"युरेसियाको स्पर्श"मा बजगाईं

- असफल गौतम

पूर्वी नेपाल धरानका रैथाने कृष्ण बजगाईं १७ वर्षदेखि डायोस्पोरामा भौतारिरहेका छन् । झण्डै बाह्र वर्षे बेल्जियम बसाईपछि बेलायत सरेका बजगाईंले त्यहाँ जरा गाडेको पनि पाँच वर्ष बढी भयो । विदेशको बसाईमा आर्थिक उन्नती के कति गरे त्यो व्यक्तिगत कुरा हो, तर सामाजिक र साहित्यिक सञ्जालमा अहोरात्र खटिने बजगाईले साहित्यिक यात्रामा प्रगति गरेका छन् भन्ने कुराका साँक्षी उनका प्रकाशित कृति हुन् । सोही कारण उनको साहित्यिक योगदानलाई कदर गर्दै सत्यमोहन जोशी शताब्दी पदक र वैजयन्ती स्रष्टा सम्मान (२०१६), सुप्रमा साहित्य पुरस्कार बेलायत (२०१६), भानुभक्त द्विशताब्दी स्वर्ण पदक (२०१४), डायास्पोरा नृपध्वज पुरस्कार अमेरिका (२०११), देवकोटा शताब्दी सम्मान (२००९) र नारायण जयन्ता लिटरेरी वेव जर्नालिज्म एवार्ड अमेरिका (२००९) आदिबाट पुरस्कृत तथा सम्मानित भएका छन् ।
साहित्यकार बजगाईं साढे तीन दशकदेखि लेखन तथा साहित्यिक पत्रिका सम्पादन गर्दै आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थामा सङ्लग्न बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष, समकालीन साहित्य डट कमको सम्पादक÷प्रकाशक, लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय समन्वय संयोजक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति वासिङ्टन डीसी अमेरिकाको वरिष्ठ उपाध्यक्ष (२०१०-१२), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति वासिङ्टन डीसी अमेरिकाको महासचिव (२००८-१०) र संस्थापक अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर (२००७-११) लगायत अन्य साहित्यिक संस्थामा रहेर सेवा गर्दै आएका र गरिसकेका छन् । विगत ११ वर्षदेखि उनले बेलायतबाटै समकालीन साहित्य डट कम नामक साहित्यिक वेव पत्रिका प्रकाशित गरिरहेका छन् ।
परदेशमा साहित्य सिर्जना सजिलो छैन । व्यस्त दिनचर्याले लेखनमा बाधा हालिरहन्छ । त्यसका वाबजुद उनले विदेशबाटै सातवटा कृति प्रकाशन गरे । कथा, लघुकथा, हाइकु, नियात्रा, कवितामा कलम चलाउने बजगाईंका युरेसियाको स्पर्श (नियात्रासङ्ग्रह, २०१७), कवच (लघुकथासङ्ग्रहः२०१७), कमरेड भाउजू (कथासङ्ग्रह: २०१५), रोडम्याप (लघुकथा सङ्ग्रह : २०१०), स्रष्टा र डिजिटल वार्ता (साहित्यिक अन्तर्वार्ता सङ्ग्रह : २०१०), हिउँको तन्ना (हाइकुसङ्ग्रह :२००९) र यन्त्रवत् (लघुकथा सङ्ग्रहः २००७) प्रकाशित भइसकेका कृति हुन् ।
उनको बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग र चीनको यात्रानुभूतिको समेटिएको ७ औं कृतिको रूपमा ‘युरेसियाको स्पर्श’ नियात्रासङ्ग्रह साझा प्रकाशनले बजारमा ल्याएको छ । देश विदेशको यात्रा धेरैले गर्दछन् । यात्रा गर्ने सबैले यात्रानुभूति लेख्दैनन् । त्यसमा पनि विदेशको यात्रानुभूति कमैले लेख्छन् । यस मेसोमा बजगाईंले आफू घुमेको ठाउँ, बसेको स्थान, त्यहाँका रहनसहन, भाषा, संस्कृति, ऐतिहासिक सम्पदा आदिका शब्दचित्र लिएर ‘युरेसियाको स्पर्श’मा प्रस्तुत भएका छन् ।
उनका नियात्रा पढ्दै गर्दा पाठकलाई सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ । ती देशका कला, साहित्य, संस्कृति, इतिहासआदिको जानकारी पाएर पाठक बाहिरी संसारसँग परिचित हुनेछन् ।
हरेक नियात्रा लेखकका आ–आफ्नै लेखन शैली र कला हुन्छन् । नियात्रा भनिसकेपछि मूल रूपमा फरक हुँदैन तर उनको नियात्रा पढ्दा हतारमा होइन खोज अनुसन्धान गरेर नियात्रा लेखेको देखिन्छ । जुन स्थान वा विषयको बारेमा लेखेका छन् त्यसको बारेमा नयाँ जानकारी पाठक समक्ष प्रस्तुत गर्ने प्रयास गरेको छन् । उनको नियात्रा पढिरहँदा पाठक प्रसस्त सूचना ग्रहण गर्दै साहित्यिक रसस्वादन गर्दछन् यसमा दुई मत राख्नुपर्ने देख्दै देखिँदैन ।
१९ वटा यात्रानुभूति ‘सेक्सपियरको जन्मघरमा पारिलो घाम’, ‘त्यानमेन चोकमा घुमघाम : माओको अगाडि घोक्रे ठ्याक’, ‘संसारको सबैभन्दा सानो सहर दुर्वीमा एक दिन’, ‘सिटी अफ लव’ अर्थात् पेरिसमा चार दिन’, ‘फरबिडन सिटीमा एक फन्को’, ‘पानीमुनिको रेलयात्रा : लन्डनमा साहित्यिक भेटवार्ता’, ‘हिउँको कला, बरफको दरबार’, ‘ग्रेटवालमा संस्कृतका श्लोकहरू’,‘अरनिकोले बनाएको स्तूप घुमेर फर्कदा’, ‘चिनियाँ कविको निवासमा माछा मार्दा’, ‘समुद्री किनारमा नेपाली अक्षर बेच्न बस्दा’, ‘मार्क्सको समाधि स्थलमा कमरेड भाउजूसँग बरालिँदा’, ‘जहाँ माक्र्सले कम्युनिस्ट घोषणापत्र लेखे मैले कविता’, ‘इभ्वार तालमा उदास मन’, ‘बेलायतमा तिन धामको यात्रा’, ‘लक्जेम्बर्गको यात्राः घामपानी र हिउँको जात्रा’, ‘बेल्जियमको सडकमा बरालसिङ’, ‘ब्रसेल्सको तरुनी रात’, ‘त्यो चुम्बक जुत्ता र विदेशमा जाक्ने जर्मनी यात्रा’ शीर्षक नियात्रामा उनी पाठकलाई सँगसँगै यात्रा गराउन सफल छन् ।
विदेशमा हिन्दू धर्मका मन्दिर खोज्दै हिँड्छन् । साहित्यकार शेक्सपियर, चिनिया कवि त्यूफूको निवासको कोठा चौका चहारेर जानकारी बटुल्छन् । बेलायत र बेल्जियममा नेपाली भाषा साहित्यप्रतिको मोहमा चुर्लुम्म डुबेका छन् । संसारको सातौं आश्चर्यमध्येको एक ग्रेटवालमा संस्कृतको श्लोक कुँदिएको कुरा पत्ता लगाएर पाठकलाई आतुरता साथ सुनाउँछन् ।
बेल्जियममा कार्ल माक्र्सले कम्युनिष्ट घोषणापत्र लेखेको घरमा पुगेर कफी पिउँदै कविता लेख्छन् भने बेलायतमा कार्ल माक्र्सको समाधिस्थलमा उभिएर आफ्नो कथासङ्ग्रह ‘कमरेड भाउजू’ आफँैले बिमोचन गर्दै सर्वथा नौलो शैली प्रयोग गरेर अचम्भित पार्दछन् । थाकेर लखतरान हुन्जेल बेल्जीयम, जर्मनी र लक्जेम्बर्गको सडक नाप्छन् । बाटामा भेटिएका अपरिचतसँग चिनजान गर्दै तिनका अनुभव सुन्छन् र पाठकलाई इमान्दारिताका साथ सुनाउँदछन् ।
चीनमा माओको अगाडि झण्डै घोक्रे ठ्याक पाएको कुरा रोचकतासाथ सुनाउँछन् । उता हाम्रै नेपाली कलाकार बलबाहु अर्थात अरनिकोले बनाएको स्तूपभित्र घुम्दछन् । सबै दृष्य दुरुस्त शब्दचित्रमा उतार्दछन् ।
हिमालै हिमालको देशका बासिन्दा पहिलो पटक युरोपमा हिउँ र हिउँको मूर्तिकला देखेर अचम्भित हुन्छन् । उनका नियात्रामा चीन वा युरोपको गगनचुम्बी भवन, चिल्ला सडकको वर्णन छैन । नत्र ठूल्ठूला विकास निर्माणको चर्चा । नियात्रामा तिनका हजारौ वर्ष पुराना साहित्य, कला र संस्कृतिका कुरा छन् । तिनका ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन देखेर लोभिदैनन् बरु हाम्रो देशमा किन यसरी राखिदैन भन्दै सरकारलाई घच्घचाउँदछन् ।
बजगाईंको प्रस्तुत कृति अध्ययनपछि के भन्न सकिन्छ भने, साहित्य, कला र संस्कृति राष्टूका धरोहर हुन् । तिनको सम्वर्धन गरे मात्र राष्ट्र सम्बृद्ध हुन्छ भन्ने कुरा विदेशीले धेरै अघि बुझे । तर हामीमा त्यस बारेमा अहिलेसम्म चेत आएको छैन भन्ने बजगाईं हाम्रो देशमा राज्यले निर्वाह गर्नुपर्ने महत्वपूर्ण दायित्वबाट पन्छिएको देख्दा नियात्रामार्फत मुरमुरिन्छन् । आफ्नो भाषा, सस्कृति, कलाप्रतिको मोह उनी विदेशमा रहँदा पनि प्रसस्त देखिन्छ । नियात्रा पढ्दा उनमा अगाध राष्ट्रप्रेम रहेको थाहा लाग्छ । यसरी नै उनका कृतिमा राष्ट्रप्रेम र साहित्य प्रेम देख्न पाइयोस् सफलताको शुभकामना ।
(लेखक गौतम पोखराका क्रियाशील पत्रकार एवं साहित्यकार हुन्, सं.)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु