मायाको सौगात

- कुमार काफ्ले

मालिकको निर्मम हत्यापछि माया जेल गईन् । सौगात उनलाई भेट्न बरोबर त्यहाँ गइरहन्थ्यो । आफू जेल परेपछि उसले चटक्कै बिर्सिएला भन्ने डर जो मायामा थियोे त्यो बिस्तारै हट्दै गयो । तैपनि आफूले यस कालकोठरीबाट छुटकारा पाउञ्जेलसम्म त उसले कतै बिहे गरेर घरजम बसालिसक्छ कि भन्ने शंकाले मनको एउटा कुनामा डेरा जमाएकै थियोे । तथापि उसले देखाएको निष्कपट र निश्चल प्रेमको विश्वासले नै उनलाई निकै आशावादी बनाएको थियोे । उनलाई सौगातको यस कुराले पनि अति नै प्रभाव पारेको थियोे , जुन दिन उनले आफ्नो अस्मिताको रक्षार्थ सानैदेखि पालनपोषण गर्ने साहूको इहलीला समाप्त गरेकी थिईन् ; त्यसदिनसम्म उसले उनलाई न प्रेमप्रस्ताव नै राखेको थियोे न त सदैव साथ दिने वचनै दिएको थियोे । अझ आफू समस्यामा परेको र आगामी जीवन कष्टकर हुने थाहा पाउँदा पाउँदै पनि साथ दिन हाँसी खुसी तयार भएको थियोे । उसले चाहेको भए त आफ्नो बाटो तय गर्न र उनलाई बिर्सन कुनै कठिनाइ नहुँदो हो । माया आफ्नो अतीत सम्झीरहेकी थिईन् ।

त्यति मात्रै कहाँ हो र ! हत्यापछि वकिलकोमा पुगेर छलफल गर्दा उसले त त्यो हत्या नै आफूले गरेको हो भनेर वकिललाई भनेको थियोे । वकिल एकदमै मिजासिला र सहयोगी रहेछन् । सौगातलाई माया पनि असाध्यै गर्ने ! उसले हत्या गरेको कुरा त पत्याउँदै पत्याएन वकिलले । पछि सबैकुरा मायाले बेलीविस्तार लगाएपछि पो वकिलले लामो सास फेरेको थियोे । ऊ निर्दोष भएको र जसले अपराध गरेको छ उसैले सजाय पाउनुपर्ने जिकिर मायाले गरेपछि वकिलले उक्त मुद्दा लड्ने निश्चित भयो र कमभन्दा कम सजाय हुनेगरी मुद्दाको फैसला भएको थियोे । मायाले आफूलाई मालिकले बलात्कार गर्ने प्रयास गरेको पुष्ट प्रमाण जुटाएर प्रमाणित गर्न सकेको भए त त्यो जेल सजाय पनि हुने थिएन भनेर वकिलले भनेका भए तापनि यथेष्ट प्रमाण नपुगेपछि उनी जेलजीवन बिताउन विवश भएकि थिईन् । आफ्नो अस्तित्व बचाउन खोज्दा भएको घटनामा माया दोषी करार भइ कारावासको सजाय भोग्नुपरेको यथार्थबाट सौगात निकै तनावमा परेको थियोे । फेरि मायाको आफ्नो इज्जत जोगाउन कसैको ज्यानै लिन सक्ने निडर स्वभावबाट अति नै प्रभावित भएको थियोे । र , ऊ त्यसबेला सौगातले आफूलाई गरेको सहयोग र आफू जाने कारावासमा समेत जान तयार भएको सम्झेर अहिले पनि भाव विह्वल हुन्थिन्।

घटना घटेको दिन वकिलकोबाट फर्केपछि उनीहरू सरासर घटनास्थलमा आए र पोखरा गएकी साहूनीलाई घरकै नम्बरबाट फोन गरेर साहूजी सिकिस्त बिरामी भएको र आजै घर आउन अनुरोध गर्दै रोई पनि माया । राती एघार बजे साहूनी घर आइपुगिन् । उनी आउनु अघि उनीहरूले वकिलको सल्लाह अनुसार प्रहरीलाई पनि खबर गरिसकेका थिए । केही समयपछि नै साइरन बजाउँदै प्रहरीको भ्यान घरअघि रोकिएको थियोे । र , छ सात जना बर्दीवाल प्रहरी त्यहाँ आइपुगेका थिए । त्यसपछि मायाले घटनाको वर्णन जसरी गरिन् , त्यो सुनेर मालिक्नी बेहोस भएर ढलेकी थिईन् ।
०००

जेलमा अनेक खालका मान्छेसँग मायाको भेट भयो । विशेषगरी महिला बन्दीहरूसँग त उनको छिटै नै हेलमेल हुन पुग्यो । शुरु शुरुमा खुल्न गार्‍हो मान्नेहरू पनि अचेल त दिल खोलेर कुरा गर्न थालेका थिए । अनि त्यस्ती कलिली केटी कुनचाहिँ केसमा यहाँ आएकी होलिन् भनेर त्यहाँका सबै बन्दी उत्सुक पनि थिए । सबैजना उनीसँग बस्न , बोल्न र बसेर गफिन मन पराउँथे । त्यस्तैमा उनले छ सातजना महिलाहरूको जिन्दगी र उनीहरूमाथि थोपरिएको अन्यायको भारीलाई नजिकबाट महशुस गर्ने अवसर पाईन् । आफ्नो सुनाईन् , अरूका पनि सुनिन् । मान्छेको जुनी साँच्चै अनौठो लाग्यो उनलाई । लाग्यो , मान्छे हत्या हिंसा रहरले गर्दैन , बाध्य बनाइन्छ । पेशेवर गुण्डा र हत्यारा बाहेक अरुले सितिमिति मान्छेको जीवनलीला समाप्त गर्ने मनाशय नहुने रहेछ भन्ने कुरो उनले त्यहीँ सिकिन् । तर अनैतिक सम्बन्धको विषय बेग्लै हुँदोरहेछ । त्यस्तो बेला होस गुम्ने , आवेश/आवेगमा आउने र कतिपय त सुनियोजित र योजनाबद्ध समेत हुने कुरा पनि अनुभूत गरिन् ।

बिहानको खाना खाएपछि कोही ढाकाटोपी बुन्न त कोही आफूले जानेको सीप र त्यहाँ उपलब्ध हुने , गर्न सकिने , मिल्ने काममा लाग्थे । एका दुईचाहिँ पढ्न लेख्नमै व्यस्त पनि देखिन्थे । साँघुरो ठाउँ , बाहिरफेरो घुम्न डुल्न नमिल्ने भएको हुँदा समय कटाउन निकै गार्‍हो पर्दथ्यो । मायासँग हरदम नजिक हुन खोज्नेहरूमध्ये एकजना दिलमायाको जिन्दगी पनि विचित्रको लाग्यो उनलाई । सुन्दै जाँदा ती घटनाहरू कतै आफ्नै जीवनमा त घटेका होइनन् जस्तै लाग्ने !

रक्सीले टिल्ल भएर रातीराती घर फर्किने लोग्नेको अत्याचार सहनै नसकेपछि दिलमायाले एउटा यस्तो कठोर निर्णय लिएकी थिईन् कि त्यस्तो हत्तपत्त कुनै स्वास्नीमान्छेले लोग्नेमाथि प्रयोग गर्दैनन् । पटकपटक रक्सी नखान , खानैपरे पनि घरमै ल्याएर खान कति अनुनय विनय गरिन् ; त्यसको लेखाजोखा नै थिएन । उल्टै घटियास्तरको गाली र कहिलेकाहीँ त लात समेत खान पर्थ्यो उनले । यता घरमा हातमुख जोर्न धौधौ थियोे । नुन बेसारदेखि लिएर भुटुन र सामलकै अभाव थियोे । आफूले बनीबुतो नगरेदेखि भोकभोकै सुत्नुपर्ने अवस्था थियोे । र , उनी पाएसम्म त मेलापात बनी गर्न जान्थिन् तर गाउँमा सधैंभरि के काम पाइन्थ्यो र !

उता लोग्ने भनाउँदो पनि ज्याला मजदुरी नै गर्ने गर्थ्यो । दिलमायाले भन्दा बढ्ता काम र ज्याला पाउँथ्यो । भूकम्पले गाउँभरिका घर भत्केकाले अझै लामो समय उसले काम पाइरहने पक्कापक्की जस्तै थियोे । तर काम गरेको पैसा काँ खर्च गर्छ , के गर्छ दिलमायालाई केही थाहा हुँदैनथ्यो । खोजी गर्दा उहीँ बात र लात सहनुपर्थ्यो । उनले मायासँग बिस्तारै आफ्नो अतीत पोख्दै थिईन् तर अझैसम्म त्यो दिनको घटना कसरी घट्यो भनेर खोलेकी भने थिईनन् ।

"अनि त्यस दिन चाहिँ कसरी के भयो त दिदी भन्नू न ! मन हलुको हुन्छ ।" मायाको आत्मीय लाग्ने बोली र व्यवहारपछि दिलमायाले भनिन् । "तिमी भन्ने भए मेरो पनि भन्छु । "त्यसपछि मायाले आफू कसरी यहाँसम्म आइपुगें भन्ने कुरा बेलीबिस्तार लगाईन् । अनि त दिलमायालाई आफ्नो पनि भन्न कहरै लाग्यो । कुरा शुरु गर्न खोज्दा उनी एकपटक खै कता हराईन् कुन्नि ! गम्भीर देखिईन् ।

"मैले सहने जति सहिसकेको थिएँ माया ! आफूले मन परा'को केटालाई थामथामथुमथुम पारेर बाउआमाको वचन हार्न नसकी मन नपर्दा नपर्दै त्यो असत्तीसँग ब्या गरिहालें ।" उनी आफ्नो पूर्वप्रेमीलाई सम्झिन थालिन् । "कम्ती मुया गर्दैनथ्यो मलाई । बाउआमाले अर्कैसँग ब्या गर्दिने कुरो था' पाएपछि मलाई भगाएरै लैजान्छु ; सुख दिन नसके नि दु:खचाँहि दिन्न है दिलमाया आँट गर भनेर सारै कर गर्थ्यो । नामजस्तै बलियो र हृष्टपुष्ट थ्यो बले । मरो कम्ता राम्रो थे'न ! तर मैले नै बाउआमाको वचन काट्न सकिनँ र आज यो नर्कमा आउनुपरो ।"

"अनि के भयो त दिदी ?"

"अनि ब्या भ'कै रातदेखि आफ्नो बेबार देखाउन थालिहाल्यो नि ! म सुतेपनि निदाएकी थिईनँ । ऊ मातेर आयो र बाघले सिकार झम्टे झैँ झम्टिन थाल्यो । म न त चिच्याउन सकें न त प्रतिकार गर्नै । जति अनुरोध गरेपनि उसले सुनेन , हल्लाखल्ला होला र पाहुनापाछा सबले थाहा पाउलान् भन्ने डरले म मरेतुल्य भएर सहिरहें । उसले त्यसको फाइदा लुटिरह्यो । यस्तो सधैं दोहोरिन तेहेरिन थाल्यो । एकदिन होइन दुई दिन होइन सधैंभरि ऊ मातेर आउँथ्यो र नानाभाती कुरा गर्दै झम्टिन्थ्यो । सञ्च बिसञ्च बुझ्ने , सुखदुःखका कुरा गर्ने , अहँअ यस्तो कहिल्यै गरेन । एकै ठाममा हुञ्जेल त ठीकठीकै थ्यो , बाउआमा नि वाक्क भ'का रचन् क्यार ! ब्या गरेको वर्षदिन नपुग्दै छुट्याइदे । त्यसपछि त झन् ऊ फुकीदाँइ भयो र ममाथि अनेक लाञ्छना लगाउन थाल्यो । बनीबुतो नगरी खानलाउनै नपुग्ने ! कहिलेकाहीँ कतै केही काम पाउँदा मेलापात बनी गर्न जान थालें ।मेरो साथमा दुई पोइसो देख्यो कि उसैलाई चाहिहाल्ने ! शुरुशुरुमा त ऊ खुसी होला , सुध्रेला भन्ने आशा थ्यो । माइतबाट घर आउँदा छोरीलाई दु:ख छ भन्थे , हाम्ले त्यसलाई दिन जानेनचम् भन्थे र सौ पचास हातमा राखिदिन्थे । उसलाई त त्यो पैसा दे पनि सुख नदिने ! नदे त झन् भाँडभैलो मच्चाइहाल्ने ! अनि यो पोइसो काँबाट ल्याईस् ? कोसँग सुतेर ल्याईस् ? फलानोसँग के कुरा गरिस् ? जस्ता सहनै नसक्ने आरोपहरू लाउन थालो । "

ऊ सुध्रिन्छ कि भनेर धेरै बाटो हेरें । सुध्रेन ।सुध्रेला भन्ने आशा मरिसकेको थ्यो मेरो । अब बिस्तारै उसलाई छोड्ने र माइतै बस्ने योजना बनाइसकेकी थिएँ मैले । बलेले "ओई दिलमाया अझै नि तिमी मान्छ्यौ भने म राजी छु है" भनिरहन्थ्यो भेट हुँदा र मौका मिल्दा । मेरो मार्का उसले राम्रैसँग बुझेको थ्यो । "भाग्यमा जे लेखेको छ त्यही हुन्छ , अब म तिम्रै हुन लेखेको रच भने त भइजाला नि " भनेर तर्किन्थे म । तर भित्री मनले त उसैसँग भाग् , तेरो खुसी उसैसँग छ भने झैँ लागिरहन्थ्यो । तैपनि उसैसँग भागिहाल्ने निर्णय गरिसकेकी चाहिँ थिईनँ । माइत जाने र अलिब्यार उतै बस्नेवाला थें । तर त्यो रात सब उल्टो पाल्टो भइदो । तीज आउन तीन दिन बाँकी थियोे । डाक्न भाइ आएछ । फर्किन्छु भन्दैथ्यो । मैले कर गरेर राखें । हामी खाना पकाइवरि उसैलाई पर्खेर बसिरहेका थियौं । ऊ ढनफनिदैं साँझ ढल्केपछि आइपुग्यो र बाहिरबाटै कराउँदै भित्र पस्यो ।
"ओइ को नाठोसँग छेस् , छिटो भन् "
ऊ बम्किन थाल्यो । खुद आफ्नै सालोलाई पनि चिनेन र भन्नुनभन्नु भन्न थाल्यो ।

मेरो रिसको पारो यसरी चढ्यो कि के भन्नु र माया !"

माया अघिदेखि नै उसका कुरा सुनेर आगो भइसकेकी थिई । "कस्तो असत्ती रहेछ ! मर्न नसकेको । अनि त्यसपछि के भयो त दिदी ?"

"त्यसपछि भाइले उसलाई सम्झाउन निकै कोसिस गर्यो तर सब व्यर्थ भयो । उल्टै सुन्नै नसकिने खालका तुच्छ गाली खायो । अनि ममा एक्कासि खै केको भूत सवार भयो कुन्नि ! छेउमा आगो फुक्न राखेको फलामे ढुङ्ग्री थ्यो । त्यही टिपेर झ्याम् कि झ्याम् टाउकामा ठटाएँ । ऊ ढलिसकेको थियोे , तैपनि मेरो रिस मरेको थिएन । पछि भाइले मलाई समातेर तान्दा पो झसङ्ग भएँ , जुनबेला ऊ मुखबाट रगत छादिरहेको थियोे । अनि जे हुनु थ्यो त्यही भयो र अहिले यहाँ तिमीसँग छु । "
यति भनेर उसले लामो सास फेरी । निधारबाट चिट्चिट् पसिना आइरहेको थियोे ।
"ठीक गरिछ्यौ दिदी ठीक । कति अन्याय सहेर बस्नु त !" मायाले यत्ति भनी र आफू पनि अतीतमा हराउन थाली ।

राती सुतेपछि पनि मायालाई निद्रा परेन । कतै सौगात र आफ्नो सम्बन्ध बिहेमा टुङ्गिएपछि दिलमाया र उसको लोग्नेकै जस्तो हुने त होइन ! ऊ सोचमग्न भई । सम्झदै गई । हैन यी पुरुषहरूले महिलालाई डकस्न , तल पार्न र गिराउन कति धेरै बहाना र निँहु पाएका हुन् हँ ! आफ्ना आफन्त र साथीभाइहरूसँग हाँस्दा बोल्दा पनि शंकै गर्ने ! नबोली बस्दा पनि सुख छैन । कि त भगवानले मान्छेलाई आफूजस्तै अन्तरयामी बनाइदिनुपर्थ्यो , होइन भने शंका उपशंकाको भरमा यातना र पीडा दिनेलाई नै सजायको भागीदार बनाउनुपर्थ्यो । भोलि त सौगात भेट्न आउँछ होला ! पक्कै आउँछ । अहिलेसम्म ऊ भेट्न पाउने दिन कसैगरि आएको छ । बरु यो भेटमा पो के विषयमा कुरा गर्ने होला ! हुन त कति नै बेर पो भेट्न दिन्छन् र ! जे होस् सौगात अरु पुरुषभन्दा फरक होस् । अब त यहाँबाट छुटकारा पाउन पनि त धेरै महिना छैन नि ! उसले कल्पना गरी ।

आफू छुटेकै दिन सौगातले पशुपतिनाथको दर्शन गर्न जाम् भनेर लिएर गयो । कत्ति ढिला नगरेर कसैलाई निम्ता समेत नगरी त्यहीदिन गुह्वेश्वरी मन्दिरमा गएर उनीहरूले बिहेको कर्मकाण्ड पूरा गरे । शहरको हल्लीखल्ली र कोलाहलमय वातावरणमा मन नरमाएपछि बिहे भएको तेस्रो दिन उनीहरू गाउँ फर्कने भए केही दिनको लागि । गाउँबाट फर्केपछि केके गर्ने भनेर सुन्दर सपनाहरू पनि सजाइसकेका थिए दुवैले । सुपर एक्सप्रेस गाडीमा सँगै बसेका थिए उनीहरू । केही छिनपछि मायालाई निद्रा लाग्न थाल्यो र उनी सौगातको काँध शिरानी गरेर ढल्केकी थिईन् । कच्ची सडकमा गाडी बेस्सरी हल्लिदाँ मायाको निद्रा भङ्ग भयो । यताउता हेरिन् , त्यहाँ न सौगात थियोे न त गाडी , गाउँ केही थिएन । थियोे त केवल पहिलेजस्तै साँघुरो बन्दी कोठा , केही बन्दी साथीहरू , पालेपहरे र मुस्किलले घाम चियाउने एक चोक्टो चउर । सौगात र आफ्नो भावी जिन्दगी सम्झदाँ सम्झदैं उनी भुसुक्कै निदाएकी रहिछिन् । र , सपना नै सही उनी खुसीले पुलकित भएकि थिईन् त्यतिबेला ।

माया अहिले पनि बिहान उज्यालो हुनेबेलामा देखेको मीठो सपना सम्झेर ऊ आउने बाटो हेर्दै थिईन् । अरुहरूका भेट्ने आफन्तहरू आएर भेटीवरी फर्किसक्दा पनि सौगात आइपुगेको थिएन । पहिलेपहिले त भेट्ने समय नै नभइकन आइपुग्थ्यो ऊ । कतै उसलाई सञ्चो पो भएन कि ! केही अप्ठ्यारोमा पो छ कि ! मायाको मन बेचैन भइरहेको थियोे । छट्पटी बढ्दै थियोे । मायाको हाल बुझेर दिलमायाले भनेकी थिईन् - "बहिनी , हेर त अहिलेसम्म मलाई भेट्न कोही आएको छ ? तिमी यहाँ आउनुअघि त्यही बले मरो आएको थ्यो दुईपटक । अब विदेश जान्छु र आएपछि भेट्न आउँछु है दिलमाया भन्थ्यो । त्यो गएपछि मलाई भेट्न कोही आएका छैनन् । तिमी त भाग्यमानी छ्यौ । हप्तैपिच्छे भेट्न आउँछ । आज भ्याएन होला , काम पर्यो होला ! अर्को हप्ता आइहाल्छ नि । बिरामी पनि त हुनसक्छ ! भो चिन्ता नगर ।"

"बरु पहिलेदेखि नै भेट्न नआएको भए त उसको यसरी यादै आउने थिएन नि दिदी । लत लागिसकेछ थाहै नपाइ । बानी पारिद्यो उसैले , अनि के गर्नु त तपाईं नै भन्नुस् न !"
०००

दिन ढल्नै लाग्दा जेलरले एउटा पत्र दियो मायालाई । झण्डैझण्डै दौडेर भित्र गई ।उसलाई खोलेर पढ्न हतार भएको थियोे । लेखिएको थियोे -

प्रिय माया ,
तिम्रो हातको चिया खान नपाएकोले म सारै आहत भएको छु । अब तिमी छिटै मुक्त हुँदैछ्यौ र हामी त्यही दिन सधैं सधैंका लागि एक हुनेछौं । म त्यही दिनको प्रतीक्षामा छु । आज आउन पाइनँ , मेरो बाटो धेरै हेर्यौ होला ! नहेर्नू । अब एकैचोटि तिमीलाई लानेगरि आउँछु ।
तिम्रो सौगात

मायाले यो पत्र पटकपटक पढी । दिलमाया र अरु साथीहरूले के हो कि के हो भनेर कहर गरेपछि बल्ल उसले सबैलाई पढेर सुनाई । सबैले मायालाई बधाई दिए । र , ऊ त्यही दिनको पर्खाइमा बसिरहेकी थिई ।
०००

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2073

लेखकका अन्य रचनाहरु