ऊ जिन्दगी हो

- मणि भट्टराई

अर्थ नभएपछि बोल्नुको
ऊ आफै बोल्न छोडेको हो
तिमीले सोचे जस्तो ऊ
नि:शब्द हुँदै होइन,
अहँ,ऊ तिमीले नसुने जस्तो
चुपचाप छँदै छैन ।
.
हिंडेर कहि नपुगेपछि
ऊ बेलाबेला सोच्दै रोकिएको हो
तिमीले सोचेजस्तो ऊ
गतिहीन छँदै छैन,
अहँ, ऊ तिमीले देखे जस्तो
स्थिर हुँदै होइन ।
.
टाढा टाढा क्षितिज हेर्न थालेपछि
निन्द्रामा उक्लिन थालेपछि पहाड
चटक्कै बिर्सियो उस्ले
आफ्नै आँगनको तगारो
भुल्यो सारा बगैंचाका फूलहरू
.
देख्नै छोडेको होइन उस्ले
बरू देख्न थालेपछि धेरै परपर
बेला बेला देख्दैन उस्ले आफ्नै वरिपरि ।
.
जस्तो-उस्ले देखिरहेको छैन
तिमी तरबार बोकेर ऊतिर गइरहेको
लाठी बजार्न आटेको टाउकोमा
तिमीले घेरा हालेको या बन्दी बनाएको,
बाटोमा एम्बुस थापेको -
र भोकाएको उसको पेट
निको नभएका उस्का घाऊहरू
यो त झन् उस्ले देख्ने कुरै भएन ।
.
तिमीलाई सिर्फ बुझ्नु छ भने 'उस्ले देख्छ देख्दैन'
उस्ले हेरिरहेको क्षितिजमा वम पड्काइ देऊ
ऊ उक्लिरहेको पहाडमा पैह्रो लडाइ देऊ
तिमीलाई विस्वास छ भने आफ्नो बहादुरीमा
त्यहाँ उभिएर जिस्क्याऊ उसलाई
जहाँ पुग्न ऊ खोजिरहेको छ ।
.
तिमी जस्तो लाछी होइन ऊ
अहँ,बिलकुल होइन
तिमीले सोचे जस्तो कदापी छँदैछैन ।
.
ऊ कहिल्यै बलेर नसकिने
आगो बीचको एक उदेश्य हो
ऊ कहिल्यै बगेर नसकिने
आँसुबीचको एक आसा हो
जतिसुकै बर्ष या शताब्दी वितोस्
त्यहाँ पुग्नको निम्ति ऊ
युग प्रतियुग हिंडिरहने एक गति हो
चुपचाप सुनिए पनि
चुपचाप बस्नै नसक्ने
निरन्तर बजिरहने ऊ एक आवाज हो ।
.
सपना हो ऊ
ऊ जिन्दगी हो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु