गजलको संरचनात्मक स्वरूप

- डा.लेखप्रसाद निरौला

१. विषय प्रवेश
साहित्यका अनेक विधाहरूमध्ये गजल पनि एक हो । लयात्मक प्रकृतिको यो विधा कविता र गीतको सजातीय गुणबाट अनुप्राणीत छ । विचार वा भावलाई लयात्मक स्वरूप प्रदान गर्ने क्रममा व्यक्त हुने विधाहरूकै गुणधर्मलाई गजलले समेत आत्मसात् गरेको छ । यो शब्द स्वयंमा अरबी भाषाको भए पनि फारसी साहित्यबाट यसको जन्म र विकास भएको हो । प्रारम्भमा प्रेम वा प्रणय अनुरागकेन्द्री विषय बनेर देखा परेको यस परम्पराले हालसम्म आइपुग्दा एउटा छुट्टै साहित्यिक विधातर्फको पहिचान बनाइसकेको छ । यसर्थ, साहित्यका अन्य विधाजस्तै गजलको पनि सैद्धान्तिक स्वरूप तयार भइसकेको पाइन्छ ।

२. गजलको परिचय
गजल शब्दमा ग, ज, ल गरी तीन अक्षरको प्रयोग भएको छ । भनिन्छ, अरबी भाषाको गेन जि लाम्बाट गजल शब्द बनेको हो । यसमा गले वाणीलाई जले नारीलाई र अलले साथलाई बुझाएको मानिन्छ । यसरी नारीसँगको वाणी अर्थात् प्रेमिकासँगको वार्तालापका सन्दर्भमा गजल शब्दको प्रारम्भिक व्युत्पत्ति पाइन्छ । जे होस्, अरबी भाषाबाट आएको यस आगन्तुक शब्दले प्रारम्भिक अवस्थामा प्रेमिकासँग वार्तालाप भन्ने अर्थलाई नै बढी मात्रामा वहन गरेको छ । साथै यसभित्र कोमलता, न्यानोपन वा लयालुपनको मात्रा रहनुपर्ने अपेक्षा गरिएको पाइन्छ ।
गजल शब्द गजलाबाट बनेको भन्ने अवधारणा पनि रहेको छ । अरबीमा गजलाको अर्थ मृगका बच्चा भन्ने रहेकाले यससँग गाँसेर दुई किसिमको अवधारणा विकसित भएको छ । पहिलो कुरा मृगकै जस्ता चञ्चल एवम् मनोहारी आँखा हुने सुन्दरीसँग केन्द्रित रचना नै गजल हुन् भन्ने रहेको छ । यस किसिमको व्याख्याले प्रेमपरक विषयका रूपमा गजललाई चिनाउँछ । तर, मृगका बच्चालाई मात्र बुझाउने गजला शब्दमा ती मृगशावकको आर्तनाद पनि गाँस्न सकिने भएकाले गजल प्रेमपरक मात्र नभई पीडा मिश्रित स्वरहरूको अभिव्यक्ति पनि हो भन्ने दोस्रो अवधारणा पनि रहँदै आएको छ । अर्थात्, जसरी एकान्त वनमा सानन्द विचरण गर्ने मृगशावकमाथि कुनै व्याधाबाट हानिएको वाणजन्य पीडामिश्रित अभिव्यक्ति हुन्छ त्यस्तै नै गजलको पनि विषय रहन्छ भनिएको छ ।
गजल शब्दसँग गाँसेर नारीसँगको संवाद होस् वा पीडा मिश्रित अभिव्यक्ति होस् जुनसुकै विषयहरू पनि रहन सक्छन् भन्ने कुरालाई प्रारम्भिक अवधारणाहरूले सङ्केत गरेका छन् । हुन त कतिपयले गजलको सम्बन्ध सामान्य नारीसँग गरिने सामान्य कुराकानी मात्र नभएर प्रेमास्पदसँग गरिने आन्तरिक कुराकानीका रूपमा अथवा सांसारिक आनन्दमा रमाइरहेको मानवलाई अचानक कालगतिले वाण हान्दा निस्किएको पीडामिश्रित व्यथाका रूपमा पनि रहेको बताएका छन् । अतः गजलमा आन्तरिक अनुराग वा रतिरागको अनुगञ्जन अथवा आन्तरिक पीडाको गुनगुनाहटजस्ता दुबै प्रकृतिका विषयवस्तुको प्रस्तुति हुन सक्छ भन्ने स्पष्ट हुन्छ । त्यसैले गजललाई आत्माको आनन्द र पीडाको दह दुबैसँग गाँसेर हेर्ने प्रवृत्तिसमेत पाइन्छ । गजलबारे गरिएका त्यस्ता केही प्रमुख परिचयात्मक सन्दर्भहरू यसप्रकार छन् ः
• अरबी साहित्यबाट विकसित सङ्क्षिप्त प्रकृतिको अन्य साहित्यिक विधाभन्दा फरक आह्लादकारी एवम् प्रणयकेन्द्री गेयगुण सम्पन्न सिर्जना विशेष गजल हो । –इन्साइक्लोपिडिया ब्रिटानिका
• फारसी र उर्दू काव्यमा प्रयुक्त कविता विधाको एक भेद, जसको मुख्य विषय प्रेममा केन्द्रित हुन्छ; त्यही गजल हो । – बृहत् हिन्दी शब्दकोश
• गजल भनेको प्रेमिकासँग गरिने कुराकानी, उर्दू फारसी किताबको एक प्रकार विशेष जसमा पाँचदेखि एघार सेर हुन्छन् । सबै सेर एकप्रकारका रदिफ र काफियामा केन्द्रित रहन्छन् र हरेक सेरको कथ्य विषय फरक फरक हुन्छ । – उर्दू हिन्दी शब्दकोश
• गजल उर्दू साहित्यको सर्वाधिक लोकप्रिय, सरस तथा प्रेम स्थायीभाव हुने एक काव्य भेद हो । यो रहस्यात्मक अनुभूति, आह्लादक संवेग, मदिराको मस्ती, धार्मिक तथा सांस्कृतिक विद्रोह आदि भावनाहरू सञ्चारित हुने र विषय अनुरूपको भाव सञ्चार गर्ने विशिष्ट काव्यको स्वरूप हो । साथै यो मकता, मतला, जिरह काफिया र रदिफजस्ता लयका जनक र नियामक प्राविधिक तत्त्वमा निबद्ध हुन्छ । –डा.नगेन्द्र
• गजल काफिया र रदिफको व्यवस्थित योजनामा निबद्ध बनेर एक लययोजनामा सृजना भएको अनेक सेरहरुको माला बनेको तन्तु हो । यस किसिमको रचनाको पहिलो सेर मतला र अन्तिम सेर मकताको विधानमा आबद्ध हुन्छ । –डा.नरेश
• विशेषतः प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता गजल हो । –नेपाली बृहत् शब्दकोश
• शृङ्गार वा प्रेमरसको कविता, कुनै छन्दोबद्ध नभई अन्तिम तुक मात्र हुने शृङ्गारिक कविता गजल हो । – नेपाली शब्दसागर
• गजल एउटा प्राविधक र शास्त्रीय काव्यविधा हो । यसको सृजना काफिया मिलेका स्वायत्त सेरहरुको समायोजनबाट हुन्छ । यो भावगाम्भीर्य र गेयता, कोमलता आदिका दृष्टिले गीतसँग सन्निकट देखिने एउटै बहरमा कम्तीमा चार बहरमा रचिने सृजना गजल हो । –घनश्याम परिश्रमी
• गजल मुख्यतः भाषाका माध्यमद्वारा सङ्गीतको सहयोगमा अभिव्यक्त हुने कलाविशेष हो । –कृष्णहरि बराल
• शिल्पसंरचनाका आधारमा काफिया र रदिफका बन्धनमा निबद्ध भएर रहेको एकै लयखण्डमा सृजना भएको र एउटै बहर विधिमा उनिएको विभिन्न सेरको मालाका रूपमा तयार हुने मतलाबाट आरम्भ भएर मकताको तहमा पुगेर एक गन्थिको रूप प्राप्त गरेको रचना विशेष गजल हो –राजेन्द्र सुवेदी
उपर्युक्त किसमका गजलसम्बन्धी विभिन्न अर्थ, चिन्तन, अवधारणा वा कथनहरूबाट निश्चय पनि गजलको रूप र सारपक्षबारे प्रशस्त मात्रामा छलफल हुने गरेको देखिन्छ । यिनमा गजलको स्रोत, काव्यिक वा साहित्यिक पहिचान, शैलीशिल्प र विषयगत आधारहरूबारे पनि पर्याप्त किसिमले सङ्केत हुँदै आएको बुझिन्छ । प्रायः यी हरेक अभिव्यक्तिले गजलको कुनै न कुनै विशेष पक्षमाथि प्रकाश पारेकै छन् । अतः गजल भनेको केही उर्दू बहरहरूको निश्चित संरचनात्मक ढाँचामा रतिराग वा विरहजन्य पीडालगायत जीवन जगत्का जुनसुकै विषयलाई समेटेर तयार पारिएको विशेषतः काफियाको प्रयोग हुने लघु प्रकृतिको साङ्गीतिक चेत प्रधान रचना हो भन्न सकिन्छ ।

३. गजलका संरचनात्मक घटकहरू
साहित्यमा आवश्यक पर्ने संरचनात्मक घटकहरूजस्तै गजलमा पनि त्यस्ता अनेक घटक वा उपकरणहरू प्रयोग हुन्छन् । ती सबैजसो अवयवहरू लयात्मक साहित्य अथवा कविताकै जस्तो मूलतः भाव, लय र भाषाकै केन्द्रीयतामा आबद्ध हुन्छन् । तिनमा पनि खासगरी भावको भन्दा बढी लय र भाषाशैलीकै दृष्टिले गजलका अनिवार्य संरचक घटकहरू निर्धारित हुन्छन् ।

क) भाव
भाव भनेको विषयवस्तु हो । जुनसुकै साहित्यमा अनिवार्य घटकका रूपमा भाव वा विषयवस्तु रहेझैँ गजलमा पनि यसको अनिवार्यता रहन्छ । तर, गजलका लागि आवश्यक भाव वा विषयका सन्दर्भमा त्यति धेरै अनिवार्य नियम वा अनुशासनहरू छैनन् । हो, प्रारम्भमा गजलको विषयवस्तुगत सन्दर्भ प्रेमपरका थियो भन्ने गरिन्छ । तर, सँगसँगै विरह, पीडा, व्यथा र छटपटाहटजन्य विषयले पनि त्यत्तिकै प्राथमिकता पाउँदै आएको देखिन्छ । गजल प्रयोगको परम्परासँगै यसभित्र केवल प्रेम र विरहको मात्र नभई समकालीन विकृति, विसङ्गति र वैयक्तिक वा सार्वजनिक विषयवस्तुले पनि प्राथमिकता पाउँदै आएका छन् ।
अब त जीवन जगत्का यावत् विषयवस्तु पनि गजलका लागि उपयोगीसिद्ध बन्ने गरेका छन् । राजनीति, दर्शन, प्रकृति, प्रेम, बिछोड, हर्ष बिस्मातलगायत जीवनका सबै खाले अनुभूतिहरूले गजललाई अभिव्यक्तिको माध्यम बनाएकै छन् । अतः भाव वा विषयका दृष्टिले गजलमा कुनै पनि विषयले निषेधित हुनुपर्ने अवस्था छैन । यतिचाहिँ के कुरा स्पष्ट हो भने गजलको प्रकृति र स्वरूप निकै हदसम्म गीत, मुक्तक एवम् लघुकविताकै नजिक रहेकाले विषयवस्तुको आयतनमा निश्चय पनि सङ्क्षिप्तता वा सूत्रात्मकताको अपेक्षा गरिन्छ नै । कतै कतै च्वास्स अनूभूति गराउनासाथ गजलको विषय स्वतः समाप्त हुनु अपेक्षित छ ।

ख) लय (बहर)
गजलका लागि लयको अनिवार्यता हुन्छ । लयलाई बहर पनि भनिन्छ । गजलभित्रका प्रायः सबैजसो बहरहरू उर्दू साहित्यबाटै लिइएका हुन् । त्यसैले तिनकै विधि, व्यवस्था वा नियम अनुशासनभित्र रहेर गजलको बहर निर्धारण गरिन्छ । पूर्वीय साहित्यमा पिङ्गलका छन्दसूत्रहरूझैँ उर्दू साहित्यका परिभाषित बहरहरू गजलमा अनिवार्य मानिन्छन् ।
पूर्वीमा तीन अक्षरको एक गण अर्थात् रुक्न भए पनि गजलका लागि तीनदेखि पाँच अक्षरसम्मका रुक्नहरूको प्रयोग गरिन्छ । गणसङ्केतका ह्रस्वदीर्घ आदि मात्रा वा गणभारलाई बज्न भनिन्छ र ती हरेक बज्नहरू यगण मगण तगणजस्तै फऊलुन्, फाइलुन्, मफाइलुन् आदि विभिन्न नामबाट रुक्नका रूपमा चिनिन्छन् । तिनकै आवृत्तिबाट फरक फरक नामका बहर वा छन्दहरू तयार हुन्छन् । शार्दूलविक्रीडित, मन्दाक्रान्ता, उपजाति आदि ती अलग अलग नामका छन्दहरूजस्तै गजलमा मिनकारिब, मुतकारिब, हजज आदि अनेक बहरको प्रयोग गरिन्छ । तिनीहरूमा एउटा सेर अर्थात् पद्यका लागि हरेक रुक्नको मुख्यतया चारपटकको आवृत्ति आवश्यक हुन्छ । तर, तिनीहरू मिश्रित अवस्थामा पनि रहन सक्छन् । प्रचलित लय वा बहरसम्बन्धी मूलभूत व्यवस्था यसप्रकार रहेको छ ः

बहर सङ्केत तालिका
क्र.संं. रुक्न÷गण अक्षर सङ्ख्या बज्न÷गणभार बहर÷छन्द
१ फऊलुन् ३ ISS × ४= १२ मिनकारिब
२. फाइलुन् ३ SIS × ४ = १२ मुतदारिक
३. मफाईलुन् ४ ISSS × ४ = १६ हजज
४. मुस्तफ्इलुन् ४ SSIS × ४ = १६ रजज
५. फाइलातुन् ४ SISS × ४ = १६ रमल
६. मुतुफाइलुन् ५ IISIS × ४ = २० कामिल
७. मफाइलतुन् ५ ISIIS × ४ = २० बाफिर
८. मफ्उलात् ३ SSS × ४ = १२ गजलमा प्रचलित नभएको ।

उपर्युक्त किसिमको बहर व्यवस्थाअनुसार गजलमा आठौँ प्रकृतिको मफ्उलात्बाहेक अन्य प्रकृतिको लयगत संरचना रहँदै आएको छ । नेपाली साहित्यमा पनि यस्तै किसिमबाट विभिन्न बहरमा गजलहरू लेखिँदै आएका छन् । जस्तै

अ) मिनकारिब (बहर ए मिनकारिब)
यो बहर वा छन्द फऊलुन् (ISS) को चार पटकको आवृत्तिबाट तयार हुन्छ । यसमा जम्मा बाह« अक्षर हुन्छन् । यसको प्रकृति भुजङ्गप्रयात छन्दसँग मिल्दछ । जस्तै
चुहे छानु आफ्नो म छाएर बस्छु
छ आकाश आफ्नो रमाएर बस्छु । (मेनका पोखरेल)

आ) मुतदारिक (बहर ए मुतदारिक)
यस बहरमा पनि बाह«ै अक्षर हुन्छन् र तिनीहरू फाइलुन् (SIS) कै चार पटकको आवृत्तिबाट तयार हुन्छन् । यसको प्रकृति स्रग्विणी छन्दसँग मिल्दछ । जस्तै;
बस्नु टाढा हुँदै हुन्न हाम्रो कुरा
भन्न थाले तिनै व्यक्ति राम्रो कुरा । (लेख निरौला)

इ) हजज (बहर ए हजज)
यस बहरमा सोह« अक्षर हुन्छन् र प्रत्येक चार अक्षरका बज्नबाट बनेको मफाइलुन् (ISSS) रुक्नको चारपटकको आवृत्ति हुन्छ । यो बहर अनुष्टुप् छन्दको धेरै नजिक छ । प्राचीन गजलहरुमा यस किसिमको लयगत व्यवस्था अधिक मात्रामा पाइन्छ । जस्तै
आँखाबाट ओर्लेर मुटुमै सर्दथ्यो सायद
दुखेका चित्तको पीडा उसैले हर्दथ्यो सायद । (सनतकुमार)

ई) रजज (बहर ए रजज)
यस बहरमा चार अक्षरका बज्नबाट बनेको मुस्तफ्इलुन् (SSIS) रुक्नको चार पटकको आवृत्तिका कारण सोह« अक्षर रहेका हुन्छन् । जस्तै
पर्खेर दिन गन्दै थिएँ मनको कुरा मनमै रह्यो
माया गरुँ भन्दै थिएँ मनको कुरा मनमै रह्यो । (सनतकुमार)

उ) रमल (बहर ए रमल)
यस बहरमा पनि चार अक्षरका बज्नबाट बनेको फाइलातुन् (SISS) रुक्नकै चार पटकको आवृत्तिका कारण सोह« अक्षर रहेका हुन्छन् । जस्तै
आज यौटा चिट्ठी आयो कुन्नि कस्को थाहा छैन
प्रेमको सन्देश ल्यायो कुन्नि कसको थाहा छैन । (सनतकुमार)

ऊ) कामिल (बरह ए कामिल)
यस बहरमा पाँच अक्षरीय बज्नबाट बनेको मुतुफाइलुन् (IISIS) रुक्नको चार पटकको आवृत्तिका कारण बीस अक्षरहरू हुन्छन् । जस्तै
मुटुभित्र चित्र थियो कुनै मुसकाउने भन को थियो
प्रतिविम्बभित्र थियो उही सरमाउने भन को थियो (सनतकुमार)

ऋ) बाफिर (बहर ए बाफिर)
यो पनि पाँच अक्षरीय बज्नबाट बनेको मफाइलतुन् (ISIIS) रुक्नको चार पटकको आवृत्तिका कारण तयार हुने बीस अक्षरको बहर हो । जस्तै
जहाँ तिमी छौ उहीँ छ खुसी तिमी नहुँदा उदास सबै
सजीव थियो मिठो सपना बिहान हुँदा विनाश सबै । (सनतकुमार)

ए) मिश्रित बहर
यहाँ चर्चा गरिएका मात्र नभई गजलसँग गाँसिएर प्रशस्त मात्रामा मिश्रित बहरहरू पनि प्रयोग हुने गरेका छन् । तिनका अनेक स्वरूपहरू पाइन्छन् । त्यस्ता केही मिश्रित बहरहरूमा मिनकारिबको ११ अक्षरीय भेद, मुतदारिकको ९ अक्षरीय भेद, हजजका ११, १४ र १६ अक्षरीय अनेक भेदहरू (जहाँ पञ्चचामर छन्दकै जस्तो लययोजना पनि रहन्छ) उल्लेखनीय रहेका छन् । यहाँ १४ अक्षरीय बहर भेदको उदाहरणलाई हेर्न सकिन्छ ः
जहाँ जुन ज्यानमा छल्केको पसिना हुन्छ
हो त्यही हुन्छ हरिद्वार मदीना हुन्छ । (बूँद राना)
त्यस्तै लोकलयमा जस्तै ४+४+५ को १३ अक्षर ४+४+६ को १४ अक्षर ४+४+४+४ को १६ अक्षर र ५+ ५+ ५+ ५ को २० अक्षर आदि हुने किसिमका अन्य अनेक भेदहरु पनि रहेका पाइन्छन् । चार चारको १६ अक्षरीय लोकलयकै समधर्मी गजललाई पनि यहाँ हेर्न सकिन्छ ः
ढुक्क थिएँ पारि तर्न आफन्तको नाउ थियो
तर्दातर्दै भँगालामा डुबाउने दाउ भयो । (रमेश शुभेच्छु)
गजलका सन्दर्भमा कतिपय अवस्थामा ह«स्व र दीर्घ एवम् हलन्त वा अजन्तसम्बन्धी नियमको अनुशासनचाहिँ त्यति कडा हुँदैन । जस्तै
बदला लिने रहर भए मुटुमै किला ठोके हुन्छ
आँसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन । (उज्ज्वल जी.सी.)
यसरी संस्कृतमा विद्यमान अनेक शास्त्रीय लय एवम् नेपाली लोकलय जस्तै गजलका सन्दर्भमा पनि अनेक बहरहरूको प्रयोगसम्बन्धी परम्परा रहँदै आएको छ । यी जुनसुकै किसिमका लयहरूको प्रयोग गरिए पनि तिनमा लयगत अनुशासनलाई भरसक कायम राख्नुपर्ने प्रावधान रहेको पाइन्छ ।

ग) भाषाशैली
गजलमा लय र भाव दुबै पक्षलाई पुष्ट तुल्याउने किसिमबाट भाषाशैलीको व्यवस्थापन गरिन्छ । एकातिर लयात्मक अनुगुञ्जनलाई प्रभावकारी तुल्याउने वा साङ्गीतिक माधुर्य प्रदान गर्ने र अर्कातिर भाव वा विषयवस्तुको सहज सम्प्रेषणजन्य चमत्कार सिर्जना गर्ने प्रयोजनका लागि भाषाशैलीगत पक्षको महत्ता दर्साइएको हुन्छ । त्यसक्रममा गजल सिद्धान्तसँगै प्रयोग हुने कतिपय पद पदावलीहरू नेपाली साहित्यका सन्दर्भमा व्याख्येय हुन आउँछन् । तिनमा सेर, मिसरा, काफिया, रदिफ, मतला, मकता, तखल्लुस आदि प्रमुख रहेका छन् ।

क) सेरको संरचना
सेर शब्दले गजलका दुई हरफ वा मिसराको समूहलाई बुझाउँछ । अर्थात्, दुई पङ्क्तिको एक पद्य नै गजलको सेर हो । चिटिक्क परेका अनेक सेरहरूको समूहबाटै गजलको निर्माण हुन्छ । यद्यपि कतिपय भाषामा गजलबाहेक काव्यका पद्यहरूलाई पनि सेर नै भनिन्छ । प्रत्येक सेर आपसमा असम्बद्ध, स्वतन्त्र र आफैमा पूर्ण हुन्छन् । तिनीहरू निश्चित योजनामा आबद्ध हुन्छन् । ती एउटा गजलका प्रत्येक सेरहरू एउटै बहर योजना अर्थात् लयमा लेखिएका हुन्छन् । तिनमा प्रत्येक सेरअन्तर्गत काफिया र कतै रदिफको व्यवस्था हुने गर्दछ । गजलमा प्रयुक्त सेरहरूको आरम्भलाई मतला र अन्त्यलाई मकता भनिन्छ । तिनीहरूको पनि आफ्नै किसिमको विधि र व्यवस्था छ । एउटा गजलमा सामान्यतया ५ देखि ११ सेरसम्म हुन्छन् । हिजोआज ५ देखि ७ सेरसम्म रचिएका गजलहरू अत्यधिक पाइन्छन् । सेरसङ्ख्या प्रायः बिजोर राख्ने प्रचलन छ । इतिहासमा ३ देखि १९ सेरसम्मका गजलहरू पाइएको बुझिन्छ ।

ख) मिसराको महत्ता
मिसरा भनेको गजलका सेरहरूमा प्रयोग हुने हरफहरू हुन् । एउटा सेरमा दुई हरफ प्रयोग हुने हुँदा दुबै हरफलाई मिसरा नै भनिन्छ । तर, तिनमा पहिलो हरफलाई मिसरा ए उला र दोस्रो हरफलाई मिसरा ए सानी भन्ने गरिन्छ । पहिलो हरफमा विषयको परिचय, उच्चता, उठान, भूमिका अथवा श्रोताहरूमा कौतूहल सिर्जना गर्ने अपेक्षा राखिने हुनाले यसलाई मिसराको उला अर्थात् उच्चताको संज्ञा दिइएको हो । त्यसैगरी दोस्रो हरफमा पहिलो मिसराले उत्पन्न गरेको जिज्ञासाको समाधान अर्थात् पहिलो मिसराको रहस्योद्घाटन गरिएको हुन्छ । त्यसैले दोस्रो मिसरालाई सानीको संज्ञा दिइएको हो । जस्तै
सबैको यही एक आवाज पाएँ– मिसरा ए उला
गजलमा तिमीलाई नाराज पाएँ । – मिसरा ए सानी (वाह ! गजल)

ग) काफियाको संयोजन
काफिया भनेको सेरहरूमा विद्यमान अनुप्रास÷ अन्त्यानुप्रास÷ उपान्त्यानुप्रास वा तुक हो । स्वर वा व्यञ्जनहरूको वर्णसाम्यका आधारमा आवृत्तिका कारण काफिया निर्माण हुन्छ । यसर्थ काफियाबिना गजलका सेरहरू बन्दैनन् । पहिलो सेरका दुबै मिसरा अर्थात् मकतामा र बाँकी सेरका दोस्रो दोस्रो मिसरामा काफियाको प्रयोग गरिन्छ । सामान्यतया दुईदेखि चार वर्णसम्मको काफियाको प्रयोग बढी मात्रामा हुने गरेको पाइन्छ । उदाहरणका लागि गजलको काफियाका रूपमा आउँछ, फैलाउँछ, गाउँछ, छाउँछ अथवा आइएन, लाइएन, पाइएन, गाइएन, खाइएन जस्ता पदहरूको आवृत्ति अथवा रात प्यारो, बात प्यारो, मात प्यारो, सौगात प्यारो, हात प्यारोजस्ता अनेक पद पदावलीहरूको आवृत्ति पूर्वक चमत्कार सिर्जना गरिन्छ । काफियाको संरचनामा ध्वनिगत विविधता पनि रहन सक्दछ । कतै पूर्ण ध्वनिसाम्य कतै आंशिक ध्वनिसाम्य कतै एकाक्षरी अन्त्य ध्वनिसाम्य र कतै अभङ्ग तथा सभङ्ग ध्वनिसाम्य वा मिश्रित ध्वनिसाम्यको अवस्था पनि रहन सक्दछ । अतः काफियाका अनेक अवस्थाहरू हुन्छन् । सबै सेरहरूमा एउटै काफियाको पुनरुक्ति पनि गरिँदैन । लामा गजलहरूमा काफिया वा अनुप्रास मिलाउन अवश्य पनि गाह्रो हुन सक्छ । प्रभावोत्पादक काफिया प्रयोग गरिएको तलका सेरहरूलाई हेर्न सकिन्छ ः
बाँच्नै गाह«ो हुने गरी जताततै अभाव छ
धनीमानी नेताज्यूलाई मात्रै यहाँ रबाफ छ ।
....................................................
अस्थिर यो सरकार जनताको के चासो छ र
आपूmलाई नोट बिटो रिकापीमा कबाफ छ । (प्रभा बराल)

घ) रदिफको प्रयोग
प्रत्येक सेरमा काफियाका पछाडि दोहोरिने शब्दहरू नै रदिफ हुन् । तिनीहरू काफियाकै जस्तो अनिवार्य हुनै पर्छ भन्ने छैन । जहाँ जहाँ काफियाको प्रयोग हुन्छ त्यहाँ त्यहाँ रदिफको प्रयोग गर्न सकिन्छ । तर, सबै काफिया भएका ठाउँमा रदिफ नहुन पनि सक्छन् । त्यसैले गजलका सेरहरूमा कतै रदिफ प्रयोग हुन्छ भने कतै हुँदैन । जहाँ रदिफको प्रयोग हुन्छ तिनलाई मुरद्दफ भनिन्छ; जहाँ हुँदैन तिनलाई गैरमुरद्दफ भनिन्छ । रदिफको प्रयोगले गजलको साङ्गीतिक माधुर्य र प्रभावकारिता अझ बढ्ने सुनिश्चित छ । जस्तै
म पौडेर नाला कहाँ तर्न सक्छु
विषै यो पिएरै कहाँ मर्न सक्छु । (लक्ष्मीदत्त भट्ट)
यहाँ तर्न र मर्न काफियापछि सक्छु रदिफको प्रयोग भएकाले यसलाई मुरद्दफअन्तर्गत राख्न सकिन्छ । तर,
अग्लो हिमाल हेरेँ पग्ली खसिरहेछ
माटो भुलेर छोरो खाडी खसिरहेछ ।
बाँझैँ छ खेतबारी दूबो बढ्यो
जाऊ विदेश जाऊँ हावा चलिरहेछ । (भुवनहरि सिग्देल)
यहाँ खसिरहेछ चलिरहेछ जस्ता काफियापछि रदिफको प्रयोग नभएकाले यस किसिमको अवस्थालाई गैरमुरद्दफका रूपमा राखिन्छ ।

घ) मतला र मकता
गजलमा दुई दुई मिसरा भएका प्रायः बिजोर सङ्ख्याका अनेक सेरहरू हुन्छन् । तीमध्ये पहिला दुई मिसराको छुट्टै प्रकृति हुन्छ, जसलाई मतला भनिन्छ । मतलामा एकातिर विषयवस्तुका दृष्टिले समस्याको उठान गरिन्छ भने अर्कातिर प्रस्तुतिका दृष्टिले ती दुबै मिसराका अन्त्यमा काफियाको र कतै रदिफको समेत प्रयोग गरिन्छ । जब कि गजलभित्र अन्य सरेका दुबै मिसरामा काफियाको प्रयोग गरिँदैन ।
त्यस्तै मकता भनेको गजलको अन्तिम सेर हो अर्थात् अन्तिमका दुई मिसराहरू हुन् । तर, यी दुबै मिसरालाई त्यतिखेर मकता भनिन्छ जब तिनको अन्तिममा गजलकारको उपनाम÷नाम सङ्केत गरिएको हुन्छ । यस सन्दर्भमा मोतीराम भट्टको सजाएर घरभित्र शीर्षकको गजललाई हेर्न सकिन्छ ः
सजाएर घर्भित्र जाँदै नजाने
यसै गै गएदेखि खाँदै नखाने । (मतला)
.........
म टक्र्याउनेछु अरू जो छ खाहिस्
उसै फेरि मोती नजाँची नजाने । (मकता र तखल्लुस)
यी सेरहरूमा सुरुका मिसराहरू मतलाका रूपमा र अन्त्यका मिसराहरूमा तखल्लुसमेत प्रयोग गरिएकाले मकता रहेको पाइन्छ ।

छ) तखल्लुस
गजलको अन्त्यमा रहेको सेरलाई मकता भनिन्छ; जहाँ गजलकारको उपनामसमेत राखिएको हुन्छ । वस्तुतः त्यही अन्तिम सेरमा रहेको अर्थात् मकतामा प्रयुक्त उपनाम नै तखल्लुस हो । जस्तै
कति चम्किलो छ हँसाइको, हिसिमा किरन् पनि दाँतको
मणि ‘मोति’ नीर जुहार न हो, अरू हार पो किन चाहियो । (मोतीराम भट्ट)
यसप्रकार गजल एउटा निश्चित संरचनामा तयार हुने साहित्यको साङ्गीतिक माधुर्य प्रधान रचना मानिन्छ । यसमा लयको एकान्विति र निश्चित नियम, प्रत्येक सेरहरूको विशिष्ट उपक्रम, काफियाको अनिवार्यता र मतला, मकता, रदिफ र तखल्लुस आदिको उपयुक्त विनियोजन रहनु आवश्यक ठानिन्छ ।

४.निष्कर्ष
गजल समसामयिक नेपाली साहित्यको लोकप्रिय विधा हो । यो विधा अरबी साहित्यबाट नेपालीमा भित्रिएको हो र यसले नेपाली साहित्यमा उत्तरोत्तर प्रभाव जमाउँदै लगेको छ । गजलको प्रारम्भिक प्रयोग प्रेमीप्रेमिकाका बीच हुने प्रणय अनुरागको सन्दर्भसँग गाँसिएको भनिए पनि यसमा सँगसँगै विरहजन्य पीडा, बादसाहको प्रशंसा, समकालीन प्रवृत्ति आदि विषयहरूसमेत गाँसिँदै आएका छन् । वर्तमान सन्दर्भमा जुनसुकै विषयवस्तुलाई पनि गजलका माध्यमबाट पस्किन सकिन्छ । यस किसिमको गजलमा निश्चित बहरहरूको प्रयोग हुने गर्दछ । सामान्यतया दुईदुई हरफका एकएक सेर तथा बिजोर सङ्ख्याका सीमित सेरहरूको समन्वित रूप नै गजलका रूपमा चिनिन्छ । यसभित्रको लयगत अनुशासन, काफिया र रदिफको सुन्दर संयोजन तथा विषयगत सूत्रात्मकता वा सङ्क्षिप्तता नै विशिष्ट पहिचान मानिन्छ ।

सन्दर्भ सूची
उदासी, टीकाराम, (२०५९), गजल सिद्धान्त र नेपाली गजलको इतिहास, काठमाडौँ ः अतिरिक्त प्रकाशन ।
परिश्रमी घनश्याम न्यौपाने (२०६६), गजल सौन्दर्य समीक्षा, काठमाडौँ ः सङ्गम बुक्स पब्लिकेसन प्रा.लि. ।
बराल, कृष्णहरि, (२०६०), गीत सिद्धान्त र इतिहास, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
..................., (२०६७), गजल सिद्धान्त र परम्परा, ललितपुर ः साझा प्रकाशन ।
रावल, ललिजन, (सम्पा.२०६५), प्रतिनिधि नेपाली गजलहरू, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
शर्मा, शरच्चन्द्र र अन्य, (सम्पा.२०६०), मोतीराम भट्ट र संसर्गी कवि, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
सनतकुमार, (२०६७), वाह ! गजल, काठमाडौँ ः कोकगोष्ठी ।
सुवेदी, राजेन्द्र, ‘गजलको सिद्धान्त शास्त्रीय परिचय’, ठाकुर शर्मा, (सम्पा.) वैजयन्ती वर्ष ७, अङ्क ४, पूर्णाङ्क ३४, २०७१, कार्तिक–मंसिर ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु