उमेर सिम्फोनी

- कोमल सुब्बा

घरदेखि निकै टाडोमा छु। एक्लोपनमा मन भुलाउन यसो मोबाइल हेर्‍यो। हाई, हेल्लो भन्यो। बस् त्यति।
“तपाईं पो परिवारसित, म भने एक्लो।” उसले भन्यो।
उनी अर्थात् मेरा सहकर्मी। हामी पेशाले शिक्षक- एउटै विद्यालयका। म उनलाई `सर` भनेर सम्बोधन गर्नेगर्छु अनि उनी पनि। हामी दौंतरी अर्थात् एकै उमेरका हुनुपर्छ। तर म भने पुट्ट भुँडी निस्केको, डल्लो मान्छे। उनी भने आफूलाई मेन्टेन गरेर राखेका मान्छे। फरक यति हो मेरो जन्मथलो र कर्मथलो यहीं, उनको भने कर्मथलो मात्रै यहाँ।
अचेल देख्छु म- मेरा सहकर्मी मोबाइल फोनको रिङटोनमा निकै रमाउन थालेका छन्। म्यासेजको टोन के बज्छ, जवाब दिन आतुर हुन्छन् उनी।
म भन्नेगर्छु- “सर, तपाईं कति व्यस्त, मोबाइलसित लभ पर्‍यो कि क्या हौ? इट इज नट गुड है।”
उनी हाँस्दै भन्छन्- “किन र, मरिन्छ रे सर? उसै त मरेजत्तिकै अवस्था छ मेरो, मरे पनि केही फरक पर्दैन।”
“सरक्याजम।” म भन्छु र दुवैजना गललल.. हाँस्छौं।
“सर यहाँ आउनोस् न।” हामी क्यान्टिनमा चिया पिउँदै गर्दा आफ्नो मोबाइल फर्काए। “कस्तो छ हँ?” उनले एउटी केटीको तस्वीर देखाउँदै भने।
ती केटीका थरीथरीका तस्वीरहरू थिए मोबाइलमा। कुनै तस्वीरमा ओंठ चुच्चो पारेकी, कुनैमा कतै हेरिरहेकी, कुनैमा मुस्कुराइरहेकी अनि कुनैमा के। तर साँचो भन्छु- मलाई ती तस्वीरहरू देख्दा आफ्नी छोरीको याद बल्झेर आयो। शायद मेरी छोरी आज भइदिएकी भए यत्री नै हुनेथिई होली।
“मोडर्न छ है?” उनले बिस्तारै भने।
मैले टाउको मात्र हल्लाए र मनमनै भनें- निर्मल रहिछे, मेरी प्यारी छोरीजस्ती।
म प्रत्येक आइतबार नियमितरूपले मेरा सहकर्मीको कोठामा चिया पिउन, गफ गर्न जानेगर्छु। उनी एक्लो मान्छे। दुइवटा साना-साना कोठा, छुट्टै सानो भान्साकोठा र सानो बरण्डा पनि।
आज पनि सधैंझैं उनको कोठामा गएँ। सधैंझैं बाहिर गेटबाट उनलाई बोलाएँ।
भित्रबाट हाँस्दै उनी आए, अनि भने- “अहो, आज त बुढो नआउने रहेछ भनेको पो।”
अरे, म के देख्दैछु? चिटिक्क पारेर बढारेको बरण्डा। भित्र पसेँ। सधैं लथालिङ्ग देखिने उनको कोठा चिटिक्क मिलेका छन्। टेबलमा किताब, कागजपत्रहरू मिलाएर राखिएका छन्। भुइँ पनि टलक्क टल्केको छ।
मैले भने- “सर, नयाँ बेउली भित्र्याउनु भएको कि क्या हो? घर त गृहिनीले सजाएको जस्तो पो छ त!”
उनले हाँस्दै भने- “तपाईंलाई कसैसित परिचय गराउनु छ।”
“औ, यहाँ आऊ त। मेरो साथी आउनुभएको छ।”
भित्र कोठाबाट एउटी केटी लजाउँदै बाहिर निस्की र मलाई सानो स्वरमा “नमस्ते” भनी।
कस्तो अचम्म! ऊ त्यही सानी केटी थिई, जसका तस्वीरहरू हेरेर मैले मनमनै भनेको थिएँ- अहो, मेरी सानी छोरीजस्ती। मलाई के भनौं भनौं भयो। तर पनि सोधेँ- “तिम्रो नाम चैं के हो?”
उसले भनी- “नियति राई।”
“अहो, कति मीठो नाम। नियतिको अर्थ थाहा छ?” मैले नजानिँदो पाराले सोधेँ।
“नियति, फर्च्यून, भाग्य। म आफैदेखि ठगिएकी केटी।” मुसुक्क हाँसी।
“सर्क्यास्टिक। लु, दुइजना जोडी मिल्ने रहेछ।” मैले भनेँ।
हामी अर्थात् म अनि मेरा सहकर्मी गफमा भुलियौं। सानी केटीले ट्रेमा चिया लिएर आई। हामीलाई दिई।
चिया पिउँदै मैले सानी केटीलाई सोधें- “कहिले आएकी तिमी यहाँ?”
“अस्तिको दिन।”
“कस्तो लाग्यो यहाँ?”
“राम्रो लाग्यो। घर वरिपरि घुमेर।”
“गफ त राम्रो आउँदो रहेछ त सानी केटीलाई। तिमीलाई `सानी केटी` भन्छु ल। रिसाउँदिनौ नि है।”
रिसाउँदिन भन्ने बुझाउँदै उसले टाउको हल्लाई।
अचेल सरले मोबाइललाई उति माया गरेजस्तो लाग्दैन मलाई। अचेल लामो समयसम्म रिङटोन बजिरहन्छ, तर पहिलेझैं रिङटोन बज्नसाथ फोन उठाइहाल्ने हतार हुँदैन उनलाई। मोबाइल हेर्छन्, कट गरिदिन्छन्। म्यासेजको रिङटोन बज्छ, तर पहिलेझैं रिप्लाइ दिन आतुर हुँदैनन् उनी, उनी केहीबेर म्यासेज पढ्छन् र मोबाइल खल्तीमा हाल्छन्। अफ् पिरियड, क्यान्टिन, घरदेखि जाँदा र घरतिर आउँदाको सूचना दिने कार्य अचेल बन्द भएको देख्छु म।
मलाई थाहा छ- मैले कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्नु उचित होइन। तर, किन हो किन मलाई ती सानी केटीको बारेमा जान्न मनलाग्यो।
“सानी केटी, तिमी कहाँ छौ? के मेरो साथीले तिम्रो मन दुःखाइदियो? कि तिमीले उसको मन दुःखाइदिएकी छौ?” म कसलाई सोधूँ यो कुरा?

म गइरहेको छु एउटा सुनसान बाटोमा। केहीबेर हिँडेपछि बाटोमा रुँदै गरेकी एकजना केटी देखेँ। म ती केटी भएतिर लम्किरहेको छु। जति जति छेउ पुग्दैछु, उति उति आवाज धीमा हुँदै जाँदैछ। रुवाइको आवाज धीमा भएर घुँक्क..घुँक्क..मात्र सुनिँदैछ।
“के भयो तिमीलाई?” भनेर जसो बोलाउँछु म, अलिकति टाउको उठाएर हेर्छे। ऊ त मेरी सानी केटी पो रहिछे। उसको आँखाबाट अविरल आँसु बगिरहेको छ, तर म भने उसलाई सोधिरहेको छु- “भन सानी केटी, के भयो?” ऊ केही भन्न चाहिरहेकी छे, तर अचम्म! उसको मुखबाट वाक्य नै फुटेको छैन। म जोरले उसको कुममा धक्क्याउँदै भन्छु “सानी केटी, भन न, के भयो तिमीलाई?”
हठात् सपनाबाट म ब्यूँझें। कस्तो सपना? म पसिना पसिना भएको थिएँ। मेरी स्वास्नी भने मलाई पानी दिँदै भनिरहेकी थिई- “के भयो तपाईंलाई?”

आज मलाई कुनै हालतमा पनि खोज्नु छ सानी केटीलाई। मैले जसरी भए पनि खोजिनिकाल्नु छ उसलाई। आज आइतबार। साथी मलाई कुरेर बसिरहेका होलान्। तर, मलाई आज एउटा महत्वपूर्ण काम गर्नु छ, जुन हाम्रो गफ र एक कप चियाभन्दा नितान्त जरुरी छ।
मैले फेसबुकमा सर्च गरेँ नियतिलाई। यतिबिघ्न नियति राई नामहरू प्रकट भए मोबाइलको स्क्रीनमा, मलाई खुट्याउन नै गाह्रो पर्‍यो। एउटी केटीले आफ्नै हातको रगत चाट्नै गरेकी तस्वीर मेरो आँखाअघि प्रकट भयो। हो, मैले खोजेको नियति राई ऊ नै थिई। मैले सीधै म्यासेज लेखेँ- “हेल्लो, चिन्यौ सानी केटी? तिमीलाई डिस्टर्ब गरेको होइन। बस्, तिमी कस्ती छ्यौ, जान्न मनलाग्यो।”
मैले उसको जवाबको प्रतीक्ष गरेँ। एकदिन...दुइदिन...तीनदिन...एकहप्ता। तर, उताबाट कुनै उत्तर आएन। हाम्रो दिनचर्या यथावत् चलिरहेको थियो। म अनि मेरा सहकर्मीको। उनमा केही परिवर्तन आएको थिएन।
नभन्दै आज मैले उसको उत्तर पाएँ। ऊ अर्थात् नियति राईको।
“नमस्कार सर। भेटेर बिर्सनेहरूमा म पर्दिनँ। तपाईं कस्तो हुनुहुन्छ? तपाईंकी सानी केटीको सास चल्दैछ भनौं सर।”
मैले लेखेँ- “सारकास्टिक केटी।” उताबाट केही उत्तर आएन।
मैले उसलाई जे प्रश्न गर्न खोजेको थिएँ। त्यो प्रश्न गर्न नै सकिनँ। कुनै साहस जुटाएर मैले लेखेँ- “तिमीहरूको मित्रतालाई के भयो सानी केटी? तिमीसित सर रिसाएका छन् कि तिमी सरसित रिसाएकी छ्यौ? हुन त मैले यस्तो प्रश्न गर्न शोभा दिँदैन। तर, समथिङ इज गोइङ रङ विथ यू। मनमा बोझ नपाल सानी केटी।”
दस मिनटसम्म पर्खेँ, सेन्ड त भयो तर जवाब आएन। मलाई फेरि उसलाई डिस्टर्ब गरिरहन मन लागेन भनौं उचित लागेन।
बेलुकीपख खाना खाएर म फेरि अनलाइन बसेँ। म्यासेज बक्समा रातो रङ देखेँ। सानी केटीको म्यासेज होला भनेर हतार-हतार क्लिक गरेँ, मेरै सहकर्मीको म्यासेज रहेछ।
“लभ पर्‍यो कि क्या हो बुढोको?” उनले लेखेका रहेछन्।
मैले पनि लेखिदिएँ- “तपाईंहरू मात्र कति अनलाइन लभ गर्नुहुन्छ? हामी पनि गरौं न कोइबेला त।” खोई, उनले के बुझें कुन्नि, उत्तर आएन।
केहीबेरपछि फेरि म्यासेजको रातो रङ प्रकट भयो। त्यो नियतिको नै थियो।
“सर, के लेखूँ-लेखूँ भयो अघि। फेरि तपाईंले भन्नुभयो- मनमा कुरा नराख्नु भनेऱ। हो सर, हाम्रो मित्रता तोडियो, हाम्रो सम्बन्ध टुट्यो। उनी आँधी रे मेरो जीवनमा। हो सर, मेरो जीवनमा उनी आँधी नै होला, त्यसैले त मेरो जीवन तहसनहस पारिदियो।”
“सानी केटी, तिमी साह्रै सानी छ्यौ। तिमी आफ्नो जीवनलाई ध्यान देऊ। किन यस्तो कुरामा आफूलाई अल्झाउँछ्यौ? जसले तिमीलाई पीडाबाहेक केही दिँदैन। के तिमी अन्धी हौ सानी केटी?”
केहीबेरपछि जवाब आयो- “होइन, म अन्धी होइन सर। मैले हेरेर, बुझेर नै माया गरेँ। किन र सर, ममा, मेरो रूपमा ठिटाहरूलाई आकर्षित पार्ने गुण छैन होला र? के मैले ती मेरा उमेरका कैयौं ठिटा र उनको उमेरमा पार्थक्य पाउन सकिन होला र? सर, मेरो मन उहाँको रूपलाई हेरेर होइन, उहाँको विचार र बौद्धिकतालाई हेरेर उनीमाथि भर परेकी हुँ म। मायामा उमेर हेर्नुपर्दो रहेछ। उहाँले बल्ल सम्झाइदिनुभयो, तर अबेर भइसकेपछि।”
मैले लेखेँ- “किन अबेर? तिमीसँग तिम्रो पूरा जीवन छ, अगाडि बढ। जवानी नियन्त्रणहीन हुन्छ, आफूलाई सम्हाल। तिमीमा मैले मेरी छोरी देखेको छु, त्यसैले पिताको हैसियतमा सम्झाउँदैछु। यस्तो व्यर्थको कुरोमा आफूलाई नडुबाऊ।”
“डुबिसकेकी मान्छेलाई तपाईं नडुब भन्नुहुन्छ।” उताबाट जवाब आयो। “सर, विष पिइसकेकोलाई तिमी जिउनुपर्छ भन्दा कहाँ हुन्छ र? होलान् कोही विषको घडा पिएर पनि जिउने, तर.....”
मैले लेखेँ- “यो प्रेम होइन, आकर्षण मात्र हो- क्षणिकभरको। जवानीमा लिएको एउटा बौलाहा निर्णय। जसमा तिमीलाई पछुतो हुनेछ।”
“पछुतो किन र सर?” उताबाट प्रश्नवाण प्रहार गर्छिन्। “जब कुनै समय मैले लिएको यो सुन्दर निर्णय थियो भने मैले पछुतो गर्न जानेकी छैन। मैले हरेक कुराबाट शिक्षा लिने गरेकी छु। तर सर, म उहाँबाट के शिक्षा लिन सकूँली र? कि कसैलाई प्रेम नगर्नु भन्ने शिक्षा? कि सबैजना लोग्नेमान्छेहरू एकै हुन्छन् भन्ने शिक्षा? त्यसो हो भने त के तपाईं पनि उहाँजस्तै हुनुहुन्छ?”
मलाई ती सानी केटीको उत्तर देखेर ऊप्रति दया जागेर आयो। तर यो समय दया देखाउने समय होइन, उसको भ्रम हटाउने थियो।
मैले लेखेँ- “यस्तो होइन सानी केटी। तिमीले गरेकी प्रेम तिम्रो ठाउँमा ठीक छ, तर समय अनि उमेर अनुसार सही होइन। प्रेमले जिउन सिकाउँछ, जोड्न सिकाउँछ। तर, तिमीले गरेकी प्रेमले कसैको परिवार भताभुङ्ग हुन्छ। लु अब भन, कसैको घर भत्काएर त्यहीँ घडेरीमा आफ्नो घर बनाउँछ्यौ? तिमी सुखी बन्न सक्छ्यौ? यो कस्तो माया हो सानी केटी?”
उताबाट जवाब आयो- “सर, म पनि एक्ली थिएँ, उहाँ पनि एक्लो। उनी कति भताभुङ्ग भएर बाँचिरहेका थिए, त्यो कुरो मलाई थाहा छैन। शायद हुनसक्छ, मैले उनको ठट्टालाई यसरी साँचो भनी मानिदिएँ, थाहा नपाई म उनको नजीक हुँदै गएँ। एउटा भताभुङ्ग भएको मान्छेलाई सम्हाल्न खोज्नु कसैको घर उजाड्नु हो भने म अपराधी नै हुँ। जसको सजाय मैले पाइरहेकी नै छु उनीबाट नै। जसलाई सम्हाल्ने क्रममा म आफू भताभुङ्ग हुनपुगेँ।”
यसको जवाब मैले के दिनुपर्ने, केही सुझ्नै सकेन। मसित भन्न सकिने केही शब्द नै थिएन। भन्न सकिने शब्दहरू नै सकिएगए। मलाई मेरा ती सहकर्मीप्रति रिस उठ्यो। उनले यति सानी केटीको भावनासित किन खेलवाड गरे?
मैले लेखेँ- “प्रिय सानी केटी, फेरि पनि म तिमीलाई भन्दैछु। बिर्सिदेऊ ती सब कुराहरू र अगाडि बढ। जुन कुरोले तिमीलाई दुःखी बनाउँछ, त्यो कुरोदेखि तिमी टाडो बस। म तिमीलाई खुशी भएको हेर्न चाहन्छु।”
साँझतिर उसको जवाब आउँछ भन्ने आशामा म अनलाइन बसेँ। नभन्दै उसको धेरै लामो जवाब आएछ। लेखेकी रहिछे- “डियर सर, थ्याङ्क यू सो मच फर योर कन्सर्न। तपाईं भन्नुहुन्छ- अगाडि बढ। भन्न सजिलो छ, तर आई एम डाइङ थाउजन्ड टाइम्स इन पेन, जस्ट एप्रेसिएट दिस फेज। सर तपाईंले भन्नुभयो- मायाले हाँस्न सिकाउँछ। म उहाँलाई भन्नेगर्थें- म तपाईंको आँसुको कारण हुन नपरोस्। म सपनामा पनि उनको घर भत्काउने कुरो सोच्न सक्दिनँ। अनि मेरो मायाले उहाँको इज्जत, मान-सम्मानमा कहिल्यै दाग लाग्ने छैन सर। मलाई थाहा थिएन हाम्रो भेट भएपछि फ्यातुलो हुन्छ भनेर, थाहा भएको भए म उहाँको सामु कहिले पनि आउने थिइनँ होला। तर सर, मलाई एउटा प्रश्न गर्नु थियो उहाँसित। उहाँजस्तै म पनि भताभुङ्ग भएकी केटी हुँ। उहाँलाई झैं मलाई पनि सहाराको खाँचो थियो। लडिसकेकी केटीलाई पछार्नु नै थियो भने, उसलाई उठाएर हिँड्न सिकाउनु नै किन? उनको घरभित्र मेरो निम्ति ठाउँ नै थिएन भने दैलो खोल्नु नै किन? सर, आफू लड्दा त म आफै उठ्न सक्थेँ, तर उनले मलाई माया गरी गरी यसरी लडाए, यसरी पछारे कि अब त म उठ्न सक्दिनँ हुँला।”
मैले लेखेँ- “तिम्रो भावनाको कदर गर्छु म सानी केटी। तिमी ज्ञानी र आँटी केटी हौ, जसलाई तिमीले अहिले जीवनको अन्तिम घुम्ती सोचिरहेकी छौ, त्यो त शुरुवात मात्र हो। फेरि नराम्रो सपना देख्दैमा तिमी सपना देख्न त छोड्दिनौ नि। सबै कुरो बिर्स। तिम्रो उज्ज्वल भविष्य तिम्रो प्रतीक्षामा छ। मेरो आशीर्बाद छ तिमीलाई।”
आज आइतबार। म उनको घर गएँ। उनी अर्थात् मेरा सहकर्मी कसैसित बात मारिरहेका थिए। भनिरहेका थिए- “तिमी बाइस वर्षे कलिलो बिहानी, म बाउन्न वर्ष पुगेको अस्ताउन लागेको घामलाई नपर्ख। बिर्सिदेऊ सबैकुरो र अगाडि बढ।”
मलाई त्यसबेला भन्न मनलागेको थियो- “सर, यही कुरो तपाईंले समय हुँदा नै भनिदिएको भए ती सानी केटीले बुझ्नेथिई होली। र भन्न मनलागेको थियो- “डोन्ट वरी सर, यो सानी केटीले तपाईंको बारेमा कसैलाई भन्ने छैन र म पनि। डोन्ट वरी सर, तपाईं निस्फिक्री बस्नुहोस्, तपाईँ अहिलेपनि तपाईंकी श्रीमतीको आदर्श लोग्ने हुनुहुन्छ। तपाईं आफ्नी छोरीको बेस्ट ड्याड हुनुहुन्छ।”

0-0-0

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 फागुन, 2073

लेखकका अन्य रचनाहरु