अपूर्व वियोग

- युवा बराल ‘अनन्त’

भाईटिकाको दिन थियो । सिक्किमबाट मामा आमाको हातको टिका लाउन आएका थिए । आउने बित्तिक्कै मलाई बोलाएर प्याच्चै भनिहाले “भाञ्जी ! तिमीले भने जस्तै एउटा केटो छ हाम्रै गाँउमा । मैले भनेको पनि छु उसलाई – मेरी भाञ्जीले “एता सिक्किममा कोही गीत सङ्गीतमा अभिरुचि राख्ने कोही छ भने परिचय गराइदिनोस है !” भनेर आग्रह गरेकी छिन् । भन्नु त उसले केही भनेको होइन । तर केटो असल छ । गीत गाउन रुचाउँछ । गिटार बजाउँछ । तिमीसङ्ग एकदमै मन मिल्ने ।”

मलाई लाज लागे जस्तो भयो । एकपल्ट म सिक्किममा मामा घर जाँदा कुन्नि के मनमा आउँदा मामालाई मेरो मनको कुरा भनेकी थिएँ । साँच्चै लिनुभएछ उहाँले । रातै भएछु म त । उहाँको अघि चियाको कप राखेर फनक्कै फर्किएँ ।

मलाई सङ्गीत असाध्यै मन पर्ने विषय हो । सानो छँदादेखि नै गाउँका दाजु दिदीले गीत गाएको सुन्दा आफुलाई पनि गाउन बजाउन मन लाग्थ्यो । घरमा साङ्गितिक माहौल थिएन । गाँउमा एक-दुई फटाक फुटुक थिए । तर गुरु नै थापेर सिक्न नमिल्ने । बाबाले समाचार सुन्ने एउटा फिलिप्स’को तीन बेण्ड वाला रेडियो थियो । म त्यही रेडियोमा प्रसारित नयाँ पुराना गीतहरु सुन्ने गर्थें अनि सङ्गसङ्गै स्वर तानेर गाउने पनि गर्थें ।

दिउँसो स्कूल जानु पर्थ्यो । स्कूलबाट छुट्टि भएर आएपछि घरको काम गर्दै ‘रेडियो नेपाल’बाट प्रसारण हुने फर्माइसी गीतको कार्यक्रममा बज्ने आधुनिक अनि नेपाली चलचित्रका गीतहरु खुब मन लगाएर सुन्ने गर्थें अनि खुल्ला गलाले गाउथें पनि । एकैपल्ट सुनेको गीत पनि मुखस्थ हुन्थ्यो मलाई । दोहोर्याई तेहेर्याई सुन्ने मौका मिल्दैन थियो तर रेडियोले त्यही गीत लगातार प्रसारण गरिरहने हुँदा मलाई सिक्न गाह्रो पर्थेन । कहिले काँहि आकाशवाणी सिलोङ्गको नेपाली कार्यक्रम अनि आकाशवाणी खर्साङ्गबाट पनि विभिन्न नेपाली अनि हिन्दी गीत गजलहरु सुन्ने मौका पर्थ्यो । यसरी आफ्नो रुचिको कार्यक्रम सुन्न र आनन्द लिन पाउँदा एकदमै आल्हादित बन्थें म ।

‘बेसी नाच्नु गाउनुमा मात्रै ध्यान लाउने होइन है राधे ! काममा पनि अलिक मन लाउने गर ! जैले भन्यो गीतै मात्र गा’को छ गा’को छ । न बो’लाको सुन्ने हो न काम अह्रा’को !’ कोही बेला आमाले यसरी हपार्नु हुन्थ्यो । म झसङ्ग बन्थें केहीक्षणलाई । फेरि त उही सागरमा डुबुल्कि मार्न पुगिहाल्थें ।

स्कूलमा पनि मेरो गायन अनि स्वरको निकै प्रशंसा हुन्थ्यो । छर छिमेक टोलकाले पनि कुरा कुरामा सर्काउने गर्थे । म झन फुरुक्क । बाबालाई झिंजो लाउँदा लाउँदा कसो कसो गरेर एउटा टेप-रिकर्डर किनिदिनु भयो निकै ठूली भएपछि । गाउँमा पदम काकाको एउटा चेन्जर भन्ने ठूलो बाजा थियो जो ठूलो थाल जस्तो आकारको जो एउटा सुईको घुमाईमा बज्ने गर्थ्यो । पदम काका त्यही बाजाको धनी भएकाले चर्चित थिए टोलमा । बिहे बटुलो अनि पुजा-आजामा बजाउँथे उनी त्यो बाजा पैसा लिएर नत्र घर मै थन्क्याइराख्थे ।

त्यतिञ्जेलसम्म गाँउमा कसैकोमा टेपरिकड बाजा थिएन । बाबाले मेरै ढिपिलाई नकार्न नसकी एक-हल गोरु बेचेरै भए पनि ल्याइदिएका थिए त्यो ‘नेसनल पानासोनिक’ कम्पनीको टेप-बाजा । गाँउमा अब चर्चा मेरो बाबाको हुन थाल्यो । बाजा हेर्न गाँउका सबै आउँथे अनि फर्माइसका गीत बजाइमागेर फर्कन्थे । फाइदा मलाई भयो । अब नयाँ नयाँ गीत सङ्गीत सिक्ने र जान्ने सुयोग मिल्न थाल्यो । तर त्यो बाजा टु-इन-वान भएकोले ज्यादातर म रेडियो नै सुन्ने गर्थें । सङ्गीत सङ्गै समाचार पनि । क्यासेट पनि त धेर थिएन ! राति अबेरसम्म सुनिरन्थें मेरा प्रिय अनि मनोहर गीतहरु अनि त्यतिकै कतिबेला निदाउँथें । बिहान उठ्दा रेडियो स्वाँ… मात्र गरिराखेको हुन्थ्यो ।

… मामाको ती कुरा सुनेर मेरो शान्त मनमा एकाएक ज्वारभाटा चल्न थाल्यो । चञ्चल बन्यो मन । मुटुको धड़कन पनि जोर-जोरले बजेको जस्तो भयो । ‘कस्तो होला त्यो मान्छे ?’ कौतुहल जस्तो जाग्न थाल्यो । मामालाई कसरी सोध्ने ! उल्टै गिज्याउलान् जिस्क्याउलान् कि भन्ने लाग्यो । सङ्गीतलाई प्राण ठान्ने मान्छे म; आज सङ्गीत कै माध्यम एउटा सङ्गीत कै पुजारीसङ्ग परिचय गाँस्न सकिने सम्भावनाले मन प्रफुल्ल बनेको छ । केही क्षणमा मामाले उनकी छोरी नितालाई बोलाएर भने – ‘यो कागज लगेर राधिका दिदीलाई दे दे !’

निताले ल्याएर दिएको त्यो सानो कागजको टुक्रामा त्यो अपरिचित व्यक्तिको नाम अनि ठेगाना थियो; मेरो अघिल्लो कदम राख्ने खालि ठाँउ । मामाले के सम्झेका हुन् कुन्नि तर मलाई त ढुङ्गा खोज्दा देउतै पाएको खुशी लाग्यो । मामा पनि ज्योतिष नै हुन कि जस्तो अर्काको मनको हलचल टाड़ैबाट जान्ने-बुझ्ने !

मैले खुस्रुक्क नितालाई बोलाएर सोधें- ‘ यो ‘योगेन’ दाजु को हो बुनु तिमी चिन्छौ ?’ उसले त्यति नजिकबाट चिनेको होइन रहेछ- ‘कुन्नि मलाई त थाहा भएन । तर लता दिदीको एकजना साथी छ योगेन भन्ने सायद उइ हो कि !... किन दिदी ?’ ज्यादा कुरा बढ़ाइनँ । लता, मामाकी जेठी छोरी । मभन्दा तीन वर्ष कान्छी । ऐले उ एग्याह्र्मा पढ़दैछे । मैले स्कूल छोड़ेको चार वर्ष भयो । मेट्रिक पास गरेपछि गाउँ मै एउटा निजी पाठशालामा पढ़ाउने काम गर्दैछु ।

फर्किने बेलामा मामाले मलाई बोलाएर भन्नुभयो- ‘ तिम्रो मन मिल्ने साथी खोजिदिएको छु… नाम ठेगाना त्यो कागजमा छ । सिक्किम सरकारको खाध्य विभागमा नोकरी गर्छन् । अरु चिनाजान गर्नु, तिम्रो रुचिको विषयमा छ्लफल गर्नु आदि तिम्रो जिम्मा । उता सिक्किममा आयौ भने भेट गराइदिउँला । भन कैले आउँछ्यौ ?’ म अकमक्क परें । के सोच्नु, के हुन्छ ! के भयो कुन्नि म बोल्नै सकिन । ‘अब स्कूल छुट्टि भएपछि अलि दिन बस्तै आउनु !’ भनिराखेर उहाँ जानुभयो ।

घरको म जेठी छोरी । कालेबुङ्ग छेउमा अवस्थित बमबस्तिको तल्लो पाटोमा अवस्थित छ हाम्रो घर । गाह्रे घर खरले छाएको । बाबा आमा खेती किसान गर्छन् । भाई बहिनी स्कूल जान्छन् । दु:ख दु:खैले पुग्छ खान-लाउन । सानै भए पनि मेरो नोकरी निकै महत्वको बनेको छ घरमा । सौदा पात मै ठेल्छु । चाड़-बाड़ मरौ परौ बिहे बटुल मै टार्छु । भनौं एउटा काँध मेरो थपिएको छ घर थाम्ने काममा । तर…

उमेरले सानो रहन दिएन । डराएका हुन कि चलनको दास भएको समाजको सदस्य भएर हुन बा’आमाले कुरै कुरामा अब बिहे गर्ने बेला भयो… के गर्ने ! भन्ने जस्तो हाउभाउ देखाउँथे । कन्यार्थ आए पनि हुन्थ्यो जस्तो गर्थे । तर…

मलाई भने अर्कै भूत चढ़ेको थियो । कसरी हुन्छ म एउटा गिती एल्बम निकाल्न चाहन्थें । म गीत गाउन चाहन्थें । कत्रो आँट मेरो !!

नभन्दै ठण्डा महिनाको दुई महिने छुट्टि शुरु भयो । खेतका पाकेको धान काटेर थन्क्याइ सकिएको थियो । दाल पनि कुटि सकेर भित्र्याइ सकिएको थियो । लालुपाते फुलेर खेत-बारी बाटो घाटो रक्ताम्ये बनेको थियो । हिमालको चिसो हावा निकै ठिहिर्याउने भएको थियो । आकाश गाड़ा नीलो देखिन्थ्यो । सफा वातावरण अनि मनोरम दृश्य प्रकृतिको । यस्तै परिदृश्यको अवलोकन गर्दै म सुनिरहन्थें रेडियो नेपाल अनि यम बरालका गीतहरु…। पहिला नारायण गोपाल, अरुणा लामा, दीप श्रेष्ठ, शम्भु राई, ओमविक्रम विष्ट, सुक्मित गुरुङ्ग, प्रकाश श्रेष्ठ-हरु सुनिरहे मन पराइरहेता पनि पछि गएर म कुन्नि कसरी रामकृष्ण ढकाल र यम बराल’को फेन भएको थिएँ । नेपाल गएर यम बराललाई भेट्ने, आफ्नो रुचिको कुरा राख्ने अनि गीत गाउन आग्रह गर्ने विचार पनि मनमा नउब्जेको होइन । ‘इच्छा राख्यो भने सम्भव अवस्य हुन्छ’ यो मेरो मनलाई बाँध्ने दह्रिलो डोरी थियो ।

‘तर म पहिला सिक्किम नै जान्छु’…। नेपाल पछिको कुरा । दार्जिलिङ्ग जाने पनि इच्छा नजागेको होइन । मन पनि कस्तो कस्तो… कति रहर पाल्न सक्ने… अनि जता पल्टायो त्यतै पल्टि हाल्ने ! अब घरमा बित्दो काम पनि त्यति थिएन । छूट्टिको समय थियो । समय मिलाएर काकाकी छोरी करुणालाई लिएर म सिक्किम मावला घर गएँ ।

रम्फुदेखि झण्डै एक घण्टा गाड़ीको बाटो उकालो जानु पर्ने एउटा फराकिलो ठाँउ मध्य पाण्डममा स्थित छ मेरो मावला घर । रमाईलो गाँउ-घर । एक-तले दुई-तले तीन-तलेसम्मका घरहरु । कोही खरले छाएका। कोही टिनाले । अझ कोही भने सिमेण्टेड स्ल्याब हालेको । प्रगतिको बाटोमा लम्किरहेको सिक्किम ।

मामाले नै बोलाएरै गएको हुँ म मावला । मेरो अभिरुचिलाई कदर गर्दै उहाँले नै एक जना सङ्गीतका अनुयायिसित मेरो परिचय गराउन लाग्नुभएको हो । मेरो उद्देश्य पनि त्यो अपरिचितसङ्गको परिचय हो । एक मनले लागेको हो- चिट्ठी लेखेर मनको कुरा पोख्दा… विचार आदान-प्रदान गर्दा कस्तो होला ! तर आँटै जुटेन । नाम ठेगाना भएर पनि त्यसको फाइदा उठाउन सकिन मैले ।

मावला घरमा आमै बाबै मामा माइजु भाई बहिनी सबैलाई भेटेर पनि रमाइलो लागिरहेको थिएन मलाई । ठूली बहिनी लतालाई बोलाएर ‘योगेन’ विषयमा सोध-पुछ गरें । उसलाई पनि उसको सहपाठी योगेन बाहेक अर्को योगेनको बारेमा थाहा थिएन रहेछ । अन्तमा मामाबाट नै जानकारी लिएँ ।

रम्फु बजारको माथिल्लो लाइनमा किराइको कोठामा बस्दा रहेछन् मेरो सहृदयी अपरिचित साथी श्री योगेन्द्र शर्मा । मामाले लतालाई ठाँउ ठहर वृतान्त बताएर पठाए मलाई त्यो मान्छेसङ्ग भेटाउन त्यहाँ । उहाँ के चाहनुहुन्थ्यो कुन्नि थाहा भएन तर उहाँको जागरुक्ता अनि सक्रियता हेर्न लायक कै थियो । हुन त मलाई असहज अनि अप्ठेरो पनि लाग्नु पर्ने हो । एउटी केटी मान्छे म । कसरी म एउटा नचिनेको नजानेको केटा मान्छेको कोठामा उसलाई भेट्न जान सक्छु ! तर जाँदैछु निर्बाँध … सङ्गीतको साइनोमा (?) खोई कहाँ छोड़ियो त्यो काँड़े तार ? त्यो समाजको तगारो कतिबेला नाघियो ?? कता विलिन भयो सङ्कोच यो मनको ???

लताले मलाई सोझै एउटा कोठाको दैलोमा उभ्याई- ‘बेल बजाउनोस्न दी !’ अह्राई उसले । थचक्क थिचें मैले त्यो बेल अङ्कित स्वीच । भित्र कतै ‘ट्ङ्लङ्ग’ बज्यो । केहीक्षणमा दैलो खोलियो । पर्दा हटेपछि एउटा खिनौटे चुच्चो नाक अलग्गै देखिने दुब्लो मान्छे हाम्रो अघि पर्दार्पण हुन पुग्यो । ‘ उहाँ नै हो देवेन दाजु…!’ लताले कुइनाले घचेटी अलिकति मलाई । हतपत दुवै हात उठाएर नमस्ते गरें- ‘नमस्ते देवेन जी… म राधिका… राधिका विश्व … मेरो मामा ! यो लताको बाबा ! पाण्डम स्कूलका शिक्षक बसन्त सर ! उहाँले पठाउनु भएको…।’ म अड़किंदै अकमकिंदै बोल्दै थिएँ ।

‘नमस्ते… आउनोस्न भित्रै ! आउनोस… आउनोस… ई यस्तै छ मेरो किरायको घर !’ योगेन्द्र बोल्दै बोल्दै भित्र पसे अनि हामीलाई पनि उनको सयन कक्ष… जहाँ उनको सुत्ने ओछ्यान थियो’को छेवैमा राखिएको खालि चौकीमा लगेर बसाए । हामी बस्यौं । बस्नेसाथ उनको ओछ्यानमा ढल्क्याइराखेको कलेजी रङ्गको गिटारमा मेरो नजर पर्छ । ‘तपाईं बजाउनु हुन्छ ?’ सहसा फुत्किएको प्रश्न थियो त्यो । ‘अलिअलि !’ भन्दै थिए उनी हामीलाई पिउने तातो पानी थमाउँदै ।

पलभरको शान्त वातावरण पछि योगेन्द्र नै पहिला बोल्न थाले –‘अँ … वसन्त सरले कहिले हो मलाई तपाईंको विषयमा हुनुपर्छ, भन्दैहुनुहुन्थ्यो । गीत एकदमै राम्रो गाउनुहुन्छ’ रे नि हई । म पनि भेट्न चाहन्थें त्यो नचिनेको सङ्गीतज्ञलाई !’

‘मलाई गीत सङ्गीत मनपर्छ अनि गीत गाउने मान्छे पनि । ज्यादा गीत गाउन मनपर्छ । आफुलाई त राम्रै लाग्छ, खै अरुलाई कस्तो लाग्छ कुन्नि मेरो सोर !’ मेरो वाक्य एकाएक खोलिएर गयो… बर्बराएँ म एकतमासले ।

मसङ्ग एउटा डाइरी थियो जसमा मैले आफैं रचेका तीस चालिसवटा गीतहरु थिए । ती मध्ये दश बाह्रवटालाई मैले धुनवद्ध गरिसकेको थिएँ । बजाउन मलाई कुनै साझ-बाझ आउँदैनथ्यो । टेबललाई हातले बजाएर ताल भने अवस्य दिएको थिएँ । त्यति गर्दा मात्र आफुले स्वयंलाई सङ्गीतको पारखी नै ठान्न थालेको थिएँ । त्यसैको भरोसामा यो आँट पनि जुटेको थियो । मैले त्यो डाइरी खोलें । पल्टाएर आफुलाई मनपर्ने एउटा गीत निकालें अनि गुन्गुनाउन थालें- ‘फूल होइन जिन्दगी यो, तिमीले नै टेकिदिएको… माया होइन मुटु मेरो, तिमीले नै कुल्चिदिएको… ॥’

मैले धुन गुन्गुनाउँदै गर्दा योगेनले गिटार टिपेर बजाउन शुरु गरेछन् । म आँखा चिम्लेर गाउँदै गर्दा त्यो गिटारको मेलोडीले मीठो तरङ्गको झञ्कार सृजना गरिसकेको थियो । हामी सङ्गीतको सागरभित्र डुबल्कि मारिसकेका थियौं । साँच्चै सङ्गतको प्रभावले मात्रले नि वास्तविक सङ्गीतको स्वरुप प्रस्फुटित गर्छ कि कसो । योगेन र मेरो यसरी भेट हुनु, सङ्गै गीत गाउनु, यो सङ्गम साँच्चै अलौकिक थियो । पूर्वोजन्मको कुनै सम्बन्ध जस्तो… कुनै सङ्कोचविहिन्… हामी एकाम्मे बनेका थियौं । दुई भिन्दा भिन्दै खोलाको दोभान जस्तो मिलन । मसङ्गसङ्गै उनी पनि गाउँदै थिए कि कसो हाम्रो स्वर पनि एकाकार बनेको झञ्कार त्यहाँ गुञ्जिरहेको थियो । लताले झकझक्याएकोले मैले आँखा खोलें । योगेन मलाई नै हेरिरहेका रहेछन् । म झस्किएँ ।

‘तपाईं राम्रो गाउनुहुँदो रहेछ… कहाँ सिक्नु भयो सङ्गीत ?’ योगेनको विश्वासयुक्त प्रसंशाले म हतप्रभ बनें । केही बोल्न सकिन । आँखा भरिएर आयो । गला अवरुद्ध बन्यो । उनी बोलिरहेका थिए- ‘ गीत पनि राम्रो लेख्नु भएको रहेछ । सङ्गीत पनि उस्तै मीठो !’

हाम्रो घरमा जस्तै योगेनको कोठामा पनि एउटा टेपरिकर्डर रहेछ । उनले त्यसमा मेरो स्वर रिकर्ड गर्ने भए । हामी गाउँदै गर्दा गीत रिकर्ड गर्ने जिम्मा लतालाई दिए । मेरो डाइरीको धुनवद्ध गीत एक पछि अर्को गर्दै तीनवटा गायौं अनि क्रमैले रिकर्ड पनि गर्यौं । उनले नजानेका कतिपय कुरा मैले सिकाएँ, कतिपय उनीबाट सिकें । सङ्गीतमय बित्यो समय । ‘अब घर जाने होइन?’ लताले समयको सुचना दिई ।

हाम्रा आँखाहरु बोलिरहे । स्वरहरु एकोहोरो भए । एउटै लय ताल अनि धुनमा हामी मन मनै सारा संसार विचरण गरिरह्यौं । आनन्दको अनुभव थियो त्यो । त्यो खिनौटो मान्छे पनि प्रतिभावान रहेछ भन्ने मैले जानें । मामाले ठिकै भनेछन्- ‘मन मिल्ने मान्छे ।’ त्यो मान्छे बस्यो मेरो मनमा !

हिंड़ने बेलामा योगेन बोल्दै थिए… ‘मैले तपाईंको आवाज कैद गरेर राखेको छु । बेला मौकामा सुन्दै गर्नेछु । यो क्यासेट छ जसमा मैले केही नयाँ धुनहरु तयार पारेको छु । अनि हाम्रो क्षणिक मिलनको सौगात पनि । सुन्नु होला ।’ उठेर उनी हामीलाई विदा दिने तर्खरमा थिए । अनौठो लाग्यो त्यो पल । कस्तो हतार उनलाई ? अनौपचारिक मिलन पछि त्यस्तै विछोड़को बेला । यता लताले हतार लगाइरहेकी हो । घर फर्कनुलाई गाड़ी पकड़नु पर्छ । ढिलो भयो भने त्यो पनि पाइन्न । बुझेरै म बाहिर निस्कें । हिँड़ने बेलामा मेरो मुखबाट यति आवाज निस्कियो-‘म चिट्ठी लेख्नेछु ।’

हाम्रो गाउँमा फोन लाइन थिएन । मोबाइल फोन आएकै थिएन । कसैलाई फोन गर्नुपर्दा बजारको एस्टिडीबाट गर्नुपर्थ्यो । उता पनि एस्टिडी मै । तसर्थ मनको कुरा पत्राचारद्वारा नै आदान प्रदान गर्नुपर्थ्यो ।

घर पुगेर खाना खाइसक्दा पनि म योगेनसङ्गै गीत गाइरहेकी छु कि जस्तो भैरह्यो । सुतेर पनि उनकै झझल्को आइरह्यो । सपनी पनि उनैको । कस्तो प्रगाड़ स्नेह बस्यो उनीसित या त्यो अथाह प्रेम थियो ! केही जान्न सकिन ।

‘भेट्यौ भाञ्जी योगेन्द्रलाई ?’ मामाले बिहानीपख सोध्नुभयो । ‘तिमी राम्रो गाउँछौ भन्ने जानेर भोली तिमीलाई मेरा साथी राकेशले गान्तोक रेडियो स्टेशनमा अडिसनको निम्ति बोलाएका छन् । त्यहाँका उनी कार्यक्रम निष्पादक हुन् । कुन्नि तिम्रो भाग्य कस्तो छ । पास भयौ भने रेडियोमा गीत गाउन पाउने छ्यौ, बुझ्यौ ? ’ सपनामा पनि नसोचेको कुरा एकाएक सुनाउनु भयो । मामाले के देखे ममा कुन्नि… घरि योगेन्द्र… घरि रेडियो स्टेसन्…अडिसन्… के के …मेरो निम्ति मामा निकै खटिरहेका थिए ।

भोलीपल्ट मामासङ्ग म पुगें सिक्किमको राजधानी गान्तोक । सुन्दर सहर । सुने भन्दा नि ज्यादा सुन्दर । मनोहर । मामाले मलाई सोझै आकाशवाणी गान्तोकको म्युजिक स्टुडियोमा लिएर गए । त्यहाँ राकेश सरसङ्ग भेट भयो । उहाँले मलाई एक पछि अर्को नयाँ पुराना गीतहरु क्रमैले गाउन लाउनु भयो । कतिपय गीत मलाई याद थिएन, कतिको धुन याद भएन, कतिको शब्द । याद भए जति जसो तसो गाइदिएँ । कुनै तैयारी थिएन । त्यो एउटा प्रतियोगिता जस्तै थिएछ । मभन्दा राम्रो स्वर, सुर अनि तालमा गाउने गायक गायिकाहरु थिए त्यहाँ । मैले जित्न सकिन तिनीहरुलाई । म हारें । राकेश सरले अन्तमा सम्झाउँदै भन्नु भयो-‘कोशिश जारी राख्नु… एकदिन अवस्य सफल बन्नेछौ ।’ बाहिर निस्केपछि मामाले अङ्घालो हालेर भनेका थिए –‘तिम्रो गीतको एल्बम म निकालिदिउँला ! सुर्ता नगर ! खुब मन लगाएर सङ्गीतको साधना गर ।’ त्यतिबेला मैले मनमनै अठोट गरेको थिएँ –‘ जुन दिन मेरो पहिलो एल्बम निस्किने छ… प्रथम प्रति यो रेडियो स्टेसनमा ल्याएर बजाउन लाउनेछु… यो मेरो प्रण नै भयो लौ !’

गान्तोकबाट फर्किएको भोलिपल्ट नै म कालेबुङ्ग फर्किएँ । फर्किने बेलामा एकपल्ट योगेन्द्रलाई भेटौं लागेको हो तर सुयोग नै मिलेन । मन खिन्न भयो । घरको बाजामा मैले उनले तयार पारेको गिटारको धुन सुनें… सुनिरहें । कत्ति छिटो ती धुनहरु सङ्गै हामीले गाएको गीत पनि त्यसमा समावेश गर्न भ्याएछन् । अहो ! मेरो आवाज ! साँच्चै मीठो ! अनि कति लयात्मक स्वर योगेन्द्रको ! आहा ! मेरो सृजनाको साकार रुप यो !! मेरो गीत सङ्गीतको ठोस गवाही !!!’ म गर्वले अझ अल्हादित बनें ।

सिक्किमबाट फर्किएको सातादिन पछि मैले योगेन्द्रलाई केही तितामीठा कुराहरु कनिकुथि लेखेर पठाएँ । आफुले केही समय उनीसित बिताएको क्षणको सम्झना गर्दै भाव विभोर बनेको विषय लेखेकी थिएँ । गीत सुनिरहेको… गीत गाइरहेको कुरा समेटेकी थिएँ । साता दिन, पन्द्रह दिन, महिना दिन, सवा महिना,डेड़ महिना, दुई महिना पुगिसक्दा पनि जवाब फर्किएन । पर्खाइ झन लम्बिरह्यो तर कुनै पत्र उताबाट आएन । अन्तमा मैले मेरो मनको सबै कुरा वृतान्त वर्णन गर्दै लतालाई चिट्ठी पठाएँ । लतालाई पत्र पठाएको पन्द्रह दिन नपुग्दै एउटा चिट्ठी मेरो नाममा आयो । त्यो योगेन्द्रको थियो । मन अत्यन्त खुशी थियो । व्यग्रता थियो । लालायित पनि । हतारसाथ खोलेर त्यो पत्र सर्सर्ति पढ़ें । अघिल्लो केही पद हालचाल अनि सञ्चो विसञ्चो विषयको एकदमै लयालु लाग्यो । बिचका केही पद गीत सङ्गीत अनि गायन विषयका थिए । अन्तिममा एकै पद थियो त्यो … जसले मेरो जीवनको सबकुछ लुटिदियो… म शुन्यमा परिणत भएँ एकैचोटि…

‘…तपाईंले लता बहिनीलाई पठाएको चिट्ठी जस्ताको तस्तै उसले मलाई पोस्ट गरेकी थिई । त्यसमा तपाईंले मलाई ‘जीवनभरको साथी’ बनाउने इच्छा जाहेर गर्नुभएको रहेछ । त्यो पढ़ेर म अत्यन्त विचलित बनें साथै दु:खी पनि । मैले सपनामा पनि नसोचेको कुरा… म कसरी स्वीकार्न सक्छु ? प्रेमको नजरले होइन म तपाईंलाई एउटी गुरुको नजरले हेर्नेगर्छु । एउटा गुरु र चेलाको पवित्र सम्बन्धलाई धमिल्याउने तपाईंको विचारलाई म समर्थन गर्नसक्दिन । म तपाईंलाई श्रद्धा गर्छु, इज्जत गर्छु अनि सम्मान पनि । हाम्रो सम्बन्धलाई गलत अर्थले नहेर्नोस । मैले राखेको स्थानदेखि तल नझर्नोस् अनि म माथि चढ़ेर समानन्तर बस्न पनि चाहन्न । तपाईंले मलाई सङ्गीतको चार शब्द… ‘सरगम’ सिकाउनु भएको छ । स्वयंलाई एकपल्ट फर्किएर हेर्नोस् । तपाईंले आफैलाई त्यो उच्चतम स्थानमा पाउनुहुनेछ जुन ठाँउमा राखेर म तपाईंको दिनरात पूजा गरिरहेछु …। सङ्गीतको साधना गरिरहेछु…। … अस्तु ।’

आँखाबाट अबिरल आँसु बगिरह्यो । म भक्कानिरहें…भक्कानिरहें…भक्कानिरहें…। आँसुले लतपत बन्यो त्यो चिट्ठी । केही नबुझिने भए अक्षरहरु । नीलो धमिलो बन्यो पन्ना । हिक्का छुटिरह्यो…पटक पटक । एकलै रोइरहें । रेडियोमा कुन्नि कुन गीत बजिरहेको थियो । जुन बज्थ्यो त्यसैले रुवाउँथ्यो । गीतका हरेक शब्दले रुवाउँथ्यो । गीतका सुमधूर धुनले रुवाउँथ्यो । त्यसै त्यसै माया ममता प्रेम अनि स्नेह बुझिने शब्दले पगाल्थ्यो । कारण अकारण रोइरहें म !

यतिबेला रेडियोमा एउटा गीत बजिरहेको थियो –‘ के सोचें मैले… के भयो ऐले…कसम हाम्रो ………।’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु