सबक

- आसना पौडेल

"ओइ कलवार, तँ धेरै जान्ने नहो त?” रञ्जिते शुँडीले बोल्दै गर्दा विश्वास महाजनले विचैमा जाइलागुलाझै गर्यो ।

"किन र महाजन, मैले त्यस्तो के नै भने र? खाली मेरो अगाडिको डगरमा फोहोर नगर बरु चर्पी बनाउन सहयोग गर्छु भनेको त हो नी" - रञ्जितेले आफ्नो भनाइ दोहोर्यायो ।

"त शुँडीले कस्लाइ हेपेको हँ? म त्यहाँ मैदान बसेको कहिले देखिस् । मेरो बुढी, छोरा-छोरी सबै त्यो परको उखुबारीमा जान्छन् । त्यसै आरोप लाँउछस् । चाहिएन त शुँडीको सहयोग । तँ मा… साला बढी बोल्छस्, तैले मेरो हातको नभेटेको धेरै भयो, अहिले भाग्छस् की दुइ चार लगाँउ" – पाखुरा सुर्कदै महाजन मु्र्मुरियो - "मेरो अंगनामा फिर से पैर रखा तो, हाँ कहदेता हुँ, काटके हात मे रखदुंगा ।"

बोलेर कुनै फाइदा छैन भन्ने लागेर रञ्जिते लुरुक्क पर्दै घर फर्कियो । घरको ढोकामै उभिएर तमासा हेरिरहेकी उसकी स्वास्नीले भनिन्- "सँगै पढेको साथी भनेर के गर्नुहुन्छ त्यस्को बेहोरानै छैन । कति हेप्न सकेको । वारी र पारी दुइ घर भन्दा छैन । घरअगाडीको डगरमा पाइला राख्ने ठाँउ छैन । राशका राश थुपारेको छ । के काट्टो घिचेर लडेका हुन् कुन्नी ?"

"भो अधि नबोल, जान देउ, अहिले बेकारमा झगडा गर्न आँउछ ।" रञ्जितेले जयालाइ थम्थमायो । "तपाइ पनि जान देउ भन्नुहुन्छ तर के यो एकदिनको समस्या हो र? दिनमे सब झाडी-गाछी और रातमे खुला डगर । मुर्गी सारा सब ओही चरन् जाइछी । झन् वर्षातमा त चिप्लेर गु मै लडिएला जस्तो लाग्छ । हावाले घरसम्मै दुर्गन्ध ल्याएको छ ।" जयाले समस्या देखाइन् ।

“बात त सही छ । तर के गर्ने । यस्तो हर्कत देखाउनेलाइ । आफैलाइ शरम लाग्नुपर्ने हो । आजको कालमा पनि यस्तो फोहोर गर्ने । अब झगडा करके कौनो फरक होइछी? चौकी जाँउ पनि कसरी? पडोसी त्यसमाथि पनि कक्षा ८ सम्म सँगै पढेको साथी ।" रञ्जितेले आफ्नो विवशता सुनायो ।

"रहन दो जी । कल मै कुल्हाडी मारके फिरसे साफ करलुंगी । बादमे कोनो उपाय ढुंढलेंगे"- जयाले रञ्जितेको बाध्यता बुझेझै गरिन् ।

स्कूलबाट भर्खरै घर आइपुगेको रञ्जितेको छोरा किशनले आमालाइ सोध्यो - "कथी भैल माइ?" जयाले उल्टै हकारिन् – "कोनो बात नाइ, तु पढेलेखेपे ध्यान दे बस्, और केवल निमन लोगसे संगत करियो ।"

किशन हुन्छको इशारामा टाउको हल्लाउदै बाबाआमालाइ हेर्छ र आफ्नो कोठामा जान्छ ।

पारिवारिक पृष्ठभूमि फरक भएपनि महाजन र रञ्जिते कुनैवेला अतिनै मिल्दथे । गाँउको हुनेखानेको छोरा महाजन र तथाकथित दलितको छोरा रञ्जिते एउटै स्कूलमा एकै कक्षामा पढ्दथे । कुश्ती र कबड्डीमा महाजन गाँउमै कहलिएको थियो भने रञ्जिते गणितको जान्ने विद्यार्थी थियो । कक्षामा गणित टिचरको कुटाइ नखानेमा ती दुइजनामात्र थिए । हिसाबको सबै होमवर्क कि गरिदिने नभए सार्न दिने भएकाले रञ्जितेलाइ कसैले खोट लगाएको महाजनलाइ मन पर्दैनथ्यो । अछुत र तल्लो जात भनेर रञ्जितेलाइ कसैले जिस्क्याँउदा/हेप्दा झगडा गर्न महाजननै तम्सन्थ्यो । बाबा नभएको मौका पारी महाजनले रञ्जितेलाइ भान्सादेखि लिएर घरको कोठा चोटा सबैतीर लैजान्थ्यो । एक अर्काको खाजा पनि उनीहरु जुठोचोखो केही नभनी खान्थे ।

कक्षा ८ को अंग्रेजी विषय पास गर्नै नसकेपछि महाजनले पढाइ विचैमा छाड्यो भने रञ्जितेले एस एल सी सम्मको पढाइ पुरा गर्यो । "त मूलाले जति पढेपनि शुँडीनै होस् क्यार!" भनेर महाजनले रञ्जितेलाइ पचासौं पटक भन्यो होला । रञ्जिते पनि महाजनलाइ "धनी बाउको गरिब छोरो!" भनेर खिज्याउथ्यो । महाजन जवान भइसक्दासम्म मुद्दा मामिलामा परेर उस्को परिवारले घडेरी र १० कठ्ठा खेत छाडी सबै गुमाएको थियो । मुद्दा हारेकै चोटले ह्रदयाघात भएर महाजनका बाबाले संसार छाडेका थिए ।

हजुरबाको पालासम्म रक्सी बनाएर बेच्ने रञ्जिते परिवारले मद्यपानकै कारण बाबाको मृत्यु भएपछि सो पेशा त्यागेको थियो । अरुको खेतमा बटैया गरी लामो समय परिवार धानेकी रञ्जितेकी आमा पनि एकदिन साँपले टोकेपछि धेरै बाँचिनन् । तर सानैदेखि मेहनती स्वभावको रञ्जितेले अँधिया कमाएरै घर घडेरी, एक टुक्रो खेत र गोरुगाढा टायर किनेको थियो । यसरी कुनैवेला हुनेखाने र हुँदा खाने दुइ साथीको परिवार करिव समान अवस्थामा आइपुगेको थियो ।

जवान भइसकेपछि दुवैले बिवाह गरी घर बसाएका थिए । परिवार धान्न महाजन आफै खेतीकिसानी गर्न थालेको थियो तर उस्ले खान्दानी रवाफ जमाउन छाडेको थिएन । रञ्जितेको प्रगति, राम्रो स्वभाव र सहयोगी भावनाको पनि महाजनले इर्ष्या गर्न थालेको थियो । आफूभन्दा अलिकती बढी पढेर टुक्रो खेत जोडेकैले रञ्जितेको खुट्टाले भुइ टेक्न छाडेको उस्को ठम्याइ थियो ।

समय वित्दै जाँदा दुइ परिवार बोलचाल त के पानी वारावारको अवस्थामा पुग्यो । केटाकेटीले भकुण्डो खेल्दै गर्दा यदी साँध नाघेर छिमेकमा पुगिहाल्यो भनेपनि न त कोही लिन जान्थ्यो न कसैले टिपेर फिर्तानै फालिदिन्थ्यो ।

औसीको एक रात रञ्जितेको परिवार मस्त निन्द्रामा रहेका बेला मान्छे रोइकराइ गरेको आवाज सुनिन थाल्यो । झल्याँस्स निन्द्राबाट विउँझीएकी जयाले सपना त पक्कै होइन होला भन्दै रञ्जितेलाइ उठाएर हेर्न पठाइन । आवाज पछ्याउदै रञ्जिते महाजनको घरमा पुग्यो । शंकोच मान्दै उसले ढोका ढक्ढक्यायो । महाजनकी छोरी अश्मि ढोका खोल्न आउँदा भक्कानिएर रुदै थिइन् । अश्मिका पाखुरामा दुइ हातले जोरले समात्दै रञ्जितेले सोध्यो - "के भो छोरी, कस्लाइ के भो?" । अश्मिले हातले माथि चोटातीर इशारामात्र गर्न सकिन् । दुइचारवटा भर्यांगको सिढी उक्लनासाथ रञ्जितेले इन्तु न चिन्तु अवस्थामा बरण्डामा लडिरहेको महाजन र रोइकराइ गर्दै गरेकी उसकी श्रीमतीलाइ देख्यो । बुझ्दै जाँदा लगातार उँधोउँभो भएर महाजन बोल्नसक्नै छाडेछन् । रञ्जितेले अश्मिलाइ नुन चिनी पानी बनाउन भन्यो र सिरानपट्टी बसेर महाजनलाइ चम्चाले खुवाउन थाल्यो । किशनलाइ उठाएर टायर ठीक गर्नु भनि अश्मिलाइ आफ्नो घर पठायो । केही वेरमै महाजनलाइ टायरमा हालेर उ गाँउका वैद्यको घरतीर लाग्यो । वैद्यले जडीवुटी दिदैं गर्दा रञ्जितेले पानी खुवाउन छाडेन । विहान हुनासाथ गाँउलेको सहायता लिइ रञ्जितेले महाजनलाइ स्वास्थ्यचौकी पुर्यायो । त्यहाँ पुगेपछि महाजनलाइ झाडापखाला नरोकिएर निर्जलीकरण भएको र समयमै यथेस्ट पानी र उपचार मिलेकाले ज्यान जाने खतरा टरेको स्वास्थ्यकर्मीले बताए । घर वरपर फोहोर राख्दा र चर्पीको प्रयोग नगर्दा पनि यस्ता समस्या आउने भन्दै स्वास्थ्यकर्मीले सचेत गराए । केही समयमै महाजन बोल्न सक्ने भए ।

"मैले आफ्नो काल बोलाएको रहेछु । रञ्जितेको कुरा बेलैमा सुनेको भए यो सब हुने थिएन ।" भनिरहँदा महाजनको आँखामा पश्चातापको आँसु प्रष्ट देखिन्थे । रञ्जितेले पनि आफ्ना बालसखा रोएको देखेर मन थाम्न सकेन ।

भोलिपल्ट गाँउको चियापसलमा महाजन र रञ्जितेकै चर्चा थियो । बुढापाका भन्दै थिए - "समयले मै हु भन्नेलाइ सबक सिकाउँछ । कसैले फुर्ती लाइरहनु पर्दैन ।।"

एडमन्टन, क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2073

लेखकका अन्य रचनाहरु