कवि सुन्दरप्रसाद बादलको कविता सङ्ग्रह बारे केही कुरा

- राजेन्द्र पहाडी

अहिलेसम्म पनि संसारकै जेठो विधाका रुपमा कविता विधालाई लिइन्छ । सिर्जना क्षेत्रमा सबभन्दा बढी लेखिने र पढिने पनि कविता नै हो । कविता साहित्यको एक सशक्त विधा हो । कवितालाई काव्य भनेर पनि बुझिने गरिन्छ । कविता÷काव्यको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्वानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । आनन्दवर्धनले चमत्कारयुक्त अर्थरुप ध्वनि नै काव्य हो भनी काव्यलाई परिभाषित गरेका छन् । वर्डस्वर्थले अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो भनेका छन् । बालकृष्ण समले भावनाको बौद्धिक कोमलता कविता हो भने । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्वार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ ।’ भनेर कविताका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए भने राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘शब्द र संगीत, अर्थ र अभिप्रायमा एकाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो’ भनी अथ्र्याउँछन् ।
कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्वानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – ‘भाषाका माध्यमद्वारा प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।’ शाब्दिक गठन प्रक्रियालाई सरसर्ति हेर्दा ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर ‘कविता’ शब्दको निर्माण भएको देखिन्छ । कविता शब्दले कविद्वारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगतमा ऋग्वेद, महाभारत र रामायण तथा पश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् ।
मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुँदै आएको कुरा प्रष्टै छ । प्राचीन लोकगीत, गाथा हुँदै विकसित भएको नेपाली कविताले लिपिको विकाससँगै अनेक घुम्ती र मोडहरुमा काँचुली फेर्दै आएको छ । आजको समयमा कविता विधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ ।
साहित्यका मर्मज्ञहरु विश्वास गर्दछन् कि ‘कविताले अजश्र शक्तिको विनिर्माण गर्छ र शक्तिले जीवनको अस्तित्वलाई आकार दिन्छ । कवितामा शक्ति सञ्चय छैन भने त्यो कविता हुनु र नहुनुमा अर्थ छैन । मान्यताको कसिमामात्र कविताको अस्तित्व रहदैन । सत्यको सारलाई कविले बुझ्नुपर्ने न्युनतम सिद्धान्त हो । तर सत्य सधै सापेक्ष हुन्छ । सत्यमाथिका अविश्वास अहिलेका कविहरुको कमजोरी हो । यो सिद्धान्त कविको अनुहारजस्तै फरक हुन्छ ।’ उनीहरुको दावी छ – कविताको सार जीवनमा असरदार देखिनुपर्छ । प्रत्येक जीवनभित्रको कोलाहलमा शुन्यता र शुन्यताभित्र कोलाहल पैदा गर्ने शक्ति कवितामा अन्तर्नि्हित हुनैपर्छ । अनि मात्र कविताको सार्वभौमिकता निर्माण हुन्छ ।
पछिल्लो समयमा कवितालाई लिएर विभिन्न खालका मतहरु निर्माण गरिएको पाइन्छ । युवावयमा कवि नहुने सायदै कोही होला भनेर कवितालाई सार्वभौमिक दृष्टिबाट बुझाउने प्रयत्नदेखि शब्दहरुको थुप्रोले मात्र कविता बन्न सक्दैन भन्ने निचोडलगायतका विचारहरु कविता विधासँग जोडिएर आउने गरेका प्रसङ्गहरु हुन् । समकालीन समयमा लेखिएका सबै कविता कविता कहलाउने ताकत राख्दैनन् भन्ने विचारलाई पनि हामीले निम्छरो मान्न सक्दैनौं । नेपाली कविताले नेपाली माटोको गन्धको कति प्रतिनिधित्व गर्छ भन्ने अहिलेको सवालले प्रमुखता पाइरहेको स्थिति पनि छ ।
कवि, कविता र काव्य सिर्जनाको क्षेत्रमा देखापरेका विभिन्न राय, मत, विचार, प्रवृत्ति र लेखनधारासँग कुनै पनि सम्बन्ध नराखिकन पर्वतको साहित्याकासमा उदाएका पाका प्रतिभा हुन् सुन्दरप्रसाद वादल । उमेरले सात दशक काटेका भएपनि आफूलाई साहित्यलेखनका क्षेत्रमा प्रारम्भिक विद्यार्थी भन्न रुचाउने वादलले भर्खरै आफ्नो कवितासङ्ग्रह ‘मेरो सुन्दर कुसुम’ लाई अन्तिम रुप दिएका छन् । आफ्नो मनको उकुशमुकुश, गुम्फन, भावना, चिन्तन र जीवनको भोगाइका श्रृङ्खलाहरुलाई अक्षर र शब्दहरुले जोरजाम पार्दै जाँदा जे बन्यो त्यसलाई उनले कविताको नाम दिएका छन् । जीवनको लामो समय सरकारी सेवा, समाजसेवा र राजनैतिक क्षेत्रमा व्यतित गरेका स्रष्टा वादलले आफ्नो निवृत्तपश्चातको समयलाई सिर्जन क्षेत्रमा निकै उत्साहका साथ खर्चिरहेकाछन्, त्यसैको उपज हो यो कविता सङ्ग्रह ।
प्रस्तुत कविता सङ्ग्रहमा स्रष्टा सुन्दरप्रसाद वादलले मूलतः आफ्ना जीवनका कैयन अनुभूति, अनुभव, दुःख–सुखका उहापोह र मानवताका बग्रेल्ती चुनौती र सम्भावनाहरुलाई देखाउने प्रयास गरेका छन् । उनका सिर्जनाले जन्मदेखि मृत्युसम्मका विषयलाई सम्बोधन गर्ने जमर्को गरेको देखिन्छ । आफ्ना स्वान्त अनुभव, आग्रह, पूर्वाग्रह, मनोकांक्षा, इच्छा, इरादा, सपना–जपना, वाद–प्रतिवाद, स्वभाव, दृष्टिकोण, खुल्दुली र विचारका अन्तरकुन्तरहरुलाई कविताका नाममा पस्किने हुट्हुटी उनमा प्रशस्त रहेको अनुमान गर्न कुनै कठिनाई पर्दैन । प्रस्तुत कवितासङ्ग्रहमा वादलले आफूलाई जन्मदिने बाबुआमा, इश्वर, नाताकुटुम्ब, साथीभाइ, इष्टमित्र, समुदाय, राष्ट्र, राजनीति, संघसंस्थामा काम गर्दाका आफ्ना अनुभवदेखि समकालीन मानवीय प्रवृत्तिका बारेमा मेहेनतपूर्वक खोजीखन्तरी गरेका छन् ।
कविताका माध्यमबाट वादलले शान्ति, समृद्धि, वैभव, उन्नती, प्रगति तथा समुन्नत संस्कारयुक्त समाजको परिकल्पना गरेका छन् । समाजमा भाइचारा, बन्धुत्व, सहकार्य, सद्भाव र मेलमिलापको स्थिति बनिदिए मानव जीवन सुखी र आनन्दित हुने निश्कर्षका साथ उनले सबैलाई एकताबद्ध भै अघि बढ्न सतत् आव्हान एवम् कामना गर्दछन् । मानव जीवनको वैशिष्ठ्यलाई पहिचान गरेर आफूभित्रको इश्वरतत्व बाहिर निकाली सकारात्मक सोचका साथ समाजको सेवामा जुट्दा भिन्दै आनन्दानुभूती हुने कुरामा उनले विश्वास राखेको देखिन्छ । वादलले मनमस्तिष्कमा आएका जति कुरा लेखे, कविताकृति प्रकाशित गर्ने उत्कण्ठाले उनलाई लेख्न बाध्य पा¥यो । आफ्नो लेखन कविता बन्छ बन्दैन उनलाई यो प्रश्नले खासै पिरोलेन । सिर्जनाको स्वादमा उनी मदमस्त भएर डुबुल्की मारे, सम्भवतः त्यही छटपटीको उत्पादन बन्यो यो कृति ।
यस सङ्ग्रहमा समेटिएका सबैजसो कविताले खासगरी सर्जक सुन्दरप्रसाद वादलका नितान्त व्यक्तिगत अनुभूतिहरुलाई मात्र मुखरित गरेका छन् । देश, काल र परिस्थितिलाई आफूले जे जसरी बुझियो त्यसरी नै शाब्दिक अभिव्यक्ति आएका छन् सङ्ग्रहमा । यिनका कतिपय कविताहरुले वियोग, विछोड, वेदना, विघटन, सामाजिक अन्याय, शोषण, अतिसार, फट्याई, धुत्र्याई, छलकपट, बदमासी, खुराफाती कर्म आदिका बारेमा विषयवस्तु उठाएका छन् भने कतिपय कविताले समाजको आमूल परिवर्तन तथा रुपान्तरणका लागि सहयोगी हुन सक्ने सकारात्मक सोच, चिन्तन, आत्मियता, पारस्परिक विश्वास, श्रम तथा उत्पादनसँग मानिसलाई जोड्नुपर्ने खालको आग्रह, देशको विकासका लागि अपीललगायतका विषय प्रवेश गराएका छन् । स्रष्टा वादलका कतिपय कविताको मर्म भनेको सामाजिक विकृति, विसङ्गती, असमानता, विभेद, अन्याय आदिको अन्त्य गर्नुपर्छ भन्ने आव्हानसँग जोडिएर आएकाछन् भने कतिले समाजमा व्याप्त रहेको जाँडरक्सी, जुवातास, रण्डीवाजीजस्ता नकारात्मक कुरालाई सच्चाउनुपर्छ भन्ने अनुरोध गरेको देखिन्छ ।
आफ्ना कवितामार्फत स्रष्टा वादलले वाल, युवा, वयस्क, प्रौढ र बृद्धावस्थाका चरित्र, स्वभाव र पीडालाई उद्बोधन गर्ने प्रयास गरेका छन् । प्रस्तुत सङ्ग्रहभित्रका अधिकांश सिर्जना कथा, निबन्ध, लेख, वक्पत्र, यात्रा संस्मरण आदि जसरी सरसर्ती अघि बढ्छन् । यति हुँदाहुँदै पनि समाजमा महत्पूर्ण योगदान गर्ने व्यक्तिहरुको महिमा गानदेखि नारी सुन्दरताको बखान गाउन पनि उनका सिर्जनाहरु पछि परेका छैनन् । उनका सरल, सरस र सिधासिधी अभिव्यक्त गरिएका शब्दहरुले उनकै जीवन भोगाइको गहिराइलाई मापन गर्ने प्रयास गरेको पाठकले छनक पाइहाल्छ । उनले आफ्नो जन्मभूमि र त्यस वरपरको प्राकृतिक विशेषतालाई नलुकाइकन प्रस्तुत गरेकाछन् ।
सर्जक सुन्दरप्रसाद वादलका रचनाहरुमा आञ्चलिकताको प्रधानता वेसी नै रहेको देख्न सकिन्छ । उनले पर्यटनको सम्भावना बोकेका धार्मिक, साँस्कृतिक, प्रकृतिक स्थानविशेषको जानकारीलाई सकेसम्म प्रस्तुत गरेकाछन् । आफ्ना रचनामार्फत प्रकृति चित्रणलाई स्रस्टा वादलले विशेष मेहेनत गरेका छन् । धौलागिरि अञ्चल र पर्वत जिल्लाका विभिन्न स्थानविशेषको वर्णनलाई उनले प्रमुखताका साथ स्थान दिएका छन् । उनका रचनामा शिक्षा, कृषि, उद्योगधन्दा, स्वास्थ्य, विज्ञानप्रविधि, भुमिसुधार कार्यक्रम, आफ्नै पारिवारीक गन्थनमन्थनदेखि लिएर सृष्टि र दृष्टिका विषयवस्तु अटाएका छन् । एकसरो हेर्दा उनको यो सङ्ग्रह माघे संक्रान्तीमा पकाइने खिर्चोजस्तो देखिन्छ । जसरी खिर्चोको फरक स्वाद र महिमा छ त्यसैगरी यिनको कविता सङ्ग्रहमा समाविष्ट विषयवस्तुहरुले पनि पाठकलाई सम्भवतः खिर्चोको स्वाद उपलब्ध गराउन सक्दछन् ।
कवि सुन्दरप्रसाद वादल आफ्ना रचनामार्फत देशप्रेम, प्रजातन्त्र, लोकतन्त्र, राष्ट्रियता, दीगो सरकार, नेपालको राजनैतिक विकासक्रम, भुमिसुधार कार्यक्रम, जनमत सङ्ग्रह, मानवअधिकार, शान्ति, क्रान्ति, मानवता, स्वतन्त्रता, तठस्थता, निश्पक्षता आदिजस्ता विषयलाई बढी महत्वकासाथ उठाउन आतुर देखिन्छन् । रेडक्रसकर्मी भएर लामो समयसम्म सेवा गरेका कारणले पनि हुन सक्छ रेडक्रसका आदर्शबाट उनी बेसी नै प्रभावित भएझै लाग्दछ । उनले आफ्ना सिर्जनामा आफूलाई ज्ञान दिने गुरुप्रतिको भक्तीलाई पनि उजागर गर्न चाहेका छन् भने गतवर्ष बैशाख महिनामा गएको भूकम्पले पु¥याएको व्यापक धनजनको क्षती बारेमा पनि आफ्ना मनका भावहरुलाई प्रस्फुटित गरेका छन् । देशको राजनीति र साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका खासखास व्यक्तित्वहरुमाथि कविता लेखेर वादलले आफूलाई उनीहरुका प्रति कृतज्ञ बनाउने प्रयत्न पनि गरेको पाइन्छ यस कृतिभित्र । आफ्ना रचनामा माओवादी १० वर्षे युद्धबाट मुलुक र मुलुकबासीले पाएको दुःख, दर्द, हैरानी र परेसानीलाई पनि आफ्ना भावनामार्फत अभिव्यक्त गर्न कवि वादल चुकेका छैनन् ।
कविले समयको बोलीलाई इमान्दारीपूर्वक बोल्नु पर्दछ भन्ने लागेरै होला कवि वादलले आफ्ना रचनामा देशमा व्याप्त गरिवी, वेरोजगारी, अज्ञानता, असमानता, परनिर्भरता आदिका बारेमा पनि सवाल उठाएका छन् । हालसालै छिमेकी देश भारतले नाकाबन्दी लगाउँदाको अवस्थालाई पनि उनले आफ्ना भावनामार्फत अभिव्यक्त गरेको भेटिन्छ सङ्ग्रहभित्र । छिमेकीलाई गिद्धे दृष्टि लगाउने दक्षिणी छिमेकी मुलुक भारतको चालबाजी प्रति उनको नाराजगी छ कवितामा । उनले आफ्ना रचनामार्फत समाजमा महारोगका रुपमा जरा गाडेर बसेका घात, प्रतिघात, बेइमानी, अपमान, हेलाहोचो, छिछि–दुरदुर आदिको जमेर विरोध गरेका छन् । नेपालीहरुको चाडपर्व के कसरी मनाउँदा तिनको सकारात्मक प्रभाव समाजमा पर्दछ भन्ने वारेमा पनि कवि वादल सचेत देखिन्छन् । उनले आफ्ना कवितारुपी सिर्जनामार्फत देशको विकास र सर्वाङ्गिण उन्नती प्रगतिका लागि सबै सरोकारवालाहरुका बीचमा एकता, सहकार्य, सहमती र एउटै बोली हुनुपर्ने कुरामा जोड दिएका छन् ।
कतिपय ठाउँमा स्रष्टा वादलले आफ्ना सिर्जनालाई मायावी र प्रेमिल बनाउने यत्न पनि गरेको भेटिन्छ । कविताका वास्तविक मर्मज्ञ पाठकलाई भलै उनका कविता कविताजस्ता नलाग्लान्, उनका सिर्जना कविता सिद्धान्तका ढाँचाभित्र नअटाउलान् तर उनले अभिव्यक्त गर्न चाहेका भावनाहरु निखुट छन्, सादा छन्, कोरा छन् र छलकपट विहीन छन् । उनले जे सोचे त्यही लेखे र भनिदिए यिनै हुन् मेरा ‘कविता’ । थालनीमा विषय उठान गरिएजस्तो कविताको मर्मलाई यिनको लेखनले आत्मसाथ गर्न सक्यो कि सकेन भनेर पर्गेल्ने जिम्मेवारी पाठकलाई नै दिनु श्रेयस्कर होला ।
परन्तु, स्रष्टा सुन्दरप्रसाद वादलले आफूभित्र प्रशस्त पानी पार्न सक्ने सम्भावना बोकेर हिँडेका छन् । पर्वतेली साहित्यमा उनको उपस्थिति गर्विलो हुन सक्ने सम्भावना बाँकी नै छ । अहिले ‘वादल’ बाट छिट्फुट पानी पर्ला तर वादलमा जब जलकणको सघनता बृद्धि हुँदै जाला तव कवितारुपी घनघोर वर्षा हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । यही अपेक्षासहित अहिलेलाई स्रष्टा सुन्दरप्रसाद वादलको यो कविता यात्राको प्रारम्भलाई स्वागत गर्नै पर्छ । स्वागत छ वादलको जलविन्दूरुपी कलमलाई । आगामी सिर्जनाहरु थप मजबुद, तिख्खर, परिपक्व र निखारिएर आउन सकुन् । अनन्य शुभकामना र शुभभावना सहित धन्यवाद ।

कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 28 पौष, 2073

लेखकका अन्य रचनाहरु