रहश्यमयी ‘स्टोनहेन्ज’को तीन फन्को

- कृष्ण बजगाईं

युद्ध मैदान हो कि सार्वजनिक सडक ? ‘सावधान मिलिटरी ट्याङक पास हुने ठाउँ’ लेखेको सूचनापाटी देख्नासाथ मुटुमा ढ्याङ्ग्रो ठोक्यो । चलाई राखेको गाडीमा हत्तनपत्त बे्रक लगाएर स्पीड घटाएँ । एकैछिनमा धुलो उडाउँदै नजिकैबाट ठूलो आवाजमा हेलिकप्टर बतासिँदै गयो । माथिल्लो भागको अगाडि र पछाडि ठूल्ठूला घुम्ने पखेँटा भएको युद्धमा प्रयोग गरिने ‘चीनूक’ हेलिकप्टरलाई नजिकैबाट देख्दा सातो गयो ।
बेलायतको वेल्स राज्यमा सपरिवार केही दिन गर्मी बिदाको छुट्टी मनाएर घर फर्कदै थियौं । दक्षिणी इङल्याण्डका विल्टसायरको मैदानी क्षेत्रमा रहेको रहश्यमयी प्रागैतिहासिक वास्तुकला ‘स्टोनहेन्ज’ अवलोकन गर्ने कार्यक्रम अचानक बाटैमा भएकोले त्यतै मोडिएका थियौं ।
मोटरवे छाडेर दुईलेनको बाटोमा गाडी दौडन थालेपछि फाट्टफुट्ट बस्ती देखिए । पर क्षितिजसम्म जोडिएका मलिला खेतका फाँटहरुले बहुरुप धारण गरेका थिए । कृषि औजार चलाउने बाहेक अन्य खेतालाहरु थिएनन् । आधुनिक कृषियन्त्रहरु अन्नबाली र मलिला माटोमा चलिरहेका थिए अहो ! कहिले भित्रिन्छन् होला यस्ता प्रविधि हाम्रो मुलुकमा ? कृषि प्रधान देश भन्दछौं । खै त आधुनिक कृषि प्रविधी र औजारहरु ?
दैनिक हजारभन्दा बढी युवाहरु काम र राम्रो आम्दानीको खोजीमा घरखेत बेचेर वा बन्धक राखेर त्रिभुवन विमानस्थलबाट बाहिरिन्छन् । गाउँमा खेतिपाती गर्ने जनशक्तिको अभाव भएर खेत बाँझै रहन थालेको समाचार आइसक्यो । बलियाबांगा युवा गाउँबाट पुरै रितिएपछि यस्ता आधुनिक कृषि यन्त्र नभित्र्याई धरै छैन । बाहिरिने क्रम यसरी नै जारी रहने हो भने त्यो दिन पनि टाढा छैन ।
लगातार दुई घण्टाको ड्राइभिङपछि बल्ल गन्तब्य आइपुगेको जानकारी ‘स्याटलाईट नाभिगेटर’ले दियो । गाडी पार्क गरेर बाहिर निस्कदा चर्को घामले स्वागत गर्यो । समरमा लाग्ने बेलायतको घाम कहिले काहीँ त नेपाललाई पनि बिर्साउने गरी लाग्दछ । यस्तै तातो घाम ताप्न पैसा खर्च गरेर एशिया र अफ्रिका तिर लाग्दछन् बेलायतीहरु ।
स्टोनहेन्ज हेर्नका लागि टिकट लिनु पर्ने रहेछ । टिकट लिएपछि टिकट घरसँगै जोडिएको स्टोहेन्जको इतिहास बताउने सानो म्युजियममा केही समय बितायौं । स्टोनहेन्ज र मानव जातिका बारेमा धेरै जानकारी लिएर बाहिर निस्कियौं ।
ढुंगाका संरचना भएको स्टोनहेन्जसम्म पुग्नलाई सटल बस तयार थियो । उसो त कैयौं अवलोकनकर्ता पैदलै पनि जाँदै थिए । चर्को घाममा आधा घण्टा के हिँड्नु ? छिटो अनि आरामदायी हुने भएकोले बसमै चढ्यौं ।
बसले पाँच मिनेट पनि लगाएन त्यहाँसम्म पुर्याउन । अग्लाअग्ला चौडा चारपाटे ढुंगाका संरचना जसलाईं ‘स्टोनहेन्ज’ भनिन्छ । त्यहाँ मान्छेका भीड माझ परैबाट देखियो । चालिसको दशकको अन्त्य तिर कार्यालयमा भर्खर आएको कम्प्युटरको वालपेपरमा देखेको स्टोनहेन्ज मेरो सामू प्रत्यक्ष खडा थियो । त्यसलाई देखेर रोमाञ्चित भएँ म । समय र संयोग दुरी निकै लामो रहेछ । स्टोनहेन्जलाई प्रत्यक्षरुपमा हेर्न पच्चिस वर्ष कुर्नु पर्यो ।
संसारभरका मानिसहरुका भीडमा हामी चार नेपाली अनुहार पनि मिसियौं । हरेक ब्यक्तिहरु आश्चर्यचकित भावले स्टोनहेन्जलाई हेर्दै थिए ।
भीडका मानिसहरु स्टोनहेन्जलाई पृष्ठभागमा पारेर वरिपरि चक्कर लगाउँदै फोटा लिदै थिए । त्यहाँका मानिसहरुलाई हेर्दा यस्तो लाग्दथ्यो कि सबै जना मोबाइल फोनको प्रदर्शनीमा आएका हुन । समय बदलिएको छ, मानिसहरु प्रायः क्यामरा बोक्न छाडे । मोबाइल फोनबाटै फोटो खिच्छन् ।
हवन कुण्डको चक्कर लगाए जस्तै हामीले पनि गोल चक्कर लगाएर ढुंगाको त्यस अदभूत संरचना हेर्यौं, फोटो खिच्यौं । त्यसरी चक्कर लगाउँदा थरिथरिका भाषा त्यही सुन्ने अवसर मिल्यो । तिनका कुरा बुझे त मर्नू !
सिमेन्टको चौंडा पिल्लर जस्ता देखिने स्टोनहेन्ज वास्तवमा अजंगका ढुंगा ताछेर ठड्याएइएको रहेछ । ती ढुंगा पाँचहजार वर्ष पुराना हुन् भनिन्छ । तर त्यति पुराना हुन भन्ने संकेत मैले कतै देखिन । ढुंगामा न त कुनै लिपि कुँदिएको थियो, न त कुनै चित्र वा आकृति खोपिएको थियो । तर पनि पुरानो होइन भनेर औंलो ठड्याउने कुनै आधार मसँग पनि थिएन । पुरातत्वविद् र वैज्ञानिकहरुले लामो अनुसन्धान र खोजबाट पत्ता लगाएको कुरालाई म सामान्य अवलोकनकर्ताले केही भन्न मिल्दैन थियो । त्यति पुरानो भएको विश्वास नलागे पनि विश्वास गर्न बाध्य भएको थिएँ ।
ती ढुंगाहरु एकआपसमा नजिक नजिकै चक्राकारमा ठड्याइएका थिए । जमिनमा गाडेर ठड्याइएको ती ढुंगा नौ मिटरसम्म अग्ला र बीस टनसम्मका रहेछन् । केही टुटफुट टुक्राहरु भुईंमा त्यसै लडिरहेका थिए । घर बनाउन सिमेन्टका पिल्लर ठड्याएर ठिक्क पारे जस्ता देखिने ती ढुंगामाथि बीम राखे जसरी नै झण्डै उत्रै आकारका ढुंगा सुताएर राखिएको थियो । झट्ट हेर्दा कुनै ठूलो भवन निर्माण गर्दागर्दै बिचैमा काम छाडिएको जस्तो देखिन्थ्यो ।
खेतिपाती हुने मलिलो समथर फाँटमा कसले र कुन प्रयोजनका लागि ल्याए होलान् ती ढुङ्गा ? त्यसको रहश्य अझसम्म कसैले पत्ता लगाउन सकेको छैन । तर पनि वैज्ञानिक, पुरातत्वविद्, इतिहासकार र खगोलशास्त्रीका आआफ्नै तर्क छन् । कसका कुरा पत्याउनु ? तिनका तर्क र कथा सुनेर म जस्तै अन्य मानिसहरु पनि अलमलमा परेका होलान् ।
स्टोनहेन्ज वरपर ढुंगाको कुनै पहाड देखिदैन । ती अजंगका ढुंगा करिब बत्तिस किलोमटिर टाढाबाट उहीँ काँटछाँट गरेर ल्याइएको हो भन्ने वैज्ञानिकहरुको मान्यता छ । उतिखेर त्यत्रो भिमकाय ढुंगा त्यति टाढाबाट त्यहाँ सम्म ल्याउनु आश्चर्य लाग्दो कुरा लाग्यो मलाई । त्यो बेला न त क्रेन थियो, न त ढुवानी गर्ने यातायातको साधन नै विकाश भएको थियो । कसरी ल्याए होलान् त्यहाँसम्म त्यत्रा अजंगका ढुंगाहरु ? यो कुरा सोच्दा सोच्दै दिमाग नै रन्थिनियो ।
केही ब्यक्तिका मत अनुसार दैत्यहरुले स्टोनहेन्जको स्थापना गरेका हुन् भनेका छन् । अन्य केहीको मतमा मर्लिन नामको जादूगरले आफ्नो जादूद्धारा यसको स्थापना गराएको मान्दछन् । दैत्य र जादूगरमा विश्वास नगर्ने आधुनिक विचारका केही अनुसन्धानकर्ताहरु स्टोनहेन्जलाई अर्कै ग्रहबाट आएका एलियनहरुले नै बनाएको हो भनेका छन् ।
टाढासम्म फैलिएको त्यो चौडा भूमि झट्ट हेर्दा रनवे जस्तै देखिन्छ । के त्यो समथर भूमि एलियनहरुले उतिबेला रनवेको रुपमा प्रयोग गरेका थिए त ? निकै बेर परसम्म त्यो समतल भूमिमा नजर लगाउँदछु । एलियनहरुको रनवे मासेर मानिसहरुले खेतिपाती पो गरेका हुन् त ?
च्याप्टो र वक्राकार ‘यूएफओ’ अर्थात एलियनहरुको विमान पृथ्वीमा कैयौं पटक आएको र त्यसलाई देखेको भनेर कैयौंले दावी गरेका छन् । मैले पनि त्यस्ता समाचार बेलाबोलामा पढेको र सुनेको छु । तर आजसम्म ‘युएफओ’ देख्ने सौभाग्य मिलेको छैन । उसो त हलीवुडका धेरै फिल्महरुमा त्यस्ता विमान र एलियनहरु भने देखेको छु । फिल्म हेरको भरमा एलियन र युएफओको आकृति भण्डार भएको छ मेरो मष्तिस्कमा । कुनै दिन एलियनसँग जम्का भेट भयो भने ठम्याउन गाह«ो नहोला ।
एलियन भए नभएको पत्ता लगाउन अमेरिकाको सरकारी संस्था नासामा एउटा विभाग नै खडा गरिएको छ । वैज्ञानिकहरुको टीमले बीस वर्ष भित्र अर्को ग्रहबाट आएका ती एलियनहरुको सम्पूर्ण कुरा पत्ता लगाएरै छाड्ने प्रण गरेको छ । मानिसहरु भन्दा धेरै बुद्धिमान र चलाख ठानिएका ती एलियनहरुका बारेमा पत्ता लगाए भने त तिनीहरु भन्दा मानिस नै बुद्धिमान ठहरिने भए । यदि एलियन र पृथ्वीवासीको युद्ध भयो भने विभिन्न जात, धर्म र देशबीच चलेको बैमनष्यता अन्त्य गरी एकजुट भएर एलियनको विरुद्धमा अवश्य लड्लान् । सायद त्यसदिन पृथ्वीवासी हुनुको गर्वमा मानिसहरुले कुनै उत्सव मनाउलान् ।
रकेट र हवाइजहाज निर्माणको इतिहास लामो छैन । तर इजिप्टको तीनहजार साल पुरानो ‘न्यू किंगडम मन्दिर’को भित्तामा यूएफओका चित्रहरु पाइएको छ । त्यति पुरानो मन्दिरमा यूएफओको चित्र पाउनु भनेको उति बेलैदेखि मानिसहरु अर्को ग्रहका प्राणीहरु पृथ्वीमा कुनै विमानद्धारा आउने गरेको कुरासँग परिचित रहेछन् भनेर मान्न सकिन्छ । अन्य ग्रहका प्राणीहरुले विमान प्रयोग गरेको पृथ्वीका मानिसले देखेका थिए होलान् र त इजिप्टको मन्दिरमा त्यसको चित्र बनाइयो भनेर अनुमान लगाउँदछु ।
यता हाम्रै तीन हजार वर्ष भन्दा पनि पुरानो हिन्दू धर्मका ग्रन्थहरुमा ‘पुष्पक विमान’ भएको र त्यसमा यात्रा गर्ने गरेको कुरा उल्लेख छ । त्यस बेला आकाशमा उड्ने कुनै विमान वा युएफओ केही थियो होला र त धार्मिक ग्रन्थमा लेखियो । मनमा तर्कना चल्छ ।
केही इतिहासकारहरुले स्टोनहेन्जलाई पाँचहजार वर्ष पुरानो मानव सभ्यताको अस्तित्व मानेका छन् । यसको वरपरको उत्खननमा थुप्रै मानव कंकालका टुक्रा फेला परेकोले त्यहाँ कुनै सामुहिक चिहान भएको वैज्ञानिकहरुले अनुमान गरेका छन् । त्यहाँ फेला परेका मानव कंकाल लगायत अन्य वस्तुहरु म्यूजियममा हेर्ने अवसर मिलेको थियो । त्यहाँ भेटिएको सामूहिक चिहान स्टोनहेन्जको निर्माण गर्नेे कामदारहरु र त्यस वरपरका अन्य मानिसहरुको हुन सक्ने अनुमान गरिएको छ ।
स्टोनहेन्जमा केही निला रंगका ढुंगाहरु पनि थिए । ती ढुंगामा कैयौं रोगहरुलाई निको पार्ने शक्ति छ भनिन्छ । उतिखेर उपचारका लागि त्यस ठाउँमा मानिसहरु आए होलान् । रोग निको नभएर मरेपछि त्यतै समाधिस्थ गरियो होला । तिनैको कंकाल भेटिएका हुन भनेर तर्क गर्नेहरु पनि छन् ।
केहीले यो पारम्परिक धार्मिक कर्मकाण्ड गर्ने ठाउँ थियो भनेका छन् । तर त्यसको पनि स्पष्ट प्रमाण फेला परेको छैन । तर त्यहाँ फेला परेका पुराना भाडाकुँडा, बन्चरो आदि सामग्रीले यस्तै कुराको संकेत गरेको मान्नेहरु पनि छन् ।
स्टनोनहेन्जको ढुंगालाई वैज्ञानिकहरुले हरेक तरिकाले जाँचेका रहेछन् । ती ढुंगामा हिर्काउँदा एक विशेष प्रकारको ध्वनी निस्कन्छ रे । त्यसलाई उतिबेला घंटीकोरुपमा प्रयोग गरिन्थ्यो रे । हरेक ढुंगाको गुन्ज एक अर्कामा फरक रहेछन् । यसलाई हिर्काउँदा धातुको घंटी जस्तै आवाज आउँदो रहेछ । उतिबेला यसलाई चर्च वा मन्दिरमा बजाईने घंटी जस्तै प्रयोगमा ल्याइको थियो होला भनेर अनुमान गर्दछु ।
मलाई त्यसको ध्वनी जाँच्न, सुन्न र त्यस बडेमानका ढुंगालाई स्पर्श गर्न मन लागेको थियो । त्यहाँ पुगेर स्पर्श गर्न वा जाँच्न थाले पक्राउ परेर जेलको हावा खाइने पो हो कि भन्ने डरले जाने आँट आएन । परैबाट हेरेर चित्त बुझाएँ ।
उति बेलाका शासकहरुले आफ्नो शक्ति देखाउन र आफनो सिमाको रेखांकनको लागि यसको निर्माण गरेका हुन् भन्ने अर्को तर्क पनि छ । तर यस्तो असम्भव लाग्ने काम शक्ति देखाउनकै लागि गरे होलान् त ?
हुन त शासकहरु प्रायः सनकी र लहडी नै हुन्छन् । तिनका सनकीपनले ठूल्ठूला युद्ध लगायतका अन्य दुर्घटना भएका छन् । अर्को तिर विश्वासै गर्न नसकिने विकाश निर्माण र आविष्कार भएका छन् । शक्ति देखाउनैका लागि बनाएनन् होला भन्न सकिन्न । प्रश्न उठ्छ बनाए चाहीँ कसरी ?
केही खगोलशास्त्रीका अनुसार ठड्याइएका ती ढुंगाहरुलाई क्यालेण्डरको रुपमा प्रयोग गरिन्थ्यो । स्टोनहेन्जको पुरा स्मारकले सौर्य प्रणालीलाई प्रदर्शित गर्दछ । कसैले यो वेधशालाको रुपमा थियो भनेका छन् । उनीहरुले यसको संरचनालाई अति जटिल मानेका छन् । उनीहरु यसलाई एक प्रागैतिहासिक कम्प्युटर भन्दछन् ।
‘कताको जिली कताको गाँठी !’ विज्ञानले जति नै उन्नती गरेपनि यसको रहश्य सुल्झाउन सकेको रहेन छ । अन्धाहरुले हात्ति छामेर आआफ्नै तरिकाले बर्णन गरे जस्तै यर्थाथ कुरा पत्ता नलागेको यो प्राचिन स्मारक रहश्यमयताको लागि नै प्रसिद्धी कमाएको ठाने मैले । अरुले जे जे भने पनि अंग्रेजहरु यसलाई बेलायतको गौरबको रुपमा मान्दछन् ।
दुई मिनेटमा दुई फन्को लगाउन सकिने स्टोनहेन्जलाई आधा घण्टा लगाएर तीन फन्को लगाएँ । जताबाट जति नै हेरे पनि कला विहिन बडेमानका ढुंगाका खम्बाहरु ठिंग उभिएको मात्र देखेँ । संसारभर ख्याति कमाएको स्टोनहेन्ज मेरो लागि प्रख्यात चित्रकारले बनाएको अब्सट्रयाक्ट चित्र नबुझे जस्तै भयो । न त तिनमा सुन्दरता देखेँ न त कुनै प्राचिनता । बरु त्यसका बारेमा चलेका चर्चा, अनुमान र तर्कहरु मलाई बडा रोचक लागे ।
स्टोनहेन्जले मलाई आकर्षित गर्न नसके पनि अमेरिकाको राष्ट्रपति बाराक ओबामा त्यसलाई हेर्नकै लागि केही समय अगि बेलायत आएको समाचार टीभीमा हेरेको थिएँ । त्यहाँ पुगेर अनेक जिज्ञाशा राखे । उत्तर सुनेपछि उनी रोमाञ्चित बने । र भने–‘हाउ कूल इज दिस् ?’
समरमा रातको साढे नौ बजे अस्ताउने घाम साँझ छ बज्दा पनि उस्तै तेजिलो थियो । त्यहाँबाट कम्तिमा दुइ घण्टा कारको तुफानी दौडाईपछि मात्र घर पुगिन्थ्यो । हेर्न, बुझ्न र सुन्न केही बाँकी रहे जस्तो लागेन । अबेर नगरी सटल बसमा फिर्ता आयौं ।
कार स्टार्ट गरेर विस्तारै अगाडि बढाएँ । परसम्म देखिने फराकिला फाँट आँखाबाट ओझेल भए । एकछिनपछि मेरा अगाडि गाडीका ताँती देखिए । दौंडिरहेका गाडी भए हुन्थ्यो नि, थकाई मारेर बसे जस्तै स्थिर थिए सडकमा । उफ् ! फेरी ट्राफिक जाम ।
‘हाउ कूल इज दिस् रोड !?’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 28 पौष, 2073

लेखकका अन्य रचनाहरु