नमान्दै अलिकति खानेकुरा खाएर म अस्पताल फर्किंदा ससुराबा जागै थिए ।

उनले इसाराले मलाई आफ्नो नजिक बोलाए । छेवैमा गर्दन झुकाएर बसेको उनको छोरोतिर हेरेर एकैछिन हिचकिचाएँ तर फेरि दृढतापूर्वक उनको बेडतिर बढेँ ।

"तेरै बाटो हेरिराथेँ गौरी !" ससुरा बाले मेरो हात थामे । यो पहिलो पटक थियो उनले मलाई मेरो नामले बोलाएको । नत्र त उनी मलाई 'कान्छी' नै भन्थे । उनको कान्छो छोराकी स्वास्नी ।

"त्यो अधमलाई याँ नआ भनेको सुनेको हैन," बूढाको आँखाको कापबाट आँसुका थोपा गुल्टिए । मेरो मन भक्कानियो । मैले हात बढाएर उनको आँसु पुछेँ ।

"अब सजिलोसँ मर्छु म," बूढाको स्वरमा अपार शान्ति छचल्कियो ।

"त्यसो नभन्नुस बा !" म रोएँ ।

"पुयो अब ! छोराहर्को ताल देखेँ । ब्वरीहर्को व्यवहार झेलेँ । बिजोग भएर मर्नुभन्दा हातखुट्टा चल्दै मरेको बेस । तेस्तो बिमारले बिजोग भएकी तेरी सासूलाई त तैंले स्यारिस्, मलाई कस्ले स्यार्छ ?" बूढा फेरि भक्कानिए ।

"म छँदैछु नि बा ! म सिहारीहाल्छु नि ! तपाई चिन्ता नअर्नुस् । आराम गर्नुस् ।" म पनि रोएँ उनीसँगै । उनले निकै बेर अश्रुपूरित आँखाले मलाई हेरे ।

"अधमले अमृतको कदर जानेन । के अर्नी, मेरै कसुर हो । मैले तेरो बे त्यो जेमराजसँ अराइदिने हुन्थेन । तर क्यार्नु विधिको विधान !" उनी लामो सास फेर्न थाले ।

"तपाईं नबोल्नुस बा ! आराम गर्नुस् । पछि कुरा गरौंला," मैले बालाई अक्सिजन मास्क लगाइदिन खोज्दै भनेँ तर ससुरा बाले मेरो हात पन्छ्याइदिए अनि मेरो टाउकोमा हात राखेर भने, "अर्को जुनीमा कि म तेरो कोखबाट जन्मौं कि तँ मेरी छोरी भएर जन्मी । अनि बल्ल म यो जुनीको तेरो रिन तिरूँला...," ससुरा बाले छाती थामे । मैले जबर्जस्ती उनको अक्सिजन मास्क चढाएँ र एमर्जेन्जी बजर थिचेँ ।



बाले भनेझैं- मलाई आखिरी पटक हेर्ने/ देख्ने चाहनाले नै डोर्‍याएको थियो उहाँलाई यहाँसम्म । शायद म आफ्नो खुट्टामा दह्रोसँग उभिएको आफ्नै आँखाले देखेर ढुक्क हुन चाहनुहुन्थ्यो उहाँ । आईसीयूबाट निस्केको पूरा एकदिन नबित्दै बा यो विरानो माटोमा आफ्नो माटो छोडेर परमात्मामा लीन हुनुभयो । मलाई लाग्यो- मेरो टाउकोबाट सिंगो आकाश हट्यो । मैले उहाँ जीवित हुँदा कहिल्यै पूरा गर्न नसकेको धोको पूरा गरेँ । म उहाँको मृत शरीरलाई अँगालेर कंकला शब्द रोएँ । यो मेरो मलाई 'म' बनाउने महान् पुरुषप्रतिको साँचो श्रद्धाञ्जली थियो ।

० ० ०

रेलवेको कर्मचारीले मेरो काँध थप्थपाएपछि म वर्तमानमा फर्किएँ ।

"आर यु अलराइट ?" ऊ सोध्दै थियो ।

"या ! आ'म फाइन !" मैले आँसुले निथ्रुक्क भिजेको अनुहार पुछेँ ।

"दिस ट्रेन टर्मिनेटेड हियर," उसले सहानूभूतिपूर्ण स्वरमा भन्यो । बल्ल मलाई होस आयो- म त त्यो मान्छेको प्रश्नको झटारो झेल्नबाट बँच्न गलत ट्रेनमा चढेकी थिएँ । अतीतमा डुल्दाडुल्दै धेरै पर, अन्तिम स्टपमै पो आइपुगेछु । अब फेरि घर जाने ट्रेन समात्नु छ । घर पुग्नु छ । तर कामना गरिरा'छु- बाटोमा फेरि कोही यस्तो नभेटियोस्, जसलाई मेरो 'म' बाहेक मसँग जोडिएका बाँकी अरु सबै कुराप्रति चासो होस् । किनकि म अब अरु कसैको कारणले गलत ट्रेन समात्न चाहन्नँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु