जीमूतदेखि मनोजसम्म महाकाव्य : एक चिनारी

- होम सुवेदी

१.लेखनको पृष्ठभूमि:
झापा जिल्लामा साहित्यको उन्नयनमा लेखनाथ पुस्तकालय र त्रिफला राष्ट्रिय पुस्तकालयको विशेष योगदान रहेको कुरा स्मरणीय छ । यी दुबै पुस्तकालयहरुमा नियमित जस्तो साहित्यिक कार्यक्रमहरु, कृतिकारको सम्मानका कार्यक्रमहरु, अनेक प्रतियोगिताहरु र कृतिविमोचनका कार्यक्रमहरु हुने गरेका छन् हुँदै आएका छन् । धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयका आफ्नै शैली र सोचमा कार्यक्रमहरु सञ्चालित भइरहेका छन् भने भद्रपुर नगरपालिका अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले आफ्नै शैली र सोचमा निरन्तर रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको कुरा अब सबैतिर जानकारी भइसकेकै छ ।
यसै क्रममा म यसै पुस्तकालयको आयोजनामा सार्वजनिक वा विमोचित गरिएको महाकाव्य जीमूतदेखि मनोजसम्म का बारेमा केही लेखिरहेको छु जुन निकै महिना अघि एक विशेष कार्यक्रममा विमोचित भएको थियो । रघुनाथ रिमाल ‘कदम’ द्वारा लिखित प्रतिभा यस पूर्व सार्वजनिक गरिएको पहिलो महाकाव्य कृति थियो भने यो कृति यस पुस्तकालयले सार्वजनिक गरेको दोस्रो महाकाव्य कृति थियो ।

२.प्राक् सन्दर्भ ः
श्री आनन्दप्रसाद घिमिरेद्वारा रचना गरी स्वयं प्रकाशनसमेत गरिएको जीमूतदेखि मनोजसम्म महाकाव्य २०५५ देखिको लेखनप्रयासबाट जन्मेको हो । उहाँ २०५५ सालदेखि नै ताप्लेजुङ फाकुम्बा गा.वि.स. वडा नं ४ चिम्फाकटारमा अवस्थित श्री महादेव प्राथमिक विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । अध्यापन गर्दैगर्दा विद्यालयकै एउटा कोठामा आफ्नो डेरामा बस्नुहुन्थ्यो । त्यसो भएको हुँदा बिहान, बेलुका र रातिको केही समय निकाली लेख्दै गर्न थाल्नुभयो । यसै क्रममा उहाँको वि.सं. २०६० सालमा त्यहाँबाट सरुवा भयो । सरुवा भई ताप्लेजुङ्कै महाकाली प्रा.वि. फुुरुम्बु पुुग्दा यो महाकाव्य लेखनमा सम्पन्न भइसकेको थियो । तर यसको प्रकाशन भने त्यो समयमा सम्भव थिएन ।
यो कृतिमा आफ्ना मनोरन्जन र आफूले पाएको दुःखको प्रकाशन तथा सुखको अपेक्षाको प्रतिविम्बित भएको भए तापनि सुखको र न्यायको अनुुभव गर्न नपाए पनि वि.सं. २०७२ साल फागुनसम्ममा प्रकाशित गरी सोही साल चैत्र २५ गते शुक्रबार झापा जिल्लाको भद्रपुर न.पा.चन्द्रगढीमा अवस्थित लेखनाथ पुस्तकालयको औपचारिक कार्यक्रम बिच विमोचन गरिएको थियो । उक्त विमोचन कार्यक्रममा यस कृतिको बारेमा परिचय दिंदै महाकाव्य नै हो भन्ने हिसाबले मैले वर्गीकरण गरेको थिएँ र वास्तवमा यो कृति महाकाव्योचित गुणहरुले युक्त नै छ । यसबाट कविलाई अझ अरु पनि कृति निकाल्ने क्षमता र हौसला प्राप्त भएको हुने आशा पनि उक्त विमोचनको अवसरमा गरिएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले काव्यको मूल्याङ्कन गर्दै आफ्नो मन्तव्य समेत प्रकट गरेका थिए ।

