अरब, आर्यघाट र अरथी

- केशरी अम्गाईं

म महानिर्वाणको सागर छेऊ उभिएको छु । देख्छु, ब्रम्हनाल नजिकैको मलामी घरमा आधा दर्जन मान्छेहरूको रुवाबासी । मन एकतमासको हुन्छ र सम्झन्छु भजनको एक अंश, ‘‘दुई दिनको पाहुना हौँ यो संसारको नाट्यशालामा...’’
मलाई थाहा छ जीवनलाई निस्सार देख्नु निराशाभाव हो तर त्यस ठाउँमा पुग्दा मनोवेग त्यसै त्यसै वेगिँदो रहेछ ।
वारि र पारि मानवसागर शोकसन्तप्त अनुहार लिएर उभिएका छन्– लाग्छ, कुनै ठुलै मान्छेले संसारबाट विदा लिएको छ । परिचित अनुहारको खोजिमा दौडन्छन् मेरा आँखाहरू । अहँ, देखिँदैनन् कोही पनि । बरु अलि पर गौरीघाट नजिकै देखिन्छन् परिचितका मलिन अनुहारहरू र देखिन्छ घाटमा लमतन्न परिरहेको लाहाछाप सहितको काठे बाकस ।
म मोडिन्छु उतैतिर । कसैको आक्रोश सुनिन्छ, ‘आर्यघाट साझा भन्थे, तर के गरिबको लासले चाहिँ जल्न नपाउने ?’
शोक संवेदनामा मलिन अनुहारहरू म पढ्ने प्रयास गर्छु ।
एउटी दीनहीन महिला मैला सारीको आँचल समातेर पैसा माग्दै थिई मलिन अनुहार लिएर र साथमा थियो अधवैशे एक पुरुष । ऊ भन्दै थियो, ‘लास जलाउनका लागि ।’
‘यो भन्दा पछि आएका दुईवटा लास खरानी हुनेबेला भयो, यसको अरथी अझै उठेको छैन ।’ कसैले सुनायो ।
मलाई लाग्यो– आफन्तको बिछोडमा सन्तप्त मनलाई आर्यघाटले अर्को पीडा थपिदिएको छ लास नजलाइदिएर ।
अनि त्यही काठको बाकसले आफ्नै नियति बोलिरहेको थियो– कमाउने अभिलाषामा वेगिएका तरुण सपनाहरूको चुडिएको प्राणपखेरुको कथा ।
मान्छेहरू झुरुप्प छन् त्यसैको वरिपरि ।
आ–आफ्नै अनुमान र तर्कहरू छरपस्ट पोखिएका छन् समूहमा ।
बसेका छन् सुकेनास लागेजस्ता दुब्ला साना दुई बालकहरू त्यही बाकस नजिकै । रुँदारुँदै थाकेका ती बालकहरू त्यस्तै चार–पाँच वर्षका होलान् । एउटा कुनामा एउटी महिला अर्धबेहोश अवस्थामा रोइरहेकी छे ।
‘अरबबाट आएको रे ।’ कसैले अभिव्यक्त गर्छ ।
‘अरब !’ कुनै समय आफ्नै सपनाको विमान चढेर अरबसम्म बेगिएको थियो मेरो सपना । त्यसैले मभित्र अलि चासो जाग्छ । अरबको पीडालाई नजिकबाट छामेर आएकोले हो कि संवेदित भइदिन्छ मेरो मन अरबसँग जोडिएका घटनाहरूले ।
‘कतारबाट रे ।’ कसैले सुनाउँछ ।
म अलि खोजि गर्छु ।–
‘घर सर्लाही । तीन महिना अघि सपनाको चङ्गा समातेर नेपालकै विमानस्थलबाट तरुण दस्तासँगै बाहिरिएको । सुन्दर भविष्यको सपना कोरलेर बसेको परिवारमा दश दिन अगाडि बज्रपातको खबर प्राप्त हुन्छ । दशै दिनमा तरुण सपना बाकसमा कैद भएर विमानस्थलमा आगमन । आर्यघाटमा न पुलिस, न पठाउने म्यानपावर; न सहयोगी दलालको नै उपस्थिति । लास जलाउने पैसाको अभावमा दुई घण्टादेखि अलपत्र आफन्तहरू बेवारिसे लासजस्तै !
मृत्यु संवेदनामाथिको यो उपेक्षा देखेर आक्रोशित थिए संवेदित मनहरू । स–साना बालकको टिठलाग्दो अनुहारले सबैको ध्यान आकृष्ट गरेको थियो ।
संवेदना र सहानुभूति प्रशस्तै देखियो उपस्थित जनहरूमा । त्यसैले फिँजाइएको मैला आँचलमा निकै पैसा जम्मा भए –लास जलाउन पुग्ने भन्दा पनि बढी ।
तर केही मान्छेहरू लास निःशुल्क जलाउने पहलमा लागे । अनि केही सञ्चार माध्यमलाई खबर गर्दै थिए– गरिबको लासले सहजै जल्न पाउनुपर्छ भन्ने सन्देश दिन ।
‘यही हो सपनाको दाहसंस्कार ।’ म कसैलाई भर्खरै प्रकाशित कुनै कथाको प्रसङ्ग सुनाउँछु– ‘कथा कुनै कल्पना होइन, समयको अनन्त सिर्कनाहरूले सुम्ल्याएका घाउहरूको व्यथा हो ।’
अरबमा काम गर्दाका नियतिमाथि उपबुभ्रmुक्याइँहरू छरपस्ट हँुदै थिए । सब एक से एक विज्ञ थिए, कसको कुरा कसले सुन्ने त्यहाँ ? आंशिक भोक्ताको रुपमा त्यस अड्कलबाजीमा सामेल हुन चाख लागेन मलाई ।
‘तरुण सपनाको लर्को बाहिरिने क्रम बढ्दो छ । रित्तिएका घर र बस्तीहरूमा कति सपनाहरू जिउँदा फर्किएका छन् त्यसको लेखाजोखा छैन । युवा जोसको अनन्त भेल र पसिनाका अजस्र नदीहरू विमानस्थल बाहिर पठाएर देश गर्व गरिरहेछ– विप्रेशण (रेमिट्यान्स) भित्र्याउन सकेकोमा, तर....।’ म घोत्लिन्छु ।
आइपुग्छन् केही सञ्चारकर्मीहरु । अनि क्यामरामा कैद हुन थाल्छन्– मृत्युको संवेदना, बाकसको लास, बालकका टिठलाग्दा अनुहारहरू, रुँदा रुँदा आँशु सुकिसकेका निरीह र निमुखा परिवारको पीडा र मागेर लास जलाउनु पर्ने नियतिको करुण दृश्य ।
समस्या पर्छ भाषाको । मृतकको परिवार नेपाली भाषा बोल्न र बुझ्न नसक्ने, अरुले उनीहरूको भाषा नबुझ्ने ।
कहिल्यै आफ्नो गाउँ नछाडेका उनीहरू आफ्नो मातृभाषा मैथिली बाहेक सिकुन् पनि कसरी ?
अघिका तिनै अधवैशेले दोभाषेको काम गर्न थाले ।
आँशुका धारासँगै ओकलिए पीडाहरू–
‘सम्पत्तिको नाममा पाँच कठ्ठा जमिन र त्यसमाथि बनेको फुसको झुपडी, त्यही झुपडी र जमिन बन्दकी राखेर गाउँकै दलाललाई नब्बे हजार दिई तीन महिना अघि कतारका लागि उडेको थियो ऊ । आज यो अवस्था भोग्नु प¥यो ।’ बोल्ने मान्छेमा रुवाइको हिक्का थामिएको छैन ।
‘पठाउने म्यानपावर थाहा छैन, गाउँको दलाल आउन मानेन । अब कसरी तिर्ने साहुको रिन ? रिनसम्म तिर्ने उपाय गर्न पाए उद्धार हुन्थ्यो ।’ आपूmलाई मृतकको आफन्त बताउनेले गुनासो गर्छ ।
‘जसको विप्रेशणमा देशको सिङ्गो अर्थतन्त्र धानिएको छ, त्यसप्रति जिम्मेवार बन्नु पर्दैन ? यस्तो समस्या दैनिक आउँछ भनेर घाट व्यावस्थापनको जिम्मेवार निकाय पन्छन मिल्छ ?’ लास निःशुल्क जलाउन पहल गर्नेमध्ये केही सहभागी आक्रोश व्यक्त गर्दै थिए ।
‘अर्काको भारा लाग्छ भन्ने संस्कारमा हुर्किएकाहरू सक्षम भए कसले पैसा मागेर लास जलाउन चाहन्छ ? विदेशबाट आएको गरिबको लासमाथि संवेदनाहीन व्यवहार गर्ने परिपाटीको अन्त्य होस् । सम्बन्धित निकायले एउटा नजिर बनाओस् । आगामि दिनमा गरिबको लासले यो नियति भोग्न नपरोस् ।’ सञ्चारर्मीले यी प्रतिकृयाहरू पनि क्यामारामा कैद गरिरहेका थिए ।
‘सञ्चार क्षेत्रले यो विषयलाई उठान गरोस् ।’ उनीहरू सञ्चारर्मीसँग अनुरोध गरिरहेका थिए ।
विमाबाट पाइने क्षतिपूर्ति र वैदेशिक रोजगार विभागबाट पाइने रकमको बारेमा बताएर केहीले पीडितलाई राहतको आश्वासन दिए ।
तर नेपाली भाषा पनि नबुझ्ने उनीहरूको लागि सही ढङ्गले पहल कसले गरिदिने ?– समस्या यहीँनिर थियो ।
कागजपत्रहरूको हरेक पाना, पासपोर्ट र नागरिकता सबै कैद भए क्यामराभित्र ।
देखियो कागजी भिसा ।
पासपोर्टमा त भिसा लाग्न नै बाँकी रहेको अवस्थामा कतारबाट कुनै आर्थिक सहयोग आउने सम्भावना थिएन ।
कसैले भन्दै थियो– मृत्यु भएको दशैदिनमा लास पठाउन सक्ने कम्पनी पक्कै राम्रो छ त्यसैले पैसा पठाउनेछ । तर भिसा नलागेको अवस्थामा विमा नहुने हुनाले पैसा आउने सम्भावना देखिन मैले ।
क्षतिपूर्ति वापत पाइने सहयोग, राहतको लागि गर्नुपर्ने कार्य र पुग्नुपर्ने ठाउँहरूको बारेमा विभिन्न कुराहरू अभिव्यक्त भइरहेका थिए समूहमा । तर काठमाडौमा पहिलोपटक पाइला टेकेका ती गौप्राणीहरूलाई त्यसको के मेसो ?
दुई बालकहरू कहिले गएर काठको बाकस छेउमा टुसुक्क बस्थे; यस्तो लाग्थ्यो– के भइरहेछ उनीहरू अनभिज्ञ छन् । कहिले अर्धवेहोस आमाको छेउ पुगेर रुन थाल्थे; यस्तो लाग्थ्यो– बाबुको मृत्युले होइन आमाको रुवाइले उनीहरूलाई पीडा दिएको छ । ती महिला घरी बेहोस र घरी अर्धचेतनमा विलाप गरिरहेकी थिइन् । एउटी महिला– नातामा मृतककी आमा भएको जानकारी कसैले दिँदै थियो, आफुलाई सम्हाल्दै ती महिलालाई सम्झाउँदै थिइन् । उनी आफैं पनि सम्हालिन त कहाँ सकेकी थिइन् र ! गहभरि आँशु लिएर वेदनालाई छिपाउने प्रयास गरिरहेकी थिइन् ।
कसैले बोतलको पानी ल्याएर उनलाई दिए, ‘माई, पानी पियाई लिनुहोस् ।’ तर होसमा ल्याउने प्रयासमा टाउकामा छ्यापिएको पानीले ती महिला निथ्रुक्क भएकी थिइन् । अरु केही महिलाहरूले ती माईलाई सहयोग गर्दै थिए ।
भिडले लासलाई घेरेको थियो, अनि ती बेहोस महिलालाई पनि । केही मान्छेहरू बेहोस महिलालाई हेर्न तमासे बन्नेहरूलाई नघेरिदिन आग्रह गर्दै थिए ताकि खुल्ला हावा लिन पाओस् पीडितले ।
पशुपति विकास कोषको अध्यक्षदेखि अघोरी बाबासम्मको फोनवार्ता र भेटघाटपछि लासले निःशुल्क जल्न पाउने भयो घाटमा । एकथरि घाटे आएर बाक्सा फोर्न थाले, अर्काथरिले ठेलागाडामा दाउरा ल्याएर चिता बनाउन थाले ।
लास जलाउन पहल गर्नेहरू आक्रोश व्यक्त गर्दै थिए विकास कोष र त्यसको अध्यक्षप्रति । उनीहरूका अनुसार कोषका अध्यक्षले गैरजिम्मेवारीपूर्ण कुरो गरेका थिए । निकै सामान्य लाग्ने एक अघोरी बाबाको कारण लासले निःशुल्क जल्न पाएको थियो ।
सञ्चारको ध्यान तिनै बाबातिर तानियो किन्तु त्यति इच्छुक देखिएनन् उनी सञ्चारकर्मीसँगको दोहोरो सम्वादमा । सरकार, मन्त्रालय र पशुपति विकास कोष सबले बेवास्ता गरेको कुरालाई तिनै बाबाले चासो दिएर पहल गरेका थिए । तैपनि उनले त्यसको जस आपूmले लिएनन् मात्र कर्तव्य पूरा गरिदिएको भाव व्यक्त गरेर टाढिए । उनको सामाजिक सेवाको फेहरिस्त चाहने सञ्चारको जिज्ञासा पूरा हुन पाएन ।
चिता तयार भयो र बाकस पनि फोरियो । एकखालको रसायनको गन्ध फैलाउँदै प्लाष्टिकभित्रको बन्द लास देखियो । मान्छेहरू नाक थुन्दै अलि पर पर भए । ठुलो प्लाष्टिकभित्र बन्द निलो भइसकेको लास बाहिर निकालियो । टीभी क्यामराहरू त्यसलाई कैद गर्न हतारिए । यता लासलाई तिनै घाटेले लगेर चितामाथि तेस्र्याए ।
‘माई, पैसा जतनसँग राख्नुहोस्, बाटो खर्च र क्रिया खर्चमा काम लाग्छ । अब यहाँ तिर्नु पर्दैन ।’ भिडबाट कसैले आँचल फिँजाइरहेकी अधबैंशे महिलालाई सुझाए । छिनभरमै जम्मा भएको अठार–बिस हजार रुपैयाँ सहयोगले तत्कालको लागि पीडितको आतेजाते र क्रिया खर्चको गर्जो त टार्ला तर तिनको बन्धकमा रहेको घर जग्गा सँगै बन्धक बनेको टुहुराको अनिश्चित भविष्यप्रति सबै चिन्तित थिए ।
ती दुई नाबालकको कपडा खोलियो र कोरा बस्त्र लगाउन लगाइयो । ‘यी तोरेर कर परतौ बौवा ! ले अहिना कर ।’ आपूmलाई मृतकको आफन्त बताउने अधबैसेले मैथिलीमा सम्झाउँदै थिए ।
कोरा कपडामा बेरिएको बालकको हातमा दागबत्ती थमाइयो । लासमा आगो लगाउन घाटे बाहुनले सहयोग गरे ।
चिताको आगोसँगै रुवाइका विलापहरू चर्किए । अब आमाको रुवाइ सुनेर सानो बालक पनि डाँको छाड्दै रोयो ।
एक तमासको भयो मेरो मन, ‘कति सपनाहरू यसरी नै जलिरहेका छन् !’
अब मान्छेहरू मौन थिए र टिठ्याउँदै थिए तिनै टुहुराहरूप्रति । केही शब्दहरूमा आक्रोश थियो– घाट व्यवस्थापक र सरकारी बेवास्ताप्रति । यस्तो लाग्थ्यो, सबमा मौन आक्रोश थियो– सरकारको गैरजिम्मेवारीपन प्रति । खाडीको मरुभूमिमा सपना रोपिरहेका लाखौँलाख कामदारको विप्रेशणले देशको अर्थतन्त्र सिन्चित भइरहेको छ । अनि त्यही सपनाको यो बीभत्स स्वरुपको नियतिप्रति सरकार किन जिम्मेवारबोध गर्दैन ? हरेक श्रमिकबाट श्रम स्वीकृतिका लागि शुल्क लिने सरकार तिनै श्रमिकको मृत्युमा किन नैतिक उपस्थिति देखाउँदैन ?
आर्यघाट साझा हो, सबैले जल्न पाउँछन् तर त्यहाँ जल्न पनि दाम नै चाहिँदो रहेछ । जीवनका सपनाहरू फुलाउन सपनाकै पखेटा हालेर अरब पुगेका कैयौँ युवाहरूका आकाङ्क्षा केही हदसम्म त पूरा भएको होला । ती सपनासँगै देशको अर्थतन्त्र ठमठम हिँड्न सकेको पनि छ परन्तु कतिका सपनाहरू बाकसभित्र बन्द भएर आर्यघाटसम्म आइपुगेका छन्, त्यसको लेखा सरकारले कहिले राख्छ, हँ ? देशको अर्थतन्त्रलाई बचाउने तिनै श्रमिकहरूप्रति जिम्मेवारबोध गर्दै सरकार कहिले सजग हुन्छ र भवितव्यको शिकार भएकाहरूलाई विना व्यवधान दाहसंस्कारको व्यवस्था कहिलेबाट सुरु गर्छ ?
‘‘सायद समाचारमा आउला, ‘गरिबीकै कारण लासले पनि जल्न पाएन आर्यघाटमा !’ मान्छेहरू टुहुराको टिठलाग्दो निर्दोष अनुहार हेरेर सरकारप्रति आक्रोश व्यक्त गर्लान् । अझ सके सहयोगी हातहरू सन्तप्त परिवारको घरसम्म पुग्लान् । के त्यसले समस्याको स्थायी समाधान हुन्छ त ? आज त केही सक्रिय र सजग मान्छेहरूका कारण त्यो परिवारले सहयोग पायो तर के फेरि अर्को बाकसमा बन्द भएर आएको अरबको सपनाले त्यही सहयोग पाउन सम्भव होला ?’’ म मनमनै सोच्छु ।
‘बाकसमा बन्द अरबका सपनाहरू कहिलेसम्म राज्यको उपहास गर्र्दै आर्यघाटमा सरकारको नैतिक उपस्थिति र जिम्मेवारीबोधको माग गर्दै घाटमा नै लडिरहन्छन् ? के, यो हो राज्यको दायित्व ?’ मेरो मनमा निकैबेर यही प्रश्न रुमलिई रहन्छ ।

गोरखा ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु