सीमाभन्दा पर साहित्य

- राजेन्द्र पराजुली

अब विश्वका कुनै पनि मुलुकका क्रियाकलाप गोप्य रहन सक्ने अवस्था छैन । तिनका क्षमता, शक्ति, सामथ्र्य, उद्देश्य र प्रेरणासमेत खुल्ला किताबजस्ता हुन पुगेका छन् । विश्वग्रामको सोच बलियो बन्दै गएको छ । यसमा पछिल्लो समय उदाएको इन्टरनेटले बलियो पुलको काम गरिदिएको छ । सीमा जोडिएका मात्र होइन कतिपय दूर रहेका मुलुकका सांस्कृतिकता, मौलिकता, परम्परा, संगीत, साहित्य तथा कलाका माध्यमबाट एकअर्कालाई बुझ्ने–पढ्ने अनि स्पर्श गर्ने अवसर प्रशस्त उपलब्ध छन् ।
निकटतम विशाल छिमेकी भारतको साहित्य, कला, संगीत तथा सिनेमाको प्रभाव नेपालमा दशकौँदेखि पर्दै आएको छ । जबकि उत्तरी छिमेकी चीनको प्रभाव न्यूनमात्रै छ । चिनियाँ साहित्य पछिल्लो समय संसारमा फैलँदै गएको छ । त्यहाँका लेखकले पनि नोबेल पुरस्कार तथा अन्य विश्वचर्चित सम्मान पाउन थालेका छन् । त्यो निकटतम छिमेकीले विस्तारै साहित्यमा ख्याति कमाउन थालेपछि त्यसको प्रभावबाट नेपाल पनि अछुतो हुने कुरै भएन । मो यानका रचना अहिले नेपालमा निकै चाखका साथ पढ्न थालिएको छ । क्लासिक साहित्यमा चिनियाँ ख्यातिप्राप्त लेखक लु सुन नेपालमा निकै पढिएका साहित्यकार हुन् ।
भारतमा कुनै राम्रा पुस्तक प्रकाशित भएको थाहा पाउँदासाथ नेपालका पाठक विभिन्न माध्यमबाट आफ्नो हातमा पार्न हतारिन्छन् । यी दुई देशको संस्कृति, समाज, सभ्यता, मानवीय संवेदना उस्तैउस्तै तहका छन् र अधिकांश नेपाली पाठक हिन्दी भाषा मज्जाले बुझ्छन् । लिपि उस्तै हुनाले भाषा बुझ्न सहज पारिदिएको छ । यसकारण पनि भारतीय साहित्यलाई नेपाली पाठकले आफ्नै सिर्जनाजस्तो मानेर परापूर्वकालदेखि नै पढ्दै आएका छन् । रविन्द्रनाथदेखि पे्रमचन्द, शरतचन्दका साहित्य नेपालका पुराना पढन्तेका घरमा अहिले पनि सजिएर रहेका भेटिन्छन् । तिनका रचनालाई नेपालमा कुनै धर्मग्रन्थजसरी सम्मानका साथ राख्ने गरिन्छ । पछिल्लो समयका निर्मल बर्मा, उदय प्रकाश, अज्ञेय, केदारनाथ सिंह, खुसवन्त सिंह, भीष्म साहनी, हरिसंकर परसाईं, अमृता प्रितम, मंगलेश डबराल, गोरख पाण्डेय, सुरजित पातर, पाशजस्ता लेखकलाई पढेर मेरो पुस्ता साहित्यमा अघि बढिरहेको छ । भारतका उदीयमान कतिपय लेखक अहिले नेपालका किशोरकिशोरीका प्रिय उपन्यासकार बन्न थालेका छन् । चेतन भगत, अमिश त्रिपाठी, आश्विन सांघीजस्ता भर्खर लेखनमा आएका लेखकले नेपालमा उल्लेखनीय पाठक कमाइसकेका छन् । अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाएका अरुन्धती रोय, झुम्पा लाहिरीजस्ता लेखक त नेपालमा युवापुस्ताको मनमस्तिष्कमै छन् । समग्रमा नेपालमा कुनै पनि समयमा भारतीय साहित्यको सीमा बाँधिएन । सीमातीत ढंगमा भारतीय साहित्य निरन्तर नेपालमा पढियो– पढिँदैछ । दुई देशबीच राजनीतिक तहमा बेलाबखत उत्पन्न हुने उतारचढावको असर साहित्यमा बिल्कुलै परेको देखिँदैन । भारतबाट अत्यावश्यक वस्तु नेपाल आउन बन्द हुँदा पनि नेपाली मनले भारतीय साहित्य पढ्न, संगीत सुन्न र सिनेमा हेर्न बन्द गरेन । जनस्तर तथा मनस्तरमा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सीमा धेरैअघि भत्किसकेको छ । तर, यो सीमा नेपालका पाठकले एकतर्फी रुपमा मात्र भत्काएको अवस्था छ, किनकि भारतमा नेपाली साहित्यले प्रवद्र्धन हुने अवसर पाएकै छैन । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा, राजनीतिज्ञ तथा लेखक बीपी कोइराला, गोपालप्रसाद रिमाल, भूपि शेरचन, पारिजातलगायतका ख्यातिप्राप्त लेखकका कृति भारतमा सहज उपलब्ध हुने हो भने भारतीय पाठकका निम्ति रुचिकर हुने पक्का छ । भारतका घुमन्ते लेखक राहुल सांकृत्यानले महाकवि देवकोटालाई पन्त, प्रसाद, निरालासँग दाँजेको इतिहासबाहेक नेपाली साहित्यकारलाई भारतमा राम्ररी पढिएको र बुझिएको देखिँदैन । साहित्यमात्र होइन नेपालका अखबार, संगीत तथा सिनेमाले पनि भारतमा माया पाउन सकेको छैन । जबकि, नेपाल भारतीय सिनेमा, अखबार र संगीतलाई अगाध माया गर्छ । यस्तो एकांगी माया कहिलेसम्म अघि बढिरहला ? नेपालीमा एउटा उखान प्रख्यात छ ‘रोटी दोहोरो मात्र पाक्छ’ भन्ने । सीमाहीनताको रोटी पकाउने काम नेपालले मात्र गर्दै आएको छ । सानो देश नेपाल राजनीतिक संक्रमणले ग्रस्त छ । राज्यस्तरबाट भाषा, साहित्य तथा कलाको प्रवद्र्धन उल्लेखनीय ढंगमा हुन सकेको छैन । यसको अर्थ नेपालमा स्तरीय सृजना हुँदै नभएको भन्नेचाहिँ होइन । पछिल्लो समय नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका साहित्य लेख्ने जमर्को भइरहेको छ । सिनेमामा पनि आशालाग्दो काम हुन थालेको छ । नेपालमा नयाँ लेखक–साहित्यकारका कृति हजारौँ प्रति बिक्न थालिसकेको छ । नेपाली क्लासिकलाई रुपान्तरण गर्न सक्ने हो भने तिनले तत्कालीन नेपाली समाज बुझ्न अवश्य सहयोग पु¥याउने छन् । यस कार्यमा सबैभन्दा बढी सहयोग निकटतम छिमेकी भारतबाटै हुन सक्छ ।
नेपालले करिब दुई दशकअघि दस वर्षे माओवादी जनयुद्ध भोग्यो । त्यसको अन्त्य भएको एक दशकमात्र भएको छ । सानो मुलुक भएर पनि नेपालमा पटकपटक राजनीतिक परिवर्तन भएका छन् । कतिपय राजनीतिक परिवर्तन र लोकतन्त्रबहालीका निम्ति भएका आन्दोलनमा भारतीय सहयोग अतुलनीय ढंगमा भएको छ । अहिले पनि नेपाल राजनीतिक संक्रमणको अवस्थाबाट गुज्रिरहेको छ । माओवादी सशस्त्र द्वन्द्व तथा लोकतन्त्रका निम्ति भएका जनआन्दोलनलाई मूल विषय बनाएर लेखिएका कतिपय राम्रा पुस्तक अन्य मुलुकका पाठकका लागि रुचिकर हुन सक्छ । सीमा जोडिएको भारतका पाठकलाई त झनै त्यस्ता विषय पठनीय हुने नै भए । त्यसको प्रवद्र्धन हुनु जरुरी छ । साथै, सांस्कृतिक विविधता, जातीय विविधता, धर्म–संस्कृतिको प्रभाव, रुढीवादी परम्पराजस्ता विषयमा खोजपूर्ण ढंगमा लेखिएका कृतिले पनि अन्य देशका पाठकलाई नयाँ स्वाद दिन सक्छन् । यस्ता कृतिलाई फोस्वालजस्ता संस्थाले खोजी गरेर कम्तीमा सार्क मुलुकका भाषामा अनुवाद गर्न सक्दा नेपाली साहित्य प्रवद्र्धन हुन सहयोग पुग्नुका साथै हामीबीचका तगारा तोड्न मद्दत पुग्नेछ ।
नेपाली भाषीको बाक्लो बसोबास रहेको भारतका कतिपय स्थानमा पनि नेपालमा लेखिएको पुस्तक पु¥याउन विभिन्न कठिनाइ छ । सार्कजस्ता आपसी हितका निम्ति स्थापित संस्थाले यस्तो अवस्थालाई तोड्ने हिम्मत गर्नुपर्छ । नेपाली साहित्य, संगीत तथा सिनेमाले भारतमा सहज बजार निर्माणको अवस्था बन्नुपर्छ । हो, साहित्य, संगीत, कला, सिनेमा पनि अब ‘वस्तु’ बन्न थालेको छ । वस्तुको उपभोक्तालाई त्यसले प्रभाव पार्न सक्नुपर्छ । अर्थात्, प्रतिस्पर्धामा खरो उत्रन सक्नुपर्छ । त्यसका निम्ति नेपाली लेखक–कलाकारले ज्यादा मेहनत गर्नु आवश्यक छ ।
हामी नेपालका लेखक–साहित्यकार भारतसँग जस्तै सम्बन्ध पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका सार्क मुलुकसँग पनि बनाउन चाहन्छौँ । थोरै मात्रामा भए पनि पाकिस्तानी साहित्य तथा संगीत नेपालमा उपलब्ध हुन्छ, तिनका प्रशंसक नेपालमा थुप्रै भेटिन्छन् । तर, सार्कका अन्य मुलुकका साहित्यबारे हामी बेखबरजस्तै छौँ । पाकिस्तानी लेखिका तेहमिना दुर्रानीका कृति पछिल्लो समय नेपालमा खुबै पढिन्छ । पाकिस्तानी गजल त धेरै अघिदेखि नै रुचिपूर्ण मानिन्थ्यो नै । भर्खरै अफगानिस्तानसँग जोडिएको नाम खालिद होसेनीको उपन्यास दि काइट रनरले नेपालमा राम्रै ख्याति कमायो । अहिले ब्राजिल, टर्की, दक्षिण अफ्रिकाजस्ता देशका प्रख्यात लेखकका कृति नेपालमा सहजै पाउन थालिएको छ । पाउलो कोएलो, ओह्रान पामुक, गाब्रियल गार्सिया मार्खेज, बेन ओकरी, न्गुगी वा थ्योंगोजस्ता लेखकका कृति नेपालमा सयौँ प्रति बिक्न थालेको छ । धेरै अघिदेखि नै रुसी साहित्य थुप्रै नेपाली पाठकको प्रिय रहँदै आएको छ । तर, सार्कमा रहेरै पनि भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान, बंगलादेशका साहित्य नेपाली पाठकले सहज पढ्न नपाउनु विडम्बना नै हो । वास्तवमा नेपाली पाठकलाई भुटान, माल्दिभ्स, श्रीलंका, अफगानिस्तानको साहित्यबारे पटक्कै थाहा छैन । यस फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोस्वाल)को आयोजनामा भइरहेको सार्क फेस्टिभल अफ लिटरेचरको उपलक्ष्यमा कम्तीमा सदस्य राष्ट्रहरुबीच नियमित साहित्यिक आदानप्रदान हुने, चुनिएका रचनाहरुका अनुवादको काम हुने तथा लेखकहरुलाई भ्रमणको अवसर उपलब्ध गराउनेबारे ठोस पहल हुन सके यसको सार्थकता झल्कन्थ्यो । वर्षमा एक पटक आठ मुलुकका लेखक–साहित्यकार भेला हुने, परिचय गर्ने–हात मिलाउने वा नमस्ते गर्ने, कार्यपत्र प्रस्तुत गर्ने, रचना सुन्ने, ताली बजाउने अनि आआफ्ना घर फर्कने कामले सार्क क्षेत्रको साहित्यको उन्नति हुन सक्दैन न त यसले सीमा तोड्न नै कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आठै मुलुकका साहित्यिक एकेडेमीबीच सहकार्य हुनु जरुरी छ । क्षेत्रीय साहित्यिक प्रवद्र्धनका काममा फोस्वाल थप क्रियाशील बन्नुपर्छ । यदाकदा उत्पन्न हुने सार्कका केही राष्ट्रबीचको कटु सम्बन्धलाई सहज पार्न र नयाँ नाता जोड्ने कार्यमा साहित्य सहयोगी माध्यम बन्नेमा दुईमत छैन । साहित्य मनको उत्पादन भएकाले यसका माध्यमबाट आतंकवाद नियन्त्रणमा समेत योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।
मैले हालै एउटा इन्टरनेट साइटमा ‘बियोन्ड दि बोर्डर फेस्टिभल’ शीर्षकको समाचार पढेको थिएँ । वेल्स नामक देशमा हरेक दुई वर्षमा ‘वेल्स इनटरनेसनल स्टोरी टेलिङ फेस्टिभल’ कार्यक्रम हुँदै आएको छ । यस पटकको उक्त कार्यक्रममा पाँच वटा विषय दिइएका थिए । जसमा दि मिथ अफ इन्डिया, ग्रिक मिथ, मिथ्स अफ जेन्डर एन्ड ट्रान्सफर्मेसन्स, टेल्स फ्रम दि ब्ल्याकस्मिथ र स्टोरिज फ्रम दि सेल्टिक वल्र्डलाई थिमका रुपमा राखिएको थियो । कथा वाचनको उक्त शृंखलामा अन्य कार्यक्रम पनि समावेश थियो । सार्क मुलुकबीच पनि यस्ता कार्यक्रम हुनुपर्छ । जसले हाम्रा कुण्ठित, दमित र हेपिएको महसुस गरिएका विचारका सीमा नाघ्न मद्दत पु¥याउँछ । साथै, हाम्रा सांस्कृतिकता, साहित्य, कला–संगीताई बुझ्ने अवसरवृद्धि पनि गराउँछ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 फागुन, 2073

लेखकका अन्य रचनाहरु