सहन्दैछु काका

- जिग्मी डी. भोटिया

अइय्या, दुख्यो काका!
चोट मुटुको माझमा लागेर होला
साह्रै दुख्यो
तपाईंको हान्ने बानी
मेरो सहने
तपाईंको रहर
मेरो कर
तपाईंको इच्छा
मेरो बाध्यता
तपाईं उठ्नु
म झुक्नु भएर होला
तपाईं ब्युझँदा
म निदाउँदैछु।
"हिजो मात्र हो
सानो जीवको
असाध्य माया लाग्छ-
भन्दै हुनुहुन्थ्यो-
अलाउट लगाउँदै"
हामीले थप्पडी नमारी हुँदैन।
तर काका…,
हामी छौं तल
र नै तपाईं उचाई नाप्नु हुँदैछ
हामी छौं तल
तब पो तपाईं झट्टारो हान्नु हुँदैछ
अलिक ओरबाट
रत्तिभर मात्र उक्ल्यौं भने त
टुट्ने-फुट्नेकुराहरू धेरै देख्दैछु
साँच्चै काका...,
घर त तपाईंको काँचकै देख्दैछु।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु