तिमी र म

- भूधरा उपाध्याय

बनेर सारथी तिमी अगाडि लाग सुन्दरी
सचित्रभित्र हौ तिमी सदा नमेटिने गरी ।
खुसी म पार्छु कामले कदापि हुन्न निष्ठुरी
बितोस् अमूल्य जिन्दगी मिलापले सधैँभरि ॥१॥

मिलीजुली खुली बसौँ प्रशस्त वासना छरी
रहून् शरीर फूर्तिला नहून् बसन्तमा हुरी ।
सफा अकाश देखियो सुदूरमा गयो झरी
बनेर उर्वशी तिमी उदाउनू घरीघरी ॥२ ॥

तिमी गए यताउता उदास हुन्छु कस्तरी
रहौँ फुकेर विश्वमा मिली गरौँ बहादुरी ।
जघन्य युद्ध रोकिऊन् सुलम्य सव्य हून् हरि
मुहार शान्त देखियो खुलेर कान्ति बेसरी ॥३॥

रिनी नहौँ यहाँ प्रिये स्वकर्मले सबै तिरी
सदा खुसी हुनू तिमी स्वधर्म चित्तमा भरी ।
प्रबुद्ध बुद्ध पार्दछन् समस्त ताडना हरी
मिलेर यातना भुलौँ ननासिने कुरा भिरी ॥४॥

तिमी म मस्त रम्दछौँ घुमी प्रशान्त खप्तरी
पुगौँ सुरम्य लोकमा अशान्तिका नदी तरी ।
छुटेर जान हुन्न है समात हात सुस्तरी
अनन्य कृष्ण भेट्दछौँ तिमी म साथमा मरी ॥५॥

छन्द - पञ्चचामर

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 28 पौष, 2073

लेखकका अन्य रचनाहरु