जीवनमा नलागेको पुर्णविराम

- नम्रता गुरागाईं

हो...पक्कापनि मैले बाटो बिराएं । अब म यहींबाट फर्कनुपर्छ । ए...स्टपलाइट आयो । मैले यहां रोक्नुपर्छ रोक..रोक..??? ला....उताबाट गाडी आइहाल्यो नी । रोक भन्नमात्र आयो तर रोक्न सकिन । गुडु....डुडु....डयाम्म भएर, अलि पर पुगेर म रोकिएं । गाडीलाइ कन्ट्र्रोल गर्न नसकेर रेडलााइटबाट अघि बढेकी मैले आफनै अगाडिबाट बाटो काटन लागेको अर्को गाडीलाइ नदेख्दा दुर्घटना भयो । गाडी रोकिएपछि ओहो.... म त ठीक छु नी हगी भन्दै आफुले आफैलाइ छामें । डर बाहेक कतै कही भएको थाहा पाइन । सफा आकाशलाइ एकैछिनमा आएको कालो वादलले अंगालो हालेजस्तो मलाइ डरले अंगालो हाल्यो । शरिर चिसो भएजस्तो भयोे एकछिनमा । घर संझिएं, बालख छोराछोरी संझिएं । थाहै नपाइ आंखाबाट झरेको तातो आंशुको बाढीले लगाएको लुगा नै भिजाएछ । चिसो भएपछि पो थाहा पाएं आंशुले भिझेको लुगा । छेउमा बसेर सम्झउने कोही नभएपछि मान्छे एकछिन रोएर फेरी आफै हांस्तोरहेछ । आंफै चुप लागेर फेरी आंफैसंग बोल्दोपनि रहेछ । मलाइपनि ए...केही भएको छैन.. किन रोएकी... बरु फेरी जीवन पाएकोमा हास्नुपर्छ लाटी हांस... खित्का छोडेर हांस....भनेर आफनै मनले संझायो । त्यसपछि हो...त... मैले आज मेरा छोराछोरीलाइ टुहुरा त पारिन नि... भनेर हास्न खोजें तर सकिन ।
आफनो गाडीको कति क्ष्यति भएको छ बाहिर आएर हेर्न आंट आएन । स्टार्ट गर्न खोजें, स्टार्ट भयो । स्टार्ट त भयो अब हिडछ कि हिडदैन होला भनेर थोरै कोशिस गरेें, हिडयोपनि । हिडेपछि मैले गाडीलाइ बाटोको छेउमा लगेर रोकें । त्यसपछि बल्ल मैले ठोकाएको गाडीतिर आंखा लगें । मैले ठोकाएको गाडी निकै पर पुगेर रोकिएको रहेछ । मेरो गाडीको टाउकोले त्यो गाडीको पेटमा लागेकोले अगाडीभन्दापनि पछाडि बस्ने मान्छेलाइ केही भयो कि भनेर फेरी मेरो मन धेरै डरायो । कतै त्यो गाडीको ड्राइभर अथवा पेसिन्जरलाइ त केही भएको छैन ....? मेरा खुटटाहरु लगलगी काम्न थाले, मुख सुक्यो, टाउको भाउन्न भएर आयो । मैले बाहिर निस्किएर आउने आंट गरिन निकैबेरसम्म । मनगडन्ते धेरै किसिमका दशाहरु आंखा अगाडि आएर नाच्न थाले । सबैभन्दा खतरनाक हतकडी लाएर जेल लान आएको सांगलोको दृश्य सर्प नाचेजस्तै मेरो आंखा अगाडि नाच्न थाल्यो । प्रश्नै प्रश्नको भारी बोकेर आएका वकिलहरुपनि आंखै अगाडि आए । बाटामा दोहोरीलत्त गाडी हिडेपनि कसलाइ फुर्सद छ र रोकेर मलाइ सोधपुछ गर्न । घनाजंगलको बिचमा एक्लो मान्छेजस्तो एक्लो भएं म । कमिलाको सलह पसेजस्तो बाटामा पसेका गाडीहरुको बिचमा एक्लो भएं म निकैबेरसम्म । धेरैबेर गाडीबाट कोहीपनि बाहिर ननिस्किएपछि होला सायद बाटो छेउको घरको बुढोमान्छे हिडदै हिडदै म भएतिर आयो । झयालबाट हेरेर तं ठीक छेस...? भन्यो । नचिनेको मान्छेले त्यति भन्दापनि मलाइ ओ...हो... मान्छेपनि रहेछन नी यहां... जस्तै भयो । हतार हतार हांसेर ठीक छु भनें । मैले उसलाइ ९११ मा पुलिसलाइ फोन गर्न बसेकीसम्म भनें । त्यसपछि उ गयो । उसको सहयोगी हाउभाउ देखेपछि मानविय नाता जहिलेपनि घर, परिवार, साथीभाइ र नातागोताभन्दा माथि हुने कुराको पुष्टी भएजस्तो लाग्योे ।
आशा जीवनको अन्तिम हतियार हो भन्थे मान्छेहरु आजचाहिं हो रहेछ जस्तै लाग्यो । त्यो गाडीभित्रको मान्छेलाइ मात्र केही नभए अरु त जे जे परेपनि गर्छु भन्ने मेरो झिनो आशाको त्यान्द्रो ठोकिएको गाडीमा गएर ठोकिरहयो धेरैबेरसम्म । कतिखेर र कस्तो अबस्थामा ड्राइभर निस्केला भनेर मैले भित्रैबाट त्यो गाडीलाइ हेरिरहें कैदीले जेलबाट बाहिर हेरेजस्तो । नभन्दै एकछिनमा लगभग ७० को हाराहारीमा पुगेकी एउटी बुढी आइमाइ गाडीबाट बाहिर निस्की । ओ... हो... मैले मान्छेलाइ जोगाएंछु नि त...भन्दै ठुलो श्वास फेरें । ड्रइभर त निस्कि तर मेरो गाडीले उसको पेसिन्जर साइडतिर ठोकाएकोले कतै त्यता बस्नै मान्छेचाहिं ठीक छ त ...? फेरी मेरो मुटुको ढुकढुकी बढयो । आंखाहरु पछाडिको सीटतिर गएर ठोकिरहे । एक मनले गएर ढोका खोलौं नभएको होइन तर आफनै गल्तीले त्यत्रो दुर्घटना भएकोले आंट गर्न सकिन, मात्र हेरिरहें । धेरैबेरसम्मपनि बुढीले पेसिन्जरको सिटमा नहेरेकोले पक्कापनि त्यो बुढी एक्लै हुनुपर्छ भन्ने कुरामा विश्वस्त भएं । बाहिर निस्किएर उसले फोन थिची । बाहिरपनि निस्कि, फोनपनि थिचि भनेपछि उसलाइ केही नभएकै हुनुपर्छ भन्ने कुराले मेरो मनलाइ जित्यो । मैलेपनि घरमा फोन गरें र ९११(इमरजेन्सी नम्बर) मा थिचेर दुर्घटना भएको विवरण सुनाएं । एकैछिनमा पल्याकपिलिक बत्तीका साथ साइरन बजाउदै पुलिसको गाडी आयो ।
चिन्ता र ग्लानीले बढेको प्रेसर पुलिसलाइ देखेपछि एकाएक तल झर्यो । नम्र र सहयोगी हाउभाउमा आफनो अगाडि उभिएको पुलिस अफिसर मलाइ अप्ठयारामा भेटेको साथीजस्तै भयो । उसले आर यु ओके म्याम...? क्यान आइ कल एम्बुलेन्स...? भन्दा मलाइ अघि डरले दुखेको टाउकोपनि थोरै ठीक भएजस्तो भयो । होइन...होइन....म ठीक छु भनेर मैले जवाफ फर्काएं । उसले क्रसरोडमा आउने जाने गाडीहरुलाइ रोकेर हामी दुबैका गाडीलाइ नजिकैको ग्यास स्टेसनमा लान अनुरोध गर्याे । तुरुन्तै मैले मेरो गाडीलाइ ग्यास स्टेसनमा लगें । एकछिनमा बुढीलेपनि ल्याइ । गाडी पार्क गरिसकेपछि पुलिसले हामी दुबैलाइ छुटटाछुटटै वयान लिया्े । नजिकै भएकोले मैले त्यो बुढीलाइ निकै गहिरोसंग हेरें । ७० का हाराहारी पुगेकी बुढीआमा कामीरहेको जस्तो लाग्यो । डरले हो वा भित्र केही भएर कामेकी हो थाहा छैन तर उ कामीरहेकी देखेर मपनि डरले काम्न थालें । कतै केही भयो भने त....भन्दै अघि आंखा अगाडि नाचेको हतकडीको सांग्लो फेरी नाच्न थाल्यो ।
रेडलाइट जम्प गरेर भएको दुर्घटनाको कुरा मैले भन्नुभन्दा अगाडि ति दुइ गाडीले आफैं भनिरहेका थिए । पुलिसले सोध्दा मैले मात्र सत्य कुरा भन्नु पर्ने थियो । बुढीआमासंगको वयान सकेपछि पुलिस अफिसर मेरो छेउमा आएर बढो नरम भाषामा, म्याम के भयो...? किन रेडलाइट जम्प गरेको...? कि तैंले परबाट आउंदा बलेको बत्ती देखिनस...? भनेर सोध्यो । मैले उत्तरमा —जागिर शुरु गरेको आज मेरो दोस्रो दिन हो । यो बाटो मेरा लागि नयां भएकोले घर जाने बाटो छुटाएं । फर्किन्छु भन्दाभन्दै मैले स्पीड कन्ट्रोल गर्न सकिन । त्यहीबेला अर्कोतिरबाट गाडी आयो र दुर्घटना भयो भनिदिएं । उसले फेरी “ए... हो...? के गर्र्ने यस्तै हुन्छ कहिलेकाहिं, चिन्ता नगर, तैले मान्छेलाइ बचाइस, यो नै सबैभन्दा ठुलो कुरा हो अरु त सबै ठीक भैहाल्छ नि केही समयपछि” भन्दै उसले मेरो लाइसेन्स र गाडी रजिट्र्ेसन गरेको डकुमेन्ट माग्यो । उसले मेरो गाडीको नालीबेली सबै हेरयो । हेरिसकेपछि तेरो त गाडीपनि नयां, जागिरपनि नयां रहेछ हगी भन्यो । आज म बांचे र मैले बुढीलाइपनि बचाएं भन्ने कुराले गाडी किनेको कुरा बिर्साएको रहेछ मलाइ । पुलिस अफिसरले भनेपछि पो मैले सम्झिन थालें मेरो नयां गाडी । किन्नपनि १५ दिन अगाडिमात्र किनेको थिएं ।
सोधपुछ चलिरहेकै बेला अर्की एउटी उजस्तै बुढी आइ । उसले मलाइ मिजासिलो पाराले दुर्घटना भएको कुरा सोधी । त्यतिबेलासम्म उसले मेरो गाडीको अगाडी पछाडीको फोटोसम्म खिच्न भ्याइसकेकि थिइ । बुझ्दै जांदा मैले ठोकाएको गाडी त उसको पो रहेछ । साथीको गाडी लिएर एकछिन फुडलाइन(खानेकुराको पसल) गएकी थिइ रे । ओ... हो... मैले त दुइजनासंग पो डिल गर्नुपर्ने भयो अब....? कसलाइ सोध्नु र, आंफैले आफैलाइ सोधें । दुर्घटनाको विबरण सबै लिइसकेपछि पुलिस अफिसरले हामी दुबैलाइ एउटा एउटा पेपर दियो र ति गाडी बनाउन लाग्ने खर्चको इस्टमेट गर्न जान सल्लाह दियो ।
पुलिसको काम त सकियो तर अब घर कसरी जाने मलाइ अझै आंट आएन । घरबाट आधाघण्टामात्र टाढा भएपनि फोनमा इन्टरनेटले काम नगरेकोले घर कताबाट जाने पत्तो पाइन । कसरी फर्किने म सोच्न थालें । यति त काम गरिसक्यो पुलिसले अब मलाइ हाइवे ५५ मा निकाल्दे भन्दा कसो ननिकाल्देला त भनेर सोधें । उसले तुरुन्तै हुन्छ भनेर “मेरो पछिपछि आइज, हाइवे ५५ आएपछि म हरियो बत्ती बालिदिन्छु अनि तं जानु” भन्यो । त्यतिबेलासम्म झमक्क सांझ परिसकेको थियो । उसले त्यति भनेपछि मपनि गाइको बाछो आमाका पछि लागेजस्तो पुलिसका पछि लागें । १० मिनेट हिंडेपछि हाइवे
५५ आएछ, उसले हरियो बत्ती बालिदियो । अध्यारो भएकोले बाटोको नाम त देखिन तर छेउको ग्यास स्टेसन भने मैले ठम्याएं ।
पुलिस अफिसरलाइ हात हल्लाएर म घरतिर लागें । युद्घ जितेर आएको सिपाहीको मनजस्तै मेरो मन खुशीले नाच्न थाल्यो तर थरथराएको खुटटाले स्पिड लिनै सकेनन । बाटामा गाडी धैरै नभएकाले बिस्तारै आएं । मेरो आज सबैभन्दा शक्तिशाली दिन रहेछ भन्दै आंफैले आंफैलाइ धन्यबाद दिंदै घर आएं ।
घरका सबैजना निन्याउरो अनुहारमा मलाइ पर्खेर बसेका रहेछन । म आएको देख्नेवित्तिकै छोराछोरी ढोका खोलेर दौडदै आए । गाडीबाट बाहिर निस्कनसाथ उनिहरुले मलाइ झयाप्पै अंगालो हाले । धेरैबेरसम्म मैले उनिहरुलाइ छातीमा टांसिरहें । हर्षले आएको आंशु धारो बन्द गर्न विर्सिएको पानीको धारोजस्तै भयो । छोराछोरी दुबैले मेरो बगिरहेको आंशु पुछिदिंदै “ए...केही भएको छैन मामु... यस्तो त भइहाल्छ नि कहिलेकाहिं... हास्नु त अब...?” भने । हो...छोराछोरीले भनेपछि मैले हांस्नुपर्छ भन्दै आफूलाइ सम्हालेर हांस्न कोशिस गरें तर ढोकामा उभिएका उनिहरुका बाबालाइ देखेपछि फेरी अघिकै दोहोरियो । अघिको कहालीलाग्दो एक्लो अबस्था सम्झिएर हो कि अथवा धेरै खुशी भएर हो मैले मेरो मनको फुटेको बांध धेरैबेरसम्म थुन्न सकिन । तैपनि आफूलाइ सम्हाल्दै भित्र पसें । आमाको बाटो हेर्दाहेर्दा भोकाएका छोराछोरी भुइभरी छरिएका भुटेका मकैका फुल टिपेर खांदैरहेछन । घरका सबैलाइ देखेपछि ढुक्क भएर होला सायद मैले मेरा भिजेका आंखा पुछ्दै एकपल्ट ठुलो आवाज निकालेर हांसें । सुनसानलाइ चिर्दै अटटाहास हांसें । मेरो जीवनमा नलागेको पुर्णविराम सम्झिएर हांसें ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 फागुन, 2073

लेखकका अन्य रचनाहरु