धुलोको जैविक उत्खनन्‌

- मुनाराज शेर्मा

म तेरो सात पुस्ता पारिदिन्छु धुलो पिठो
मलाई याद छ तेरो जरा जरा
उभिएर मित्रताको सडकमा हुँकार गर्‍यो मित्रले
थियो यो हाँक सायद उसको अवचेतनबाट।
यो थाह हुन्छ धुलोबाट निर्मित हौं की हामी ?
र, झर्‍यो हाम्रो मित्रता धुलोमै
पोलिरहँन्छ जसले हामीलाई यो पवित्र माटोमा उभिँदा मात्र पनि

तिमी र म एक हुुनु अघि
सिङ्गो सिङ्गो थियौं
हाम्रो मन क्रमश धुलो भएर मात्र टाँसियो
हाम्रो मुटु स्वतह धुलो धुलो भएर मात्रै गाँसियो
हाम्रो हृदय अकस्मात धुलो धुलो भएर मात्र परिचित भयो
बर्षौं पछि पनि हामी एकनै छौं
छुट्टिनेहरू पहिले नै धुलो भए अनि आफै अलग्गिए
म चाहन्न हामी धुलो हौं र छुट्टियौं

यो कस्मिक निर्माण अघि धुलो थियो
सर्वथा अनन्त ज्योतिमा देखियो
सर्वप्रथम धुलो तैरिरहेको सून्यमा
जसरी तिमी तैरिरहेको छौ मेरो मनमा
जसरी तैरी रहेछ माछा पानीमा टेकेर सर्वत्र
जस्तो कि तैरिरहेछ धागो टेकेर धागो तानमा
जसरी विद्युतीय पत्रहरू तैरिरहेछ धुलो भएर धुलोमा
या निर्माण पछि धुलो हुँदैछ पुःन निर्माणलाई ब्रह्माण्ड
त्यै धुलोको अनन्त कालो भवाङ्ग ब्ल्याक होल हो
बोजुले जीवन बाल्न फुकिरहने सोथेँ जस्तो
हरेक हृदयभित्र कालो छिद्र छ
हृदय आफैमा ब्रहमाण्ड हो
यो धुलो नभइ जावोस्

मान्छेहरूले आफूलाई सूली र खरानीको ठाने
मान्छेहरूले आफूलाई आगो र चरूको ठाने
मान्छेहरूले आफूलाई जेलिफिसको अनन्त पुस्ता ठाने
यी सब सिर्जित धुलोबाट थियो
जब छुट्टियो आत्मा
देह टुक्रिएर धुलो भयो बिस्तारै
आत्मा अडियो धुलो धुलोमा सून्यमा कतै
टाँसिनलाई नयाँ शरीरसँग
जीउनलाई क्रमबद्ध यो पृथ्वीमा

धुलो धुलो छोएर भन्दो रैछ मान्छेको कुरा
धुलो धुलो गाँसिएर निर्माण गर्दो रैछ सृष्टि
जसरी म छुन्छु तिम्रो मन र आनन्दित हुन्छु
जसरी छुन्छ हावाले पात र मुस्कुराउँछ
जसरी विद्युतीय तरङ्ग छुन्छ एक अर्कोलाई
र प्रशारण गर्छ यो गञ्जागोल संसार
धुलो आफैमा लोभ लाग्दो चिज रहेछ

धुलो भित्रै अणु छ भने परमाणु छ भने
धुलोको तेस्रो तत्व गड पार्टिकल ईश्वरीय अणु छ भने
संसार सकिन्छ उघारेर हेर्न बाकस जस्तो भने
खोलेर सकिन्छ बुझ्न रेडियो जस्तो पार्टपूर्जाहरू संसारको
म धुलोलाई ठान्छु अस्तित्व
म मान्छु अडिएको छ जिवित आत्मा धुलोमा

चमत्कार महशुर विज्ञानको एक बमबार्डमा हुन्छ धुलो
सृस्टि प्रकृतिको सिर्जना कला र सभ्यताको हुन्छ धुलो

कालोपाटीमा उसले मलाइ लेखेको एक हरफ
धुलो धुलो भएर झर्‍यो भूईंमा
उसले मलाई चुम्बन गरेको स्पर्श
धुलो धुलो भएर बिलिन भयो हृदयमा
साम्बाले फलाकेको मुन्धुम टुक्रा टुक्रा भएर छरियो सून्यमा
बास्ना फूलबाट धुलो भएर छरियो हावामा
म फेरि त्यै एक हरफ लेखिरहेछु
म फेरि त्यै चुम्बन दोहोरयाइरहेछु
फूल आफ्नै बास्ना टिपिरहेछ
साम्बा त्यै मुन्धुम बटुलेर बकिरहेछ
म धुलोलाई प्रेम गर्छु
धुलोमा रमाउँनेहरूले टिकाएको यो संसार
भोग्न र त्याग्न
खुब रमाइलो छ ।
लाग्छ एक दिन म यो माटोमा बिलाउँनेछु
बिस्तारै तिमी छुट्टिने छौ
सम्बन्धहरू हुनेछन् धुलो
फुङ्ग उड्ने छ जीन्दगी
बिलय हुनेछ धुलोमा
सम्झनाको सिउनीमा अडि्कएको सूर्तिको धुलो जस्तो
नटक्‌टकिएर अड्केको छ तिम्रो स्मृति मृटुको कुनामा
त्यहि एक फ्वाँक धुलो रहेछ जिन्दगी
आदिम सत्य धुलो !
अन्तिम सत्य धुलो !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु