सम्झनामा पुर्व पश्चिम राजमार्गको यात्रा !

- इन्दिरा दीक्षित

केही दिन अगाडि काठमाण्डौ देखि धरान घुम्न जाने शौभाग्य मिल्यो । तयारी त केही थिएन अपर्झट आफन्तको बोलावट आयो, टार्न मन पनि लागेन, घरान घुम्ने भित्री चाह मेरो पनि थियो । रात्रि बसमा नै भए पनि जाने मन बनायौं । म समेत चारजाना हाम्रो तर्फबाट सहभागी भएका थियौँ ।

बेलुकी करिव ४.३० मा कलङ्कीबाट काँकरभित्ताको बस चडियो । आफैले टिकट लिएको भए सायद गन्तव्यकै लिइन्थ्यो होला तर टिकट पनि धरानियाँ आफन्तको तर्फबाट नै लिइएको थियो । यसैले हामीले धरानको साटो काँकरभित्ताको टिकमा जानु परेको थियो । हामी त पाहुना न ठहरियौं जेमा लैजान्छन् जानैपर्यो, धुलो उडाउँदै बस अगाडि लाग्यो । उसै त कैले राम्रो नहुने बाटो झन् कलङ्कीमा बाटो बढाउन लागेकोले झन् बढी धुलो र साँगुरो भएको रहेछ । थानकोटबाट ओरालो झरेर नौबिसे पुग्दा झमक्क साँझ पर्यो । तर बाटो भने उस्तै एकनासको पिच नभएको घुलाम्मे । चियानास्ता र अन्य कार्यका लागि बस नौबिसेमा रोकियो । अरु जस्तै हामी पनि बसबाट ओर्लियौं । करिव आधा घन्टाको रोकाइपछि बस फेरि हुइँकियो ।

त्रिशूली किनारमाथि बनेको बाटो लाग्थ्यो बाटोमा हैन त्रिशूलीकै बगरमा हिंडेजस्तो । पिच गर्न नसके पनि त ढुँगा सम्याइदिएको भए राम्रै हुन्थ्यो होला । रातको समय बाहिर केही नदेखिने अँध्यारो, कताकता डर लागेजस्तो भयो ! लग्जरी बस भएता पनि निकै पुरानो रहेछ, कतै चुक्कुल नलाग्ने झ्याल, हल्लने सीसा, बाहिरको हावा र धुलो सजिलै भित्र छिर्ने । मँसिरको मैना अनि रातको चिसो, अलि जाडो पनि भयो । निन्द्रा त कोसौँ टाढा भागेछ । बाहिर केही देखिंदैन अन्धकार छ, बसभित्रै वरपर सबै आँखा घुमाएँ, मधुरो बत्तीको उज्यालोमा सबैजसो आँखा चिम्लेर बसेका देखिन्थे । निदाएर हो वा ती पनि म जस्तै मनमनै डराएर आँखा चिम्लिएका हुन् थाहा भएन । मसँगैको मेरा सहयात्रीहरु पनि चालचुल बन्द गरेर निदाएझै आखा चिम्लेर बसेका थिए । चालक नजिकै एक सिट पछाडि मेरो सिट थियो । क्याबिनको सबै क्रियाकलाप र कुराकानी स्पष्ट देखिन्यो ।

मेरो ध्यान नचाहेर पनि तिनीहरुको कुराकानीतिर खिचियो । अनि अलिक ध्यान दिएर सुन्न थालें ।

२० देखि २५ वर्षको बिचका ४, ५ जनाजती चालक टोलीका सदस्यहरु थिए । आनन्दमा मग्न थिए । आफ्नै सुरको गफ थियो ।

कैले घरको कुरा गर्थे त कैले कुनै अमुक केटीको बारेमा कुरा गर्थे । “च्वाँक्क थी नि मोरी, फलानाले उडाएछ । फलानो होटेलको खाना मिठो । साहुनी पनि निकै मायाँ गरेर मासु थपिथपी ख्वाउँथी । फलानो गाडी साहू राम्रो फलानो ता झुर” आदि इत्यादि । बेला बेलामा हाँसोको फोहोरा छुट्थ्यो । यति गफ गर्दासम्म त सामान्य लागेको थियो । अब उनीहरु गाडी र बाटोको कुरा गर्न थाले । एउटाले भन्यो—“फलानाले चलाको गाडी फलानो भिरबाट गर्लम्मै भएछ । त्यो ब्रेकै बिग्रेको रैछ, हेर्दै नहेरी चलाएछ मोराले !”

अर्कोले फेरि आफ्नै कुरा सुनायो, “खै कस्को गाडीमा हिंड्दा सिधा भिरमा पुर्याइहाल्यो, हामफालेर ज्यान जोगाएँ । नत्र भए....!”

अर्कोले फेरि कुरा थप्यो, ‘राति जान्न भन्दा पनि पैसा धेरै दिन्छु भन्यो, निन्द्रा लागेछ झन्डै त्रिशूलीमा झ्वाम्म भा ! तै जोगाएँ मैले !”

यी बालख जस्ता चालक दल अनि यिनका यस्ता कुरा ! आँखा चिम्लेकी छु सुनेकी छु । यस्ता कुरा सुनेर मेरो मन सारै नै डरायो । कस्तो ठाउँमा के कुरा गर्ने भन्ने सामान्य ज्ञान पनि नभएकाले यत्ति ठूलो बस र यत्तिका मान्छे बोकेर हिंडेका छन् । हामी सबैको ज्यान त यिनकै हातमा छ नि ! अब डराएर पो के गर्नु र ! ओर्लेर हिंड्न भएन ! फेरि म मात्रै डराएर के गर्नु र अरु सबै त राम्रैसँग बसेकै छन् ।

घर्यागँघुरुगँ गर्दागर्दै करिव ९.३० तिर मुग्लिन पुर्यायो । सबैलाई बाहिर जान मन लागेकोले एकक्षण रोकियो, म पनि तल ओर्लें । फर्केर बस चढ्न लाग्दा मनै मानेर र भनें," तिमीहरु यति साना केटाकेटी छौ यत्रो बस त्यो पनि राति चलाएर हिंड्ने कत्रो आँट" ? सबै हलल्ल हॉंसे, एउटाले जवाफ दिहाल्यो, "देख्न मात्रै साना हौं नि आन्टी उमेर त हाम्रो निकै भैसक्यो नि लौ"! अब यिनीहरुसँग धेरै के बहस गर्नु र चुपै लाग्नुमै उचित हुने देखी म चुपचाप आफ्नो सिमटा गएर बसें ।

मुग्लिन उता पनि झनै बाटो नराम्रो रहेछ । यी बिचराहरुको पनि मायाँ लाग्न थाल्यो । यस्तो बाटोमा धन्न गाडी सुरक्षित गुडाएकै छन् । चलाउन नजान्ने त हैनन् नि । यिनलाई पनि त आफ्नो ज्यानको माया लाग्दो हो, बाँच्नका लागि काम गर्नै पर्यो, रहरले रातिराति काम गरेका हैनन् होला ! आफू मात्र नभएर परिवार पनि त पाल्नुपर्ला ! कसै न कसैले गाडी नचलाए त गन्तब्यमा कसरी पुग्नु त !

यत्ति लामो अनि एकमात्र पूर्व पश्चिम गर्ने राजमार्गको यो हालत । राजधानीको सुविधा सम्पन्न आलिसान महलमा बसेर र बुलेट प्रूफ गाडी चडेर हिड्ने राजनेताहरुलाइ धिक्कार्न मन लाग्यो । तिनलाई यो बाटो हिंड्नै पर्दैन, टाढा जान परे हेलिकेप्टर छँदैछ, हामी जस्ता जनताको के मत्लब र तिनलाई । जनताको लागि हैन आफ्नै लागि राज्यको सत्तामा गएकाले के विचार गर्छन् र !

आँखाम चिम्लेको थिएँ निन्द्रा के लागोस् र, फेरि तिनै नेताको बारेमा सोच्न मनलाग्यो हैन देश बिदेश त तिन्लेपनि घुमेकै होलान्, अरुको दुनियाँ कस्तो छ देखेकै होलान् थोरै त विदेशीका अगाडि पनि त लाज लाग्नु पर्ने हो । आफ्नो देशको यो हालत देखाउन कसरी सकेका होलान् ! निर्लज्ज राजनेता । यिनलाई राजनेता हैन निर्लज्ज ब्वाँसा भने पनि हुन्छ । एउटा जाबो बाटो छ जताजाउ त्यही छ र पनि छिटो बनाउन पहल गर्दैनन् भने यिनका हातबाट अरु विकासका के काम हुन्छन् र हामीले आशा गर्ने । हाम्रा लागि हैन आफ्नै लागि बनेका नेता । उद्योग खोलेझै पाटि खुल्या छ, अरु के उद्योग चाहियो र ? आफ्ना आसेपासेलाई मनग्य पुगेकै छ, मगनमस्ती गरेकै छन्, मडियाँ मारेर खाएकै छन्, आफ्ना बाहेकका जनता त रैती न हुन्, तिनको के मत्लव । सात पुस्ता पुग्ने कमाएपछि फेरि अर्को चुनावमा हारे पनि जीते पनि केमत्लव भयो र !

निकै बेर भएछ, रातको १० बजेछ हामी चढेको बस अब भने नारायणघाट पुगेछ । नारायणघाटदेखि पूर्व लागियो, यता बाटो पनि अलि राम्रै रहेछ, मन आनन्द भयो, डर कम भएर होला एक क्षण निदाएँछु ।

करिव १०.३० जतिमा हेटौंडा नजिक बस्तिपुर भन्ने ठाउँमा खाना खान बस रोकियो । आधा घन्टा जतिमा खाना खाएर सबै बसभित्र पसे बस पनि हुइँकियो । राती कताकता पुगियो थाहा भएन । सम्म बाटो भएकोले म पनि निदाएँछु, एकैचोटि बिहानको ४ बजे मात्र ड्राबरलाई चिया पिउन मन भो होला बस कोशी ब्यारेज नेर बरमझियामा गएर रोकियो । सायद निन्द्रा पनि लाग्यो कि एकघन्टा जति रोकियो । म भने नगिचैको कोशी ब्यारेज र लामो कोशी माथि बनेको पुल चिया पिउँदै त्यतैबाट हेर्न थालेछु । अँध्यारै भए पनि हल्का बिजुलीको उज्यालो थियो । परसम्म छलङ्ग देखिन्थ्यो ।

नेपालभित्रै बनेको कोशी ब्यारेज तर यो सबै भारतको अधीनमा छ । ओहोर दोहोर गर्न पनि भारतीयहरुको अनुमति चाहिन्छ । चन्दा फन्दा पनि त उसकै छ । उसैले बनाएको भएर होला । कस्तो अचम्म भारतले नेपालमा आएर उसकै लगानीमा ठूलाठूला नदी थुनेर बाँध बाध्छ र बिस्तारै आफ्नै देशको जमीन पटाउन पानी लैजान्छ । सायद यो पनि हाम्रै नेताहरुमध्ये कुनै नेताकै योगदान हुनु पर्छ देशका लागि । थोरै भए पनि पानी पाएका नेपालीपनि मख्ख पर्छन्, सोझा सिधा न हुन् । जनताले पनि के गर्नु र देश बनाउने नेताहरुको कारनामा नै यस्तो छ । कोशीको जस्तै अन्य नदीहरुको हालतपनि एकदिन यस्तै हुन बेर छैन ।

अहिले ता म कोशीकै कुरा गरिरहेकी छु । भारतको सीमाभन्दा निकैपर बनेको कोशीब्यारेज, बर्खामा आएको बाडीले त नेपाललाई नै डुबाउँछ र उसको देश जोगिन्छ, दैवीविपत्तिले बाँध भत्क्यो भने पनि नेपालनै बगाउँछ । भारत कति बाठो छ अनि नेपाली कती मूर्ख । यसरी आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने खालको सम्झौता किन गर्छन् होला ! म छक्क पर्छु । यस्मा पनि केही रहस्य त हुन्छ होला, हामी सोझा सिधा नेपाली जनतालाई राजनेताको कुरा बुझ्न गारो हुन्छ ।

चिया पछि फेरि बस हिंड्यो । बिहान भएपनि अध्यारै थियो गाडी कताकता पुर्यायो था भएन तराइको बाटो सम्म एकनासको । निकैबेरको कुदाईपछि बाहिर उज्यालो देखियो करिव उज्यालो ६ बजेतिर इटहरी पुगिएछ । इटहरी चोकबाट हाम्रो बस काँकरभित्तातर्फ लाग्यो, हामीभने त्यहीं ओर्लिएर अर्को सानो ट्याम्पो चढेर उत्तरतर्फ धरानतिर लाग्यौं । इटहरीवाट करिव २४ कि. मी. को दूरीमा अवस्थित धरान आधा घन्टा जतिमै पुगियो ।

रातभरिको थकान र अनिदो शरीर अलि भारी जस्तो नै थियो । आफन्तको घरमा नित्य कर्म पश्चात् बिहानको नास्ता तयारै रहेछ खाएर आराम गर्न बिछ्यौनामा पल्टेको भुसुक्कै निदाइएछ । बिउँझिदा त दिनको १ बजिसकेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2073

लेखकका अन्य रचनाहरु