कागजकी देवी

- प्रभा बराल

जति नै समानताका कुरा सुनिए पनि कानमा इयरफोनको ठेडी कोचेर श्रीमान्लाई ओछ्यानमै चियाको कप पु¥याउन जान्छु । सात बजिसक्दा पनि आपूmलाई कतै जाने हतार छैन भने अलमस्त रहन्छन् उनी । मेरो व्यस्तताप्रति रत्तिभर पनि चिन्ता लाग्दैन उनलाई । ढोकाको घ¥याक्क आवाजसँगै, मेरो हातको बाफिलो चिया देखेर उनी ज¥याकजुरुक उठ्छन् र ओछ्यानबाटै मेरो चियाको कप हातमा लिन्छन् । ‘के रहेछ आजको हट न्यूज ?’ उनी उत्तर पाउने आशामा मेरो अनुहारतिर फर्कदै चियाको चुस्की लिन्छन् ।
‘ओहो ! अब त हट न्यूज पनि मैले नै भन्दिनु पर्ने । यसो मसँगसँगै उठेर सानोतिनो काम सघाए पनि मलाई स्वाँस्वाँ र फ्वाँफ्वाँ त हुने थिएन नि । चिया पनि सधैँ ओछ्यानमै ल्याइदिनु पर्ने । यो त अति भो, यो चलन भोलिदेखि हटाऊ है ? म ओछयानको सिरक पट्याउँदै उनीतिर हेरेर अनुहार खुम्च्याउँदै बोल्छु ।’
‘त्यो त मैले तिमीलाई उहिलेदेखि नै भनेको नि, आफै चिया बनाएर ल्याउँछ्यौ । मलाई धेरै माया गर्ने तिमी त हौँ नि । त्यो सिरक पनि म पट्याइहाल्थेँ नि । काम गर्न तिमीलाई नै हतार लाग्छ म के गरुँ त ?’
‘हेर न ठीक्क पार्न कति जान्या, तिम्रा सुरले त कहिले हो कहिले ?’
आपूm यस्तो कामको पसारो देख्दादेख्दै चुप रहनै सक्दिनँ । हुन पनि हामी महिलालाई काम देखेपछि सक्नै पर्छ भन्ने सकसक लागेर होला आफैलाई यस्तो धपेडी भाको । आफै मनमनै भन्छु । ‘तिमीले चिया खायौ त भनी श्रीमान्ले एक वचन सोध्लान् कि भनेर नचिताए पनि हुन्छ, हेर न सुइसुइ एक्लै खाएका, म उनीतिर फर्कन्छु । प्रेसर कुकरको सिटीले बोलाउँछ, कुकरले सिटी बजाएपछि अब श्रीमती भान्छातिर दौडने आभाष पाएर श्रीमान् मतिर फर्की मुसुक्क हाँस्छन् । म रित्तो कप लिएर कोठाबाट बाहिरिन खोज्छु ।
‘लाइन आएपछि सबैतिर भ्याकुम म लगाइदिउँला, तिमी भान्छाको काम मात्र गर न’ भन्दै उनी बाथरुम जाँदाजादै ढोकाबाटै कराउँछन् । ‘हस् हस्’ भन्दै म भान्छातिर कुद्छु । प्रेसरकुकुरभित्र दाल छड्किएभन्दा बढी मेरो हतार छड्किन्छ । कानबाट इयरफोन थुतेर फाल्छु । समाचार पनि के सुन्नु छ र उही महिला हिंसाका कुरा । बालिका बलात्कारका कुरा, राजनैतिक अस्थिरताका कुरा, असहमतिका कुरा, महङ्गीका कुरा । समाचारका पृष्ठहरुमा सबैभन्दा बढी त महिलाका पीडाहरु नै छापिन्छन् होला । कतिविधि महिला हिंसा बढिरहेको हँ ? म सोचमग्न बन्न पुग्छु ।
मेरो आँखामा अस्ति अस्पताल जाँदा भेटिएकी युवतीको भयावह दृश्य आँखामा नाच्न थाल्छ । चिकित्सा औजारहरुले झिलिल्ल बत्तीहरु बलेको कोठामा बिरामीको मुटुको चालदेखि शरीरको क्रिटिकल अवस्था बोध गराउने आइसियु कक्षमा एक युवती जीवन मृत्युको दोसाँधमा छटपटिइरहेकी रहिछन् । उनले चाहेकी थिइन् मर्नलाई, तर बचाएछ कसैले । अझ भनौँ जुन श्रीमान्को टर्चरले उनी मर्न खोजेकी थिइन् उसैले बचाएछ, समाजका खातिर । दबाबका खातिर । बच्चाहरु भmुठो बोल्दैनन् । उनको आठ वर्षे छोरो भन्दै थियो । ‘ममीले जिउमा मट्टीतेल खनाएर आपूmलाई लाइटर कोरेर बाल्नुभयो तब अर्को कोठामा बसेका हामीले मट्टीतेल गनाएपछि थाहा पायौ । कम्बल खोज्न जानु भएको बाबा धेरै बेरसम्म आउनु भएन । म जोड जोडले ममी ममी भनेर चिच्याएपछि मात्र वरिपरि कोठामा बस्नेहरु आइपुगे र बाबाले पनि कम्बल ल्याउनु भयो ।’
शायद श्रीमान्को सोचाइ थियो, मरे मरोस् मर्न खोज्नेलाई दिनुपर्छ । म अर्को बिहे गरिहाल्छु । ‘खुट्टा भए जुत्ता कति कति’ बडो मलाई घुर्की लाउँछे । तर छोरो च्याँठिएर रोएपछि र कोठा कोठाबाट मान्छे निस्किएपछि ऊ पनि बचाएजस्तो अभिनय गर्दै कम्बल बोकेर दौडादौड गरेछ ।
निम्नवर्गीय परिवार । आम्दानी कम । फेरि दिनकै पन्ध्र हजार लाग्ने आइसियुको उपचार कक्ष । मैले भेट्दाको दिन नै एक हप्ता भइसकेको रहेछ । त्यहाँको नर्स इन्चार्ज मेरी बहिनी भएकी हुनाले मैले त्यो दृश्य नियाल्ने मौका पाएकी थिएँ । नत्र गोप्य पारिएको यो घटनाक्रम र संवेदनशील उपचार कक्षभित्र प्रवेश गर्ने अवसर मैले पाउने थिइनँ ।
युवतीले जिउमा मट्टीतेल खनाउनुको कारण रहेछ, हरेक दिन श्रीमान् कामबाट फर्केपछि श्रीमतीको जिउ सँुघ्नु । परपुरुषगमन भयो कि भनी श्रीमतीलाई केरकार गर्नु । एक दिन होइन, दुई दिन होइन सधैको किचलो । श्रीमान् श्रीमतीबीच माया प्रेमको वृक्ष झयाङ्गिएला कि भन्दा शङ्काको विषवृक्ष बढ्दै गयो । हरेक दिनको कटुता । कुनै दिन मधुर मुस्कान छैन । प्रेमको वातावरणै छैन ।
स्वावलम्बी नभएकी उनको, आफै प्रेमविवाह गरेका कारण माइतीमा पनि राम्रो सम्बन्ध रहेनछ । न टेक्ने हाँगो, न समाउने डाली । केही उपाय नलागेपछि सबैभन्दा सजिलो उनका लागि मृत्युवरण भएछ । तर काल नआइकन कहाँ मरिन्छ र ? जिउभरि पोलेका ठूला ठूला जलौरा लिएर नर्स इन्चार्जतिर फर्कदै सानो स्वरमा उनले बोलिन् । ‘दिदी ! मुख सुक्यो पानी’ जिउ तिलको गेडा नै राख्न नमिल्ने गरी पोलिएको थियो । ‘उनी बाँच्लिन त ?’ मैले नर्स बहिनीतिर फर्केर सोधेँ । ‘खै दिदी अहिले त खतरामुक्त छिन् । हरेक दिन सुधारोन्मुख छ । सुरुमा उनको अवस्था देख्नुभएको भए तपाई कत्ति तर्सनुहुन्थ्यो होला ।’
बाहिर ढोकामा घाइते बहिनीको श्रीमान् पश्चातापको अनुहार लिएर हामीसामु हात जोड्दै थियो । शायद उसले मलाई ठान्यो होला, कुनै महिला अधिकारकर्मी अथवा कुनै गुप्तचर । यो घटनाले पुलिस केस नहोस् घटना जनमानसमा नपुगोस, परिवारको गोप्यता बाहिर नजाओस् भनेर हात जोडेको जोड्यै गर्छ रे कुनै अपरिचित देख्नै बित्तिकै । ‘दुःख पाइस् मङ्गले आफनै ढङगले’ जीवन हामीले सोचेजस्तो कहाँ छ र ? रिसलाई नियन्त्रण गर्र्न नसक्दा र शङ्काले नै त यो दिन देखिएको रहेछ । मैले मनमनै आफैसँग भनेँ । काठमाडौँको मुटुमा नै त घटनाहरुलाई यसरी दबाइँदा रहेछन् भने दूरदराजका महिला हिँसाका कुरा कसरी बाहिर आवोस् । निजी अस्पताललाई पैसा कुम्ल्याउन पाए भइहाल्यो किन हल्लाखल्ला गर्दथ्यो र ?
त्यो दिनदेखि मेरो मन यति अशान्त छ कि त्यही पोलिएकी युवती मात्र आँखामा छाइरहन्छे । हे भगवान् ! महिलाले यस्ता हिँसा कति सहनु पर्ने हो ? शिक्षामा पहूँच नभएकै कारण, अज्ञानताको मलामी कहिलेसम्म गइरहनु पर्ने हो जस्तो लाग्यो ।
हातमा डाडु लिएर नाचिरहेकी मलाई, ‘तिम्रो मोबाइलमा अघिदेखि घण्टी बजिराछ । कमसेकम आपूm बसेको ठाउँमै मोबाइल राख न ?’ त्यति मोबाइल उपल्लो तलाबाट तल्लो तलामा ल्याउनु पर्दा श्रीमान्जी गन्गन् गर्दै आए ।
‘कसको नम्बर हो ?’
‘खोइ कसको हो, सेभ छैन ।’ उनले भने । को होला त चिनेजानेको मान्छेले त बिहानको हतारो सम्झेर पनि फोन गर्दैनन् । म श्रीमान्को हातबाट मोबाइल लिदैँ हेलो बोल्छु । उताबाट चट्याङ परेजस्तो आवाज चट्किन्छ । ‘यो फोन कहाँ प¥यो होला ?’ मोबाइलमा फोन गर्ने मान्छेले पनि कहाँ प¥यो भनेर सोध्दा मेरो रिसको पारो सगरमाथा झै चुलिन्छ । ‘मोबाइलमा फोन गरेर पनि कहाँ प¥यो भन्ने ? कानमा प¥यो नि ?’
‘ए मैले त नाकमा पो प¥यो भन्ठानेको ?’ कति निहुँखोजुवा मान्छे रहेछ, उल्टो नाकमा पो प¥यो कि भन्छ बा । म रिसाउँदै मोबाइल टेबलमा राख्छु ।
यस्तो बिहानको समयमा पनि फोन गरेर गलफती गर्ने । अब नचिनेको नम्बर त उठाउँदै उठाउँदिनँ ।
‘ममी दुध !’
‘हस् बाबु । मुख धोयौँ र ?’
‘अँ’
‘ल ल हिजोको होमवर्क गर्दै गर म ल्याइदिन्छु ।’ दाल, तरकारी पकाइसकेँ, छोराको लागि स्कुलमा खाने टिफिन पनि तयार पारिसकेँ अब मेरो पर्खाइ थियो बत्तीको । आज सात बजे बत्ती आउने पालो थियो, साडे सात भइसक्दा पनि नआएको देख्दा राइसकुकरमा भिजाएको चामल प्रेसर कुकरमा हालाँै कि भन्नै लाग्दा झयाप्प बत्ती बल्यो । तातो दुधको कप छोराको हातमा दिएँ । होमवर्क गर्न बसेको छोरो कपको दुध बोकेर मेरो त आइप्याड जिरो छ भन्दै चार्ज गर्न दौड्यो । ओहो ! आज त मेरो एक ठाउँमा पावरपोइन्ट प्रिजेन्टेसन छ, सुटमा आइरन लाउनु प¥यो नि भन्दै श्रीमान्जी माथि कोठामा दौडिए । जाने बेलामा एक मिनेट पनि तलमाथि नगरी जाने बत्ती आउने बेलामा ढिलै आएपनि सबैजना हर्षित मुद्रामा आ–आफनो काममा लागे ।
अब बल्ल मेरो चिया खाने पालो आयो । तातो चिया लिएर सुरुप सुरुप पारेँ । टिभी हेर्दै चिया खान प¥यो भन्ने लाग्यो । भान्छासँगै जोडिएको बैठकमा गएर सोफामा बसेँ र टिभी अन गरेँ । चियाको चुस्कीसँगै समाचार सुन्दा आफैले पकाएको मीठो चिया पनि तीतो न तीतो लाग्यो । समाचारवाचिकाको स्वर कोइलीको जस्तो सुमधुर भए पनि समाचार मुटु बिझाउने ढुङ्गाभन्दा खस्रो थियो । एउटी बोल्न नसक्ने ३५ वर्षकी महिलामाथि सशस्त्र प्रहरीका दश जवानले सामूहिक बलात्कार गरेर रक्तश्रावको खोलो बगाएको घटना प्रसारित भइरहेको थियो । रक्षक नै भक्षक बनेको यो भयानक घटना सुन्दा मेरा नाडी गले । यसभन्दा अगाडि पनि यस्ता घटना समाचारमा धेरैपटक आइसकेका हुन्छन् । किन आजभोलि यस्तै डरलाग्दा घटनाक्रमहरु मात्रै दोहोरिएका दोहोरियै छन् ?
जिन्दगीको दौरानमा कहिल्यै खतराको घण्टी बोधसम्म नगरेकी यस्ती सोझी महिलामाथि किन यस्तो नृशंशता ? दश दश जनाको कति मतिभ्रष्ट हुन सकेको ? हरेक दिन यस्ता घटना घट्लान्भन्दा किन बढ्छन् मात्रै ? मलाई थप समाचार सुन्ने धैर्यता र जाँगर दुवै हुँदैन । भान्छामा पस्छु, राइसकुकरमा भात छड्किएको मात्रै रहेछ, झयाप्प बत्ती जान्छ ।
मलाई मेरो जीवनको गति नै निभेजस्तो लाग्छ । घर नजिकैको ट्रान्समिटर ड्याम्म पड्किन्छ । घनाबस्ती हुनु अघि जोडिएको कम क्षमताको ट्रान्समिटर यस अघि पनि कयौँ पटक पट्केकै हो । अब तत्काल त्यो बन्दैन । राइस कुकरमा लगभग पाकिसकेको खाना फेरि प्रेसरकुकरमा खनाउँछु र बलिरहेको ग्याँसको ज्वालामा एकोरिन्छु र आँखामा छाइरहन्छन् अस्पतालमा मट्टीतेल खनाएर मृत्युको मुखमा पुगेकी युवती र दश जनाको सामूहिक बलात्कारमा परेर रगतको खोलो बगाइएकी अबोला स्त्री ।
भारी मन पीडाले अझै थिचिन्छ । सुस्केरा हाल्दै पुनः बैठककोठामै पुग्छु । आँखा अगाडि चार हातमा बन्चरो लिएकी, बाघमाथि बसेकी माता काली देवी, रातो जिभ्रो निकाल्दै, आँखाबाट आगोको लप्का निकालेर बोलिरहेको प्रतीत भए पनि यथार्थको संसारमा भने उनी चित्रमा मात्रै सीमित एक निर्जीव र विवश नारीको प्रतीक लाग्छिन् । काली र महाकालीका यी उपमाहरुले नारीलाई अल्मल्याउन खोजेजस्तो मात्र लाग्यो । आफनै अस्तित्वका लागि आफैँ नजुर्माए समयले माफ गर्ने छैन भन्ने महसुस भयो ।
मलाई शक्तिकी प्रतीक मानेर पूजा गर्ने मूर्ति र कागजकी देवी फगत किवंदन्तीकी देवी जस्तो मात्र लागे । उनका चित्रमा मेरा आँखा एकोरिन्छन् । उनका र मेरा आँखा जुध्छन् । म उनीसँग मौन वार्ता गर्छु र तिमी निराकार र अन्तर्यामी देवी भएको भए किन बढ्दैछन् हरेक दिन नारीमाथि अत्याचार ? किन हुँदैन पापीमाथि सजायँ ? अँह, तिमी कथामा वर्णित शक्तिशाली देवी होइनौ । मलाई सजाउनु छैन तिमीमाथिको भ्रमको पर्दा । तिमीमाथि मेरो भरोसा छैन अबदेखि, बैठकमा टाँसिरहेको कागजकी देवीलाई हातमा लिन्छु र धरधर च्यातिदिन्छु । बैठकभरि देवीका कतै टाउका, कतै जिउ र कतै बाघको आसन छरपस्ट हुन्छ ।
ल के गरेकी यो ? श्रीमान्जी अलिकति आश्चर्य र अलिकति भयले मेरो अनुहार हेर्छन । मैले टिभी खोलेर देखाइदिन्छु, फ्ल्यास न्यूजमा देखाइरहेको समाचार र भान्छाभित्र प्रवेश गर्छु । कागजकी देवीलाई च्यात्न सकेकोमा अलिकति भए पनि राहत महसुस गर्छु । प्रेसरकुकरमा सिटी लाग्छ । लाग्छ, यो सिटीले नारीलाई अन्धविश्वासको रोटेपिङमा हल्लिएर बाँच्न होइन, आत्मविश्वासले भिजेको स्वाभिमान लिएर बाँच । पापीहरुको कर्ममाथि धावा बोल । अन्यायका विरुद्ध जुर्माउन सिक र अन्यायको विद्रोह गर भन्दै शंखघोषको घण्टी बजाइरहेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु