भद्र सहमति

- कृष्ण बजगाईं

हिमाल, पहाड र तराईसम्म फैलिएको भद्रपुर नामको सानो राज्य थियो । भद्र सहमति त्यहाँको शासन ब्यवस्थाको मुख्य विशेषता थियो । भद्रपुर राज्यका मानिसहरु भद्र सहमतिमा अभ्यस्त थिए । त्यहाँका हरेक मानिस आफूलाई भद्र ठान्दथे ।
–महिला र पुरुष बीचको भद्र सहमतिमा नाजायज सम्बन्ध कायम हुन्थ्यो ।
–गुण्डा र नेताका बिचको भद्र सहमतिमा एक अर्कालाई संरक्षण प्रदान हुन्थ्यो ।
–प्रहरी र तस्कारका बिचको भद्र सहमतिमा लेनदेन हुन्थ्यो ।
–परस्पर बिरोधी पार्टीका बीचको भद्र सहमतिमा सत्ता समिकरण हुन्थ्यो ।
–राजनैतिक पार्टीका नेता र विदेशी दुतावाशको भद्र सहमतिमा सूचना र पैसाको आदान प्रदान हुन्थ्यो ।
क्षणिक स्वार्थको लागि गरिएका भद्र सहमति प्रायः पुरा हुन सक्दैनथ्यो । अनि एकले अर्कोलाई भद्र सहमति तोडेको दोष लगाउँदथे । पत्रकारहरु त्यसलाई समाचार बनाएर आफ्नो पेशा धान्दथे ।
तर जनता भने त्यस्ता समाचार थाहा पाएर पनि केही नबोली बस्दथे । भद्रपुरवासीको त्यस्तो चाला देखेर अरु राज्यका मानिसहरु चकित हुन्थे ।
‘यस्तो गम्भिर विषयमा तपाईंहरु किन चुप ?’ एकपटक विदेशी पत्रकारले भद्रपुरवासी एक भद्रलाई सोधे ।
‘हामी जन्मजात भद्र छौं । त्यस्ता कुरा उठाएर हामीलाई अभद्र हुनु छैन ।’ भद्रपुरवासीको जवाफ थियो ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 फागुन, 2073

लेखकका अन्य रचनाहरु