भारतीय नेपाली बाल एकाङ्की र मुक्तिको रहर

- दीपक सुवेदी

पूर्वीय साहित्यका भरतमुनि र पाश्चात्य साहित्यका चिन्तक युनानी दार्शनिक अरस्तुलाई प्रथम नाट्य व्याख्याता मानिन्छ । यिनै चिन्तकका आधारमा नाट्यसिद्घान्त प्रतिपादन भएका र समयसापेक्ष रुपमा परिमार्जन हुँदै आएको पाइन्छ । पाश्चात्य साहित्यमा एकाङ्कीको जन्म भने उन्नाइसौँ शताब्दीमा भएको र पछि यसको प्रभाव क्रमशः भारतीय साहित्यमा पर्दै आएको हो । यही प्रभाव भारतीय भूमी हुँदै नेपाली साहित्यमा प्रवेश देखिन्छ ।
नेपाली साहित्यको पहिलो एकाङ्की संं. १९८९ को देहरादूनबाट प्रकाशित हुने तरुण गोर्खा पत्रिकामा छापिएकोे आत्माभिमान हो । यसपछि सं.१९९६ मा भारतकै कालिम्पोङबाट प्रकाशित हुने गाउँ सुधार पत्रिकामा बाबु उपनामद्वारा लेखिएको जब पूर्व पश्चिम हुन्छ एकाङ्की देखापर्छ ।
नेपाली एकाङ्की विकासकै लागि भने दार्जीलिङमा गोर्खा दुःख निवारक सम्मेलन, हिमालय कला मन्दिर, नाट्य कला निकेतन जस्ता संस्थाहरुले गरेको नाट्य प्रतियोगिताको आयोजना र आकाशवाणी खर्साङ, गौहाटी, दिल्ली आदि केन्द्रबाट थालिएको एकाङ्की प्रशारणले पनि ठूलो टेवा पु¥याएको देखिन्छ । यसै क्षेत्रबाट देखापरेका एकाङ्कीकार गनुसिंह गुरुङ, राधिका राय, तुलसीबहादुर क्षेत्री, शिवकुमार राई, सानु भाइ शर्मा, लीलबहादुर क्षेत्री आदि प्रसिद्घ छन् ।
भारतीय नेपाली बाल एकाङ्कीको लेखनमा पारसमणी प्रधाननै आधारशीला हुन् भन्ने केही अध्ययनले देखाएको छ । प्रधानद्वारा तयार पारिएको नयाँ नेपाली इतिहास दोस्रो भाग (१९३३) को परिशिष्ट (क) पृ. १०४–८ मा प्रकाशित अलेकजाण्डर र चन्द्र गुप्त शीर्षक एकाङ्कीलाई नै प्रथम प्रकाशित भारतीय नेपाली बाल एकाङ्की मानिएको छ । यसको एक्काइस वर्ष पछि लीलबहादुर क्षेत्रीले सन् १९५४ मा आकाशवाणी गौहाटीका निम्ति तयार पारिएको अप्रकाशित बनभात एकाङ्कीको इतिहास पाइन्छ । यसपछि बनारसबाट प्रकाशित गोपाल चन्द्रद्वारा सम्पादित दीपक मासिक पत्रिकाको १९५८ मार्चको अंकमा जी. चामलिङ गुमानको विद्यार्थी, सिक्किमका थमन नौवागको सन् २००८ मा प्रकाशित विकृतिको अन्त्य र सन् २०१३ मा प्रकाशित मनुष्यत्व एकाङ्की संग्रह पाइन्छ । यसरी भारतीय नेपाली बाल एकाङ्कीको लेखन परम्परा सुस्त रुपमा नै अगाडि बढेकोे पाइन्छ । भारतीय नेपाली बाल एकाङ्कीको विकास परम्परा सन् १९३३ देखि हालसम्मको लगभग ८४ वर्षे यात्रा हेर्दा भारतीय नेपाली बाल एकाङ्कीले फराकिलो मार्ग भने बनाउन सकिरहेको देखिदैन । तर पनि भारतीय नेपाली साहित्यमा बालनाटक लेखन र मञ्चनमा केही काम भइरएका छन् ।
सन् १९९८ मा प्रकाशित अनन्त यात्रा नाटक संग्रहभित्र बिदाई शीर्षकको बाल एकाङ्की कृष्णमाया स्मारक स्कुल सिलगढीका पक्षमा आकाशवाणी खर्साङबाट २७ मई १९९७ मा प्रशारणार्थ लेखेका मुक्तिप्रसाद उपाध्यायले यसबाट हौसिएर यसको मेलो अहिलेसम्म पनि छोड्दै छोडेनन् । अझ सन् २०१५ को साहित्य अकादेमी, नयाँ दिल्लीबाट भारतीय नेपाली बाल साहित्य तर्फ बालोपन्यास मालती (२०११) का निम्ति त बाल साहित्य पुरस्कारले सम्मानित भए । उनी यसबाट झनै हौसिए । हालैः मुक्तिप्रसाद उपाध्यायको नेपाली साहित्य प्रचार समिति, सिलगढीको प्रकाशन रहेको रहर शीर्षकको बाल एकाङ्की नाटक प्रकाशित भएकोछ ।
समस्या प्रधान रहेको रहर एकाङ्की बाल बालिकाहरुकै लागि लेखिएको भए तापनि एकाङ्कीको विषय केन्द्रीयता वरिपरि अभिभावक रहेकाछन् । आफ्ना छोराछोरीप्रति समान माया ममता र रेखदेख गर्नुपर्छ भन्ने विचार एकाङ्कीको रहेको छ । बले र बलेकी स्वास्नी मायाले आफ्नै कोखबाट जन्मेका दुई भाइ छोरा मोहन (जेठो) र सोहन (कान्छो) मा केही खुट्टा खोच्याएर हिँडेने मोहनलाई त्यही शारिरिक कमजोरीको निहुँमा स्कुल पढ्न रहर गर्दा पनि स्कुल नपठाएर बरु घरमा गाईवस्तु चराउने काममा लगाउँछन् । सोहनलाई चाहिँ चिटिक्क पारेर स्कुल पढ्न पठाउने भेदभावपूर्ण व्यवहार गरेको विषयलाई उठाएर हजुर आमाको माध्यमबाट एकाङ्कीमा एउटै कोखका सन्तानप्रति त्यस्तो गर्नु भूल हो भन्ने देखाउन खोजिएको छ ।
रिल लाइफ र रियल लाइफ दुबैतिरको लेखन तथा निर्देशनमा समेत सक्रिय रहेका एकाङ्कीकार मुक्तिप्रसाद उपाध्याय स्वम्को पनि लामो समय शिक्षक भएर बालबालिकासँग जीवनका धेरै यामहरु विताएकाले होला यस एकाङ्कीमा सानै विषयलाई लिएर नाटक तयार पारेकाछन् ।
मोहनको केन्द्रीयतामा नाटक अगाडि बढेको छ । एकाङ्कीमा सोहन, चन्द्रे लगायत आमा (माया), बाबु (बले) र हजुरआमा सहयोगी पात्रका रुपमा रहेका छन् । भाषा, शैली र संवादलाई मञ्चीय बनाएका छन् । रामायणको प्रसंग र यसको पठन विधिको चर्चाले एकाङ्कीमा नेपाली सामाजिकताको झल्को पनि पाइन्छ । एकाङ्कीमा भावपक्षको गाम्भीर्यभन्दा पनि बैचारिक पक्षको प्रबलता रहेको पाइन्छ ।
कुनै पनि व्यक्तिको ज्ञान आर्जन गर्न जाग्ने मानको उत्कट इच्छा, चाहना, आकाङ्क्षालाई नै रहर भनिन्छ । एकाङ्कीमा भाइले जस्तै स्कुल जाने र ज्ञान प्राप्त गर्ने तिब्र इच्छा राखी सोही अनुरुप लुकीलुकी भाइ सोहनका किताबहरु सुटुक्कै झिकेर पढ्ने क्रियाकलापबाट मोहनको ज्ञान पिपासा वा रहर बुझ्न सकिन्छ । यस दृष्टिले एकाङ्कीको शीर्षक पनि सार्थक रहेको छ ।
बालबालिकाको सन्तुलित शारीरिक, मानसिक र सामाजिक विकासका लागि यस्ता एकाङ्की र बालरङ्ग मञ्च सर्वाधिक उपयोगी साधन बन्न सक्छन् । शारिरिक रुपमा असक्त बालबालिकाहरुभित्र निहित रहने स्वाभाविक मनोकाङ्क्षालाई अध्ययन गरी लेखिएको यो रहर एकाङ्की संग्रहणीयका साथै मञ्चीय रहेको छ । यस अर्थमा प्रस्तुत एकाङ्की बालबालिका र अभिभावकका लागि रङ्गमञ्चमा प्रस्तुति गर्न चाहनेका लागि पनि ज्यादै उपयोगी देखिन्छ ।
बाल साहित्यका क्षेत्रमा लेखन र प्रकाशनको काम चुनौतीपूर्ण काम हो । अझ त्यसमा पनि विशेष गरी बाल नाटक । तर पनि मुक्तिले यसलाई सहजताका साथ लिएको पाइन्छ । समकालीन समाजनै मुक्तिको लेखको मुख्य आधार हो । त्यही आधारभूमिमा मुक्तिले मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गरेछन् । साँच्चै, विख्यात नाटककार एवं निर्देशक शान्ता गान्धीले भनेझैँ–‘जो बालकले सुन्दरतासँग प्रेम गर्न जानिसकेको हुन्छ, उसले नराम्रो कुरालाई हरेक ठाउँमा घृष्ण गर्छ । जीवनभरि उसले आफ्नो सामाजिक र सांस्कृतिक परिवेशका कुरुप पक्षका बिरुद्घ विद्रोह गर्छ ।’
समयको क्रममा पुराना मान्यता शिथिल हुँदै गएका छन् । नयाँ नयाँ मान्यताको विकास हुने गरेका छन् । तर पनि मुक्तिले पुरानै मान्यतालाई यस एकाङ्कीमा प्रस्तुत गरेका छन् । बालचरित्रको भुमिकालाई प्रौढको आडमा उतार्नु, सामाजिक समस्याको विश्लेषणमा अल्झिएर बालसक्रियतालाई गौण बनाउनु, प्रौढलाई अगाडि सारेर बालपात्रको कार्यव्यापारको आयामलाई मुक्तिले यस एकाङ्कीमा सीमित राखेका छन् । शारिरिक रुपमा दुर्बल बालपात्रलाई भन्दा सबल बालपात्रलाई प्राथमिकतामा राखिएको यस एकाङ्कीमा द्वन्दलाई ज्यादै कमजोर रुपमा प्रस्तुत गरिनु लगायतका कमजोरीहरु यस रहर बाल एकाङ्कीमा पाइन्छन् ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु