आमन्त्रण

- श्रवणकुमार ढुंगाना

आउ आज यो तिम्रो र मेरो
खुल्ला आकाश मुनि
सबैको माझ रक्सीले मातौं !

जहिले पनि म तिमी बिना अधुरो अनुभव गर्छु ।
मेरो धर्म, मेरो क्रिया
मेरो सम्मान
मेरा हरेक दैनिकी
यतिसम्म कि -
मेरो एकान्तको अभिलाषामा पनि
पछिल्तिर, मैले नदेखिकनै
पूर्णता प्रदान गर्ने तिमि नै हुन्छ्यौ,
मेरो युग-युग निरन्तरताको जिजिविषा
तिमीबाटै पूर्ण हुन्छ ।
र, सायद त्यसैले
तिमीलाई कब्जामा राखेर
आफ्नो मुट्ठीमा राखेर
आफ्नो गोजीमा, खोपीमा
शिरानी मुनि, गोडा मुनि
वा छातीमा राखेर
जसरी, जहाँ, जहिले पनि
आफ्नो पूर्णता नभत्काउन
सजिलै उपभोग गर्न चाहन्छु ।
(तिमीले यो नबुझेको बेला
मेरो अग्निले मलाई नियन्त्रण गर्छ
र तिमीलाई पोल्छ, जलाउँछ ।)

मैले तिमीलाई सानो मानेकै छैन
देवी भनेको छु
अर्धाङ्गिनी भनेको छु
मुटुको धुकधुकी भनेको छु
आधा आकाश भनेको छु ।
जे जे भनेको छु
तिनले मलाई पूर्ण बनाएका छन्,
र लाग्छ-
तिमीलाई पनि पूर्ण बनाएका छन् !

र पनि तिमी सन्तुष्ट छैन्यौ
शायद
मेरो पूर्णताको अवयव बन्ने बन्धनबाट
मुक्ति खोजेकी छ्यौ !

मेरो आँखाबाट
तिमी मेरो पूर्णतामा अंश हुदा
तिम्रो आँखाबाट
म तिम्रो पूर्णतामा अंश हुनु
स्वयम्-सिद्ध हो,
- भएँ कि भइन ?
तिम्रो धर्म, तिम्रो क्रिया
तिम्रो सम्मान
तिम्रा हरेक दैनिकी
यतिसम्म कि
तिम्रो एकान्तको अभिलाषामा पनि
पछिल्तिर, तिमीले नदेखिकनै
पुर्णता प्रदान गर्ने म
- भएँ कि भइन ?

(यो त मैले नसोचेको पाटो !
तिम्रो गुनासो यहि हो वा अरु नै ?
यो त मैले नबुझेको पाटो)

यो स्वतन्त्रताको आगजनी
यो स्वतन्त्रताको एेंठन
यो स्वतन्त्रताको वासना
यो स्वतन्त्रताको अभिलाषा
कहाँ नेर तृप्त होला -
आलिंगनमा ?
वा, कब्जामा ?

आऊ,
पैसाले टेकाएको खुट्टा भन्दा पर
लुगाले अल्झाएको खुट्टा भन्दा पर
'हाइ-हिल' ले लर्खराएको खुट्टा भन्दा पर
हाम्रो अन्तस्करणमा लागेको जालो
हाम्रो मुटुमा परेको गाठोहरू लाई
पहिचान गरौं, र
त्यसलाई च्यात्ने
त्यसलाई फोर्ने उपाए खोजौं !

आउ आज यो तिम्रो र मेरो
खुल्ला आकाश मुनि
सबैको माझ रक्सीले मातौं !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु