रुपन्देहीका महिला श्रष्टाहरु

- शालिकराम पौड्याल

रूपन्देही जिल्ला पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलका छ जिल्लाहरूमध्ये सबैभन्दा घना आवादी र बढी जनसङ्ख्या भएको तराईको जिल्ला हो । यो जिल्ला पहिले माझखण्ड जिल्ला भनेर चिनिन्थ्यो (पंगेनी, २००७ः १९८) । माझखण्डका रूपमा रहेकोे यस जिल्लालाई विभिन्न इलाकामा विभाजन गरिएको थियो । ती इलाकालाई तप्पा भनिन्थ्यो । माझखण्ड जिल्लामा नगवा, सतगाँवा, बधौर, तरैनी, हाटी, मर्चवार, भटिनपार, रूपन्देही, खडवा, सौराहा, जोगडा, खुँदावागर, सक्रैनी, अग्या, माझखाडी, गोरवाल जस्ता तप्पाहरू थिए (मेचीदेखि महाकाली भाग—३, २०३१ः ९३९) । नेपाल अधिराज्यलाई प्रशासनिक दृष्टिले वि.सं. २०१९ सालमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि माझखण्ड जिल्ला लुम्बिनी अञ्चलअन्तर्गतको रूपन्देही जिल्लाका नामबाट प्रख्यात भएको हो (मेचीदेखि महाकाली भाग—३, २०३१ः ९८७) । रूपन्देही जिल्लाको नामकरण लुम्बिनीस्थित मायादेवीको मन्दिरसँग सम्बन्धित छ । लुम्बिनीलाई ‘रुम्बिनी’ भन्ने चलन थियो । स्थानीय बासिन्दाहरूले मायादेवीको मूर्तिलाई ‘रुम्बिनीदेवी’ भन्थे । कालान्तरमा ‘रुम्बिनीदेवी’ बाट अपभ्रंश भई ‘रुमिनदेवी’ र ‘रुमिनदेवी’ बाट रूपन्देही भएको हो (मेचीदेखि महाकाली भाग—३, २०३१ः ९३९) । मायादेवी ज्यादै राम्री भएकाले जनमानसमा ‘रूपकी देवी’ भन्ने गर्दा अप्रभंश हुँदै रूपदेवीबाट रूपन्देही भएको हो । यस जिल्लाको आदिकालीन नाम ‘रुम्मिनदेई’ हो । अशोकको शिलालेखमा ‘लुम्मिनी गामे’ उल्लेख भएकोले इ.पू. २००—३०० तिर रूपन्देहीको शुद्ध नाम ‘लुम्मिनी’ रहेको थियो । कालान्तरमा परिवर्तन हुँदै जाँदा ‘ल’ वर्ण ‘र’ उच्चारण हुँदा रुम्मिनी भएको हो । त्यहाँ मायादेवीको मूर्ति रहेकाले देवीको देह  देई हुँदा रुम्मिनदेई  रुम्मिनदेई  रूपन्देही भएको हो (खनाल, २०५५ः ४) । यसरी ‘रुम्बिनी देवी’, ‘रूपादेवी’, ‘रूपकीदेवी’, ‘रुम्मिनदेई’ हुँदै भएको रूपन्देहीको नामकरणका सम्बन्धमा प्रायः विद्वान््हरूको मत गौतम बुद्धकी आमा मायादेवी र उनको मूर्तिसँग गाँसिएको पाइन्छ । त्यसैले रूपन्देहीको नामकरण मायादेवी र उनको मूर्तिसँग सम्बन्धित छ ।

लेखक
लुम्बिनी अञ्चलको प्रमुख जिल्लाका रूपमा परिचित रूपन्देही जिल्लाको साहित्यिक इतिहासको अङ्कुरण २००४ सालतिरबाट भए पनि यस जिल्लाले वासुदेवप्रसाद त्रिपाठी ‘देवेश’को हिन्दी भाषामा लेखिएको नेपाली जनक्रान्ति (२०१३) हिन्दी काव्यबाट लिखित इतिहास निर्माण गर्ने अवसर प्राप्त गरेको छ । साहित्येतर विधातर्फ हेर्दा माझखण्ड मालका राइटर भगवानदास अमात्यको वैज्ञानिक संसार (२००७) यस जिल्लाको प्रथम प्रकाशित पुस्तक हो । त्यसपछि विभिन्न साहित्यिक तथा शैक्षिक संस्थाबाट यस जिल्लाको साहित्यिक गतिविधि केही रूपमा अगाडि बढेको हो । बीच बीचमा विभिन्न जिल्लाबाट बसाइँ सरी आउने स्रष्टाका आप्रवासी कृतिहरू पनि यस जिल्लाले पाएको देखिन्छ । मूलतः रूपन्देही जिल्लामै रहेर रचना र प्रकाशन गरिएको पहिलो कृति मानव (२०२३) नै हो यद्यपि यस अघि रूपरेखा पत्रिकामा २०२० सालतिर यस जिल्लाका स्रष्टाहरूबाट कविता प्रकाशन गरेको पाइन्छ । त्यस विन्दुबाट वर्तमानसम्म आइपुग्दा रूपन्देहीको नेपाली साहित्यको परम्परामा के कस्ता महिला स्रष्टाहरू देखा परे ? तिनका के कस्ता कृतिहरू प्राप्त भए ? तिनमा सामाजिक, सांस्कृतिक, राजनैतिक आदि सन्दर्भ तथा घटनाक्रमहरूको प्रस्तुति कसरी भएको छ ? समग्र साहित्यको परम्परामा तिनको के कस्तो स्थान क्रम रहेको छ ? आदिको अध्ययन यसमा गरिएको छ ।
साहित्यिक परम्परा जहिले पनि तात्कालिक परिवेशबाट प्रभावित रहेको हुन्छ । तसर्थ जबसम्म परिवेश र सन्दर्भलाई बुझिँदैन तबसम्म साहित्यिक प्रवृत्तिहरूको पहिचान गर्न कठिन हुने भएकाले रूपन्देहीको साहित्यको इतिहास लेखनका क्रममा केवल तिथि, मिति र कृतिकारको वर्णनलाई मात्र आधार नबनाई तात्कालिक अवस्थाको सामाजिक, सांस्कृतिक, राजनैतिक पृष्ठभूमि केलाउने काम गरिएको छ । प्रस्तुत लेख तयार गर्ने क्रममा प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । यसका साथै आवश्यक सूचना प्राप्त गर्न रूपन्देहीका विभिन्न स्रष्टाहरूसँग सम्पर्क गरी सामग्री सङ्कलन गरिएको छ । मूलतः रूपन्देहीको नेपाली साहित्यको विकासमा महिला साहित्यकारको योगदानको अध्ययन गर्नु यसको उद्देश्य हो । यस लेखमा रूपन्देहीको नेपाली साहित्यमा देखापरेका महिला साहित्यकारहरूलाई मात्र अध्ययनमा समावेश गरिएको छ । यस क्रममा रूपन्देहीमा जन्मेर साहित्य सिर्जनामा लागेका, अन्य जिल्लाबाट बसाइँ सरेर आएका, पेसा तथा व्यवसायका क्रममा केही समय यस जिल्लामा बसेका, यस जिल्लाबाट बसाइँ सरी अन्यत्र गएका सबै प्रतिभाहरूलाई यस अध्ययनमा समेट्ने प्रयास गरिएको छ ।
रूपन्देहीको साहित्य सृजनाको पृष्ठभूमि


लुम्बिनी अञ्चलको प्रमुख जिल्लाका रूपमा परिचित रूपन्देहीको साहित्यिक इतिहासमा देखापरेका महिला साहित्यकारका बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास यस अध्ययनमा गरिएको छ । यस जिल्लामा औलो रोगको महामारीका कारण पहाडी क्षेत्रबाट आएर स्थायी रूपमा बसोबास गर्ने क्रम निकै पछिमात्र सुरु भएको देखिन्छ । त्यतिबेला पहाडी जिल्लाहरूबाट नुन, तेल, खाद्यान्न खरिद गर्न आउनेहरूको मुख्य केन्द्र बुटवल नै थियो । खासगरी पहाडी क्षेत्रबाट स्थायी रूपमा बसोबास गर्नेहरू निकै पछि मात्र आएकोले यहा“को साहित्यिक गतिविधि पनि केही पछि फस्टाएको हो भन्न सकिन्छ । २००४ सालमा स्थापना गरिएको महावीर पुस्तकालय यस जिल्लाको पहिलो शैक्षिक तथा साहित्यिक संस्था हो । यसको स्थापनापछि मात्र साहित्यिक जागरण आएको पाइन्छ । राणाशासनको अन्त्यका लागि महावीर पुस्तकालयका युवाहरू जुटेर बैठक गर्ने र कहिलेकाही“ कविता, गीत वाचन आदि गर्ने गरेको पाइन्छ (श्रीस, २०५३ः२१) । राणाकालदेखि नै शिक्षाको विकास, साहित्यिक उत्थान र नेपाली भाषाको सम्वद्र्धनमा निरन्तर लागिरहेको यस पुस्तकालयमा समयसमयमा नेपाली साहित्यका महान् स्रष्टा माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, भीमनिधि तिवारी आदिको उपस्थितिले पनि यसको योगदान पुष्टिन्छ (खनाल, २०५५ः४८) । महावीर पुस्तकालयले २०१३ सालतिर सांस्कृतिक मण्डल गठन गरी साहित्यिक गोष्ठी आयोजना गरी उत्कृष्ट रचना वाचन गर्नेलाई पुरस्कार दिने कार्य गरेको देखिन्छ (पौड्याल, २०६१ः३४) । त्यस्तै पुस्तकालयलाई आर्थिक सहयोग जुटाउन २०१६ सालमा बहुविवाह नाटक प्रदर्शन गरिएको थियो । त्यसपछि ‘आदर्श विद्या मन्दिर’ (२००८ बुटवल), ‘जनता पुस्तकालय’ (२००८ भैरहवा), ‘भैरहवा मा.वि.’ (भैरहवा २००९) को स्थापना भएपछि यस जिल्लाको शैक्षिक तथा साहित्यिक गतिविधि केही रूपमा अगाडि बढेको पाइन्छ ।
चूडामणि बन्धु २०१६ सालमा भैरहवा मा.वि. मा प्रधान अध्यापकका रूपमा आएपछि साहित्यानुरागीहरूलाई सङ्गठित गरी साहित्य सृजना गर्न प्रेरणा दिने उद्देश्यले नेपाली साहित्य घर (२०१६) को स्थापना गरे । यो संस्थाले अग्रज साहित्यकारहरूको स्मृतिमा साहित्यिक कार्यक्रम गर्दै आए पनि चूडामणि बन्धु भैरहवाबाट हिँडेपछि तुहिन पुग्यो (खनाल, २०५५ः२६) । २०१५ सालमा बागलुङबाट रूपन्देही जिल्लामा झरेका हर्षबहादुर बुडामगर ब्रिटिस सेनामा कार्यरत नेपालीहरूका तर्फबाट पक्लिहवा हाई स्कुल (२०१६) को स्थापना गरी नेपाली भाषा र साहित्यको प्रचार प्रसारमा खुलेर लागेको पाइन्छ । हप्तैपिच्छे नियमित रूपमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको यस विद्यालयले स्थापनाको पहिलो वर्ष नै ‘कोपिला’ नामक वार्षिक मुखपत्र निकालेर शिक्षक तथा विद्यार्थीहरूलाई साहित्य सृजना र प्रकाशनतर्फ उन्मुख गराएको पाइन्छ । हर्षबहादुर बुडामगरद्वारा लिखित ‘डा. के.आई. सिंहको सङ्क्षिप्त जीवनी’ (खण्डकाव्य २०१४) यस जिल्लाले आप्रवासी साहित्यिक कृतिका रूपमा पाएको छ । त्यस्तै २०१६ सालदेखि रूपन्देहीमा बसोबास गर्दै आएका वामदेव जोशी पहाडीको हिन्दी भाषामा लेखिएको ‘नयन नीर’ हिन्दीकाव्य सङ्ग्रह (२०१०) पनि यस जिल्लाले आप्रवासी कृतिका रूपमा पाएको छ । यद्यपि वासुदेवप्रसाद त्रिपाठी ‘देवेश’को हिन्दी भाषामा लेखिएको नेपाली जनक्रान्ति (२०१३) हिन्दी काव्य नै यस जिल्लाको प्रथम प्रकाशित साहित्यिक कृति हो । २०१५ सालमा मोदनाथ प्रश्रितको किरण पत्रिकामा ‘छात्रजीवन’ शीर्षकको कविता प्रकाशित भएको देखिन्छ । यसै पृष्ठभूमिमा यस जिल्लाका कविहरूले आफ्ना कविताहरू रूपरेखा पत्रिकामा प्रकाशित गराएको पाइन्छ । २०२० सालको वैशाख महिनाको रूपरेखा पत्रिकाको कविता विशेषाङ्कमा सूर्यलाल श्रेष्ठको ‘जमाना तिम्रो हो’ (रूपरेखा, ३२) अमरकिशोर घिमिरे ‘मुकुन्द’को ‘प्रेतात्माको प्रतिमा’ (रूपरेखा, ३५) करुणानिधि शर्माको ‘विरहको एक दिन’ (रूपरेखा, ६९) कविता प्रकाशित भएको देखिन्छ । त्यस्तै गरी २०२० सालमै कवि भूपि शेरचन भैरहवामा रहँदा ‘भैरहवा’ (रूपरेखा, वर्ष—४, अङ्क ७, पूर्णाङ्क ३१, २०२०) शीर्षकको कविता प्रकाशित भएको छ (पौड्याल, २०६१ः३५) । मोदनाथ प्रश्रितका आमाको आँशु (२०१९) कविता सङ्ग्रह, बुवा खै ? (२०२०) शोककाव्य कृति पनि रूपन्देही जिल्लाकै निधिका रूपमा देखिन्छन् । २०२३ सालमा प्रकाशित मोदनाथ प्रश्रितको मानव महाकाव्यपछि रूपन्देहीको साहित्यिक गतिविधि निकै मौलाएको पाइन्छ । २०२३ सालकै मदन पुरस्कार प्राप्त यो कृति उत्तरवर्ती साहित्यकारका लागि प्रेरणाको स्रोत बनेको छ ।
२०२१ सालमा लुम्बिनी पञ्चायतको आयोजनामा अञ्चल स्तरीय साहित्य सेमिनार सम्पन्न गरी ‘लुम्बिनी साहित्य परिषद’्को गठन भयो । यही लुम्बिनी साहित्य परिषद्द्वारा त्रैमासिक रूपमा प्रकाशित मोदनाथ प्रश्रित प्रधान सम्पादक तथा जगत्बहादुर जोशी, गोपीकृष्ण शर्मा र चेतबहादुर कुँवर सम्पादक रहेका गुराँस (२०२२) साहित्यिक पत्रिकामार्फत् यस जिल्लामा साहित्यको बाटो बन्न थालेको पाइन्छ (पौड्याल, २०६१ः ३६) । त्यस्तै गरी २०२२ तिरै अञ्चल पञ्चायतको तर्फबाट मोदनाथ प्रश्रितको सम्पादकत्वमा प्रकाशित भएको लुम्बिनी सन्देश साप्ताहिक पत्रिकाले पनि रूपन्देहीको साहित्यिक गतिविधिमा योगदान पु¥याएको देखिन्छ । नेपाली भाषा र साहित्यको उत्थान नै आफ्नो लक्ष्य राखेको गुराँस, साहित्यिक त्रैमासिक पत्रिकाले स्वीकृत व्याकरणलाई मान्यता दिने, साहित्यिक तथा सामाजिक रचना छाप्ने, उत्कृष्ट रचनालाई पुरस्कृत गर्ने जस्ता कार्यहरू गरेकाले नेपाली भाषा साहित्यको विकासमा यसको योगदान महŒवपूर्ण मानिन्छ (पौड्याल, २०६१ः३६) । यिनै पत्रपत्रिकामा कलम चलाउनेहरूबाट नै यस जिल्लामा साहित्यको विकास हुँदै गयो ।

रूपन्देहीको साहित्यमा महिला साहित्यकारको योगदान


रूपन्देही जिल्लामा नेपाली साहित्यको अङ्कुरण २००४ सालदेखि भएको देखिए पनि प्रकाशनको थालनी भने २०१३ सालमा हिन्दी भाषामा लेखिएको नेपाली जनक्रान्ति र २०२३ सालमा नेपाली भाषामा लेखिएको मानवबाट भएको देखिन्छ । यस क्रममा कृति प्रकाशन, साहित्यिक तथा समाचार प्रधान पत्रिकाको प्रकाशन, साहित्यकारहरूमा आएको वैचारिक परिपक्वता, नेपाली शिक्षा कार्यक्रमले नेपाली भाषाको क्षेत्रमा ल्याएको विकास, प्रजातन्त्रको पुनस्र्थापना जस्ता घटनाहरूबाट यहाँको साहित्य सृजना प्रभावित देखिन्छ । त्यस्तैगरी पाश्चात्य साहित्यमा देखा परेका नवनव वाद, प्रणाली र प्रवृत्तिहरूलाई पनि साहित्यकारहरूले प्रयोग गर्दै नवप्रयोग देखाउन थालेको पाइन्छ । यसरी २००४ सालदेखि यस जिल्लामा सुरु भएको साहित्य सृजनाको परम्परा २०२३ सालदेखि नेपाली साहित्यको पुस्तकाकार कृति प्रकाशन गरी विभिन्न मोडहरू पार गर्दै नवनव प्रवृत्तिहरूलाई आत्मसात्् गर्दै अद्यावधि अगाडि बढ्दै आएको छ । उन्नति बोहोराले २०२३ साल भाद्र ४ गते रूपन्देही जिल्ला स्तरीय बालकविता प्रतियोगितामा ‘आमा म हारेकी छैन’ देशपे्रम कविता प्रस्तुत गरी पुरस्कृत भएको देखिन्छ । सृजनाका हिसाबले यो यस जिल्लाको पहिलो रचनाका रूपमा देखिन्छ । यस पृष्ठभूमिबाट अगाडि बढेको रूपन्देहीको साहित्यमा देखापरेका महिला साहित्यकारहरूमध्ये रूपन्देहीमा जन्मेर साहित्य सिर्जनामा लागेकी प्रथम महिला स्रष्टा हुन् २००७ सालमा बुटवल उपमहानगरपालिका वडा नं. १ गणेश टोल, रूपन्देहीमा जन्मेकी सुशीला प्रधानाङ्ग । विद्यार्थीकालमा कविता लेखेर साहित्यलेखनको थालनी गरेकी सुशीला प्रधानाङ्गको फूलबारी पत्रिकामा प्रकाशित कथा ‘दोषी को ?’ (२०३३) यस जिल्लाको पहिलो प्रकाशित रचना हो । यसपछि रूपन्देहीको साहित्यमा देखापरेका महिला साहित्यकारहरू तिनको योगदानका बारेमा यहाँ अध्ययन गरिएको छ । विभिन्न जिल्लाबाट बसाइँ सरी आएका तथा यसै क्षेत्रका प्रतिभाहरूबाट यस जिल्लाको साहित्यले फस्टाउने अवसर प्राप्त गरेको छ । यहाँ कृति प्रकाशनमा देखापरेका र फुटकर लेखनमा सक्रिय रहेका स्रष्टाहरूलाई क्रमशः प्रस्तुत गरिएको छ ।


कथातर्फ ः भागीरथी श्रेष्ठको क्रमशः (२०४४), मोहदंश (२०४४), विभ्रम (२०४९), रङ्गीन पोखरी (२०५०), भूमिगत (२०६२) कथासङ्ग्रहहरू, नीलम कार्की निहारिकाको हवन (२०६२), कागजमा दस्तखत (२०६४) र बेली (२०६८) कथासङ्ग्रह, गङ्गा लिगलका ऐना (२०६५) कथासङ्ग्रह, जेसिका (२०६९) कथासङ्ग्रह, कविता पौडेलका रिमा (२०६९) कथासङ्ग्रह, रामेश्वरी पन्तको घाउ चहराई नै रह्यो (?) कथासङ्ग्रह आदि रहेका छन् ।
उपन्यासतर्फ ः भागीरथी श्रेष्ठको मालती (२०३४), यस्तो एउटा आकाश (२०४६) उपन्यासहरू, नीलम कार्की निहारिकाको मौन जीवन (२०५१) उपन्यास, नियतिको खेल (२०५३) उपन्यास, अर्की आइमाई (२०७१) उपन्यास, चीरहरण (२०७३) उपन्यास, अनुपम रोशीका कुमारी आमा (२०६८), नाङ्गो मान्छे (२०६९) र कालो छाँया (२०७१) उपन्यास, कविता पौडेलका बालचीत्कार (२०६२), हीरा (२०६३), विस्थापित आमाहरू (२०६६), छोरीको चिठी (२०७०), छाउपडी (२०७१), सीमावारि सीमापारि (२०७०), मुना (२०७३) उपन्यासहरू, उन्नति बोहराका सिक्काका दुई पाटा (२०६३) उपन्यास, तृष्णा (२०७१) उपन्यास, गङ्गा लिगलको अमेरिका (२०७२) उपन्यास रहेका छन् ।
कवितातर्फ ः उन्नति बोहराका कोसेली उसैलाई (२०५९) कवितासङ्ग्रह, अदृश्य घाउ (२०६१) गीतिसङ्ग्रह, भावनाका तरङ्ग (२०६२) कवितासङ्ग्रह, शीलाका स्पर्शहरू (२०६९), अनुपम रोशीको आकाङ्क्षाको फूल मेरो (२०६२) गजल सङ्ग्रह, गीता पन्थको साँझ ढलेपछि (२०६५) कवितासङ्ग्रह, नीलम कार्की निहारिकाका ब्रेन फिबर (२०६२) लामो कविता, नीलम कार्की निहारिकाका कविता (२०६३) कवितासङ्ग्रह, गङ्गा लिगलका बिहानी (?) कवितासङ्ग्रह, आमा (?) कवितासङ्ग्रह, गङ्गाका लहरहरू (२०६५) कवितासङ्ग्रह, सङ्गीतको आभास (२०६५) कवितासङ्ग्रह, ममताको खास्टो (२०६५) खण्डकाव्य, सागरपारी (२०६७) कवितासङ्ग्रह, गङ्गाका गजलहरू (२०६७) गजल सङ्ग्रह, सखिवियोग (२०६९) खण्डकाव्य, लालीगुराँस (२०६९) गीतसङ्ग्रह, भानु तिम्रो सम्झनामा (२०६९) कवितासङ्ग्रह, हृदयका स्पन्दन (२०७२) कवितासङ्ग्रह, सुशीला प्रधानाङ्गको समयको अनुहार (२०७०) कवितासङ्ग्रह, लक्ष्मी शर्माको भिडमा एक्ली (२०७२) मुक्तकसङ्ग्रह, कमला अर्याल र अस्मिता भट्टराई लगायत दसजनाको संयुक्त मुक्तकसङ्ग्रह मुक्तक मिठास (२०७२), सीता काफ्लेको खुसी हराएको मेरो देश (२०७२) कवितासङ्ग्रह, सोनु गुरुङको हाइ हाइकु (२०६८) हाइकुसङ्ग्रह आदि रहेका छन् ।
बालसाहित्यतर्फ ः लक्ष्मी शर्माको जेना (२०५८) बालकथासङ्ग्रह, उन्नति बोहराका काफल पाक्यो (२०६१) बालगीत माला, सुधा रिसाल शर्माको फुच्चे भ्यागुता (२०६१) बालकथासङ्ग्रह तथा माहुरीको पुस्तकालय (२०६१) र डा.चिम्पु चिम्पान्जी (२०६१) बाल उपन्यास, रतन्धोलाई डन्डै डन्डा (२०६२) सचित्र बालकथा, नेप्टे जूनकीरी (२०६४) बालकथासङ्ग्रह, डेढो आँखा (२०६५) बालएकाङ्की, सुनको दाँत (२०६५), बादलपारि (२०६५) बालकथा चित्रपुस्तक, सुशीला प्रधानाङ्गका सन्तेको मिहिनेत (२०६३) र मोहनको हिम्मत (२०६३) बालकथासङ्ग्रह, सोहन र परेवा (२०६४) बालकथासङ्ग्रह, हट् घोडा हट् (२०६७) बालकवितासङ्ग्रह, परोपकार (२०७०) बालकथासङ्ग्रह, फुच्चे मुसाको करामत (२०७०) बालचित्रकथा, चकचके कान्छा (२०७०) बालकथासङ्ग्रह, परोपकार (२०७०) बालकथासङ्ग्रह, संगमपुरे दाजु बहिनी (२०७१) बालउपन्यास, भागीरथी श्रेष्ठको स्वावलम्बन (२०६५) बालकथासङ्ग्रह, रिमोट कन्ट्रोल (२०६८) बालकथासङ्ग्रह, मञ्जु ज्ञवालीको चङ्खे स्याल र लाइफ ज्याकेट (२०७१), सहयोगी साथी (२०७२) बालचित्रकथा, भँगेराले खायो जेरी (२०७३) बालचित्रकथा आदि प्रकाशित देखिन्छन् ।
निबन्धतर्फ ः सोनु गुरुङको लहरा पहरा (२०७०) निबन्धसङ्ग्रह प्राप्त देखिन्छ ।
अनूदिततर्फ ः उन्नति बोहराका टु फेसेस अफ अ कोइन (सन् २००८) अनूदित, सफ्ट सेन्सेसन (२०११) गीतिसङ्ग्रह अनूदित कृति रहेका छन् ।
संस्मरण तथा अन्यतर्फ ः कविता पौडेलका काँडेघारीको यात्रा (२०५९) आत्मकथा, माइत भागेको रात (२०६४) संस्मरण, दुर्गा पौड्यालको नियात्रा (२०६७) र दुर्गा पौड्याल र मदन पौड्यालको काउ ब्वायको देशमा (संयुक्त २०७०) नियात्रा, रम्भा पौडेलका बाबासँगको सम्झना (२०६७) संस्मरण र कलमको दोस्रो पाना (२०६९) लेखसङ्ग्रह तथा यात्रासंस्मरण, गङ्गा लिगल पत्रमञ्जुषा (२०६९) पत्रसाहित्य, गङ्गाको यात्रा (?) नियात्रासङ्ग्रह, युगज्योति (?) धार्मिक लेखरचनाको सँगालो, सुशीला प्रधानाङ्गको जीवन एक अध्याय (२०७०) संस्मरण आदि रहेका छन् । अन्य गद्य लेखनमा देखापरेका कृतिहरूमा कविता पौडेलको योगासन र ध्यान (२०५९), तीज पर्वको जन्मकथा (२०६४) लेखसङ्ग्रह, कमला कु“वरको मुक्तिको गोरेटो (२०६०) लेखसङ्ग्रह समेत देखापरेका छन् ।
समालोचनातर्फ ः रूपन्देहीको समालोचनामा नारी हस्ताक्षर निकै कम चलेको पाइन्छ । पुस्तकाकार कृति प्रकाशनमा देखापर्ने महिला समालोचक खासै देखिँदैन । विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना प्रकाशित गर्ने महिला समालोचकहरूमा शान्ता शाक्य, रीता ढकाल, सुन्दरा कार्की, कविता रिजाल, इन्दिरा अर्याल, अमृता पाण्डे अनमोल, बिजु पछाई, रमा पौडेल आदि रहेका छन् ।
कृति प्रकाशनका साथै फुटकर लेखनमा समेत सक्रिय रहेका महिला साहित्यकारहरूमा अमृता पाण्डेय अनमोल, अस्मिता भट्टराई, अम्बिका पाण्डे, इन्दिरा अर्याल, इन्दिरा पाण्डे, इन्दिरा आचार्य, उमाकान्ति अधिकारी, कविता रिजाल, कमला अर्याल, कमला विश्वकर्मा, कोपिला कुँवर, गीता पन्त, गङ्गा अभिलाषी, गीता गौतम, गोमा बस्याल, जयन्ती सरगम, जीवनदीप प्रकृति, ज्ञानु के.सी., टिना गहतराज, दिवाना पुन, देविका वन्दना, दुर्गा पौड्याल, धना तिवारी स्पन्दन, नयना ढकाल, नैना गुरुङ, पार्वती ज्ञवाली, पविता पौडेल, पार्वती गैरे, पुष्पा अधिकारी, मञ्जु ज्ञवाली, मैयाँ भट्टराई, मैयाँ गुरुङ, मनोरमा आचार्य, रमा पौडेल, रम्भा पौडेल, रामेश्वरी पन्थ, राधा पौडेल, राधा ढकाल, लक्ष्मी पोखरेल, लता प्रधान, लीला राना, लक्ष्मी उपाध्याय, विपना श्रेष्ठ, शर्मिला खनाल, शर्मिला के.सी.,शारदा खनाल, शारदा भुसाल, शारदा पौडेल, शान्ति अधिकारी, शोभा पाण्डे, सन्ध्या भण्डारी, सरिता श्रीस, संगीता कुँवर, संगीता आभाष, सीता काफ्ले, सुमन राणा, सोनु गुरुङ, सरस्वती बस्याल, सलिना मरासिनी, साबित्री घिमिरे, सुधा बास्कोटा ढकाल, हीरादेवी शर्मा आदि देखिन्छन् ।
साहित्य तथा समालोचनाको विकासमा पत्रपत्रिका तथा संघसंस्थाको योगदान महŒवपूर्ण रहन्छ । यस क्षेत्रबाट प्रकाशित हुने जितगढी, गजल सागर नेपाल, शब्ददीप, शब्ददूत, साहित्य अनुराग, शब्दसाधना, शब्दगुञ्जन, छहारी, शब्दसिन्धु, उन्मेष, क्षितिज, नवउन्मेष, सिद्धार्थ जर्नल, लालीगुराँस, ज्ञानज्योति, नेपाली वाङ्मय, पदचिन्ह, साधनाजस्ता जर्नल तथा पत्रिका, दैनिक पत्र, मेचीकाली, दैनिक लुम्बिनी, तिलोत्तमा दैनिक, बुटवल टुडेजस्ता समाचार प्रधान पत्रिकाको प्रकाशनले यस क्षेत्रको साहित्यिक इतिहासको विकासमा योगदान पुगेको छ । सिद्धार्थ साहित्य परिषद् (२०३८), साहित्य सङ्गम बुटवल (२०५१), बुटवल साहित्य, कला, संस्कृति प्रतिष्ठान (२०५६) नेपाली साहित्य अध्ययन समाज (२०५९), गजल सागर (२०६०), सिर्जनशील साहित्यिक समाज (२०६०), प्रश्रित प्रतिष्ठान नेपाल (२०६८), लुम्बिनी वाङ्मय प्रतिष्ठान (२०६९), प्रगतिशील लेखक संघ रूपन्देही, छन्दवादी समाज, अनुराग साहित्य समाज, युगीन साहित्य समाज जस्ता संघसंस्थाले आयोजना गरेका विभिन्न कार्यक्रम तथा साहित्यिक गोष्ठीमा सहभागिता जनाइ रचना वाचन गर्ने थुप्रै नारी स्रष्टाहरू रहेका छन् साथै यिनै स्रष्टाका पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित भएको पाइन्छ ।

प्रवृत्तिगत विशेषता
सिद्धार्थ साहित्य परिषद् (२०३८), साहित्य सङ्गम बुटवल (२०५१) को स्थापनापछि तिनले गर्ने मासिक साहित्यिक कार्यक्रममा सहभागिता जनाउँदै यस क्षेत्रमा महिला साहित्यकारहरू सक्रिय रहेको देखिन्छ । २०४६ सालमा प्रजातन्त्रको उदय, २०५२ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्व तथा २०५८ सालमा शाही निरङ्कुश शासन पद्धतिको सुरुवात भएपछिको परिवर्तित वातावरणमा महिला लेखकहरूले प्रजातन्त्रको हत्याको विरोध र लोकतन्त्र स्थापनाको पक्षमा आवाज बुलन्द गर्ने काम गरेका छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाहरूले निरङ्कुश शाही शासनव्यवस्थाको विरोध गरी प्रजातन्त्रका निम्ति आन्दोलन गर्न जनताहरूलाई उत्साहित गरेको पाइन्छ । २०५२ पछिको सशस्त्र युद्धको चरम सङ्घर्ष र त्यसले निम्त्याएको त्रसित वातावरणको यथार्थ वर्णन गर्ने तथा युद्धका कारण थुप्रै नेपाली चेलीहरु बिधवा बन्नु परेको, आमाको काख रित्तिएको, आफ्ना बालबालिकालाई टुहुरो बनाउनु परेको, नेपाली चेलीहरु बलात्कृत हुनु परेको जस्ता पीडाको प्रस्तुति महिला साहित्यकारहरूले गरेका छन् । नेपाली समाजका हरेक क्षेत्रमा नारीहरु उपेक्षित हुनु परेको, दाइजोका कारण मृत्युवरण गर्नु परेको, घरपरिवार तथा बाहिर कतै पनि नारीहरु सुरक्षित हुन नसकेका, यात्राका क्रममा सार्वजनिक साधनमा महिलाले भोग्नु परेको सास्ती जस्ता कुराको चित्रण महिला साहित्यमा भएको देखिन्छ । संविधान निर्माणका क्रममा महिला हक हित र अधिकार संविधानमै लेखिनु पर्ने आवाज उठाउँदै आएका महिला साहित्यकारहरुले अब अधिकारका लागि विद्रोह गर्नुपर्ने आवाज साहित्यमा बुलन्द गरेका छन् । विभिन्न साहित्य सङ्गममा वाचित रचनामा पनि प्रतिगमनको विरोध गरी अग्रगमनको निम्ति आन्दोलन गर्नुपर्ने सन्देश पाइन्छ । कविहरूले २०६३ सालको लोकतान्त्रिक आन्दोलन पश्चात् संविधान सभाको निर्वाचन र विघटन तथा दोस्रो संविधान सभाको निर्वाचन र त्यसपछिको अन्योलता, विभिन्न समूहका आन्दोलन, नाकाबन्दी र मधेश आन्दोलन, जातीय द्वन्द्वले बिथोलेको सामाजिक सद्भाव, राजनीतिक अस्थिरता, नयाँ संविधानको निर्माण र त्यसपछिको सङ्क्रमणकालीन परिवेशले सिर्जना गरेको परिस्थितिको चित्रण आदिलाई नै साहित्यको विषयवस्तु बनाएको पाइन्छ । नेपाली समाजमा रहेका विसङ्गतिको चित्रण, नेपाली महिलाहरूले भोग्नुपरेका समस्याहरूको चित्रण, पुरुषको दासताबाट मुक्तिका लागि विद्रोह, महिलाहरूको हकहितका निम्ति आवाज बुलन्द गर्ने काम गरेका छन् ।
रूपन्देही जिल्लाको आख्यान परम्परामा देखा परेका कथा तथा उपन्यासहरूमा राष्ट्रप्रेम, नेपाली समाजका विकृति र विसङ्गतिको विरोध, रूढिग्रस्त नेपाली समाजका पुरातनवादी सोचाइको विरोध, सशस्त्र द्वन्द्वको समयको त्रासदीपूर्ण व्यवहारको चित्रण, राज्यका तर्फबाट गरिएको दुव्र्यवहारको प्रस्तुति, प्रेमप्रणयको वर्णन, यौनका विविध रूपहरू, पौराणिक विषय र सन्दर्भको प्रयोग, मिथकीयता, जीवनका निराशा र कुण्ठाको अभिव्यक्ति, गरिबीका कारण भोग्नु परेको पीडाको अभिव्यक्ति, निरङ्कुश शासन व्यवस्थाले गरेका थिचोमिचो र अत्याचार, सामन्तीहरूको शोषण र दमन आदिको चित्रणजस्ता प्रवृत्तिहरू पाइन्छन् ।
रूपन्देही जिल्लाको बालसाहित्यमा समाजमा विकृत पक्षको रूपमा रहेको दाइजो प्रथाको विरोध, अंशभन्दा ठूलो कुरा छोरीको लागि शिक्षा भएकाले छोरीलाई दाइजोभन्दा शिक्षा दिनुपर्ने सन्देश, बालबालिकालाई असल कार्य गर्न नैतिक शिक्षा प्रदान, धर्म र संस्कृति राष्ट्रको अमूल्य सम्पत्तिको रूपमा रहेकाले संरक्षण गर्नुपर्नेजस्ता सन्देश दिइएको छ । प्रकृति, संस्कृति, नैतिक शिक्षा, राष्ट्रिय विभूतिहरू, भौगोलिक वातावरण जस्ता विषयवस्तुलाई लिएर बालकथा, बालचित्रकथा, बालकविता र बालउपन्यास लेखेको पाइन्छ । नेपाली बालसाहित्यको सङ्ख्यात्मक तथा गुणात्मक विकासमा बालसाहित्यकारका प्रकाशित बालसाहित्यिक कृतिहरूले उल्लेख्य योगदान पु¥याएको देखिन्छ ।
रूपन्देही जिल्लाका अधिकांश महिला साहित्यकारहरूले साहित्य लेखनको सुरुवात प्रायः कविताबाट नै गरेको देखिए पनि प्रथम प्रकाशित रचना भने कथा विधाको रहेको छ । यस जिल्लाका महिला कविहरूले लघुतम रूप मुक्तकदेखि खण्डकाव्यसम्म कलम चलाएको देखिन्छ । यस जिल्लाले महाकाव्यात्मक कृति भने प्राप्त गरेको देखिँदैन । यस जिल्लाका महिला साहित्यकारका साहित्यिक रचनामध्ये कविता विधातर्फ २४ कृति, कथा विधामा १२ कृति, उपन्यास विधामा १९ कृति, बालसाहित्यमा २४ कृति, निबन्ध विधामा १ कृति, अनूदिततर्फ २ कृति र यात्रा संस्मरण, आत्मकथा र अन्यतर्फ १३ कृतिहरू प्राप्त भएका छन् । सङ्ख्यात्मक रूपमा कवितात्मक कृति बढी देखिए पनि गुणात्मक रूपमा भने उपन्यास र बालसाहित्यका कृतिहरू रहेका छन् । आख्यान विधामा महिला साहित्यकारको उपस्थिति सशक्त देखिन्छ । आख्यानका क्षेत्रमा भागीरथी श्रेष्ठ, कविता पौडेल, नीलम कार्की निहारिका, अनुपम रोशीलगायतका महिला स्रष्टाहरू राष्ट्रिय रूपमै चर्चित देखिन्छन् । बालसाहित्यका क्षेत्रमा सुशीला प्रधानाङ्ग, उन्नति बोहोरा, सुधा शर्मा रिसालले राष्ट्रिय रूपमै ख्याति प्राप्त गरेका छन् । कविता पौडेल, सुशीला प्रधानाङ्ग, अनुपम रोशी, रम्भा पौडेल, मञ्जु ज्ञवालीलगायतका महिला स्रष्टाका रचनामा प्रगतिशीलता पाइन्छ । कविता, कथा, उपन्यास, बालसाहित्य, नियात्रा र संस्मरण लेखनमा महिला साहित्यकारको उपस्थिति देखिए पनि नाटक, एकाङ्की र निबन्ध विधामा उपस्थिति प्रायः शून्य देखिन्छ ।

निष्कर्ष
समग्रमा रूपन्देही जिल्लाको महिला साहित्य परम्पराले राष्ट्रिय साहित्यको बाटोलाई अझ फराकिलो, गतिमान र सार्थक बनाउन महŒवपूर्ण योगदान दिएको छ । नेपाली साहित्यको इतिहास निर्माणमा महŒवपूर्ण स्रोत र सामग्रीका रूपमा रूपन्देहीको साहित्य रहनेछ । रूपन्देही जिल्लाका महिला साहित्यकारहरूका कृतिहरू अनुभूतिका अभिव्यक्ति मात्र नभएर समय, काल र जीवनपद्धतिका काव्यिक दस्तावेजहरू हुन् । नेपाली साहित्यको जगको एउटा आधार रूपन्देहीको साहित्य पनि हो । नेपाली साहित्यकोे विकाससँगै रूपन्देहीको साहित्ययात्रा पनि गतिशील छ । रूपन्देहीको महिला साहित्य नेपाली साहित्यको मूल प्रवाहमा कुम जोर्दै अगाडि बढिरहेको देखिन्छ । यस परिप्रेक्ष्यमा सिङ्गो नेपाली साहित्यका फाँटमा रूपन्देहीका महिला साहित्यकारहरूले पु¥याएको योगदान उल्लेखनीय रहेको देखिन्छ । त्यस्तै गरी यस जिल्लाका महिला साहित्यकारहरू र तिनका कृतिहरूले समग्र नेपाली साहित्यकै क्षेत्रमा पनि केही स्थान हासिल गर्न पुगेको देखिन्छ । यसरी रूपन्देही जिल्लाका महिला साहित्यकारहरू र तिनका कृतिहरूले नेपाली साहित्यको भण्डारलाई समृद्ध बनाउन र श्रीवृद्धि गर्न अमूल्य योगदान दिएका छन् भन्ने तथ्यलाई महिला स्रष्टाहरूका वर्तमानका साक्षी यिनै कृतिहरूले बोलिरहेका छन् भन्न सकिन्छ ।

सन्दर्भसूची
उपाध्याय, गोपीरमण (२०५९), प्रगतिशील साहित्य समालोचना, रूपन्देही ः बुटवल साहित्य, कला, संस्कति प्रतिष्ठान ।
खनाल, अजित (२०५५), “नेपाली साहित्यमा रूपन्देही जिल्लाको योगदान”, स्नातकोत्तर अप्रकाशित शोधपत्र, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
ज्ञवाली, हिरण्यलाल (२०७०), ‘लुम्बिनी अञ्चलका नारी स्रष्टा र सृष्टि’, प्राज्ञिक संसार, वर्ष–२, अङ्क–३, माघ, पृ. १–१५ ।
पौड्याल, शालिकराम (२०६१), “रूपन्देही जिल्लाका प्रतिनिधि कवि र तिनका कविताकृतिको अध्ययन”, स्नातकोत्तर अप्रकाशित शोधपत्र, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
…………….(२०६२), ‘रूपन्देही जिल्लाको कविता सृजनाको पृष्ठभूमि,परम्परा र विकास’, मिर्मिरे, वर्ष–३४, अङ्क–१२,पूर्णाङ्क–२४७, चैत, पृ. ४३–५१ ।
…………… (२०६५¬), रूपन्देही जिल्लाको कविताको इतिहास ः सर्वेक्षण र विश्लेषण, बुटवल ः लेखक स्वयम् ।
…………….(२०६५), ‘बुटवलको साहित्यिक गतिविधि ः सङ्क्षिप्त रेखाङ्कन’, बुटवल दर्पण, वर्ष १, अंक १, पृ.५१–५९ ।
…………….(२०७२), ‘रूपन्देहीको नेपाली साहित्य’, रूपन्देही दर्पण, भैरहवा ः रूपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान, पृ.२१५–२३५ ।
पंगेनी, भवेश्वर (२०५३), पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन २००७, काठमाडौँ ः शोभादेवी भोलानाथ ट्रस्ट ।
मेचीदेखि महाकाली (भाग—३) (२०३१¬), काठमाडौँ ः श्री ५ को सरकार सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग ।
लामिछाने, कपिलदेव (२०७२), ‘रूपन्देहीको बालसाहित्य’, रूपन्देही दर्पण, भैरहवा ः रूपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान, पृ.२३६–२६० ।
श्रीस, गिरि (२०५३), ‘साहित्यिक क्षेत्रमा बुटवल ः एक सिंहावलोकन’, बटौली स्मारिका, पृ.२१—२४ ।
श्रेष्ठ, दयाराम (२०७०), नेपाली कथा र कथाकार, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
स्रोत व्यक्तिहरूः
प्रा.डा.कपिलदेव लामिछाने, सहप्रा. बालकृष्ण भट्टराई, सहप्रा. ऋषिराम भुसाल, डिल्लीराज भट्टराई, विजय सागर, डा. मुरारि पराजुली, निर्मल ढुङ्गाना, दलबहादुर गुरुङ, कविराज पौडेल, दीपक ज्ञवाली, लक्ष्मी शर्मा, सीता काफ्लेलगायत सूचना दिनुहुने स्रष्टाहरू ।
प्रश्रित प्रतिष्ठान नेपालद्वारा २०७३ माघ ६ गते भैरहवामा आयोजित लुम्बिनी अञ्चल स्तरीय महिला साहित्य गोष्ठीमा उपप्राध्यापक शालिकराम पौड्यालद्धारा प्रस्तुत कार्यपत्र ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु