बुढ्यौली

- पुण्य खरेल

उनको अनुहारका चाउरीहरु हेर्दा मलाई आफूले बनाएको माछा मार्ने जालको नक्सा सम्झना आउँछ । उनको टाउकामा फुलेका कपाल हेर्दा बोहोरे खोरियामा भररर फुटेका कपासको एक थुप्रो सम्झना आउँछ । यस अनुहारका एक जोर आँखाले कति हिउँद, कति बर्खा, कति खडेरी, कति हुरी हुण्डरी हेरे ! के के बेहोरे, के के देखे ! उनका हात हेर्दा, उनका खुट्टाहरु हेर्दा त म एक पल्ट भावुक नै हुन्छु । अहो ! यी हातले कति घाँस काटे ! कति भाँडा माझे ! कति ढुङ्गामाटोसँग कुस्ती खेले ! तिसौं वर्षदेखि म उनको छिमेकमा छु । म उनलाई सारै राम्ररी चिन्दछु । उनको पुखली बोली, उनको साहसी जीवन शैली, उनको निर्भिकता मलाई सारै मन पर्ने कुरा थिए । जुनसुकै नारीमा उनका ती गुणको एक छेउ पनि पाइन्न । मन परेको कुरामा आफ्नो मासु काटेर दिन तैयार हुने तर हेपाइती परेको बोध भए ब्वाङ्गै जिउ छाडेर जाइलाग्ने उनको स्वभाव अरुभन्दा उनलाई अलग्याउने कुरा थिए । अरु भन्दा पनि उनले ठिक लागेर पक्ष लिएको कुरामा उनले अड्डी लिँदा उनले बोल्ने गरेका वाक्य, उनका तर्क यति बलिया लाग्थे, म आफूलाई निकै वादविवादमा खप्पिस ठान्ने मान्छे हुँ, तर म पनि अनजवाफ हुन्थें ।
उमेरमा कति राम्री थिइन् होला ! गोरी, ठुलो निधार, ठुलाठुला आँखा । मैले पहिला देखेको बेलामै पनि उनी साठी पैंसठ्ठीकी थिइन् । त्यति बेला पनि उनी एक भव्य महिला लाग्थिन् । उनी अति सामान्य सारी चोलोमै आमा, काकी भनिन एकदम लायक लाग्थिन् । उनका पति खसेकै निकै भैसकेको थियो । पछिल्लो पति उनका तेस्रो पति अरे । तिन वटै पतिपटि उनका छोराछोरी भएकै हुन्, छन् । पछिल्लो पतिपटिका छोरासँग उनका पछिल्ला दिनहरु बितिरहेका छन् । दिनमा एक पल्ट जसो पुगेर उनका खिरिला, छरिता, साहसले भरिएका कुराहरु सुन्ने गरेको म अचेल उनकामा जानै छाडेको छु । अचेल म उनकामा जान छोड्दै गरेको बेलामा मेरा मनमा अनेक प्रश्नहरु पनि जन्मँदै छन् । किन म साँझबिहानै जान्थें उनका आँगनमा ? किन म गएर त्यस छानोमुनि बस्थें एकाछेउमा थोत्रे मुढामा र उनका कुरा मनमुग्ध भएर सुन्थें ? जल्लोखल्लो नै सही उनका हातको चियासिया मिठो मानेर खान्थें ? किन म अचेल महिनौं दिन त्यता मुख नफर्काउँदा पनि त्यता जान जाँगर चलाउँदिन ? बुढाबुढी हुँदाको तितो यथार्थ बुझ्दै नबुझेर हो ? बुढाबुढी भएपछि मान्छे केटाकेटी जस्तो पिन्चे हुन्छ भन्ने लागेर हो ? जे होस् ! तर पटक्कै त्यतातिर जान खुट्टाहरु रमाइरहेका छैनन् ।
मेरो कुरा छोड्नोस् ! उनकै छोरी उनको घरअगाडि बाटाबाटै उनीसँग दोहोरो नबोली हिंडेको थाहा हुँदैछ मलाई । उनकै छोरो, उनीसँग सारै लेपासिने गरेको छोरो नै त्यहाँ झुल्किन छाडेको छ अचेल । उनलाई पालनपोसन गर्ने छोरो पनि झर्कोफर्को गर्दै गरेको सुन्छु अचेल । बुहारी पनि सासूसँग ठाडोठाडो बोल्छिन् भन्ने सुन्छु अचेल । कसरी हेलाँ हेलाँ हुँदै जान्छ नि जीवन ! बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश सम्झन्छु म । कम्मरमा टुईंक्क पटुका कसेर कति छरिती देखिएर घरघर पुग्थिन् उनी । उनका हातमा कि एउटा हँसिया हुन्थ्यो, कि एक मुठी साग हुन्थ्यो, कि काँधमा एक मुठो घाँस हुन्थ्यो । एक थोक न एक थोक यस्सो बोके झैं गर्दै, कामकै सिलसिलामा झैंं उनी गाउँ टेक्थिन्, गाउँ उज्याल्थिन् । पाँच–सात वर्ष भयो, उनी हिड्ने बाटामा अब झार जङ्गल पलायो भने हुन्छ । पोहोरसम्म त यसो लठ्ठीसठ्ठीको सहारामा महिना डेढ महिनामा आइपुग्थिन् पो ! अब त लठ्ठीले पनि शरीर थेगिन छोडेछ । जब पुग्यो असी कुनामा बसी भन्छन् । उनी त असीमा पनि ठमठमी नै पो हिड्दै थिइन् । अहिले बयानब्बे–त्रियानब्बे कतिकी भइन् !
