उत्तरवर्ती नेपाली नारीकविता लेखनमा नारीवादी चेतना

- डा.लक्ष्मणप्रसाद गौतम

१. विषयपरिचय
उत्तरआधुनिकतावादको ठूलो छाताभित्र नारीवाद, विनिर्माणवाद, नवइतिहासवाद, नवव्यावहारिकतावाद, नवमाक्र्सवाद, उत्तरउपनिवेशवाद आदि विभिन्न सिद्धान्त र दर्शनहरू अटाउ“छन् । यीमध्ये नारीवाद सर्वाधिक चर्चित सिद्धान्तका रूपमा देखिन्छ । नारीवाद अङ्ग्रेजी शब्द ँझष्लष्कm को नेपाली रूपान्तर हो र यो लिङ्गकेन्द्री सिद्धान्त पनि हो । नारीलाई मुक्ति दिन, उठाउन, आत्मनिर्भर बनाउन र नारीअधिकार एवम् अस्तित्व प्राप्ति तथा समान अधिकारका निमित्त उत्प्रेरित गराउने सिद्धान्त नै नारीवाद हो । समाजमा स्वास्नीमान्छे पीडित छन् र सुविधाबाट बञ्चित छन् । स्त्रीवादीहरू स्वास्नीमान्छेले लोग्नेमान्छेले सरह अवसर पाउनु पर्छ भनेर आवाज उठाउ“छन् । यस नारीवादले स्वास्नीमान्छेलाई त्यहा“ स्थान दिलाउन चाहन्छ, जहा“ लोग्नेमान्छेहरू आÇनै अधिकार ठान्दछन् । (गौतम,२०५० ः ३४४)। समाजमा चिरकालदेखि प्रबल रहेको लिङ्गकेन्द्री पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिहृन खडा गर्दै यसले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको विरोध गर्दछ । (शर्मा, २०५५ ः ३७१) यस आधारमा नारीवाद पुरुषसत्ताको समानान्तर भूमिका र अधिकार नारीको पनि हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्ने सिद्धान्तका रूपमा देखापर्छ । नारीवाद शाब्दिक रुपमा भन्दा पनि पारिभाषिक रुपमा अथ्र्याइने शब्द हो । समाजमा रहेको महिलाको असमान राजनीतिक परिस्थितिका विरुद्ध प्रश्न उठाउने क्रममा नारीवादको जन्म भएको देखिन्छ । नारीवाद पौरुष पक्षपातका विरुद्धको चुनौती हो । (त्रिपाठी, २०६८ ः ६५)
नेपाली साहित्यमा सैद्धान्तिक रूपमा नारीवादको स्थापना नभए पनि नारीवादी प्रवृत्तिका रचनाहरू भने देखिन थालेको पाइन्छ । पुरुष केन्द्रवादलाई भङ्ग गर्न खोज्दै आÇनो नारीकेन्द्रको स्थापनाको उद्देश्यबाट अभिप्रेरित भएर पछिल्लो समयमा केही कविताहरू लेखिएका छन् र यस्ता कवितालाई नारीवादी कविताका रूपमा मान्न सकिन्छ । उत्तरवर्ती नेपाली कविताका सन्दर्भमा नारीवादी चेतना पनि एउटा मुख्य प्रवृत्तिका रूपमा देखापर्छ । विशेषतः २०३६ को केही खुकुलो राजनीतिक परिवेश र २०४६ को प्रजातन्त्र पुनस्र्थापनायता नारीवादी चिन्तन र दृष्टिकोण भएका कविता पनि प्रशस्त लेखिएको पाइन्छ ।
२. नारीचेतना र उत्तरवर्ती नेपाली कविता
नारीवादी चिन्तन र चेतना भएका उत्तरवर्ती नेपाली कवितामा पुरुषविद्वेषी स्वरभन्दा पनि नारीअस्तित्व र नारी पीडाबोधका स्वरहरू बढी मुखरित भएको पाइन्छ । नारीवादी दृष्टिकोण भएका यस्ता कविताको मूलभूत उद्देश्य लैङ्गिक समानताका पक्षमा आवाज उठाउनु नै हो र यसले समान अधिकारको अपेक्षा पनि गरेको देखिन्छ । कतिपय उत्तरवर्ती नेपाली नारीवादी कवितामा नारीसंवेदनाको प्रभावपूर्ण प्रस्तुति पाइन्छ र यसक्रममा पुरुषप्रधान समाज तथा परिवारबाट नारीले पाएका पीडा, यन्त्रणा एवम् सामाजिक पारिवारिक शोषणको पीडाबोध अभिव्यक्त भएको देखिन्छ । यस्ता कवितामा देखिने अर्को सशक्त प्रवृत्ति बलात्कृत नारीअस्मिताको प्रस्तुति पनि हो । चेलीबेटी बेचबिखनबाट उत्पन्न समस्या, आर्थिक अभावका कारण वेश्यावृत्ति गर्नुपर्ने विवशताजन्य पीडा र नारीहरूले बलात्कृत भएर आÇनो अस्मिता गुमाउनु परेको पीडा आदिका स्वरहरू बढी पाइन्छन् । यसै सन्दर्भमा पुरुषप्रधान समाजका दुष्प्रवृत्तिको विरोध र नारीअधिकारको खोजी गरिएको भाव व्यक्त भएका कविता पनि लेखिएको पाइन्छ ।
उत्तरवर्ती नेपाली कविताको मूलप्रवृत्ति ‘नारीवादी चेतना’ अन्तर्गतका केही प्रमुख प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) नारीवादी दृष्टिकोण र लैङ्गिक समानता,
(२) नारीअस्तित्वको खोजी र नारीका भूमिकाको महिमा,
(३) बलात्कृत नारी अस्मिताको प्रस्तुति,
(४) नारीपीडाबोधको अभिव्यक्ति,
(५) पुरुषप्रधान समाजको विरोध र नारीअधिकारको खोजी ।
(६ं) नारीका मूल्यहीन जीवनको चित्रण र मातृत्वचेतना
(७) नारीस्वतन्त्रताको चाहना, विद्रोही चेतना र परतन्त्रको विरोध
उत्तरवर्ती नेपाली कवितामा देखिएका उपर्युक्त प्रमुख प्रवृत्ति र त्यसअन्तर्गत पर्ने अन्य प्रवृत्तिहरूलाई निम्नानुसार व्याख्या गरी पुष्टि गरिन्छ ः

३. नारीवादी दृष्टिकोण र लैङ्गिक समानता
नारीअधिकार, नारीअस्तित्व, नारी हुनाको भाव र नारीप्रति आस्था राखी लेखिने कविता नारीवादी कविता हो र कवितामा नारीवादी दृष्टिकोण प्रस्तुत गर्नु तथा लैङ्गिक समानताको आग्रह राखी कविता लेख्नु नारीवादी कविहरूको विशेषता हो । लैङ्गिक दृष्टिले नारी र पुरुषका बीचको विभेद अन्त्य हुन नसकेको र नारीहरूले पुरुषसमान अधिकार प्राप्त गर्न नसकेको विषयलाई लिएर पनि प्रशस्त कविताहरू लेखिएको पाइन्छ । व्यापक रूपमा यस्ता कवितालाई नारीवादी कविता भनिन्छ । उत्तरवर्ती नेपाली कवितामा नारीवादी दृष्टिकोण र लैङ्गिक समानताको भाव अभिव्यक्त गरिएका कविताहरू पनि प्रशस्त देखिएका छन् । नारीप्रतिको सम्मान भावको प्रस्तुति, लैङ्गिक असमानता, पुरुष प्रधान समाजका परतन्त्रता र बन्धन, नारीविद्रोह, समानताको खोजी आदि विविध भावलाई यस्ता कविताले अभिव्यक्त गरेका हुन्छन् । नारीवादी दृष्टिकोण र लैङ्गिक समानताको भाव अभिव्यञ्जित गर्ने उत्तरवर्ती नेपाली कविताका केही तथ्याङ्कहरू यसप्रकार छन् ः
(१) युगको दस्तावेज निर्माण गर्ने निर्माताहरूको पङ्क्तिमा
म साहसपूर्वक उभिएकी छु
समयको धुकधुकी छाम्ने साहसीहरूका लाममा
त्यसैले ए सुन्दरी
हाम्रा सन्ततिहरूलाई सुनाऊ हाम्रा अनुभवहरू
फि“जाऊ हामीले कमाएका वैभवहरू ।
–कुन्ता शर्मा,
तिम्रो र मेरो संसार, कलम, पृ. १६ ।
यस कवितांशमा नारीलाई युगको इतिहास निर्माण गर्ने शक्तिका रूपमा मानेर नारीप्रतिको सम्मानभाव अभिव्यक्त गरिएको छ । प्रथमपुरुष ‘म’ नारी पात्रका माध्यमबाट नारीहरू पनि पुरुषसमान युगको इतिहास निर्माण गर्न समर्थ छन् भन्दै नारीको वैभवमय र गौरवमय शक्तिलाई पनि यस कवितांशमा अभिव्यञ्जित गरिएको छ । आजकी सचेत र विद्रोही नारी युगको दस्तावेज निर्माण गर्ने निर्माताहरूको पङ्क्तिमा साहसपूर्वक उभिएकी छे र समयको धुकधुकीलाई छाम्ने साहस पनि आजकी नारीमा छ र उसले सिङ्गै युग हा“क्न सक्छे भन्दै साहस, क्षमता र शक्ति नारीका महŒवपूर्ण वैभव हुन् र यी वैभवहरू आÇना सन्ततिहरूलाई सुनाएर नारीशक्तिलाई अर्को नारीपुस्तामा हस्तान्तरण गर्नुपर्ने अभिप्राय यस कवितांशमा देखाइएको छ ।
(२) पुरुषत्व केवल तिम्रो लिङ्गमा छैन,
सम्भोगमा मात्र साबित हुने होइन ...
केवल स्वामीत्व स्थापित गर्नुलाई आÇनो धर्म बनायौ तिमीले
तिमी मझै“ एउटा शरीर एक प्राण लिङ्गभेदले मात्रै
कसरी ठहरियौ यति उत्कृष्ट र महान् ?
–कुन्दन शर्मा,
एउटी छोरीको कथा, गरिमा, (१९÷५), पृ. ६ ।

उध्दृत कवितांशमा नेपाली समाजमा लिङ्गभेदको अवस्था कायम रहेकाले लैङ्गिक आधारमा पुरुष उत्कृष्ट एवम् महान् ठहरिने र नारी निकृष्ट एवम् तल्लो स्तरको वर्ग मानिने प्रवृत्ति देखिएको भावलाई प्रस्तुत गरिएको छ । यहा“ ‘तिमी’ शब्दद्वारा सम्बोधित पुरुषले लिङ्ग र सम्भोगमा मात्र पुरुषत्व देखाएको, आÇनो स्वामीत्व स्थापित गर्नुलाई आÇनो धर्म बनाएको र लिङ्गका आधारमा मात्र पुरुष उच्च मानिएको प्रसङ्ग देखाएर नारीवादी दृष्टिकोण प्रस्तुत गरिएको छ । यसबाट नारीविद्रोह र लैङ्गिक समानताको खोजी गरिएको भाव पनि अभिव्यक्त हुन्छ ।
(३) पाउमा निहुरिनु पर्छ, दासताको फूल सिउरिनु पर्छ
लक्ष्मणरेखा नाघ्नु हु“दैन, अधिकार माग्नु हु“दैन
पोथी बास्नु हुदैन ।
–कुन्ता शर्मा,
पोथी बास्नु हुँदैन, समकालीन नेपाली कविता,पृ. ६९ ।
यस कवितांशमा नारीवादी दृष्टिकोणलाई व्यङ्ग्यात्मक बनाएर प्रस्तुत गरिएको छ र विद्रोहको भावलाई साङ्केतिक रूपमा व्यक्त गरिएको छ । सधै“ पुरुषको पाउमा निहुरिनु पर्ने, दासता स्विकार्नु पर्ने, पुरुषको सीमा नाघ्न नहुने र अधिकार माग्न नहुने नारीहरूको नियति र स्थितिलाई प्रस्तुत गरेर व्यञ्जनार्थमा पुरुषको दासताबाट निहुरिन बाध्य नारीले पुरुषद्वारा निर्धारित सीमालाई भत्काएर पुरुषद्वारा खोसिएको अधिकार माग्नु पर्ने अभिप्राय प्रकट गरिएको छ । यसबाट उध्दृत कवितांशले नारीवादी दृष्टिकोण र लैङ्गिक समानताको भाव अभिव्यक्त गरेको देखिन्छ ।
(४) कहिलेकाही“ यस्तो लाग्छ ओठमाथि जु“गा बनाऊ“
फरिया चोलो थन्क्याएर पेन्ट सर्ट टाई लगाऊ“
घरमा भा’को उहा“लाई जु“गा काटी आइमाई बनाऊ“
इच्छा परी आउ“दा मात्र उसलाई म ओच्छ्यान बनाऊ“
कहिलेकाही“ यस्तो लाग्छ ओठमाथि जु“गा बनाऊ“ ।
–जयन्ता पोख्रेल,
कहिलेकाहीँ यस्तो लाग्छ,,मधूलिका, पृ. २१ ।

उध्दृत कवितांशमा नारीवादी दृष्टिकोणका साथै लैङ्गिक समानताको भावलाई प्रस्तुत गरिएको छ । वक्ता प्रथमपुरुष ‘म’ नारीपात्रलाई ओठमाथि जु“गा बनाउने इच्छा हुनु र फरिया चोलो थन्क्याएर पेन्ट सर्ट टाई लगाउने इच्छा हुनु तथा घरमा भा’को ‘उहा“’ अर्थात् तृतीयपुरुष लोग्ने पुरुष पात्रलाई जु“गा काटेर आइमाई बनाउने इच्छा हुनु एवम् नारीलाई इच्छा लाग्दा ओच्छ्यान बनाउन पाउने इच्छा हुनुजस्ता कवितांशमा आएका प्रसङ्गहरूले नारीमाथि पुरुषको हैकमवादी प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै हास्यात्मक रूपमा नारीवादी दृष्टिकोण प्रस्तुत गरेर लैङ्गिक समानताको सन्दर्भलाई देखाएका छन् ।
(५) तिमीहरूको बललाई
प्रिय पत्नी बनेर पूज्य परमेश्वर बोलेर
हातमा रिमोट लि“दै आÇनो इच्छाअनुकूल
च्यानल परिवर्तन गर्न सकिन्छ
तिमीहरू मात्र टेलिभिजनका पर्दा ।
–बेञ्जु शर्मा,
लोग्ने मानिसहरू, सम्बन्ध प्रदूषण, पृ. ३१ ।

यस कवितांशमा पुरुषविरोधी र नारीवादी चेतनालाई विपरीत भावका माध्यमबाट अभिव्यक्त गरिएको छ । पुरुषहरूले नारीहरूलाई नियन्त्रणमा राखेर आÇनो इच्छाअनुसार सञ्चालन गर्ने गरेको पुरुषको हैकमवादी प्रवृत्तिलाई अभिव्यक्त गर्न नारीले पुरुषलाई प्रिय पत्नी बनेर, पतिलाई परमेश्वर मानेर इच्छाअनुकूल टेलिभिजनको च्यानल परिवर्तन गरेझै“ नियन्त्रणमा लिएको कुरा प्रस्तुत गरिएको छ । यसरी भावलाई विपरीत बनाएर वा विपरीत भावका माध्यमबाट उध्दृत कवितांशमा नारीवादी चेतनालाई प्रभावपूर्ण रूपमा अभिव्यक्त गरिएको छ ।
४. नारीअस्तित्वको खोजी र नारीका भूमिकाको महिमा
कतिपय नारीवादी कविताहरूमा नारीअस्तित्व वा अस्मिताको खोजी र नारीका विविध भूमिकाको महिमा प्रस्तुत गरी नारीलाई उच्च सम्मान दिएको पाइन्छ । यसक्रममा नारीलाई विद्रोहिणीका रूपमा, आदर्श चेतनाकी प्रतिमूर्तिका रूपमा, महिमामय चरित्रका रूपमा, वीराङ्गनाका रूपमा र मातृत्वकी सजीव प्रतिमूर्ति आदिका रूपमा चित्रण गरिएको पाइन्छ । पुरुषप्रधान समाजमा नारीको विशिष्ट र अहं भूमिकालाई स्वीकार नगरिएको र नारीहरूद्वारा नारीअस्तित्वको खोजी गरिएको भाव पनि उत्तरवर्ती नेपाली कवितामा पाइन्छ । यसरी नारीअस्तित्वको खोजी गर्दै नारीका विविध भूमिकाको महिमाको प्रस्तुति पनि उत्तरवर्ती नेपाली कविताको एउटा प्रवृत्ति हो । यस प्रवृत्तिलाई अभिव्यञ्जित गर्ने उत्तरवर्ती नेपाली कविताका केही तथ्याङ्कहरूलाई निम्नानुसार प्रस्तुत गरिन्छ ः
(१) म जर्जर हातहरूबाट बन्दी पानी
किचिएर बसेकी छु, थिचिएर बसेकी छु ...
मबाट जन्मिएका शक्तिहरूले मलाई नै रन्केर पोल्न आउ“छन् ...
म वेगका साथ बग्न चाहन्छु
बडेबडे चट्टानको कापबाट भए पनि निकास चाहन्छु
भलभली उम्लेर बग्न चाहन्छु ।
–नीलम कार्की ुनीहारिकाु,
बन्दी पानी, नीलम कार्की निहारिकाका कविता, पृ.
उध्दृत कवितांशमा नारीअस्तित्वको खोजी गरेको भाव अभिव्यक्त गरेर पुरुषप्रधानसमाजको परतन्त्रतामा किचिएर रहेकी नारीले उन्मुक्तिको चाहना गरेको कुरा अभिव्यक्त गरिएको छ । कवितांशमा प्रयुक्त ‘म’ पुरुषप्रधान समाजद्वारा थिचिएर बसेकी र नारीअस्तित्वका लागि विद्रोही बनेर स्वतन्त्रता खोजेकी नारीकी प्रतिनिधि चरित्र हो । आफूभित्रको शक्तिले रन्केर पोल्नु, चट्टानको कापबाट निकास खोज्नु र भलभली उम्लेर बग्न चाहनुजस्ता कवितांशमा प्रयुक्त प्रसङ्गहरूले नारीअस्तित्व र नारीस्वतन्त्रताको खोजीलाई सङ्केत गरेको देखिन्छ । यसप्रकार नारीलाई विद्रोही रूपमा प्रस्तुत गरेर नारीवादी दृष्टिकोणलाई यस कवितांशमा अभिव्यक्त गरिएको पाइन्छ ।
(२) तिमीले पानी खन्याउ“दैमा पातलि“दैन मेरो रङ्ग
तिमीले पानी नखन्याउ“दैमा सुक्दैन मेरो रङ्ग
कसैले दिएर रङ्गिएको मेरो रङ्ग होइन
कसैस“ग मागेर रङ्गिएको मेरो रङ्ग होइन ।

–भागीरथी श्रेष्ठ,
पक्का रङ्ग, कविता, (७६), पृ. ५३ ।
यस कवितांशमा कुनै पुरुषको साहचर्यबाट नारीको अस्तित्वमा परिवर्तन नआउने र कुनै पुरुषस“गको संसर्गमा एउटी नारी पुरुषमय हुन नसक्ने भाव देखाई नारीवादी चेतना अभिव्यक्त गरिएको छ र यसका माध्यमबाट नारीअस्मिता र अस्तित्व कहिल्यै परिवर्तित नहुने कुरा व्यक्त गरिएको छ । कवितांशमा प्रयुक्त ‘रङ्ग’ नारीअस्तित्वको प्रतीक हो र यो पुरुषस“गको सम्बन्ध र साहचर्यबाट परिवर्तित हु“दैन भन्ने कुरालाई प्रस्तुत गरिएको छ । व्यञ्जनार्थमा पतिको मृत्युपछि शृङ्गार परिधान त्यागेर वैधव्य वेशभूषा धारण गर्नुपर्ने नारीबाध्यताप्रति साङ्केतिक रूपमा विमति प्रकट गरिएको छ । यसरी उध्दृत कवितांशमा नारीअस्तित्व वा नारीअस्मितालाई उच्च रूपमा देखाइएको पाइन्छ ।
(३) प्रेक्ष्या तिमी हौ सब प्रेरणाकी
स्रष्टा तिमी हौ नवसिर्जनाकी
आमा तिमी नै कलिला मुनाकी
माली तिमी जीवन बाटिकाकी ।
–बूनु लामिछाने,
नारीसँग, बिहानीका पाइलाहरू, पृ. १ ।
उध्दृत कवितांशमा नारीका विविध रूप र भूमिकाको उल्लेख गरी नारीलाई सम्मानित व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ । यहा“ नारीलाई सबै प्रेरणाकी स्रोत नवसिर्जनाकी स्रष्टा, कलिला मुनाकी आमा र जीवनबाटिकाकी मालीका रूपमा चित्रण गरेर नारीप्रतिको सम्मानको भाव अभिव्यक्त गरिएको पाइन्छ । नारीलाई पीडाभोगी, अबला, शोषित र पीडितका रूपमा चित्रण नगरी महिमामय रूपमा चित्रण गरेर नारीवादी चेतनाको सकारात्मक दृष्टिकोणलाई यस कवितांशमा देखाइएको पाइन्छ ।
(४) भत्काएर पर्खालहरु÷बढारेर कुत्सित कसिङ्गरहरु
मलाई खुला आकाश चाहिन्छ
पराश्रितता र परिचयहीनताको पीडाबाट मुक्त
मलाई एउटा उच्च आस्था चाहिन्छ
मलाई मेरै सर्वोच्चता चाहिन्छ ।
–ज्ञानु अधिकारी
खुलामञ्चमा अक्षरहरु, शब्दमृत्यु र सपनाको हत्या, पृ.१० ।
यस कवितांशमा नारी आस्तित्विक चेतनालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ र पुरुषसत्ताका नकारात्मकताप्रति विमति पनि छ । मका रुपमा समष्टिको अभिव्यक्ति दिने नारीले खुला आकाश चाहनु, पराश्रितता र अपरिचयीकरणको पीडाबाट मुक्ति चाहनु, आफ्नै उच्च आस्था र सर्वोच्चता चाहनु जस्ता विविध सन्दर्भहरुले नारीको आस्तित्विक चेतना अभिव्यक्त गरेका छन् र यसबाट नारीको स्वत्वबोधलाई पनि सङ्केत गरिएको छ । अस्तित्ववादी नारीवादका कोणबाट प्रस्तुत कविता बढी विश्लेषणीय देखिन्छ ।
(५) हाम्रै आस्तित्वमा गाँसिएका छन् यी लोग्नेमान्छेहरु
आधा आकाश होइनौँ हामी सिङ्गो आकाश हौँ
उनीहरुका लट्टाईको चङ्गा होइनौँ हामी
बरु उनीहरुकै आकाङ्क्षालाई किनारा पु¥याउने डुङ्गा हौँ ।
–रीता खत्री
लोग्ने मान्छे, फूल रोएपछि, पृ.६२ ।
यस कवितांशमा नारीवादी चेतना नारीअस्तित्वको खोजीका रुपमा आएको छ र पुरुषसत्ता विरोधी स्वर पनि प्रखर रुपमा आएको छ । नारीकै अस्तित्वसँग लोग्नेमान्छेहरुको आश्रयभन्दा भिन्न स्वत्वको खोजी यस कवितांशको अभिप्राय हो । आधा आकाश नभएर पूरै आकाश हुनुको अस्तित्व र पुरुषरुपी लट्टाईका चङ्गा नभएर डुड्गाका रुपमा नारीस्वत्व रहेको भाव प्रस्तुत गरी नारीआस्तित्विक चेतना यस कवितांशमा प्रस्तुत भएको पाइन्छ । यसरी यहाँ नारीआस्तित्विक चेतनालाई पृथक् र विद्रोही रुपमा समेत व्यक्त गरिएको छ ।
५. बलात्कृत नारीअस्मिताको प्रस्तुति
उत्तरवर्ती नेपाली नारीवादी कवितामा नारीअस्मितामाथि बलात्कार भइरहेको, नारीअस्मिता लुटिएको र विविध समस्याका कारण नारीहरूले आÇनो अस्मिता बेच्नु परेको यथार्थलाई उत्तरवर्ती नेपाली कवितामा अभिव्यक्त गरिएको छ । यसक्रममा पुरुषहरूको हिंस्रक प्रवृत्तिबाट नारीहरू बलात्कृत हुनुपरेको, नारीहरूले आÇनो अस्मिता बेचेर छाक टार्नु परेको, पुरुषप्रधान समाजमा नारीहरूमाथि खुला बलात्कार भइरहेको र नारीहरूले निरीह भई बा“च्नु परेको, सहरिया जीवनशैलीका कारण नारीहरू वेश्या हुन विवश भएको र सौन्दर्य प्रतियोगिताका नाममा पनि नारीअस्मिताकै बिक्री भइरहेकोजस्ता विविध सन्दर्भहरूलाई उत्तरवर्ती नेपाली कवितामा प्रस्तुत गरिएको पाइन्छ । यसबाट बलात्कृत नारीअस्मिताको प्रस्तुति पनि उत्तरवर्ती नेपाली कविताको एउटा प्रवृत्तिका रूपमा देखिन्छ । यस प्रवृत्तिलाई अभिव्यक्त गर्ने उत्तरवर्ती नेपाली कविताका केही तथ्याङ्कहरूलाई यसप्रकार देखाइन्छ ः

(१) कोठीमा कैद गरिएका कान्छीहरू ग्राहकलाई तृप्त पार्दै
विवश भएर आÇनो कौमार्य लुटाउ“छन्
कौमार्यको बिस्कुन सुकाउ“छन् ।
–गायत्री बिष्ट,
मेरो देशका कान्छीहरू, लहरिएका आकाङ्क्षाहरू, पृ. ४ ।
यस कवितांशमा प्रयुक्त कान्छीहरू शरीर बेच्न वा वेश्यावृत्ति गर्न विवश सम्पूर्ण नेपाली युवतीहरूको प्रतिनिधि र समष्टि चरित्र हो । यहा“ कान्छीको विवशतामा नेपाली नारीहरूको विवशतालाई सामान्यीकरण गरेर कान्छीहरूलाई पीडाको भोक्ताका रूपमा प्रस्तुत गरी वर्णनात्मक शैलीमा द्रष्टा अनुभूतिलाई गरिएको छ । कोठामा कैद गरिएका कान्छीहरूले ग्राहकलाई तृप्त पार्दै आÇनो कौमार्य लुटाएको प्रसङ्ग देखाएर कौमार्यको बिस्कुन सुकाएर बा“च्न बाध्य नेपाली युवतीहरूको अस्मिता लुटिएको यथार्थलाई यस कवितांशमा अभिव्यक्त गरिएको छ ।
(२) घाँस दाउरा लिन गएकी कान्छीलाई
यौवनको सङ्घारमा पनि टेक्नै नदिई
राक्षसबस्तीका दानवहरुले
बलात्कार गरी जङ्गलमै मारेर फ्याँकेछन् ।
–उषा शेरचन
रणभेरी मृदङ्गहरु बजाउँदे आऊ, सर्वकालीन पीडा र जागृतिको शङ्खघोष, पृ. ४५ ।
यस कवितांशमा नारीअस्मिता पुरुषद्वारा बलात्कृत भएको भावलाई प्रस्तुत गरिएको छ र घाँस दाउरा लिन गएकी ग्रामीण बालिका÷किशोरीलाई राक्षसबस्तीका दानवहरुले बलात्कृत गरेर जङ्गलमै मारेर फ्याँकेको यथार्थ घटनासन्दर्भ देखाएर नारीहरुले बलात्कारको सिकार हुनु परेको स्थिति यहाँ प्रकट गरिएको छ । कलात्मक दृष्टिले दुर्बल भए पनि यो कवितांश नारी भोगाइको यथार्थ प्रस्तुति हो ।
(३) अर्को दिन फेरि उसले अखबारमा
हजारौँहजार चेलीबेटी बेचेको खबर पढिछ
कैयौँ नेपाली कहिलालाई बलात्कार गरेर
खेतबारीका कान्लाकान्लामा मिल्क्याएको खबर पढिछ ।
–सुधा त्रिपाठी
सरकारमा राहु पसेको छ ,जिराहा वर्तमान,पृ.७६ ।
यस कवितांशमा तृतीय पुरुष नारीपात्र ऊका माध्यमबाट नारीहरु बेचिने गरेको र पुरुषले बलात्कार गरी मारेर फ्याँक्ने गरेको यथार्थ प्रस्तुत गरिएको छ । चेलीबेटी बेचिएको खबर पढ्ने र कैयौँ नेपाली महिलालाई बलात्कार गरेर खेतबारीका कान्लाकान्लामा मिल्क्याएको खबर पढ्ने ऊ नारीपात्र यथार्थ द्रष्टा हो र ऊ नारीपात्रमा समग्र द्रष्टा व्यक्तित्वको साधारणीकरण गरिएको छ । यसरी प्रस्तुत कवितांशमा नारीवादी चेतनाका रुपमा बलात्कृत नारीअस्मिताको यथार्थ अभिव्यक्ति प्रस्तुत गरिएको छ ।
(४) भद्दा रातहरुले भद्दा यादहरु लिएर
मसँग मेरो खुसी खोसेर निस्तो रात दिने गर्छन्
अमानवीयताका निर्मम छुरीहरुले
आस्थाको सगरमाथा ध्वस्त पारिदिँदा....
मृत्युका बथानहरु जीतको उत्सव मनाइरहेछन् ।
–विमला तुम्खेवा
जूनको बजार, नदीछाल र तरङ्गहरु, पृ. ३० ।
यस कवितांशमा पनि बलात्कृत नारीअस्मितालाई देखाएर नारीपीडाबोध प्रस्तुत गरिएको छ । भद्दा रातहरुले भद्दा यादहरु दिनु, खुसी खोसेर निस्तो रात दिनु, अमानवीयताका निर्मम छुरीहरुले आस्थाको सगरमाथा ध्वस्त पार्नुजस्ता सन्दर्भका माध्यमबाट नारीअस्मिता माथि प्रहार भइरहेको यथार्थलाई देखाइएको छ । मृत्युका बथानहरुले गीतको उत्सव मनाउनु पुरुषसत्ताप्रतिको तीव्र र सशक्त व्यङग्य हो ।

६. नारीपीडाबोधको अभिव्यक्ति
पुरुषप्रधान समाजमा नारीहरूले विविध किसिमका शारीरिक र मानसिक पीडा भोग्नुपरेको यथार्थलाई पनि उत्तरवर्ती नेपाली कवितामा अभिव्यक्त गरिएको पाइन्छ । यसक्रममा नारीअस्मिता लुटिएको पीडाबोध, आÇनो अस्मिता बेच्न विवश हुनुपरेको पीडाबोध† नारीहरूले आÇनै घर, परिवार र समाजबाट भोग्नु परेको पीडा, यातना, शोषण, अन्याय, अत्याचार† पुरुषप्रधान समाजमा नारीहरूले प्रतिबन्धित र परतन्त्रतापूर्ण जीवन बा“च्नुपरेको पीडाबोध आदि विविध नारीपीडाबोधको अभिव्यक्ति उत्तरवर्ती नेपाली कवितामा पाइने हुनाले यसलाई पनि उत्तरवर्ती नेपाली कविताको एउटा प्रवृत्तिका रूपमा मानिन्छ । नारीपीडाबोधको अभिव्यक्तिलाई प्रस्तुत गर्ने उत्तरवर्ती नेपाली कविताका केही तथ्याङ्कहरूलाई यसप्रकार देखाइन्छ ः
(१) सडक पेटीमा÷बिस्कुन लगाएर नङ्ग्याएर प्रत्येक दिन आफूलाई
साबित हुन पसारो परेको छ योग्यता मेरो
पशुहरूको भीडमा, उदाङ्ग÷खुला
कोणकोणबाट प्रदर्शित भइरहेकी छु
म बिक्रीमा छु ।
–शारदा शर्मा,
पराधीन, कविता, (२८, २०५७), पृ. ६ ।

यस कवितांशमा नारीअस्मितालाई सडकमा बिक्रीका लागि राखिएका वस्तुस“ग समरूपता प्रदान गरी नारीअस्मिता सडकमा बिक्री भइरहेको युगीन यथार्थलाई मूलकथ्य बनाइएको छ र यसका माध्यमबाट उत्तरवर्ती नारीजीवनका भोगाइ एवम् पीडालाई अभिव्यक्त गरिएको छ । नारीको योग्यता भनेको सडक पेटीमा बिस्कुन बनेर र आफूलाई नङ्ग्याएर पसारो पर्नु, पशुहरूको भीडमा उदाङ्ग खुला भएर प्रदर्शित हुनु र उपभोगका लागि बिक्री हुनु हो भन्ने कुरा देखाई आज नारीअस्मिताको खुलमखुला बिक्री भइरहेको वर्तमानको युगीन यथार्थलाई प्रस्तुत गरिएको छ । कवितांशमा प्रयुक्त पशुहरूको भीड शब्दले नारी शरीरको किनबेच गर्ने पुरुषवर्गलाई इङ्गित गरेको छ र नारीअस्मिताको क्रयविक्रय गर्ने पुरुषवर्गप्रति व्यङ्ग्य पनि गरिएको छ । यसबाट उत्तरवर्ती नारी जीवनका भोगाइ र पीडाको युगीन जटिल परिस्थितिलाई पनि प्रस्तुत गरिएको छ ।
(२) सहनुको पराकाष्ठा, यातना भोग्नपरेको छ
आ“सु मात्र होइन बगेको रगत बनी चिरिएको छ मुटु ...
यातनालाई सह“दै÷दुःख र पीडाहरूलाई लुकाउ“दै ...
हरेक पटक मृत्युको सङ्घार टेकी बा“चिरहेछु ।
–लक्ष्मी उप्रेती,
जीवन बाँच्ने क्रममा, मृदु स्मृतिहरू, पृ. १ ।

यस कवितांशमा नारीपीडाबोध अभिव्यक्त भएको छ । पुरुषप्रधान समाजमा यातनाहरू सहेर आ“सु बगाउ“दै बा“च्न विवश नेपाली नारीहरूको अवस्थालाई यहा“ देखाइएको छ । दुःख र पीडालाई लुकाएर समाजमा आÇनो पहिचान दिएकी नारीले हरेक पटक मृत्युको सङ्घार टेकेर बा“चिरहेको र त्यसरी बा“च्न विवश भएको यथार्थलाई कवितांशमा प्रयुक्त सहनुको पराकाष्ठामा यातना भोग्नु, आ“सु बग्नु, मुटु रगत बनी चिरिनु, दुःख–पीडालाई लुकाउ“दै मृत्युको सङ्घार टेकेर बा“च्नु आदि विविध प्रसङ्गहरूले अभिव्यक्त गरेका छन् । यस कवितांशमा प्रयुक्त नारी पात्र ‘म’ ‘म’ का रूपमा सम्पूर्ण पीडित नारीहरूकी प्रतिनिधि पात्र हो ।
(३) चार किल्लाभित्रको परिधिभित्र, म खूब छटपटाए“ रोए“ कराए“ ...
मेरो आवाज, मेरो सामथ्र्य, मेरो बलबुता
सम्पूर्णै बन्धित थियो ...
आफै भित्रभित्र, प्रेसर कुकरभित्र पाकिरह“दा पनि
त्यहा“ सिठी बज्न मनाही थियो ।
–बेञ्जु शर्मा,
बन्धित समय, सम्बन्ध प्रदूषण, पूर्ववत्, पृ.१८ ।

पुरुषप्रधान समाजमा पुरुषहरूद्वारा नारीहरू प्रतिबन्धित भई परतन्त्र जीवन बा“च्न विवश भएको नारी पीडाबोधलाई यस कवितांशमा अभिव्यक्त गरिएको छ । कवितांशमा प्रयुक्त वक्ता प्रथमपुरुष ‘म’ नारीपात्र प्रतिबन्धित जीवन बा“च्न विवश सम्पूर्ण नारीहरूकी प्रतिनिधि पात्र हो र उसको परतन्त्रताको पीडा सम्पूर्ण नारीहरूको पीडा हो । चार किल्लाको परिधिभित्र रुने, कराउने एकजना वक्ता ‘म’ पात्र मात्र नभई ‘म’ का रूपमा सबै नारी हो । आवाज, सामथ्र्य, बलबुता सबै बन्धित हुनुजस्ता प्रसङ्गहरूले नारीलाई शक्तिहीन बनाइएको कुरा सङ्केत गरेको देखिन्छ भने प्रेसरकुकरभित्र पाकिरहनु र सिठी बज्न मनाही हुनुजस्ता प्रसङ्गहरूले नारीहरू आक्रोश र पीडा सहेर बस्न विवश भएको चरम यथार्थलाई अभिव्यक्त गरेको देखिन्छ ।

७. पुरुषप्रधान समाजप्रतिको विरोध र नारीअधिकारको खोजी
पुरुषप्रधान समाजमा नारीहरूले पुरुषसमान अधिकार नपाएको र सो अधिकार प्राप्तिका लागि पुरुषप्रधान समाजप्रति उनीहरूको असन्तुष्टि रहेको एवम् नारीद्रोही पुरुषप्रधान समाजप्रति तीव्र विरोधको भावसमेत रहेको कुरालाई उत्तरवर्ती नेपाली कवितामा अभिव्यक्त गरिएको पाइन्छ । यसक्रममा पुरुषप्रधान समाजमा नारीहरूले अधिकारविहीन भई यान्त्रिक जीवन भोग्नुपरेको, पुरुषले नै नारीप्रति दुव्र्यवहार गर्ने गरेको, पुरुषप्रधान समाजमा नारीस्वतन्त्रता र नारी अधिकार कुण्ठित भएको र पुरुषहरूद्वारा नै नारीहरू शोषित र पीडित हुनुपरेको यथार्थलाई प्रस्तुत गरेर उत्तरवर्ती नेपाली कवितामा पुरुषप्रधान समाजप्रतिको विरोध र नारीअधिकारको खोजी गरिएको भाव अभिव्यक्त गरेको पाइन्छ । यस भावलाई अभिव्यञ्जित गर्ने उत्तरवर्ती नेपाली कविताका केही तथ्याङ्कहरूलाई यसप्रकार प्रस्तुत गरिन्छ ः
(१) तिमीलाई स्वास्नीमान्छेले बलात्कार ग¥यो ?
तिमीलाई स्वास्नीमान्छेले कलङ्कको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले कतै बेच्यो ?
तिमी निरुत्तर छो यस प्रश्नको अघि ।
–पारिजात,
मनुषी, बै“सालु वर्तमान, पृ. १४ ।
कवितामा आएका बलात्कार गर्नु, कलङ्कको टीका लगाइदिनु र बेच्नुजस्ता नकारात्मक कार्यव्यापारहरू पुरुषले नारीप्रति गरेका दुव्र्यवहार हुन् र यस किसिमको कार्यव्यापार वा व्यवहार एउटी नारीले पुरुषप्रति गर्न सक्दिन । यसरी प्रस्तुत कवितांशमा पुरुषप्रधान समाजको पुरुष नारीप्रति दोषी देखिन्छ । कवितांशमा प्रयुक्त ‘तिमी’ शब्द लोग्नेमान्छेप्रति सङ्केतित र सम्बोधित छ । त्यसैले तिमी अर्थात् लोग्नेमान्छेलाई स्वास्नीमान्छेले बलात्कार ग¥यो ? कलङ्कित बनायो ? कतै बेच्यो ? भनी युगीन समस्यालाई उठाएर प्रश्न गरिएको छ र यी प्रश्नका सामु पुरुषवर्ग वा पुरुषप्रधान समाज तथा पुरुषवादी मनोवृत्ति र मानसिकता निरुत्तर देखिन्छ । नारीलाई बलात्कार गर्ने, कलङ्कित बनाउने र नारीलाई बेच्नेसमेत पुरुषवर्ग नै हुन्छन् । त्यसकारण पनि यस कवितांशमा पुरुषप्रति नारीको विद्वेष देखिन्छ । यसप्रकार प्रस्तुत कवितांशमा पुरुषप्रधान समाजले नारीप्रति गर्ने दुव्र्यवहार र नारीजीवनका पीडालाई व्यक्त गरिएको छ ।

(२) हामी धातु हौ“ जसलाई ताप बढाएर पगाल्न सकिन्छ
हामी धातु हौ“ जसलाई ताप शून्यमा ल्याएर जमाउन सकिन्छ
यन्त्रको सोचाइअनुसार यन्त्रको योजनाबमोजिम
विभिन्न रूपमा ढाल्न सकिन्छ
अनि पसलपसलमा÷खुद्रा र थोकमा÷गल्ली र चोकमा
किन्न सकिन्छ÷बेच्न सकिन्छ ।
–कुन्ता शर्मा,
धातू, नेपाली समसामयिक कविताहरू, पूर्ववत्, पृ. ४९ ।
यस कवितांशमा नारीहरूलाई धातुस“ग समरूपता प्रदान गरी पुरुषप्रधान समाजमा नारीहरूले भोग्नु परेको यान्त्रिक जीवनलाई प्रस्तुत गरेर यन्त्रमा राखेपछि धातुलाई जस्तोसुकै आकारप्रकारमा पनि ढाल्न सकिएझै“ पुरुषप्रधान समाजले नारीलाई पूर्णतया यान्त्रिक बनाएको यथार्थ यस कवितांशमा अभिव्यक्त देखिन्छ । धातुको आÇनो कुनै आकारप्रकार, रूप हु“दैन र यसलाई उच्च तापमा पगालेर यन्त्रको सोचाइ र योजनाबमोजिम विभिन्न रूप वा भा“डाहरूमा तथा तिनका विभिन्न आकारहरूमा ढाल्न सकिन्छ । नारीलाई यस्तै धातु प्रतीकका रूपमा मानेर धातुबाट भा“डा बनाई पसल, गल्ली र चोकमा खुद्रा र थोकमा किन्न र बेच्न सकिएझै“ नारीलाई पनि किनबेचयोग्य वस्तुका रूपमा मानेर तीस“ग समरूपता प्रदान गरी नारीलाई पुरुषले जसरी मन लाग्यो त्यसरी उपभोग गर्ने अवमूल्यित नारी यथार्थलाई उध्दृत कवितांशले देखाएको छ ।
(३) यो एउटा डोरी हो, जुन हात बा“ध्नका लागि राखिएको छ ...
त्यो छेउको डोरी, मुक्तिका लागि शब्द निकाल्ने
मुख बा“ध्नका लागि राखिएको छ ...
अनि उसका नजिक÷एउटा अर्को गुजुल्टो छ
अहिले चूपचाप छ, जसै हि“ड्नका लागि
पाइला चाल्न ऊ तत्पर हुन्छे
त्यो डोरी स्वतः उसको खुट्टामा कसिन्छ ...
हो, एउटा डोरी यस्तो छ, जसले उसको सर्वाङ्ग बा“ध्छ ।
–सन्ध्या पहाडी,
डोरी, मृगतृष्णा, पूर्ववत्, पृ. ६७ ।

उध्दृत कवितांशमा नारीस्वतन्त्रता र नारीअधिकार कुण्ठित भएको र पुरुषप्रधान समाजले नारीलाई परतन्त्रताको पासोमा जकड्याएको कुरालाई मूलकथ्य बनाएर पुरुषप्रधान समाजप्रति विरोधको भावसमेत अभिव्यक्त गरिएको छ र यस्तो समाजमा नारी हरेक दृष्टिले पराधीन छे भन्ने कुरालाई विभिन्न सन्दर्भका माध्यमबाट अभिव्यक्त गरिएको छ । आजको पुरुषप्रधान समाजकी नारीले अधिकार माग्दा उसको हात बा“धिने, मुक्तिका लागि आवाज उठाउ“दा मुख बा“धिने, हि“ड्नका लागि तत्पर हु“दा खुट्टा बा“धिने र हरेक क्षणमा उसको सर्वाङ्ग बा“धिने कुरा देखाएर नारीले भोग्नुपरेको परतन्त्रताको चरम पीडालाई प्रस्तुत गरिएको छ । कवितांशमा प्रयुक्त ‘डोरी’ शब्दले पुरुषप्रधान समाज, पुरुषले नारीमाथि गर्ने शोषण, नारीको परतन्त्रता, पुरुषको हैकमवादी प्रवृत्ति र समग्रमा नारीको पराधीनताको प्रतीकात्मक अर्थ बुझाएको देखिन्छ ।
(४) छिनाले गोपेर जस्तोसुकै बनाइदिए पनि हुने
अपाङ्ग वा सबलाङ्ग, नाङ्गी वा वस्त्राभूषणधारिणी
इच्छ्याइएका रङ्गहरूमा अङ्गअङ्ग डुबाइदिए पनि हुने ...
बालुवा वा तासको घर भत्काइ नै दिए पनि हुने ।
–मञ्जु काँचुली,
धरतीमा तिरोहित दुःख र टाढाकी म÷सुख के हो ? पृ.५२ ।

पुरुषप्रधान समाजमा नारीहरूप्रति पुरुषद्वारा हुने गरेको शोषण र नारीहरूको यान्त्रिक जीवनलाई यस कवितांशमा अभिव्यक्त गरिएको छ । यहा“ नारीलाई अपाङ्ग, साङ्ग जस्तोसुकै बनाए पनि हुने प्रस्तर मूर्तिस“ग समरूपता प्रदान गरी पुरुष समाजले नारीलाई आÇनो इच्छानुसारको रूपमा परिवर्तन गर्नसक्ने भएको कुरा देखाइएको छ । कवितांशमा प्रयुक्त इच्छ्याइएका रङ्गहरूमा अङ्गअङ्ग डुबाइदिए पनि हुने र बालुवा वा तासको घर भत्काइदिए पनि हुनेजस्ता प्रसङ्गहरू र नाङ्गी वा वस्त्राभूषणधारिणी जस्तोसुकै बनाए पनि ती सबै कुराहरू पुरुषको इच्छामा भर पर्ने कुरा देखाएर व्यञ्जनार्थमा पुरुषप्रधान समाजप्रतिको विरोध तथा नारीअधिकारका लागि विद्रोहको भाव पनि यहा“ देखाइएको छ । यसप्रकार नारीजीवनका भोगाइको युगीन यथार्थ र साङ्केतिक विद्रोहको भावजस्ता कुरालाई यस कवितांशमा प्रस्तुत गरिएको देखिन्छ ।
(५) म तिमीले बनाएको सत्यलाई चुनौती दिन्छु पुरुष
म तिमीले लेखेको विधानमाथि धावा बोल्छु पुरुष
म लेख्छु एउटा समत्वको व्याकरण
र निर्माण गर्छु सर्वथा नयाँ
सहअस्तित्वको नूतन वर्णमाला ।
–सरिता तिवारी
अस्तित्वको घोषणापत्र, अस्तित्वको घोषणापत्र पृ.५६
यस कवितांशमा नारीवादी चेतनाका रुपमा नारी आस्तित्विक चेतना प्रकट भएको छ र त्यस केन्द्रीय कथ्यलाई परिपुष्टता प्रदान गर्न पुरुषसत्ता विरोधी स्वर पनि प्रकट भएको छ । यहाँ प्रयुक्त म नारीले तिमी पुरुषप्रति गरेको सम्बोधन नारीअस्तित्व र अधिकारका निमित्त रहेको छ । पुरुपसत्ताले बनाएको सत्यलाई चुनौती दिनु पुरुषले बनाएको विधानमाथि धावा बोल्नु र समत्वको व्याकरण तथा सहअस्तित्वको नूतन वर्णमाला निर्माण गर्ने चाहना राख्नु पुरुषप्रधान समाजको विरोध र नारीअधिकार तथा अस्तित्वको खोजीको अभीप्सा हो ।
(६) तिमीलाई अपच हुन्छ, मेरो अवरोधहीन बाटो
तिमी ईष्र्यालु छौ, सपना देख्न दिन्नौ तिमी
आपत्ति छ तिमीलाई मेरो उडान
–गीता पन्थ
उभिन चाहन्छु बैसाखीविना, साँझ ढलेपछि ,पृ.७० ।
यस कवितांशमा पनि म समाख्याता नारी र तिमी सम्बोधित पुरुषका माध्यमबाट नारीलाई अवरोधहीन बाटामा हिँड्न नदिने र नारीलाई सपना देख्न नदिने एवम् नारीका स्वतन्त्र उडानमा आपत्ति जनाउने पुरुषसत्ताप्रति विमतिको भाव प्रकट गरिएको छ । यस किसिमको भावबाट एकातिर पुरुषसत्ताको विरोधको भाव अभिव्यञ्जित गरिएको छ भने अर्कातिर नारीअस्तित्व र अधिकारको खोजी पनि गरिएको छ ।
८. नारीस्वतन्त्रताको चाहना, विद्रोही चेतना र परतन्त्रको विरोध
उत्तरवर्ती नेपाली नारी कवितामा देदिने नारीवादी मूल प्रवृत्तिभित्र नारीस्वतन्त्रताको चाहना र विद्रोहीचेत पनि सशक्त रुपमा अभिव्ञ्जित भएको पाइन्छ । यस्ता कवितामा एकातिर नारीहरुले पुरुषप्रधान समाजमा भोग्नुपरेका परस्वतन्त्रतालाई अभिव्यक्त गरिएकोपाइन्छ भने अर्कातिर त्यही स्वतन्त्रता, अस्तितव, अधिकार र स्वत्वका लागि समेत विद्रोही चेतना अभिव्यञ्जित भएको देखिन्छ । उत्तरवर्ती नेपाली नारी कविता लेखनमा देखिएको यो प्रवृत्ति नारी आस्तित्विक चेतनाका रुपमा पनि आएको देखिन्छ । उत्त।वर्ती नेपाली नारी कवितामा अभिव्यक्ति नारीस्वतन्त्रताको चाहना र विद्रोही चेतनालाई यसप्रकार देखाइन्छ ः
(१) बिन्ती छ मलाई मलाई मुक्ति देऊ
म मुक्त हुन चाहन्छु
यी अन्जान बन्धनबाट
म उन्मुक्त भै नाच्न चाहन्छु
यी निस्सासिने गुफाबाट ।
–उषा शेरचन
होमको वेदीमा, नजन्मेका आस्थाहरु, पृ.१५ ।
यस कवितांशमा नारीस्वतन्त्रताको चाहनालाई केन्द्रीय कथ्य बनाइएको छ । यहाँ म नारीसमाख्याताका माध्यमबाट नारीले पुरुषसत्ताको बन्धनबाट मुक्तिको चाहना गरेको कुरा प्रष्ट गरिएको छ । यसबाट स्वतन्त्र भई बाँच्न चाहने नारीको स्वतन्त्रताचेत समेत मुखरित भएको देखिन्छ । अन्जान बन्धन र निस्सासिने गुफा पुरुषप्रधान समाजका प्रतीक हुन् भने गुफा शब्दले घर नामको चार पर्खाललाई सङ्केत गरेको छ र त्यसबाट मुक्तिको चाहना प्रकट भएको छ ।
(२) आफ्नो एक अंशले म संसारलाई
दुर्गा, चण्डी र महिषमर्दिनी दिन चाहन्छु
आफ्नो अर्को अंशले
म संसारलाई
रक्षा, रण र रिपुमर्दिनी दिन चाहन्छु
–सुधा त्रिपाठी
कालीमाटी, जिराहा वर्तमान, पृ.६० ।
यस कवितांशमा नारीवादी चेतनाका रुपमा क्रान्तिधर्मी विद्रोही चेतना प्रस्तुत गरिएको छ । आफ्नो एक अंशले संसारलाई दुर्गा, चण्डी र महिषमर्दिनी दिन चाहने र अर्को अंशले रक्षा, रण र रिपुमर्दिनी दिन चाहने समाख्याता मको अभिव्यक्तिले कविताभित्रको विद्रोही चेतलाई अभिव्यञ्जित गरेको छ । दुर्गा, चण्डी, महिषासुरमर्दिनी र रिपुमर्दिनी देवीका उग्र वा रौद्र रुप हुन् । यसरी विद्रोही चेतनालाई तीव्रता प्रदान गर्न रौद्ररुपिणी नारीशक्तिका मिथकीय बिम्बका नारीपात्रहरुलाई प्रस्तुत गरिएको छ । रक्षा, रण र रिपुमर्दिनी शब्दले भावलाई अझ प्रभावपूर्ण बनाएका छन् ।
(३) सडकमा मूच्र्छा परेर
मथिङ्गलमा घुम्दै गरेका प्रश्नहरु
पोल्टामा आगो थाप्न मन्जुर गर्दै
आफ्नै सुचेतनामा कोरिएका
नक्सा छिचोल्न आतुर छन् ।
–मोमिला
मेरो रिट निवेदन, दुर्गम उचाइमा फूलको आँधी,पृ.१९ ।
यस कवितांशमा प्रयुक्त पोल्टामा आगो थाप्ने बिम्ब तीव्र क्रन्तिचेतना र विद्रोही चेतनाको अभिव्यञ्जक भएर आएको छ । तर कवितांशको यो विद्रोही चेत उग्र नभएर अत्यन्त सौम्य भएर आएको देखिन्छ । यहाँ नारी आस्तित्विक चेतनाको सम्पूरक भएर नारीवादी चेतनाकै रुपमा स्वतन्त्रताको चाहना पनि प्रकटित भएको छ । सडकमा मुच्र्छा परेर माथिङ्गलमा प्रश्नहरु घुम्नु र पोल्टामा आगो थाप्न मञ्जुर हुनु तथा आफ्नै सचेतनामा कोरिएका नक्सा छिचोल्न आतुर हुनुजस्ता सन्दर्भहरुले नारीस्वतन्त्रता र अस्तित्वका लागि विद्रोही चेतनालाई अभिव्यञ्जित गरेको देखिन्छ ।
(४) आज पनि हेल्मरहरु मध्यरातमा
इब्सनको आँखा छलेर
सुटुक्क घरभित्र पस्छन्
नोराचेतनाको हत्या गर्छन्
र कैद गर्छन् नोरालाई नै
घर नामको झ्यालखाना भित्र ।
–गीता त्रिपाठी
साङ्लाहरु, नृशंस पर्खालहरु,पृ.३३ ।
यस कवितांशमा प्रयुक्त हेल्मर र नोराहरुको ऐतिहासिक मिथकीय सन्दर्भका माध्यमबाट नारीले घरभित्रकै झ्यालखानाभित्र कैद भएर परतन्त्रतापूर्ण जीवन बाँच्नु परेको सन्दर्भलाइृ प्रस्तुत गरिएको छ र कवितांशका यी पङ्क्तिहरुले नारीपरतन्त्रताको विरोध गर्दै स्वतन्त्रताको चाहनालाई अभिव्यञ्जित गरेका छन् । विश्वप्रसिद्ध नाटककार इब्सेनको अ डल्स हाउसका प्रतिकूल पात्र हेल्मर र अनुकूल नारीपात्र नोराका माध्यमबाट पुरुषसत्ताबाट नारीहरुले सधैँ परतन्त्रतापूर्ण जीवन बाँच्नु परेको यथार्थलाई अभिव्यञ्जित गरिएको छ । साङ्केतिक रुपमा घरभित्रै कैद हुनुपर्ने नारी नियतिप्रति विमति पनि यहाँ प्रकट गरिएको छ ।
(५) आमाको काखमा ओठहरु अर्धध्वनिसँग ठक्कर नखाँदै
एउटा नमीठो पीडामा स्वतन्त्रता लगाम कस्छ
र नदीमा पात ओच्छ्याएर
तैरिएको कल्पना गर्छ ।
–गीता कार्की
सङ्घर्षको कथा, मलाई अँध्यारो नै चाहिन्छ ,पृ.५५
यस कविताशंमा पनि नारीवादी चेतनाको सौम्य रुप प्रकट भएको छ । यहाँ विद्रोही चेतनाभन्दा पनि स्वतन्त्रताबोधलाई केन्द्रीय कथ्य बनाएर प्रस्तुत गरिएको छ । आमाका ओठहरु अर्थध्वनिसँग ठक्कर नखाँदै नमीठो पीडामा स्वतन्त्रता लगाम कस्नुजस्ता सन्दर्भहरु देखाएर नारीहरुले सानैदेखि परतन्त्रतापूर्ण जीवन बिताउनु पर्ने र नदीमा पात ओच्छ्याएर तैरिएको कल्पनामा रमाउने नारीविवशतालाई देखाएर स्वतन्त्रताका निमित्त भ्रममा नपर्न पनि आह्वान गरिएको छ ।
(६) ऊ आगोको लप्कासँग
होमिन पनि डराउँदिन
उसलाई जलेर भष्म हुने थाहा छ
तर पनि ऊ भष्म हुन डराउँदिन
किन कि ऊ नारी हो
उम्लिएका पीडालाई आँसुले निभाउँछे ।
–सिन्धु गौतम
विद्रोह बोल्छन् शब्दहरु, शब्दमृत्यु र सपनाको हत्या, पृ.१८ ।
यस कवितांशमा नारी स्वतन्त्रताभन्दा पनि विद्रोही चेतना अभिव्यक्त छन् । आगोको लप्कासँग पनि नडराउने र जलेर भष्म हुन पनि नडराउने एवम् उम्लिएका पीडालाई आँसुले निभाउने नारीलाई यस कवितांशमा विद्रोही शक्तिका रुपमा प्रस्तुत गरिएको छ । यहाँ प्रयुक्त आगोको लप्का विद्रोहको प्रतीकका रुपमा देखिन्छ । जलेर भष्म हुन पनि नडराउने नारीशक्तिको विद्रोही चेतका माध्यमबाट विद्रोहलाई तीव्रता प्रदान गरिएको छ ।
९. नारीका मूल्यहीन जीवनको चित्रण र मातृत्वचेतना
उत्तरवर्ती नेपाली नारीकविता लेखनमा देखिने नारीवादी मूलप्रवृत्ति अन्तर्गत नारीका मूल्यहीन जीवनको चित्रण पनि प्रमुख प्रवृत्तिका रुपमा आएको देखिन्छ । यस किसिमका कवितामा आस्तित्विक चेतनाका रुपमा पनि यो चेतना आएको देखिन्छ भने अर्कातिर मातृत्व चेतना पनि उत्तरवर्ती नेपाली नारीकविता लेखनमा प्रमुख प्रवृत्तिका रुपमा आएको देखिन्छ । विशेषतः मातृत्व चेतना भएका कवितामा नारी हुनुको र आमा हुनाको गौरवबोध प्रस्तुत गरिएको पाइन्छ भने नारीका मूल्यहीन जीवनको चित्रण गुनासे प्रवृत्ति नभई मूल्यहीन जीवन भोगाउने पुरुषसत्ताप्रति विमति र नारीको आस्तित्विक चेतना पनि मुखरित भएको पाइन्छ । मातृत्वचेतना र नारीका मूल्यहीन जीवनको अभिव्यक्तिमा केन्द्रित केही कवितांशहरुलाई यसप्रकार देखाइन्छ ः
(१) सौभाग्यवतीका आशीर्वाद समेटेर
विधवाको नियति
पूजा अर्चनाको दीर्घाबाट
हुस्सु विश्वास र हिमपात आस्था
सुटुक्क भत्किन्छन्
र त्यो मन्दिरभित्र
एउटा पुरुष वैभव सन्तुष्ट छ ।
–इन्दिरा प्रसाइँ
लुला अनुभूतिहरुको जुलुस, बाइपङ्खी घोडा, पृ.४१ ।
यस कवितांशमा नारीका मूल्यहीन जीवनलाई अत्यन्त कलात्मक रुपमा अभिव्यञ्जित गरिएको छ । सौभाग्यवतीको आशीर्वाद थापेर विधवाको नियति भोग्न विवश नारीहरुका आस्थामा हिमपात जानु र भत्कनुजस्ता कवितांशका प्रसङ्गहरुले मूल्यहीन र अस्तित्वहीन जीवन भोगिरहेका नेपाली नारीहरुका स्थितिलाई देखाएका छन् । मन्दिरभित्र एउटा पुरुष वैभव सन्तुष्ट रहनुजस्ता सन्दर्भले नारीका मूल्यहीन जीवनको कारकतत्व पनि पुरुषसत्ता नै रहेको कुरा अभिव्यञ्जित हुन्छ । यसरी प्रस्तुत कवितांशले नारीवादी चेतनालाई नारीका जीवन बाँच्नुको मूल्यसँग समीकरण गरेर देखाएको छ ।
(२) आमा प्रत्येक पल्ट आशाका बिउहरु रोप्छिन्
तर खै ती बीउहरु उम्रिनै पाउँदैनन्
–सुस्मिता नेपाल
आमा, कविता ६०, पृ.१०१ ।
यस कवितांशमा नारीवादी चेतनाका रुपमा मातृत्वचेतना प्रस्तुत गरिएको छ । आफ्ना सन्ततिहरु प्रति आशाका बीउहरु रोप्ने आमा ती बीउहरु उम्रिन नपाउँदै आफ्ना सपनाहरु सापटी दिन बाध्य हुन्छिन् भन्ने कुरा देखाएर एकातिर मातृत्व चेतना प्रस्तुत गरिएको छ भने अर्कातिर प्रतीकात्मक रुपमा आमालाई साधारणीकरण गरी नारीको जीवन मूल्य क्रमशः तिरोहित हुँदै गएको भाव देखाइएको छ ।
(३) वीराङ्गना आमा
प्रलय पीडाहरुमा मातृत्वको मलम दलेर
ममताको शिखर भएकी छिन्
हल्ला नगर, अब तिनी आमा हुन् ।
–अरुणा वैद्य
एउटी आमा सन्तोषले..., समुद्रलाई आँसु चाहिँदैन, पृ. १३ ।
यस कवितांशमा मातृत्व भावको प्रस्तुतिका साथ नारीवादी चेतनाका रुपमा मातृत्वको महिमागान पनि प्रस्तुत गरिएको छ । यहाँ आमालाई वीराङ्गनाका रुपमा प्रस्तुत गर्दै प्रलयपीडाहरुमा मातृत्वको मलम दलेर ममताको शिखर भएकी आमालाई साधारणीकरण गरी उच्चता प्रदान गरिएको छ । यसरी प्रस्तुत कविताले नारीको मातृत्व चेतना नै उसको प्राप्ति हो भन्ने भावसमेत अभिव्यक्त गरेको छ ।
(४) आज खुलेर घोषणा गर्दै
एउटी कुमारी आमा बन्दै छु
र चिच्याउँदै छु
धर्तीसित धर्ती फाटोस् ।
–दीपा एवाई राई
एउटी कुमारी आमा , अर्धवृत्त, पृ.४७ ।
यस कवितांशमा नारीको मातृत्व चेतमा विद्रोही भावका रुपमा अभिव्यक्त भएको छ । पुरुषहरुको बलात्कार र यौनशोषणबाट कुमारी आमा बन्न विवश नारीभित्रको विद्रोही भाव यहाँ प्रस्तुत भएको छ । यस कविताशंमा अभिव्यक्त मातृत्व चेतना एकातिर नारीआस्तित्विक चेतना हो भने अर्कातिर पुरुषसत्ताप्रतिको विरोध पनि हो । विद्रोही भावलाई तीव्रता प्रदान गर्न चिच्याउँदै छु र धर्तीसित धर्ती फाटोस् भन्ने बाक्य कवितामा आएको छ । यसप्रकार उत्तरवर्ती नेपाली कवितामा नारीवादी चेतनाको प्रवृत्तिका रुपमा एकातिर मातृत्व चेतनाको महिमा र अर्कातिर नारीका मूल्यहीन जीवनको चित्रणजस्ता विपरीत भावबिम्बहरुका साथै नारीभित्रको अहम् र स्वत्व विद्रोही बनेर देखापरेको भाव पनि अभिव्यक्त भएको पाइन्छ ।
१०. विषयान्त
नारीवादी चिन्तन र चेतना, लैङ्गिक समानता र नारीअधिकार एवम् अस्मिताको प्रस्तुति तथा पुरुषकेन्द्रवादका स्थानमा नारीकेन्द्रवादको स्थापनाको आग्रहजस्ता विशेषताहरू उत्तरआधुनिकतावादी प्रवृत्तिकै अभिलक्षण हुन् भने विश्वग्रामीकरण वा भूमण्डलीकरणको अवधारणा पनि उत्तरआधुनिकतावादी अभिलक्षण हो । यिनै प्रवृत्ति र अभिलक्षण भएका कविताहरू वर्तमानमा लेखिएका हुनाले उत्तरवर्ती नेपाली कवितामा नारीवादी प्रवृत्तिको प्रभाव पाइन्छ र यो उत्तरवर्ती नेपाली कविताको मूलप्रवृत्तिका रूपमा रहेको स्पष्ट हुन्छ । यसक्रममा उत्तरवर्ती नेपाली कवितामा नारीवादी दृष्टिकोण र लैङ्गिक समानता, नारीअस्तित्वको खोज, नारीका भूमिकाको महिमा, बलात्कृत नारीअस्मिताको प्रस्तुति, नारीपीडाबोधको अभिव्यक्ति, पुरुषप्रधान समाजप्रतिको विरोध, नारीअधिकारको खोजी, नारीस्वतन्त्रताको चाहना, विद्रोही चेतना, नारीपरतन्त्रताको विरोध, नारीका मूल्यहीन जीवनको चित्रण, मातृत्वचेतना आदि विविध प्रवृत्तिहरुको सङ्कुल वृत्तबाट समकालीन नेपाली नारीकविता लेखनका नारीवादी प्रवृत्तिको निर्धरण भएको पाइन्छ ।
प्रमुख सन्दर्भसूची

एटम, नेत्र, समालोचनाको स्वरूप, ललितपुर ः साझा प्रकाशन, २०६१ ।
कोइराला, मोहन, सम्पा., नेपाली काव्य विचार गोष्ठी, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०४९ ।
............................, सम्पा., नेपाली काव्य सङ्गोष्ठी, काठमाडौ“, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५० ।
............................, सम्पा., आजका नेपाली कविता, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५० ।
गौतम, कृष्ण, सिर्जनाको सुवास, ललितपुर ः साझा प्रकाशन, २०५६ ।
..........................., आधुनिक आलोचना ः अनेक रूप अनेक पठन, दोस्रो संस्क., ललितपुर ः साझा प्रकाशन, २०५९ ।
गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, काठमाडौ“ ः साझा प्रकाशन, २०६० ।
.....................,नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना,, काठमाडौ“ ः ओरिएन्टल पब्लिकेसन, २०६६ ।
....................., समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौ“ ः पैरवी प्रकाशन, २०६६ ।
...................., उत्तरवर्ती नेपाली समालोचना ः केही प्रतिरुप, काठमाडौ“ ः पैरवी प्रकाशन, २०६८ ।
चापागाईं, नरेन्द्र, सम्पा., पूर्वाञ्चल समालोचनासङ्ग्रह, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान, मिति उल्लेख नभएको ।
............................, र अधिराज सुवेदी, सम्पा., काव्यसमालोचना, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान, २०५२ ।
त्रिपाठी, सुधा, नारीवादी सौन्दर्यचिन्तन, काठमाडौ“ ः भृकुटी एकेडेमिक पब्लिकेसन, २०६८ ।

प्रसाईं, कृष्ण, सम्पा., नेपाली समसामयिक कविताहरू, सिलिगढी ः भक्त राई स्मृतिमण्डप, २०४८ ।
प्रेरणा गिरी, गोविन्द र दुबसु क्षेत्री, सम्पा., समकालीन नेपाली कविताको रूपयात्रा, काठमाडौ“ ः वसुन्धरामान प्रकाशन, २०५३ ।
भट्टराई, गोविन्दराज, काव्यिक आन्दोलनको परिचय, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०४९ ।
................................, उत्तरआधुनिक ऐना, काठमाडौ“ ः रत्न पुस्तक भण्डार, २०६२ ।
भण्डारी, जगदीशचन्द्र, प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण,
काठमाडौ“ ः मुन्नी भण्डारी, २०५५ ।
मधिकर्मी, धु्रव, समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर, (काठमाडौ“ ः नेपाल साहित्यकार सङ्घ, २०५७ ।
रावल, विनय र अन्य, सम्पा., समकालीन कवि र कविता, काठमाडौ“ ः विनय प्रकाशन, २०५१ ।
लुइटेल, खगेन्द्रप्रसाद, कवितासिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०६० ।
शर्मा, मोहनराज, समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, (काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५५ ।
सिंह, पद्मावती र अन्य, सम्पा., नारी साहित्यकारहरूको विधागत इतिहास, काठमाडौ“ ः गुञ्जन प्रकाशन, २०६१ ।
सुवेदी, अभि र अन्य, सम्पा., समकालीन नेपाली कविता, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५५ ।
सुवेदी, दधिराज, रचना र अवलोकन, विराटनगर ः प्रतिभा पुरस्कार प्रतिष्ठान, २०५३ ।

त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु