भारतमा नेपाली नियात्रा साहित्यको सर्वेक्षणात्मक अध्ययन।

- नवीन पौड्याल

१. आमुख :
मान्छे भ्रमणशील प्राणी हो। उ कुनै एउटै ठाँउमा रहिरहन सक्दैऩ। स्वभावैले उ विभिन्न ठाँउमा विचरण गर्नपुग्छ। उ वल्लो डाँड़ादेखि पल्लो डाँड़ा,एउटा प्रान्तदेखि अर्को प्रान्त औ एउटा देशदेखि अर्को देश घुम्न चाहन्छ। उ सँधै नवीनताको खोजीमा रहन्छ। मान्छेले ओड़ारदेखि आफ्नो भ्रमणशीलतालाई विकास गर्दै चन्द्रमासम्म पुगेको छ। यात्राको परिधि व्यापक र विस्तृत छ। यसले स्थानीय क्षेत्रदेखि लिएर अन्तरीक्ष यात्रासम्मको परिधि ओगटेको हुन्छ। मान्छेले आदिमकालको ओडारदेखि नै यात्रा गर्दै चन्द्रमा पर्यटन र मङ्गल ग्रहमा बस्ती बसाउने जमर्को गरिरहेछ। भास्को डि गामा, ड्रेक, कोलम्बस, मार्को पोलो, एमुण्डसेन, रोबर्ट पियरी इत्यादि जस्ता नाविक यात्रीहरूले संसारका विभिन्न प्रान्तहरूको परिचय गराइदिए। मध्यकालीन भारतको इतिहासमा ह्येन साँग र फाह्यानको भारत भ्रमणको लिखित विवरणले तत्कालीन भारतको सामाजिक, सांस्कृतिक, राजनैतिक, कुटनिती आदि कुरा ज्ञान पाइन्छ।
देश-विदेश भ्रमण पनि जीवनको एउटा अनिवार्य कर्तव्य हो। यसबाट प्राप्त हुने अनुभव र ज्ञान महत्वको कुरो हो। यस्तो अनुभव र ज्ञान कुनै पनि ग्रन्थ पढेर, सुनेर प्राप्त हुन सक्दैन। हाम्रो समाजमा अघि-अघि धार्मिक उद्देश्यले हाम्रो देशका विभिन्न प्रान्तका तीर्थस्थान जानेगर्थे। यस्तो तीर्थ- भ्रमण पनि देशाटन नै हो भने अहिलेका पुस्ता संसारका विभिन्न ठाउँ घुमेर, धन कमाएर, पढ़ेर आँउछन्। कतिपय देशले त विदेश भ्रमणलाई अधिक महत्व दिएर आफ्ना जनतालाई सहुलियतादि दिने गर्छन्। यात्रा गर्दाका लेखकले आफुलाई मात्र नभई पाठकसमक्ष पनि पस्किदिएर लाभान्वित बनाउँछन्। पाठकले पनि केही मात्रामा भए पनि निबन्धमा वर्णित ठाउँ र अनुभवबारे जानकारी पाउँछन्। यात्रा अनुभव र ज्ञानको अजस्र स्रोत हो। यात्रामा देश-देशान्तरको देशाटनले तत्तत ठाँउका बाह्य र आन्तरिक ज्ञान हासिल हुन्छ।

२. नियात्रा- सामान्य परिचय-
भ्रमण, पर्यटन, देशाटन, यात्रा, घुमाइ, परिभ्रमण, तीर्थाटन, विचरण आदि केही अन्य नाम भए पनि यात्रा नै सर्वप्रचलित पाइन्छ। यात्राका रूप पनि धेरै किसिमका हुन्छन्। पदयात्रा, तीर्थयात्रा, व्यापारिक यात्रा, कुटनैतिक यात्रा, शैक्षिक यात्रा, साहसिक यात्रा, पर्यटन यात्रा, ग्रामीण यात्रा, साहित्यिक भ्रमण इत्यादि। यसैगरी यात्राको उद्देश्य पनि मूलतः पर्यटनीय र प्रयोजनीय गरी दुई प्रकारका हुन्छन्। यात्रा गर्दा टिपिएका साहित्यिक रूपलाई यात्रासाहित्य, यात्रानिबन्ध, यात्रावृतान्त, यात्राविवरण आदि भनिन्छ। यद्यपि यस्तो साहित्यलाई नियात्रा शब्द नै सर्वाधिक चल्तीमा आएको देखिन्छ। नेपाली बृहत् शब्दकोशमा नियात्राको अर्थ दुईवटा दिइएको छ- १. यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप। २.यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध। यसबाट नियात्रा निबन्धकै उपविधाका रूपमा देखाइएको बुझिन्छ। नियात्रा शब्द नेपालीमा मात्र प्रयोग देखिन्छ। यसको सैद्धान्तिक रूपमा न्वारान गर्ने बालकृष्ण पोखरेल हुन्। उनले वि. सं २०२५ मा प्रकाशित तारानाथ शर्माको बेलायततिर बरालिँदा पुस्तकको भूमिकामा सर्वप्रथम यस शब्दको प्रयोग गरेका गरेका थिए। त्यसपछि वि. सं. २०४० मा बृहत् नेपाली शब्दकोशमा यस शब्दले प्रविष्टि पायो। त्यसपछि भने नेपालीमा यही शब्दले मान्यता व्यापकता पायो र यो शब्द सामान्य उपविधाको रूपमा चलनचल्तीमा आयो।
नियात्रा शब्दको व्युत्पत्ति यात्रा निबन्धबाट भएको हो। निबन्ध शब्दबाट नि उपसर्ग झिकी य़ात्रा शब्द लगाएर यात्रानिबन्धको अर्थमा नवनिर्माण गरिएको शब्द हो। निबन्धमा झैं यसमा पनि निजात्मक अनुभूतिको उपस्थिति रहनु आवश्यक हुन्छ। यात्रा विवरण दिँदैजाँदा आफ्ना रागात्मक अनुभूति र संवेदनालाई समेत अभिव्यक्ति दिदैँ आत्मपरक शैलीमा चमत्कारितासहित लेखिने नियात्रा हो। 'कुनै सृजनशील यात्रीले यात्राका क्रममा देखे-भोगेका विविध परिदृश्य, घटना प्रसङ्ग र सङ्गालेका अनुभवलाई निजात्मक रङ्गले रंगाएर भावना र कल्पनाको यथोचित समन्वयका साथ मनोहारी शैलीमा आत्मपरक ढङ्गबाट लिपिबद्ध गरेको यथार्थपरक गद्यकृति नै नियात्रासाहित्य हो।' यात्रा विवरण जति सबै नियात्रा हुँदैन। निरस तवरले वस्तुनिष्ठ वर्णनबाट साहित्यिकता नआए नियात्रा हुँदैन। बालकृष्ण पोखरेलले यात्रासाहित्यलाई यात्रा विवरण र नियात्रा गरी दुई भेद गरेका छन्। उनका अनुसार सत्यको निस्तो वर्णन छ भने लेख मात्र हुन्छ औ रमरमको आनन्दबाट मुछिएको चाँहि नियात्रा हुन्छ। नियात्रालाई उद्देश्य जे भए पनि गौण हुनुपर्छ। यात्रालेख पशुपतिको जात्रा हो भने नियात्रा चाँहि सिद्राको व्यापार हो। यात्राकारको स्वयंको उपस्थिति, य़ात्राकारको निजात्मक अनुभूति, रोचकता, चित्रात्मकता, यात्राको पश्चकालिक प्रस्तुति नियात्रासित संस्मरणको पनि सहसम्बन्ध हुन्छ। यद्यपि आफ्नो बाल्यकालको सम्झना, कसैसितको सम्झनामा लेखिने संस्मरण र यात्रामा देखिएको र अनुभूत गरिएको सम्झनामा लेखिएको नियात्रा हो। यसर्थ, यात्रासित सम्बन्धित संस्मरण मात्र नियात्रा हो। नियात्रा साहित्यलाई पनि क.वर्णनात्मक-विवरणात्मक ख. आख्यानात्मकता, ग.पत्रात्मक, घ. दैनिकी लेखन, ङ. संस्मरणात्मकता, च. निबन्धात्मक गरी छवटा उपभेद गर्न सकिने ठाउँ छ।
३. नियात्रा- निबन्ध कि अन्य विधा?-
नियात्रालाई विधा खुट्याउने क्रममा दुईवटा मत देखा पर्छन्- पहिलो मतमा यो निबन्ध विधाअन्तर्गत पर्दछ। अर्को मतमा यसलाई स्वतञ्त्र विधाका रूपमा मानिन्छ। नियात्रा शब्दको नि उपसर्गलाई निबन्ध माने पनि निजात्मकता माने पनि केही अध्येताहरूले यसलाई निबन्ध विधाभित्र नराखी अन्य विधाका रूपमा उभ्याएका छन्। अघिल्लो मतका केही पक्षधरमा बालकृष्ण पोखरेल, डा लक्ष्मणप्रसाद गौतम, राजेन्द्र सुवेदी, बालकृष्ण पोखरेल, तारानाथ शर्मा आदि हुन्। डा बासुदेव त्रिपाठीका अनुसार स्वयम् आफ्नै अनुभवमा आत्मकथा, दैनिकी, संस्मरण र यात्रावृतान्त आधारित हुन्छन् र यी विधामा केन्द्रविन्दु स्वयम् नै हुन्छ। यति हुँदाहुँदै पनि आत्मकथा र दैनिकी मूलतः स्वयम्‌मा केन्द्रित रहन्छन् भने संस्मरण र यात्रावृतान्त चाँहि विन्दुमा आफु रहँदारहँदै पनि वर्ण्य विषयका मूलमा अर्कै व्यक्ति वा वस्तु तथा विषयलाई अँगाल्दै आत्मपरकताबाट प्रशस्त फैलिई वस्तुपरकतातिर जान सक्छन्। उनका अनुसार अन्यविधाको यात्रासाहित्य आख्यानात्मकतामा पर्दछ। डा. घनश्याम नेपालले नियात्रालाई एक स्वतञ्त्र उपविधाका रूपमा मानेका छन्। यस्तै गरी निर्मोही व्यासले पनि यसलाई एक स्वतञ्त्र विधा वा नव अन्यविधाका रूपमा लिएका छन्। निबन्धचाँहि यात्रासाहित्यको पूर्वज विधा हो। निर्मोही व्यासका विचारअनुसारको निबन्ध र यात्रा साहित्यका बिच मुख्य भिन्नता यसरी देखाउन सकिन्छ-
निबन्ध नियात्रा
१. मूलतः स्थितिशील लेखन पूर्णतः गतिशील लेखन
२. संस्मरणतत्त्व अनुभूतिका रूपमा मात्र संस्मरणतत्त्व अनिवार्य रूपमा
३. स्वकेन्द्री लेखन आत्मपरक हुँदाहुँदै परकेन्द्री लेखन
४. स्वच्छता, कल्पनाप्रवणता, चिन्तनगतता स्थानीयता, तथ्यात्मकता, विवरणात्मकता, गतिशीलता, निजात्मकता, चित्रात्मकता।
५. वैचारिकताको प्राधान्य विवरणात्मकता, सूचनात्मकता।

समग्रमा नियात्राका लक्षण, विशेषता र तत्त्वलाई यसरी केलाउन सकिन्छ-
१.नियात्रामा यात्रावृतान्तका स्मृतिबिम्बहरूको प्रयोग र त्यस्ता स्मृतिबिम्बहरूलाई कल्पनाको रङ्गले रङ्गाइएको हुन्छ।
२.नियात्रामा लेखकीय स्वको आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको समेत प्रशस्त उपयोग हुन्छ।
३. वर्णनको मनोहारिता,रोचकता र कुतूहलता हुन्छ।
४. यो प्रथम पुरूष दृष्टिकोणमा नै लेखिन्छ।
५. यसमा कोरा वृतान्त वा वर्णनात्मकता हुनुहुँदैन।
६. सूचनात्मकता, निजात्मकता र चिन्तनशीलता हुन्छ। #(प्रमोद प्रधान, नेपाली निबन्धको इतिहास, काठमाडौं, रत्न पुस्तक भण्डार, २०६६, पृष्ठ २१७)।
७. नियात्रामा लेखकले उसको गद्यमा काव्यिकता ल्याउनु पर्छ।
८. लेखकले यात्रा वर्णन गर्दा आफुलाई कवि, दार्शनिक, अन्वेषक आदिको रूपमा समाहार गर्नुपर्छ। भ्रमण साहित्य भन्दैमा जम्मै नियात्रा हुँदैनन्। नियात्रामा आत्मीयता, हार्दिकता, रागात्मकता, कल्पनाप्रवणता, चित्रात्मकता र रमणीयता आदि गुणको अनिवार्य रूपमा समन्वित हुनुपर्छ। अतः नियात्रा यात्राकालीन दैनिक टिपोट र संस्मरणको रागात्मक लेखन हो। यसमा स्थानविशेषको सामाजिक, सांस्कृतिक, रीतिरिवाज, इतिहास, भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय इतिवृत्त आदि झल्काइएको हुन्छ। भ्रमण गरिएको ठाउँको सामान्य विवरण भए यात्रानिबन्ध, यात्राविवरण, यात्रावृतान्त हुन्छ भने यात्रावर्णनमा लेखकले आफ्ना अनुभव र अनुभूतिलाई कलात्मक ढङ्गले प्रस्तुत गरेमा त्यो नियात्रा कहलाउँछ। अर्थात् विशिष्ट किसिमको भए मात्र नियात्रा हुन्छ। लेखकले सोझो तरिकाले कहिले हिँडियो, एक्लै कि अरू कसैसँग डुलियो, केमा चडेर गइयो, कहाँ बसियो, के खाइयो, कहिले फर्किइयो आदिजस्ता कुरा मात्र वर्णन गरियो भने नियात्रा हुँदैन। विषयवस्तुका साथसाथै भावना पनि हुनुपर्छ। नियात्रा पढ्दा पाठक पनि बनोस् घुमक्कड र अभिन्न मित्र अनि लेखकसँग हिँडिरहोस् यात्राको आनन्द लिँदै र साथमा ज्ञान बटुल्दै। , पृष्ठ ३५।)

४. नेपाली साहित्यमा नियात्रा- नेपाली साहित्यमा नियात्रा साहित्य निकै विकसित बनेको छ। आजभन्दा लगभग ५०० वर्ष अघिको 'राजा गगनीराजको यात्रा' देखि आजसम्ममा नेपाली .यात्रासाहित्यले धेरै घुम्ती, मोड- उपमोड पार गर्दै विकसित हुँदैआएको देखिन्छ। यदि हामीमाझबाट घु्म्न जानेमध्ये दश प्रतिशत व्यक्तिहरूले आफुले गरेको यात्रा वर्णन लिखित रूपमा प्रकाशित गरे भने पनि नेपाली नियात्रा अझ निकै विकसित हुने थियो। यद्यपि नेपाली नियात्रा साहित्य त्यति अविकसित र कमजोर भने अवश्य छैन, विकसित र सम्पन्न छ। सं १९१०मा प्रकाशित जङ्गबहादुरको बेलायत यात्रा नेपाली यात्रासाहित्यको कोसे-ढुङ्गो सावित भएको छ भने शेरसिँह राना, लैनसिंह बाङ्देल, तारानाथ शर्मा, केदारमणि आदी, प्रकाश ए राज, घनश्याम राजकर्णिकार, सलोन कार्थक, जय छाङ्छा आदि नेपाली नियात्रा साहित्यका विशिष्ट साधक हुन्।
नेपाली नियात्रा साहित्यको कालविभाजन गर्ने क्रममा प्रमोद प्रधानले तीन चरणमा विभाजन गरेका छन्-
क) प्रारम्भिक वा पहिलो चरण (वि सं १९१० भन्दाअघिसम्म)
ख) विकाससशील वा दोस्रो चरण (वि सं १९१०- वि सं २००९ सम्म)
ग) आधुनिक वा तेस्रो चरण (वि सं २०१० देखि यता)
यसमा रहेको प्रथम चरणमा यस्तो साहित्य त्यति नदेखिएको भए तापनि राजा गगनीराजको यात्रालाई मूल आधार मानिएको छ। यसका लेखक करवीर रावल थिए र यसको रचनाकाल सं १५५० हो। यस कृतिको खोजिपत्ता लगाउने पूर्णप्रकाश यात्री हुन्। यस चरणमा नियात्रा साहित्यको पृष्ठभूमि मानिन्छ। वि सं १९१० को जङगबहादुरको बेलायत यात्रादेखि दोस्रो चरण मानिन्छ। यस चरणका नियात्रा कृतिहरूमा राजकीय कामका लागि शासकहरूले यात्रा गर्ने गरेका र यात्रा प्रसङ्गसँग सम्बन्धित विषय र अनुभवलाई यात्रा दलका कर्मचारीहरूलाई लेखाउने गरेको पाइन्छ। शासकहरूबाहेक विदेशी सेनामा काम गर्न गएका र तीर्थयात्राका क्रममा भएका भ्रमणहरूका आधारमा लेखिएका केही कृति देखा परेका छन्। यस चरणका केही नियात्रापरक कृतिहरूमा जङगबहादुरको बेलायत यात्रा (सं १९१०), चिरञ्जीवी पौड्यालको आफ्नु कथा, रणसूर लिम्बूको बर्माको सम्झना, राममणि आदीको यात्रासंस्मरण, पतञ्जली गजुरेलको तीर्थावली, शेरसिंह रानाको मेरो लण्डन राजतिलक यात्रा इत्यादि। यस कालमा अनेक कृति र लेख नियात्रा साहित्यको रूपमा देखा परेका छन्। यस चरणमा नै नेपाली नियात्रा साहित्य लेखनका क्रममा धेरै विकास गरेको, साहित्यिक मूल्यवत्ता ग्रहण गरेको, सौन्दर्ययुक्त लेखन र लेखकको भावावेग र अनुभूतिका कारण पनि उल्लेखनीय हुनपुगेको छ। तेस्रो चरणको शुरूवात् वि सं २०१० को लैनसिंह बाङदेलले प्रगतिमा धारावहिक रूपमा प्रकाशित युरोप भ्रमणको वृतान्तबाट भएको हो। तिनै लेखहरूको संकलन युरोपको चिठी (वि सं २०१४) हो। यस चरणमा धेरै भ्रमणपरक लेख र लेखकहरू देखा परेका छन्। नेपाली नियात्रा साहित्यलाई उत्कर्षमा पुर्‍याउने श्रेय तारानाथ शर्मालाई जान्छ। उनको बेलायततिर बरालिँदा (वि सं २०२६) पुस्तकले मदन पुरस्कार सम्म पाएको हो। उनीबाहेक केदारमणि आ. दी, यादव खरेल, रमेश विकल, मञ्जुल, घनश्याम राजकर्णिकार, गंगा उप्रेती, गोविन्द वर्तमान, जय छाङछा, पूर्णप्रकाश यात्री, युवराज नयाँघरे, विजय चालिसे, इशान गौतम बुलु मुकारूङ, आदि अनेकौं नाम आउँदछन्। यस चरणमा नियात्रा साहित्यले पूर्ण विकास गरेको छ। केदारमणि आदीलाई नेपाली यात्रासाहित्यका शिरोमणि मानिन्छ। उनका जम्मा सोह्रवटा नियात्राका ग्रन्थ प्रकाशित छन्। यसैगरी नेपाली साहित्यमा यात्राको विवरण काव्यात्मक रूपमा पनि नपाइने होइऩ। जस्तै खेमनाथ शर्मा पौडेलको अध्ययन भ्रमण (२०५२), कृष्णप्रसाद ज्ञवालीको मानस-सरोवरका छालहरू (२०५५), प्रह्लाद पोखरेलको गोसाईंकुण्ड (२०५६) रमेश खकुरेलको खासा ह्लासा(२०५८), विष्णुगोपाल रिसालको अमेरिकालाई हेर्दा (२०६२), गणेशकुमार पौडेलको बङ्लादेशको सफर(२०५७, गद्यकवितामा) आदि हुन्। यद्यपि यस्ता पद्यमा लेखिएका यात्रासाहित्यलाई नियात्रा मान्न सकिन्न। (प्रमोद प्रधान : पृष्ठ २०६६)
५. भारतमा नेपाली नियात्रा साहित्य-
भारतीय नेपाली नियात्रा साहित्यको परिप्रेक्ष्यमा भाक्सूका शेरसिंह रानामगरको सन् १९१३ मा प्रकाशित ‘मेरो लंदन राजतिलक यात्रा’ पहिलो प्रकाशित पुस्तक हो। उनी १४ गोर्खा राइफल्समा हुँदा सन् १९११ मा पञ्चम जर्जको राजतिलक समारोहमा ब्रिटिस सरकारको निम्तोमा लन्डन पुगेका थिए। त्यहाँको हरेक दृश्य-परिदृश्यको विवरण डायरीमा टिपेर पुस्तकाकार रूप दिएका हुन्। उनले उक्त पुस्तकमा लन्डनको प्रकृति र जलवायु, अँग्रेजहरूको रहन-सहन, आर्थिक उन्नति र अन्य गतिविधिको विवरण प्रस्तुत गरेका छन्।
यसपछि पादरी गंगाप्रसाद प्रधानको सम्पादनमा निस्कने मासिक गोर्ख खबर कागतको सन् १९३० सालको जनवरी,फरवरी र मार्च महिनाका तीन अङ्कमा ARP को नाममा एउटा यात्रापरक लेख स्कटलेण्डको बखान धारावाहिक रूपमा प्रकाशित भएको देखिन्छ। पादरी गंगाप्रसाद प्रधानबारे शोध-अध्ययन गर्ने सलोन कार्थकका अनुसार उक्त ARP ले सम्पादक प्रधानलाई आफ्नो स्कटलेण्ड यात्रा गोर्खे खबर कागतमा प्रकाशित गरिदिनु होला भनी निवेदन-पत्र लेखेको छ। यसमा सन् १९२९ सालमा दार्जीलिङदेखि कलकत्ता, त्यहाँबाट बम्बई अनि जोर्डन देश हुँदै, स्वेस केनल पार गर्दै स्कटल्याण्ड पुगेको र त्यहाँ पनि विभिन्न दृश्य-दृश्यावलीको वर्णन गरिएको छ। ती ARP अरू कोही नभएर पादरी गंगाप्रसाद प्रधानकै सुपुत्री एग्नेस राजमति प्रधान हुनसक्छ। यद्यपि उक्त प्रेषण-पत्रमा सम्पादकलाई परिवारको सदस्य नभइ तटस्थ रूपमा लेखिएको पाइन्छ। यस हिसाबले नेपाली साहित्यमा नै प्रथम नारी यात्रासाहित्यकार राजमति प्रधान हुन्। फूटकर रूपमा यात्रा विवरण त धेरै छन् तर पुस्तकाकार रूपमा पनि केही थोरै संख्यामा छन्। थाहा पाइएअनुसार अहिलेसम्म भारतबाट प्रकाशित नेपाली नियात्राका कृतिकार र पुस्तकाकार कृतिहरूको सूची यसरी बनाउन सकिन्छ-
१. शेरसिंह राना- मेरो लंदन राजतिलक यात्रा (१९१३)।
२. दिलबहादुर नेवार- दक्षिण भारत यात्रा, यात्रा संकलन, यात्रा संस्मरण।,
३. लैनसिँह बाङदेल- यूरोपको चिट्ठी वि. सं. २०१४), स्पेनको सम्झना (वि.सं.२०२०), रोमको एउटा फुल र प्यारिसको एउटा काँडा (वि.सं.२०५७)
४. पं शिवराज बराल- काशीयात्रा (पद्यमा, सन् १९६० अनुमानित)।
५. पारसमणि प्रधान- मेरो काठमाडौं यात्रा (१९७५)।
६. डा शान्ति छेत्री- मेरो यूरोप यात्रा,(सन् १९९५) र अरब सागरको सूर्यास्त (सन् १९८६)।
७. सलोन कार्थक- समुद्रवारि- समुद्रपारि (सम्पादित), विदेशतिर रिङ्दै जाँदा, पदयात्रा गाँउको फन्को विदेशको, विश्व एउटा पल्लो गाउँ (२०१३)।
८. दुर्गाप्रसाद श्रेष्ठ- देश देशान्तर यात्रा वृतान्त। (हिन्दीमा)
९. पवन चामलिङ- युरोप भ्रमण – केही संस्मरण
१०. कुमार घिसिङ- दूनघाटी नालापानी (१९८२)
११. कविता सुब्बाको शैक्षिक भ्रमण एवम् संस्मरण,
१२. डा गीता उपाध्याय- मन्दाकिनी र अलकानन्दको तीरैतीर केदारबद्रीसम्म (सं २०६०)
१३. प्रद्यु्म्न श्रेष्ठ- मेरा केही यात्रा संस्मरणहरू (१९९४)
१४. जगन्नाथ उपाध्याय र लावन्यदेवी- बृटेनमा केही दिन।
१५. चूडामणि उपाध्याय भट्टराई- क्यालिफोर्निया- अमेरिकाको झ्याल।
१६. सानु लामा- आँगन परतिर,
१७. के पी मल्ल- गाउँ घर - देश परदेश, र यात्रा- घर आँगनदेखि परदेशसम्म (२०१३)।
१८. एम पथिक- पथिकका पाइलाहरू (२०१३)
१९. जयनारायण लुँइटेल- दुबइ हुँदै अमेरिकासम्म (२००१) र छाँगादेखि गुफासम्म (२०११)
२०. एम. बी प्रधान- मनका लहर र रहरहरू (२०११)
२१. प्रजापति शास्त्री- तीर्थदर्शन (२००४)
२२. भवानी उपाध्याय- मेरो बेलायत यात्रा ।
२३. चन्द्रकुमार राई- भ्रमण र जीवन यात्रा

यीबाहेक विभिन्न पत्र-पत्रिकामा फूटकर रूपमा यात्रावृतान्त प्रकाशित पाइन्छन्। भारती, दियालो, स्पन्दन, पूर्व किरण, हाम्रो ध्वनि आदि पत्रिकामा लेखका रूपमा यात्रा संस्मरण प्रकाशित छन्। भारती पत्रिकामा प्रकाशित त्यस्ता केही यात्रापरक लेखहरूमा मनकुमारी थापाका 'मेरो स्कटल्याण्ड यात्रा' (सन् १९५३), 'प्यारिसको झलक' (१९५४), राधिका रायाको मेरो पहिलो समुद्र यात्रा (१९५५), मधुमालती प्रधानको मेरो बनारस यात्रा (१९५५) उल्लेखनीय छन्। अन्य पत्रिकामा प्रकाशित केही लेखहरूमा लख्खीदेवी सुन्दासको 'मेरो काबुल यात्रा' (दियालो), लक्ष्मण नेपालका उन्नयन पत्रिकामा प्रकाशित तीनवटा लेखहरू 'भुवनेश्वरको य़ात्रा' (सं २०५९), 'सिक्किमदेखि कन्याकुमारीसम्म' (सं २०६०) र 'कलकताबाट बरहमपुर' (२०६१)। शान्ति थापाको 'ब्रह्मपुत्रदेखि गोदावरीसम्म' (सन् २००८, हाम्रो ध्वनि), विन्द्या सुब्बाको 'अरब सागरको किनारमा' (दियालो), रूद्रराज मास्केको 'मेरो पश्चिमाञ्चल यात्रा र अन्य' महानन्द पौड्यालका 'मेरो ठिमिले आसाम यात्रा' र 'मेरो पहिलो काठमाडौं यात्रा' दुर्गाप्रसाद जोशीका नियात्रात्मक लेख इत्यादि।

६. केही प्रमुख नियात्राकारबारे चर्चा-
६.१. शेरसिंह राना- भारतीय परिप्रेक्ष्यमा भाक्सूका शेरसिँह राना पहिलो यात्रासाहित्यकार हुन्। उनको सन् १९१३ सालमा प्रकाशित मेरो लन्डन राजतिलक यात्रा नेपाली नियात्रा साहित्यको कोसे-ढुङ्गो सावित भएको छ। उनी १/४ गोर्खा राइफल्सका एक सामान्य अधिकारी थिए। सन् १९११ मा उनी एकजना ब्रिटिस सेनाका अधिकारीका रूपमा पञ्चम जर्जको शुभराज्यभिषेकको अवसरमा बेलायतको दरबार र लन्डन घुमेका थिए। यसको बारेमा सामान्य चर्चा माथिनै गरिएको छ।

६.२. लैनसिंह बाङदेल- नेपाली नियात्रा साहित्यमा लैनसिंह बाङदेलको योगदान अविष्मरणीय छ। उनले 'यूरोपको चिट्ठी' (सं २०१४), 'स्पेनको सम्झना' (वि.सं. २०२०) तथा 'प्यारिसको एउटा फुल र रोमको एउटा काँडा' (सं २०५७) गरी तीनवटा नियात्रा पुस्तक प्रकाशित गरेका छन्। यूरोपको चिठीमा भ्रमण प्रसङ्गका जम्मा सातवटा चिठीहरू समावेश छन्। यी चिठीहरू उनले छमहिनाको अवधिभित्र तयार पारेका छन्। पहिलो चिठीको दिनाङ्क ४-०६-१९५३ र अन्तिम चाँहि ३-१२-१९५३ उल्लेख गरिएको छ। यसमा फ्रान्सका केही शहर, जर्मनीका स्टुटगार्ट र म्युनिख, अस्ट्रियाका साल्सब्रुक, ग्राज, सेन्ट मार्टिन, भियान्ना र इन्चब्रुक, स्वीट्जर्ल्याण्ड जुरिच आदि शहर घुमेको प्रसङ्ग र विवरणलाई पत्रात्मक शैलीमा रोचक बनाई लेखिएको छ। स्पेनको सम्झना पुस्तकमा शीर्षकविहीन सत्रवटा अध्यायमा विभाजन गरिएको आख्यानात्मक शैली पाइन्छ। यसमा लेखकले स्पेन भ्रमणको उद्देश्य त्यहाँका केही महान चित्रकारहरूका चित्रकला र केही चित्र संग्रहालय अवलोकन गर्नु रहेको थाहा पाइन्छ। त्यस पुस्तकमा त्यहाँका केही चित्रकारको जीवनी, घटना र प्रसङ्गादिको वर्णन पाइन्छ। यसैगरी उनको तेस्रो नियात्राकृति प्यारिसको एउटा फूल रोमको एउटा काँडा नेपाली नियात्रा साहित्यमा एक उल्लेखनीय कृति हो। यसमा शीर्षक रहेको लेखबाहेक भ्यानगगको चिहान, भेरोना, प्यारिस-सुनसान रात एउटा हरियो बेञ्ची, मूर्तिकारको धोको, पेर-लासेजको एउटा स्मृति, सायद उनले मलाई बिर्सेकी छैनन्, विलियम वर्ड्सवर्थको डोम कटेज, जामिनी राय-एक संस्मरण शीर्षकका नौवटा नियात्रापरक रचना समावेश छन्। 'उनले कला साधनाको लागि यूरोप बसेका बेला आफ्ना अनुभवहरू सारगर्भित पाराले मूर्त्याएका छन्।' उनका यात्रामा सूक्ष्म आख्यानात्मकता, संवादात्मकता, भावुकता र अनुभूतिको आवेग तथा प्रस्तुतिगत मनोहारिता पाइन्छ। उनी एक दक्ष चित्रकार हुनाले उनको लेखनमा पनि एकजना चित्रकारको नजरले देखेका ठाउँको दृश्यावली, प्राकृतिक सौन्दर्य आदिलाई रोचक ढङ्गले वर्णन गरेका छन्।

६.३. दिलबहादुर नेवार-नेपाली नियात्रा साहित्यमा दिलबहादुर नेवार एक महत्त्वपूर्ण नाम हो। उनका दक्षिण भारत भ्रमण (?),यात्रा संकलन र यात्रा संस्मरण गरी तीनवटा नियात्रा पुस्तक प्रकाशित छन्। उनको यात्रा संकलन एउटै सिङ्गो लेख आद्योपान्त रूपमा रहेको छ। यसमा विशेषगरी लेखकको बम्बईको साहित्यिक भ्रमणको वृतान्त यसलाई औपन्यासिक ढाँचाको नियात्रा मान्न सकिन्छ। यसमा बम्बईमा आयोजित एउटा साहित्य समागमको वर्णनबाहेक त्यहाँको सामाजिक, सांस्कृतिक, प्राकृतिक अवस्थाको अवलोकन गरिएको छ। यात्रा संस्मरणमा चाँहि युरोपका केही देश भ्रमणको वृतान्त पाइन्छ। लेखकले सन् १९८० को मस्को ओलम्पिक हेर्न मस्को नै जाने अवसर पाई त्यहाँ सामान्य वर्णन गरेका छन्। यस पुस्तकमा यरोपका मस्को, पोलेन्ड, चेकोस्लोभाकिया, पूर्व जर्मनी, पश्चिम जर्मनी, सुइट्जर्लेन्ड, पेरिस र लन्डन जस्ता देश र शहर तता नेपालको पोखरा, सिंधुली, महेन्द्रगुफा, मनोकामना, तातोपानी, भक्तपुर आदि गाउँ-ठाउँको सामान्य भ्रमण वृतान्त गरेका छन्। नेवारलाई पनि यात्रा संकलन कृतिका आधारमा एक सफल नियात्राकार मान्न सकिन्छ।
६.४. कुमार घिसिङ- साहित्य अकादमी, नयाँ दिल्लीको साहित्यिक भ्रमण अनुदान पाएर सन् १९८१ मा देहरादूनतिर भ्रमण गर्ने अवसर पाएका कुमार घिसिङले त्यस भ्रमण अनुभवलाई सदुपयोग गरी एउटा गहकिलो पुस्तक प्रकाशित गरे- 'दूनघाटी-नालापानी' (१८८२)। यसमा देहरादूनको प्राकृतिक र भौगोलिक स्थितिको वर्णन गरी सन् १८१४-१६ को नालापानीको नेपाल- इस्ट इन्डिया कम्पनीबीचको युद्धसम्बन्धी ऐतिहासिक तथ्यको खोजी गरी त्यस युद्धस्थलको निरीक्षण गरिएको विवरण पाइन्छ।

६.४. सानु लामा- सानु लामाको आँगन परतिर एक उत्कृष्ट नियात्रापरक पुस्तक हो। यसमा लेखक एक वरिष्ठ साहित्यकार हुनाले यसमा साहित्यिक रस प्रशस्त पाइन्छन्। यसमा विशेषगरी युरोप यात्राका रोचक वर्णन पाइन्छ। सानु लामाले यात्रा वर्णन गर्दा आख्यानत्व, वर्णनात्मकता, संस्मरणात्मकता आदिको मिश्रण र घुलन गरी बडो रमाइलो बनाएका छन्। यसलाई पनि एक उत्कृष्ट नियात्रा पुस्तक मान्न सकिन्छ। त्यस्तै उनको हिमालचुली मन्तिर (सन् १९९७) मूल रूपमा नियात्रा पुस्तक नभए तापनि यसमा नियात्राका प्रशस्त गुण पाइन्छ। यसमा लेखक एकजना जिम्मेवार अभियन्ता भएर सिक्किमको कुना- कुनाको गाडी र पैदल भ्रमण गर्दा भेटिएका दृश्यावली, प्राकृतिक सौन्दर्य र जनजीवन, बाटाघाटा आदिको वर्णन गरिएको पाइन्छ। यसलाई आंशिक रूपमा नियात्रा कृति मान्न सकिन्छ।

६.५. सलोन कार्थक- सलोन कार्थकको मूल साहित्यिक व्यक्तित्व नै नियात्राकार हो। सन् १९७५ मा पहिलो पल्ट दिल्ली डायरी नामक नियात्रा लिएर देखा पर्ने कार्थकले एक सय बीसवटा देशहरूको भ्रमण गर्नपाएका कार्थकका समुद्रवारि समुद्रपारि (सम्पादन), विदेशतिर रिङ्दै जाँदा, पदयात्रा गाउँको फन्को विदेशको र विश्व एउटा पल्लो गाउँ गरी नियात्राका चारवटा कृतिहरू प्रकाशित गरेका छन्। नियात्रा साहित्यमा हुनपर्ने भ्रमण संस्मरण, निजात्मकता, कथात्मकता, रमरम आनन्दबाट मुछिएको, यात्रासँग सम्बद्ध सूचना, यात्राका विषय र घटनाक्रम सँगसँगै लेखकको अनुभव आदिको मनोरम प्रस्तुति आदि सबै उनका नियात्रा साहित्यमा पाइन्छन्। यसबारे विस्तृत चर्चा गरिन्छ। उनका नियात्रामा गतिशीलता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता, इमानदारिता, आत्मीयता, कल्पनाप्रवणता, चित्रात्मकता आदि जस्ता गुण पाइन्छन्। लेखकले घुमेका ठाउँहरूको भौतिक वस्तुहरूको मात्र वर्णन नगरेर साहित्यिक यात्रा पनि गरेका छन्। युरोपियन शहरमा अवस्थित त्यहाँका साहित्यकारका समाधिस्थल, उनीहरूको निजी वस्तु, कृतिको पाण्डुलिपि, पढ़ने, लेख्ने कक्ष भएको घरलाई संग्हालय बनाएर त्यहाँ पर्यटक र अन्य दर्शकहरूको भीड लागेको देख्छन्। लण्डनमा जोन मिल्टन, चार्ल्स डिकेन्स, टमस हार्डी, नाटककार जर्ज बर्नार्ड शको म्युजियम घर जान्छन्। जोन बन्यानको म्युजियम घर जाँदा जोनका विश्वप्रसिद्ध पुस्तक पिल्ग्रिम्स प्रोसेसलगायत उनका सबै क़तिहरूको मूल पाण्डुलिपि देख्छन्। उनका नियात्रामा स्थलगत जानकारीका अतिरिक्त त्यहाँका विविध पक्षको वर्णन, आफ्ना अनुभूतिलाई पाठकसमक्ष पस्केका छन्। उनका नियात्रामा रसात्मक, भावात्मक, चिन्तनशीलता, व्यञ्जना अभिव्यक्ति जस्ता साहित्यिक गुण पाउँछौं।
यसैगरी उनका नियात्रामा कथात्मकता, सूचनात्मकता, परिहासका एकाध प्रस्तुति, संक्षिप्तता आदि प्रवृत्ति पाइऩ्छ। उनका भाषागत पक्ष विशेषगरी लिङ्ग, वचन र तिर्यक कारकको प्रयोगमा केही कमजोरी, कता कता स्थानादिको निस्तो वर्णन देखा परे पनि त्यस्ता कमजोरी अल्प मात्रामा छन्। उनको यात्रागत उद्देश्य जुनसुकै भए पनि नियात्रा लेखनमा चाँहि उनी स्वच्छन्द यात्रीका रूपमा देखा पर्छन्। यसर्थ, उनका यात्रानिबन्धमा निजात्मक अनुभूतिको तीब्रता, प्राकृतिक सौन्दर्य वर्णनमा अभिरूचि, जस्ता तत्व पाइनाले उनको नियात्रा लेखनमा स्वच्छन्दतावादी प्रवृति नै मूल रूपमा मान्न सकिन्छ।

६.६. एम बी प्रधान- सबैभन्दा मोटो आकारको नियात्रा ग्रन्थका रूपमा श्री एम बी प्रधानको मनका लहर र रहरहरू प्रकाशित देखिन्छ। विषयगत, क्षेत्रगत र पुस्तकको कलेवरगत पक्षमा यो पछिल्लो पुस्तक महत्वपूर्ण छ। कालिम्पोङका श्री एम बी प्रधानको हालै प्रकाशित मनका लहर र रहरहरूले नेपाली नियात्रा साहित्यको क्षेत्रमा एउटा विशिष्ट योगदान स्थान ओगटेको छ। शायद आजसम्म प्रकाशित नेपाली नियात्रा पुस्तकमध्ये यो सबैभन्दा ठुलो कलेवरको हुनसक्छ। यो ग्रन्थ जम्मा २९६+२२ पृष्ट र ३१ अध्यायमा आवद्ध रहेको छ। प्रस्तुत पुस्तकमा दुईवटा प्रमुख पक्ष पाइन्छन्- यात्रा संस्मरण र स्थलगत जानकारी। यद्यपि यसमा संस्मरणभन्दा जानकारी पक्ष बढी प्रबल छ। यसमा लेखक पुगेको प्रत्येक ठाँउ र शहरको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक, सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक व्यवस्थाको बारेमा चित्रण-वर्णन गरिएको छ। यस ग्रन्थमा मुख्य गरी नेपाल, थाइल्याण्ड, क्यानाडा, इँगल्याण्ड, जापान, अमेरिका, बेल्जियम, होलेण्ड, जर्मनी, फ्रान्स, कमबोडिया, हङकङ आदि देशहरू भ्रमण गरिएको विवरण छ। यी देशहरूका अनेक शहर चित्रित छन्। चित्रण गरिएकाध्ये अमेरिका, यूरोप र पूर्नी एशिय़ाका मुख्य शहरहरूमा हङकङ, टोकियो, काठमाडौं, पोखरा, कोलोन, म्युनिख, एम्स्टर्डन, ब्रुसेल्स, साल्स्वर्ग, लन्डन, एडिनबरा, ब्याङ्कक, क्राबी, न्यूजर्सी, भर्जिनिया, न्यूयोर्क, होनोलुलु, लसबेगस, क्यालिफोर्निया, सेनफ्रान्सिस्को, सियटल, वाशिंटन डिसी, पेन्सिल्भिया, विलियम्सबर्ग, जेम्सटाउन, योर्कटाउन, टोरोन्टो, मोन्ट्रियल, क्वेबेक, सेमेन्दो आदि गरी लगभग ३४–३५ वटा जति हुन्। यत्रा शहर र देशका अनेक पक्षको वर्णनमा लेखकले आफ्नो धेरै परिश्रम गरिका छऩ। अमेरिकाको न्यूयोर्कको मूर्तिसित एकालाप गरेको प्रसङ्ग छ जो फ्यान्टासीको रूपमा प्रयोग गरिएको छ।

६.७. जयनारायण लुइँटेल - जयनारायण लुइँटेलका अमेरिका भ्रमणका अवसरमा लेखिएका दुईवटा नियात्राका कृति प्रकाशित छन्। उनी अघिल्लो पल्ट अमेरिका भ्रमणसम्बन्धी 'दुबई हुँदै अमेरिकासम्म' (२००१) मा अठ्ठाइसवटा र पछिल्लोपल्टको अमेरिका भ्रमणका सिलसिलामा चौधवटा लेखहरूको सङ्कलन 'छाँगादेखि गुफासम्म' (२०११) मा पाइन्छ। अघिल्लो पुस्तकमा दुबई भ्रमण को एउटा लेखबाहेक बाँकी जम्मै अमेरिकाको वाशिङ्टन, न्यूयोर्क र फिलाडेल्फिया शहरको भ्रमण विवरण पाइन्छ। यसमा प्रायः छोटा छोटा लेख समावेश छन्। एउटा लेख भने एक पृष्ठ मात्र छ भने एउटा बीस पृष्ठमा रहेको छ। पछिल्लो कृतिको नाममा रहेको छाँगो नायग्रा छाँगो हो भने गुफाचाँहि लुरेको गुफा हो। यसमा नायगरा छाँगाको रोचक वर्णन गरिएको पाइन्छ। उनका दुवै पुस्तकको भ्रमणक्षेत्र अमेरिकाका विभिन्न शहर र प्रान्त हुन्। उनका नियात्रामा लेखकीय रागात्मक अनुभूति, ब्रमण रोमा्चपूर्ण रूपमा लेखिएको पाइन्।

६.८. के पी मल्ल- ब्रिटिस सेनामा सेवा गरेको अवधिमा संसारका केही देशको भ्रमण गर्न पाएका के. पी. मल्लका पनि 'गाउँ घर-देश परदेश', र 'यात्रा-घर आँगनदेखि परदेशसम्म' (२०१३) गरी दुईवटा नियात्रा पुस्तक प्रकाशित छन्। यी दुईवटा पुस्तकमा दार्जीलिङ पहाड़कै विभिन्न गाउँ बस्तीको भ्रमण देखि लिएर सिङ्गापुर, हङ्कङ, बेलायत, मलाया आदि देशका केही शहरहरूको विवरण पाइन्छ। यद्यपि यी कृतिमा रागात्मकता, संवेग र अनुभूति आदिको अभाव पाइन्छ। यी दुईमा भाषा-शैलीगत प्रस्तुतिमा साहित्यिकता त्यति पाइन्न।

६.९. एम पथिक - एम पथिकको नियात्रापरक लेख संकलन 'पथिकका पाइलाहरू' (२०१३) पनि नेपाली नियात्रा साहित्यमा महत्त्वपूर्ण कृति हो। यसमा विदेश भ्रणणको वर्णन नभए तापनि स्वदेश भारतका विभिन्न ठाउँ र शहरको वर्णन- विवरण पाइन्छ। यसमा स्वदेश भ्रमणका रमाइला र रोचक वर्णन पाइन्छ। यसमा विशेषगरी मुम्बई, चेन्नै, मैसूर, दिल्ली, मिजोराम, चन्डीगड, जयपुर आदि ठाउँ र शहरका विभिन्न पाटा र तथ्यहरूको जानकारी दिएका छन्
५.१०. चन्द्रकुमार राई- राईका 'भ्रमण' र 'जीवन यात्रा' पनि नियात्राका दुईवटा पुस्तक प्रकाशित छन्। लेखकले विशेषगरी आफ्नो साहित्यिक र भाषिक कार्य सम्पादन गर्ने सन्दर्भमा मैसूर पुगेको र भारतका केही सहरको भ्रमण गरिएका संस्मरणलाई अभिव्यक्ति दिएका छन्। लेखक राईले आफ्नो कथ्य विषयलाई जतिसक्दो साहित्यिकता दिने काम गरेका छन्।
६.११. शान्ति छेत्री- 'अरब सागरको सूर्यास्त' (सन् १९८६) र 'युरोप भ्रमण: केही संस्मरण' शान्ति छेत्रीका दुईवटा नियात्रापरक कृति हुन्। 'अरब सागरको सूर्यास्त' मा कूल बाह्रवटा लेखमध्ये यात्रानिबन्ध भने तीनवटा मात्र समावेश छन्। प्रस्तुत सङ्ग्रहका 'कन्याकुमारीसम्म : केही अनुभवहरू', 'अरब सागरको सूर्यास्त' र 'मेरो पहिलो देशाटन' गरी तीनवटा लेखहरूमा भ्रमणको अनूभूतिभन्दा सामान्य भ्रमणविवरण प्रस्तुत गरिएको छ। अर्को पुस्तकमा लेखक युरोपका केही देश भ्रमण गर्दाका सामान्य विवरण पाइन्छ।

७. भारतबाट प्रकाशित नेपाली नियात्रा साहित्यको सामान्य प्रवृत्ति, विशेषता र उपलब्धी-
७.१. साहित्यका कविता, कथा, नाटकका तुलनामा नियात्रा त्यति लेखिएको छैन। अहिलेसम्म ३५-३६ वटा मात्र पुस्तक प्रकाशित हुनु त्यति सन्तोषजनक मानिन्न।
७.२. भारतबाट प्रकाशित नियात्राका पुस्तकमा विदेश यात्राका तुलनामा स्वदेश यात्रावृतान्त बढी देखिन्छन्।
७.३. भारतमा नेपाली नियात्रा साहित्यमा लैनसिँह बाङदेलको योगदान र स्थान सर्वोपरी छ भने उनको बिँडो थाम्ने सलोन कार्थक हुन्। सलोन कार्थकको एकाध नियात्रामा उत्तरऔपनिवेशिक, सांस्कृतिक अध्ययन गरिएको पाइन्छ।
७.४. यहाँबाट प्रकाशित नियात्रा कृतिहरूमा भारत देशको भ्रमणवृतान्त बढी पाइन्छ। त्यसपछि भने युरोप र अमेरिका भ्रमण र सिङगापुर जस्ता केही दक्षिणपूर्वी देशहरूको भ्रमण वृतान्त पाइन्छ।
७.५. भारतका नेपाली साहित्यकारहरूमध्ये थोरैले मात्र विदेश भ्रमण गर्ने अवसर पाउनाले विदेशयात्रासम्बन्धी नियात्रा साहित्य त्यति विकसित भएको पाइन्न। अहिलेसम्म जे जति कृति पाइन्छन्, ती थोरै नै हुन्।
७.६. यहाँका नियात्रा साहित्यमा केही विविधता भने नपाइने होइन। औपन्यासिक स्वरूपको दिलबहादुर नेवारको 'यात्रा सङ्कलन' देखिन्छ भने पत्रात्मक शैलीको लैनसिंह बाङदेलको .'यूरोपको चिठ्ठी' औ चित्रकलाकेन्द्रित नियात्रा पुस्तक बाङ्देलकै 'स्पेनको सम्झना' देखिन्छ। तीर्थयात्रापरक नियात्रा पुस्तक गीता उपाध्यायको पाइन्छ भने काशी दर्शनमा पद्यात्मक स्वरूपको देखिन्छ।
७.७. नियात्रामा आवश्यक रूपमा हुनुपर्ने मानवीय चित्तवृत्ति, हार्दिकता, रागात्मकता अनुभूतिको तीब्रता, आत्मपरकता, सौन्दर्य चेतना, सूचनात्मकता आदि लक्षणलाई परिपालन गरी लेख्ने केही सफल नियात्राकारहरूमा लैनसिंह बाङ्देल, दिलबहादुर नेवार, सलोन कार्थक, जयनारायण लुइँटेल, सानु लामा, एम बी प्रधान, एम पथिक आदि हुन्।
७.८. समग्र भारतबाट नेपाली नियात्रा शुरू गर्ने शेरसिंह राना, दार्जीलिङे सन्दर्भमा राजमति प्रधान र उत्तर-पूर्वाञ्चल भारतबाट चाँहि शुरू गर्ने दिलबहादुर नेवार हुन्।
७.९. भाषा प्रयोगका दृष्टिले हेर्नु हो भने यताका नियात्रा कृतिहरूमा त्यति सबल पाइन्न। भाषाको माध्यमले व्यक्त गरिने हुनाले एकाध छाडी धेरै लेखकहरूको भाषिक रूपले प्रभावकारी देखिन्न। लैनसिंह बाङ्देल भने यसको अपवाद हुन्।
७.१०. भारत सरकारको उपक्रममा रहेको साहित्य अकादमी नयाँ दिल्लीले साहित्यकारलाई साहित्यिक भ्रमण अनुदान दिने प्रावधान छ। यसबाट नेपाली साहित्यकार पनि वर्सेनी भ्रमणमा जाने गरेका छऩ। यद्यपि कुमार घिसिङको 'दूनघाटी–नालापानी' बाहेक त्यस भ्रमण अनुदान पाएर पनि अर्को गहकिलो नियात्रा पुस्तक देख्न पाएको छैन।

८. उपसंहार- मानव सभ्यताको ज्ञानको विभिन्न स्रोतमध्ये एउटा देशाटन वा भ्रमण हो। मानव सभ्यताको सृष्टिदेखि नै मानिसले भ्रमण शुरू गरेको हो। मानिसले आफुले गरेको यात्रालाई अभिव्यक्ति दिने क्रममा यात्रा-साहित्यको उदय र विकास भएको हो। नेपाली साहित्यमा यात्रा साहित्यलाई सर्वप्रथम नियात्रा भनी न्वारान गर्ने बालकृष्ण पोखरेल हुन् र यही शब्दले मौलिक रूपमा मौलाउने मौका पायो। गगनीराजको यात्रादेखि आरम्भ भई जङ्गबहादुरको बेलायत यात्रा हुँदै नेपालीमा नियात्रा विकसित बनेको छ। यता भारतमा पनि नेपाली नियात्राले विकास गरेको पाइन्छ। सन् १९१३ मा प्रकाशित शेरसिंह रानाको मेरो लण्डन राजतिलक यात्रादेखि हालसम्म लगभग बाइस-चौबीसजना नियात्राकारका चौंतीस-पैतीसवटा पुस्तक र अनेक फूटकर लेखहरूले नियात्रा साहित्यलाई विकसित तुल्याई अघि बढाएका छन्। यस हिसाबले शेरसिंह राना पहिलो नियात्राकार हुन् भने लैनसिह बाङ्देल सबैभन्दा सफल नियात्राकार हुन्। उनीबाहेक अन्य सफल र विशिष्ट नियात्राकारहरूमध्ये दिलबहादुर नेवार, सानु लामा, जयनारायण लुइँटेल, कुमार घिसिङ, सलोन कार्थक, एम. बी प्रधान, एम पथिक आदि हुन्। कथा, कविता, उपन्यास र नाटकका तुलनामा भारतबाट नेपाली नियात्रा साहित्य त्यति फस्टिएको नभए तापनि अविकसित भने छैन। नियात्रा लेखकहरूको सङ्ख्या भने बढेकै छ। यसको भविष्य सुरक्षित र आशालाग्दो नै देखिन्छ।

सहायक सन्दर्भग्रन्थ-
१. प्रमोद प्रधान, नेपाली निबन्धको इतिहास, काठमाडौं: रत्न पुस्तक भण्डार, २०६६।
२. दयाराम श्रेष्ठ र मोहनराज शर्मा, नेपाली साहित्यको संक्षिप्त इतिहास, काठमाडौं: साझा प्रकाशऩ्, २०५६, पाँ. सं।
३. रामलाल अधिकारी, नेपाली निबन्ध यात्रा, गान्तोक: मेसर्स प्रिन्टेड,, १९९९,दो सं.।
४. हस्त नेचाली, भारतेली नेपाली साहित्य स्रष्टाहरू, दार्जीलिङ: साझा पु. प्रकाशन, २०१०।
५. जयनारायण लुइँटेल, निबन्धनिकुञ्ज, गुवाहाटी: अनुराग प्रकाशन, २०११।
६. वैजयन्ती (मासिक), काठमाडौं, शब्दार्थ प्रकाशन, २०६७।
७. तानासर्मा, बेलायततिर बरालिँदा, काठमाडौं, साझा प्रकाशन, २०२७ दो.सं.।
८. निर्मोही व्यास, यात्रासाहित्यको विधागत स्वरूप र विशेषता, रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक), २०६८।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु