रत्नप्रसाद एम डि

- बिनोद खड्का

रेडियोले फुक्यो, टेलिभिजनले सुनायो, बतास झै दौडिए खबरहरु, रत्न प्रसादजी एम डि भए । थुप्रै मान्छेहरु बधाई दिनका खातिर रत्नप्रसादको घर र कार्यालयमा नै पुगे । रत्नप्रसादलाई आफ्नो नजिकको हाकिम ठान्नेहरु, संगै दारुपानी तास कौडा गरेका आधारमा नजिक भएको महशुस गर्नेहरु, उसकै मातहतको विभागमा काम गरेका आधारमा नजिक भएको महशुस गर्नेहरु त बधाई भन्न जाने नै भए, त्यसदेखि बाहेक राजनैतिक आस्थाका आधारमा मन नपराउँनेहरु, रत्नप्रसाद माथीका हाकिम र नेताहरुको नजिक भएको पहिलेदेखि नै मन नपराउँनेहरु, र यथार्थमा नै यो नियुक्तिलाई मन नपराउँनेहरु त झन बधाई दिनेमा पहिलो लाईनमा नै पुगेका थिए ।
रत्नप्रसादको बारेमा प्रशंसाका खहरेहरु उर्लिए । वाटो, दोवाटो, चौतारी, बस, पसल सबैतिर एउटै चर्चा चल्यो । सरकारले सही मान्छे नियुक्ति गर्यो, धेरैले भने । सही मान्छे, योग्य मान्छे, अनुभवी मान्छे, आदि ईत्यादि बयानहरु पनि प्रशस्तै भए । अब पहिलेको भन्दा प्रगती हुँन्छ भन्नेहरु पनि देखिए । रत्नप्रसाद दिनदेखि रातभर फेसबुक र टिवट्रभरी छाई रह्यो, मोबाईल फोनमा बोलिरह्यो । जति सय बधाई पायो त्यति नै धन्यवाद पनि फर्कायो उसले ।
प्रशंसाका बर्षाहरुले बिश्राम मार्दाका बखत भने यदाकदा बिरोधका कुराहरु पनि छिट्याए ।
घरमै पुगेर अन्तर्वाता लिए पत्रकारहरुले । उसले बतायो उसका भावी कार्यक्रमहरु मानौ उ चटृान फोडेर चमत्कारी गर्नेवाला छ, पहाड नै एक ठाँउवाट अर्को ठाँउमा सारिदिनेछ । भोलिपल्टका पत्रिकाहरुभरी उसले हात हल्लाई हल्लाई बोल्दै गरेका फोटोहरु छापिए । यी सबै झन परार सालका कुराहरु थिए ।
आजभोली, रत्नप्रसादको घरको अगाडी कार रोकिन्छ, बिहान र साँझमा । ड्रईभरले ढोका खोल्दै सलाम ठोक्छ । कार, पजेरो, प्राडो विभिन्न किसिमका गाडीहरु पनि कहिलेकाही दिनमा नै पनि उसका दैलोका अगाडी रोकिन्छन । रत्नप्रसादकी धर्मपत्नी बजार गई रहेकी हुन्छिन । पोई हाकिम भएयता ब्युटिपार्लर पनि जान थालेकी छिन ।
टोल छिमेकमा पहिले नबोल्नेहरु पनि आजभोली रत्नप्रसादले नदेख्ने पो हो कि भनेर अगाडी नै आएर नमस्कार गर्छन अनि सोध्छन “आरम हर?”
समयले पानाहरु पल्टाउँदै गयो । मन्त्री र सचिवका मान्छेहरुलाई जागिरमा नियुक्ति दिदै गयो । कतिवटा नियुक्तिपत्रहरुमा सही गर्यो पत्तै भएन । ठेक्का पटृाहरुमा पनि सही हाल्दै गयो । माथीका मान्छेहरुले भनेका ठाँउमा गाडीहरु पठायो, मागिएको ठाँउमा चन्दा भर्यो । कोटेश्वरको सानो घरबाट बानेश्वरमा नयाँ बनेको आफ्नै बंगलामा बसाई सार्यो । विदेश यात्रा गरेर भ्याई नभ्याई भयो ।
फेरी एउटा अर्को पत्रकार आयो घरमा, प्रगतिका प्रश्नहरु गर्यो । ठूला ठूला परिवर्तनका कामहरु पहिट्याउन लागेको जवाफ दियो रत्न प्रसादले । ति सबै सम्पन्न गर्न अर्को आठ दश बर्ष लाग्ने बतायो । तर आफ्नो चार बर्षको अबधिमा एक बर्षमात्रै बाँकी रहेको गुनासो पोख्यो । पत्रकार छक्क पर्यो प्रगतीको अवस्था देखेर, दशवाट आठमा झरेछ, तर एघारसम्म पनि उक्लेनछ ।
रत्नप्रसादले पत्रकारको कानैमा भन्यो “सरकार फेरियो तर म फेरिईन, किन? काम नगरेकाले, काम गरेको भए कही न कही बिग्रनथ्यो, मेरा खुटृा तान्न ढुक्नेहरुले उहिले मलाई जेल पठाई सक्थे । काम नगरेर के भयो? तलब पाकेकै छ, माथीका देउताहरु खूसी नै छन, छेउछाउका भुतहरुलाई पनि बेलाबेलामा मन्छेकै छु, कसले माग्ने मेरो प्रगति विवरण, कसका हिम्मत । पदमा छु, सानमा छु, टोल समाजमा कत्रो ईज्जत सम्मान छ, हरेक दिन नमस्कारको लर्को लाग्छ । यही सान अर्को एक बर्ष टिक्यो भने आफ्नो अवधि पुरा भैहाल्छ, कुरै खत्तम । त्यसपछि अर्को नियुक्ति ढुकौला, पद त कति छन कति, जि एम, राजदुत, नभए सल्लाहकार त छदैछ । पत्रकारज्यु, कानमा गरेको कुरा कानमै सिमीत रहोस, क्यामेराका कुरा स्क्रिनमा है ।”
क्यामेराले भोलिपल्ट रत्नप्रसाद एम डि को प्रगतिको बखान गरिरह्यो, पटक पटक ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु