आत्महत्याको परिवेश

- श्रवणकुमार ढुंगाना

आकांक्षा अंकुश बनेर
असफलताको डोरी झुन्ड्याउँदै
आत्महत्याको शुभ-साइत पर्खिरहेछ
परिवेश
अवसरको सुर्कने-गाठो पारेर
जिजिबिसाको गला दबाउने उत्सवको प्रतिक्षामा छ,
जब यी नै छिमेकी हुन्छन्
जब यी नै प्रीयसी हुन्छन्
हृदय भुसको आगो
जिन्दगी धुवाँ धुवाँ हुन्छ ।

ईश्वर दागा धरेर बसेकोछ
दुई घुट्की पानी पिउने सपना देख्नेको भाकल सम्झेर
यता अर्को घुट्की प्यास अधुरै छ !
यो पानीको जलन, र
यो भाकलको घुटन
भलै यहाँ मृत्यु मुस्कुराएको छैन, तर
जिन्दगी ओभाएको पनि छैन !

टाढा टाढासम्मका उज्याला किरणहरू
द्रुत गतिमा
ख्याक रङमा मेटामर्फोसिस हुँदैगएका छन्
टेकेको जमिन भासिदै गएकोछ
उद्दारमा आएका हातहरू
चक्कु, चुलेसी र करौंती जस्ता !
सहानुभूतिका बाढि
यो एकलासको टापुमा अाइपुग्दा
सरकारी राहत जस्तो थोपा
आँखाबाट बगेरै सकिएको छ ।

रातको साम्राज्य छ
सर्प, धनुष र बिरालो शासकहरू !
ऊनिहरू
सर्प नचाउनेहरू,
ताँदो चढाउनेहरू र
बिरालो खेलाउनेहरूको ईशारामा
यो जंगलको आतंकपूर्वक संरक्षणमा जुटेका छन् !
मुस्कुराइरहेकाहरू ढाड तिरबाट
डराइरहेकाहरू कोखा तिरबाट
निदाइरहेकाहरू गला तिरबाट
आक्रमणको शिकार भएका छन् !

जीव बधशालामा-
मरेका कुखुराको मोलमा बिक्रीमा छ
हत्या आत्महत्याको अपराधमा दर्ता छ
आत्महत्या हत्याको अभियोगमा प्रताडित छ
दुर्घटना शहीदको मानमर्दनमा सम्मानित छ !
मस्तिष्कमा दिगमिग-दिगमिग
मनमा भय अनि अवसाद
आँखामा अन्धकार
ब्यवहारमा अबिश्वास
समय आत्मको हत्यामा उद्धत छ !

आकांक्षा अंकुश बनेर
असफलताको डोरी झुन्ड्याउँदै
आत्महत्याको शुभ-साइत पर्खिरहेछ
परिवेश
अवसरको सुर्कने-गाठो पारेर
जिजिबिसाको गला दबाउने उत्सवको प्रतिक्षामा छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु