स्माईल प्लीज

- सुन्दर शिरीष

अचाक्ली गर्मी ।
हिउँको आँगनमा हुर्किएको मेरो ज्यानलाई चालिस डिग्रीको तातो खप्न असाध्यै गारो भयो । चिसापानी पुल मुन्तिर अजङ्गको कर्णाली उर्लीरहेको छ । मन थाम्मिनै सकेन । कर्णाली पुलमा टाउको अड्याएर एक तमासले पानीको छालसँग खेलिरहेका केटाकेटीलाई हेरिरहें । उनीहरु पानीमा रुझ्दा मलाई अलि शितल हुन्थ्यो । छुट्टै आनन्दको ।
म तिर हेर्दै एउटा सात÷आठ वर्षे केटोले बगरबाट पानीमा डाईभ हान्यो । म पानी पानी भएँ । अरु केटाकेटीहरु पनि मलाई लोभ्याउँदै उसै गरि पानीमा होमिए । म पानीको छालमा उठेको इन्द्रेणी नियाल्दै बसें । इन्द्रेणीमा धुमिल कोलाज चित्र बन्दै भत्कदै थियो । मेरो जीवन जस्तै ।
०००
‘किरिङ्ङ, किरिङ्ङ’ साईकलको घण्टी बज्यो ।
पछाडि फर्किएँ । ऊ पसिनै पसिना भएर आएकी छे । उसै काली त्यैमाथी झन काली भएकी थिई । निधारबाट पसिनाका गुच्चाहरु तँछाड मछाड गर्दै उसको चिउँडोसम्म आईपुग्यो । र, तप्प चुहियो निलो रंगको कुर्तामा टाँसिएको पहेंलो रंगको पूmलभित्र ।
अहो ! उसको गाला कत्ति रातो भएको ? रगत नै चुहिएलाजस्तो ।
‘के हेरिरहनु भएको ?’ सलले बग्दै गरेको पसिनालाई विस्तारै पुच्छ्दै सोधी ।
‘यी नीला पानीको छाल र, छालसँगै खेलिरहेका केटाकेटी ।’
‘बोल्दा पनि साहित्यमै बोल्नुपर्छ ?’ भनी ।
‘मैले कहाँ साहित्य बोलें र ? तिम्रो अगाडि यी सबै फिका हुन् ।’ म जिस्किएँ ।
‘जोक गर्न त तपाईंलाई कसले सिकाउनु पर्छ र ।’ ठुस्किएजस्तै गरि भनी ।
‘मैले कहाँ जोक गरें र ? सत्य कुरा भन्दा जोक हुन्छ ? तिमी साँच्चै राम्री छ्यौ ।’ म अझ जिस्किएँ । गर्मीमा मेरो जिस्काईले अझ गर्मी थपिदियो ।
‘म जोकरजस्ती लाग्यो तपाईंलाई ?’ ऊ जोसिदै बोली ।
‘ल ल भयो, रिसाईहाल्नु पर्छ त यत्ति कुरामा पनि ।’ भनें ।
‘अर्कालाई उडाउन पाएपछि आकासमै पुग्ने गरि उडाउने अनि जमिनमा चाहिँ नझार्ने । अनि रिस उठ्दैन त ?’ ऊ साँच्चै पो रिसाई ।
‘सरी ।’
‘आफै जेपिटी भन्ने अनि, सरी माग्ने ?’ उसले सरी दिईन । मैले कान समातें । र उभिईरहें निक्कैबेर । रिस कम भएछ क्यारे, पुलुक्क हेरी म तिर । मैले क्षमापूर्वक उसलाई हेरें ।
ऊ पग्लिई र मेरो हात कानबाट छुटाउँदै गालामा चिमोटी । फ्ल्मिी शैलीमा । त्यसपछि ऊ मुस्काई । उसको दाँतमा सूर्यको प्रकास ठोक्कियो र टलक्क टल्कियो ।
‘जाउँ माछा खान ।’ उसले भनी ।
‘ओके, म तिम्रै शरणमा छु । जहाँ लैजान्छौ लैजाऊ ।’ मैले भनें ।
‘लु भो–भो धेरै नाटक गर्नुपर्दैन । खुरुक्क जाउँ ।’ उसले साईकलको पाईडिल घुमाई । म उसको पछि पछि हान्निएँ ।
०००
गुलरा बजारबाट सुरु भएको हाम्रो बिहानी यात्रा । मटेरा, कटासे, पालबजार हुँदै चिसापानी पुग्दा मध्ये दिन भएको थियो ।
ऊ मेरो गाईड अर्थात भर्खरै चिनेको साथी । सुदुरपश्चिम घुम्ने मेरो खुब ईच्छा थियो । बुद्धिसागरको कर्णाली ब्लुज पढेपछि त सुदुरपश्चिममा पाईलो टेक्ने र मनलाग्दी घुम्ने ईच्छाले ठूलै घर बनायो मनमा ।
ईच्छाले मनामा घर बनाएको एक वर्ष पछि निस्किएँ यात्रामा ।
जब म सुदुरपश्चिम आएँ, घुमाउने जिम्मा उसले लिई । हिजै हो चिनजान भएको । घोडाघोडी ताल सफर गर्दा एउटै डुङ्गामा बसेका थियौं । तब मात्र भएको हो हाम्रो बोलचाल । छोटो समयमै ऊ आत्मिय भई । उसैले बनाएको हो यो रुट ।
एकै भेटमा पनि कति आत्मिय हुन सक्दो रहेछ मान्छे ।
०००
‘के खाने ?’ होटलभित्र पसिसकेपछि उसले सोधी ।
‘आई डन्ट नो, ह्वाट डू यू वान्ट ?’ मैले भने ।
‘चिसापानीको माछा एकदमै टेस्टी हुन्छ ।’ उसले बताई ।
‘मैले भने नि तिम्रै इच्छा ।’ माछा भन्दा पनि उसको कुरा गर्ने शैली निक्कै टेस्टी थियो मेरो लागि ।
उसले दुई प्लेट फिस फ्राई अर्डर दिई । ‘अरु केहि ?’ उसले पुनः सोधी ।
‘एउटा फ्याण्टा, एउटा सूर्य लाईट ।’ मैले जवाफ दिएँ ।
‘धूमपान स्वास्थ्यको लागि हानीकारक छ ।’
‘थाहा छ ।’
‘किन खानुहुन्छ त ?’
‘चाँडै मर्न’ भनेर फेरि उसलाई रिस उठाउनु थिएन । त्यै भएर भने ‘थाहा छैन ।’
माछा टेबलमा आईपुग्यो । उसले एक टकले मलाई हेरिरही । रेडियोमा फत्तेमान गाइरहेका थिए ‘गाजलु ती ठूला ठूला आँखा तिर बनि बस्यो यो मुटुमा...’
०००
‘आजको बास कता हो ?’ सोधें ।
‘यहिँ चिसापानी, मैले होटल बुक गरिसकें ।’ उसले भनी ।
‘अब के गर्ने त ?’, घडी हेर्दै सोधें । ‘साँझ पर्न तीन÷चार घण्टा बाँकी नै छ ?’
‘डू यू वान्ट स्वीम ?’ सोधी ।
‘खासै आउँदैन ।’
‘खास नआए पनि अलिअलि त आउँछ नि हैन । आज गर्नु पर्छ । गर्मी पनि छ ।’
‘तिमी पनि ?’
‘होईन, म तपाईंले स्वीम गरेको हेर्छु ।’
‘एक्लै त हुँदैन, फेरि बगायो भने ।’ भने ।
‘त्यस्तो हुँदैन, नडराउनुस न । म छदै छु नि ।’ उसले भनी ।
‘ओके ।’ म कर्णालीको छाल तिर हान्निएँ ।
०००
हामी कर्णालीको बगरमा पुग्यौं ।
पौडी खेल्नेको घुईचौ नै थियो । माछा मार्नेहरुको ताँती पनि उत्तिकै । मैले फटाफट कपडा उतारें । अघिको केटाकेटीलेजस्तै पानीमा डाईभ हानें । र, एकछिन पानी भित्रै हराएँ ।
‘पर गहिरो छ, त्यता नजानुँ ।’ उसले वारीबाट चेतावनी दिई ।
पन्ध्र÷बीस मिनेट पानीमा रुझेपछि बगरमा आएँ । बगरमा बालुवाको घर बनाएँ । छालले खाईदियो । रमाईलो लाग्यो । सानो छँदा म यसैगरि सुनकोशीको बगरमा बालुवाको घर बनाउँथें । हावाले उडाउँथ्यो वा छालले लान्थ्यो । फेरि बनाउँथें, फेरि भत्कन्थ्यो । दिनभरी बालुवाको घर बनाउँदा बनाउँदै थाक्थें र, घर फर्कन्थें ।
आज फेरि म बालकजस्तै बनें । बालुवाको घर बनाएँ । ऊ बगरमा बसेर मलाईनै नियाली रहेकी थिई ।
गर्मी भयो । फेरि पानीमा डाईभ हानें । उसले बगरबाट बोलाई । ऊ क्यामेराको लेन्स म तर्फ सोझ्याउँदै थिई । ऊ हाँस्दै चिच्याई ‘स्माईल प्लीज’ ।
०००
त्सयपछि हामी बर्दिया निकुञ्जतर्फ लाग्यौं ।
०००

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु