नेपाली भाषाको मानक प्रयोगका बारेमा प्रा.डा. कपिलदेव लामिछानेसँग कुराकानी

- प्रा. डा. कपिल लामिछाने

विगत केही समयदेखि नेपाली भाषाको मानक प्रयोगलाई भत्काएर यसको विकासको भङ्गालोलाई अन्यत्रै मोड्ने प्रयास भएका छन् । प्रा.डा. कपिलदेव लामिछाने त्यस्ता प्रयासलाई विफल तुल्याउँदै नेपाली भाषाको मानक प्रयोगमा जोड दिने अभियानका अभियन्ता हुनुहुन्छ । प्रा.डा. लामिछाने पहिले स्वतन्त्र रूपमा र अहिले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको केन्द्रीय उपाध्यक्षका रूपमा रहेर अभियानमा संलग्न हुनुहुन्छ । प्रा.डा. लामिछानेका हालसम्म भाषा, साहित्य, बालसाहित्य र लोकसाहित्यका ४१ मौलिक कृति र १० सम्पादित ग्रन्थ गरी ५१ कृति प्रकाशित भएका छन् । यस क्षेत्रमा रहेर यति धेरै कृति प्रकाशित हुने वहाँ पहिलो विद्वान् हुनुहुन्छ । अहिले मानक नेपाली भाषा सबैतिर चर्चाको विषय बनेको छ । यहाँ यसै सन्दर्भमा भाषाविद् प्रा.डा. कपिलदेव लामिछानेसँग अब्बल साप्ताहिकका लागि श्यामशङ्कर पाण्डेले लिनुभएको अन्तर्वार्ताका केही अंश प्रस्तुत गरिएको छ । ––
१) प्राविधिक युगमा नेपाली भाषामा विवाद किन ?
 प्राविधिक अर्थात् आईटीको युगमा मात्र होइन, कुनै पनि युगमा भाषामा विवाद गर्नु उचित होइन । भाषा आफैँ पनि सभ्यता र संस्कृति हो भने त्यसको संवाहक पनि हो । ज्ञान, विज्ञान, प्रविधि सबैको अभिव्यक्तिको माध्यम पनि भाषा नै हो । मानव आर्जित ज्ञान, विज्ञान, प्रविधिलाई पछिपरन्तुसम्म सुरक्षित गर्ने माध्यम भाषा नै हो । त्यसैले प्रचलित भाषा र त्यसका स्वरूपलाई बिगार्न पाइँदैन । नेपाली भाषाका आम प्रयोक्ताले यसलाई बिगारेका होइनन् । विभिन्न कुत्सित लोभ र स्वार्थवश सम्भवतः सत्तामा रहेका मुठीभर व्यक्तिहरूले मानक नेपाली भाषामाथि कुठाराघात गरी विवाद जन्माएका हुन् ।
२) विवाद कसरी सुरु भयो ?
 विवादको जरो खोज्न अलिकति यसको पृष्ठभूमि र विगततिर जानुपर्ने हुन्छ । प्राचीन कालको खस भाषा नै सिन्जाली र गोर्खाली भाषा हुँदै नेपाल एकीकरणपछि यसले नेपाली भाषाको स्वरूप प्राप्त गरेको हो । संस्कृत, मगर, गुरुङ, नेवारी, तामाङ, राई, लिम्बू, भोजपुरी, अवधी, मैथिली भाषाको सङ्गत प्राप्त गरेपछि तिनवटा समेत शब्दहरू ग्रहण गरी नेपाली भाषा समृद्ध हुँदै जनबोली र साझा सम्पर्क भाषाको स्थानमा पुगेको हो । यसमा पत्रपत्रिका र पुस्तक लेखिन र छापिन थालेपछि तथा सरकारी कामकाजको भाषाको स्थान प्राप्त गरेपछि यसमा सुधार र मानकीकरणका प्रयास हुन थालेका हुन् । राममणि आदीले हलन्त बहिष्कार आन्दोलनको नेतृत्व गरे । यो वर्णको जथाभावी खुट्टो काट्न नहुने भन्ने सिद्धान्तमा आधारित थियो । १९७० मा हेमराज शर्मा पाण्डेले चन्द्रिका व्याकरण तयार पारे । २००७ सालको आन्दोलनपछि नेपाली भाषामा भारतबाट पढेर वा भारतमा बसेर आएकाले हिन्दी र अङ्ग्रेजी पढेकाले अङ्ग्रेजी शब्द र वाक्यढाँचाको अत्यधिक प्रयोग गरेकाले नेपाली भाषाको अस्तित्व खतरामा पर्ने अवस्था आयो । यस्तो देखेर नेपालीपनमा जोड दिँदै २०१३ देखि झर्रोवादी आन्दोलन थालियो । तारानाथ शर्मा, बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोषराज रेग्मी र चूडामणि रेग्मीले यसको नेतृत्व लिएका हुन् । सुरुमा यो केही अतिवादी देखिए पनि नेपाली भाषाको मानकीकरणमा यसको अहम् भूमिका छ ।
त्रिविको स्थापना भएपछि नेपाली विभागको तत्परतामा प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशन आदि भाषासित सम्बन्धित संस्थासँग समन्वय गरी नेपाली भाषाको लेख्य प्रयोगमा एकरूपता कायम गर्ने प्रयास भए । यसैको परिणाम स्वरूप नेपाली बृहत् शब्दकोश (२०४०) प्रकाशमा आयो । शिक्षा र सञ्चार माध्यमहरूमा त्यसैलाई मानक मानेर जाने काम भयो । लेखक र साहित्यकारले पनि त्यही मानकलाई मान्दै लेखन र सिर्जना गर्दै आए । पचासको दशकसम्म यो स्थिति कायमै रह्यो ।
यसैबीचमा पनि चूडामणि रेग्मी, मुकुन्दशरण उपाध्याय आदिले नेपाली वर्णविन्यास र लेख्य मानकका सम्बन्धमा आआफ्ना अभिमत राख्दै आए । व्यक्तिगत तवरबाट भएका यस्ता प्रयासले नेपाली भाषालाई कुनै अप्ठ्यारो पारेका होइनन् । आआफ्नो विचार र बुद्धिले भाषाका बारेमा चिन्तन–मनन गर्न, अध्ययन गर्न सबै स्वतन्त्र हुन्छन् । स्वतन्त्र छन् पनि ।
राज्यकोषको उपयोग गरेर नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र (२०६६), अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६), सबैको नेपाली (२०६७), प्रज्ञाप्रतिष्ठानको नेपाली भाषा सङ्गोष्ठी (२०६७), शिक्षा मन्त्रालयको परिपत्र (२०६९), नेपाली बृहत् शब्दकोश (२०७२) ले मानक नेपाली भाषाको हुर्मत लिँदै अमानक प्रयोग गरेपछि विवादको थालनी भएको हो । विवादको जरो यहीँनेर छ । २०७२ फागुनमा काकरभिट्टामा प्रज्ञाप्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी (२०७२) ले जारी गरेको सात बुँदे घोषणापत्रले यस विकृतिलाई अझ बढाएको हो ।
३) विवादको मुख्य चुरो के हो ?
 विवादको जरोभित्रै चुरो पनि छ । विवादको चुरो मार्मिक र मर्मभेदी छ । संयुक्त वर्णको सट्टा खुट्टो काटेर लेख्न भन्नु, जथाभावी पदवियोग गर्न भन्नु, ह्रस्वदीर्घसम्बन्धी मानक प्रचलन हुँदाहुँदै कतिपय ठाउँमा ह्रस्व लेख्न भन्नु, संयुक्त क्रिया फुटालेर लेख्न लगाउनु नै समस्याको मुख्य चुरो हो । जहाँजहाँ विवाद जन्माइएको छ, त्यहाँ कुनै समस्या नै थिएन ।
उब्जाइएको एउटा समस्या हो, संयुक्त वर्णको । नेपाली भाषा देवनागरी लिपिमा देखिन्छ । संस्कृत, हिन्दी, भोजपुरी, अवधी, मैथिली आदि भाषा पनि यही लिपिमा लेखिन्छन् । लामो इतिहास भएको देवनागरी लिपिको वर्णमालामा संयुक्त वर्ण पनि छन् । द्द, द्व, द्ध, द्य, क्त, श्र, क्ष, त्र, ज्ञ, ॐ आदि संयुक्त वर्ण प्रचलित छन् । विवाद झिक्नेले सरलता र प्रविधिमैत्री भन्दै यिनलाई फुटाएर बिगार्न खोजेका हुन् । जस्तै : विद्या/विद्या, द्वन्द्व/द्वन्द्व, बुद्ध/बुद्ध, शुद्ध/शुद्ध, उद्देश्य/उद्देश्य, भक्त/झक्त, सिद्ध/सिद्ध, द्वितीय /द्वितीय । यी उदाहरणमा पछिल्लो शब्द अमानक वा विकृत रूप हो । वस्तुतः अमानक रूप प्रविधिमैत्री पनि छैन र सरल पनि छैन ।
दोस्रो विवाद पदवियोगको हो । कतिपय शब्द र सन्दर्भमा पदयोग र पदवियोगबाट भिन्न अर्थ लाग्दछ । नेपालीमा देव, देवी, राज, प्रसाद, मणि, बहादुर, लाल आदि मध्यनाम भनिएका शब्द अग्रनामसँग जोडेर लेख्ने मानक प्रचलन छ । वस्तुतः यी अङ्ग्रेजीमा जस्तो मध्यनाम नभएर नाम नै हुन् । यसर्थ यिनलाई छुट्याएर लेख्नु अनर्थ हुन्छ । जस्तै :
(क) (ख)
रामकुमार छ । राम कुमार छ ।
रामबहादुर छ । राम बहादुर छ ।
सीताकुमारी हो । सीता कुमारी हो ।
सीतादेवी हो । सीता देवी हो ।
रामदास हो । राम दास हो ।
रामराज गर्छ । राम राज गर्छ ।
रामप्रसाद खान्छ । राम प्रसाद खान्छ ।
यहाँ (क) र (ख) वर्गका वाक्यमा अर्थगत भिन्नता पदयोग र पदवियोगबाट भएको छ । तसर्थ नामलाई फुटाएर वियोग गर्न मिल्दैन ।
वर्णविन्यासको एउटा समस्या ह्रस्वदीर्घको हो भने नेपालीमा यसको स्थिरीकरण भई मानकीकरण भइसकेको अवस्थामा घाउ कोट्याएर उकल्च्याउने काम भएको हो । दुई, तीन, बीस, तीस जस्ता सङ्ख्यात्मक शब्द, ठीक, बीच, रूख, हरू आदि दीर्घ लेख्दा कुनै हानिनोक्सानी छैन भने ह्रस्व गर्नुको पनि कुनै औचित्य छैन । यस्तै खालि–खाली, चिर–चीर, जाति–जाती, फुल–फूल, जुन–जून, दिन–दीन, पुरा–पूरा, फेरि–फेरी, यति–यती, सिता–सीता जस्ता विशिष्ट अर्थ भएका श्रुतिसमभिन्नार्थक शब्द प्रचलनमा छन् । ह्रस्व र दीर्घ लेख्दा अर्थमा भिन्नता हुन्छ । यस्ता शब्दलाई ह्रस्वमात्र लेख्ने भन्नुको कुनै औचित्य छैन । दुवै रूप प्रचलनमा रहन दिनु वाञ्छनीय छ ।
एक अर्को विवाद स÷श÷ष को हो । नेपाली उच्चारणमा वत्स्र्य स मात्र भए पनि देवनागरी लिपि र वर्णमालामा तीनवटै छन् । श्रुतिसमभिन्नार्थक रूपमा यी तीनवटै स÷श÷ष को उपस्थिति प्रचलनमा रहेको पाइन्छ । जस्तै :
केश (कपाल), केस (मुद्दा, बाकस)÷ कोश÷ कोष (ढुकुटी, भण्डार), कोस (दुई माइलको दूरी)÷ दिशा (पूर्व, पश्चिम आदि), दिसा (गुड, विष्टा)÷ पाश (जाल, पासो), पास (नजिक)÷ यश (कीर्ति), यस (यो)÷ विष (जहर), बीस (२०)÷ शव (लास), सब (सबै)÷ शीत (ओस), सित (सँग)÷ शूर (वीर, पराक्रमी) सुर र विचार, आँट)÷ शङ्कर (शिव), सङ्कर (अन्तर्मिश्रण) आदि ।
नामयोगी र समस्त शब्दको पदयोग हुन्छ । अमानकवादीले दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने, दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्ति जस्तै शीर्षकसँग जोडेर लेख्ने, व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने तथा दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने भन्ने निर्देश÷नियम बनाएका छन् । त्यो आफैँमा गलत छ । मानक प्रयोगमा नामयोगी र समस्त शब्द जोड्ने भनेर जाने पुग्नेमा अमानकमा अक्षर गणनाको गन्जागोल र खिचलो उपस्थित भएको छ । लिपि, वर्ण र अक्षर गनेर जोड्ने र नजोड्ने भन्ने नियम आफैँमा अवैज्ञानिक, तर्कहीन, अव्यावहारिक र निरर्थक छ । त्यसो गर्दा दिदीभाइ, पतिपत्नी, रामराज, जयदेव, कीर्तिपुर, सोमबार जोडेर अनि भाइ बहिनी, भरत राज, कपिल देव, ललित पुर आइत बार आदि छुट्ट्याएर लेख्नुपर्ने हुन्छ । यो सरासर गलत छ । ललितपुर, भरतपुर नेपालगञ्ज, कञ्चनपुर आदि स्थानवाचक एकार्थक शब्द भएकाले यिनलाई छुट्टयाउन मिल्दैन ।
यसैगरी संयुक्त क्रिया र मिलित क्रियालाई पनि पदवियोग गर्न मिल्दैन । भइदिन्छ, भइसक्यो, देखिहाल्यो, चिनिदियो, चिनिहालेँ, गरिदिन्छ आदिलाई भई दिन्छ, गई सक्यो, देखी हाल्यो, चिनी दियो, चिनी हालेँ, गई दिन्छ गर्न त सकिएला तर त्यसले अर्कै अर्थबोध गरिरहेको हुन्छ । वस्तुतः नेपालीमा पदयोगका नाममा संस्कृतमा झैँ बढी जोड्न मिल्दैन भने हिन्दीमा झैँ विभक्तिलाई समेत पृथक् गरी लेख्न पनि मिल्दैन । यसको आफ्नै विशिष्टता छ ।
हेर्नुहोस् भाषामा परिवर्तन त भइरहन्छ । त्यस्तो परिवर्तन स्वाभाविक र नैसर्गिक हुन्छ । बोलिने सबै भाषाहरू परिवर्तनकै परिणति हुन् । परिवर्तनबाटै भाषाको उत्पत्ति र विकास हुन्छ । त्यस्तो परिवर्तन कसैको निर्णयबाट भएको होइन । कण्ठटालोबाट कठालो, अग्निबाट आगो, ओठबाट ओठ, काकबाट काग, हुजुरबाट, सुकुनबाट सगुन, सन्ध्याबाट साँझ, उष्ट्रबाट उँट, अश्रुबाट आँसु, अबेरबाट बेर, कुब्जबाट कुँजो जस्ता शब्द परिवर्तनबाट नै भएका हुन् । तसर्थ परिवर्तन न कसैबाट गरेर गरिन्छ न कसैले रोकेर रोकिन्छ । भाषाविज्ञले भाषाका नियम बदल्ने नभएर भाषाका नियमको खोजी र वर्णन गर्ने पो हो । केही व्यक्तिले यो नबुझेर या बुझ पचाएर समस्या खडा भएको हो ।
४) भाषाका तमाम पक्ष र क्षेत्र छन्, जसमध्ये वर्णविन्यास पनि एक हो । विवाद झिक्नेले वर्णविन्यासका केही पक्षमा मात्रै त फेरबदल गर्न खोजेका रहेछन् । कतै तपाईंहरूले नै तिललाई पहाड बनाएको त होइन ?
 होइन । कदापि होइन । अवश्य होइन । एउटा बनीबनाउ भव्य सग्लो भवनको जग उधिनेर दुईचार ढुङ्गा झिकिदिए के हुन्छ ? अनि त्यसपछि अरू दुईचार ढुङ्गा झिकिदिए के हुन्छ ? सहजै अनुमान गर्न सक्नुहुन्छ । एउटा रूखको फेदमा दुईचारचोटि बन्चरो हाने के हुन्छ ? अरू दुईचारचोटि बन्चरो हाने के हुन्छ ? हो, नेपाली भाषाउपर त्यही भएको हो । त्यही गर्न खोजिएको पनि हो । हामी बूढी मरी भनेरमात्र होइन, काल पल्क्यो भनेर बढी चिन्तित भएका हौँ ।

५) किन पटक–पटक विवाद हुन्छ भाषामा ?
 भाषाको स्वरूप र स्वभाव नै परिवर्तनशील छ । भाषामा नित्यनिरन्तर परिवर्तन भइरहन्छ । हामी सानोमा पढ्दा तलथोप्ली व भनेर पढ्थ्यौँ, तर अब त्यो व छैन । कुन दिन कहिले कसले हरायो ? भन्न सक्दैनौँ । यसरी नै थाहै नपाईकन हुने परिवर्तन स्वाभाविक परिवर्तन हो । लृ को दीर्घ लृृ र ऋृ को दीर्घ पनि ऋृृ पनि पढ्थ्यौँ । अब ती छैनन् । नेपाली भाषामा अहिले जुन विवाद खडा गरिएको छ, त्यो प्रायोजित विवाद हो । भएगरेका सानातिना विवाद सुल्झेर सङ्लिएको अवस्थामा साठीको दशकको उत्तरार्धमा मुठीभर व्यक्तिहरूले निहित स्वार्थवश यस्तो विवाद उब्जाएका हुन् । त्यसरी विवाद उब्जाउने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएका प्रा.डा. देवीप्रसाद गौतम, पूर्वशिक्षा मन्त्री दीनानाथ शर्मा लगायतका केही व्यक्तिहरू आआफ्नो गल्ती स्वीकार गरी मानक नेपाली भाषाको अभियानमै फर्किसकेका छन् भने यसका मुख्य सूत्रधार प्रा.डा. हेमाङ्गराज अधिकारी आदि अझै अमानक र विकृतिको वकालत गर्दै हिँडिरहेका छन् । म चाहन्छु, उनीहरूको पनि छिट्टै बुद्धि फिरोस् ।
६) तपाईंहरूले चलाएको मानक नेपाली भाषा अभियानबाट केकस्ता उपलब्धि भए ?
 हामीले थालेको अभियान हो, मानक नेपाली भाषा अभियान । अभियानलाई व्यवस्थित गर्न हामीले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेका छौँ । म यसको केन्द्रीय उपाध्यक्ष तथा पश्चिम क्षेत्रीय संयोजक छु । यो स्वयम्सेवी भाषिक संस्था हो ।
यसले अहिलेसम्ममा मानक नेपाली भाषालाई केही व्यक्ति र निकायबाट विकृत पारिएकोमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरी सही अवधारणा सार्वजनिक गरेको छ । यसकै पहलमा विभिन्न क्याम्पस, शैक्षिक र साहित्यिक संस्थाबाट पनि मानक नेपालीको पुनस्र्थापनार्थ विज्ञप्ति जारी भए । प्रज्ञाप्रतिष्ठानलाई पटकपटक सचेत गराई नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गर्न लगाएको छ । पश्चिम क्षेत्रीय, नारायणी क्षेत्रीय, भेरी क्षेत्रीय समिति गठन गरी मानक नेपालीको पक्षमा व्यापक जनमत तयार पारेको छ । त्रिविको अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गर्न लगाएको छ । सबै विश्वविद्यालयमा मानक नेपालीकै पठनपाठन र प्रयोग गर्न लगाएको छ ।
यस्तै यसले विद्यालयीय पाठ्यपुस्तकमा मानक नेपालीको प्रयोग गर्ने–गराउने सम्बन्धमा माननीय शिक्षामन्त्रीसमक्ष पटकपटक वार्ता गरेको छ । हाम्रो तत्कालको प्रमुख कार्य भनेको विद्यालयीय पठनपाठनमा मानक नेपालीको प्रयोग गर्न लगाउनु नै हो । ६÷७ महिनाको छोटो अवधिमा जति कार्य भएका छन् ती उपलब्धि नै हुन् भन्नुपर्छ । हामीले यति गर्दैनथ्यौँ भने नेपाली भाषा झनै भाँडिएर जान लागेको थियो ।
७) तपाईंहरूले पहिले प्रयास नगरेकाले यसपटक पनि यो विवाद उठाइएको भनिन्छ नि ?
 मैले भनिहालेँ, भाषा विवाद साठीको दशकको उत्तरार्धबाट बल्झाइएको हो । खासगरी सबैको नेपाली (२०६७) पाठ्यपुस्तकबाट त्यसको प्रत्यक्षीकरण भएको हो । कसैको हुन नसकेको सबैको नेपालीका सम्पादकहरूले नेपाली भाषामा विवाद झिके । कहीँ नभएको जात्रा हाँडीगाउँमा भयो । त्यसको सर्वत्र विरोध भयो । कसैले लेख लेखेर तथा कसैले बोलेर विरोध जनाएकै हुन् । त्यस अवधिमा म भैरहवा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख थिएँ । नेपाली विभागका शिक्षक र विद्यार्थीलाई सहभागी गराएर मैले भाषिक गोष्ठी गर्न लगाएको थिएँ । हामी चुप लागेका थिएनौँ । कति हो भने हामी सङ्गठित भएर लागेका थिएनौँ । त्यसै भएर अहिले सञ्जाल बनाएर सङ््गठित रूपमा देश–विदेशमा लागेका हौँ ।
८) यसलाई अन्तर्राष्ट्रिय सञ्जाल किन भनियो ?
 हेर्नुहोस् । नेपाली भाषा अहिले नेपालमा मात्र बोलिँदैन । यो अन्तर्राष्ट्रियकरण भइसकेको भाषा हो । अहिले यसको प्रयोग चार करोडभन्दा बढीले गर्दछन् । नेपालमा धेरैले यसलाई मातृभाषाका रूपमा र सबैले सम्पर्क भाषाका रूपमा प्रयोग गर्दछन् । नेपालबाहिर पनि नेपाली भाषाका प्रयोक्ता ठूलो सङ्ख्यामा छन् । भारतको दार्जिलिङ, सिक्किम, आसाम आदि ठाउँमा तथा वर्मा र भुटानमा र विश्वका अन्य विभिन्न ठाउँमा नेपालीहरूको बसोबास छ । नेपालभित्र गुरुङ, मगर, नेवार, तामाङ भए पनि विदेशमा पुगेपछि सबैको एउटै पहिचान छ । त्यो हो नेपाली । भाषा नेपाली । जाति नेपाली । यही नेपाली पहिचान छ हाम्रो । त्यसैले नेपाल सरकारको कुनै म्यादी मन्त्रीले तोकआदेश लगाएर परिपत्र गरेर नेपाली भाषामा परिवर्तन गर्न खोज्नु हास्यास्पद कुरा मात्रै हो । उसको आदेश तलबी शिक्षक र ससाना नानीमा लागु हुन सक्ला । सञ्चारमा लागु हुन सकेन । संसारमा लागु हुने कुरै छाडौँ । त्यसैले नेपाली भाषाको मानक स्वरूपको रक्षाका निमित्त राष्ट्रिय होइन, अन्तर्राष्ट्रिय सञ्जालकै आवश्यकता पर्दछ ।
९) तपाईं भैहवामा बस्नुहुन्छ । सञ्जालको कार्यालय काठमाडौँ होला । तपाईं कसरी अभियान सञ्चालन गर्न सक्नुहुन्छ ?
 तपाईंले सुरुमै अहिलेको युग प्रविधिको युग भन्नुभएको होइन ? हामी प्रविधिको उपयोग गर्छौँ । नेपालभर मात्र होइन । हाम्रो नेटवर्किङ अब नेपाली रहेसम्म विस्तारित भएको छ । हामी सबै ठाउँमा भौतिक रूपमा वा सशरीर पुग्नु जरुरी पनि छैन । विचार दिने हो । हामी यहाँ रहेर पनि विचार दिन सक्छौँ । त्यहाँ रहेर पनि विचार दिन सक्छौँ । म पनि यहाँ रहेर मानक नेपाली भाषा अभियानमा क्रियाशील छु ।
१०) अनि तपाईंहरूले ककसको साथ र सहयोग पाउनुभएको छ ?
 बिगारिएको भाषाको भुङ्ग्रोले सञ्चारकर्मी, साहित्यस्रष्टा, लेखक, पाठक, शिक्षक, विद्यार्थी, कर्मचारी र आम प्रयोक्तालाई पोलिरहेकै थियो । हामीले अभियानको नेतृत्व मात्र लिएका हौँ । अभियानमा त सबै छन् । कोही प्रत्यक्ष र कोही अप्रत्यक्ष छन् । त्यसैले सबैको साथ र सहयोग पाएका छौँ । आफ्नो पहिचान, संस्कृति र भाषाप्रति गौरव गर्ने स्वाभिमान भएका हरेकले यस अभियानमा साथ र सहयोग दिनु जरुरी पनि छ ।
११) भाषा आन्दोलनका अगुवाहरू नीतिनिर्माणका तहमा पुग्दासमेत विवाद किन सुल्झिएन ?
 अहिले मानक नेपाली भाषा अभियानका अगुवा हामी हौँ र हामी नीतिनिर्माणको तहमा छैनौँ । हामीमा अभियान चलाएर त्यहाँ पुग्ने चाहना पनि छैन । जो पुगेका छन् ती मानक नेपाली भाषा अभियानका अभियन्ता नै होइनन् । ती कुनै न कुनै दलको पुच्छर समातेर भागसान्ती सुविधा भोग गर्न पुगेका मुकुन्डाहरू मात्र हुन् । ती कठपुतली हुन् । नचाउनेले जसरी नचायो, त्यसरी नै नाच्छन् । तिनको धर्म, कर्म र नियति त्यत्ति नै हो ।
१२) के तपाईंहरूको आन्दोलनले सार्थकता पाउला त ?
 अवश्य । हाम्रो अभियान निस्वार्थ, संयमित, नियमित र निरन्तर परिणामी रहेको छ र रहनेछ । आमसञ्चार, पूरा संसार, विश्वविद्यालय, प्रकाशन गृह, लेखक, सम्पादक, प्राध्यापक, शिक्षक र वकिल हाम्रो अभियानमा रहेका छन् । त्रिविबाट त्रुटिको सुरुवात् भएको थियो । त्यहाँबाट सचियो । प्रज्ञाबाट त्रुटिको विस्तार भएको थियो । त्यहाँबाट पनि सचियो । यिनै दुईलाई आधार बनाएर शिक्षा मन्त्रालयले परिपत्र गरेको थियो । अब त्यसको आधार (जग) नै नरहेकाले त्यसले सचिनै पर्छ । नत्र त्यो आफैँ ढल्छ । हामी सम्पूर्ण पाठ्यपुस्तक बहिष्कार गराउने हैसियत राख्छौँ । हामी सकभर त्यसो गर्न नपरोस् भन्ने चाहन्छौँ । तसर्थ शङ्का नगर्नुहोस् । हाम्रो अभियान, तपाईं हाम्रो अभियान सार्थक भएरै छाड्नेछ । उदाउन लागेको घामलाई हत्केलाले कहिलेसम्म छेक्लान् बिगारसिङहरू ।
१३) संयुक्त वर्णको विकल्पमा एकाक्षरलाई प्रस्तुत गर्नु गलत नै छ त ?
 संयुक्त वर्ण समस्या होइनन् । सम्पत्ति हुन् । समृद्धिका द्योतक हुन् । हाम्रो लिपि, हाम्रो भाषाका सम्पत्ति हुन् । यिनले गर्दा हाम्रो लिपि, हाम्रो भाषा र हाम्रो संस्कृति समृद्ध छ । भाषा समृद्ध छ । यो समृद्धिप्रति डाढ गर्ने डाढेहरूले यसलाई मास्न, यसलाई कमजोर तुल्याउन हामीभित्रकै कथित भाषाविज्ञलाई कठपुतली बनाएर बिगार्न खोज्दै छन् । राजनीतिक शब्दावलीमा भन्नुपर्दा यो साम्राज्यवादी–विस्तारवादी कुटिल चाल बुझ्न जरुरी छ हामीले । साम्राज्यवादी– विस्तारवादीहरूले हाम्रो वेशभूषा, संस्कृति, शिक्षा, आचारविचार, जीवनशैली, लबाइखबाइमा धमिरा लगाएका छन् । हाम्रो भाषिक समृद्धिलाई कमजोर पार्दै किचलो झिकेर आपसमा लडाएर आफ्नो घृणित स्वार्थपूर्ति गर्न खोजिरहेछन् । यस्तो अवस्थामा हामी चनाखो भएर लाग्नु जरुरी छ । सञ्जाल यसमा सचेत छ ।
१४) अबको समाधान वा निकास के हो त ?
 त्यो सजिलो छ । भाषा कुनै कसैको निर्णयबाट वा तोकआदेशबाट जन्मेको र विकसित भएको हुँदैन । त्यस्तै यसमा परिवर्तन भइरहे पनि कसैको तोकआदेश र परिपत्रबाट परिवर्तन पनि हुँदैन । तर एकपटक टिप्पणी उठाई, तोकआदेश गरी परिपत्र गरिसकेकाले अब त्यसलाई त्यही प्रक्रिया अँगालेर परिपत्र गरे यसको समाधान सजिलै छ । पहिले सदर गरेको टिप्पणीलाई बदर मात्र गरे पुग्छ ।
१५) त्यसो गर्दा अरबौँ खर्च लाग्ने कुरा शिक्षा मन्त्रालयको छ रे नि त ?
 लगाए लाग्छ, नलगाए लाग्दैन । यतिखेर स्कुली पाठ्यपुस्तकमा मात्र अमानक वा विकृत नेपालीको प्रयोग छ । स्कुली सबै पाठ्यपुस्तक नयाँ छाप्दा अरबौँ खर्च हुनसक्छ, तर हाललाई हरेक स्कुलमा परिपत्र गरिदिने र सोहीअनुसार अध्यापन गर्ने अनि अबउप्रान्त पाठ्यपुस्तक प्रकाशन गर्दा मानक नेपालीअनुरूप प्रकाशन गर्ने हो भने कुनै थप व्ययभार हुँदैन । हामीले शिक्षा मन्त्रीलाई यही भन्दै आएका छौँ । अन्यत्र त मानक प्रयोग छँदैछ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 16 फागुन, 2073

लेखकका अन्य रचनाहरु