निकास नपाएको उल्झन

- प्रभा बराल

‘भोलि त विश्वविद्यालयमा हाम्रो नेपालबाट पूर्व प्रधानमन्त्री माधवकमार नेपालको आगमन हुँदै छ नि बुझ्यौ । छोरा–छोरीलाई तयार पारेर तिमी पनि छिट्टै युनिभर्सिटी आऊ है ? एउटा भव्य कार्यक्रम नै आयोजना हुने भएको छ । म त बिहान आठ बजे नै पुग्नु प–यो ।’
उहाँले यति भनेपछि मलाई आफ्ना देशका मान्छे यति बिरानो ठाउँमा आउँदै छन् भन्दा कता कता खुसी पनि लाग्यो । जापानी विद्यार्थीसमेत नेपालका पूर्व प्रधानमन्त्री आउँदै छन् भनेर कुरा गर्दै थिए रे उहाँसँग । झन् आफ्ना देशका उच्च नेता र प्रधानमन्त्री समेत बनिसकेको मान्छे विश्वविद्यालयको कार्यक्रममा सरिक हुन आउँदै छन् भन्ने सुन्दा त खुसी नलाग्ने कुरै भएन । नेपालमा सन् २०१२ को लुम्बिनी भ्रमण वर्ष चलिरहेको थियो, यसै क्रममा अक्टोबर २७ तारिखका दिन लुम्बिनी भ्रमण वर्ष २०१२ को प्रचार गर्ने क्रममा नेपालका भूतपूर्व प्रधानमन्त्री जापानको एहिमे विश्वविद्यालयमा आउने कार्यक्रम रहेछ ।
आफ्नो देशको मानिस पराईको भूमिमा अतिथि बनेर आउँदैछन् भनेर हामी सबै नेपालीहरू उत्सुकतापूर्वक उनलाई पर्खिरहेका थियौँ । आफ्नै नेपाली नेता भए पनि उनलाई प्रत्यक्ष भेटेर गफ गर्ने अवसर त कहाँ पाएका थियौ र ? नेपालमा उही टेलिभिजनका स्क्रीनमा त हो नि हेरेको, त्यसैले हामी नेपाली पनि उनलाई भेट्न उत्सुक थियौ । हामीभन्दा पनि अझ व्यग्र थिए जापानीहरू । नेपालको भूतपूर्व प्रधानमन्त्रीसँगै साक्षात्कार हुन पाउने भइयो भनेर झन् बढी खुसी थिए । उनीहरूको देशमा मन्त्री प्रधानमन्त्रीको ठूलो भाउ थियो । उनीहरूप्रति ठूलो श्रद्धा र विश्वास थियो । राजनैतिक योग्यता पुगेकाले मात्र राजनीतिमा प्रवेश पाउँथे । हाम्रो जस्तो छ छ महिनामा त्यहाँको मन्त्रीमण्डल परिवर्तन नहुने भएकोले उनीहरूलाई प्रधानमन्त्री र मन्त्री बन्नु ठूलो कुरा हो भन्ने लाग्दथ्यो । हुन पनि वास्तविकता त त्यही थियो तर हाम्रो देशको कथा नभोग्नेलाई के थाहा यस्ता कुरा । एउटा मन्त्रीमण्डल गठन भएर उनीहरूको नाम याद भइसकेको हुँदैन पुनः त्यो मन्त्रीमण्डल विघटन हुन्छ भन्ने कुरा उनीहरूलाई के थाहा ?
सर्वप्रथम माधवकुमार नेपालले सुरुमा बिहान दश बजे एहिमे विश्वविद्यालयमा पढ्ने जम्मा जम्मी पन्ध्र जना विद्यार्थीहरूसँग मात्र अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको रहेछ । त्यसैले एहिमे विश्वविद्यालयमा पढ्ने सबै नेपाली विद्यार्थीहरू ठीक दश बजे विश्वविद्यालयको सभाहलमा उपस्थित भएका थिए । नेपालको कोही पूर्वका र कोही पश्चिमका विद्यार्थीहरू विदेशी भूमिको यो प्राङ्गणमा जापानीज जस्तै सुटेडबुटेड भएर हँसमुख अनुहारमा आफूलाई प्रतीक्षा गरिरहेको देख्दा सभाहलमा छिर्नेबित्तिकै उनी मुसुक्क मुस्कुराए ।
कुर्चीमा बसीरहेका हामी सबै जनाले जुरुक्क उठेर नमस्कार ग–यौ । मुसुक्क हाँस्दै उनले, ‘लौ बस्नुस’ भने र हाम्रो समीप नै आएर परिचय माग्न थाले । उनको साथमा जापानमा रहेको नेपाली एम्बेसीमा कार्यरत साहित्यकार दुबुस क्षेत्री पनि । सुरुमा माधवकुमार नेपालले सबैको पालै भनेर जिज्ञासा राखे ।’ पढ्न खोजेको विषयले नेपालमा गएर के उपयोगिता हुन सक्छ भनेर सोधेँ ।’ विदेशी भूमिमा बसेर पढ्दा भोग्नु परेका कठिनाइहरूका बारेमा प्रश्न गर्न पनि उनी चुकेनन् । ‘तपाईले यी विषयमा दक्षता हासिल गरेपछि देशका लागि केही गर्नुहुन्छ कि यतै पलायन हुने सोच छ ?’ भन्ने प्रश्न गरे । ‘देशको अवस्था राम्रो भए कोही नेपाली पनि विदेशमा बस्न खोज्दैन हामी त्यसैको प्रतीक्षामा छौँ । हाम्रो देशमा लोडसेडिङ मात्र हट्ने हो भने पनि नयाँ नेपालीले आफ्नै देशमा रगत र पसिना बगाउने थिए । विदेशमा अपमानित भएर बस्नु पर्ने थिएन ।’ केही विद्यार्थीले आफ्नो भावुकता पोखे । माधवकुमार नेपाल भने मुसुमुसु हाँस्दै टाउको हल्लाइरहे । एकैछिन सम्म यिनै वार्तालाप भइरहे ।
जापानको विकास, विश्वविद्यालयको भौतिक पूर्वाधार तथा यहाँको अनुशासनपूर्ण जीवनशैलीका बारेमा पनि निकै कुरा भए । राजनीतिका बारेमा धेरै कुरा गर्न मन लागे पनि विदेशी भूमिमा आएर स्वदेशको असफल राजनीतिका बारेमा के जोडका तोड गर्नु भन्ने लाग्यो अनि हामीले पनि हामी केही नबुझे जस्तो गरेर उनका कुरा चुपचाप सुन्दै टाउको हल्लाइरह्यौ ।
दिउँसो एहिमे विश्वविद्यालयले आयोजना गरेको भव्य समारोह थियो । सभाहल पनि निकै आकर्षक थियो, हलभरि रातो कार्पेट बिछ्याइएको थियो, मेचहरू पनि अत्यन्त आकर्षक थिए । जापानका प्रोफेसरहरू, विश्वविद्यालयका क्याम्पस प्रमुख र अन्य एशियन मुलुकका विद्यार्थीहरू पनि सभामा अटाईनअटाई बसेका थिए । जापानीजले बोलेको अङ्ग्रेजीमा र अङ्ग्रेजीमा बोलेको भाषालाई अनुवाद गरेर सबैका अगाडि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने काम एहिमे विश्वविद्यालयका नेपाली उपप्राध्यापक नेत्रप्रकाश भण्डारीले गरेका थिए । विगत दश वर्षदेखि जापानको एहिमे विश्वविद्यालयमा पढाइरहेका उनलाई जापानी भाषाको राम्रो ज्ञान थियो । त्यसैले धाराप्रवाह रूपमा आफ्नो दक्षता प्रदर्शन गरिरहेका थिए ।
प्राकृतिक सौन्दर्यले धनी राष्ट्र नेपाल, हिमाल, पहाड, तराईको भूबनोट, गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश अनि सानो भइकन पनि प्राकृतिक रूपमा सुन्दर राष्ट्र भनेर माधव नेपालले मन्तव्य दिए । त्यो सँगसँगै उनले नेपालसम्बन्धी आफूसँग वृत्तचित्र रहेको भन्दै त्यसलाई देखाउन खोजे ।
पावरपोइन्टमा वृत्तचित्रका दृश्य हेर्ने जापानी मनभन्दा बढी नेपाली मन व्यग्र बन्यो । कस्तो वृत्तचित्र बनेको होला । देशको प्रधानमन्त्रीको कार्यभार सम्हालेर अनुभवी बनेका वरिष्ठ मानिसले पक्कै पनि विदेशीलाई लोभ्याउने खालको नै त ल्याएका होलान् । पावर पोइन्टका स्क्रीनभरि हाम्रो सुन्दर प्राकृतिक सुन्दर दृश्यहरू त होलान् भन्ने कुरा मनमा खेल्दा नखेल्दै वृत्तचित्रका दृश्यहरू पावरपोइन्टमा फुत्त फुत्त देखा पर्न थाले । जुन व्यग्रताले वृत्तचित्र हेर्न खोजिएको थियो, त्यसका विपरीत यसको पहिलो दृश्यले नै मन अमिलो भयो । जब वृत्तचित्रका दृश्यहरूमा गरिबी सगबगाइरहेको देखियो । मन उत्तिबेलै तेलमा ओइरिएको पालुङगोको सागसरी लल्याकलुलुक भयो ।
कर्णालीका गरिब जनता, ठाउँठाउँमा पहिरो गएको डाँडो, फोहोरका डङ्गुर, खाना खान लाग्दा झिँगा भन्केका मुगु र डोल्पाका जस्ता लाग्ने नानीहरू देख्दा जापानीजहरूका अगाडि एकाएक शिर निहुरियो । एकजना जापानीजले उठेर सोधे, ‘तपाईहरूको देशमा किन बच्चालाई सानैदेखि जथाभावी फोहोर फाल्न हुन्न भनेर सिकाउनु हुन्न, निश्चित ठाउँ नभेटे आफ्नो फोहोर आफ्नै खल्तीमा बोकेर हिँड्नुपर्छ र सही ठाउँमा व्यवस्थापन गर्नुपर्छ भनेर आफ्नो पाठ्क्रममा समावेश गर्नु भएको छैन ?’ यसको उत्तर नेत्रप्रकाश भण्डारीले जापानीज भाषामा के दिए मैले राम्ररी बुझन सकिनँ । विदेश जाँदै छु राम्रो सन्देश लिएर जानुपर्छ भन्ने हिसाबले सुन्दर माछापुच्छ«े, अन्नपूर्ण र सगरमाथा अनि तालतलैया र अरू राम्रा दृश्यहरू भएको वृत्तचित्र लैजान पनि सकिन्थ्यो होला तर विदेशी भूमिमा किन त्यस्ता दृश्यहरू समेटेर चरम गरिबीको प्रदर्शन गरियो ? यस्ता दृश्य देखायो भने जापनीजहरूले नेपालमा सहयोग गर्लान भनेर हो वा कुनै गृहकार्य नगरी नेपालमा जस्तो बनेको थियो त्यस्तै वृत्तचित्र बोकेर उनी जापान आएका हुन् यस बारेमा मनभरि जिज्ञासा भरियो । एकछिन अघिसम्म आफ्नो देशको केही कुराहरू विदेशमा चिनाउन पाइयो भन्ने लागेको मन छिनभरमै न्याउरो भयो । किन यस्तो दृश्यहरू देखाइएको होला ?
हामी सबै बीच एउटा साझा प्रश्न उब्जियो ।
यस्तै यस्तै कारणले गर्दा होला एकजना जापानीजले हाम्रा नेपाली विद्यार्थीलाई एकदिन सोधेका थिए रे, ‘के तिमीले तिम्रो देशमा मोबाइल, कम्प्युटर, फ्रिज, वासिङ मेसिनहरूको प्रयोग गरेका थियौ ?’ उनले नेपालप्रति हेपेर त्यस्तो प्रश्न गरेपछि हामी नेपाली विद्यार्थीलाई सा¥है नरमाइलो लागेछ र उनले, ‘हाम्रो देशको राजधानीमा अमेरिकाको न्यूर्योकको जस्तै सुविधाहरू पनि छन् । सम्पूर्ण रूपमा देश विकसित नभएपनि त्यस्ता चीजहरू प्रयोग गरेरै जापान आएका हौँ ।’
उनको यस्तो उत्तरले जापानीजले ‘गोमेनाइसाई’ (सरी) भनेछन् ।
गरिब देशको जनता भन्नेबित्तिकै यिनीहरूले केही देखेका छैनन् भन्ने खालको हेपाहा प्रवृत्ति उनीहरूमा रहेको देखियो । पढ्न जाने विद्यार्थीहरूप्रति त यिनीहरूको यस्तो दृष्टिकोण छ भने झन् कुकको रूपमा जापान जाने अरू नेपालीको हालत के होला भन्ने कुराले मन नमिठो गरी चिमोट्यो । जापानमा भिसा पाउने भनेको कि विद्यार्थीले रहेछ कि होटेलमा काम गर्ने कुकले रहेछ नत्र अरू प्रयोजनका लागि जापान आउन असाध्यै गा¥हो हुने कुरा अनुमान गरेँ ।
नेपालका भूतपूर्व प्रधानमन्त्रीको सम्मानमा एहिमे विश्वविद्यालयका तर्फबाट बेलुका रात्रिभोजको आयोजना गरियो । त्यसमा हामी सबै नेपालीलाई निम्तो थियो । पार्टी गरिने स्थल त्यो इलाकाको ठूलो ‘यामाताहा’ भन्ने होटल थियो । नेपाली भेषभूषा झल्काउन हामी सबै नेपाली महिला साडीमा सजियौ, पोते लगायौ र सिउँदोमा सिन्दुर हालेर नेपाली पोशाकमा होटल परिसरभित्र छि¥यौँ ।
हामी सबै नेपालीलाई चिनाउनका लागि होला ‘लुम्बिनी भ्रमण वर्ष–२०१२’ लेखेको एकनासको खादा हामीलाई ओढाइएको थियो । ठूलो भव्य हल थियो । जापानीजहरूको पार्टीमा सबैले उठेर खानुपर्ने चलन रहेछ । बस्ने कुर्सीहरू त्यहाँ देखिएनन् । अनेक परिकार थियो । सोझै समुन्द«बाट ल्याएका ठूला ठूला नुनिला सुनौला माछाहरू पनि थिए । काँचा माछालाई चक्कुले काटेर काँचै टुक्रा टुक्रा बनाई नजिकै राखिएको थियो । जापानमा सोझै काँचो माछाको मासु पनि खाइँदो रहेछ । तर मलाई यसको बासना काँचो काँचो आइरहेकोले कत्ति पनि खान मन लागेन । देख्दा खाऊँ खाऊँ लाग्ने अरू परिकारहरू पनि थिए । थरि थरिका फलफूलहरू काटेर उत्तिकै सुन्दरतापूर्वक सजाइएको थियो । रक्सी र बियरको खोलो बगेको थियो । अरूबेला देखेको नदेखै गरेर हिँड्ने जापानीजहरू पार्टीमा भने निकै नजिकिएर बोल्न खोज्दै थिए । नेपालमा काठमाडौँदेखि कत्तिको पर पर्छ घर ?
‘जापान कस्तो लाग्यो ?’
‘पार्टीमा राम्ररी रमाउनुहोला’ इत्यादि । भन्दै उनीहरू टाउको झुकाएर बिदा हुन्थे । यसरी कुरा गर्नेमा नेपाल आइसकेका र नेपालबारे राम्रो जानकारी लिएका जापनीजहरू थिए ।
हाम्रो साडीले पनि हामी नेपाली भन्ने कुरा अलग्गै छुट्िटएको थियो । नाकमा लगाएको फुलीले पनि उनीहरूलाई अचम्मित बनाउँदो रहेछ, हाम्रो नाकमा उनीहरू घुरेर हेदैँ थिए । जापानी महिलाहरू गहना लगाउँदैनथे । कुनै कुनैले घाँटीमा माला लगाएका देखिन्थे नत्र नाक, कान बुच्चै हुन्थे । म आफ्नो सुरमा नेपाली साथीसँग कुरा गरिरहेकी थिएँ । खुरुखुरु एउटा बूढो बूढो जापानीज आएर केही नबोली मेरो हातमा एक थोक राखिदिएर गयो । उसलाई आरिगातो गोजाइमास (धन्यवाद) भन्न समेत भ्याएकी थिइन् । ऊ फुत्त गइहाल्यो । मुठी फुकाएर हेरँे । अत्यन्त सुन्दर किरिङ थियो । अरू नेपालीलाई नदिइकन मलाई मात्र दिएर हिँडेकोमा अरू नेपाली साथी जिल्ल परे । ‘किन हो तपाईलाई मात्र उपहार ?
हामी त हेरेको हे–यै ।’
‘हो त नि, मलाई मात्र किन होला ?
सायद उसँग एउटै मात्र थियो कि ।’
हामी सबै नेपाली पनि जापनीजले दिएको यत्रो सम्मानमा मन खोलेर रमाइरहेका थियौ । माहोल नै रमाइलो भए पछि सबैजना त्यसै खुसी भइहाल्दा रहेछन् ।
तर दिउँसोको वृत्तचित्र सम्झिनेबित्तिकै नरमाइलो लाग्ने गर्दथ्यो । कतिबेला माधवकुमार नेपाललाई भेटूँ र मनका केही जिज्ञासाहरू पोखूँ भन्ने लागेको थियो । हरेक क्षण उनलाई छोपेर कुरा गर्नेको भीड थियो । फेरि अहिले यस्तो रमाइलो माहोलमा दिउँसोको वृत्तचित्रका बारेमा केही नभन भन्ने सोचाइ मेरो श्रीमान्जीको थियो । कसैलाई केही नभन्ने बरु जति नै पीडादायी भए पनि कुनै पनि घटनाक्रम सहेर बस्ने उहाँको बानी छ । हत्तपत्त कसैको चित्त दुखाउनु हुँदैन भन्ने उहाँको मान्यता अहिले पनि कायमै छ । हरेक मान्छे प्रशंसाका भोका हुन्छन् आफ्ना गल्ती कमजोरीलाई पचाउन सक्दैनन् भन्ने उहाँको धारणामा म पनि बेला बखत हो कि भन्ने लाग्दथ्यो किनकि जसलाई उसका कमी कमजोरी बताइदियो उसकै आँखी बन्नु परेको उदाहरण प्रशस्तै पाउन थालेकी थिएँ ।
बल्ल बल्ल बेलुकीपख उनलाई भेट्ने अवसर मिल्यो । साथमा पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर पनि थिए । माधवकुमार नेपालले छोराछोरीसहित मेरो हालखबर सोधे । उनीसँग पारिवारिक कुराकानी पनि भयो । हामी पनि भर्खर एक महिना भयो जापान घुम्न आएका, श्रीमानजीले यहाँ विद्यावारिधि गर्दै हुनुहुनुहुन्छ भनेँ ।’ यतिकै पर साथीसँग गफ गरिरहनुभएको श्रीमान् हामीतिर आउनुभयो र पुनः पारिवारिक परिचय भयो । हामी सबै परिवार मिलेर पहिला फोटो खिच्न लाग्यौ । यस्तै अन्तरङ्ग कुराकानी हुँदै थियो । अरूलाई पनि फोटो खिच्ने हतार प¥यो ।
पूर्व प्रधानमन्त्रीसमेत भएको नाताले उनीसँग स्वदेशी विदेशी सबै जना फोटो खिच्न हतारिरहेका थिए । बिहान नेपाली विद्यार्थीहरूको भेटघाटमा आफ्नो देशको बारेमा केही कुरा सोधे पनि उनीसँग सोध्ने अझै थुप्रै प्रश्नहरू थिए । ‘विदेशमा आएर यति धेरै विकासका कुराहरू देख्नुहुन्छ । यहाँको बाटोघाटो , बिजुली, पानी, पर्यावरण सबै मानिसले नै निर्माण गरेको हो तर हाम्रो देशमा किन यस्ता कार्यहरू हुँदैनन् ? किन कुर्सीकै खेल खेलिन्छ ? तपाई प्रधानमन्त्री पनि भइसक्नुभयो, कयौँ देशका भ्रमण गरिसक्नु भयो । किन विदेश भ्रमणमा राज्यको ढुकुटी रित्याउँदा पनि देश सधैँ ढुङ्गे युगकै भइरहन्छ भनेर ।’ अनेक प्रश्न गर्ने मन थियो तर प्रश्न मनभित्रै रह्यो । माधवकुमार नेपाल मात्र होइनन् हाम्रो देशका कयौँ नेता, उच्च पदस्थ कर्मचारी लगायत देश निर्माणको ठेक्का लिएका कयौँ व्यक्ति सरकारी सम्पत्तिमा विदेश भ्रमण गर्छन्, आफ्नो परिवारका लागि के कस्तो भौतिक सम्पन्नता अपनाउनु पर्छ भन्ने कुरा छिट्टै सिक्छन् तर देश कसरी बनाउने भन्ने कुरा भने विदेश घुमेपछि पुरै बिर्सन्छन् । यस्तै यस्तै कुरा मनभरि खेले । वास्तवमा नेताहरूले गरिबीको अनुभव गर्नु परेको छैन । सबै जना पदमा कसरी पुग्ने र शक्ति हत्याउने भन्ने खेलमा लाग्दा रहेछन् । सबैजना त्यस्ता मनोवृत्तिका भएपछि दुई चार जनाले देशको बारेमा टाउको दुखाएर के हुने हो र भन्ने प्रवृत्तिले पनि प्रश्रय पाएर देशप्रति कसैको पनि चासो नभएको होला भन्ने लाग्यो ।
धेरै वर्षसम्म हाम्रो देशले विकासको गति पक्डन नसकेकोले होला सायद कवि वंशी श्रेष्ठ लेख्छन्ः
एकजना दुष्यन्त जन्मन सकेन
न त भरत वा जनक नै जन्मन सक्यो
युगयुग पछि पनि
यो सङ्क्रमण युगसम्ममा
इतिहासका पानापछि पानाहरू पल्टिएर पनि
एउटा महाकाव्य जन्मन सकेन ।
हुन पनि देश कसरी बनाउने भन्ने इच्छाशक्ति नै नभएपछि आखिर जति नेताले विदेश भ्रमण गरे पनि के भयो र ? झन् दिउँसो प्रस्तुत गरिएको वृत्तचित्रको बारेमा प्रश्न गर्ने धोको मनभित्रै गुम्स्याउनु प–यो, सोध्नका लागि कुनै उत्साह नै रहेन । होटलबाटै गाडीको प्रबन्ध गर्ने कि घर फर्किनलाई भन्ने कुरा पनि आएको थियो । टन्न खाएर उक्सिएको पेटलाई पैदल यात्राले पनि फाइदा नै हुन्छ । फेरि रातमा हिँडदाको मजा नै बेग्लै । स्वछन्द बनी आकाशका जून–तारा हेर्दै प्रकृतिको यो निश्चलतालाई आँखाभरि पिउनुको स्वाद नै अर्कै । हामी दश–बाह्र जनाको समूह छौ । सबैको कोठा एउटै एउटै क्षेत्रमा छ । सबै जना धित मर्ने गरी हल्लाखल्ला गर्दै हिड्छौ । पराई देशमा दिउँसोको समयमा यसरी उन्मुक्त भएर हिँड्ने आँट कसरी पाउनु र ? पराई आकाशमुनि रातको समय हाम्रा लागि आफ्नो बनीदिन्छ । सबै जना पैदल हिँड्ने कुरामा एक मत हुन्छौ अनि फटाफट हिँडि पनि हाल्छौ ।
यहाँ रातको एक बजे पैदलै हिँडे पनि केही आपत्ति छैन । सुरक्षा स्थिति अत्यन्त भरपर्दो छ । झलमल्ल उज्यालो छ जताततै । उज्यालोले राति हो वा दिउँसो छुट्टयाउन गा–हो छ । तब पो विकास हुन्छ । अत्यन्त व्यवस्थित र सुन्दर छ जापान देश तर आफ्नो देशमा साँझ पर्न पाएको छैन, सबैलाई घर जान हतार हुन्छ । साँझको सात बजे नै सार्वजनिक यातायात पाउन कठिन छ । मेरो आँखा अगाडि भृकुटीमण्डपको माइक्रो स्टपको कोलाहल र यात्रुको दौडधुप आँखा वरिपरि नाच्न थाल्छ । फेरि अलिकति ढिला हुने बित्तिकै अँध्याराको फाइदा उठाएर अनेक घटनाहरू पनि घटिरहन्छन् । अनि सबै जना बाध्य भएर घर जान दौडिदा न गाडीमा सिट पाइन्छ । एकै चोटी सबै गाडीहरू झुरुप्प सडकमा निस्कदाँ साँघुरो सडकको अप्रत्याशित जामले समयमै घर पुग्न मुस्किल हुन्छ । पन्ध्र मिनेटमा पुगिने बाटो डेढ दुई घण्टाको हुन थाल्छ । खै त समयको व्यवस्थापन, अनि यसको सदुपयोग ? मनभित्रका यी तर्कनालाई उछिन्दै फेरि कता कता दिउँसोको आफ्नै देशको वृत्तचित्र सम्झन्छु र दुःखी हुँदै रातको एक बजे कोठामा फर्किन्छु परिवारजनसँगै ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2073

लेखकका अन्य रचनाहरु