दुखिरहने कविता

- रिता अधिकारी ऋतू

अहँ
कहिलेकाहीँ त निर्धक्क सास फेर्ने मेसो नि हुन्न
के को कविता लेखी बस्नू ?
आफैंले भोगेको जीवन नै कथा जस्तो लाग्छ आफैंलाई
कस्को कथा लेखी रहनू ?
लाग्छ -
आइमाई हुनु
दुखिरहने कविता हुनु हो
कथा - ब्यथा हुनु हो
अा-अाफ्नै ब्यथाको दह छ - स्वास्नीमान्छेहरूसँग
एकैसाथ फुट्यो भने
दुनियाँ संसार बगाउँछ !
***
हजुर आमा भन्नू हुन्थ्यो ---
"चर्को नबोल्नू
मुख - मुखै नलाउनू
नफर्काउनू मुख
लोउनिमुन्छेको जातै पापी हुन्च
कपटी हुन्च ल‍ोउनिमुन्छे
पुरै मन पेट न दिनू
आफ्नै सौभाग्गेमा बिस्वास त अर्नै परो
पुरै भर नपर्नू बाबै
आफ्नु सोचो नि अर्नू
नत्र ,भबिस्सेमा
कुक्कुरले नपाउने दुख्ख पाइन्च !"
***
लाग्थ्यो -----
किन त्यस्तो भनिन् होला आमैले
उनैको जमानाको कुरा होला सायद
अहँ ! होइन रहेछ ।
***
अाइमाई हुनु
स्वास्नीमान्छे,नारी या महिला हुनु
भन्नेले जे भने नि
दुखिरहने कविता हुनु हो
महिला मुक्ति र नारी अधिकारको आवाज सुसेल्दै
गमलामा मुस्कुराउनु हो
घर गरेर खानु हो अथवा होइन
घरले खानु त जरुर हो
गुँड लाउनु पनि हो
कुर कुर्नु पनि हो
घर हुनु , भर हुनु या छानो हुनु
मझेरी , बिसौनी या चौपारी हुनु
यी तमाम हुनु हो नारी हुनु
सृष्टिको सर्वोच्च सौर्न्दर्य हो-नारी
विश्वका तमाम नारीहरु हो
गर्व गरौं आफू हुनुमा
दुखिरहने कविता नै सही !
***
ओ ,कुरुप सत्ता ?
के तिम्लाई मालुम छ तिम्रो अम्माको नाम ?
आमा ,हजुरआमाहरूको नाम थाहा छ ?
तिनीहरूको नाम हुन्छ कि हुन्न हँ ?

फुलबारी ,पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु