नेपाली बृहत् शब्दकोश (२०७२) मा भाँडभैलो

- लीला लुइटेल

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नवौँ संस्करण भनी प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२) ले नेपाली भाषाका क्षेत्रमा भाँडभैलो नै सिर्जना गरेको छ । यस कोशमा देखिएका वर्णविन्यासगत भाँडभैलो विशेषतः संयुक्त व्यञ्जनको खुट्टो काट्ने र पदयोग–पदवियोगसम्बन्धी प्रविष्टि अत्यन्त हास्यास्पद एवं कुतर्कयुक्त देखिन्छन् । विद्या, बुद्ध, द्वन्द्व, द्वितीयजस्ता ‘द’ सँग जोडिएका संयुक्त व्यञ्जनलाई सर्वत्र खुट्टो काटी कोशलाई नै कुरूप बनाइएको छ भने पदयोग–पदवियोगमा प्रचलित मानक रूपभन्दा पूरै भिन्न ढङ्गले प्रविष्टि दिई अस्तव्यस्त तुल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०६७ पुस २६, २७ र २८ गते आयोजित नेपाली भाषा सङ्गोष्ठीका निर्णयहरूलाई अनुसरण गरी यस कोशको निर्माण गरिएको भनी यस कोशको निर्माणमा संलग्न व्यक्तिहरूले बारम्बार अनेक सञ्चार माध्यममार्फत मिथ्याङ्कको सुगा रटाइ गर्न पनि छोडेका छैनन् । यस कोशमा भ्रमात्मक ढङ्गले प्रविष्टि दिइएका पदयोग–पदवियोगसम्बन्धी अस्तव्यस्तता र भाँडभैलोलाई तल सोदाहरण चर्चा गरिन्छ ः
१. प्रस्तुत कोशमा हजारौँ वर्षदेखि परम्परामा प्रचलित व्यक्तिवाचक नाम दियाइमा एकरूपता पाइँदैन । यसको उदाहरणका रूपमा तल केही शब्द उल्लेख गरिन्छ ः
अक्षयकुमार — कृष्ण द्वैपायन अङ्गुलिमाल — चन्द्र शेखर
चतुर्भुजदास — मत्स्येन्द्र नाथ राजराजेश्वर — शशि शेखर
विरञ्चिसुत — भरत मुनि तुलसीदास — कपिल मुनि
यसरी व्यक्तिको नाम कतै जोडेर र कतै छुट्ट्याएर प्रविष्टि दिइएको यस कोशमा यस्ता नाम कुन छुट्ट्याउने र कुन जोड्ने भन्नेबारे कुनै स्पष्ट नीति अबलम्बन गरिएको देखि“दैन । अझ माथि उल्लिखित ‘विरञ्चिसुत’ शब्द व्यक्तिको नाम भए पनि अर्थका दृष्टिले सहजै पदवियोग गर्नसकिने स्थिति स्पष्टै देखिन्छ तर यस शब्दलाई चाहिँ पदयोग गरी उल्लेख गर्नु र अन्य कतिपयलाई पदवियोग गरी यस कोशमा प्रविष्टि दिइएको छ । एकातिर २०६७ को संगोष्ठीमा भएको निर्णयअनुसार व्यक्तिवाचक नाम प्रचलनअनुसार नै लेख्ने भनी उल्लेख गरिएको भए पनि त्यसलाई यस कोशले पालना गरेको छैन भने र अर्काेतिर माथि उल्लिखित व्यक्तिवाचक नाम कतै पदयोग र कतै पदवियोग गरी प्रविष्टि दिइएको छ । पदयोग र पदवियोगका सन्दर्भमा केही भुइँफुट्टाहरूले भन्ने गरेको दुई–तीन, तीन–दुईको सिद्धान्त पनि यहाँ पालना भएको छैन । यसरी व्यक्तिको नाम कतै जोडेर र कतै छुट्ट्याएर प्रविष्टि दिइएको यस कोशमा यस्ता नाम कुन छुट्ट्याउने र कुन जोड्ने भन्नेबारे कुनै स्पष्ट नीति अबलम्बन गरिएको देखि“दैन ।
२. यस कोशमा उल्लेख गरिएका कतिपय वाङ्मयका शीर्षक दियाइमा पनि एकरूपता पाइँदैन । मनोमानी ढङ्गले प्रस्तुत गरिएका यससम्बन्धी केही उदाहरण तल दिइन्छ ः
महाभारत — श्रीमद् भागवत, शिशुपाल वध, भगवद् गीता
गजेन्द्रमोक्ष — सूक्ति सिन्धु, कुमार सम्भव, अमर कोश, गरुड पुराण
कुनै पनि लेखकका कृतिको शीर्षक उल्लेख गर्नुपर्दा लेखकले प्रयोग गरेको वर्णविन्यासअनुरूप नै उल्लेख गर्नुपर्छ । अझ कुनै लेखकका कृतिको शीर्षकमा प्रयुक्त वर्णविन्यास नै गलत रहेछ भने पनि पनि लेखकले प्रयोग गरेको गलत वर्णविन्यास नै उल्लेख गरी कोष्ठमा त्यसको शुद्ध वर्णविन्यास उल्लेख गर्ने सर्वमान्य प्रचलन रहेको सर्वविदितै छ । यसमा पनि उनीहरूले भन्ने गरेको दुई–तीन, तीन–दुईको सिद्धान्त लागु भएको छैन ।
३. देवीदेवताका विविध रूप बुझाउने विभिन्न शब्दको प्रविष्टि पनि यस कोशमा मनोमानी ढङ्गले गरिएको छ, जस्तै—
विन्ध्यवासिनी — दक्षिण काली, मन कामना,
गोरखनाथ — गोरख काली, काल भैरव
चन्दननाथ —कमला माई, पशुपति नाथ
वज्रधात्वीश्वरी — वज्र योगिनी
४. प्रस्तुत कोशमा कुनै निश्चित तिथिलाई सङ्केत गर्ने शब्दहरूको प्रविष्टि दियाइमा पनि एकरूपता पाइँदैन । यसको केही उदाहरण तल उल्लेख गरिन्छ ः
हरितालिका — हरि बोधिनी, हरि शयनी
महाअष्टमी —ऋषि पञ्चमी, वसन्त पञ्चमी
महानवमी — राम नवमी, काग तिहार
घोडेजात्रा — भोटो जात्रा, घट स्थापना
फुलपाती —रक्षा बन्धन
अझ ‘भाद्रशुक्ल’ शब्दलाई एउटै पृष्ठमा एकै ठाउँमा कतै जोडेर र कतै छुट्ट्याएर (पृ. १३३१) प्रयोग गरिएको छ । नेपाली भाषालाई सजिलो बनाउन गरिएका यसप्रकारका भाँडभैलोल नेपाली भाषा कति सहज हुन्छ भन्ने कुरा स्पष्टै देखिन्छ ।
५. यस कोशमा कुनै तीर्थलाई सङ्केत गर्ने शब्दहरू कुनै जोडेर तथा कुनै छुट्ट्याएर प्रविष्टि दिइएको छ, जस्तै—
विन्ध्यवासिनी — गोसाईं थान
कपिलवस्तु — वराह क्षेत्र
मानसरोवर — गङ्गा सागर
६. यस कोशमा स्थानवाची शब्दहरूको दियाइमा पनि एकरूपता नभएर भाँडभैलो नै देखिन्छ । यसका केही उदाहरण यस्ता छन् ः
धवलागिरि — उदय गिरि, गौरी शङ्कर (हिमाल)
सगरमाथा — जनक पुर (अञ्चल)
राजविराज — विराट नगर, सिमरौन गढ (ठाउँ)
नगरकोट, जावलाखेल — काँक्रे विहार, सिन्धुली गढी (ठाउँ)
यसैगरी जिल्लाको प्रविष्टिमा पनि एकरूपता नभएर मनोमानी ढङ्गले उल्लेख गरिएको छ ः
मकवानपुर, उदयपुर — काभ्रे पलान्चोक
सिन्धुपाल्चोक, कञ्चनपुर — नवल परासी
कपिलवस्तु, जाजरकोट — सङ्खुवा सभा
अझ ‘पुर’ लागेका मकवानपुर, हरिहरपुर, उदयपुर, कञ्चनपुरजस्ता ठाउँका नाम जोड्ने जनक पुर चाहिँ पदवियोग गरी प्रविष्टि दिनुले के बुझाउँछ ? यसबाट हिमाल, अञ्चल, जिल्ला, ठाउँ बुझाउने शब्द कुन जोड्ने अनि कुन छुट्ट्याउने भनेर प्रत्येक शब्द घोक्नैपर्ने स्थिति निर्माण गरिएको हो कि भन्ने शङ्का उठ्नु कुनै निराधार देखिँदैन ।
७. पोखरी अर्थ दिने ‘ताल’ शब्द पनि यस कोशमा मनोमानी ढङ्गले उल्लेख गरिएको छ, जस्तै —
महेन्द्रताल — रारा दह (ताल), मैदी ताल, फेवा ताल
अझ यस कोशमा मूल प्रविष्टिमा ‘महेन्द्रताल’ दिएर त्यसको अर्थमा ‘रारा दह’ लेखिनु कति हास्यास्पद छ भन्ने कुरा जो कोहीले पनि बुझ्नसक्छ । तीन–दुई को ‘महेन्द्रताल’ जोडेर अनि दुई÷दुईको ‘रारा दह’ चाहिँ छुट्ट्याएर लेख्दा लाटोबुङ्गो पनि हाँस्ने स्थिति सिर्जना भएको स्थिति स्पष्टै देखिन्छ ।
८. व्यक्तिवाचक नामलाई समेत छुट्ट्याएर प्रविष्टि दिइएको यस कोशमा पृथक् अर्थ प्रदान गर्ने दुई बेग्लाबेग्लै शब्दको योगबाट निर्मित शब्द दियाइमा पनि मनोमानी ढङ्गले प्रस्तुत गरिएको छ, जस्तै—
महामानव — बडा गुरुज्यू महाप्रबन्धक — बडा महारानी
माथि उल्लेख गरिएका उदाहरणमा विकृत नभई स्वतन्त्र अर्थ प्रदान ‘महा’ (ठूलो महान्) सँग योग भएर निर्मित शब्दचाहिँ जोडेर लेख्ने र तिर्यक रूप (बडा—बडोको ति.रू) सँग योग भई निर्मित शब्दचाहिँ छुट्ट्याएर लेख्नुलाई भद्रगोलको पराकाष्ठा भन्नुबाहेक अरू के भन्न सकिन्छ र ?
९. एउटै शब्दसँग योग भएर निर्माण भएका तथा एउटै अर्थ दिने शब्दको प्रविष्टि पनि मनोमानी ढङ्गले गरिएको अत्यन्त हास्यास्पद उदाहरणहरू पनि यस कोशमा प्रशस्तै पाइन्छन्, जस्तै—
एकचोटि — एक तालि कालीरह — काली दह
जन्मतिथि — जन्म दिन जलकेलि — जल क्रीडा
प्रतिनायक — खल नायक मूलढोका — मूल द्वार
यन्त्रशाला — यन्त्र गृह योगविद्या — योग शास्त्र
रसक्रीडा — रस केलि लोग्नेस्वास्नी — जोई पोइ
पदयोग र पदवियोग गरी बेग्लाबेग्लै ढङ्गले माथि उल्लेख गरिएका दुवै खाले शब्दको अर्थ एउटै हो । यिनीहरूलाई यसरी पृथक् ढङ्गले प्रविष्टि दिइनु कुनै पनि कोणबाट तर्कसङ्गत भन्नसक्ने स्थिति रहेको देखिँदैन । सम्बन्धित व्यक्तिहरूले भन्ने गरिआएको दुई÷दुई भए जोड्ने तथा दुई–तीन वा तीन–दुई भए छुट्ट्याउने भन्ने भनाइ पनि माथिका कुनै पनि उदाहरणसँग मेल खाएको देखिँदैन ।
१०. एउटै शब्दसँग योग भएर निर्माण भएका उस्तै सन्दर्भका अर्थ दिने शब्दहरू मनोमानी ढङ्गले यसरी उल्लेख गरिएको छ ः
आत्मविश्वास — आत्म चरित दयानिधान — दया सागर
समसामयिक — सम कालीन मध्यकालिक — मध्य जीवक
विश्वासघातक — विश्वास पात्र राजतिलक — राम तिलक
राजपुरोहित — कुल पुरोहित
माथि उल्लिखित कुनै पनि शब्दहरू दुई–तीन वा तीन–दुईको सिद्धान्तअनुरूप पदयोग वा पदवियोग गरिएको छैन । यदि दुई–तीन वा तीन–दुईको सिद्धान्तअनुरूप गरेको भए यस्तो भाँडभैलोको सिर्जना हुने थिएन कि ?
११. एउटै शब्दसँग योग भएर निर्मित एउटै प्रकृतिका अर्थ दिने हठयोगका सन्दर्भमा प्रयोग हुने विभिन्न शब्दहरूको दियाइमा एकरूपता देखिँदैन । यसको पुष्टिका लागि तल केही उदाहरण दिइन्छ ः
चक्रबीज — चक्र ऋषि
चक्रशक्ति — चक्र स्थिति
चक्रमुद्रा — चक्र भ्रम
१२. एउटै प्रक्रियाबाट निर्मित द्वित्व शब्दहरूलाई पनि एकै प्रकारले प्रविष्टि नदिई कुनैलाई जोडेर अनि कुनै किन छुट्ट्याएर यस कोशमा प्रविष्टि दिइएको छ । यसका केही उदाहरण यस्ता छन् ः
लुगाफाटो — टिको टालो टालाटुली — टुक्रा टाक्री
मेलापात — जोरी पारी
माथिका द्विरुक्त शब्दमा जोडिन आएका ‘फाटो’, ‘टालो’, ‘पात’ जस्ता शब्द स्वतन्त्र अर्थयुक्त भए पनि द्विरुक्त शब्द निर्माणका क्रममा ती निरर्थक बन्न पुगेका छन् । यसैगरी ‘टुली, टाक्री, पारी’ चाहिँ स्वतन्त्र अर्थ दिने शब्द होइनन् । यसरी निरर्थक शब्दको योगबाट निर्मित द्विरुक्त शब्दलाई कतै पदयोग कतै पदवियोग गरेर प्रविष्टि दिनु भाँडभैलोको पराकाष्ठा नै हो । अझ दुई÷दुई भएका कतिपय शब्द छुट्ट्याएर लेखिएको छ भने तीन÷तीन भएको ‘आमुन्नेसामुन्ने’ चाहिँ जोडेर उल्लेख गरिएको छ ।
द्वित्व प्रक्रियाबाट निर्मित शब्दमा निरर्थक शब्दको योग भएमा पदयोग गरी लेख्ने भन्ने कुरा सम्बन्धित व्यक्तित्वबाट बेलाबखत सुनिएकै हो । माथिका ‘टिको टालो’ र ‘टुक्रा टाक्री’ शब्दमा योग हुन आएका ‘टालो’ र ‘टाक्री’ सार्थक शब्द नभए पनि छुट्ट्याएर लेखिएको छ ।
१३. अङ्ग्रेजी मूलका शब्दहरूको प्रविष्टि पनि यस कोशमा जथाभावी ढङ्गले गरिएको छ । उदाहरणका लागि यससम्बन्धी केही शब्द तल दिइन्छ ः
मिलिमिटर — सेन्टी मिटर थर्मामिटर — किलो लिटर
माइक्रोब्याक्टेरिया — मोटर साइकल म्युनिसिपलिटी — क्यारम बोर्ड
माइक्रोवेभ — ओभर कोट ट्रान्सफर्मर — किलो ग्राम
ट्रान्समिटर — किलो वाट फ्लोरमिल — फ्ल्याट मेसिन
१४. अगिल्लो एउटै शब्दसँग योग भएर निर्मित र उस्तै सन्दर्भको अर्थ दिने शब्दहरू कुनै जोडेर अनि कुनै छुट्ट्याएर प्रविष्टि दिइएको छ, जस्तै—
कार्यक्षेत्र — कार्य टोली गीतिकाव्य — गीति नाट्य
गुरुभाटो — गुरु भेटी तारापुञ्ज — तारा गण
नाट्यग्रन्थ — नाट्य शास्त्र पानीदुबो – पानी काग
पानीघोडा — पानी भालु पानी घडी — पानी गुन्डो
फुलदानी — फुलबारी बहुपक्षीय — बहु कोशीय
लालपुर्जा — लाल ढड्डा लोकहित — लोक सेवा
हास्यव्यङ्ग्य — श्याम व्यङ्ग्य यन्त्रकला — यन्त्र गृह
माथिको उदाहरणमा ‘मूलढोका’ जोडेर प्रविष्टि दिई त्यसको अर्थ ‘मूल द्वार’ छुट्ट्याएर उल्लेख गर्दा भाषाको सरलीकरण हुन्छ भन्नुको तात्पर्यपछाडि रहेको रहस्य बुझिनसक्नु देखिन्छ । अझ ‘विद्युत्प्राधिकारण’ जोडेर र ‘विद्युत शक्ति’ छुट्ट्याए लेख्नुपर्छ भन्ने लिँडेढिपीको तर्क पुष्टि गर्नाका लागि म कोशसँग सम्बन्धित विद्वानहरूलाई हार्दिक अनुरोध गर्दछु ।
१५. पछिल्लो एउटै शब्दसँग योग भएर निर्मित र उस्तै सन्दर्भको अर्थ दिने शब्दहरू कुनै जोडेर अनि कुनै किन छुट्ट्याएर प्रविष्टि दिइएको छ, जस्तै—
राजकुल — ऋषि कुल ऋतुस्नान — पञ्च स्नान
हास्यव्यङ्ग्य — श्याम व्यङ्ग्य तर्कशास्त्र — नाट्य शास्त्र
१६. अगाडि राज शब्द जोडिएका कतिपय शब्दको दियाइमा पनि यस कोशमा एकरूपता छैन, जस्तै—
राजपुरोहित — राज पण्डित राजविद्रोह — राज पगरी
राजतिलक — राज मुकुट राजलक्षण — राज घराना
राजसदन — राज भवन
अझ प्रविष्टिमा ‘राजसदन’ दिएर त्यसको अर्थ ‘राज भवन’ लेखिनुको औचित्य भाषा सिक्दै गरेकाले कसरी आत्मसात गर्न सक्छन् होला ? यस सन्दर्भमा दुई–तीन वा तीन–दुईको सिद्धान्तलाई एकछिन मानिदिए पनि ‘ऐश्वर्यशाली, मध्यकालिक, राजतिलक, राजपुरोहित’ जस्ता शब्द जोड्नु तथा ‘ऋषि कुल, पञ्च स्नान, श्याम व्यङ्ग्य, नाट्य शास्त्र’ जस्ता शब्दलाई छुट्ट्याएर प्रविष्टि दिनुलाई स्पष्ट पार्ने आधार के हुनसक्छ ?
१७. यस कोशमा सङ्यावाची शब्दसँग योग भएर निर्माण भएका शब्दहरू कुनै जोडेर अनि कुनै छुट्ट्याएर मनोमानी ढङ्गले प्रविष्टि दिइएको छ । यससम्बन्धी केही उदाहरण तल दिइन्छ ः
अष्टमण्डप — अष्ट कुलक एकपक्षीय — एक तमास
एकसदनात्मक — एक झप्को सप्तमृत्तिका — सप्त मातृका
दुईमुखे — दुई जिब्रे दुईपाखे — दुई तले
दुईछापे — दुई घरे दुईचम्के — दुई जाते
पञ्चरङ्ग — पञ्च स्नान पञ्चबलि — पञ्च सन्धि
१८. यस कोशमा बहुवचनबोधक शब्द पनि कतै पदयोग र कतै पदवियोग गरी उल्लेख गरिएको देखिन्छ, जस्तै —
तारापुञ्ज — तारा गण विद्वद्वर्ग — युवा वर्ग, बहु वचन
१९. विभिन्न प्रकारका मिठाइ, पूmल तथा फलपूmल जनाउने शब्दलाई यस कोशमा कतै पदयोग र कतै पदवियोग गरी मनोमानी ढङ्गले प्रयोग गरिएको छ, जस्तै —
हलुवाबेद — आलु बखडा, भुइँ कटहर
आलुगिट्ठो — भुइँ काफल, भुइँ अमला
लाल मोहन, रस माधुरी, गुलाफ जामुन
कनक चम्पा, चन्द्र मल्लिका, तारा मण्डल, जमाने मान्द्रो, लाली गुराँस
यस सन्दर्भमा माथि उल्लेख गरिएको ‘हलुवाबेद’ चाहिँ जोड्नु अनि ‘आलु बखडा’ चाहिँ छुट्ट्याएर लेख्नु शब्द निर्माण प्रक्रिया, अर्थतात्विक प्रक्रिया आदि कुनै पनि दृष्टिकोणले कसैले कसैलाई पनि व्याख्या गरेर बुझाउन सक्ने स्थिति देखिँदैन ।
२०. यस कोशमा पारिभाषिक शब्दका रूपमा प्रयुक्त शब्दहरू कुनै जोडेर अनि कुनै छुट्ट्याएर भद्रगोलपूर्ण ढङ्गले प्रविष्टि दिइएको छ । अझ ‘अनात्मवाद, अन्धविश्वास’ जस्ता शब्द जोडेर लेख्ने र ‘कार्य व्यापार, भाव बोधक, अङ्ग रक्षक, धर्म निरपेक्ष, कार्य वाहक, क्रिया विशेषण, कुहिरी मण्डल, कोसे बाली, शोध प्रबन्ध, स्वैर कल्पना, ललित कला, विश्व विद्यालय, विद्या वारिधि, कवि शिरोमणि, सिने नाटक, नगर पालिका’ जस्ता शब्द मनोमानी ढङ्गले छुट्ट्याएर भद्रगोल सिर्जना गरिएको छ ।
माथि उल्लेख गरिएका तथ्याङ्क केही उदाहरण मात्र हुन् । यस्ता अन्योलपूर्ण, भ्रमपूर्ण भद्रगोल एवं भाँडभैलाहरू यसमा अगणनीय छन् । यस्तो स्थिति स्पष्ट देखिएपछि नेपाली भाषाका प्रयोक्ताका मनमा उठ्नसक्ने प्रश्नहरू यसप्रकार छन् ः
(१) नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कमलादी काठमाडौँमा २०६७ पुस २६–२८ मा आयोजित नेपाली भाषा सङ्गोष्ठीका निर्णयहरूलाई अनुसरण गरी २०७२ मा नेपाली बृहत् शब्दकोश नवौँ संस्करण तयार पारिएको भनी यस कोशको निर्माणमा संलग्न तथाकथित विद्वान्हरूले भनेअनुरूप मानिदिँदा पनि उक्त गोष्ठीमा निर्णय नै केही भएको छैन । कोष्ठमा (यसमा यस्तो लेख्नुपर्छ भन्ने फरक मत पनि देखिएको) भन्ने स्पष्ट उल्लेख भएको स्थितिमा यसलाई कसरी निर्णय मान्न सकिन्छ ?
(२) एउटै प्रकृति र प्रवृत्तिका शब्दमध्ये कतिपयलाई पदयोग गरी तथा कतिपयलाई पदवियोग गरी प्रविष्टि दिइनुले नेपाली भाषालाई सहज एवं सरल बनाउन खोजेको कि भएभरको शक्ति लगाएर नेपाली भाषालाई भद्रगोलको भासमा जाकी नेपाली भाषाप्रति नै भावी पुस्तामा वितृष्णा पैदा हुने स्थितिको सिर्जना गर्नाको अभिप्राय के हो ?
(३) ‘(यसमा यस्तो लेख्नुपर्छ भन्ने फरक मत पनि देखिएको)’ भन्ने भनाइलाई निर्णय मानेर उल्लेख गरिदिँदा पनि ती तथाकथित निर्णयअनुरूप यस कोशको निर्माण नभएको यथार्थ घामजस्तै छर्लङ्ग भए पनि यसमा संलग्न तथाकथित विद्वान्हरूले सङ्गोष्ठीका निर्णयअनुरूप नै कोश तयार पारिएको भनी बारम्बार झुटो वक्तव्य दिनु कुन अभीष्टले प्रेरित छ ?
(४) भाषाविज्ञानका बारेमा पटक्कै जानकारी नभएका सर्वसाधारण प्रयोक्ताले पनि सजिलै बुझ्नसक्ने हजारौँ हास्यास्पद उदाहरण बाहिर आइसक्दा पनि बारम्बार झुटो विवरण दिएर प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले नेपाली भाषाका प्रयोक्तालाई मूर्ख बनाउन खोजेको कि स्वयं मूर्ख हुनपुगेको जानकारी नभएको हो ?
(५) आधाआधा जोड्दा एक हुने गणितीय नियम हुन्छ । अक्षर वा वर्ण गन्ने हो भने दुईवटा आधालाई एउटा मानेर गन्ने कि नगन्ने ?
(६) प्रज्ञा प्रतिष्ठानले कोश खारेज गरेको निर्णय सार्वजनिक गरिसकेपछि पनि यसमा संलग्न हेमाङ्ग राज अधिकारीले ‘त्यसैले प्रज्ञाले अशुद्ध गरेको भए सच्याउला’ र बद्री विशाल भट्टराईले ‘अब छाद्यो, खेद्यो, गोद्यो, खाद्यो, लाद्यो’ लेख्नुपर्ने भयो भन्नेजस्ता हावादारी एवं गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुले के बुझिन्छ ?
(७) यसखाले भद्रगोलपूर्ण स्थितिको विरोध गर्दा ‘बाल अधिकारको हनन हुँदैछ, सजिलो गरी सिक्न पाउने अधिकार हनन भैसकेको छ’ भनी हेमाङ्राज अधिकारीले नेपाली बृहत् शब्दकोश (२०७२) मा व्याप्त भद्रगोले स्थितिको प्रतिरक्षा गर्नु कुन नियतले प्रेरित छ ?
(८) यस कोशमा उल्लेख गरिएको वर्णविन्यासलाई प्रज्ञा प्रतिष्ठानकै कर्मचारीले बेवास्ता गरी समकालीन साहित्य नामक पत्रिकामा समेत प्रयोग नगरेपछि हेमाङ्ग राज अधिकारीलाई प्रज्ञा प्रतिष्ठानको कुर्सीमा बसिरहन कुन नैतिकताले दिन्छ ?
अन्त्यमा, नेपाली भाषालाई माया गर्ने प्रयोक्ताहरूले नेपाली बृहत् शब्दकोशको दसौँ संस्करण प्रकाशन नभएसम्म र विद्यालय तहका पाठ्यपुस्तक नसच्च्याइएसम्म सचेततापूर्वक निगरानी राख्न अत्यन्त जरुरी देखिन्छ । हावादारी एवं गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै यस्ता सनकपूर्ण क्रियाकलापको पराकाष्ठा देखाउने भाषाविरोधी तथाकथित ‘विद् वान् हरू’लाई परिआए सामाजिक बहिष्कार गर्नसमेत तयार हुनुपर्ने बेला भइसकेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2073

लेखकका अन्य रचनाहरु