पन्नाकाजीको जीवनी

- नरेन्द्रराज प्रसाई

तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे
कसको यो सम्झना मेरो मनैमा लौ माया नमारे ।
(स्वर : पन्नाकाजी, सङ्कलन : सरोजकुमार शाक्य)

नेपाली सङ्गीतका शिखरमध्ये एउटा अर्का विशष्टि शिखर अथवा भनौं पन्नाकाजी
शाक्य पनि अब हामीबाट विदा भए । २०७३ सालको माघ १२ गते एकाबिहानै यस
धर्तीबाट उनको भौतिक चोला उठ्यो ।

पन्नाकाजी पुरानो पुस्ताका सङ्गीत श्रोताहरूको अत्यन्तै मन पर्ने नाउँ हो
। उनी गीत गाएर नेपाली जनमानसमा खुबै चर्चित भए । वास्तवमा 'तिरिरी मुरली
बज्यो बनैमा' नेपाली सङ्गीत पारखीको एउटा प्रिय गीत हुन गयो, एउटा
प्रतिनिधि गीत पनि हुन गयो र एउटा चिरस्मरणीय गीत हुन गयो । त्यही गीतले
पन्नाकाजीलाई धरहराको टुप्पो चढायो, सबैको मन पर्ने गरायो र गायनमा
लोकप्रिय बनायो ।

संवत् १९८८ साल पुस १५ गते काठमाडौँको ओमबहालमा पन्नाकाजी जन्मेका थिए ।
चिसो दिनमा जन्मेका पन्नाकाजीबाट सधैँ तातो, न्यानो र मीठो सङ्गीतको
आविष्कार भयो । उनी आफ्ना बाबुको सङ्गीतप्रतिको झुकावका साँचो लगानी
मानिन्छन् । भजनगृहमा पन्नाकाजीका बाबु चतुरमान शाक्य हारमोनी बजाउँथे ।
बाबुको त्यही हारमोनीको रिड खेलाउँदा खेलाउँदै पन्नाकाजी सङ्गीतका कुशल
खेलाडी नै बने । उनको खेल हेरेर आमा बालकुमारी छक्क पर्थिन् । वास्तवमा
नानीदेखि लागेको बानीले पन्नाकाजी नेपाली सङ्गीतक्षेत्रका श्रद्धेय तारा
बने । उनी काठमाडौँका नेवार हुन् तर उनी सारा नेपालीका साझा गायक बने ।

पन्नाकाजीले २००४ सालमा सार्वजनिक रूपमा गीत गाउन थाले । सुरुमा उनले
नेवारी गीत गाएका थिए र त्यसपछि उनले हिन्दी गीत पनि गाएका थिए । आफ्नै
बाबुलाई गुरु थापेर उनी सङ्गीतमा निरन्तर समर्पित भएका थिए । पन्नाकाजीका
बाबुको सुनचाँदीको दोकान थियो तर भजनकीर्तन भनेपछि उनका बाबु चतुरमान
शाक्य मरिमेट्थे । वास्तवमा त्यही प्रभावले पन्नाकाजी सङ्गीतमा डुबेका
थिए । आफ्ना बाबुको एक्लो छोरो भएकाले उनी सुरुदेखि नै आर्थिक रूपमा पनि
सक्षम नै थिए ।

सुरुसुरुमा पन्नाकाजीका गीतमा हर्रि्रसाद रिमालको साङ्गीतिक साथ जुट्थ्यो
। रिमाल पन्नाकाजीलाई सङ्गीत मात्र सिकाउँदैनथे उनी नाटकमा अभिनय गर्न
पनि सिकाउँथे । २००४ सालमा पन्नाकाजी १६ वर्षा थिए । त्यस बेला 'युवराज
कुँडाल' नामक हिन्दी नाटक नेपालीमा अनुवाद भयो । त्यस नाटकमा पन्नाकाजीले
अभिनय गरे र गीत पनि गाए । त्यसपछि मान्छेले भन्न थाले- "पन्नाकाजीले
मीठो गीत गाउँदो रहेछ ।" उनी किशोर स्वर बोकेर क्रमशः धुरी चढ्न थाले,
गीत गाएर मान्छेको मन जित्न थाले र आफ्नो कुशल योग्यता जनजनका मनस्थितिमा
र्छन थाले :

आँधीबीचको बिचरो चरीसरि
छटपट पारी गयो कसले; कुन देश कसरी ?
(स्वर : पन्नाकाजी , सङ्गीत : नातिकाजी, शब्द : म.वी.वि. शाह)

पन्नाकाजीका गीत राजा महेन्द्रलाई पनि मन पर्थे । त्यसैले राजालाई गीत
सुनाउन पन्नाकाजी राजदरबार जान थाले । राजदरबारमा उनले आफ्नो सक्कली कला
प्रस्तुत गर्थे । त्यस बेला कविराजाबाट हुकुम हुन्थ्यो "तिमीहरू गीत गाएर
मात्र खान सक्छौ -" पन्नाकाजीहरू भन्थे- "सरकार ! हामीले सङ्गीतबाहेक अरू
केही जानेनौँ ।" अनि राजाको महावाणी फुस्कन्थ्यो- "तिमीहरूको म व्यवस्था
गर्छु" यस्तै छलफलका क्रममा राजा महेन्द्र स्वर्गीय भए । त्यो खबरले
पन्नाकाजी रोए, सबै नेपाली रोए र देश नै आँसुको पोखरीमा डुब्यो ।

त्यस समयमा नेपाली कलाकारहरू सारै उत्साही थिए । पन्नाकाजी पनि अत्यन्त
उत्साही थिए । त्यही उत्साहमा उनी गायनमा निर्लिप्त डुब्न थाले । उनको
स्वरसङ्गीतमा पारखीहरू झुम्म झुम्मिन थाले । वास्तवमा श्रोताहरू
पन्नाकाजीको स्वर मीठो मानेर सुन्थे । उनको मिठासपूर्ण स्वरको चारै
तिरबाट प्रशंसा हुन्थ्यो । उनका गीत फर्माइसमा बजिरहन्थे ।

पन्नाकाजीको स्वरले काठमाडौँमा छ्याप्छ्याप्ती प्रेम गाँस्न थाल्यो ।
क्रमशः उनको मेलोडी बालकृष्ण समको कानमा पनि पुग्यो । त्यसपछि
पन्नाकाजीलाई समले हर्रि्रसाद रिमालमार्फ रेडियो नेपालमा बोलाए । उनी
२००८ सालको सुरुमै रेडियो नेपाल पुगे ।

रेडियो नेपालको नेतृत्व बालकृष्ण समले गरेका थिए । त्यस बेला
तारिणीप्रसाद कोइरालाचाहिँ निर्देशक थिए । पन्नाकाजी रेडियो पुगेका बेला
जनार्दन सम कार्यक्रम प्रमुख थिए । जनार्दन समले पनि पन्नाकाजीलाई खुबै
माया गरे, सहयोग गरे र कदर गरे ।

पन्नाकाजी रेडियो पुगेपछि उनको स्वर बालकृष्ण समले दोहर्याई तेहर्याई
सुन्थे । सम उनका स्वरमा झनै भुतुक्क हुन थाले । पन्नाकाजीको स्वरमा
मुग्ध भएपछि समले भने- "म गीत लेख्छु; तिमी मेरो गीत गाऊ ।" पन्नाकाजीले
समको रचना मीठो पाराले गाए । त्यसपछि पन्नाकाजी समका काँधमा पनि बोकिन
थाले । अनि पन्नाकाजी झनै मक्ख परे । उनले झन् स्वर तिखारेर समकै गीत
गाउन थाले :

मनको अँध्यारो एउटा कुनामा यसलाई राखे कहिले नफाले
फाल्नै परे पनि फाल्नुअगाडि फाल्छु भनेर किरिया नहाले ।
(स्वर र सङ्गीत : पन्नाकाजी, शब्द : बालकृष्ण सम)

पन्नाकाजीको स्वभाव, आनीबानी र विचारधारा अत्यन्तै सादा थियो । उनी
जागिर, पद र धन बटुल्ने महत्त्वाकाङ् क्षामा कहिले लागेनन् । उनी खालि
आफ्नो स्वर र सङ्गीतका कारणले ख्यात्रि्राप्त गायकमा स्थापित भए ।
'तिरिरी मुरली बज्यो बनैमा' गीत गाएर उनी नेपालबाट भारत पुगे । बिस्तारै
उनको स्वरले एसिया ढाक्यो र उनी स्वरबाटै युरोप, अफ्रिका र अमेरिकासम्म
पुगे । अथवा भनौँ जहाँजहाँ नेपालीहरू थिए त्यहीँत्यहीँ पन्नाकाजीको स्वर
भेटिन्थ्यो ।

पन्नाकाजीले बाईस वर्ष टेक्तानटेक्तै ज्ञानदेवीसँग बिहे गरे ।
ज्ञानदेवीसँगको सुखद दाम्पत्य जीवनले पन्नाकाजीबाट सङ्गीतको आविष्कार
मात्र भएन र स्वरले मात्र यिनी अघि बढेनन् यिनले आफ्नो साङ्गीतिक बिँडो
समाउने लायक छोराहरू पनि पाए ।

चार छोरा प्रितम, प्रवेश, पवित्र, प्रबिन र एक छोरी प्रेमामध्ये यिनका
दुई भाइ छोरा प्रवेशमान र पवित्रमान चाहिँ गायक भएर निस्के । आफ्नो
कलासाधनाको बाटोलाई आफ्ना सन्तानले समाउँदा यिनले आफ्नो जीवन र्सार्थक
भएको ठाने । वास्तवमा प्रवेशमान र पवित्रमान युवापुस्ताका चर्चित र प्रिय
गायक पनि भए ।

रेडियो नेपालमा २०२२ सालमै पन्नाकाजीले उत्कृष्ट गायक भएर स्वर्ण पदक
जिते । त्यसपछि उनी त्यहाँ वरिष्ठ गायकको दरबन्दीमा रहे । पन्नाकाजी
गोरखा दक्षिणबाहुबाट पनि विभूषित भए । साथै उनी नइ प्रकाशनबाट नातिकाजी
सम्मानले पनि सम्मानित भए । त्यो सम्मान उनले नातिकाजिकै हातबाट ग्रहण
गरे ।

२०४० सालमा पन्नाकाजीको शिरमा एकाएक हुन्डरी आयो, छातीमा बादल लाग्यो र
पैतालामा काँडा रोपियो । त्यस बेला उनले रेडियो नेपालबाट जबर्जस्ती
राजीनामा दिनुपरेको थियो । आफूले मलजल हालेको, गोडमेल गरेको र हरियाली
पारेको रेडियो नेपालबाट उनले बाध्यतापूर्वक हात धोएका थिए । वास्तवमा
उनले राजीनामा नदिउन्जेल रेडियो नेपालका निर्देशक प्रचण्डमानसिंह
प्रधानले उनको कपाल खाइरहन्थे अनि उनीसँग करकर र कचकच गरिरहन्थे ।
पन्नाकाजीलाई निर्देशकले जति सताएका थिए त्यहाँबाट उनलाई त्यति नै अपमान
पनि भिराइएको थियो । अथवा भनूँ पन्नाकाजीभन्दा कान्छो जागिरेलाई उनको
हाकिम बनाएपछि उनको मन सारै दुःखेको थियो । यी विविध प्रपञ्चबाट चित्त
दुखाएर उनले आफ्नो प्यारो ठाउँलाई आँखा चिम्लेर छाडेका थिए । त्यस दिन
यिनका शिरमा चट्याङ परेको थियो ।

२०४० सालसम्मको तथ्याङ्क हेर्ने हो भने पन्नाकाजीले ३०० वटा गीत गाए ।
साथै उनीद्वारा २०० जति गीतमा सङ्गीतको आविष्कार भयो । उनले केही भजन
गाए, केही राष्ट्रिय गीत गाए र आधुनिक गीत चाहिँ धेरै गाए । उनी गीत गाएर
नै नेपालका विभिन्न भूभागमा पुगे । जिन्दगीमा गीत गाएर बसेको क्षणलाई नै
अमूल्य र महत्त्वपूर्ण मान्ने पन्नाकाजी स्वाभिमानले ओतप्रोत गायकमा
चिनिए ।

पन्नाकाजीका गीतमा प्रकृति, प्रेम, विरह, राष्ट्रप्रेम भेटिन्छ ।
वास्तवमा उनको मूल परिचय पनि उनको स्वर नै हो; जुन स्वर नेपाली जनमानसमा
जीवन्त छ, अविस्मरणीय छ र बिर्सि नसक्नुको छ ः

हामीलाई एक्लै छाडी दाइ त अब परदेश जाने भो
आज मैले गाँसेको माला ढुङ्गामाथि ओइलेर जाने भो ।
(स्वर : पन्नाकाजी, सङ्गीत : नातिकाजी, शब्द : माधव घिमिरे)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2073

लेखकका अन्य रचनाहरु