३. कथावस्तु तथा संरचना ः
महाकाव्यहरु सामान्यतया सर्गसर्गमा लेखिने परिपाटी छ । तर यस महाकाव्यमा भने सर्गको पर्यायवाचक लाग्ने वेग वेगका रुपमा कथावस्तुलाई विन्यस्त गरिएको छ । सर्गका स्थानमा यहाँ वेग भनिएको छ । यस महाकाव्यमा १५ वटा वेगहरु रहेका छन् । विभिन्न वेगहरुमा निम्न किसिमबाट कथावस्तु अघि बढेको छ ः
पहिलो बेग ः यस वेगमा देवी, देव, आमा बुुबा, हजुरआमा, हजुरबुुबा, वायु, पानी, तेज, पृथ्वी, आकाश, कवि, गाई, समुद्र, प्रकाश आदिको स्तुति र महिमा गान गरिएको छ । यस वेगलाई मङ्गलाचणको वेगका रुपमा पनि लिन सकिन्छ ।

दोस्रो वेग ः यस वेगमा धर्मपुर गाउँको वर्णन छ, त्यहाँका नायक जीमूत र जयाका सन्तानका कुरा छन् । उनीहरुका ५ छोरा २ छोरीहरुको वर्णन छ र यो वेग सकिएको छ ।
तेस्रो वेग ः यस तेस्रो वेगमा जीमूतकी जेठी छोरी कुलप्रभाको विवाह कालीदाका साथ र कान्छी छोरी मितम्पचाको विवाह माधवसँग गरिएको कुराको वर्णन भएको छ ।
माधव धनी, विद्वान् र मितम्पचाका प्रेममा समर्पित छन् । उनी मितम्पचाका साथमा सुखभोग गर्दै धन सकिएको छ । त्यसपछि असाध्य रोग लागी २ जीउकी मितम्पचाको जीउ हलौँ हुन आँटेकै बेला गम्भीर रोग लागेर मितम्पचा र माधवको सँगसँगै मृत्यु भएको कथा यस वेगमा छ ।
चौथो वेग ः यस वेगमा जीमूतका छोराहरुमा जेठा छोरा बुहारी अवधीर र अस्मिता, माइला सुदक्षिण र सुषमा, साहिंला अमिताभ र अस्मिता काहिंला प्रसु र प्रमिला भएको कुराको वर्णन छ । यिनकै काहिंला प्रसु र काहिंंंली प्रमिलाले आमा बाबु जया र जीमूतको सभक्ति सेवा गरेको कुरा आएको छ । कान्छा छोरा सर्वदक्षिणले विवाह गरेनका छैनन् । उनले गरेको भीषण तपास्याबाट खुसी भएर भगवान्ले दर्शन दिएको कुराको पनि वर्णन भएको छ । सर्वदक्षिणले गरेको स्तुतिबाट प्रसन्न भई भक्ति, ज्ञान र वैराग्यको वरदान उनलाई दिई बालबालिकालाई शिक्षा दिन आदेश दिए । ईश्वरको आदेश पालना गर्दै ग्रामीण वालवालिकालाई धेरै शिक्षा दिएर सर्वदक्षिण बूढा भएको कुरा पनि छ । उनले मृत्युलोकबाट बिदा लिन भगवानको आराधना गरेकाले भगवान् दिव्य विमानमा चढी, दिव्य आँखा पाएर आउनुुभएको सर्वदक्षिणले देखेको कुरा पनि यसै वेगमा आउँछ । अरुको आँखा छोपिएको हुँदा उनीहरु भगवानको विमानबाट निस्किएको शब्द जता गयो उनीहरु त्यतै धाएको कुरा पनि छ । भगवानले अब यो विमानमा चढ, अब हामीसँग जानुपर्छ भन्नुुभएको सुन्दर वर्णन छ । ‘म मात्र हैन जानु हो भने दुःखी गरिब सबैसँग जानुपर्छ । भगवान्ले उनीहरुको पालो भरे मात्र हो । उनीहरु भरे आफ्नै पालामा जान्छन् भन्नुुभएपछि मैले पनि भरे नै उनिहरुसँग जाँदा भयो नि’ भन्दा केही छिन् विचार गरी ‘यदि तिमी मसँग जानेभए सबै सुखी सन्तोषी धनी होउन्, यसो भनेपछि फेरि एकछिन बालकलाई शिक्षा देऊ भन्नुुभएको कथा पाँच बेगमा छ । साथै यसै पाँचौ वेगमा बालकालाई सर्वदक्षिणले अरु धेरै शिक्षा दिएर भगवानको विमानमा चढी गोलोक गएको समेत चर्चा छ ।

छैटौँ वेग ः यस वेगमा कालिदासले लेखेका विप्रलम्भ श्रृङ्गार रसयुुक्त काव्यको वर्णन छ । यहाँ पतिवियोगमा पत्नीले सहनुपर्ने पीडा र पत्नीविरहमा पतिले पाउने पीडाको ऋतुपरिवर्तन सहित वर्णन छ । यस्ता कविता लेखेर कालिदासलाई राष्ट्रवाद मान र रथयात्रा गरिएको, कालिदासले दैवज्ञलाई फल सोधेपछि ज्यौतिषफल शुुभ बताई ज्योतिषीसँग बिदा लिएको कुरा आएको छ ।
सातौँ वेग ः यस वेगमा हिमाल, पहाड, वन नदी झरना तालहरुको वर्णन गरिएको छ । वर्णन गरिएका ती ठाउँ नेपालकै कुने स्थानका हुन् कि जस्तो लाग्ने गरी सशक्त रुपमा र सजीव रुपमा वर्णन गरिएको छ । यहाँ वर्णन गरिएको त्यस हिमालयमा झलल बलेकी राम्री भगवती थिइन् भनेर मनोरमालाई संकेत गरिएको छ ।
आठौँ र नवौंं वेग ः यस वेग काश्यप ऋषि र कुलदेवको आराधनाबाट प्रारम्भ गरी अवधीर, सुदक्षिण अमिताभ प्रसुका सन्तानको वर्णन गरिएको छ । जीमूत र जयाले आफ्ना नाति नातिनीहरुलाई गरिने मायाभाव वर्णन छ । प्रसुका छोरा मनोज राम्रा, चलाख र ठूला भए भनी मनोजको शारीरिक वर्णन पनि छ । मनोजको विवाह गर्ने समय समेत भएको हुँदा मनीषा नाम गरेकी सच्चरित्र भएकी कन्या मनोजलाई दिन आउँदा उनका शत्रुले भट्काई ऋतुमालिका नामकी वेश्यासँग फसाउने प्रयत्न गरेको कुरा आउँछ । केटी हेर्न मनोज र उनका साथी विद्रुम गएका थिए । ऋतुमालिकाको चरित्र थाहा पाएपछि विहे नगर्ने खबर दिएको कुरा छ ।
दसौँ वेग ः यस वेगमा अम्मली, लुटेरा, अत्याचारी, ज्यानमारा र बलात्कारीहरुले गरेको अत्याचारको बडो कारुणिक रुपमा वर्णन भएको छ ।
एघारौँ वेग ः यस एघारौं वेगमा मनोजका समूहले अत्याचाविरुद्घ गाउँमा चेतना जगाएको कुरा, सैनिक तालिम लिए दिएको कुरा, हाहतियार विदेशबाट भित्र्याएको कुरा र हातहतियार झिकाएपछि अत्याचारी जथ्थाले पनि त्यसै गरेको सन्दर्भ छ । दुवैतर्फ शक्तिसम्पन्न भएपछि लडाइँ भएको छ । मनोजका वीरहरुले लुटेरालाई लडाइँमा जितेको वयान पनि छ । केही बाँचेका शत्रुहरुलाई मनोजका वीर सेनाहरुले लखेटेर वनतिर भागेको वयान पनि यसै वेगमा आएको छ ।
बाह्रौँ वेग ः यस वेगमा दिव्यपुरका कौशिक श्रवण र कौसिलाका छोरीको सुन्दर वर्णन छ । यहाँ कौशिकश्रवणलाई, कौसिलाले छोरीको विहे गरिदिन गरिएको प्रस्तावसमेतको वर्णन छ ।
तेरौं वेग ः यस तेरौं वेगमा सर्पलाई दूध खुवाउँदा पनि विष बढ्छ भने झैँ मनोजले गरेको उपकारको बदला आक्रमण गरी जित्न नसकेर भागेका शत्रु लुुटेर भाग्दै दिव्यपुरमा पुुगी एक कन्यालाई बलात्कार गर्ने प्रयास गरिरहेको देखेर मनोज र विद्रुमले लडाइँ गरी मारिदिएर समाजमा शान्ति, धर्म, विवेक सम्पूर्ण कायम भएको कुरा आएको छ । आकाशबाट देवगणले फुलका गुच्छा अर्पण गरेका छन् । विजयोत्सवमा मनोजको मनोरमासँग विवाहगर्ने प्रस्ताव राखिएको छ ।
चौधौँ वेग ः यस वेगमा देशमा सबै शत्रुको नास भएपछि चोरी, डकैती, लुट, हत्या बलात्कार सबै समाप्त भएको कुराको सुमधुर वर्णन छ । मानिसले सुख पाएको, रोगहरुको निदान गरिएको, ऋतु अनुसारका फल जताततै फलेको कुराहरु बडो मिठो पाराले वर्णन गरिएको छ । भोक, रोक र शोक त्यहाँका मानिसहरुले झेल्नु नपर्दा सुखी, उद्योगी विद्वान् व्यवसायी र धार्मिक बनेको कुरा आउँछ । सुख सन्तोक र हर्ष प्राप्त भएपछि लडाइँदेखि भागेका मानिस पनि घर फर्किर आएको कुरा पनि छ । फेरि शान्ति र समृद्घिले देश सम्पन्न भएको कुरा देखाइएको छ । मनोज र मनोरमाको विवाह भएको देखिन्छ । विजयोत्सव गरी पुराण लगाइएको र सुखभागको कुरा पनि यस वेगमा वर्णन मा आएको छ । पुराण सुन्न मानिस खाली हात नभई आएकाले पुराण लगाई बाँकी रहेको अन्न, फलफूल र रुपैयाँले गरीव, असहाय, अशक्तलाई बाँडीकन बँचेको धनले त्यहाँ शिवालय निर्माण गरेर सरस्वतीको स्तुतिपछि काव्य समापन हुन्छ ।
यसरी यस काव्यको कथावस्तु सकिएको छ ।
यो कृति लेख्न थाल्दा महाकाव्य भनेर थालिए पनि यसलाई महाकाव्य, खण्डकाव्य वा कवितासंग्रह के भन्ने भनी गरिएको निचोड अनुसार यसलाई कृति विमोचन कार्यक्रम २०७२ चैत्र २६ गते लेखनाथ पुस्ताकलयको शुक्रवारे औपचारिक कार्यक्रमले महाकाव्य हो भन्ने धारणा नै सबैको देखिएको थियो ।

४.निचोड
मूलतः प्रस्तुत कृति परम्परागत महाकाव्यीय ढाँचामै लेखिएको छ । यसमा महाकाव्यमा आवश्यक ठानिने कुराहरु समाविष्ट पनि छन् । कथा कपोलकल्पित नै हो । कथाको परिवेश नेपालकै भूभाग जस्तो लाग्छ । कथामा धेरै पुस्ताको वयान भएकोले कालीदासको रघुवंश महाकाव्यको झलक दिन सक्छ । यसैले यो एक नायकीय महाकाव्य हैन । जिजुबाजे जीमूत देखि नाति पनाति मनोजसम्मको कथाको इतिवृत्त यसमा छ । वंशपरम्परा र कुलपम्पराको वयान गरिने काव्यहरुमा यसको नाम आउँछ । शास्त्रीय छन्दमा लेखिएको यस कृतिमा विभिन्न छन्दहरुको उपयोग भएको छ । विशेष गरी प्रचलित शास्त्रीय छन्दहरुलाई नै यसमा महत्व दिइएको छ । शार्दूलविक्रीडित, स्रग्धरा, वंशस्थ, उपजाति, अनुष्टुभ, वंशस्थ, सालिनी, मालिनी, शिखरिणी जस्ता प्रचलित र प्रसिद्ध बिस भन्दा बढी छन्दमा यसको संरचना भएको छ ।
कथाको अन्तिका तेर चौध वेगको वर्णनले नेपालको माओवादी युद्धकालको झलकलाई प्रतिविम्बत गरेको आभाष हुन्छ । अनि अन्तको सुख र समृद्धिमा कथालाई समापन गरेकोबाट राज्यबाट भागेका जनताहरुलाई राज्यमा पुनः फmर्काएको वयान छ । यसबाट पनि नेपालीहरुलाई तत्कालीन युद्धले दिएको दुःखको झलकलाई पनि सम्झना गराउँछ । कथालाई आशावादमा सुख र समृद्धिको अवस्थामा र देशभित्र यज्ञयागादि गरेको तथा जनतामा भय त्रासहरु हटेको वर्णनसँग सिध्याएकोबाट यो महाकाव्यले आदर्शवादी, कर्मवादी र देशभक्त हुने उपायहरुको खोजी गरेको बोध हुन्छ ।
भाषिक सन्दर्भतिर नियाल्दा यसमा उपयोग भएको नेपाली भाषा परिमार्जित र परिष्कृत भाषामा नै लेखिएको छ । तर छन्दोचित र छन्दका लक्षणहरुलाई पालन गर्नु पर्दा भाषामा कताकता आघात भने परेकै छ । नकाटिने शब्दका खुट्टा काटिएका छन्, दीर्घ शब्दहरु ह्रस्व र ह्रस्व शब्दहरु दीर्घ हुनु पर्ने अवस्था पनि कतैकतै आइलागेको छ कविका लागि । यसो नगरिएको भए राम्रो हुने थियो भन्न मात्र सकिन्छ लख्ने क्रममा कति मुस्किल पर्छ यो कुरा कविलाई नै अनुभव हुन्छ । अरुलाई थाहा हुन्न ।
समग्रमा यो एक आर्ष परम्परालाई पालन गरिएको आधुनिक युगको र विषय पनि आर्ष परम्पराकै परिप्रेक्षबाट चयन गरिएको महाकाव्य हो । परिष्कारवादी नेपाली महाकाव्यको धारामा यसको स्थान सुरक्षित भएको कुरामा विमति हुन सक्तैन । तर नेपाली महाकाव्यको प्रबाहलाई नै हलचल गराउने क्षमता नभए पनि यसले नेपाली आर्ष महाकाव्यको त्यस परम्पराको मन्दिरमा आसन पाएको छ भन्न भने सहजै सकिन्छ ।

सहप्राध्यापक तथा अनुसन्धानप्रमुख
मेची क्याम्पस, भद्रपुर, झापा
वसन्तपञ्चमी, २०७३

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2073

लेखकका अन्य रचनाहरु