अलिक ठुलो दारकी, धाङर मान्छे । बुढी भएपछि होचा, साना काँटीकालाई जस्तो सहज नहुँदो रहेछ । ढ्याप्पै ओछेन परिन् । त्यसमाथि अलिअलि गर्दै उनका कानले पनि धर्म पालना गर्न छोडेछ । सबैभन्दा मलाई त्यहाँ जान बिरत गराउने विषय चाहिँ त्यही हो । उनीसँग बात मार्नुपर्दा सारोसारो गाउँ नै थर्किने गरी कराउनु पर्छ उनले सुन्ने गरी बोल्दा । आँखाले पनि धर्म छाड्दै गयो विचरीको । अब उनसँग यसो भलाकुसारी गरौं न त भनेर जाने हो भने, आँखा त मधुरा भएभए, बोलीबाट चिनाउँ न त भन्दा उनका कानले पनि धर्म छाडे । अब उनी चिन्न नै छाडिन् ।
उनले पहिला पतिपटिको एउटा छोरो चार वर्षको भएर खस्ताको अत्यन्त दुःखद कथा सुनाएकी थिइन् । म त्यो सम्झिन्छु र ममा हाम्रो जातीय संस्कारका लोग्नेमान्छेको नीच र घृणायोग्य कठोरता उपर रोष उत्पन्न हुन्छ ।
काखको छोरालाई कोव्रmामा छोडेर विरामीलाई बिछ्यौनामा सुताएर रोपाईंमा गएकी उनले फर्किंदा त विरामी छोरो चिसो भएर अररिरहेको पाइन् । छोराको मर्मघाती मृत्युको खवर कसले सुनाइ देला आफ्ना पतिलाई ? कसले सुनाइदेला सासूससुरालाई ? अवहेलित बुहार्तन बेहोरिरहेकी र लोग्नेबाट समेत हेलाँ भएकी उनको मनमा लागेको डढेलो उनले मात्र बुझेकी थिइन् । लासलाई थाङ्नाथहराले छोपेर सानो छोरो काखीमा चेपेर उनी गइन् मूलघरमा र सुनाइन् भक्कानिँदै ‘पाले पुण्य मारे पाप’ भन्दै पाणिग्रहण गरेर कन्यादान लिएका आफ्ना पतिलाई । जुरुक्क उठेर आउला र आफ्नो यो आपतमा सहयोगी होला ठानेकी उनको हृदयलाई अझ ठोस्तै भनेथे पतिले– “ए, म¥यो त्यो तेरो छाउरो ? जा ! रुङ् आज ! यो रातिउँदो अब के गर्नु र ? बिहान भएपछि हो जङ्गल लाने ! म साथीहरु लिएर आउँला बिहान ! जा ! जाइहाल् ! फेरि उता स्यालकुकुरले लैजाला त्यस छाउरालाई र अर्को आपत होला !”
रुँदैरुँदै उछिट्टिएर फर्किइन् र छोराको लासलाई छाँद हालिन् । रोइन्, चिच्याइन् र मनमनै प्रतिज्ञा गरिन्, छोरो त म¥यो सँगसँगै लोग्ने पनि म¥यो ठानिन् । छोराको व्रिmयाकाज सकेपछि चटक्क छोडेर हिड्ने सम्झेकी उनलाई अल्झाउने सानो नानी काखैमा थियो । त्यो छोराप्रतिका कर्तव्यको डोरीले बाँध्यो उनलाई । तर त्यो डोरी व्रmमशः लोग्नेका त्यसपछिका कुकर्महरुले मक्किँदै मक्किँदै गयो । काखको छोरो पिठ्यूँमा हालिन् र एक दिन पाइला मेट्तै मेट्तै हिडिन् अनिश्चित गन्तव्यतिर । ‘लडेको ढुङ्गाले पनि वास पाउँछ’ उनले सुनेको यो टुक्का कतिको सारपूर्ण छ त ? उनका मनमा अनिश्चित भविष्यको त्रास थियो तर त्यस घरमा, त्यस्तो निठुरी लोग्नेमान्छेलाई भर गरेर बस्तै नबस्ने दृढता पनि थियो ।
पुसका दिन मधेशतिर झर्ने मान्छेहरुको एउटा हुलमा आफैंआफ मिसिएर मधेश झरिन् वास बस्तैबस्तै । चारपाँच दिन लाग्ने बाटो हिड्नु छ । चार वर्षको नानी बचाउनु छ ।
“अनि यस्तो सानो नानी लिएर कता हिड्नु भएको ?” सोध्थे मान्छेहरु ।
“मधेशतिर ! मधेशमा दुःख गर्दा अलिक सजिलै खान पुग्छ अरे !” उनले उत्तरा गर्थिन् । चिनेजानेका कोही होलान् नहोलान् । भए कहाँ होलान् केही थाहा छैन । कुहिराको काग झैं पखेटा चाल्दैछिन् ।
“मधेश गएर कहाँ बस्ने त ?” सोध्थे मान्छेले ।
“खोइ ऽ! पाइएला नि कतै वास ! लडेका ढुङ्गाले पनि वास पाउँछ भन्छन् !” त्यही टुक्का उनलाई पनि सहारा भयो ।
नभन्दै मधेशमा पुगेर एउटा मगरजीका आडपिछामा बस्न पाइन् । काखे छोरो थियो साथी भनेपनि, सहारा भनेपनि । काखे छोराकै कारण हो कि, उनको उमेर, रुप र वैंशका कारणले हो, जे होस् दयामाया अरुहरुबाट पाइन् उनले । बनीबुतो गरेर, पाखुरा बजाएर, आफ्नो बलवर्कत र जाँगरले आफूलाई पाल्दै गइन् । दुई वर्ष तिन वर्ष बितेका थिए क्याहो ! गाउँमा एक कान दुई कान मैदान भयो ‘उनी मगरजीसँग लहसिइन्’ । नभन्दै उनी मगरजीकै दोस्री पत्नी बन्न पुगिन् । एउटा बच्चो पाइन् । बच्चाको नाक उनलाई आडअडेसो दिने मगरजीको नाकसँग दुरुस्त मिल्थ्यो साँच्चै ।
एक प्रकारले उनले जीवनको स्थिरता प्राप्त गरिन् झैं थियो । सातआठ बिघा जग्गाका मालिक मगरजीले उनलाई एक बिघा जग्गा लेखिदिएर एउटा झुप्रो पनि हाल्दिएर राखेथे । उनलाई त्यस बेला देख्ता, उनले पहिलो पति छाडेर ठिकै गरिन् झैं लाग्थ्यो । उनका नवपति मगरजीको वास साविकको आफ्नो घर र त्यो झुप्रोमा वरावर झैं थियो । गाउँसमाजको चेतना ‘मर्दका दस वटी’ भन्ने संस्कारबाट मुक्त भैसकेको थिएन । केही महिलाहरुको नजर उनीमाथि अलिक टेढो भएपनि मगरको हकडक त्यहाँ अलिअलि कायम भएकाले त्यो टेढो नजर घाममा परेको सिस्नो जस्तो ओइलाउँदै गयो । उनले मधेश आएको पाँचौं वर्षतिर हुनु पर्छ दोस्रो बच्चा पनि पाइन् । व्रmमशः हुर्काइन् । उनको हँसिलो व्यवहार, निरन्तरको लगनशीलता, कपटहीन व्यवहार आदिले टेढा नजरहरु पनि सोझिए । धेरैको सद्भाव पाइन्, माया पाइन् ।
उनको जीवनले सोझो बाटो हिड्नु नहुने हो कि क्या हो ! उनले हाँसेर जीवन बिताउन पनि नहुने हो कि क्या हो ! अचानक हृदयाघात भएर मगरजी बिते । उनले मगरपतिको काजव्रिmया गरिन् । काजव्रिmया गर्दाकै क्षणदेखि त्यहाँ, त्यस गाउँमा उनको जीवन फेरि फलामको चिउरा चपाउने जीवनमा बदलियो । मगरजीको जीवन रहिञ्जेल त त्यही झुप्रो पनि महलभन्दा सुखको थियो, तर मगरजीको निधनपछि एक्कासि घामले ओइलाएको छिप्पिएको सिस्नो पानीमा चोबिएर ब्यूँतिए जस्ता हुन लागे । उनका हितैषीहरु हराउँदै गए । मगरजीका जेठी पत्नीको परिवार उनलाई जरिउपर गर्न खोज्ने भए । अब उनको पक्षमा ठिङ्ग उभिने कोही भएन । ‘विपत्तीमा कोही छैन दाजुभाइ’ भने झैं भयो उनलाई । तैपनि उनी निर्भिकता पूर्वक त्यो एक बिघा जग्गाको झुप्रोमा दरा खुट्टा टेकेर उभिरहिन् । तिन जना छोराछोरी उनका साथ थिए । उनले त्यहाँ आउँदा ल्याएको छोरो त अब उनलाई ढाडस दिने, ‘म छु नि आमा !’ भन्ने भएको थियो । कति काममा उनीसँग हात बाँड्ने पनि गथ्र्यो ।
दिन बित्दै थिए, तर बित्ने दिनहरु अफ्ठ्यारो गरी घस्रिंदै बित्थे । विपत्ती आउँदा हवाज चढेर आउँछ, जाँदा भने गोरु गाढामा जान्छ भन्छन् नि मान्छेहरु । उनका बिपत्ती पनि बिस्तारो बिस्तारो पाइला चाल्थे झैं लाग्थ्यो । हाम्रो समाजमा कृषि कर्म गरिखाने परिवारको जीवन कति धेरै पतिपत्नीको संयुक्त जीवनको माग गर्ने छ नि ! घरमा खानपिनको काम गर्न, घरलाई घर जस्तो बनाउन पत्नी अनिवार्य जस्तो, घरबाहिर खेतीपातीको काम गर्न, खनजोतलाई व्यवस्थित गर्न पति अनिवार्य जस्तो, । उनको एक बिघा जग्गालाई खनजोत गरेर त्यसबाट खानेलाउने उब्जाउन एउटा जुँगामुठे लोग्नेमान्छे आवश्यक थियो । एकातिर आइमाईले हलो जोत्न हुँदैन भन्ने, अर्कातिर लोग्ने नभएकी आइमाईको जग्गा खनजोत गर्न कोही लोग्नेमान्छे आएमा दस किसिमले शङ्का पनि गर्ने हाम्रो समाज कति निठुरी छ नि !
यही परिवेशमा कुहुनु र पहरो जस्तो कठिन जीवनलाई आत्मसात गर्न अभिशप्त थिइन् उनी । अब चारपाँच वर्ष पर्खिन सक्ता त जेठा छोराले त्यो लोग्नेमान्छेको जिम्मेवारी समाल्थ्यो होला । बुहारी पनि भित्रिन्थी होली । उनका आँगनमा अलिक सहजै खुसीका फुलहरु फुल्थे होला । तर ती चारपाँच वर्ष ती चौधपन्ध्र सय दिनहरु चौधपन्ध्र सय रात नबिती कहाँ बित्थे र ! एउटा वर्षमा दुई बाली खेती लाउनु पर्छ । एक बालीका लागि चार पाँच चास जोत्नु पर्छ । एक बिघा जग्गा एक चास जोत्न छ–सात दिन लाग्छ । अहो ! लगातार एक महिना जोत्नु र बाली लाउनु, अनि बाली उठाउन त्यस्तै । एक दिन, दुई दिन आठपाँच लाठे लगाउँदा कहाँ उठ्थ्यो र खेतीपाती !
हेर्दाहेर्दै उनका घरमा एउटा लाठेमान्छे, एउटा पहाडे मान्छे नियमित काम सघाउन थाल्यो । एउटी लोग्ने नभएकी आइमाईका घरमा एउटा लाठेमान्छे बिहान बिहानैदेखि रातसाँझसम्म काम सघाउँछ । उनी त्यसलाई खानाखाजा गर्छिन् । मिठो मसिनो बोलीचाली गर्छिन् । हाम्रो गाउँसमाजलाई एक दिनको, एक मुस्कानले काम पुग्छ, कुरा उडाउन पुग्छ । उनलाई उडाउन के चाहिन्छ अरुथोक ? कुरा उड्न सुरु भैगए मगरजी बितेको पहिलो वर्षदेखि ।
यस्तै परिवेशले अर्को एउटा लोग्ने मान्छे आयो उनको जीवनमा । कोनि, त्यो लोग्नेमान्छे पनि लडेको ढुङ्गो भएरै आएको थियो कि ! जेसुकै होस्, उनको जीवनले फेरि नियमित प्रवाह सुरु ग¥यो । कुरा उडाउन खोज्नेहरुको सातोपुत्लो खाँदै, पत्थरका जवाफ दिँदै उनी जीवनको बाटोमा अडिग रहिन् । मगरजीबाट प्राप्त एक बिघा जग्गा घुनपुत्ली नलगाईकन आफ्नो नाममा धनीपुर्जा निकाली छाडिन् । नयाँ लोग्नेमान्छेसँगको उनको जीवनले एउटा छोरो, एउटी छोरी थप प्राप्त भए । जम्मा पाँच छोराछोरीकी आमा उनी अहिले बार्धक्य जीवन हिँड्दै छिन् । ‘जराकष्टं’ उनी भोग्दैछिन् ।
उनी यसै आँखा चिम्लेर जीवनलाई केटाकेटीदेखि यता सम्झेसम्मका कुराहरु मनमा ल्याउँछिन् । त्यो बलबर्कत हुँदाको दुःख, शोक र पहिलो लोग्नेका मुटु छेड्ने वचन पनि सम्झिन्छिन् । ‘मगरजी’ जीवनमा आएको क्षण सम्झिन्छिन् । ती बितेको क्षण सम्झिन्छिन् । अर्को लाठे आएको, ती पनि बितेको सम्झिन्छिन् । उनका सुकेका आँखा त्यसै रसिला झैं हुन्छन् । उनको अनुहार साउनको आकास हुन्छ ।
ती चारपाँच जना छोराछोरी जन्माउँदाको बेगल बेगल स्थिति सम्झिँदा अहिले पनि उनका आङमा काँडा उम्रिन्छन् । ती जन्मिए, जन्मिएपछि हुर्किन केहीले पनि छेक्तो रहेनछ । हुर्किए, तिनका प्वाँख पलाए, पखेटा लागे । उस बेलाको बज्राँठका हाँगा जस्ता हात गोडा भएको शरीर पनि अहिले शिथिल भएको छ । जस्तै अँध्यारामा पनि बाघका झैं बाटो पहिल्याउने आँखा अहिले लगभग दृष्टिहीन भएका छन् । कागको फुल चोर्ने जस्ती चलाक अहिले त्यस्सै गुमसुम भएकी छिन् । भोक तिर्खा के हो ? जाडो के हो ? उनले उमेरमा बुझिनन् ? अहिले जब गधाको उमेर हो कि ? लाटोकोसेराको उमेर हो भोगिरहेका बेला उनलाई निकै अप्ठेरो परेको छ ।
सदा झैं आज बिहान पनि चार पहर रात छँदै निद्राले छोड्यो । ओर्किनु फर्किनु, फेरि ओर्किनु फर्किनु, फेरि पनि ओर्किनु फर्किनु गरिन् । निद्रा फिटिक्कै कता भाग्योभाग्यो । उज्यालो भयो कि भनेर झ्यालतिर अनुहार फर्काइन् । निस्पट्ट अँध्यारो । अलिअलि उज्यालो त आँखाले नै भेउ पाउँदैन । भाले वासेनवासेको कानले सुन्दैन । चराचुरुङ्गी पनि कराउँदा हुन् कि ? अचेल सुविउ चरो पनि कराएको सुन्दिनन् । यसो मुन्टो उठाएर कान सुने जस्तो गरिन्, अहँ केही चालचुल छैन । उनका आङमा अलिक जाडो थपिए जस्तो भयो । असीको उमेर के भन्नु सत्तरीकै देखि भने हुन्छ उनलाई दिन काट्न भन्दा रात काट्न अप्ठेरो हुन थालेको हो । झन् हिउँदका समुद्र जस्ता लामा रात त पटक्कै छिचोल्न मुश्किल । कुहुना र घुँडा ठिहि¥याएको ठिहि¥याएकै गर्छन् । पटक्कै तात्तैनन् । ‘घुँडाका सिङ धोतीका पिङ’ भन्दै सानामा घरका बाबैलाई जिस्क्याएको सम्झिन्छिन् ।
घस्रिँदै घस्रिँदै गएर दैलो उघार्छिन् । उज्यालोको लत्को कतै छैन । निस्पट्ट अँध्यारो छ । दैलो ढेप्छिन् र फेरि ओछेनतिरै वामे सर्छिन् । घरका सब चकमन्न निदाएका छन् । छोराबुहारीहरुको नातीनातिनीहरुको कतै क्यै चालचुल छैन ।
ओछेनमै गुँडुल्किन्छिन् । जाडोले झम्टे जस्तो गर्छ । छोरो उठेर आए हुन्थ्यो, बुहारी आए हुन्थ्यो, आगो बालेर एक गिलास तातो पानी दिए पनि खान्थें पेटभरि जस्तो भयो । कराएर बोलाउन पनि अप्ठेरो लाग्यो । आफूलाई सासूले वचन लाएको सम्झिन् र चुपचाप गुँडुल्किरहिन् । ‘कचकच गर्छे यो बुढी रातिउँदो !’ भन्छन् होला भन्ने लाग्यो ।
अहो ! असमेलको पर्खाइपछि आजको उज्यालो भयो । उठे छोराबुहारी पनि । उठे नातीनातिनीहरु । आआफ्ना ध्याउन्नामा लागे । त्यसमाथि नातीनातिनीहरुको ढिपी र कल आफ्नै पाराको छ । तिनीहरुका फर्माइस पुरा गर्न नै छोरालाई धौ धौ छ । यो चाहियो र उ चाहियो भनेर हैरान पार्छन् । त्यसमाथि आफू साँप्रामाथि पिँडो थप बन्नु कसरी ?
नातिनातिनीहरुका माग पुरा गरेर छोराबुहारी आफूतिर फर्कलान्, अलिकति तातो पानी देलान्, अगेनामा आगो बाल्लान् छेउमा बस्न बोलाउलान् भनेर पर्खिंदापर्खिंदा पर्खिंदापर्खिंदा घाम झुल्किए । ओछेनबाट घस्रिंदै घस्रिंदै पाइखाना तिर लागिन् ।
“एक छिन् चुपचाप सुतिरहन छाडेर यो चिसामा किन निस्केकी आमा ?” छोराले झर्किएको स्वरमा चिच्याएरै सोध्यो ।
“पाखा जानु परो नि त हाओ अनि ! कि ओछेनमै गर्नु ? एक गिलास तातो पानी खान पनि मुन लाग्याथ्यो” बोलिन् उनी ।
“मुकुन्दे पसेको होला पाइखानामा ! एक छिन सुत्नू ! सुत्नू एक छिन् !! पानी न सानी एकाबिहानै ! अहिले दिन्छे बुहारीले । उज्यालो राम्ररी भैसक्न पाएकै छैन । अघि नै कसकसका के के फर्माइस् पुरा गर्ने हो त्यो एउटीले ?” खस्रोखस्रै बोल्यो छोरो ।
“ए ! एक गिलास तातो पानी मागेको पनि ‘फर्माइस्’ भयो ? सारै मुगो कुरा पो मागें नि मैले ? लु लु ! भो पर्दैन !” अलिक दुखित झैं बोलिन् उनी ।
“ए आमा पनि ! गोरु बुढो भएपछि भिर खोज्छ, मान्छे बुढो भएपछि निहुँ खोज्छ भन्छन्, त्यस्तै पो गर्नुहुन्छ ! एक छिन् सुतिराख्नू न यो चिसामा भनेको ! त्यस्सै ...” छोरो बुद्बुदायो ।
“भयो, छोरा भयो ! निहुँ पनि खोज्दिन, खोज्या पनि होइन । कोसँग निहुँ खोज्ने मैले ? हात गोडा बसे, कान बन्द हुँदै गए, आँखा बन्द भैसक्न लागे । बर्कत न बुता छानामा खुट्टा ! त्यसमाथि, अब को मेरो सत्रु छ र निहुँ खोज्नु ? मैले जन्माएर हुर्काएको छोरासँग एक गिलास तातो पानी माग्दा छोरो ओठे जुवाफ लाउने अनि म निहुँ खोज्ने ? ...” सुँक्सुँक् गर्न लागिन् उनी ।
“ए मुकुन्दे बज्या ! कतिवेर बसिरहन्छस् पाइखानामा ? सकिनस् ?” नातीलाई हप्कायो छोराले ।
“म ट्वाइलेटमा छुइन त ड्याडी ! म त यता पो छु त !” अर्कैतिर बोल्यो मुकुन्द ।
आमा र छोराको सवाल जवाफ सुनिरहेकी बुहारीले तातो पानी गिलासमा लिएर सासूका छेउ पुगिन् र भनिन्– “लु आमा तातो पानी !”
उनले सुनेको नसुन्यै गरिन् । नसुनेकै हुन् पनि कि ?
“आमा ! आमा !!” एक हातले आँखा चिम्लिएर बसेकी आमालाई यसो हल्लाइन् र भनिन्– “तातो पानी ल्याएकी !”
“ऊ तेरा पोइलाई दे ! यत्रो फर्माइस् कसरी पुरा गर्छेस् तँ ?” मुख छोप्तै व्यथित भएर भनिन् ।
“ए आमा पनि ! मुकुन्देले दिक्क लगाएका बेला के भन्नुभयो ? लिनू पानी !”
“चाहिँदैन ! चाहिँदैन ! अबदेखि फर्माइस् पनि गर्दिन !” जुरुक्क उठ्न खोजिन् । झन्नै लडिन् पनि । पातलो ओड्नेसँग उता घाम आएको ठाउँतिर घस्रिने छाँट गरिन् ।
पानीको गिलास त्यहीं छोडेर बुहारी यता चुलातिर लागिन् । उनको त्यो चाला देख्ता ‘घुक्र्याए घुक्र्याउँदै गर !’ भनेर दिक्क मानेको छाँट देखिन्थ्यो । नभए त हतेरेर सासूआमालाई घाम लागेका ठाउँमा लगेर बसाउँदा हुन्थ्यो । अनि तातो पानी हातमा राखिदिँदा हुन्थ्यो । उता छोरो पनि त्यो दृश्य हेरेर ‘ठिकै भयो बुढीलाई’ भन्ने ठान्या जस्तो लाग्थ्यो ।
“खोइ काल पनि कता भाग्यो भाग्यो ! तल्लाघरे माथ्लाघरेका बुढाबुढी त असी पनि पुग्नै नपाईकन बिते । मै पापीनीलाई चाहिँ किन कालले साँचेको साँच्यै गरेको हो ? यस्तो कसिँगर भएर बाँचिरहनु त ... ! भोक पनि लाग्ने, खान पनि नरुच्ने, उभिन बस्न पनि नसक्ने अनि सुत्न पनि नहुने ! ... थुइइया ऽ! त्यस्तो बाघसँग लाप्पा खेल्छु जस्तो लाग्ने शरीर यस्तो बिकामे हुने ! थुइया ऽ! ... केको सजायँ बेहोर्नु पर्ने मैले चाहिँ । आफ्ना साथीसँगी, दौंतरी सबै गैसके ! अझै पो बाँच्न मुन लाग्ने ? थुइया ऽ! ती पल्लाघरे मास्टर नानी आइरहन्थे पैला पैला त ! कुरा गर्थे, कुरा सुन्थे, पहिले पहिलेका दुःखसुखका । अचेल त तिनले पनि कालले जस्तै चटक्कै माया मारे पो ए ! ती आए त यी बज्याबजिनीले तातो पानी दिनसम्म झर्कोफर्को गरेको कुरा भन्ने थिएँ नि ! ती पनि आउँदैनन् । अलिक धेर विमारी भएँ र ओछेनमै फोहोर पार्न थालेँ भने, ओखती मुलो गर्न मुँगो अस्पताल लानु प¥यो भने के गर्दा हुन् यिनीहरु ! कस्तो कसिँगर भइयो ! थुइया ऽ!” एकलै गनगनाइ रहिन् उनी ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2073

लेखकका अन्य रचनाहरु