लघुकथाको सैद्धान्तिक परिचय

- डा.लेखप्रसाद निरौला

१. विषयप्रवेश
साहित्यमा मुख्यतया चारओटा विधाहरूको सैद्धान्तिक अध्ययनले पूर्णता पाउन थालेको छ । तिनमा कविता, नाटक, आख्यान र निबन्धजस्ता विधाहरू रहेका छन् । कविताका रूपमा फुटकर कविता, खण्डकाव्य र महाकाव्यको अध्ययन गरिन्छ । तर, तिनीहरू सैद्धान्तिक दृष्टिले आपसमा जति नजिक छन् त्यति नै तिनका बीचमा केही अन्तरहरू रहेका छन् । त्यस्तै नाटकसँगै एकाङ्कीको अध्ययन गरिए पनि दुबैका बीचमा समानता र भिन्नताका अभिलक्षणहरू पाइन्छन् । त्यसैगरी आख्यानात्मक प्रकृतिका उपन्यास र कथाहरूको पनि पृथक् पृथक् विधागत अस्तित्व रहेको छ । निबन्धचाहिँ पछिल्लो चरणमा स्थापित साहित्यको कान्छोजस्तो गद्यात्मक विधा हो । सामान्यतया यी कुनै पनि विधाभित्र वा उपविधाका रूपमा लघुकथाको चर्चा गरिँदैन ।
लघुकथा आख्यानात्मक प्रकृतिको हुने भएकाले यसको सम्बन्ध उपन्यास र कथासँगै धेरै हदसम्म गाँसिएको छ । त्यसमा पनि कथा शब्दका अगाडि लघु शब्दको प्रयोग भएबाट यसको निकटतम सम्बन्ध कथा विधासँग रहेको सङ्केत हुन्छ । त्यसैले पनि यसमा कथा विधामा जस्तै अनेक संरचक घटकहरू रहेका हुन्छन् । तर, लघुकथा स्वयंमा कथा विधाको अन्तरभेदचाहिँ नभएकाले यसलाई कथाकै प्रकृतिजस्तो भए पनि स्वतन्त्र आख्यानात्मक प्रविधाका रूपमा लिने गरिन्छ ।

२. लघुकथाको परिचय
लघुकथाको शाब्दिक अर्थ छोटो वा सानो कथा भन्ने हो । यसमा तत्सम स्रोतका लघु र कथाजस्ता दुई पदको मेल भएको छ । शाब्दिक अर्थका दृष्टिले सानो कथा नै लघुकथा भनिए पनि वास्तविक रूपमा यसको अभिप्राय केही विशिष्ट प्रकृतिको रहेको छ । कथाका दीर्घतर, दीर्घ र लघुजस्ता भेदहरू हुने गर्दछन् । यहाँ लघुकथाको तात्पर्य ती कथागत भेदका रूपमा नभई स्वतन्त्र विधागत पहिचानसँग गाँसिएको छ । त्यसैले लघुकथाको अङ्ग्रेजी रूपान्तरण सर्ट स्टोरी नभई मिनी सर्ट स्टोरी वा माइक्रो स्टोरी हुने गर्दछ । अथवा, अङ्ग्रेजीमा लघुकथाको अभिप्रायसँग गाँसेर सर्ट सर्ट स्टोरी वा लिटिल सर्ट स्टोरी आदि नामहरू पनि प्रयोग हुने गरेका छन् ।
पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि नै लघुकथाका अनेक प्रयोगहरू हुँदै आएका छन् । संस्कृतको प्राचीनतम ग्रन्थ ऋग्वेदका सूक्तहरूदेखि अथर्ववेदका मन्त्र हुँदै उपनिषद्–ब्राह्मण ग्रन्थहरूसम्ममा समेत कथात्मक संरचनाको स्वरूप विकसित हुन थालेको पाइन्छ । त्यस्तै जातक कथा, पञ्चतन्त्र, हितोपदेश, बेताल पञ्चविंशतिका, सुकसप्तति आदि ग्रन्थहरूमा पनि कथात्मक संरचनाको विकास भएको पाइन्छ । यस्ता कथाबीज वा कथात्मक स्वरूपहरूलाई संस्कृतमा अद्भुत कथा, लोककथा र कल्पित कथाजस्ता अनेक भेदहरूअन्तर्गत पनि चर्चा गरिएको पाइन्छ । खासगरी वैदिक साहित्यका आख्यानमूलक सूक्तहरू, नीतिपरक एवम् औपदेशिक प्रकृतिका पौराणिक आख्यानचूर्णकहरू वा पञ्चतन्त्र, हितोपदेशलगायत अनेक ग्रन्थहरू लघुकथाकै सन्दर्भमा देखा पर्दछन् । यसरी पूर्वीयमा लघुकथात्मक प्रकृतिका अनेक स्रोतहरू विद्यमान रहे पनि लघुकथाको सैद्धान्तिक परिचर्चाचाहिँ प्रारम्भ भएको पाइँदैन ।
लघुकथाको सैद्धान्तिक परिचर्चा पाश्चात्य जगत्बाटै भएको हो । सन् १९५० को दशकदेखि पाश्चात्य जगत्का अनेक विद्वान्हरूबाटै लघुकथासम्बन्धी अभिमतहरू प्रकट भएको मानिन्छ । त्यस्तै इसपका नीतिकथा र बाइबलका आख्यानात्मक सूक्तहरूलाई पनि त्यहाँ लघुकथाकै रूपमा विश्लेषण गरिएको पाइन्छ । जे होस्, प्रारम्भदेखि वर्तमानसम्म आइपुग्दा लघुकथाको एउटा विधागत पहिचानसम्बन्धी मापदण्ड तयार हुन थालेको अवस्था छ र यसबारे विभिन्न विद्वान्हरूले आआफ्ना अभिमतहरू पनि राख्दै आएका छन् । त्यस्ता केही परिचायत्मक किसिमका उल्लेखनीय कथनहरू यसप्रकार छन् ः
ड्ड आख्यानको लघुतम प्रभेद नै लघुकथा हो । –एडगर एलेन पो
ड्ड एक पृष्ठको आयाममा विस्तारित, दुई सय पचास शब्दभित्रको छोटो आख्यान नै लघुकथा हो । –रोनाल्ड वालेस
ड्ड चातुर्यपूर्ण तरिकाले समापन गरिएको छोटो कथा नै लघुकथा हो र यो अति छोटो आख्यान हो । –एच. ई. फ्रान्सिस
ड्ड लघुकथा एक स्वतः पूर्ण रचना हो, जसमा एक तथ्य वा प्रभावलाई अग्रसर गर्ने व्यक्तिकेन्द्रित घटना वा घटनाहरूको आवश्यक उत्थान, पतन र मोडका साथै पात्रहरूको चरित्रमाथि प्रकाश पार्ने किसिमबाट वर्णन गरिएको होस् । –गुलाब राय
ड्ड कम्तीमा दुईओटा यथार्थ वा कल्पित स्वतन्त्र घटना अथवा स्थितिले कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यानलाई लघुकथा भनिन्छ । –मोहनराज शर्मा
ड्ड क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने भित्री अणुसामथ्र्य भएको छोटो कथा नै लघुकथा हो । –दयाराम श्रेष्ठ
ड्ड यो आफैमा स्वतन्त्र हो र निरपेक्ष हो, पूर्ण र अस्तित्वबोधक हो, त्यसैले यो (लघुकथा) एउटा विधा हो, कथाको प्रविधा हो । –राजेन्द्र सुवेदी
ड्ड सूत्रात्मक, छोटोछरितो, साङ्केतिक, बिम्बात्मक, स्वतन्त्र, उत्तरोत्तर पछिल्ला वाक्यमा तीव्रता भएको स्वयंमा पूर्ण, सघन र दुई सय पचास शब्दसम्मको आयाममा विस्तारित तथा आख्यानको लघुतम प्रभेद वा रूपलाई लघुकथा भनिन्छ । –लक्ष्मणप्रसाद गौतम
उल्लिखित प्रकृतिका विभिन्न विद्वान् समालोचकका अभिव्यक्तिहरूबाट निश्चय पनि लघुकथासम्बन्धी एउटा अवधारणा तयार हुन्छ । यिनमा प्रायः सबैजसोले कथात्मकतासहितको लघुतम संरचनाका पक्षमा सङ्केत गरेका छन् । वास्तवमा जसरी आख्यानात्मक विधाका रूपमा चिनिने कथामा कथातन्तुको प्रभावकारी संयोजन हुन्छ त्यसरी नै तर सूत्रात्मकताका साथ द्रुत गतिमा संयोजन गरिँदा लघुकथा तयार हुन्छ नै । अतः लघुकथालाई सङ्क्षिप्त एवम् सूत्रात्मक रूपमा प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छरितो प्रकृतिको आख्यानात्मक प्रविधाअन्तर्गत परिभाषित गर्न सकिन्छ ।

३. लघुकथाका तत्त्व
साहित्यिक विधाअन्तर्गत अनेक उपविधाहरू रहेका हुन्छन् । ती प्रत्येक विधा वा उपविधाभित्र आपसमा केही अभिलक्षणहरू समान किसिमका रहन सक्छन् । उदाहरणका लागि महाकाव्य, खण्डकाव्य र कविताहरू आपसमा कतिपय अभिलक्षणका दृष्टिले समान हुन्छन् तापनि गजल र गीतलाई कविताका सापेक्षतामा निकै नजिकको विधा मान्ने गरिन्छ । त्यस्तै आख्यानात्मक विधाका रूपमा रहेका उपन्यास र कथाहरू पनि विधागत अभिलक्षणका दृष्टिले केही मात्रामा आपसमा समान नै हुने गर्दछन् तापनि लघुकथाको निकटतम सम्बन्ध कथाविधासँगै रहेको पाइन्छ । जसरी कथा विधाका लागि कथानक, चरित्र, उद्देश्य, परिवेश र भाषाशैली आदि तत्त्वहरू अनिवार्य घटकजस्तै बनेर रहेका हुन्छन् त्यसरी नै तिनको धेरथोर प्रयोग लघुकथामा पनि रहन सक्दछ । त्यसैले लघुकथाका सन्दर्भमा निम्नलिखित संरचक घटक वा निर्मापक तत्त्वहरूबारे चर्चा गर्न सकिन्छ ः

क) आख्यानचेत (कथावस्तु वा कथानक)
आख्यानचेतको अभिप्राय कथानक, घटना, किस्सा वा विचार आदिको सन्दर्भ नै हो । कथा र उपन्यासमा जस्तै लघुकथामा पनि आख्यानचेतलाई प्राणतत्त्व मानिन्छ । तर, लघुकथाका लागि हरेक तत्त्वहरूभित्र लघुता अनिवार्य भएजस्तै आख्यानचेतका सन्दर्भमा पनि लघुता हुनु आवश्यक मानिन्छ । लघुताको अभिप्राय घटनाजन्य अवस्थाको तीव्रतम वा द्रुततर किसिमबाट सूत्रात्मक ढङ्गको विन्यास हो । प्रत्येक लघुकथाभित्रको आख्यानतन्तु वा घटना विन्यासका क्रममा एउटा निश्चित अनुक्रम रहन्छ नै । तर, घटनामा तीव्रता वा गत्यात्मकताका कारण त्यस्तो अनुक्रमले फरक फरक स्वतन्त्र एकाइहरू निर्माण गर्ने अवस्था रहँदैन । जति सक्दो उत्तरोत्तर उत्कर्षता वा द्वन्द्वात्मकतातर्फको प्रस्तुति हुने भएकाले पनि आख्यानात्मक तीव्रता र लघुताको अवस्था देखा पर्दछ । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक आदि जुनसुकै स्रोतका परिघटनाहरू भए पनि तिनमा आन्तरिक रूपमा आख्याता र कथनको सम्बन्ध तथा अनुक्रम मिलेकै हुन्छ । र, सामान्यतया आदि, मध्य र अन्त्यको अनुक्रमबाट क्रमशः कार्यव्यापार वा प्रज्ञप्तिको विनियोजन हुने गर्दछ । आख्यानतन्तुलाई रैखिक वा वृत्ताकारीय ढाँचामा विन्यास गर्न सकिन्छ । त्यसक्रममा प्रारम्भावस्था, प्रस्थान, कार्यानुवाद, सर्वेक्षण, खलनायकीकरण, सङ्घर्ष, निष्प्रभावीकरण, प्राप्ति र उपसंहार आदिको अनुक्रम रहेको हुन सक्छ । तिनले आन्तरिक रूपमा वस्तुसन्दर्भ, द्रुतता, कुतूहलता, गत्यात्मकता, र सूक्ष्माख्यानतर्फको परिपुष्टतालाई दर्साएका हुन्छन् ।
यसरी लघुकथाभित्रको आख्यानचेतले एउट निश्चित कथ्यलाई सङ्केत गर्दछ । अर्थात्, लघुकथाभित्र एउटा निश्चित भाव वा विचारको उपस्थिति रहन्छ जसलाई सारवस्तु वा मुख्य कथ्य पनि भनिन्छ । कुनै वस्तुसन्दर्भ नभए लघुकथाको औचित्यसमेत पुष्टि हुँदैन । त्यसैले आख्यानचेत वा कथावस्तुका लागि सारवस्तु आन्तरिक रूपमै विन्यस्त हुने गर्दछ । तर, कतिपय लघुकथाहरूमा अमूर्तताको मात्रा र नाटकीय किसिमको परिसमाप्तिका कारण त्यहाँ आख्यानचेतको न्यूनता रहन सक्छ । जे होस्, जबसम्म आन्तरिक संरचना सबल हुँदैन तबसम्म लघुकथाको आख्यानचेतअन्तर्गत प्रभावकारिता रहँदैन ।

ख) चरित्र (सहभागी)
लघुकथामा पनि कथा र उपन्यासहरूमा जस्तै चरित्र विधानको अनिवार्यता रहन्छ । तर, कथा र उपन्यासका अपेक्षा सकेसम्म न्यूनतम मात्रामा चरित्रहरूको विनियोजन हुनु अर्थात् न्यून सहभागिता हुनु लघुकथाको वैशिष्ट्य नै हो । थोरै पात्रहरूबाट अधिकतम रूपमा घटना सन्दर्भलाई समेट्न सक्नु र द्रुततर किसिमबाट सम्प्रेषण गर्न सक्नु नै वास्तवमा लघुकथाको पहिचान मानिन्छ । बाह्य रूपमा घटनालाई जीवन्तता र गत्यात्मकता प्रदान गर्ने प्रायः सबै खालका चरित्रहरू यसमा अपेक्षित हुन्छन् नै । तिनमा नायक–नायिका, खलनायक, दाता, प्रेषणकर्मी, सहयोगी वा विरोधी, वाञ्छित व्यक्ति, मिथ्या नायक आदिको भूमिका यथासन्दर्भमा रहन सक्दछ । यस्ता चरित्रहरू मानवीय र मानवेतर जुनसुकै भए पनि तिनको व्यवहार मानवीय प्रकृतिको हुने गर्दछ । कहिलेकाहीँ पशुपक्षी, कीटपतङ्ग वा जीव वनस्पति आदिको प्रयोग गरिन्छ तापनि तिनलाई मानवीकरण गरी कार्यव्यापार सम्पन्न गरिन्छ । त्यस्तै कपितय सन्दर्भमा केवल मानवीय अनुभूति वा जीवन दर्शनसँग सम्बन्धित विषयलाई पनि मानवीकरणका साथ प्रस्तुत गर्न सकिन्छ ।

ग) परिवेश (कार्यपीठिका)
लघुकथा दन्त्यकथा वा लोककथा आदिमा जस्तै कुनै काल्पनिक परिवशेमा नभई याथार्थिक धरातलमा अडिएको हुन्छ । सामाजिक कथाहरूमा जस्तै यसमा पनि देश, काल र वातावरणको सङ्केत गरिएको हुन्छ । तर, अत्यन्त सूत्रात्मक रूपमा आख्यानतन्तुलाई विन्यस्त गर्नुपर्ने भएकाले सबैजसो लघुकथाहरूमा कहिले, कहाँ र कस्तो अवस्थामा आदि प्रश्नहरूको स्पष्ट उत्तर पाउन सकिँदैन । कतै सूच्य वा साङ्केतिक रूपमा अथवा कतै सन्दर्भ र शब्दको अर्थसामथ्र्यका आधारमा परिवेशको पहिचान गर्न सकिन्छ । यसरी स्थानिक, कालिक र पारिस्थितिक परिवेश आदिलाई यथासन्दर्भमा उपयुक्त किसिमबाट सङ्केत गर्न सके त्यस्ता लघुकथाले विश्वसनीय वातारवरण सिर्जना गरी समग्र सन्देशलाई समेत प्रभावकारी तुल्याउन सक्छ ।

घ) उद्देश्य (प्रयोजन)
निरुद्देश्य कुनै पनि साहित्य सिर्जना गरिँदैन । पूर्वीय र पाश्चत्य साहित्य परम्परामा साहित्यका उद्देश्यसम्बन्धी अनेकौँ अवधारणाहरू स्थापित भइसकेका छन् । मूलतः कविता÷काव्य वा साहित्यका सन्दर्भमा पूर्वीय काव्यशास्त्रीहरूले उद्देश्यबारे व्यापक बहस गरिसकेकै छन् । प्रायः धर्म, अर्थ, काम र मोक्षसँग गाँसेर अथवा यश, अर्थ, व्यावहारिक ज्ञान, कल्याण र सहज उपदेश आदि सन्दर्भसँग गाँसेर काव्य वा साहित्यको उद्देश्यबारे परिचर्चा गरेका छन् । त्यस्तै नैतिक शिक्षा, मनोरञ्जन, चरित्र वा आचरण सुधार र नयाँ तथ्यको जानकारी आदिलाई पनि साहित्यको उद्देश्यसँग जोडेका छन् । यसरी पूर्वीय वा पाश्चात्य जगत्का साहित्य समालोचकहरूले जेजस्तो साहित्यिक विधागत उद्देश्यबारे सङ्केत गरे पनि लघुकथासम्बन्धी उद्देश्यलाई समेत तिनैसँग गाँसेर हेर्न सकिन्छ । तर, वर्तमान लघुकथाको मूल विषय भनेकै सामाजिक, राजनीतिक, प्रशासनिक, आर्थिक र चारित्रिक आदि समकालीन पक्षसँग सम्बन्धित भएकाले तिनमा पाइने वा देखापर्ने विकृति विसङ्गतिलाई औैँल्याउनु नै मुख्य उद्देश्य मान्न सकिन्छ ।

च) भाषाशैली र दृष्टिबिन्दु
कथ्य विषयलाई प्रभावकारी ढङ्गबाट बाह्य रूपमा सम्प्रेषण गर्ने माध्यम भनेको भाषाशैली हो । भाषिक सामथ्र्यले नै समग्र लघुकथाको सम्प्रेषणीयतालाई प्रभाव पार्दछ । भाषिक सामथ्र्यका रूपमा उपयुक्त वाक्यगठन, अर्थसामथ्र्यपूर्ण शब्दचयन, अन्वितिपूर्ण विन्यास र भाषिक संसक्तिजन्य विशिष्टता आदिको भूमिका रहन्छ । लघुकथाको भाषिक विशिष्टता भन्नु पनि कथ्य विषयलाई विस्तृत तुल्याउन सक्ने अर्थसामथ्र्य भएको अथवा प्रभावान्विति कायम राख्ने क्षमता रहनु हो । थोरैमा धेरै तथा भन्न खोजेको कुरालाई सन्देशमूलक ढङ्गबाट नाटकीय रूपमा व्यक्त गर्नका लागि सकेसम्म प्रस्ट किसिमको भाषिक अभिव्यक्ति रहनु हो । यसर्थ गहन अर्थ संवहन गर्ने भाषाभन्दा पनि भन्न खोजेको कुरालाई प्वाक्क तर हृदयस्पर्शी किसिमबाट व्यक्त गर्ने भाषा नै लघुकथाको भाषिक प्रस्तुति मानिन्छ । त्यस्तो भाषा जसले जीवनका आशा निराशादेखि सामाजिक तथा राजनीतिक विकृति विसङ्गतिसम्मलाई सम्बोधन गर्न सकोस् अथवा सियोको टुप्पोझैँ च्वास्स घोचोस् र प्रत्यक्ष वा अप्रत्यक्ष किसिमबाट व्यञ्जना सामथ्र्यलाई प्रकाशित गर्न सकोस् ।
लघुकथा सङ्क्षिप्त प्रकृतिको हुने भएकाले यसमा लामो विवरणात्मक शैलीको आवश्यकता पर्दैन । साथै कविताजस्तो केही अनुभूति विशेष मात्र नभएकाले भावुक हार्दिकताको पनि आवश्यकता पर्दैन । अथवा, विस्तृत काव्य सिर्जनाजस्तो लामो आलङ्कारिक चमत्कारपूर्ण शैलीको समेत खासै आवश्यकता पर्दैन । यसमा त केवल कथ्य विषयलाई प्रभावकारी र सूत्रात्मक ढङ्गबाट प्रस्तुत गर्नुपर्ने भएकाले सरल एवम् सारगर्भित अभिव्यक्ति दिन सक्ने आडम्बररहित अर्थात् कृत्रिमताविहीन भाषाशैलीको आवश्यता पर्दछ । यद्यपि कतिपय अवस्थामा बिम्बात्मक अभिव्यक्ति पनि उपयुक्त हुन सक्दछ । यसर्थ यसको भाषाशैली त्यस्तो होस् कि पाठकले अध्ययन प्रारम्भ गर्नासाथ कुतूहलता सिर्जना गर्दै पाठकलाई अन्यमनस्क नगराईकन वा एकोहो¥याएर एकैचोटि समाप्त हुनासाथ झसङ्ग पार्न सकोस् । त्यसका लागि लघुकथाहरूमा मूलतः प्रथम पुरुष वा तृतीय पुरुष दृष्टिबिन्दुको पनि प्रयोग गर्न सकिन्छ । अर्थात्, समाख्याताद्वारा म÷हामी अथवा ऊ÷उनी÷जुनसुकै नाम आदिको प्रयोग गरेर लघुकथाको केन्द्रीय कथ्य वा भाव÷विचार आदिलाई पाठकसमक्ष उपस्थापन गर्न सकिन्छ ।

४. लघुकथाको वर्गीकरण
साहित्यका अन्य विधाजस्तै लघुकथालाई पनि विभिन्न आधारहरूमा वर्गीकरण गर्न सकिन्छ । सामान्यतया विषयवस्तु, वाद र तत्त्वगत विशिष्टता आदिका आधारमा यसका अनेक उपभेदहरू हुन्छन् । तिनमा विषयवस्तुका आधारमा केही लघुकथाहरू पौराणिक, धार्मिक, सांस्कृतिक र दार्शनिक प्रकृतिका हुन्छन् भने केही मूलतः सामाजिक, राजनीतिक, आर्थिक, समसामयिक र वैज्ञानिक आदि अनेक किसमका हुन्छन् । त्यस्तै वादका आधारमा केही आदर्शवादी मात्र हुन्छन् भने केही यथार्थवादी, प्रगतिवादी, अस्तित्ववादी–विसङ्गतिवादी र नारीवादी आदि अनेक किसिमका हुन्छन् । त्यसैगरी तत्त्वगत प्रधानताका आधारमा केही लघुकथाहरू घटनाप्रधान मात्र हुन्छन् भने केही चरित्रप्रधान र भाव वा विचारप्रधान आदि हुने गर्दछन् । यीबाहेक पनि कतिपय लघुकथाहरू पत्रात्मक शैलीमा अथवा कतै दैनिकी लेखन आदिको शैलीमा समेत देखा पर्ने भएकाले लघुकथाका भेदहरू प्रशस्त मात्रामा रहेको विश्वास गरिन्छ । यसरी लघुकथाका अनेक भेदहरूको अवस्था र सम्भावना देखा परे पनि यिनलाई यति नै सङ्ख्यामा निश्चित गरिहाल्ने अवस्था छैन ।

५. लघुकथा र कथा
लघुकथा र कथाजस्ता शब्दहरूलाई कतिपय अवस्थामा पर्यायवाचीझैँ बुझ्ने गरेको पनि पाइन्छ । कदाचित् दुबैमा रहेको शब्दगत एकात्मकता र आख्यानात्मक प्रस्तुतिका कारण पनि त्यस्तो भएको हुन सक्दछ । यद्यपि दुबैका बीच कतिपय अभिलक्षणहरू समान भए पनि दुबैलाई एउटै विधाका रूपमा लिइँदैन । दुबै फरक फरक स्वतन्त्र प्रकृतिका आफैमा पूर्ण सिर्जनाहरू हुन् । वास्तवमा लघुकथाको आकार प्रकार सानो, सङ्क्षिप्त वा लघुतापूर्ण हुन्छ भने कथाको आकार प्रकार केही बृहत्, स्थूल वा विस्तृतिपूर्ण प्रकृतिको हुन्छ । त्यस्तै लघुकथामा कथानक÷किस्सा÷घटना वा कथावस्तुको अवस्था सूक्ष्म र सूत्रात्मक किसिमको हुन्छ भने कथामा कथावस्तुगत स्थूलता रहेको हुन्छ । त्यसैगरी लघुकथामा सीमित विषयवस्तुको मात्र वर्णन हुन्छ तर कथामा चाहिँ केही विस्तृत वा असीमित प्रकृतिको विषयवस्तुको विन्यास गरिन्छ । वस्तुतः लघुकथामा वाक्य वा शब्दहरूको प्रयोगलाई सङ्ख्यात्मक रूपले समेत गणना गर्ने चेष्टा गरिएको पाइन्छ । अर्थात्, एकदेखि चालिस पचाससम्मको आसपासका वाक्यहरू अथवा बीस–पच्चिसदेखि दुई–अढाई सयसम्मको आसपासका शब्दहरू लघुकथाका लागि उपयुक्त मानिन्छन् । तर, कथामा त्यसरी शब्द वा वाक्यकै गणना गर्नुभन्दा पनि अनेक शब्द अथवा अनेक वाक्यहरूको प्रयोग गरी जसबाट एउटा निश्चित कथात्मक ढाँचाको अपेक्षा गरिएको हुन्छ । घटनाहरूको संयोजनका दृष्टिले पनि लघुकथामा एउटा मात्र घटना सन्दर्भको सङ्केत रहन्छ भने कथामा स्पष्ट रूपमा एकभन्दा बढी घटना सन्दर्भहरूको प्रयोग गरिन्छ । सरलता, व्यङ्ग्यात्मकता, द्रुततर अभिव्यक्ति वा तीव्रताजस्ता अभिलक्षणहरू लघुकथाका पहिचानजस्तै मानिए पनि कथामा चाहिँ केही व्यापकता र कथातत्त्वगत स्पष्टताका कारण सामान्य गति अपेक्षित हुन्छ । त्यसैले लघुकथाको अपेक्षा कथालाई एउटा निश्चित विधागत ढाँचामा उल्लेख गरिन्छ । वास्तवमा लघुकथाभित्र एकोन्मुखता, साङ्केतिकता, उत्तरोत्तर उत्कर्षमूलकता र प्रभावकारिता लगायतका विशिष्ट पहिचान हुने भएकाले पनि यसलाई कथाको भेदभन्दा भिन्न आख्यानको लघुतम प्रभेदका रूपमा लिने गरिन्छ ।

६. निष्कर्ष
लघुकथाको सैद्धान्तिक अध्ययन पश्चिमबाट भएको हो । पाश्चात्य विद्वान्हरूले नै यसका अभिलक्षणहरूबारे चर्चा प्रारम्भ गरेका हुन् । यद्यपि लघुकथा शब्दलाई तत्सम स्रोतको मानिन्छ तापनि यसको अङ्ग्रेजी रूपान्तर ठ्याक्कै शाब्दिक रूपमा गरिँदैन । त्यसैले, अङ्ग्रेजीमा सर्ट सर्ट स्टोरी लगायतका विभिन्न नामहरूबाट यसलाई सम्बोधन गरिन्छ । हुन त सैद्धान्तिक परिचर्चा पाश्चात्य क्षेत्रबाट भए पनि पूर्वीयमा समेत यसको लामो समयदेखि प्रयोग परम्परा रहँदै आएको पाइन्छ । ऋग्वेद, अथर्ववेद, उपनिषद्, ब्राह्मणलगायतका वैदिक तथा त्यसपछिका जातककथा, नीतिकथा, जैनकथा, लोककथा र पञ्चतन्त्र आदिमा लघुकथा प्रकृतिका अनेक प्रयोगहरू पाइन्छन् । उपन्यास र कथामध्ये यसको निकटतम सम्बन्ध कथासँग रहेकाले यसका धेरैजसो विधात्मक घटकहरू कथासँगै मिल्दाजुल्दा छन् । तर, उपन्यासको कुनै अंशलाई मात्र कथा भन्न नसकिएझैँ कथाको अंश मात्र पनि लघुकथा मान्न सकिँदैन । कथा र लघुकथाका केही आन्तरिक अभिलक्षण र शैलीविन्यासमा समानताजस्ता देखिए पनि वस्तुतः दुबै फरक फरक विधा नै हुन् । कथा विधा जति बुढो वा छिप्पिएको मानिन्छ लघुकथाचाहिँ त्यति विकसित भइसकेको छैन तापनि यसमा घटना, चरित्र, भाव, परिवेश र भाषशैली आदिको प्रधानता रहेकै हुन्छ । यसको विशेषता भन्नु नै सङ्क्षिप्ता, सूक्ष्मता, व्यङ्ग्यचेतना, प्रतीकात्मकता र अप्रत्याशितता आदि नै हुन् । अर्थात्, लघुकथालाई एक किसिमको सूत्रकथा भने पनि हुन्छ जसमा सङ्क्षिप्तता, व्यङ्ग्यचेतना, जीवन्तता र संवेदनशीलताजस्ता प्रमुख गुणहरू रहने गर्दछन् । यसको क्रमलाई हेदाई मूलतः ऊध्र्वगामी, अग्रगामी र अन्ततः अधोगामी प्रकृतिको देखा पर्दछ । यो योजनानिर्मित भएकाले यसमा क्रम, बल र गतिको विशेष योजना रहन्छ नै । साहित्यका अन्य विधामा जस्तै समकालीन सन्दर्भ र विकृति विसङ्गति आदिको चिरफारका दृष्टिले लघुकथाको विशिष्ट भूमिका र लोकप्रियता बढ्दै गएको छ ।

सन्दर्भसूची
अश्क, गोपाल, ले.÷सम्पा. (२०६५), लघुकथा प्रक्रिया र पाठ, ललितपुर ः साझा प्रकाशन ।
कोइराला, कुमारप्रसाद (२०७२), समसामयिक लघुकथाका प्रमुख प्रवृत्ति, मधुपर्क (४८÷५५५), पृ. १२–१५ ।
गौतम, लक्ष्मणप्रसाद (डा.), (२०७२), लघुकथाको रचनाविधान, काठमाडौँ ः लघुकथा समाज ।
यात्री, कृष्ण शाह (२०७२), नेपाली लघुकथा ः मञ्चन र प्रभाव, मधुपर्क (४८÷५५५), पृ. ३३–३६ ।
रोदन, श्रीओम श्रेष्ठ (२०७२), लघुकथाका चुनौती, मधुपर्क (४८÷५५५), पृ. १२८ ।
शर्मा, मोहनराज (२०७२), समकालीन लघुकथा बहुलवादी प्रवृत्तितर्फ उन्मुख देखिन्छ, मधुपर्क (४८÷५५५), पृ. ४१–४३ ।
श्रेष्ठ, दयाराम (२०६९ं) लघुकथाको आयामिक सौष्ठव, मधुपर्क, (४८, ५५५) पृ.६–७ ।
सुवेदी, राजेन्द्र, (२०७२), लघुकथाको परिचय ः विकास र वर्तमान परिप्रेक्षमा, मधुपर्क (४८÷५५५), पृ. ८–११ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2073

लेखकका अन्य रचनाहरु