गँवार केटी

- आसना पौडेल

दिनभरीको कामको चटारोपछि साँझको घरधन्दा समेत भ्याइवरी ओमाको सुत्ने बेला हुँदा घडीले ११ बजाइसकेको थियो । सधैंभन्दा केहीवेर ढिलैगरी सुत्न गएकी ओमालाइ निंद्रा भने पटक्कै थिएन । आँखा चिम्लिएर जतिनै निदाउन खोजेपनि मनमा उठेका तर्कनाले समुद्रका छालछै किनार नाघ्न खोजेपछि उनको निंद्रा उडेको थियो । "आँ मैले चिन्ता गरेर मात्र केही हुन्न" भन्दै उनले मन बुझाँउन नखोजेकी पनि होइनन् । तर एउटी आमाको मन न हो, पटक्कै बुझ्न मानिरहेको थिएन । दर्जनौंपटक कोल्टे फेर्दापनि ओमाका आँखा लाग्न सकेनन् । "आखिर किन श्यामेको मात्र यस्तो भएको होला? कस्तै अनुहार नपरेका सुकुपा र हरितन्नमले त मज्जाकी स्वास्नी भित्र्याएका छन् । के कमी छ श्यामेमा आखिर, जस्का कारण यो उमेरसम्म त्यस्ले केटी नभेटाएको होला?" ओमाको मनमा घर गरेको यो प्रश्न उनको निन्द्राका लागि पर्खाल बनेर उभिइरह्यो ।
सँगै सुतेका श्यामका बाबा निन्द्रामा परेर घुर्न थालिसकेका थिए । तर ओमाको निदरी उनले लिएको चिन्ताले हरण गरेर मिलौं पर पुर्याएको थियो । "होस्, अब यो कुरा सोच्दै सोच्दिन" भनेर निदाउन खोज्ने ओमा र मनका तर्कनावीच युद्धविराम हुनै सकेन ।
घण्टौं यसैगरी वित्यो । एकफेर उनी झकाउन मात्र के लागेकी थिइन्, मध्यरातको सन्नाटालाइ चिर्दै करतल ध्वनी कानमा गुञ्जन थाल्यो । काँचो निन्द्राबाट झल्यास्स भएकी ओमा सिरानी उठाएर पलंगको वारमा अडेस लागिन् । आडैको टेवुलबाट करुवा लिएर दुइ घुट्को पानी घुटुक्क पारी उनी निदाउने प्रयासमै लागिन् । बाजागाजाको धुनले ओमालाइ झनै निदाउन दिएन, बरु पिडा थपिरह्यो ।
अग्लो कद, साँवलो गोरो रंगरुप, ठूलो निधारमास्तिर अगाडिपट्टी घुमुर्केको कालो कपाल, ठिकै चूच्चो नाक, कालो फ्रेम भएको थोरै पावरवाला चश्मा लगाउने श्याम हेर्दा खाइलाग्दो र हँसिलो देखिन्थ्यो । बोलिवचन मिठो र परेका वेला यो वा त्यो नभनी सानोतिनो सहयोग गर्ने वानीका कारण श्यामलाइ घरपरिवार, आफन्त र साथीभाइले औधी मन पराँउथे । स्नात्तकोत्तरसम्म पढेको उसले शोधकार्य पूरा गर्न वाँकी थियो । खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेर खरदार सो सरहको जागिर पनि वेलैदेखि खाएको थियो । काठमाडौंमा घर, पहाडमा जग्गाजमिन, एमए सम्मको पढाइ, थायी जागिर र औसत राम्रै व्यक्तित्व भएकाले श्यामलाइ केटी पाउन गारो होला भन्ने कसैले सोचेका थिएनन् । आफूमिल्दो घर, पढाइ र जातपातबाट प्रस्ताव नआएका पनि थिएनन् । तर अधिकृतमा नाम निकाल्ने र काठमाडौंमा एउटा स्थायी बासको व्यवस्था गरेर मात्रै विहे गर्ने सुरले ती प्रस्तावलाइ उसले वास्ता गरेन ।
योजनाबमोजिमनै, श्यामका बाले आफूसँग भएका शेयर वेचविखन गरी यताउता ऋणपान गरेर एउटा घर ठड्याउन भ्याइहाले । श्यामले भने न त अधिकृतमा नाम निकाल्न सक्यो, न स्नात्तकोत्तर सम्मको पढाइनै पूरा गर्यो । हुर्केबढेको जेठो छोरो भएकाले घर बनाउने क्रममा खट्नैपर्ने वाध्यता र परिवारमा थपिएको आर्थिक बोझ कम गर्न पढाइभन्दा ओभरटाइममा खट्दै केही बढी पैसा कमाउनेमा उ तल्लिन रह्यो । ऋणका कारण श्यामको बाबाको पनि विहेपट्टी खासै ध्यान गएन । ऋणमाथि ऋण थपेरै भएपनि अब श्यामको विहे गर्नपर्छ भन्ने लागेका बेला उ ३० वर्ष लागिसकेको थियो ।
विहेका साइत गुज्रदै गए । साथीभाइले पनि धमाधम दुलही भित्र्याउदै गए । ओमाले पनि एउटी राम्री बुहारी खोजिदिन चारैतिरका नातेदार र चिनाजानलाइ गुहार्न थालिन । बाबाले पनि अफिसका साथिभाइ र नातामा कोही छन् की बुझ्न थाले । जति गर्दापनि चित्तबुझ्दो कोही फेला परेन । मापदण्ड खुलारुपमा नभनेपनि हेर्दा राम्री, सजातीय र जागिरे केटीको चाहना परिवारले राखेको बुझिन्थ्यो । एकदिन नजिकका आफन्तले ल्याएको प्रस्ताव बमोजिम केटाकेटी देखभेट र मनपरापर पनि भो । तर पात्रो जुँधाउदा नाडी लागेको भेटिएपछि केटो पछि हट्यो । अर्का एकजना आफन्तको शिफारिसअनुसार भेटेकी ठीकै रंगरुपकी केटीपनि श्यामलाइ खास लागेन । पूर्वी पहाडमा घरपरिवार भएकी सुलोचना बैंकको खुल्ला प्रतिस्पर्धामा नाम निकाले पनि अन्तर्वार्तामा गुल्टेकी थिइन् । केटीपक्ष त तयारनै थियो तर ससुराली घर जान समेत सास्ती हुने भन्दै श्यामले बाबाआमालाइ कटाक्ष गर्यो - "कोही नभटेर त्यही गँवारसँग विहे गर्नु त?” मूलघर पहाडनै भएपनि श्याम राजधानी शहर काठमाडौंमै हुर्केबढेको थियो । राजधानीको सुखसुविधामा भुलिरहंदा उसलाइ दुर्गम पहाड वास्ता लाग्न छाड्यो । तर नातासम्बन्ध उतैका बढी भएकाले धेरैजसो विहेका प्रस्ताव त्यतैबाट आउने गर्दथे । ती प्रस्ताव उसलाइ अमिल्दा र नराम्रानै लागिरहे । अलिकती ठीक ठानेकासँग भने उसको कुण्डलीले मेल खाएन ।
कुरा ल्याउने पनि विस्तारै सेलाउन थाले । लगन आएपछि आफै हुन्छ भन्दै लमीहरु तर्कन थाले । श्यामले पनि अब कुण्डलीनै नहेरी विहे गर्ने सोच बनायो । कतैबाट एउटा नयाँ प्रस्ताव पनि आयो । दुवै परिवार मिल्दोजुल्दोनै भएकाले कुरा अघि बढ्यो । श्याम र पूजा राजी भएमा सबै मिल्ने देखियो । सबैथोक मिलेको र फोटोमा चट्ट देखिएकी युवतीको प्रस्ताव आएकाले श्याम पनि दंग थियो । सिधै आफूले नभेटी मामाले भेटेर शिफारिस गर्ने प्रस्ताव पूजाका तर्फबाट आयो । भेटमा मामालाइ प्रभाव पार्न श्याम सफल पनि भयो । तर पछि कुन्नी के भयो, पूजाले श्यामसँग निर्धारित मितिमा भेट्नै मानिन । अहिलेसम्म आएका सबै प्रस्ताव आफ्नो तर्फ र तर्कबाट नकार्दै आएको श्याम हतप्रभ बन्यो । मिलिसकेको लगन के कारणले टर्यो उसले लख काट्नै सकेन ।
"ए पूजालेनै पो मानिन । त्यस्ता सातवटी छान्दै हिड्ने नाकनिकेलाइ ठिक्क परो । खुब मै हुँ भन्थ्यो नी । जाबो एउटा अधिकृत त पास गर्न सकेको छैन त्यस्तासँग को आओस् । एम ए समेत पास गरेको छैन रे ।" नजिकका आफन्तले श्यामका नराम्रा पक्षमात्र लिएर कुरा काट्न थाले । राम्री अनि सकेसम्म जागिरे केटी भन्दै आएको परिवार अब ठिक्कैकी भएपनि चित्त बुझाउनेमा पुग्यो । तर विडम्वना, नयाँ प्रस्ताव आउनै छाडे । "होइन त्यो सुलोचना त राम्रीनै थिइ । गाँउपरिवेश र शहर दुवै बुझेकी, पढेलेखेकी, लोकसेवाको तयारी गर्दै गरेकी, जागिर त खाइहाल्छेनी ।"- ओमाको भनाइ श्याम र उसका बाबालाइ पनि चित्त बुझ्यो । "यत्तिको केटो भेट्दा के खाएर दिदैंनन् ती पाखेले? आखिर हामीले नगर्ने भनेर भनेका पनि छैनौनी । बेलामा जवाफ नदिएको मात्र त हो नी ।" - ओमाले कुरा दोहोर्याउन हिच्किचाएका श्यामका बाबालाइ भनिन् । "अब त्यै गँवारसँग भएनी गर्ने हो"- श्यामले पनि बाबाआमालाइ बाटो खोलिदियो । बाबाले तुरुन्तै एकजना हितैशीलाइ डाकेर कूरो राख्न पठाए । परिवारले गएर सुलोचनासँगै सोध्न सुझाँएछ । मलिन अनुहार लिएर फर्किएका ती हितैशीले सुलोचनालाइ उद्धृत गर्दै श्यामको परिवारलाइ सुनाए :- “शहरीया भैखाकाहरुलाइ गएर भन्दिनु । गवाँर केटीले त्यस्ता ठूलाबडासँग विहे गर्दिन, बरु कोही नभेटे कुमारीनै बस्छे रे!"

एडमन्टन, क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु