कपिल लामिछानेको लघुकथाकारिता

- शालिकराम पौड्याल

१. विषयप्रवेश
कपिल लामिछाने नेपाली साहित्यका क्षेत्रमा २०३४ सालको ‘कामना’ शीर्षक कविताबाट प्रवेश गरेका हुन् । आख्यान क्षेत्रमा २०४२ सालको मिर्मिरे पत्रिकामा ‘मोहभङ्ग’ कथा प्रकाशित गरेर प्रवेश गरेका लामिछानेको प्रथम लघुकथा ‘कुप्राहरूको देश’ अणु (२०४४) रहेको छ । २०४४ मा अणु पत्रिकामा ‘कुप्राहरूको देश’ प्रकाशित गरी लघुकथा यात्रा आरम्भ गरेका कपिल लामिछानेका हालसम्ममा तिन ओटा लघुकथा सङ्ग्रह अन्यथा (२०५४), जलमानव (२०६१) र बोन्साइ (२०६८) प्रकाशित भइसकेका छन् । उनका अन्यथामा उनन्चालिस, जलमानवमा एकाउन्न र बोन्साइमा त्रिहत्तर लघुकथाहरू सङ्कलित छन् भने सत्तरीभन्दा बढी फुटकर लघुकथाहरू प्रकाशित रहेका छन् । यिनै प्रकाशित लघुकथाका आधारमा उनको लघुकथाकारिताको अध्ययन गरिएको छ । लामिछानेका लघुकथागत प्रवृत्ति के कस्तो रहेको छ भन्ने समस्यामा केन्द्रित रहेर लघुकथाकारिताको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । लामिछानेको लघुकथाकरिताका बारेमा गरिएका अध्ययनलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । प्रस्तुत अध्ययनमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय विधिबाट गरिएको छ भने सङ्कलित सामग्रीको विश्लेषणका लागि लघुकथाको सिद्धान्तलाई सैद्धान्तिक पर्याधारका रूपमा लिइएको छ ।
२. लघुकथाको सैद्धान्तिक परिचय र नेपाली लघुकथाको परम्परा
नेपाली वाङ्मयका विविध शाखा प्रशाखामध्ये आख्यान एउटा महत्त्वपूर्ण अस्तित्व राख्ने शाखा हो । आख्यानभित्र पनि बृहत् आयाममा संरचित आख्यान, मध्यम आयाममा संरचित आख्यान र लघु वा लघुतम आयाममा संरचित आख्यानहरू पर्दछन् । त्यही आख्यान भित्र पर्ने लघुकथा नेपाली कथामा लघु आयाममा संरचित कथा हो (गौतम, २०६८:५) । अङ्ग्रेजीमा story / short story अर्थात् कथा र लघुकथा गरी कथाका दुई भेदहरू पाइन्छन् भने अङ्ग्रेजीको Short story नेपालीको लघुकथा भन्दा नेपालीमा प्रयुक्त परम्परित कथासँग नजिक देखिन्छ । Short story को नेपाली अनुवाद लघुकथा भए पनि स्वरूप, संरचना, तत्त्वमा फरक देखिन्छ । अङ्ग्रेजी साहित्यमा कथालाई Short story भनिन्छ भने लघुकथालाई short short story, micro story भनी चिनिन्छ (निखिल, २०५९:१) । आख्यान साहित्यको लघुतम विधा भनेर चिनिएको वर्तमान अवस्थामा अङ्ग्रेजीको micro story का रूपमा आएको लघुकथा कथाको छोटो रूप मानिँदैन (गौतम, २०६८:५) । व्यस्त र यान्त्रिक युगका कारणले गर्दा समय थोरै बनेको छ । यही कारण पनि साहित्यका प्रायः विधाहरू लघु बन्दै गइरहेका छन्, लघु रूपले विशेष स्थान ग्रहण गर्न सफल बनेको छ । विशाल उपन्यास, महाकाव्य लेख्ने पढ्ने काम आजको वर्तमान समयमा कमै हुन्छ । त्यसैले वर्तमान समयमा लोकप्रिय बनेको विधा लघुकथा नै हो (श्रेष्ठ, २०५६:४३) । कथाको एक भेदको रूपमा चिनिएको लघुकथामा जीवनको एक पक्ष, क्षण विशेषको चित्रण गरिएको पाइन्छ । यो थोरै सटिक हुन्छ स्वायत्त र पूर्ण पनि हुन्छ । फुलदानीमा सजिएर रहेको चम्किलो र आर्कषक एउटा फुलको थुँगा जस्तै लघुकथा देखिन्छ (ब्राजाकी, २०५३:क) । अर्को शब्दमा भन्दा लघुकथाले करेन्टको एक झड्काले पनि पाठकको अन्तर्मनमा च्वास्स पसेर गहिरो र गहन प्रभाव छाड्छ । लघुकथा आख्यान साहित्यको साधन नभएर एउटा साध्य बनेको छ । महाकाव्य तथा उपन्यासबाट प्राप्त हुने भाव, कलाभन्दा लघुकथाको पढाइबाट प्राप्त हुने भाव, कला निकै रसिलो खिरिलो लाग्दछ । तसर्थ साहित्यकार मनु ब्राजाकीले लघुकथालाई छुरीको संज्ञा दिँदै भनेका छन् : उपन्यास तरबार हो, कथा खुकुरी हो भने लघुकथा छुरी हो’ (समीर, २०५३:ख) । त्यस्तै आकार छोटो भए पनि यसमा भाव चोटिलो र रसिलो हुने हुनाले यो विधा सबैको लागि प्रिय बनेको देखिन्छ । लघुकथाको भाव चोटिलो र रसिलो हुने हुनाले पनि यो विधा सबैको लागि प्रिय बनेको पाइन्छ । नेपाली साहित्यको सबैभन्दा कान्छो विधाको रूपमा प्रख्यात लघुकथा वर्तमानको यान्त्रिक समयमा लोकप्रिय बन्दै गइरहेको छ । लघुकथा भन्ने नामबाटै आकारका साथै सारा तŒवहरू छोटो हुनुपर्छ भन्ने कुरा प्रस्टिन्छ (अश्क, २०६५:५) । सामान्य रूपमा हेर्दा पनि लघुकथा र कथामा मूलभूत भिन्नता देखिन्छ । लघुकथा कथा झैँ आख्यान विधाअन्तर्गत पर्ने एक उपविधा हो, तर त्यसको आफ्नो अलग्गै स्वरूप, संरचना रहेको छ (लामिछाने, २०६१:३) । लघुकथामा लघु भएर पनि पूर्ण हुनुपर्ने, भाव धेरै अटाउनु पर्ने, पढ्दा थोरै समय लाग्ने, पाठकको मन जित्न सक्ने हुनु पर्दछ । लघुकथा छोटो भएर पनि आफैँमा पूर्ण हुन्छ । यसर्थ आख्यान साहित्यमा लघुकथाको छुट्टै विधागत स्थान रहेको देखिन आउँछ । लघुकथा भनेको गद्य भाषामा लेखिएको न्यूनतम जीवन र जगत्सँग सम्बद्ध कुनै पनि क्षणविशेषमा घटेको विविध स्थूल वा सूक्ष्म, यथार्थ घटना वा विषयादिहरूलाई सटिक र सङ्क्षिप्त शब्द संरचनामा हृदय स्पर्शी तरिकाले योजनाबद्ध ढङ्गमा व्यक्त गरिएको आख्यानात्मक रचना हो र जसमा व्यङ्ग्यात्मकता र प्रतीकात्मकको प्रयोग गरिएको पूर्ण, कलात्मक, गम्भीर र तीव्र अभिव्यक्ति रहेको हुन्छ । यसमा सङ्क्षिप्तता, सूक्ष्म अनुभूति, गूढ संवेदना, आन्तरिक अर्थ, व्यङ्ग्यपरक भाव, चित्र तथा अन्तर्विरोधको उन्मुक्त प्रकाशन, प्रारम्भ र अन्त्यमा अप्रत्याशितता, शैलीमा कलात्मकता, प्रस्तुतिमा प्रभावपूर्ण, सम्पूर्ण शिल्पगत प्रतीकात्मकता, बिम्बगत सङ्केत, कुतूहलता, विचारमा प्रभावकारी गति र जीवनको एक कोण वा पक्षको उद्घाटन गरिएको हुन्छ (थापा, २०५६:८६) । लघुकथामा सङ्क्षिप्तता, सूक्ष्मता, वर्णनमा राजनीतिको पर्दाफास, सामाजिक बिडम्बनाको तस्बिर, प्रतीकात्मकता, पौराणिक एवम् ऐतिहासिक कथाको प्रयोग, पशु पात्रहरूको प्रयोग, नेपाली सामाजिक, आर्थिक र भौगोलिक परिवेशको प्रयोग बिम्बात्मकता, सूत्रात्मकता र विज्ञान सम्मत प्रविधिको प्रयोग गरिएको हुन्छ (श्रेष्ठ, २०५६:४३)। समग्रमा सङ्क्षिप्तता, सीमितता, व्यङ्ग्यात्मकता, प्रतीकात्मकता, अप्रत्याशितता, कौतूहलता, समसामयिकता लघुकथाका विशेषताहरू हुन् भने कथानक÷विषयवस्तु, पात्र÷चरित्रचित्रण, परिवेश, भाषाशैली, दृष्टिबिन्दु, र उद्देश्य लघुकथाका तत्त्वहरू हुन् ।
नेपाली लघुकथाको प्रारम्भिक स्वरूप हितोपदेश, पञ्चतन्त्रका छोटा छोटा कथांशहरूको नेपालीमा गरिएका अनुवाद र संस्कृत सूक्तहरूको अनुवाद परम्परामा प्राप्त गर्न सकिन्छ । लोककथात्मक शैलीका लघुतम आख्यान र तिलस्मी घटनायुक्त छोटा कथाले नेपाली लघुकथाको आधारभूमि निर्माण गरेका छन् (गौतम र अधिकारी, २०६९:२५३) । नेपाली लघुकथाको प्रारम्भमा स्पष्ट रूपमा लघुकथा भन्न सकिने रचना प्राप्त हुन नसके पनि लघुतम आकारका आख्यानको लेखन भएको देखिन्छ । तसर्थ नेपाली लघुकथाको थालनी पूर्णप्रसाद ब्राह्मणको झिल्का (२००७) लघुकथा सङ्ग्रहबाट भएको मान्न सकिन्छ । यसपछि जयनारायण गिरी, शशिकला शर्मा, विश्वम्भर प्याकुरेल, जगदीश नेपाली, अनिता तुलाधर, ध्रुव मधुकर्मी, लव गाउँले, श्याम गोपाल आशा, विनयकुमार कसजू, रमेश नेपाली, दुर्लभलाल सिंह, रत्न कोजू, जगदीश घिमिरे, मोहनराज शर्मा, हरि अधिकारी, अशेष मल्ल, भागीरथी श्रेष्ठ, नारायण तिवारी, रमेश विकल, सनत रेग्मी, वनमाली निराकार, भवानी घिमिरे, गोविन्द गिरी, कृष्ण शाह यात्री, कपिल लामिछाने, विजय चालिसे, नवराज रिजाल, किशन थापा अधीर, गोरखबहादुर सिंह, श्रीओम श्रेष्ठ, विजय सागर, साधना प्रतीक्षा, इन्दिरा प्रसाईं, सरस्वती रिजाल, सिन्धु गौतम लगायतका थुप्रै स्रष्टाहरूले लघुकथाको रचना गर्दै नेपाली लघुकथा परम्परालाई अगाडि बढाएका छन् । त्यस्तै गरी रूपरेखा, मुकुट, बान्की, प्रयोग, दर्पण, दूबो, नागबेली, लघुकथा, सौरभ, अभिभावक, ज्योतिपुञ्ज, गुञ्जन, मधुपर्क, दायित्व, प्रसून आदि पत्रिकाका लघुकथा विशेषाङ्कहरूको नेपाली लघुकथाको विकासमा विशेष योगदान रहेको छ । नेपाली लघुकथाको विकासमा स्रष्टाहरूको व्यक्तिगत प्रयासका साथै सामूहिक प्रयास पनि भएको देखिन्छ । स्रष्टाहरूको व्यक्तिगत लघुकथा सङ्ग्रहहरू तथा सामूहिक सङ्कलनका रूपमा प्रकाशित र सम्पादित लघुकथा सङ्ग्रहहरूले समेत नेपाली लघुकथाको अभिवृद्धिमा विशिष्ट योगदान दिएको देखिन्छ ।
३. कपिल लामिछानेका लघुकथागत प्रवृत्ति
कपिल लामिछाने नेपाली लघुकथा परम्परामा निरन्तर साधनारत व्यक्तित्व हुन् । कविता लेखनबाट यात्रारम्भ गरेका लामिछाने आख्यान विधामा स्थापित स्रष्टा हुन् । उनको लेखनी कथा, बालकथा, बाल उपन्यास र लघुकथामा निरन्तर सक्रिय रहेको छ । उनका लघुकथाको अध्ययन गर्दा समसामयिकता, व्यङ्ग्यात्मकता, स्वैरकाल्पनिकता, सूत्रात्मकता, सामाजिक यथार्थ, आलोचनात्मकता, अभिघात, मनोविश्लेषणात्मकता, मानवतावाद, प्रतीकात्मकता, सघन र सूक्ष्म परिवेश, विषयगत विविधता, विशिष्ट तर सहज सम्प्रेष्य भाषा जस्ता प्रवृत्तिगत विशेषता देखिन्छन् ।
३.१ समसामयिकता
कपिल लामिछानेका लघुकथाको प्रवृत्ति समसामयिक विषयको प्रयोग हो । यिनका लघुकथामा वर्तमान समाजमा देखा परेका नवीन विषयको प्रस्तुति पाइन्छ । उनले आफ्ना लघुकथामा समाजमा विद्यमान विसङ्गति, विकृति, युद्ध, सन्त्रास आदि जस्ता विषयको प्रयोग कथामा गरेको पाइन्छ । जलमानव, अन्यथा र बोन्साइ लघुकथा सङ्ग्रहभित्रका कथाहरू साथै फुटकर लघुकथामा प्रायः यस्तै समसामयिक विषयवस्तु प्रस्तुत भएका छन् । ‘कुकुर, बौलाही र माओवादी’ लघुकथामा माओवादी द्वन्द्वको समयमा वा आतङ्कको समयमा राति कुकुर खेद्न खोज्ने डी.एस.पी.हरूले आफ्नै स्वास्नीलाई समेत माओवादी सम्झने गर्दथे भन्ने वास्तविकतालाई उद्घाटन गरिएको छ । त्यस्तै अन्यथा सङ्ग्रहभित्रका कथामा पनि यो प्रवृत्ति उद्घाटन भएको छ । ‘प्रधानमन्त्रीको छनोट’ लघुकथामा नेपाली राजनीतिमा शाही शासन कालमा जसमा स्वच्छ छवि भएको प्रधानमन्त्रीको खोजी गरेको कुरा देखाइएको छ । ‘छवि’ मा मन्त्रीहरू पनि सुन्दरी र भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रसङ्ग प्रस्तुत छ । बोन्साइका ‘पाँच’, ‘कहीँ नभाको जात्रा’, ‘थोत्रो ट्रक’ जस्ता कथामा नेपाली राजनीतिका समसामयिक घटनालाई उपयोग गरिएको छ । यसप्रकार लामिछानेका अधिकांश कथामा समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भलाई देखाइएकाले उनका लघुकथा सङ्ग्रहका कथाहरूमा समसामयिकताको प्रवृत्ति प्रशस्त मात्रामा देख्न पाइन्छ ।
३.२ व्यङ्ग्यात्मकता
कपिल लामिछानेको लघुकथागत प्रवृत्ति व्यङ्ग्यात्मकता पनि हो । लामिछानेले समाजमा देखा परेका अनेक नराम्रा पक्षलाई व्यङ्ग्यका माध्यमबाट आफ्ना लघुकथाहरूमा प्रस्तुत गरेका छन् । यिनले कथामा मूलतः प्रशासनिक क्षेत्र र राजनीतिक क्षेत्रमा देखिएको विकृति, विसङ्गतिलाई विषयका रूपमा ग्रहण गरेका छन् (चालिसे, २०६९:३८) । कथाकार लामिछानेले निम्न वर्गीय जनजीवनका पीडा र समाजमा हुने गरेको शोषण र अन्यायलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्दछन् । उनले लघुकथामा नेपाली समाजको तत्कालीन राजनैतिक कुप्रवृत्ति, सरकारी कार्यालयमा व्याप्त दुर्गन्धहरू तथा कर्मचारीतन्त्र भित्रको चाकडी, भ्रष्टाचार, ढिलासुस्ती, कर्मचारीहरूका विवशता, बाध्यता, विक्षिप्तता र नैतिक मूल्यका विषाक्त स्वरूपलाई व्यङ्ग्यात्मक तरिकाले अभिव्यञ्जित गरेका छन् । उनका प्रायः लघुकथामा गाउँदेखि सहरसम्म र तल्लो निकायदेखि माथिल्लो निकायसम्म हुने गरेका विकृतिहरूलाई देखाइएको छ । भ्रष्ट र नैतिक आचरण खराब भएका नेपाली समाजको चरित्रलाई उनका लघुकथाहरूमार्फत् व्यङ्ग्य प्रहार गरिएको देखिन्छ । अन्यथा लघुकथा सङ्ग्रहभित्रका ‘इस्यु’मा सत्ता पाउन आफ्नै कार्यकर्ता मारेर पनि अर्काे सङ्गठन माथि दोष थोपरेर लाभ लिने प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । ‘हाकिम सापको पङ्चुआलिटी’ मा ढिलासुस्ती गर्ने र त्यसैलाई आफ्नो बहादुरी ठान्ने हाकिम प्रवृत्तिप्रति व्यङ्ग्य छ । ‘कर्मचारी’ कथामा हातमुख जोर्न दिनभरि काम गर्दा पनि नपुगेर ओभर टाइम काम गर्नुपर्ने भएकाले घर राति फर्कने बाबुलाई आफ्नै सन्तानले नचिन्ने र आफ्नो अस्तित्व र परिचय गुमाइरहेको प्रति व्यङ्ग्य गरिएको छ । बोन्साइ अन्तर्गतका ‘संसदीय चुनाउ’मा दक्ष व्यक्तिले कुनै स्थान र महत्व नपाउने तर बुख्याँचा सरहका व्यक्तिले चुनाव जिती स्थान पाउने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ भने ‘डा.झप्पुसिंह’ मा विद्वत् वर्गका व्यक्तिहरूको फोस्रो आडम्बरप्रति व्यङ्ग्य गरिएको छ । यसरी लामिछानेले आफ्ना लघुकथा सङ्ग्रहमा सङ्ग्रृहीत कथाहरूमा व्यङ्ग्यको माध्यमबाट समाजमा विभिन्न क्षेत्रमा व्याप्त विकृति, विसङ्गतिलाई प्रस्तुत गरेका छन् ।
३.३ स्वैरकल्पनाको प्रयोग
लामिछानेले लघुकथामा स्वैरकल्पनाको प्रयोग गर्ने उद्देश्य नराखे पनि विषयवस्तुलाई प्रतीकात्मक पाराले प्रस्तुत गरेका छन् र स्वाभाविक रूपमा विषय प्रस्तुतिको माध्यम बनेर उनका लघुकथामा स्वैरकल्पना आएको पाइन्छ । अन्यथा लघुकथा सङ्ग्रहभित्रको ‘विषाक्त’ कथामा सर्पभन्दा मान्छे विषाक्त बन्दै गएको वर्तमान यथार्थलाई सर्पका माध्यमबाट प्रस्तुत गरिएको छ । जलमानव लघुकथा सङ्ग्रहभित्रको कथा ‘स्वतन्त्र धरती’मा एउटा जन्मँदै गरेको शिशु बोलेको र उसले आफू स्वतन्त्र पवित्र धर्तीमा जन्मिन चाहेको तर त्यो नपाएकाले आमाकै गर्भभित्र फर्कन चाहेको देखाएर लामिछानेले वर्तमान जीवनको विसङ्गतिलाई उजागर गरेका छन् (चालिसे, २०६९:३९) । बोन्साइअन्तर्गतको ‘ढुङ्गो’ लघुकथामा ढुङ्गाले राक्षसको रूप धारण गरी विध्वंश र हिंसा गरेको कुरालाई देखाइएको छ । यसै गरी उनका ‘स्यालको सिकार’, ‘सानो बुढो’ लगायत थुप्रै लघुकथामा स्वैरकल्पनाको प्रयोग गरिएको छ । यसरी लामिछानेका लघुकथामा अप्रत्यक्ष रूपमा विषय प्रस्तुत गर्ने क्रममा स्वैरकल्पना प्रयोग भएको देखिन्छ ।
३.४ सूत्रात्मकताको प्रयोग
लघुकथाको मुख्य विशेषता मानिने सूत्रात्मकता लामिछानेको लघुकथागत प्रवृत्ति हो । लघुकथाको कुनै सीमा हुँदैन । बेग्लै रूपविन्यासका सूत्रकथालाई पनि मसिना कथाका हैसियतले एकै छातामुनि ओत दिएको छु (लामिछाने, २०५४:क) भन्ने लामिछानेका लघुकथामा सूत्रकथाको मिश्रण देखिन्छ । उनका कथाहरू साना, छोटा र सूत्रात्मक रहेका छन् । आफैँमा पूर्ण र सङ्क्षिप्त विधा मानिने लघुकथाको विशेषता थोरैमा धेरै भन्नु हो र लामिछाने यसमा सफल देखिएका छन् । सूत्रात्मकताको उत्कृष्ट नमुनाका रूपमा ‘चुनाउ’ लघुकथालाई लिन सकिन्छ । यस कथाभित्र भिन्न भिन्न उपकथा रहेका छन् । पूर्वानुमानमा नेपाली गाउँभित्र सबैलाई नमस्ते भनेर हिँडेकाले जनताले चुनाव आउन आउन लागेको अनुमान गर्नु, अनुमानमा नेताजीले आम सभामा पीडितलाई राहत दिनेछ, साथै देश विकास हुनेछ भनेपछि जनताले केही नहुने सोची प्रजातन्त्रलाई खाली चुनाव जित्ने हतियारमात्र बनाइने अनुमान गर्नु, मतदानमा नेताजीलाई जनताले भोट दिने सल्लाह नभए पनि गैरमतदाताले मात्रै छुरी र बियरका बोतल देखाएर भोट खसाउनु, परिवर्तनमा चुनावपछि कर्मचारीलाई सरुवा, बढुवा, चिरफार गर्ने क्रममा जुन अधिकारीले उनलाई जिताउन फर्जी मत तयार बनाएका थिए, तिनै प्र.जि.अ. को सरुवा प्रथम सूचीमा राखिनु आदि घटना प्रस्तुत भएका छन् । यसरी ‘चुनाव’ मुख्य शीर्षक रहे पनि यस भित्र पुर्वानुमान, अनुमान, मतदान, परिवर्तन, गुनको बदला, जनताको धन, ठहर गरी सात वटा उपशीर्षकमा कथावस्तु प्रस्तुत भएको छ । ‘कुप्राहरूको देश’, ‘हेडेक’, ‘विषाक्त’, ‘स्यालको सिकार’, ‘सानो बुढो’ आदि कथामा पनि यो प्रवृत्ति देखिन्छ । ‘सानो बुढो’ लघुकथामा दुई वाक्य र पाँच शब्द रहेका छन् । यसलाई सूत्रात्मक शैलकिो उत्कृष्ट नमुना मान्न सकिन्छ ।
३.५ सामाजिक यथार्थ
कपिल लामिछानेका लघुकथाहरूमा सामाजिक यथार्थको चित्रण पाइन्छ । उनले समाजमा देखिएका आर्थिक, राजनीतिक, प्रशासनिक, शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिलाई यथार्थ रूपमा प्रस्तुत गरेका छन् र त्यसको आलोचना पनि गरेका छन् । लामिछानेले आफ्ना लघुकथाहरूमार्फत् देशको राजनीति, कुटनीति, भ्रष्टाचार, दमन, शोषण जस्ता समाजमा हुने गरेका यथार्थ घटनालाई आफ्ना लघुकथामा उजागर गरेका छन् । उनले जीवनजगत्मा घटेका चर्चित घटनालाई मात्र होइन कि हाम्रो जीवनमा घटिरहने, त्यति महत्त्व नदिइने तर पनि जीवनमा प्रभाव पार्ने प्रभावकारी घटना विशेषलाई कथामा ल्याएका छन् (चालिसे, २०६९:४०) । लघुकथाको विधागत धर्मलाई आत्मसात् गरी लघु आख्यानकारका यथार्थवादी रीति क्षेत्रमा केन्द्रित भई लघुकथाकारिताको परिचय दिन लामिछाने सफल देखिन्छन् (पोखरेल, २०६६:१६) । लामिछानेले खास गरी नेपालको राजनीति, प्रशासनिक क्षेत्र, शैक्षिक तथा आर्थिक क्षेत्रमा देखा परेका यथार्थ घटनालाई आफ्ना लघुकथामा जीवन्त रूपमा चित्रण गरेका छन् । उनका लघुकथामा गास, बास र कपासका लागि मान्छेले पाएका दुःख, भोग्नुपरेका पीडा, विवशता र सङ्घर्ष रहेको पाइन्छ । रोग, भोक र शोकले ग्रसित मान्छेका समस्याहरूको उद्घाटन उनका लघुकथामा यथार्थपरक ढङ्गबाट गरिएको छ (तिवारी, २०७०:१००) । नेपाली समाजमा देखापर्ने शोषकीय व्यवहारलाई उनका कथामा देखाइएको छ । उच्च पदका व्यक्तिले गरिब, अशिक्षित, निमुखा जनतामाथि गरेको शोषण, अत्याचार, थिचोमिचो तथा दुव्र्यव्यवहार आदि पक्षलाई विभिन्न मानवीय तथा मानवेतर पात्रका माध्यमबाट प्रस्तुत गर्न कथाकार सफल देखिन्छन् । पूँजीपति वर्गहरूले सोझा, अशिक्षित र आर्थिक अवस्थाले कमजोर भएका जनताहरूको पीरमर्कालाई बेवास्ता गरी आफ्नो स्वार्थ पूर्तिका लागि कुनै पनि कार्य गर्न बाँकी नराखेको पाइन्छ । यी पक्षहरूलाई लामिछानेले कुनै न कुनै माध्यम अपनाई आफ्ना कथामा समावेश गरेका छन् । त्यसमध्ये पनि ‘माग्ने’ कथामा गरिबको गरिबीको पीडालाई मूर्त रूप दिएको छ । ‘टिकट’ कथाले चुनावको टिकट बाँडफाँडमा के कस्तो चाकडी प्रथा चल्छ भन्ने कुरालाई औँल्याएको छ । त्यस्तै ‘भेदनीति’ कथामा कथाकार लामिछानेले विवश व्यक्तिको आर्थिक शोषणका रूपमा कुकुर मार्ने अभियानको जागिरलाई सङ्केत गरेर व्यक्ति आफ्नो पेटका लागि कसरी मनले नस्वीकार्ने काम समेत गर्न बाध्य हुन्छ भन्ने कुरा प्रस्तुत गरेका छन् । पूँजीपति वर्गले निम्न वर्गलाई, उच्च पदकाले निम्न पदका व्यक्तिलाई शोषण गर्ने प्रवृत्ति उनका अन्यथा लघुकथा सङ्ग्रहका ‘सभ्यता’, ‘जिउँदो दुश्मन’, ‘नेता’ कथामा देखाइएको छ । जलमानव लघुकथा सङ्ग्रहभित्रका कथाहरूमा ‘छवि’, ‘गोलो गोलो वस्तु’ आदि कथामा पनि सामाजिक यथार्थ देखिन्छ । बोन्साइ अन्तर्गतका ‘विक्रय वस्तु’, ‘लैङ्गिक समानता’, ‘गाँठी कुरा’ आदि कथामा सामाजिक यथार्थको चित्रण गरिएको छ ।
३.६ आलोचनात्मक यथार्थ
कपिल लामिछानेका लघुकथामा समाजमा देखिएका विकृति र विसङ्गतिलाई कोट्याउँदै त्यसप्रति आलोचना गरेको पाइन्छ । पैसा र शक्तिमा मानवीय मूल्य र मान्यता साटिएका छन्, नीति र नियमको पालना भएको छैन, समाजमा ठुला, भलाद्मी र उच्च पदमा बस्ने व्यक्तिबाट तल्ला वर्गका गरिब निमुखा जनतालाई शोषण गरिएको छ भन्ने कुरालाई कथाकारले कल्पनाका माध्यमबाट व्यञ्जनात्मक रूपले प्रस्तुत गरेका छन् (चालिसे, २०६९:४१) । लामिछानेका प्रायः सबै कथाहरूमा धेरथोर मात्रामा आलोचनात्मक प्रवृत्ति प्रकट भएको छ । उनले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, अनैतिकता, शोषण, पीडा, उत्पीडन आदिका नजानिने पारामा आलोचना प्रस्तुत गरेको देखिन्छ । लामिछाने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, प्रशासनिक, शैक्षिक, पारिवारिक, वैयक्तिक विषयलाई आख्यान विचरणको रुचि क्षेत्र छनोट गरी प्रगतिशील चिन्तनको वैचारिक आवरणमा आलोचनात्मक यथार्थवादी व्यङ्ग्यप्रधान लघुकथाका रचनाकार हुन् (पोखरेल, २०६९:७२) । आलोचनात्मक यथार्थलाई आत्मसात् गरी २०४६ सालपछि देखिएको कुटिल राजनीति, भ्रष्ट प्रशासन, मानवीय स्वार्थी चरित्र, आर्थिक सङ्कट तथा अन्य युगीन विकृति र विसङ्गतिलाई चित्रण गर्ने काम लामिछानेले गरेका छन् । अन्यथा लघुकथा सङ्ग्रहभित्र रहेको कथा ‘विषाक्त’मा मानवेतर प्राणी सर्पलाई उपस्थिति गराई समाजमा रहेका मानिस सर्पभन्दा बढी विषालु भनी मानिसको व्यवहारप्रति आलोचना गरिएको छ । त्यस्तै जलमानव लघुकथा सङ्ग्रहभित्र रहेको कथा ‘व्यवसाय ३’ मा आफूलाई ए क्लासको निर्माण कम्पनी भन्नेले निम्न गुणस्तरको कार्य गरी पहिले आफू बन्ने अनि मात्र देशको कार्य गर्ने, दुष्ट नेताको विचार प्रस्तुत गरिएको छ । ‘मौन धारण’ शीर्षकको लघुकथामा सत्तामा पुगी मोजमस्तीमा रमाउने, आफ्नो लागि सम्पत्ति जमाउने, इज्जत गुमाउने, जनताको चिच्याहट नसुने झैँ गरी मौन धारण गरी बस्ने नेताहरू दोस्रो पटकको चुनावको नतिजाले भड्खारोमा पारेपछि मात्र भल्याँस्स भएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा आलोचना गरेका छन् । यसरी लघुकथामा समकालीन वैयक्तिक र सामाजिक यथार्थलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्नु कथाकार कपिल लामिछानेको लघुकथागत प्रवृत्ति रहेको छ ।
३.७ सन्त्रास र अभिघातको अभिव्यक्ति
कपिल लामिछानेका लघुकथाका पात्रहरू प्रायः भय र सन्त्रासबाट ग्रसित मानसिकतामा बाँचेका देखिन्छन् । युद्ध र युद्धजन्य पीडाका ऊहापोह र छटपटीको वर्णन यिनले आफ्ना लघुकथामा गरेका छन् । आदर्श, अनुशासन र नीति नियमको उल्लङ्घन भएको कारण नै मानिसहरू भय मुक्त जीवन बाँच्न नसकेको यथार्थ यिनका कथाले देखाएका छन् (चालिसे, २०६९:४१) । २०५२ सालपछिको माओवादी सशस्त्र द्वन्द्वले निम्त्याएको त्रासदीपूर्ण वातावरण तथा युद्धका कारण भएको मानवीय तथा भौतिक क्षतिबाट उत्पन्न पीडा, विद्रोही पक्ष र सरकार बिचको द्वन्द्वको चपेटामा पिल्सिएर बाँच्न विवश नेपालीहरूको अवस्था, मानव अधिकारको उलङ्घन र आन्दोलनकारीको ज्यादती, सङ्कटकालको घोषणा पश्चात्को त्रासदीपूर्ण अवस्था, राजनीतिक परिवर्तनका निम्ति गरिएको आन्दोलन र त्यसबाट उत्पन्न सन्त्रास आदिको प्रस्तुति कपिल लामिछानेका लघुकथामा पाइन्छ । जलमानव लघुकथा सङ्ग्रहको ‘त्रासदी’ लघुकथामा सुरक्षाकर्मीले पहाडबाट खेदिएका आफ्नै परिवारका सदस्यलाई आतङ्ककारी ठानेर गोली हानेको र जीवनलीला समाप्त गरेको कारुणिक दृश्यले गर्दा पनि कथा वास्तवमै त्रासदी देखिएको छ । त्यस्तै ‘स्थिति परिवर्तन’ लघुकथामा कोठामा बहाल खोज्न जाने एउटाले प्याच्च भन्छ– “सबै कुरा ठीक छ साहुजी, तर छेउमै प्रहरी कार्यालय रहेछ नत्र....” (जलमानव, २०६१:६०) भनेर डर सन्त्रास र भय देखाइएको छ । डर र त्रास देखिएका कथामा ‘कुकुर, बौलाही र माओवादी’मा देशको सुरक्षा निकायका विशिष्ट पदमा रहेका व्यक्ति पनि माओवादीको क्रियाकलापबाट तर्सिएको सन्दर्भ डी.एस.पी. को क्रियाकलाप मार्फत् प्रकट भएको छ । बोन्साइका ‘कहीँ नभाको जात्रा’, ‘मानव अधिकारको रक्षा’, ‘बाटो, ‘निषेध’, ‘एक साँझ रगतको होली’ आदि लघुकथामा सन्त्रास र अभिघातको प्रस्तुति पाइन्छ । यसरी लामिछानेका लघुकथाहरू अभिघात र सन्त्रासको प्रस्तुतिका दृष्टिले सशक्त देखिन्छन् ।
३.८ मनोविश्लेषणात्मकता
लामिछानेले आफ्ना लघुकथामा सामाजिक जीवनको मात्र विश्लेषण नगरी पात्रहरूको आन्तरिक मनको पनि विश्लेषण गर्ने गरेका छन् । फ्रायडीय मनोविश्लेषणलाई प्रस्तुत गर्ने लामिछाने मूलतः सामाजिक जीवन यापन गर्दा घटने घटनाका दौरानमा देखा पर्ने पात्रको मनोवृत्ति उनका कथामा चित्रित भएका छन् (चालिसे, २०६९:४२) । पात्रको मनोविश्लेषण गर्ने प्रसङ्गमा कपिल लामिछानेका लघुकथा सशक्त देखिन्छन् । उनको ‘भोटे कुकुर’ कथामा म पात्रको मनमा युवतीप्रति रहेको सोच र युवतीको हेराइ कुकुरमा भएपछि म पात्रको मनमा चलेको द्वन्द्व देखाइएको पाइन्छ । ‘अन्तिम रात’ लघुकथामा परदेश जान लागेको लोग्ने स्वास्नीको मनोविश्लेषण गरिएको छ । लोग्ने र स्वास्नी एक अर्कादेखि बिछोड हुँदा तिनीहरूको मनमा कस्ता विचार प्रकट हुन्छन् भन्ने कुरा यहाँ प्रस्तुत भएको छ । लामिछानेमा समाजका विकृति र विसङ्गतिको मात्र विषय नबनाएर मानिसका मनको पनि अध्ययन गर्ने सामथ्र्य रहेको देख्न सकिन्छ । यसैले आफ्ना कथामा पात्रहरूको मनोकाङ्क्षा तथा इच्छा र चाहनाको चित्रण तथा विश्लेषण गर्नु पनि उनको प्रवृत्ति रहेको छ ।
३.९ मानवतावाद
लमिछानेका लघुकथामा मानवीय मूल्य र मान्यता, स्वतन्त्रता, स्वाभिमान जस्ता पक्षहरूको प्रस्तुति पाइन्छ । वर्तमान युगमा मानव जाति स्वार्थी बन्दै गएर आफ्ना कर्तव्यलाई भुल्दै गएको, मानवताको रक्षा हुन नसकेको, माओवादी सशस्त्र युद्धका बेला नागरिकको जिउधनको सुरक्षा हुन नसकेको, मानव जातिका बाँच्न पाउने अधिकार हनन भएको सन्दर्भ देखाउँदै आम नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न दिनुपर्ने स्वर यिनका लघुकथामा व्यक्त भएको छ । अन्यथा भित्रको कथा ‘विषाक्त’ मा सर्पभन्दा विषालु मानिस भएको र सर्पले विष फ्याँक्न डाक्टरकोमा जानुपरेको कुरा प्रस्तुत गरी मान्छेलाई राम्रो बन्न सचेत गराइएको छ । ‘माग्ने’ कथामा माग्नेलाई नयाँ लुगाको बदला खाना चाहिन्छ भन्दै मानवताको नाताले पहिलो आवश्यकता हेरी माग्नेलाई खाने कुनै वस्तु दिनु पर्दछ भनिएको छ । जलमानव लघुकथा सङ्ग्रहको लघुकथा ‘हर्के र बन्दुक’मा निर्दाेष हर्केको हत्या देखाई मानवमाथि दया प्रकट गरिएको छ । उनका लघुकथामा सत्य र मानवता नै ईश्वर हो भन्ने मानवतावादी स्वर कतै न कतै प्रस्तुत भएकै पाइन्छ । मानव भएर बाँच्न सिक, मानवले मानवको हत्या नगर भन्दै लामिछानेले आफ्ना लघुकथाका माध्यमबाट मानवतावादी विचार प्रस्तुत गरेका छन् ।
३.१० प्रतीकात्मकता
प्रतीकको प्रयोगले लघुकथालाई तीव्र गति र प्रभावकारी बनाउँछ । प्रतीकात्मकता लघुकथाको एउटा विशेषता पनि हो । समाज सुधार गर्ने ध्येयले पशुपंक्षी, निर्जीव, मानवेतर प्राणीलाई पात्रको रूपमा चित्रण गरी तिनीहरूको क्रियाकलापको वर्णन गरेर कथाकार लामिछानेले आफ्ना लघुकथाहरूलाई रोचक बनाइ प्रस्तुत गरेका छन् । जुनसुकै क्षेत्रमा देखिएका विकृति, विसङ्गतिप्रति मानवीय पात्रको उपस्थित नगराएर अमानवीय पात्रद्वारा त्यसलाई अघि बढाइएको पाइन्छ । सोझै प्रहार गर्न नमिल्ने स्थानमा व्यङ्ग्यात्मक बिम्ब र प्रतीकको प्रयोग गर्न उनी सफल रहेका छन् (चालिसे, २०६९:४३) । लामिछानेले आफ्ना लघुकथामा प्रतीकको प्रयोग गरेर व्यञ्जनात्मक अर्थ व्यक्त गरेको पाइन्छ । स्थानीय परिवेशका व्यक्ति तथा वस्तु विशेषलाई प्रतीक बनाएर बिम्बात्मक प्रस्तुति सहित सामाजिक, राजनीतिक, आर्थिक, वैयक्तिक विकृति र विसङ्गतिलाई रोचक ढङ्गमा प्रस्तुत गर्ने काम उनका लघुकथामा गरिएको छ । मानवेतर पात्रको उपस्थिति गराएर विकृतिप्रति प्रहार गर्ने लामिछानेको प्रतीकात्मकता एउटा पहिचान बन्न पुगेको छ । ‘राज्यसत्ता’ लघुकथामा बाँदर र गधा जस्ताहरू राज्यसत्तामा रहेकाले त्यस देशमा मान्छे प्रजाको रूपमा रहनु भन्दा बरु देश निकाला हुनु श्रेयष्कर हुने कुरा प्रस्तुत गरिएको छ । ‘जलमानव’ लघुकथामा नेपाललाई जलमग्न बनाई भारतले नेपालमाथि अत्याचार गरेको यथार्थलाई प्रतीकात्मक शैली अपनाई प्रस्तुत गरिएको छ । उनका ‘थोत्रो ट्रक’, ‘बुढो रुख’, ‘ढुङ्गो’, ‘गिद्ध’, ‘किलो’, ‘काफल’ जस्ता प्रतीकात्मक लघुकथाहरू रहेका छन् ।
३.११ सहज, संवादात्मक र सूत्रात्मक भाषाशैली
लामिछानेमा शैक्षिक, प्रशासनिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रयोग हुने भाषाको राम्रो ज्ञान भएकाले आफ्ना लघुकथामा सोही अनुसार भाषा प्रयोग गरेको पाइन्छ । लघुकथामा सूत्रात्मक भाषा हुनैपर्ने र सोही कुराको पालना कथाकारले गरेका पनि छन् । बिन्दुमा सिन्धु समेट्ने गरी ससाना शब्द प्रतीकबाट भाव गाम्भीर्य र विषयगत व्यापकतालाई समेट्नु कथाकारको आफ्नै खुबी रहेको छ । उनका छोटो आयामका लघुकथाहरू छोटो आयामका भए पनि कुनै कुनै कथामा संवादका माध्यमबाट सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा देखिने विकृतिलाई चित्रण गर्ने काम गरेका छन् । लेखकले आफ्नो संलग्नता नदेखाएर कथाभित्रकै पात्रहरूका बिच हुने संवादको माध्यमबाट व्यक्त गर्दा रोचक बढी हुने र लघुकथात्मक स्वाद पाठकलाई मिल्ने हुनाले आफ्ना लघुकथामा दुई वा दुईभन्दा बढी पात्रको उपस्थिति गराई संवादको प्रयोग गरेका छन् (चालिसे, २०६९:४४) । उन लघुकथाका संवादमा मानव मानव बिच मात्रै नभएर मानवेतर प्राणी अथवा वस्तु वस्तु बिच, सजीव र निर्जीव बिच पनि रहेको पाइन्छ । लामिछानेका प्रायः सबै कथाहरू वर्णनात्मक शैली अपनाई लेखिएको देखिन्छ । लघुकथा थोरैमा धेरै भाव अटाउने हुनुपर्छ । लघुकथामा कथावस्तुको विस्तार तथा विचारको प्रस्तुति समेत भाषाका माध्यमबाट गरिन्छ । उनका लघुकथा सङ्ग्रहका सबै कथाहरूको कथानक रैखिक ढाँचामा नै संरचित भएकाले पनि भाषाशैली सबैले बुझ्ने स्पष्ट खालको रहेको छ । यी कथाहरूमा व्यङ्ग्यात्मक र प्रतीकात्मक रूपमा शब्दहरूको प्रयोग गरी समाजमा देखा पर्ने विकृति, विसङ्गति र विडम्बनाको भण्डाफोर गरेका छन् । जुनसुकै परिवेशमा बसे पनि लघुकथाभित्रको भाषा ज्यादै सरल, सबैले बुझ्ने स्पष्ट र सहज किसिमको रहेको छ । सूक्ष्म, झिनो र सीमित कथानकका लघुकथा भए पनि यसमा संवादात्मक, वर्णनात्मक, नाटकीय साथै फिल्मी शैलीको समेत प्रयोग गरिएको पाइन्छ । आधुनिक समयका युवावर्गका बोलीचालीमा पश्चिमी संस्कारको छाप परेको कारण सोही अनुरूप अङ्गे्रजी भाषाको ठाउँ ठाउँमा प्रयोग गरिएको देखिन्छ । यस्तो संस्कारलाई कथाकारले आफ्नो लघुकथा ‘सभ्यता’मा यसरी प्रस्तुत गरेका छन् :–
सुन (कानमा) मैले कफीमा स्लिपिङ्ग ट्याब्लेट हालेर दिइसकेँ । अब त्यो गएर रामेको कोठामा सुत्छ । भेरी गुड आइडिया डेडी, यु आर राइट, (अन्यथा, पृ.२३) ।
त्यस्तै : हजुरलाई नचाहिने भए– मेरो काम नहुने भए यी तस्वीरहरू म घरमा म्याडमलाई दिउँ कि ? – नाइँ नाइँ कहीँ दिनु पर्दैन । तपाईंको काम भइहाल्छ त्यति सानो कामका लागि... हेमा त्यो फाइल देऊ त... (जलमानव, पृ.२९) ।
कपिल लामिछानले आफ्ना लघुकथाहरूमा विषयवस्तु, पात्रको स्तर र परिवेश अनुसारको भाषाशैलीको प्रयोग गरेका छन् । त्यसमा पनि अभिधा, लक्षणा र व्यञ्जना जस्ता सबै गुणले युक्त भाषाको प्रयोग गरिएको छ । लघुकथाको विषयवस्तु, पात्रको बौद्धिक स्तर र परिवेशअनुसार कथामा संस्कृत, झर्रा नेपाली शब्द र अङ्ग्रेजी शब्दहरूको समय अनुकूल उचित प्रयोग गरिएको पाइन्छ । व्यक्तिका अनौठा स्वभाव, व्यवहार र असङ्गतिका साथै घटनाक्रमलाई तत्कालै सरल, सहज र स्पष्ट भाषाशैलीको प्रयोग गरी त्यसलाई छोटो मिठो प्रकारले कथामा प्रस्तुत गरेका छन् ।
३.१२ विविध विषयवस्तु
कपिल लामिछानेका लघुकथामा विषयगत विविधता पाइन्छ । राजनीतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, वैयक्तिक तथा आर्थिक क्षेत्रमा देखा परेका कुराहरू नै लामिछानेका लघुकथाका विषयवस्तु बनेका छन् । अन्यथा (२०५४) लघुकथा सङ्ग्रहमा सङ्कलित गरेका लघुकथाहरूमा उनले जीवन जगत्मा घटेका चर्चित घटनाक्रमलाई मात्र समावेश गरेका छैनन्, त्यस भित्र यिनले हामीले महत्त्व नदिएका तर हाम्रो जीवनमा घटिरहने घटना विशेषलाई महत्त्व दिएका छन् । यस सङ्ग्रहभित्रका लघुकथाहरूमा पचासको दशकको आरम्भका दिनहरूमा नेपाली समाजको राजनैतिक, सामाजिक, सांस्कृतिक अवस्था, घटना, परिघटनाले मुख्य विषयको रूपमा स्थान पाएका छन् । अन्यथा सङ्ग्रहमा सङ्कलित लघुकथाहरूलाई विषयवस्तुका आधारमा सामाजिक, राजनैतिक, पौराणिक, मनोवैज्ञानिक रहेका छन् । जलमानव लघुकथा सङ्ग्रहभित्र समसामयिक विषय क्षेत्रसँग सम्बन्धित एकाउन्न ओटा लघुकथाहरू सङ्गृहीत छन् । २०५० को दशकमा नेपाली समाजमा देखिएका राजनीतिक असहिष्णुता, प्रशासनिक अनियमितता, भ्रष्टाचार, चाकडीपन, अराजकता, सामाजिक, सांस्कृतिक, वैयक्तिक तथा आर्थिक क्षेत्रमा विद्यमान भय, त्रास, र विध्वंशपूर्ण विषयलाई कथानक वा विषयवस्तु बनाई व्यङ्ग्यात्मक शैली अपनाई लेखिएका लघुकथाहरू यस जलमानव लघुकथा सङ्ग्रहभित्र सङ्गृहीत छन् । अर्कोतिर जनयुद्धको नाममा २०५२ सालदेखि सुरु भएको माओवादीका आतङ्ककारी व्यवहारले मानव समाजमा ल्याएको अराजकता र त्रासदीलाई पनि मुख्य विषय बनाई लघुकथाहरू लेखिएका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक तथा राजनीति क्षेत्रमा हुने रूढि, अन्धविश्वास, आधुनिक समयमा शैक्षिक क्षेत्रमा देखिएको विकृति, मनपरी गर्ने प्रवृत्ति, शैक्षिक शोषण, आर्थिक शोषण, अन्याय, अत्याचार जस्ता कुकृत्य आदिलाई पनि विषयवस्तु बनाई लघुकथाहरू लेखिएका छन् (चालिसे, २०६९:६६) । यस सङ्ग्रहका लघुकथाहरू प्रजातन्त्रको प्राप्ति पश्चात् देशमा उत्पन्न समस्या, भ्रष्टाचार सत्ताको दुरुपयोग, माओवादीका नाममा भएका उदण्डता र विध्वंशता, बोर्डिङ स्कुलमा सिर्जित विकृति, विसङ्गति, राज्य तथा माओवादी दुबै पक्षबाट सर्वसाधारण माथि गरिएको ज्यादती अल्प ज्ञानको अभावमा पाइने दुःख, दरबार हत्याकाण्ड तथा समकालीन पारिवारिक सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा व्याप्त विकृति, विसङ्गति, कर्तव्यविमूढतालाई मुख्य विषयवस्तु बनाई लघुकथा रचना गरिएका छन् । जलमानव भित्रका कथाहरूमा राजनीति, प्रशासन, शिक्षा, समाज, परिवार आर्थिक जग्तसँग सम्बन्धित विषयले स्थान पाएका छन् । पचासको दशकको अन्त्य कालमा नेपाली समाज एवं राष्ट्रका निमित्त अत्यन्त कष्टकर भएको थियो । त्यही बेलामा देखापरेका राजनीतिक, प्रशासनिक क्षेत्रका, विकृति, विसङ्गतिका साथै सशस्त्र द्वन्द र त्यसको मारमा परेका जनताको कष्टकर जीवन यस सङ्ग्रहका कथाहरूले आफ्नो विषयवस्तु बनाएका छन् । बोन्साइमा मनोवैज्ञानिकता, लैङ्गिक विभेद, लेखकीय पीडा, राजनैतिक अस्थिरता र द्वन्द्व, मानव अधिकारको हनन, मौलाउँदै गएको भ्रष्टाचार, जनता नै सर्वशक्तिमान भएको, पैसालाई महत्त्व दिने परिपाटी, नैतिकताको सङ्कट, राजतन्त्र नै देशविकासको बाधक बनेको, राजनीतिले सही मार्ग पछ्याउन नसकेको, गणतन्त्र स्थापनाको चाहना, सन्त्रस्त भएर जीवनयापन गर्नुपर्ने बाध्यता, नेपाली जनताले सुखशान्ति प्राप्त गर्न नसकेको अवस्था, सामन्ती वर्गको शोषण, राजनीतिक अस्थिरताले निम्त्याएको विकृति, कर्मचारीहरूको काम चोर र ठग प्रवृत्ति, नेताहरूको ढुलमुले चरित्र, सशस्त्र द्वन्द्वले निम्त्याएको त्रसित वातावरण आदिको चित्रण जस्ता विषयहरू आएका छन् । २०५० को दशकमा नेपाली समाजमा देखिएका राजनीतिक असहिष्णुता, वैयक्तिक, आर्थिक, आतङ्कजनित भय, त्रास र विध्वंशपूर्ण विषयहरूलाई आधार बनाएर लेखिएका यी लघुकथामा एकातिर सामाजिक विकृतिप्रति व्यङ्ग्य गरेका छन् भने अर्कातिर जनयुद्धको नाममा गरिएका आतङ्ककारी व्यवहारले मानव समाजमा ल्याएको अराजकता र त्रासदीलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
३.१३ पात्र प्रयोगमा नवीनता
कपिल लामिछानेका लघुकथामा थोरै पात्रहरूको प्रयोग गरिएको देखिन्छ । लघुकथा सङ्ग्रहका प्रायः प्रयोग भएका सबै पात्रहरू, साङ्केतिक, प्रतीकात्मक र वैयक्तिक स्वभावको प्रतिनिधित्व गर्ने खालका छन् । त्यस्तै मानवीय, मानवेतर दुवै खालका पात्रहरूको प्रयोगले पनि लघुकथालाई थप सशक्त र प्रतीकात्मक बनाएका देखिन्छ । मानव समाजमा घट्ने घटनाहरू र घटना घटाउने पात्रहरूको स्वभाव र अनुभवलाई जीवन्त रूपमा चित्रण गर्न सक्ने पात्रहरूको प्रयोग यी लघुकथामा रहेको पाइन्छ (चालिसे, २०६९:७८) । कुनैकुनै लघुकथामा केही मात्रामा बढी पात्र पनि उपस्थित छन् । यस्ता पात्रहरूमा केही साङ्केतिक, प्रतीकात्मक र वैयक्तिक स्वभावको प्रतिनिधित्व गर्ने खालका पनि आएका छन् । मानव समाजमा घट्ने घटनाहरू र घटना घटाउने पात्रहरूको स्वभाव र अनुभवलाई जीवन्त रूपमा चित्रण गर्न सक्ने पात्रहरूको समुचित प्रयोग गरी लघुकथाको विषयवस्तु अनुरूप नै पात्रको चयन गरेको देखिन्छ । मानवेतर चरित्रमा स्याल, गधा, बाँदर, कुकुर जस्ता पात्रहरू रहेका छन् भने माटो, घर, घण्टा, मन्दिर आदिलाई यहाँ जड चरित्रका रूपमा पनि उभ्याइएको छ । समाजका विभिन्न वर्गका पात्रका साथै मानवीय, मानवेतर र जड चरित्रको प्रयोग तथा साङ्केतिक, प्रतीकात्मक पात्र प्रयोग लामिछानेका लघुकथामा पाइन्छ ।
३.१४ सीमित, सघन र सूक्ष्म परिवेश
लामिछानेका लघुकथाको परिवेश वर्तमानको समसामयिक बहुलवादी र विविधतापूर्ण परिवेशबाट टाढा छैन । लामिछानेले आफ्ना लघुकथामा सीमित, सघन र सूक्ष्म परिवेशलाई उपयोग गरेका छन् । सीमित परिवेशमा रहेर पनि लघुकथाहरू ज्यादै रोचक, मार्मिक, सबै पाठकको मन छुने खालका रहेका छन् । कथावस्तु सीमित भए पछि परिवेश पनि स्वतः सानो हुनु स्वाभाविकै छ । लामिछानेले जो कोही साथी भाइसँग हिँड्दा डुल्दा, बजारमा यताउता जाँदा, गाउँघर वरपर देखिने सामान्य ठाउँलार्ई पनि परिवेश बनाएको देखिन्छ । सानो, झिनो कथावस्तु र छोटो समयमा नै पढ्न सकिने हुनाले उनका लघुकथाहरूमा प्रयुक्त परिवेश सीमित रहेको देखिन्छ । लामिछानेका लघुकथाहरू आजको समसामयिक, बहुलवादी र विविधतापूर्ण परिवेशमा रही सिर्जित भएका छन् । अन्यथा र जलमानव लघुकथा सङ्ग्रहभित्रका लघुकथाको परिवेशमा प्रायः समाज र क्षेत्रको परिवेश आएका छन् । लघुकथाकारले नेपाल भित्रकै फरक फरक ठाउँमा बसी लघुकथा सिर्जना गरेको देखिन्छ । जलमानव लघुकथा सङ्ग्रहमा पचासको दशकको अन्त्य कालमा नेपाली समाजमा घटेका घटनाहरूलाई परिवेशमा समावेश गरिएको छ । कृत्रिम तथा प्राकृतिक क्षेत्रको पनि राम्रोसँग चित्रण गरिएको छ । अन्यथा लघुकथा सङ्ग्रहमा २०४६ पछिको कालिक परिवेश, जलमानव लघुकथा सङ्ग्रहमा २०५५ पछिको कालिक परिवेश र बोन्साइमा रहेका लघुकथामा खास गरी २०६० पछिको कालिक परिवेशलाई देखाइएको छ ।
३.१५ दृष्टिबिन्दुको प्रयोग
कपिल लामिछानेका लघुकथामा आन्तरिक र बाह्य दुवै दृष्टिबिन्दुको प्रयोग गरेका छन् । उनले प्रकृति, मानव, मानवेतर प्राणी साथमा मूर्त, अमूर्त सबै पात्रलाई समावेश गरी कथालाई अघि बढाएका छन् । कथाकारले अन्यथा लघुकथा सङ्ग्रहका प्रायः जसो लघुकथाहरूमा आन्तरिकभन्दा बाह्य दृष्टिबिन्दुको बढी प्रयोग गरिएको छ भने केही लघुकथामा आन्तरिक र बाह्य दृष्टिबिन्दुको पनि मिश्रण गरी कथानक सिर्जित गरिएको छ । यसरी हेर्दा लामिछानेका सम्पूर्ण लुघकथाहरूमा बाह्य दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । विषयवस्तु सुहाउँदो पात्रको प्रस्तुतले गर्दा पनि दृष्टिबिन्दु सबै कथाहरूमा अनुकूल रहेको छ । लामिछानेको जलमानव लघुकथा सङ्ग्रहमा दृष्टिबिन्दुको प्रयोग कथावस्तु सुहाउँदो तरिकाले गरिएको छ । यस सङ्ग्रहभित्रका लघुकथामा कथाकारले प्रथम पुरुष भन्दा तृतीय पुरुषको प्रयोग बढी छ । यसरी जलमानव लघुकथा सङ्ग्रहका लघुकथाहरूमा कथाकारले विषयवस्तु अनुुसार आन्तरिक र बाह्य दुबै दृष्टिबिन्दुको प्रयोग छ । प्रायः जसो बाह्य दृष्टिबिन्दुमा रही लघुकथा प्रस्तुत भएको छ । बोन्साइका ‘पाँच’, ‘बाटो’, ‘उहिलेका बाजेका पालामा’, ‘निषेध’, ’अघोरी’, ‘साधक’, ‘दार्शनिकको चिन्ता’, ‘रोजगारदाता’ लगायतका सत्र लघुकथामा आन्तरिक दृष्टिबिन्दुको प्रयोग गरिएको छ भने अन्य लघुकथामा बाह्य दृष्टिबिन्दुको प्रयोग गरिएको छ ।
४. निष्कर्ष
लघुकथाकार कपिल लामिछानेले आजको व्यस्त समाजका मानिसहरूलाई छोटो समयमै पढेर आख्यानात्मक स्वाद दिँदै जीवन र जगत्को मूल्यको बोध गराउन सक्ने लघुकथाहरूको रचना गरेका छन् । सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, शैक्षिक, राजनीति, वैयक्तिक, प्रशासनिक विविध क्षेत्रमा देखिने विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्नु, असङ्गतिहरूलाई विभिन्न किसिमका सूक्ष्म बिम्ब र प्रतीकहरू मार्फत् चित्रण गर्नु, युद्धको त्रास, सत्तामा पुग्ने व्यक्तिको आचरणमा देखिने परिवर्तन, प्रशासनिक क्षेत्रमा हुने चाकडीपन, राजनीतिमा देखिएका विकृतिहरू, सामाजिक र राजनैतिक जीवनमा देखिएका विकृति, विसङ्गति, अन्याय, अत्यचार, दमन र शोषणको चित्रण गर्दै त्यसप्रति व्यङ्ग्य प्रहार गर्नु, यद्धको सन्त्रासमा परे पनि त्यसबाट नआत्तिई बरु सङ्घर्ष गरेर हिँड्नु पर्ने चाहना व्यक्त गर्नु, नेपाली समाजमा देखापरेका राजनीतिक, आर्थिक, प्रशासनिक क्षत्रेका विकृति, विसङ्गतिका साथै सशस्त्र द्वन्द्व र त्यसको मारमा परेका जनताको कष्टकर जीवनको उद्घाटन गर्नु, समसामयिक घटना र परिघटना, चरित्र र यथास्थितिमा देखिएका, सङ्गत विसङ्गत पक्षहरूलाई कथात्मक स्वरूपमा अभिव्यक्त गर्नु, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक प्रवृत्तिगत आनीबानी, व्यवहार र चरित्रलाई व्यङ्ग्य गरी त्यसमा सुधारको चाहना राख्नु उनका लघुकथाको ध्येय रहेको देखिन्छ । उनका लघुकथागत प्रवृत्तिहरूमा समसामयिकता, व्यङ्ग्यत्मकता, स्वैरकल्पनाको प्रस्तति, सूत्रात्मकताको प्रस्तुति, सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी प्रवृत्ति, भय आतङ्क र सन्त्रासको चित्रण गर्ने प्रवृत्ति, पात्रको मनोविश्लेषण गर्ने प्रवृत्ति, सामन्ती मनोवृत्तिको चित्रण, मानवतावादी स्वर प्रकट हुने, प्रतीकात्मकता आदि मुख्य रहेको देखिन्छ । लामिछानेलाई समय अनुसारका लघुकथा सिर्जना गर्ने, आजको आवश्यकतालाई बुझी कथा लेखन गर्ने सशक्त कथाकारका रूपमा लिन सकिन्छ । कौतूहलपूर्ण लेखन, प्रतीकको यथेष्ट प्रयोग, बिम्बात्मक प्रस्तुति, विषयगत विविधता, प्रस्तुतिगत नवीनता, छोटो आयाम, सरल, सहज र सम्प्रेष्य भाषा, व्यङ्ग्यात्मकता, यथार्थ चित्रण, मानवीय र मानवेतर पात्रको प्रयोग, सामाजिक परिवेश, संवेदना र पीडाको स्वरको अभिव्यक्ति, सामाजिक जीवनको सघन, सरल र सटिक चित्रको प्रस्तुति, प्रतीकात्मक शैली, समाज चेतना र जागरणको सन्देश, कथावस्तु, पात्र, परिवेश, भाषाशैली, उद्देश्य र दृष्टिबिन्दुको यथोचित र कलात्मक संयोजन, सङ्क्षिप्त आयाममा जीवनका गम्भीर र मार्मिक पक्षको सघन प्रस्तुति दिने कपिल लामिछाने सामाजिक यथार्थवादी तथा प्रगतिवादी लघुकथाकारका रूपमा सुपरिचित छन् ।
सन्दर्भ सामग्री
अश्क, गोपाल (२०६५), लघुकथा प्रक्रिया र पाठ, ललितपुर : साझा प्रकाशन ।
खरेल, पुण्यप्रसाद (२०६९), ‘बोन्साइ भित्रका लघुकथा’, नागरिक दैनिकको पुर्बेली पृष्ठ, शब्द साहित्य, २७ साउन, पृ. २ ।
गौतम, लक्ष्मणप्रसाद (२०५७), सान्दर्भिक समालोचना (दो.सं.), बागबजार : भुँडीपुराण प्रकाशन ।
गौतम, लक्ष्मणप्रसाद र ज्ञानु अधिकारी (२०६९), नेपाली कथाको इतिहास, काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान ।
घिमिरे, रामप्रसाद (२०६२), कपिल लामिछानेको जीवनी व्यक्तित्व र कृतित्व, अप्रकाशित स्नातकोत्तर शोधपत्र, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
चालिसे, तारादेवी (२०६९), कपिल लामिछानेको लघुकथाकारिता, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि. वि. कीर्तिपुर ।
ढकाल, दामोदर (२०५७), ‘अन्यथा कथासङ्ग्रहमाथि सूक्ष्मदृष्टि’, दायित्व (वर्ष १४ , पूर्णाङ्क २३९), पृ.४० ।
ढकाल, भागवत (२०६६), ‘कपिल लामिछानेका लघुकथाहरूको मूल्याङ्कन’, जुही (वर्ष २९, अङ्क ३), पृ. ५६६–५७६ ।
तिवारी, सोमलाल (२०७०), बोन्साइ लघुकथा सङ्ग्रहका लघुकथाको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि. वि., भैरहवा बहुमुखी क्याम्पस ।
थापा, मोहनहिमांशु (२०३६), साहित्य परिचय, (पाँ.सं.२०६६), ललितपुर : साझा प्रकाशन ।
निखिल, निमेष (२०५९), ‘लघुकथा लेखन’ प्रसून (वर्ष २, अङ्क ५), पृ. ४ ।
पोख्रेल, ईश्वरीप्रसाद (२०५९), नेपाली लघुकथाको परम्परा, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि. वि. कीर्तिपुर ।
..., ..., (२०६०), ‘लघुकथा : आख्यान विधाको सशक्त उपविधा’, मधुपर्क, (वर्ष ३६, अङ्क ६ पूर्णाङ्क ४१३), पृ. ७–१३ ।
..., ..., (२०६६), ‘कपिल लामिछानेका लघुकथाहरू’, जुही (वर्ष २९, अङ्क ३), पृ.१३–१८ ।
..., ..., (२०६९), ‘आख्यानको मेमोरी चिप्स : बोन्साइ’, पदचिह्न, अङ्क ४, पृ.७१–७३ ।
भण्डारी, गोपालप्रसाद (२०५६), ‘नेपाली साहित्यमा लघुकथा’, समष्टि (वर्ष २०, अङ्क ४), पृ. ५३ ।
भट्ट, पुष्करराज (२०६६), ‘कपिल लामिछानेको लघुकारिता’ जुही (वर्ष २९, अङ्क ३), पृ.२३०– २३४ ।
भट्टराई, यादव (२०५४), ‘कपिल लामिछानेको जलमानव’, छलफल (साउन १७), पृ. ६ ।
राकेश, डा. रामदयाल (२०५९), ‘लघुकथा : एक लघु विवेचना’, समकालीन साहित्य, (वर्ष १२, अङ्क, पूर्णाङ्क ४६), पृ. १५–१९ ।
रोदन, श्रीओम (२०६१), ‘जलमानव’, गोरखापत्र (असोज १६), पृ. ६ ।
लामिछाने, कपिल (२०५४), अन्यथा, भैरहवा : कलासदन ।
..., ..., (२०६१),जलमानव, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.लि.।
..., ..., (२०६८), बोन्साइ, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
शर्मा, मोहनराज (२०५९), ‘नेपाली लघुकथा सिद्धान्त र विश्लेषण’, समकालीन साहित्य, वर्ष १२, अङ्क १२, पूर्णाङ्क ४६), पृ. १५–१९ ।
समीर, रवीन्द्र (२०५३), तेस्रो आँखा, काठमाडौँ : इन्द्रेणी अफसेट प्रकाशन ।
सुवेदी, राजेन्द्र (२०५३), लघुकथाको परिचय, विकास र वर्तमान परिप्रेक्ष्यमा लघुकथाको महत्त्व, अप्रकाशित कार्यपत्र, त्रि.वि. कीर्तिपुर ।
श्रेष्ठ, दयाराम (२०६६), ‘नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप’, मधुपर्क, वर्ष ३२, अङ्क ४, पूर्णाङ्क ३६२, पृ. १३–१६ ।
--००--

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु