बुढेशकालको लाठी

- आसना पौडेल

रातिको भात अलिकती उब्रिएको छ, घीउ हालेर भुटिदिन्छु त्यही खाएर क्याम्पस जा । फर्सीका मुन्टा फलेपछि भुटुन हाल्न भनी साँचेको हर्पेको पिँधैमा टास्सिएको निथारलाइ डाडुको चोसाले कोट्याउदै विष्णुदेवीले भनिन् । हेर बाबै! ध्यान दिएर पढेस्, बुढेसकालमा सुख दिएर पाल्छस् कि त? आधी ओस्सिएका दाउरामाथि भाँचेका सुख्खा झिक्रा थप्दै टुकीको मट्टीतेल छर्केर आगो सल्काउदै गर्दा विष्णुदेवीले सधैँजसो गरी दोहोर्याइन । बुढेसकालको लौरो, मेरो आशा भनेपनि भरोसा भनेनी तै त होस् बाबै । अगेना नजिकै पिर्कामाथि बसेर राममणिले चुपचाप आमाको कुरो सुनिरह्यो । धुँवाको मुस्लोसँगै आगोको लप्का देखिन थालेपछि विष्णुदेविले चुल्होमाथि किटको कराइ बसाइन् र कालो बिलौनी सहितको भुटुन हालिन् । त्यसपछि कसौडीमा चाम्रिसकेको भातको चोइलोलाइ हातले मुछेर सितामा बदल्दै ओइरन थालिन् । अनी त्यसमा केही बेसार र नुन् हाली पन्युले चलाएर छोपेपछि वेलावेलामा उनी दाउरा घचेट्दै, ढुंग्रीले आगो फुक्ने र भात चलाउने गर्दै थिइन् ।

आमाले कति एउटैकुरा भनिराखेकी होलिन् सधै । आखिर मैले कमाएर दिने भनेकै यीनैलाइ त होनी । जम्मै कमाइ ल्याएर महिनैपिच्छे हातैमा थमाइदिन्छु अनी थाहा पाउछिन बुढीमाउले । चुपचाप आमालाइ सुन्दै एकतमासले भात भुटेको दृश्य हेरिरहेको राममणिका मनमा यिनै कुरा खेलिरहेका थिए । पस्किदिएको भुटिमाम खाएर राममणि क्याम्पस हानियो भने विष्णुमाया घरधन्दामा लागिन् ।

हुनपनि राममणिले आमालाइ अचाक्ली धेरै माया गर्थ्यो । घरआँगन पोत्नदेखि लिएर पँधेराबाट पानी ल्याउन, भकारो सोर्न, मलका भारी बोक्न, बस्तुभाउ चराउन, घाँस र दाउरापात गर्न, खेतीपाती लाउन, गोड्न, भित्र्याउन, लुगा धुन, पकाउन, भाँडा माझ्न आदि सबै काम सघाउन उ अघि सरेकै हुन्थ्यो । पढाइमा पनि राममणि उस्तै तेज थियो । गाँउको स्कूलमा दोस्रा हुन कहिल्यै जानेन । आइएमा पनि अंग्रेजी विषयको‍‍‍ टप विद्यार्थी भएर गाँउमै कहलिएको थियो । गाँउघरमा जे काम पनि जान्ने, पढ्नमा उस्तै तगडा, सबैलाइ सघाउने, असाध्यै खट्ने र आमालाइ अति माया गर्ने राममणिलाइ देखेर छरछिमेकले समेत विष्णुदेवीलाइ कती भाग्यमानी भन्ने गर्दथे । सानैमा बाआमा खसेर टुहुरीको रुपमा मावलामा हुर्केकी विष्णुदेवीको १० वर्षको उमेरमै आफू भन्दा दोव्वर जेठा हरिप्रसादसँग लगनगाँठो कस्सिएको थियो । दैनिक रुपमा गाग्रीको पानी ओसार्दा र भारीको बोझले गर्दा शुरुका २ सन्तान पत्तै नपाइ गर्भमै तुहिएपछि लामो समय रित्तो रहेको विष्णुदेवीको कोख उनी करिव ३५ वर्ष हुँदा राममणिले भरिदिएको थियो । ढिलै भएपनि छोरो त्यसमाथि सानैदेखि तिक्ष्ण र गुणी राममणिलाइ सन्तानको रुपमा पाँउदा हरिप्रसाद र विष्णुमायाले आफ्नो तितो अतित भूल्दै मिठो सपना सजाएका थिए । तिनै हरिप्रसाद पनि एकदिन रुखको हाँगाबाट लडेर ढुंगामा टाउको बजारिइ थलिएपछि विष्णुदेवीले दुखजिलो गरेर एक्लै घर धान्दै आएकी थिइन् । उनको आशाको त्यान्द्रो, बुढेसकालको लाठी, प्राणसमान जे भनेपनि राममणिनै त थियो । एक त अशक्त त्यसमाथि अस्ताँउदो सूर्य भइसकेका हरिप्रसाद त उही छन् भन्नुमात्रैका थिए ।

घामपानी केही नभनी सक्दो स्याहारेर हुर्काएको राममणि पनि अब लाठे भइसकेको थियो । आइएको पढाइ सकेर गाँउकै स्कूल-क्याम्पसमा मास्टरी गर्ला नभए ट्युशन पढाएर भएपनि धेरथोर कमाउला भन्ने विष्णुमाया र शहरमा गइ धेरै पढेर नोकरी गरी ठूलो मान्छे बन्ने राममणिको सोचवीच भने तालमेल थिएन । त्यसैले पनि राममणि आमासँग कममात्र बोल्ने गर्दथ्यो । समयक्रमसँगै राममणिले आइएमा क्याम्पस टप गर्यो र शहरमा गइ थप पढ्ने इच्छा देखायो । विष्णुमायाले पनि नाइ भन्न सकिनन् । सोचिन भोलि छोरो पढेर धेरै कमाउने भयो भने यस्ता नाथे खेतवारी त जति पनि जोडिहाल्छ नी । सम्पत्तिको नाममा आफूसँग रहेको एक टुक्रो खेत बेचेरै विष्णुमायाले राममणिलाइ शहर पठाइन् र अरुका खेतवारीमा ज्यालामजदुरी गरेर घर चलाउन थालिन । राममणिलाइ अपुग भएपछि घरघडेरीलगायत सबै जायजेथा साहुकहाँ बन्दकी राखेर खर्च पठाइन । दिनदिनै व्यस्त र कमजोर बन्दै गएकी विष्णुमायाबाट राम्रो स्याहार पाउन नसकेका हरिप्रसादको अवस्था पनि दिनानुदिन विग्रदै गयो । यसैवीच राममणिले स्नातकसम्मको पढाइ पूरा गर्यो र लोकसेवा पास गरी अधिकृतको जागिर पनि खायो । शहरमा सानो भान्सासहित ३ कोठाको फ्लाटनै लिएर बस्ने भइसकेको राममणिले गाँउमा साहुले सार्है करकर गरेको गुनासो आमाबाट सुनेपछि त्यहाँको जायजेथा सबै सुम्पेर शहर आउन भन्यो । बाबुको उपचारका लागि सक्दो प्रयास पनि गर्यो तर रोग र कमजोरीले थलिसकेका हरिप्रसाद बौरिन सकेनन् । अन्तत उपचारकै क्रममा हरिप्रसादको प्राण गयो र राममणिले शहरमै उनको दाहसंस्कार र काजकिरीया गरे । अचानक विष्णुमायाको पनि मुटुमा समस्या देखियो । जाँच गर्दा चिकित्सकले उनलाइ महँगो औषधी नियमित खाने सल्लाह दिए । यसैवीच रोग र औषधीका कारण शिथिल हुदैगएकी विष्णुमायाको आग्रह बमोजिम राममणिले सामान्य ढंगले विवाह गर्यो । काठमाडौंको घरभाडा, नियमित खर्च, मुटुरोगी आमाको उपचार र श्रीमतीको सिमित चाहनालाइ उसको कमाइले धान्न सकेन । घरमा श्रीमान श्रीमतीवीच खट्पट हुदै थियो । जीवन धान्न श्रीमतीले पनि काम गर्ने योजना बनिरहेका बेला कतिवेला बच्चा बसिसकेको रहेछ । थाहा लागेको केही महिना नवित्दै घरमा नयाँ सदस्यको आगमन भयो । राममणि खुशी हुनुको साटो चिन्तित देखिन्थ्यो । २ कोठा र सानो भान्सा रहेको उसको फ्ल्याट साँघुरियो । जागिरबाट लिएको पेश्की र वरपरका पसलबाट लिएको उधारोको बोझले पनि उसलाइ गाल्न थाल्यो । गाँउ न शहर सबैतीर उ रित्तिदै थियो ।

एकदिन राममणि कामबाट निकै ढिला गरी फर्क्यो । श्रीमतीलाइ टाउको दुखेको छ म सुत्छु भनी सिधै ओछ्यानमा पल्टियो । निकैवेर सोच्यो आखिर के कारणले उसको यो हविगत भएको हो भनेर । आमाले बुढेशकालको सहारा बन्ने आश गर्नुलाइ उसले कारण ठहर्यायो । विष्णुमायाको मुटुको टुक्रा, जसमाथि उनको पूरै जीवन र जेथा लगानी भएको थियो राममणिले अब सोच्न थाल्यो आमाको खर्च कती धेरै । कुनैवेला अचाक्ली माया गर्ने राममणिले आमालाइ मनमनै घृणा गर्न थाल्यो । बुढी नभए बोझ धेरै हल्का हुनेथियो । बुढी रोगी भएर यसरी बाँच्नुभन्दा बरु मरेपनि हुन्थ्यो । उसलाइ लाग्यो यी बुढी त्यसै मर्दिनन् । यीनलाइ कुनै वृद्धाश्रममा लगेर छाड्नुपर्छ । फेरी सोच्यो दुँनियाले के भन्ला: कस्तो कपुत हेर त जीवनभर दुख गरेर हुर्काको पढाको छोराले अलपत्र छाड्यो । भोलि श्रीमतीसँग सल्लाह गरेर छुट्कारा पाउने केही न केही उपाए खोज्न पर्ला आदि इत्यादी गम्दैगर्दा राममणि कतिखेर भुसुक्कै भएछ । विहान आँखा यसो खुल्न मात्र के लागेका थिए । उसको कानमा श्रीमतीको आवाज ठोक्कियो : ए हजुर! आमा त चल्मलाउनुहुन्न त, नाडी पनि चल्न छाडेछन् हातगोडा पनि चिसा छन् ।

एडमन्टन, क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 28 पौष, 2073

लेखकका अन्य रचनाहरु