डायस्पोरिक उचाइकेन्द्री युगीन कथाहरू : मध्यधार

- डा.लेखप्रसाद निरौला

१. विषय परिचय
अध्ययन अध्यापन, वैवाहिक सम्बन्ध, राजनीतिक प्रभाव, प्राकृतिक प्रकोप, धार्मिक हिंसा, व्यापार व्यवसाय र रोजगारको आवश्यकता आदि जुनसुकै कारणबाट भए पनि विदेशमा पुगेर लामो समयसम्म त्यहीँ बसोबास गर्ने प्रवृत्ति स्वरूप डायस्पोरिक समाज निर्माण हुने गर्दछ । विशेष गरी अविकसित वा अशान्त मुलुकहरूबाट विकसित वा शान्त मुलुकहरूतर्फको नयाँ बसोबास नै डायस्पोरिक समाजको आधार बन्ने गर्दछ । यसरी निर्माण भएको डायस्पोरिक समाजमा एउटा परिवेशबाट अर्को नयाँ परिवेशमा पुगेर बसोबास वा व्यवसाय गर्ने प्रवृत्तिसँगै अनेकौँ किसिमबाट व्यक्तिगत, सांस्कृतिक, आर्थिक र राष्ट्रिय आदि सन्दर्भहरूले प्रभाव पार्ने गर्दछन् । कतिपयलाई आत्म सम्मान वा पहिचानको सङ्कट सिर्जना हुन्छ भने कतिपयलाई बिरानोपनका कारण गृहस्मृतिले सताउन थाल्दछ । अझ कतिपय त जीवन सङ्घर्षबाट यति पीडित वा त्रसित हुन्छन् कि उनीहरूलाई हरेक क्षण अनिश्चितता, असुरक्षा र अन्योलताले पिरोलि रहन्छ । अनि, द्वैध मानसिकताका साथ अन्योलग्रस्त संशयपूर्ण जीवन बिताउन बाध्य हुनुपर्छ । वस्तुतः यस्तै अन्योलग्रस्त पीडित मनोदशा र अस्तित्वको खोजी आदि सन्दर्भहरूको अभिव्यक्तिबाट डायस्पोरिक साहित्य सिर्जना भएको पाइन्छ । यसरी लामो समयसम्म बसोबास गर्ने डायस्पोरिक समाजका सदस्यहरूबाट अस्तित्व वा परिचयको खोजीसँगै सिर्जित साहित्यले नै डायस्पोरिक स्वरूप प्राप्त गर्दछ । अतः स्वदेश छोडेर परदेश जानुपर्ने जेजस्ता कारणहरू भए पनि बिदेसिने क्रमकै उपजका रूपमा डायस्पोरिक साहित्य सिर्जना भएको मानिन्छ ।
प्रारम्भमा डायस्पोरिक नेपाली साहित्यको पृष्ठभूमि भारत, चिन, बर्मा लगायत एसियन मुलुुकहरू मात्र रहे पनि पछि आएर सार्क राष्ट्रहरूको परिधिभन्दा बाहिरको परिवेशसँग यसको सम्बन्ध गाँसिएको छ । क्यानाडा, युके, जापान र युएसएमा मात्र सीमित नरही डायस्पोरिक नेपाली साहित्यको आयतन दिनानुदिन विश्व परिवेशसम्म विस्तार हुँदै गुणात्मक उपलब्धितर्फ उन्मुख भएको अवस्था छ । त्यसैले, नेपाली डायस्पोरिक साहित्यलाई उत्तर अमेरिकाली, ल्याटिन अमेरिकाली, युरोपेली, एसियाली, ओसेनियाली र अफ्रिकाली जस्ता क्षेत्रगत नामका आधारमा विभाजन गर्ने प्रवृत्ति पनि देखा परेको छ । जेहोस्, परदेशी भूमिबाट अस्तित्व र पीडा मिश्रित अभिव्यक्तिहरूलाई कविता, कथा, उपन्यास र नियात्रा जस्ता अनेक साहित्यिक विधाहरू मार्फत प्रस्तुत गर्ने प्रवृत्ति स्वरूप डायस्पोरिक नेपाली साहित्यले जीवन्तता पाउँदै आएको छ ।
समसामयिक कथाकार सन्जु बजगाईँ नेपाली डायास्पोराका चर्चित कथाकारमध्ये एक हुन् । सन् १९९७ देखि कविता विधाबाट नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेकी सन्जुको पहिलो प्रकाशित कथा सम्बन्धको दूरी (सन् २००६) हो । यिनका पन्ध्रवटा कथाहरूको सँगालोका रूपमा समुद्र र सपना (सन् २०११) शीर्षकको पहिलो कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । सन् २००४ देखि २०११ सम्म ब्रसेल्स र त्यसपछि हालसम्म बेलायती भूमिबाटै नेपाली साहित्यमा कलम चलाउँदै आएकी सन्जुको यो मध्यधार दोस्रो कथा सङ्ग्रह हो । यसमा पनि पहिलो कथा सङ्ग्रहमा जस्तै पन्ध्रवटै कथाहरू सङ्कलित छन् । साथै, पहिलोमा जुन किसिमले सामाजिक, राजनीतिक, आर्थिक एवम् वैयक्तिक अनुभूति र भोगाइजन्य सन्दर्भहरू अथवा तत्तत् क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूको चिरफार भएको थियो; त्यसै किसिमको धरातलमा रहेर अझ नयाँ विषय र बान्कीयुक्त कथाहरू सङ्कलित छन् । यसर्थ, पहिलो कथा सङ्ग्रहमा प्रस्तुत गरिएका विशेष गरी डायस्पोरिक जीवन भोगाइका विविध आयामहरूकै परिणति स्वरूप समय सान्दर्भिक विषय वस्तुहरूको गम्भीरतालाई समेत संयोजन गरी यो कथा सङ्ग्रह तयार भएको देखिन्छ ।
वास्तवमा प्रस्तुत कथा सङ्ग्रहमा डायस्पोरिक जीवन सङ्घर्षका अनेक आयामहरू मात्र हैन, अन्तर्राष्ट्रिय स्तरमा विकसित सामाजिक सांस्कृतिक मैत्री सम्बन्ध र युगीन परिवेशजन्य परिस्थितिहरूको समेत दिग्दर्शन भएको छ । अतः परदेशमा केवल अस्तित्वको खोजी गर्नु मात्र नभई त्यहाँको सामाजिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक, यौनिक र प्राकृतिक लगायतका अनेक नवीतम सन्दर्भ वा वस्तुस्थितिबारे प्रकाश पार्नु नै यस कथा सङ्ग्रहको वैशिष्ट्य देखिन्छ ।

२. अस्तित्वको खोजी
कथाकार सन्जुको प्रमुख वैशिष्ट्य भन्नु नै डायस्पोरिक विषय सन्दर्भहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्न सक्नु हो । त्यसैले, यसभित्रका प्रायः सबैजसो कथाहरू डायस्पोरिक विषय सन्दर्भबाट प्रभावित देखिन्छन् । खास गरी परदेशीय जीवन निर्वाहका क्रममा व्यक्ति जीवनभित्र जागृत हुने अस्तित्वको खोजीका कारण नै यिनका कैयौँ कथाहरू डायस्पोरिक उचाइतर्पm उन्मुख बनेका छन् । वास्तवमा डायस्पोरिक जीवन भनेकै एउटा विशिष्टि परिवेशबाट अर्को विशिष्ट परिवेशमा लामो समयसम्म जीवन निर्वाह गर्नु हो । घरदेश छोडेर परदेश पुगेपछि त्यहाँका हरेक गतिविधिमा आफ्नो स्वाभिमानपूर्ण उपस्थितिका लागि प्रयास गर्नु हो । अथवा, आफ्नो जन्मभूमि वा घरदेशको अस्तित्वमाथि कहीँ कतैबाट प्रहार भएमा त्यसको प्रतिकार गर्ने प्रवृत्ति देखाउनु पनि हो । त्यसैले डायस्पोरिक साहित्यमा सबैभन्दा बढी मार्मिक विषयका रूपमा आत्म सम्मानको खोजीलाई लिने गरिन्छ । हरेक व्यक्तिमा आत्म सम्मान वा अस्तित्वको खोजी गर्ने आन्तरिक प्रवृत्ति रहन्छ नै । अझ परदेशी भूमिमा व्यक्तिको वैयक्तिकताभन्दा पहिले राष्ट्रियताको सन्दर्भले प्रभाव पार्ने भएकाले पनि राष्ट्रियता केन्द्री आत्म सम्मानको कुराले डायस्पोरिक साहित्य अनुप्राणित हुने गर्दछ । यस सङ्ग्रहभित्रका मिस एमा र जिन्जरे, मिथ्यापवाद, म्याडम ‘बी’, मनसा र मध्यधार लगायतका कथाहरूमा कतै राष्ट्रियताको सन्दर्भसँग जोडिएर अथवा कतै वैयक्तिक सन्दर्भसँग जोडिएर मूलतः अस्तित्वको खोजी गरिएको छ ।
मिस एमा र जिन्जरे कथामा म पात्रलाई जिन्जरेका सामु नेपाली राष्ट्रिय सङ्गीतको खोजी गर्नुपर्ने समस्याले अस्तित्वको खोजीतर्फ अभिप्रेरित गराएको छ । जिन्जरेलाई जसरी भए पनि नेपाली राष्ट्रिय सङ्गीत यही हो र यो उत्कृष्ट प्रकृतिको छ भन्ने प्रमाणित नगरेसम्म म पात्रमा बेचैनी कायमै रहेको छ । त्यस्तै मिथ्यापवाद कथामा अफगानिस्तान मूलकी नोरिनको जीवन सन्दर्भमा पनि राष्ट्रियता केन्द्री आत्म सम्मानको खोजी नै महत्त्वपूर्ण बनेर देखा परेको छ । यहाँ नोरिन जस्ता पात्रका माध्यमबाट विशेषतः अमेरिकी क्षेत्रमा अफगानिस्तानीहरूको राष्ट्रियताप्रति हेर्ने दृष्टिकोण परिवर्तन नभएकाले आत्म सम्मान र सुखद दाम्पत्य जीवनमा ठेस पुगेको कुरा दर्साइएको छ ।
डायस्पोरिक साहित्यमा परदेशको वातावरणबाट उत्पन्न कारणहरूकै पृष्ठभूमिमा वैयक्तिक जीवन सन्दर्भसँग गाँसेर आत्म सम्मानको खोजी गर्ने प्रवृत्तिलाई पनि समेटिएको पाइन्छ । यहाँ म्याडम ‘बी’ कथाकी म्याडमको पारिवारिक पृष्ठभूमि नेपाली परिवेशबाट तयार भए पनि उनलाई डायस्पोरिक परिवेशका कारण उत्पन्न सङ्घर्षपूर्ण जीवनले जटिल समस्या सिर्जना गरेको छ । त्यति राम्रो उनको पारिवारिक जीवन लन्डनको दुई बर्से बसाइ पुरा हुँदा नहुँदै श्रीमान्मा आएको परिवर्तनका कारण निराशपूर्ण अवस्थामा रूपान्तरित भएको छ । त्यस्तै मनसा कथाकी म पात्रलाई दुबै छोरीहरूको बढ्दो तारुण्य र सौन्दर्य अनि श्रीमान्को छोरीप्रतिको अनुरागले असाध्यै पिरोलेको छ । उनी सधैँ चिन्तित अर्थात् मनोरोगी जस्ती बनेकी छन् । यसरी प्रस्तुत कथामा मनोवैज्ञानिक किसिमबाट म पात्र जस्ता नारी चरित्रले समय सापेक्ष सुखद परिवेश भोग्न नपाएको भन्ने आक्रोश व्यक्त गरिएको छ । त्यसै गरी मध्यधार कथामा पनि नेपाली मूलको म पात्र गुजराती मूलकी अनन्तीसँग वैवाहिक जीवनमा बाँधिएपछि बेलायत आएको अवस्थालाई दर्साइएको छ । उनीहरूबाट अम्बरीश जस्तो छोरो हुर्किँदै गइसकेको सन्दर्भमा समेत म पात्रलाई अनन्तीसँगको सम्बन्धबाट आत्म सम्मान मिलिरहेको अनुभूति हुन सकेको छैन । यसको अर्थ डायस्पोरिक परिवेशमा नारी र पुरुष दुवैले वैयक्तिक अस्तित्वका लागि सदैव लालायित हुनु परिरहेको रहस्य उद्घाटन भएको छ ।
जहोस्, डायस्पोरिक परिवेशमा कि त राष्ट्रियतासँग जोडिएर कि त वैयक्तिक जीवनसँग जोडिएर आत्म सम्मान वा अस्तित्वको खोजी भइरहेको कुरा देखा पर्दछ । त्यस क्रममा कतै आक्रोश, कतै सङ्घर्ष र कतै आन्तरिक कुण्ठा जस्ता विषयहरूले पनि प्रभाव पार्ने गरेको पाइन्छ । यस दृष्टिले कथाकार सन्जुका उक्त कथाहरू उल्लेखनीय रहेका छन् ।

३. गृहस्मृति
कथाकार सन्जुका कथाहरूमा परदेशी भूमिको बसाइसँगै गृहस्मृतिका विषय सन्दर्भहरूले पनि प्रमुख स्थान पाएका छन् । स्वदेशबाट परदेशमा जीवन निर्वाह गर्दाको दीर्घकालीन समयभित्र अनेकौँ स्वदेशी सन्दर्भहरूले मानव मनलाई प्रभाव पारिरहने हुनाले तिनै स्वदेशप्रति अनुरक्त मानव मनलाई डायस्पोरिक साहित्यले प्रतिबिम्बित गर्दछ । यहाँ मिस एमा र जिन्जरे, मिथ्यापवाद, मझधारमा एक मन, मद्र्याइँ र म्लान कथाहरूमा यस्तो अवस्था देखिन्छ । मिस एमा र जिन्जरे कथामा जिन्जरेले आफ्नो देशको बारेमा ‘आयरल्यान्डस् किङ्ग अफ कन्ट्री म्युजिक’ भनेर चिनाउँदै बिग टमको बायोग्राफी गुगल झैँ प्रस्तुत गरेपछि म पात्रलाई आफ्नो देशको गीतसँगै स्वदेशस्मृतिले सताएको छ । त्यस्तै मिथ्यापवाद कथाकी म पात्रलाई नोरिनको मैत्री व्यवहारले स्वदेशमा देखा परेका विकृतिको स्मरण गराएको छ । उनलाई आफ्ना देशका सडकहरू पनि मान्छेका रगतले पोतिएको अथवा अहिले पनि भाइ भाइसँगको झगडाले देश पुरै थलिएको वा एउटै देशभित्र पनि थेप्चा र चुचा नाकको विभाजन देखा परेको तथा संस्कार र संस्कृतिको बहिष्कारमा लाग्ने प्रवृत्ति बढेकोमा चिन्ता भएको छ । अर्को मझधारमा एक मन कथाकी श्रीमती उपाध्यायलाई श्रीमान्ले शुक्रबारैदेखि रक्सी पिएको, छोराछोरीले राति अबेरसम्म घर नआएको र छोरीले अफ्रिकनसँग प्रेम गरेको जस्ता विषयले पिरोल्न थालेपछि अन्ततः स्वदेशी काखमै फर्किने इच्छा जागेको छ ।
त्यस्तै मद्र्याइँ कथामा पनि नेपालीहरूले खाने कुराका लागि लाइन मिचेको, औपचारिक अन्तर्राष्ट्रिय परिवेशभित्रै ठुल्ठुलो स्वरका साथ गफ गर्ने वा आवाज निकाल्ने प्रवृत्ति कायम राखेको तथा विदेशमा बसेर अनावश्यक रूपमा नेपाली राजनीतिप्रति चासो दिँदै कामलाई भन्दा गफलाई महत्त्व दिने प्रवृत्ति यथावत् राखेको विषयप्रति चिन्ता प्रकट गरिएको छ । अर्को म्लान कथामा पनि ट्रेन आपसमा ठोकिएको केही क्षण नबित्दै सम्बन्धित राष्ट्रको राष्ट्राध्यक्षदेखि सरोकारवाला सबै निकायका प्रतिनिधिहरू दुःखमा सामेल भएका तर म पात्रको स्वदेशमा त्यति चाँडै त्यस्तो प्रवृत्तिका साथ समर्पित हुने परम्परा नभएको स्मरण गरिएको छ । साथै, त्यहाँको महान् धनी डाक्टरले कति सहजै बिरामीको मनोविज्ञान बुझेर काम गरिरहेको भन्ने सन्दर्भसँगै स्वदेशमा पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने किसिमको चिन्ता प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत कथा सङ्ग्रहभित्र डायस्पोरिक जीवनसँगै स्वदेशका विषय सन्दर्भहरूलाई कतै संस्मरणात्मक ढङ्गबाट अथवा कतै सोझै स्वाभिमानका साथ प्रस्तुत गरिएको छ । गृहस्मृतिजन्य विषय सन्दर्भलाई परिघटना अनुकूल प्रस्तुत गर्ने कुरामा कथाकार निकै सिद्धहस्त झैँ देखिन्छिन् ।

४. अनिश्चितता, असुरक्षा र अन्योलता
कथाकार सन्जुका कथाहरूमा डायस्पोरिक श्रमिक जीवनको अनिश्चितता, असुरक्षा र अन्योलता जस्ता विषयको समेत मार्मिक प्रस्तुति पाइन्छ । हो पनि, सात समुद्रपारिको जीवन शैलीभित्रै नेपाली श्रमिकहरूले भोग्नु परेको विवशतापूर्ण नियति वास्तवमै एउटा कटु यथार्थ हो । यहाँ खास गरी मरुभूमिमा श्वेत सुन्दरीभित्रका एउटै परिवेशमा रहेका तिस जना जति नेपालीको दयनीय अवस्थालाई अनिश्चित, असुरक्षित र अन्योलपूर्ण मान्न सकिन्छ । यद्यपि यिनीहरू नितान्त डायस्पोरिक नमानिए पनि यस्तो प्रकृति डायस्पोरिक श्रमिकमा हुन सक्छ नै । यहाँका श्रमिकहरू कहिले कुखुराका चल्लाहरू जस्तै गाडीभित्रबाट भुरुरु निस्किन्छन् त कहिले सोमालियाको कुपोषणयुक्त शिशु जस्तो निरीह जीवन बाँच्न बाध्य छन् । उनीहरूमध्ये जुन धनवीरको आफ्नै किसिमको वैयक्तिक पीडा हुन्छ आखिरमा त्यही धनवीरले काम गर्दागर्दै बिसौँ तलाबाट खसेर मर्नुपरेको छ । धनवीरको जस्तै राति मुटु दुखेको बताउने वीरमान पनि बिहानसम्म मृत अवस्थामा फेला परेको छ । उनीहरूले बाटोमा पैतालाले कुल्चिएको कमिलालाई जस्तो वीरमानको मृत शरीरलाई एक्लै कोठामा छोडेर श्रमकै लागि निस्कनु परिरहेको छ । बाँकी अरूहरूको पनि त्यसरी नै मृत्यु नहोला भन्ने कुनै आधार देखिएको छैन । यसरी परदेशी भूमिमा श्रमिकहरूले भोग्नु परेको ऐकान्तिक, अनिश्चित, भयपूर्ण, असुरक्षित एवम् सङ्घर्षपूर्ण अवस्थालाई यस यस किसिमको डायस्पोरिक कथाले दर्साएको पाइन्छ ।

५. बृहत् अन्तर्राष्ट्रिय सम्बन्धको संश्लेषण
कथाकार सन्जुभित्र बृहत् अन्तर्राष्ट्रिय सम्बन्धलाई आफ्ना कथाहरूमा संश्लेषण गर्ने अद्भुत क्षमता पाइन्छ । यिनले एउटा सीमित राष्ट्रिय परिवेशबाट अर्को विशाल अन्तर्राष्ट्रिय परिवेशमा समाहित हुँदाको अवस्थालाई जीवन्त चित्रण गरेकी छन् । त्यस क्रममा यिनले कतै वैवाहिक जीवनको सीमित घेरालाई हटाउनुपर्ने, कतै एक किसिमको सांस्कृतिक मान्यतालाई त्यागेर अर्को नयाँ सिराबाट सांस्कृतिक विश्वास आर्जन गर्नुपर्ने, कतै जीवन सङ्घर्षका क्रममा देखा पर्ने नयाँ नयाँ किसिमका परिघटनाहरूलाई सहज रूपले स्विकार्नुपर्ने, कतै मित्रताको गहिराइसम्म पुग्नुपर्ने अथवा कतै समान किसिमको मानवीय व्यवहारमा जोड दिनुपर्ने जस्ता विषयहरू सिर्जना भएको कुरा औँल्याएकी छन् । यस दृष्टिले हेर्दा यिनका मझधारमा एक मन, मद्र्याइँ र मध्यधार जस्ता कथाहरूमा एउटा सीमित परिवेशबाट बृहत् अन्तर्राष्ट्रिय परिवेशमा समाहित हुँदाको अवस्थाबारे चित्रण गरिएको पाइन्छ ।
मझधारमा एक मन कथाभित्र श्रीमान् उपाध्यायले नेपालबाटै श्रीमती उपाध्यायसँग बिहे गरे पनि उनलाई ‘युरोपियन लाइफ’भित्रको आनन्दले छोएको देखिन्छ । उनी आधुनिक विचार प्रस्ट भइसकेका र छोराछोरीको वैवाहिक सम्बन्ध पनि अन्तर्राष्ट्रिय जगत्सँग हुनुपर्छ भन्ने कुरामा खुलस्त बनेका छन् । पखेटा पलाएको प्राणीलाई उड्न दिनुपर्छ भन्दै स्वतन्त्रताको पक्षमा अर्थात् महादेशीय विवाहको पक्षमा उभिन जरुरी रहेको उनको धारणा छ । त्यस्तै मद्र्याइँ कथामा पनि जेनिथसँग नेपालीमूलका व्यक्तिको विवाह हुन सक्ने सम्भावना प्रशस्त हुँदाहुँदै व्यक्तिको पुरुषवादी वा अव्यावहारिक जीवन शैली देखाइएका कारण आपसी अन्तर्राष्ट्रिय प्रकृतिको सम्बन्ध हुन नसकेको देखाइएको छ । अर्को मध्यधार कथामा पनि धनगढीको गाउँले नेपालीले एउटी बेलायतमा समेत बसोबास गर्ने गुजराती मूलकी अनन्तीसँग वैवाहिक सम्बन्ध गाँसेको देखिन्छ । यसरी प्रस्तुत कथा सङ्ग्रहका अनेक कथाहरूले अन्तर्राष्ट्रिय वैवाहिक सम्बन्धलाई सहज रूपमा लिन सकिने परिस्थिति निर्माण हुँदै आएको कुरा दर्साएका छन् ।
डायस्पोरिक जीवनले अन्तर्राष्ट्रिय धर्म संस्कृतिभित्र पनि प्रवेश पाएको हुन्छ । त्यसैले डायस्पोरिक साहित्यको पहिचानभित्र त्यस्तो संस्कृति–भञ्जन जस्तो प्रवृत्तिलाई पनि लिने गरिन्छ । यस सङ्ग्रहमा कथाकार सन्जुले वर्तमान सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा विकसित हुँदै आएको धार्मिक सांस्कृतिक जीवन परिवेशलाई समेटेकी छन् । यसै दृष्टिले मनोदशा, मत्था र मसानघाट कथाहरू उल्लेखनीय मानिन्छन् । यिनमा मनोदशा कथाकी म पात्रले एउटा अधबेस्रोलाई चर्च लगेर ल्याउने क्रममा अधबेस्रोले चर्चमा मन लगाएर आफ्नै तरिकाले बाइबल वाचन गरिरहँदा उनलाई नेपाली पूजापाठकै प्रतिबिम्ब झल्किएकोे देखिन्छ । यसबाट उनलाई मान्छे–मान्छेबिचको आस्थाका अमूर्त पर्खाल देखेर दिक्क समेत लागेको छ । यस्तै मत्था कथामा बयासी वर्षीया मारियानाको मृत्युबाट गिब्स यति शोक विह्वल बनेको छ कि बेलायती दम्पतीमा पनि साँच्चिकै दीर्घकालीन आत्मीयता रहन सक्छ भन्ने कुरा देखा परेको छ । तर, त्यही हस्पिटलमा भर्ना भएकी नेपाली मूलकी म पात्रकी आमालाई भने नेपाली श्रीमान्ले पहिले नै रोगी भएका कारण छाडिसकेको अवस्था छ । त्यस्तै मसानघाट कथाकी निकोललाई बेन्टली ग्रेभ बस स्टपसँगै जोडिएको खुला जमिनका चिहानहरू भएको क्षेत्र सबैभन्दा प्यारो लागेको देखाइएको छ । म पात्रलाई त्यस सेमेट्रीभित्र पस्न गाह«ो लागे पनि जब उनी ती बुढीका साथमा चिहान घारीभित्र छिरेकी छन् तब उनले भन्ने गरेको जस्तो चिहान घारी देखिएको छैन । त्यहाँ त ज्यँुदा मान्छेहरूले भरिएको सडक, बजार र बस्तीभन्दा कयौँ गुणा सुन्दर र शान्त क्षेत्र देखा परेको छ । मुर्दाहरूको स्वर्ग वास्तवमै स्वर्ग ! सिरसिर चलेको बतास, दिल खोलेर फक्रिएका फूलहरू, भुनभुनाउँदै उडेका बेफिक्री भँवरा, छिरबिरे पुतली, पाकेर झरेका फल, श्रद्धाको फूल चढाउन आएका मान्छेहरू देखेर उनको चिहान घारीप्रतिको धारणा नै बदलिएको छ । यसरी डायस्पोरिक जीवन निर्वाहका क्रममा कतिपय धर्म संस्कृतिका मान्यताहरू एकअर्को परिवेशमा फरक किसिमबाट आत्मसात् गर्नुपर्ने परिस्थिति सिर्जना भएको रहस्यलाई सन्जुका कथाहरूले प्रस्ट पारेका छन् ।
कथाकार सन्जुले डायस्पोरिक समाजमा जीवनसँग गाँसिएर देखा पर्ने कैयौँ मित्रता र जीवन सङ्घर्षका रहस्यमयी सन्दर्भहरूलाई पनि कथाको स्वरूप प्रदान गरेकी छन् । वास्तवमा डायस्पोरिक जीवन भनेको पनि सामाजिक नै हो । अन्तर्राष्ट्रिय समाजका मानिसहरू पनि एकअर्कामा निर्भर हुनै पर्दछ । यो अर्को मुलुकबाट आएको अथवा त्यो आफ्नो मुलुकको सदस्य नै होइन भनेर नितान्त आफ्नैआफ्ना सदस्यहरूसँग मात्र व्यवहार गर्दै जीवन निर्वाह गर्न गाह«ो हुन्छ । तसर्थ, फरक फरक पृष्ठभूमिका व्यक्तिहरूसँग आत्मीयता वा घनिष्ठ मित्रता कायम राख्नु जरुरी छ । यहाँ मिस एमा र जिन्जरे तथा मिथ्यापवाद जस्ता कथाहरू मार्फत उक्त विषयमाथि प्रकाश पारिएको छ । मिस एमा र जिन्जरे कथामा कलेजमा भेटिएको आयरिस जिन्जरेको मैत्री स्वभाव उदाहरणीय बनेको छ । त्यस्तै मिथ्यापवाद कथाकी नोरिनको फुस्रो अनुहार, काला कत्लाले छोपिएको नाकको आधा भाग, भुइँसम्म घिस्रने कालो रङका ‘अबाया’, रोगीको जस्तो भासिएको स्वर कसलाई मन पर्ला जस्तो लाग्छ । अनि बाहिरी अवस्थालाई हेर्दा सायद नै मानवीय मित्रताको भावना होला कि भन्ने कल्पना हुन्छ । तर, म पात्रसँग नोरिनको आत्मीयतापूर्ण सरल एवम् निश्चल व्यवहार वास्तवमै अनुपमेय देखा पर्दछ ।
यसर्थ डायस्पोरिक जीवन सङ्घर्षका क्रममा अन्तर्राष्ट्रिय समाजका सदस्यहरूसँगको आत्मीय मित्रता एउटा टड्कारो आवश्यकता रहेको सन्दर्भ स्विकार्नै पर्छ । यस किसिमको मित्रताले डायस्पोरिक समाज एकआपसमा लाभान्वित बन्दै गएको मान्न सकिन्छ । वास्तवमा सन्जुभित्रको कथाकारिताजन्य चेतले यस किसिमको बृहत् अन्तर्राष्ट्रिय सम्बन्धको संश्लेषणका दिशामा विशिष्टता हासिल गर्दै गएको पाइन्छ ।

६ नारी स्वतन्त्रताको सन्दर्भ
सन्जुका डायस्पोरिक कथाहरूमा नारी स्वतन्त्रता सम्बन्धी स्वरहरू अथवा पुरुष प्रधान समाजको प्रतिरोध गर्ने प्रवृत्ति पनि प्रशस्त मात्रामा देखा पर्दछ । यसलाई विशिष्ट किसिमको उत्तर आधुनिक प्रकृतिको लेखन पनि मान्न सकिन्छ । यिनका त्यस्ता नारीवादी चिन्तनबाट प्रभावित डायस्पोरिक कथाहरूमा महत्त्वाकाङ्क्षा, मसानघाट र मद्र्याइँ देखा पर्दछन् । महत्त्वाकाङ्क्षामा मन्जुलाले गरेको अतीतको स्मरणसँगै नारीवादी चिन्तनले प्राथमिकता पाएको छ । उनलाई घरको नियन्त्रित अवस्था र बेलायतको स्वतन्त्र अवस्थाले प्रभाव पारेको छ । साथै, उनी अन्त्यमा परिवर्तित स्वतन्त्र अवस्थाका पक्षमा देखा परेकी छन् । त्यस्तै मसानघाट कथाकी श्रीमती निकोललाई उनको लोग्नेले केवल निरोगी र सबल हुँदासम्म माया गरेको अवस्था छ । जब निकोलको बिराम र व्यथासँगै श्रीमान्मा झर्कोफर्को गर्ने प्रवृत्ति सुरु भएको छ तब उनले श्रीमान्का लागि बाटो खुला गरिदिएकी छन् । अर्को मद्र्याइँ कथाको पुरुष पात्रले पनि बिहे गरिनुबाट वञ्चित हुनु परेको छ । त्यसको कारण भनेको पनि ऊभित्र विद्यमान पुरुषवादी अहम् प्रवृत्ति नै रहको छ । यसरी सन्जुका कतिपय कथाहरूमा नारीवादी चिन्तनले विशेष प्राथमिकता पाएको अवस्था छ ।

७. यौनिक जीवन
समकालीन डायस्पोरिक लेखनलाई आत्मसात् गर्ने सन्जुका कथाहरू यौनिक जीवनको स्पर्शबाट पनि टाढा छैनन् । यस दृष्टिले यिनको म एक अर्धनारीश्वर महादेव, मसानघाट र म्लान कथाहरू कुनै न कुनै रूपमा उल्लेखनीय रहेका छन् । म एक अर्धनारीश्वर महादेव कथाकी म पात्रले पहिलो पटक २०६० मा आमाको शृङ्गार लगाए पनि पछि रोनाल्डोको सहयोगमा लन्डन आएसँगै यौनका अझै नयाँ स्वरूपहरू देखेको पाइन्छ । उनका जीवनमा गे परेडको रमझम, समलिङ्गीहरूको आवाज, तेस्रो लिङ्गीहरूको सहभागिता तथा ब्राजिलियन ‘साम्बा डान्स’मा देखिएका सुन्दरीहरू पनि स्मरणीय बनेका छन् । त्यस्तै आफ्ना टिपोटहरूमा ‘कल मी सल्मा’ नामक डकुमेन्ट्री, बङ्गलादेशी तेस्रो लिङ्गीको पीडा, पाकिस्तानमा तेसो लिङ्गीलाई राष्ट्रिय परिचय पत्र दिने सर्वोच्च अदालतको आदेश, भारतमा पनि तेसो लिङ्गीलाई मतदानको अधिकार सहित रासन कार्ड दिने निर्णय र जीवन जिउने हिम्मत दिने आधार रोनाल्ड नै हुन् भन्ने लगायतका कुराहरू लेखिएका छन् । हुन त नेपाली समाजमा पनि मधु सरले आफ्नी छोरीलाई छोराको व्यवहार गरेको उनले सानैमा देखेकी छन् । यति हुँदाहुँदै पनि उनका मनामा अझै एउटा आशङ्का बाँकी रहेको छ; त्यो हो– आमाबुबाको मानसिक चाहना र छोरीको शारीरिक परिवर्तन । त्यस्तै मसानघाट कथामा नोरिनका माध्यमबाट आफ्नो सन्दर्भ उठाउँदै आफू जस्ती घिन लाग्दी बुढीको अस्तित्व यी चिहानमा सुतेका लासहरू बाहेक अहिले कसले स्विकार्छ र ! भन्ने कुरा बताइएको पाइन्छ । आपूmमा सुन्दरताको अवशेष नुहँदा उनले समयको वेगमा चल्नेहरूका लागि बाटो खोलिदिएकी छन् । त्यस्तै.म्लान कथाकी म पात्रलाई हस्पिटलमा उपचारका क्रममा समेत शारीरिक सुन्दरताको हत्या भएको जस्तो अनुभूति भएको छ । आफ्नो नितम्ब नियाँलिदा होस् अथवा पिँडुला र स्तन वरिपरिको भाग खोतलेर हेरिँदा होस् वैयक्तिक रूपमा सन्तुष्ट हुन नसकिहरेको उनले अनुभूति गरेकी छन् ।
यसरी सन्जुका कथाहरूमा साङ्केतिक रूपमा भए पनि स्त्री समलिङ्गी र पुरुष समलिङ्गीका सन्दर्भहरू अगवा वैयक्तिक यौनिक सन्दर्भहरूको प्रवेश पाइन्छ । यसबाट उनमा युगीन चेतनाको तीव्रतम अनुभूति रहेको र त्यसको कलात्मक प्रस्तुतिगत क्षमता पनि रहेको स्विकार्न सकिन्छ ।

८. अपाङ्गता भएकाप्रतिको अनुराग
शारीरिक वा मानसिक जुनसुकै किसिमको अपाङ्गता भएका व्यक्तिमा पनि आन्तरिक क्षमता रहन्छ भन्ने कुरालाई विश्व समाजले स्वीकार गर्न थालेको पृष्ठभूमिमा सन्जुका कथाहरूमा पनि त्यस्ता सन्दर्भहरू समेटिएका छन् । यस दृष्टिले यिनका मेजोँ चान्स र मनोदशा कथाहरू उल्लेखनीय रहेका छन् । मेजोँ चान्स कथामा इभाका माध्यमबाट अपाङ्गता भएका व्यक्तिको सामथ्र्य र मनोदशालाई प्रतिनिधिमूलक ढङ्गबाट प्रस्तुत गरिएको छ । नेपालबाट फ्रान्स पुगी युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा म पात्रका लागि इभासँगको मित्रता सबैभन्दा स्मरणीय बनेको छ । इभाले मेन्जोँ चान्समै रोजगारीको अवसर पाएका कारण पनि म पात्रलाई खुसियाली छाएको छ र उनी त्यहीँ सन्तेको उद्धारका लागि सहयोग जुटाउने प्रस्ताव लिएर पुगेकी छन् । वास्तवमा यहाँ सन्त बहादुर जस्तो अपाङ्गता भएका व्यक्तिलाई स्वयं अपाङ्गता भएकी अर्की इभाले नै आफ्नो एक महिनाको तलब दिएर सहयोग गर्ने प्रतिबद्धता जनाइएको अवस्था छ । त्यस्तै मनोदशा कथाको अधबेस्रोको जीवनशैली पनि अरू समान्य व्यक्ति सरह देखिँदैन । उसका लागि आमा र चर्च नै सबै थोक भएको तथा चर्चामा आफ्नै किसिमले प्रार्थना गर्ने प्रवृत्ति रहेको पाइन्छ । यसरी विश्व समाजमा अपाङ्गता भएकाहरूको जीवन शैलीप्रति मानवीय चासो बढ्दै गएको सन्दर्भलाई कथाकार सन्जुका यी कतिपय कथाहरूले प्रस्तुत गरेका छन् ।

९. अन्य
यीबाहेक पनि सन्जुका कथाहरू प्रकृति चित्रणका दृष्टिले उल्लेखनीय मानिन्छन् । यिनमा मद्र्याइँ, मिस एमा र जिन्जरे तथा म्लान आदि रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय जगत्का महत्त्वपूर्ण सामाजिक जीवन शैलीलाई पनि रोचक किसिमबाट प्रस्तुत गर्न सक्ने क्षमता यिनमा पाइन्छ । मध्यधार कथामा कट्रपन्थी क्रिस्चियनहरूको संसारकै ठुलो ‘एमिस’ बस्तीमा सन् २०११ सम्म पनि कुनै परिवर्तन नभएको अन्तर्राष्ट्रिय ऐतिहासिक विषय सन्दर्भलाई समेटिएको छ । साथै, अहिले पनि बग्गीलाई नै यातायातको साधन मान्ने गरेको, पुरातनवादी धार्मिक सिद्धान्त कायमै रहेको र आधुनिक संसारलाई बहिष्कार गरिएको कुरा समेटिएको छ भने मसान घाट कथामा चाहिँ सामाजिक परिवर्तनको द्रुततालाई समेटिएको छ । त्यस्तै सन्जुका यी कतिपय कथाहरूमा अस्तित्ववादी जीवन दर्शनसँगै निस्सारताबोधी चिन्तन पनि गाँसिएर आएका छन् । अथवा कतिपय सन्दर्भहरू ऐतिहासिक विषयकेन्द्री पनि बनेर आएका छन् । त्यस्तै कतिपय सन्दर्भमा महँगीको मारबाट प्रभावित अवस्थालाई पनि समेटिएको छ । जेहोस्, प्रस्तुत कथा सङ्ग्रहभित्रका कथाहरूमा डायस्पोरिकतासँगै गाँसिएर विषयगत विविधता, युगीन अन्तर्राष्ट्रिय परिवेश र नवीनताको यथेष्ट उपस्थिति देखा पर्दछ ।

अन्त्यमा,
अन्य डायस्पोरिक साहित्यमा जस्तै यहाँ पनि कथाकार सन्जुका कथाहरूभित्र अस्तित्वको खोजी, धार्मिक÷संस्कृतिक विपर्यास एवम् गृहस्मृति वा अतीत मोह, ऐकान्तिकता तथा अनिश्चितता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको मानसिक पीडा, यौनिक स्वतन्त्रताको सन्दर्भ, युगीन अन्तर्राष्ट्रिय परिवेश र महादेशीय वैवाहिक सम्बन्ध जस्ता विषयहरूको सहज प्रस्तुति पाइन्छ । साथै, यहाँ अपाङ्गताप्रतिको अनुराग, नारीवादी चिन्तन र विश्वस्तरीय समाजको परिचय, प्राकृतिक सौन्दर्य र मानवीय सहिष्णुता लगायतका विषयहरूले पनि तत्तत् स्थानीय परिदृश्यहरूका साथ यथास्थानमा प्रवेश पाएका छन् । वस्तुतः आफ्नो जन्मभूमि त्यागेर अन्य स्थानमा बसोबास गर्न बाध्य भएको डायास्पोरिक समुदायसँग सन्दर्भित यस्ता अनेक विषय वस्तुहरूको सान्दर्भिक प्रस्तुतिबाट नै प्रस्तुत कथा सङ्ग्रह सशक्त, प्रभावकारी र डायस्पोरिक उचाइभित्र नवीनतम विषयवस्तु पस्किन सक्ने किसिमको बन्न सफल भएको छ । यहाँ सबैजसो म पात्रबाट सुरु भएका अर्थात् प्रथम परुष दृष्टिविन्दु तथा धेरैजसो प्रतीकात्मक प्रकृतिका शीर्षकहरूले समग्र कथा सङ्ग्रहलाई नै विशिष्टीकृत तुल्याएको अवस्था छ । त्यस्तै कतिपय कथामा संस्मरण प्रधान पूर्वदीप्ति शैली भए पनि मूलतः रैखिक ढाँचाकै कथाहरू अधिक रूपमा उल्लेख भएका छन् । कतियय अमूर्तता र आख्यानीकरणगत सिद्धिको शिथिलता बाहेकको अवस्थामा समग्र कथाहरू सम्प्रेष्य र प्रभावकारी नै रहेका छन् ।
वास्तवमा कथाकार सन्जु बजगाईँका यी पन्ध्रवटै कथाहरूमा एउटा युगबोधको जति जीवन्त चित्रण पाइन्छ त्यति नै डायस्पोरिक जीवनको यथार्थपरक अभिव्यक्ति पनि पाइन्छ । यिनमा परदेशीय जीवनसँग गाँसिएर आउने अनेकौँ मार्मिक अनुभूतिहरू मात्र हैन नवीनतम रहस्यहरूको उद्घाटनगत क्षमता पनि पाइन्छ । साथै, नेपालीहरूलाई सहजै किसिमबाट विश्व परिवेशसँग परिचित तुल्याउन सक्ने कौतुहलपूर्ण कथाशिल्पगत प्रवृत्ति समेत देखा पर्दछ । अतः डायस्पोरिक नेपाली नारी हस्ताक्षरका रूपमा स्थापित कथाकार सन्जु बजगाईँलाई यस किसिमको गहन कृतिका लागि हृदयतः बधाई दिँदै आगामी दिनमा अझ अद्वितीय रचनाका लागि शुभकामना व्यक्त गर्दछु ।

बुढानीलकण्ठ–९ (हाइल्यान्ड), काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2073

लेखकका अन्य रचनाहरु