दोस्रो पटक सिड्नीको रमाइलो यात्रा

- इन्दिरा दीक्षित

छोराछोरीको आग्रहमा दोस्रो पल्ट फेरि सिड्नीजाने साइत जु¥यो । फेब्रुवरी १२, २०१७ (२०१७।१२।०१) को बिहान करिब ९ बजेतिर खाना खाएर त्रिभुवन बिमान स्थलतिर लागियो । सिंगापुर हुँदै जानु पर्ने हाम्रो टिकट अनुसार दिनको १ बजेको बिमान थियो । ९।३० जतिमा बिमानस्थल पुगियो । लाइन लागेर भित्र पस्दा १० बजेको हुँदो हो । सामान चेक गरेर माथि बिमान चड्न पर्खने ठाउँ पुग्दा ११ जति बज्यो । १ बजे उड्ने बिमान अझै २ घन्टा बाँकी नै थियो । दुई जना हामी र हाम्रो एउटा सानो ब्याग जुन हातमा बोक्ने मात्रै, अरु सबै त तलै बुझाइयो अब सिड्नी पुगेपछि न लिने हो बेकारमा हातमा के बोकीरहनु ।
२ घन्टाको समय कसरी बिताउने हो ! यताउता हेर्न थालें, चिनेका कोही थिएनन् । थपक्क मेचमा बसें । भित्र छिरेदेखि बोर्डिंग पास नलिएसम्म मन खल्वल भइरहने, यताउता केके पो भन्ने हो, पास भएपछि ढुक्क, अब आनन्दले बस्न मिल्यो ।
खालि समयको सदुपयोग गरें, हातमा भएको मोबाइलबाट साथीभाइ र आफन्तहरुलाई फोन गर्न थालें, पैले खवर नगरेकाहरु र आफन्तजन जो बोर्डिंग पास नलिएसम्म चिन्तित थिए, सबैलाई यथोचित खबर गरें ।
एकघन्टा त बितेछ । अर्को एक घन्टा बिताउने कसरी हो ! उठेर हिंड्न थालें, सबैजसो नेपाली थिए तर पनि बोल्न गारो हुने किन पो हो कुनि आफ्नै देशमा पनि यस्तो व्यवहार गर्छन्, पर्देशमा झन् के, नेपालीले नेपालीलाई नै देखेको नदेख्यै गर्छन् । कतै खाडीतिर जाने जमात थिए, तिनका नाइकेले केके अथ्र्याउँदै थिए, कतै सारै बुठाबुढी सायद हामी जस्तै, छोराछोरी अथवा नातिनातिनाले बोलाएर विदेश जान लागेका होलान् । टाउकोदेखि खुट्टासम्म सम्पूर्ण नेपाली पुरानो पैरनमा बसेका बूढाबूढी पनि देखिए ।
मेरो विचारमा, नबोल्नुको दुइवटा कारण मैले देखें, खाडीतिर काम गर्न जानेलाई नाइकेले कसैसँग नबोल्ने उर्दी गरेको होला, बिचराहरु आफंैमा हराएका जस्ता टिठ लाग्दो अनुहार कसैसँग के बोल्नु र ? अर्का थरि ठूला मान्छे भई खाएका, अमेरिका अस्ट्रेलियातिर जाने, हुनेखाने मै हुँ भन्ने खाले, अरुसँग बोली मिसाउँदा जातै जाला जस्तो गर्ने ! अनि कुरै मिलेन । नबोल्नेसँग म पनि किन बोलूँ र ? चुपै लागेर सबैतिर निरीक्षण मात्रै गरेर आफ्नै ठाउमा फर्केंर कुर्सीमा बसें ।
बिस्तारै सबै हुल छाँटिदै गयो, कÞतार, मलेसिया, दिल्ली कता कतापछि सिंगापुरको बिमान आयो । अनि हाम्रो पनि बोलाहट आयो ।
ढोकाबाट बाहिरिदा हाम्रो अगाडि एउटा बस थियो । सबै यात्रीलाई यसै बसमा हालेर अलि पर रहेको बिमानसम्म पु¥याउने व्यवस्था रहेछ । हामी पनि सबै सँगै बसभित्र पस्यौ । बसमा अधिकांश नेपाली नै थिए ।
करिव पाँच मिनेटजतिमा बिमानसम्म पुगियो । ओर्लेर चढ्न खोज्दा कसैले आएर भन्यो बिमानमा केही समस्या आएको छ पाँच मिनेजति यतै बस्नु ल ! थोरै मेरो मनमा डर लाग्यो कस्तो खाले समस्या हो ? सायद अरुलाई पनि डर लागेको हुनुपर्छ ।
पाँच मिनेटपछि हामी सबै बसबाट निस्केर बिमान चढ्यौ । चढ्न त चढियो तर निकै बेर उडाएन, सायद केही बनाउँदै हुँदो हो, करिव आधा घन्टाको ढिलाइपछि विमानउड्यो ।
झ्यालतिरको मेरो सिट, म दङ्ग परें, बाहिरतिर हेर्न मलाई रमाइलो लाग्छ । बिमान उड्यो, अलि माथिबाट हेर्दा काठमाडौं शहर, अव्यवस्थित घरैघरको घना बस्ती अनि तुवाँलो लागे झैं टम्म छोपिएको, सायद धुलोधुवाको बाक्लो उपस्थिति होला । माथि पुगेर सोचें ओहो यस्तो बाक्लो तुँवालो, कसरी स्वास फेर्नु ? अक्सिजन भन्दा कार्वनडाइ अक्साइडको मात्रा मात्रै देखिन्छ ! त्यसैले रहेछ क्या रे काठमाडांैमा अचेल अस्पताल भरी फोक्सोका रोगीहरु बढेका समाचार सुन्नमा आउँछ । यस्तो स्वासफेराइले कतिदिन बाँचिएलार खै ?
काठमाडांै सकिएपछि परपर अलि सफा र छर्लङ्ग देखियो । डाँडापाखा, वनजङ्गल, खोलानाला, आदि । नेपाल निकै सुन्दर छ । हिमाल, पहाड जँगल, तराई सबै चिजले भरिपूर्ण, मनमनै प्रश्न गरें, के छैन र हाम्रो देशमा ? हामी चढेको विमानभरी सबैजसो नेपाली मात्रै थिए । कोहीकोही फरक अनुहार भएका थिए । नब्बे प्रतिशत जति सबै नेपाली । अनि धेरैजसो सबै अस्ट्रेलिया नै जाने रहेछन् ।
झ्यालबाट हेर्दै थिएँ यसपालि किन हिमाल देखिएन ! मलाई राम्रो लाग्ने श्रृङ्खलाबध्द हिमालको दृश्य ! उसो त मनमोहक हिमाल कसलाई मन नपर्ला र ? तसबिरमा उतार्न खोज्दै थिँए तर देखिएन । ऐले आउला भन्दाभन्दै पछि थाहा पाएँ यो बिमान त दक्षिणतिर सोझै हानिएर भारततिरको केही भूभागको माथिबाट बङ्गलादेश पुगिसकेछ । निकै बेर बितेछ बङ्गलादेशको माथि उडेको पनि मलाई के था र ! करिव पाँच घन्टा जतिको उडानमा दुई घन्टा जति त बितिसकेछ । तल यसो हेर्दा बस्ती छ अनि चारैतिर ठूलाठूला नदी बगेझै देखिने, जताततै पानी पानी ! हैन यस्तो विधि पानी अनि बिचबिचमा सहर पनि छ, कसरी यस्तो पानी होला ! कतै हिमाल पनि देखिन्न ! हिमालबाट बग्ने हाम्रो देशको जस्तै खोलानाला पनि यो त हैन ! अब कसरी था पाउनु होला ! म जिल्ल पर्दै यताउति हेर्दै थिएँ । पछाडि सिटबात गफ गरेको सुनें बङ्गलादेश आइपुग्यो । ओहो ! बङ्गलादेशको माथिबाट पो हामी उडिरहेका रहेछौं ।
बङ्लादेश त एउटा गहिरो देश हो जाहाँ दक्षिण एशियाभरिको पानी जम्मा हुन्छ । समुन्द्रकै पानी पनि शहरभित्रै पस्छ, बर्सेनी बाडीले धेरै जनधनको नास गर्छ, यस्तो कुरा समाचारमा सुन्ने गरेको थिएँ, एक ठाउँबाट अर्को ठाउँमा जान पनि बङ्लादेशमा त डुँगा चड्नुपर्छ भनेको सुनिन्थ्यो, साँच्चै आज माथि आकाशबाट भए पनि प्रत्यक्ष देखियो, पानीपानीको देश बङ्लादेश ।
सबै नेपाली अनि अगाडिदेखि पछाडिसम्म कुरा गर्न मिल्ने, मेरो पछाडिको सिटमा बस्ने वृध्द दम्पती अनि उनकै साथ लागेर अस्ट्रेलिया पढ्न जान लागेकी एउटी १८,२० जतिकी युवती कुरा गर्दै गरेको म सुन्दै थिएँ, ती व्यक्ति वृध्द भए तापनि निकै फुर्तिला र धेरै पटक देशबिदेश गरेका जस्ता बुझिन्थे, उनी ती युवतीलाई अथ्र्याउँदैथे, यो बङ्लादेश त दक्षिण एशियाकै गैरो देश हो, सबैतिरको पानी यतै जम्मा हुन्छ, नेपालको पनि पानी बगेर यतै आइपुग्छ नि ! म पनि चाख मानेर सुनिराखेको थिएँ, सुनेर नपुगेर कैलेकाहीं जान्न मन लागेको कुरा पछाडि फर्केरै सोध्न थालें ।
तिन जनाको सिट, हामी दुई र सँगैको सिटमा एकजना वृध्द महिला थिइन् । दङ्ग परेर तलतिर हेर्दै कुरा गरेको सुनेर उनलाई पनि हेर्न मन लागेछ । उनलाई पनि झ्यालतिर बसेर मुनिको दृश्य हेर्न मन भएछ । सिधै मसँग भनिन् “नानी म पनि हेरांै न अब पालोपिलो गरेर हेर्ने है ? तपाईं यता बस्नोस् म त्यता”, मलाई फÞसाद प¥यो, झ्याल आफूलाई छोड्न मन नलाग्ने । अनि वृध्द आमाको अनुरोधलाई कसरी नकार्ने ! आपसी सम्झौता बन्यो उनी हामी दुईको बिचमा बस्ने भइन् । बाँकिको समय उनी सोध्ने म बताउने गरेर बित्ने भो ।
अब हाम्रो बिमान कता पुग्यो पत्तो भएन । तलतल पानीमाथि कपास तैरिएझै देखिएको बादलका मैदान, यस्तो देखेर महिला आमा सोध्न थालिन् “नानी के हो त्यस्तो, भेडाको भुत्लाजस्तो आम्मै के बिघ्न ?” मैले भनें, “भेडाको भुत्ला हैन आमा त्यो त बादल हो । हामी तल जमीनमा हुँदा माथि देखिन्छ, ऐले हामी त्यो बादलभन्दा पनि निकै माथि आइसक्यांै, अनि त्यो बादल हामीभन्दा तल देखिन्छ ।”
“हो र नानी कति माथि आयौं त ह ?” उनी उत्सुक हुँदै सोध्दै थिइन् । म कति भनेर बताऊँ र ! ४०, ५० हजार फिटको उचाइमा उडेको जहाज उनलाई कसरी सम्झाऊँ ? “धेरै माथि आकाशमा आमा !” भनिदिएँ । उनी के बुझेर हो वा नबुझेर उनी हाँसिरहिन् ।
अब उनी मसँग गफिने मुडमा थिइन्, मलाई पनि उनीबारे जान्ने इच्छा जाग्यो । पुखलो मिजासकी, गहुँगोरी, गोलो र बुढ्यौलीको रेखा कोरिएको अनुहार, टम्म मिलेका दाँत, हँसिलो र कुरैपिच्छे हाँसिरहने बानी परेकी, निधारमा रातो टीका, गलामा नौगेडीको पोते, हातको औंला भरी सुनका औंठी, कानमा टन्न सुनका गहना, सधैं धोतीचोलोमा बस्ने जस्ती तर आज नयँं कुर्था सुरुवालमा सजिएकी, एकछिनसम्म त म उनलाई हेरिरहिछु, “केहेरेको नानी यसरी ट्वाल्ल परेर ?” उनको सोधाइले झस्किएँ । अनि “केही हैन आमा ।” भन्दै आँखा हटाएँ ।
उनले सोधिन्, “तमाईं पनि अस्ट्रेलिया जाने हो नानी ?”
“हो आमा ।” मैले जवाफ दिएँ ।
“तपाईंको अस्ट्रेलियामा को छ त आमा ?” मैले सोधें ।
“मेरो दाजुको छोरो भदा बस्छ उता । उसैले बोलाएर जान लाग्या !” सुन्दा अचम्म लाग्यो आमाबाबुलाई त नगर्ने जमानामा भदाले फुपूलाई यसरी सात समुन्द्र पारबाट पैसा खर्चेर घुम्नको लागि बोलाउनु भनेको निकै ठूलो कुरा हो जस्तो लाग्यो ! कि कुनै अर्के स्वार्थले पो फुपूलाई बोलाएको हो कि भन्नेसम्मम सोचें । जेसुकै होस् भनेर यो पाटोको सोचाइ छाडें ।
“निकै माया‘ं गर्दा रहेछन् त आमा ! तपाईंका भदाले, अस्ट्रेलिया कुन सहरमा बस्छन् नि ?”
“खै कता हो नानी मेलबन भन्थे, तपाई ंपनि त्यतै जाने हो नानी ?”
“हैन म त सिड्नी जाने हो आमा !” मैले भनें ।
उनले फेरि सोधिन्, “यो सिड्नी भन्ने देश चैं कता हो नि नानी ?” “त्यो पनि अस्ट्रेलियामा नै हो आमा, काठमाडौं, भक्तपुर भनेजस्तै मात्र हो ।” अब उनले बुझेझै टाउको हलाएर हाँसिन् ।
“तपाईं कताबाट आउनुभयो त आमा ?” अब सोध्ने पालो मेरो थियो, मेरो सोधाइमा उनले बेलिबिस्तार लगाइन्, चितौनको बुढौली, श्यामनगर कता हो गाउँमा उनको माइती रहेछ, उनी माइतीघरमै बस्दीरहिछन्, बिहेगरेको घर चाहि नुवाकोट त्रिशूली रहेछ । १०,१२ वर्षको उमेरमा साटो गरेर बिहे गरेको रहेछ, साटोको अर्थ ऐलेको पिंढीले नबुझ्न पनि सक्छन्, मैले त बाल्यकालमा सुन्ने गर्थे फलानाको साटो गरेको बिहे के टिक्थ्यो र !
एक घरको छोरी र छोरा, अर्को घरको छोरी र छोरा यताउति बिहे गर्नेलाई साटो भनिन्छ । पाहाडतिर अलि गरीव भएपछि छोरा बिकाउन गारो हुनें रहेछ, आफ्नो छोरी दिने सर्तमा छोराको बिहे हुने ! यसरी गरेको विवाहलाई साटो गरेको भन्ने चलन छ । यस्तो बिहे दिगो नहुन पनि सक्छ । ती आमाको पनि यसरी नै घरवार राम्रोसँग नभएर माइतै बसेकी रहिछन् । दुखभरिको कथाले मेरो मनमा उनीप्रति दया पलाएर आयो, बिचरी घरवार नभएकी दुखिया !
दाजुका सन्तान भदाभदैलाई आफ्नै सन्तानझै माँया गरेर हुर्काएकीले ऐले बिदेश घुम्न पनि बोलाएका रहेछन् । अनि मलाई उनका भदामाथि बनेको अघिको गलत धारणामा परिवर्तन भयो । हो यस्ता मान्छेहरु पनि हुन्छन् यस दुनियाँमा भन्ने लाग्यो ।
म फेरि बाहिर हेर्न थालें, अलि छ्याङ्ग भएछ, बङ्गालको खाडी कुन बेला हो सकिएछ, परपर नीलो हिन्द माहासागर जलमय देखियो । सूर्य पनि अलि नजिकिए जस्तो देखिएको, समुन्द्र र आकाश बिचको क्षितिज राम्रो देखिएको । म हेर्दै थिएँ, फेरि उनै आमाले बोलाइन् । उनको मुख चलेको चल्यै, चुपो लाग्ने त नामै नलिने, मलाई पनि कोही गफिने साथी त चाहिएको थियो, तर पनि कति बोल्नु ? बोलेको बोल्यै ! तैपनि म हाँसेरै उनको कुरा सुन्न थालें ।
उनी अब आफ्नो सबै जन्मेदेखिको कुरा भन्न थालिन्, २००५ सालको जन्म अनि नाम चाहिं गङ्गा गजुरेल । तिन दाजुभाइकी एक्ली बैनी, सबैको मायाँं भए पनि जेठो दाजुसँग साटो गरेर बिबाह गरेको हरेछ । हाल उनको उमेर ६७ वर्ष भएछ । उनी ५० वर्षको हुँदा उनका बाबुको देहान्त भएछ । हँस्यौली पारामा अझ उनकी ९७ वर्षकी आमा जीवितै रहेको पनि बताइन् ।
“बुझ्नुभो नानी ? मेरा भदाहरु त देशविदेश फैलेका छन् नि ! जापान, कतार, मलेसिया, अस्ट्रेलिया चारैतिर छन् ।” उनी हाँस्न थालिन् । म पनि उनीसँगै हाँसें ।
गजुरेल आमाको गफमा मस्त थिएँ, परिचारिकाले खाना ल्याइन् । उनका लागि साकाहारी ‘भेज हिन्दू मेल’ आयो, हाम्रालागि न‘नभेज हिन्दूमेल’ मैले खोलेर खान सिकाएँ, बट्टा खोल्दा त भात रहेछ ।
“ओहो लौ म त भात खान्न, कसरी खानु यस्तो सबैले छोएको, अनि केके हालेर पकाएको भात म खान्न” आमाले भनिन् घिन मानेर पन्छाउन् थालिन् । मैले फेरि भने आमा ! “भात नखाए पनि त्यो पाउरोटी चैं खानोस् न त आमा ।” मैले भनेपछि उनले एकपल्ट पाउरोटी हातमा लिइन् अनि “खान्न एकछिन भोकै भए पनि केही हुँदैन” भन्न थालिन्,
“खानोस् आमा ! अरु धेरै बेर चड्नु छ भोक लाग्छ ” मेरो भनाइलाई नकार्दै उनले भनिन्, “यस्तो भातसँगै जोडेको पाउरोटी कसरी खानु नानी ! भो म खान्न” उनको गनगनमा वरपर अरुले पनि ध्यान दिंदैथे, “अब सम्झाउन थाले, यत्रो सात समुन्द्र नाघेर आएपछि पनि यो खान्छु यो खान्न भन्ने हो र ? खान पर्छ । भोकै त गारो हुन्छ, बिरामी भए कसले हेर्ने ?”
सबैको एकै स्वर भएपछि आमैको मनले नमाने पनि पाउरोटीको डल्लो हातमा उठाएर खान थालिन् । भोक खुबै लागेकोले हामी त आफ्नो चिकेन र भात मजाले खान थालेका थियौ ।
“मासु खान हुन्न नानी !”
“किन र आमा ?” मैले सोधें, अब उनको प्रवचन सुरु भयो “मासु खाए पाप लाग्छ, जीव हत्या गर्नु हुँदैन, आत्मा सबैको एकै हो ।” मैले पनि जवाफ दिएँ “हुन त हो हजुरको कुरा ठिकै हो आमा ! सानैदेखि लागेको बानी, स्वाद पसेको छ, छोड्न सकिन्न, भेटेको बेला खाइन्छ ।”
कतिपय कुरा त झर्को पनि लाग्न थाल्यो, अर्काले खाइरहेको चिजलाई नखान भन्ने, फेरि सोचे यी बिचरीलाई के था र के भन्न हुन्छ के हुँदैन ।
धर्मकर्ममा लागेकी, कृष्णप्रणामी बनेकी, इण्डियाको ठूलोठूलो मठमन्दिर पुगेकी, भागवत कतै नछुटाउने उनी एकछिन बोल्न बन्द भो कि मुखबाट कृष्ण कृष्ण बोल्न सुरु गरिहाल्ने । कसरी सकेको होला जुन बेला पनि कृष्ण कृष्ण जप्न ! उनको बानीले मलाई अचम्मित् बनायो । मैले केही प्रतिकृया जनाइनँ, उनी यसैमा रमाएकी छिन् यो उनको दिन भुलाउने बाटो बनेजस्तो लाग्यो ।
खानापछि म विमानको झ्यालबाट बाहिर हेर्न थालें । जमीन नभएर पानीमात्रै देखिन थाल्यो धेरैजसो बादलले ढाकेर केही नदेखिने, सेतोमा खैरो खैरो रङ्ग मिसिएको बादल राम्रो बुट्टेदार गलैँचा टम्म पारेर ओछ्याए जस्तो देखिंदैथ्यो । घाम अस्ताउन ठिक्क परेको रातो देखियो । अस्ताउँदो घामको किरण फैलिएको बादल पनि हल्का रातो र सुन्दर देखियो । अति राम्रो लागेर म फोटो लिन तल्लीन भएँ । निकै बेर चुपो लागेर बस्न परेकोले हो कि आमाले तानेर देखाउँदै भन्न थालिन् । “यो हेर्नुस् त नानी, कस्तो लाग्यो ?” उनले आफ्नो गलाको नौगेडी देखाउँदै भनिन् । भर्खर बनाएको रहेछ, नयाँ जस्तै थियो । “राम्रो छ आमा, नयाँ पनि रहेछ ।”
“बुझ्नुभो नानी ! मैले आफै दुःख गरेर बनाको नि, गाई पालेको छु, दूध बेच्छु, म त कसैसँग पनि बस्दिन नि नानी आफू एक्लै बस्छु ।”
“किन र आमा ?” मैले सोधें ।
“के गर्नु र नानी, अर्कोसँग बसेपछि उनकै खटनपटन सुरु हुन्छ, उनको कुरा, आफूलाई चित्त बुझ्दैन,अनि आफ्नो उनलाई, बरु आफै दुःख गरेर कमायो, मन लागेको चिज खायो, कसैलाई ख्वाउन मन लागे पनि ख्वाउन पाइयो । यो सबै गहना मैले आफंै बनाको नानी ।” उनको शरीरमा करिब ८,१० तोला जति सुन हुँदो हो । भित्र एउटा सिक्री पनि लगाएको रहेछ, तानेर मलाई देखाइनु, हेर्नोस् त नानी, भदाले पोहोर उस्को बिहेमा बनाइदेको ।” करिव एक तोला जतिको सिक्री हुँदो हो ।
“निकै माया गर्दा रहेछन् त आमा हजुरका भदाले त ?”
“सानैदेखि मैले स्याहारेको, अनि बाहिर जाने बेला पनि मैसँग, नपुग पैसा सापटी भन्दै तिनलाख रुपियाँं लिया छ, तिन वर्ष भइसक्यो ऐलेसम्म देको हैन, ब्याज दिन्छु फुपू भन्थ्यो, साउँ न ब्याज, यति सिक्री पनि नबनाए त के गर्नु नि ।” उनी खुब हाँसिन्, उनको हाँसोमा मैले पनि साथ दिएँ, उनको मुहार अझै प्रफुल्ल हुँदै थियो ।

घाम अस्ताइसकेछ, बाहिर अँध्यारो देखियो, अब हेर्ने कुरा पनि केही भएन, विमानमा जानकारी गराउँदैथे, अब एक घन्टामा सिङ्गापुरको विमानस्थल पुगिनेछ । परिचारिकाहरु यताउता पानी, सर्वत अरु पनि केके जसले मागे पनि पु¥याउँँदै थिए । हँसिला, फुर्तिला, केटाकेटीहरु, यिनलाई कैले थकाइ लाग्दैन होला ? जो सँग पनि हाँसेर बोलेका छन्, छिटो छरितो गरेका छन् ! म दङ्ग पर्दै यिनको गतिविधि हेर्दै थिएँ ।
फेरि उनै गजुरेल आमा बोल्न थालिन्, उनी त अब मेरो पक्काको साथी बनिसकेकी थिइन् । त्यो तिनचार घण्टाको बसाइमा उनले आफ्नो भएभरको सबै कुरा सुनाइससेकी थिइन् ।
“मैले त सबैथोक भनें अब तपाईँको त मलाई नाम पनि थाहा भएन, यत्रो बेर कुरा गरियो नानी ! तपाईंको नाम के हो ? घर चै कता हो ?” उनको सोधाइमा मैले हाँस्दै आफ्नो नाम बताएँ, उनलाई उच्चारणमा अलि अप्ठेरो भएछ, “के रे इन्द्रा ?” मलाई खुब हाँसो उठ्यो ।
“छोड्नुस्न आमा ! यो नाम साम किन चाहियो र यही जाहाजमा बसुन्जेल त हामी साथी हौं, यताबाट छुट्टिएपछि तपाई र म कताकता हैन र ?”
“ओहो ! हो त नि नानी, भगवान कृष्णले गीतामा भन्नुभएको छ, यो संसार त क्षणिक हो, हिजो कता थियौं आज यता छौं अनि भोलि कता पुगिन्छ थाहै छैन । यही जहाज जस्तै हगि नानी ? कताकताबाट आएका हामी सबै एकै ठाउँमा जम्मा भयौं अनि केही बेर साथै छौँ ओर्लेपछि कताकता लागिन्छ !”
“हो त नि आमा ! यो संसार यस्तै छ ।” मैले पनि उनको हाँ मा हाँ मिलाएँ ।
अब उनि भजन गाउँन थालिन् ।
हृदयमा कृष्णको फोटो छ, जीवन हाम्रो छोटो छ ।
हाँंसेर भए पनि रोएर भए पनि, एक दिन जानु छ ।
हाम्ले एक दिन जानु छ ।
मरेर लानु क्यै छैन, साथमा केही जाँंदैन ।
धनी भएपनि गरीव भएपनि, एकदिन जानु छ ।
हाम्ले एकदिन जानु छ ।
आत्मा हाम्रो अमर छ, दिव्य धाममा पुग्नु छ ।
दुख सुखको नाटक हेरी, एकदिन जानु छ ।
हाम्ले एकदिन जानु छ ।
अब विमान ओर्लन आधाघण्टा जति बाँकी भएको र सबैलाई सतर्क हुने खवर आयो । भजन छोडेर उनले सोध्न थालिन् “के भनेको नानी ?”
“अब ओर्लने बेला हुन लाग्यो आमा सिटबेल्ट लगाउन पर्छ ।” उनले के सक्नु र बेल्ट लगाउन मैले आफै लगाइदिएँ ।
बाहिर अँध्यारो भए पनि परपर सिङ्गापुरको शहर झलमल्ल देखियो । बाटोभरि गुडेका गाडी, सानासाना, राता बत्ती बलेको देखिन थाल्यो । निकै माथिबाट पनि कति राम्रो देखिएको, विमान निकै तल ओर्लियो, बत्तीको उज्यालोमा पानीपानी देखियो, अनि पानीको बिचबिचमा धेरै नै बत्तीले सिङ्गारिएको डुँगाहरु, छरिएर रहेका पनि देखिए । रातमा त यति राम्रो झलमल शहर, रङ्गिन पानी, पानीमाथि तैरिएका डुँगा सबै देखियो भने, दिनमा कति राम्रो देखिंदा ेहो सिङ्गापुर ! सुनेको थिएँ, संसारको राम्रो र रमणीय शहरमा सिङ्गापुर पनि पर्छ ।
अब बिमान अवतरण गर्न लाग्यो, सिटबेल्ट बाध्न थालें, आमाले फेरि निन्याउरो मुख लाएर भन्न थालिन्, “अब हाम्रो भेट कैले हुन्छ त नानी ?” म के जवाफ दिउँ ! साच्चै अब उनको र मेरो भेट कैले हुन्छ र ?
“यो कराइरहने बूढीको कैलेकाहीं याद आउँछ होला त नानी तपाईँलाई ?” उनी निकै भावुक बन्दै गइन्, मैले हातमा भएको मोबाइलबाट उनको तस्वीर निकालें, “यी आमा अब सँधै सम्झने उपाय भैहाल्थ्यो नि ” उनी अझै भावुक बन्दैथिन्, “मेटेर नफाल्नु है नानी ! मलाई त तपाईंको असाध्दै सम्झना आउँछ अब, यत्रो बेर यति राम्रोसँग सबै बात मारियो, यो बिरानो मुलुकमा, सबैले बोल्दा नि जातै जाला जस्तो गरे, नेपालैदेखि कोही वोल्न मानेनन्, हे¥यो कि फनक्क पर्थे, मसँग तपाईंको जस्तो फोन छैन, नत्र म पनि तस्वीर खिच्थें नि ।” उनका कुरामा म केही बोल्न सकिनँ । उनको आत्मीयतामा म नतमस्तक परिरहें, विमान रोकियो, सबै उठेर बाहिरिने तरखरमा लागें । आमै पनि उठिन्, अलि पर उनको कोही साथी रहेछ, भदाको घरसम्म पु¥याइदिने, खोज्दै आएकोले बुझियो, सँगै तल ओर्लियांै । बाहिरिएपछि उनको र मेरो गन्तव्य फरक थियो, छुट्टिने बेला मलाई कसेर अँगालो मारिन्,
“बाँचिरहे फेरि भेटिएल ानी नानी ! लौ त जाऊँ है ?”
उनको बोलीले मलाई पनि भाबुक बनायो, परसम्म म हेरिरहें, थाहै नपाई मेरा पनि आँखा रसाएछन् ।
“किन उभ्भिराको जाने हैन ?” अनायास आएको आवाजले म झस्किएँ, बिस्तारै म पनि आफ्नो गन्तव्यतिर लागें ।

हालः सिड्नी, अस्ट्रेलिया ।


समाप्त

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु