गोस्ट राइटर

- राजेन्द्र पराजुली

ठ्याक्कै दस वर्ष भएको छ मैले आफ्नो स्वरूप बदलेको। हुलिया परिवर्तन गरेको। गेरु रङको यो वस्त्र। तिलचामले कपाल र त्यस्तै दाह्रीजुँगा। अब म राजेन्द्र पराजुली कहीँकतै पनि छैन। स्वामी ‘प्रेमराज’ भएको छु। यो दशक लामो अवधिमा मैले कम्तीमा पनि सय ठाउँमा प्रवचन दिइसकेको छु।

मान्छेका भिडअघिल्तिर सुरुका दिनमा बोल्न केही अप्ठ्यारो भए पनि निरन्तर अभ्यास र अध्ययनले मेरो वाचनकला आकर्षक बन्दै गएको छ। ठ्याक्कै भन्न त सक्दिनँ, तर सय हाराहारीको संख्यामा पुग्यो होला मेरा अन्तर्वार्ता छापिएका वा प्रसारित भएका पनि। एक जना अनुयायीले ती सबै सामग्री जम्मा गरेर राखिदिएकी छु भनेकी छन्। पछि पुस्तक बनाउन हुन्छ रे!

चाहे प्रवचन होस् वा अन्तर्वार्ता, मैले बोल्ने विषय भने समान छ, निश्चित छ। ‘चरित्र र अध्यात्म’ मेरो विषय बनेको छ। यी दुई सन्दर्भलाई कहिलेकाहीँ विज्ञानसँग पनि जोड्ने गरेको छु। विज्ञान विषयमा त मैले झन्डै अढाई दशकअघि नै स्नातकोत्तर गरेकै हुँ। त्यसैले यस विषयमा मेरो गहिरो अभिरुचि छ। मेरो परिवार चाहन्थ्यो हेर्न, म डाक्टर वा इन्जिनियर बनेको। त्यसैले मलाई विज्ञान विषय पढाइयो। तर म बनेँ यस्तो! हरेक घटनाका कारण हुन्छन्। म यो बाटोमा लाग्नुको पनि कारण त छ नै।

मेरा अनुयायी बढेका छन्, मैले प्रवचन दिन थालेपछि कोही पनि एक शब्द बोल्दैनन्। अर्थात् म एउटा सफल स्वामी बनिसकेको छु। जीवनमा मैले जुन बाटो समातेँ, त्यसमा म सफल भएको छु। जीवनको बाटो छनोटमा मेरो कुनै गुनासो छैन। तर केही दिनदेखि एउटा दुःखले मलाई लखेटिरहेको छ। यो कस्तो दुःख हो, जुन कसैलाई भन्न पनि सक्दिनँ म। जब म स्वामी प्रेमराज बनेर हिँड्न थालेँ, मेरो पुरानो जीवनलाई चटक्कै बिर्सने प्रयासमा छु। कतिपय सवालमा म सफल पनि भएको छु, केही यस्ता विषयसँग मेरो जीवनको कुनै कालखण्ड जोडियो, त्यसलाई मैले चाहेर पनि भुल्न सकेको छैन। किशोर वयको त्यो अँध्यारो कालखण्ड थियो। मान्छेलाई अँध्यारोको यात्राले अझ बढी सचेत बनाउँछ कि क्या हो! मेरो बुझाइले त्यसै भन्छ।

एकातिर म ‘चरित्र र अध्यात्म’बारे लोकप्रिय प्रवचन दिने स्वामीका रूपमा परिचित हुन थालेको छु, अर्कोतिर एक–दुइटा विगतका घटनाले चिन्तित पारिरहन्छन्। त्यही चिन्तामा थप मलजल गरिरहेछ केही दिनदेखि एउटा युवक मेरो पछि लागेर।

आज मैले कतै पनि समय दिएको छैन। त्यही युवक आउँछु भनेको छ मलाई भेट्न। एउटा चल्तीको टेलिभिजनले लामो अन्तर्वार्ताका निम्ति समय मागेको थियो। पाँच–सात भाग नै कार्यक्रम बनाउने भन्दै थियो। सुरुमा त ‘हुन्छ’ भनेको थिएँ, सोही कारण प्रवचनका लागि समय दिएको थिइनँ। एक जना खानदानी राणाले घरमा बोलाएको थियो प्रवचनका लागि। केही दिनपछि आउँछु भनेर टारिदिएको थिएँ।

राणा, शाह वा अन्य उपल्लो वर्गमा गनिएका मान्छेका घरमा गएर प्रवचन दिनुको मज्जा नै बेग्लै लाग्छ मलाई। मलाई आफ्नो घरमा बोलाएर प्रवचन दिन लगाउँदा धर्म हुन्छ भन्ने तिनको ठम्याइ छ। प्रमुख कुरा त तिनले मेरा कुरा राम्ररी ध्यान दिएर सुन्छन्। अर्को कुरा अध्यात्मबारे तिनको कुनै प्रश्न हुँदैन, प्रश्न हुन्छ त केवल चरित्रसँग जोडिएका। प्रेम, यौन, विवाह, डिभोर्सजस्ता सवालमा तिनको गहिरो अभिरुचि रहन्छ। केही महिनाअघि एक जना राणाको घरमा गएको थिएँ। परिवारको एउटा छोरो बहुस्त्रीगामी स्वभावको रहेछ। सोही कर्मकै कारण धन पनि निकै सखाप पारेको रहेछ।

– ‘स्वामीजी! यदि मैले कसैलाई रकम तिरेर आफ्नो यौनतिर्खा मेटाएँ भने त्यो पनि बलात्कार हुन्छ?’

– ‘यदि मैले कुनै केटीसँग गम्भीर प्रेम गरेर यौनप्यास बुझाएँ भने त्यो बलात्कार हुन्छ?’

– ‘कुनै गरिब केटीलाई मैले आर्थिक सहयोग गरेर जीवन बाँच्न सहयोग गरेर बदलामा यौनसम्पर्क राख्दा पनि पाप लाग्छ?’

– ‘यदि मेरो इच्छा नहुँदानहुँदै पनि जबर्जस्ती कुनै केटीले मसँग शारीरिक सम्पर्क राखी भने त्योचाहिँ मेरो बलात्कार हुन्छ कि हुँदैन?’

ऊसँग अझै थुप्रै प्रश्न थिए सायद, सोफामा ऊ बस्न चाहिरहेको थिएन। उसकी दिदीले समातेर सोफामा उसलाई बसाली र ‘चुप’ भनी। मैले सबै प्रश्नको उत्तर ‘हुँदैन र लाग्दैन’ दिएँ, अन्तिमबाहेक। अन्तिम प्रश्नको उत्तर त ‘हुन्छ’ दिएको थिएँ।

उसकी दिदीसँग पनि थुप्रै प्रश्न थिए भन्ने कुरा मैले उनको अनुहारमा पढेको थिएँ। तर उनी त्यसैत्यसै शिथिल भएर सोफामा थुचुक्क बसिन्। दिदी पनि सम्पन्न परिवारमा बिहा गरेर गएकी थिइन्। मेरो प्रवचन सुन्न उनी माइतीमा आउने गर्थिन्। उनले पनि मलाई घरमा आउने निमन्त्रण दिइसकेकी छन्। समय मिलाउन बाँकी छ। दुई सन्तानकी आमा उनी निकै सुन्दर छिन्। उनले दाँत देखाएर हाँसेको मैले देखेको छैन। यस्तो लाग्थ्यो, तिनको मनभित्र ठूलो ज्वारभाटा उर्लिरहेको छ। उनी त्यो ज्वारभाटा शान्त पार्न चाहन्छिन्। तर त्यो अप्रकट छ, भित्रभित्रै गुम्सिरहेको। म तिनलाई कसैले नदेख्ने गरी हेर्थें। उनको व्यक्तित्व निकै आकर्षक थियो, त्यसैले त म स्वामी भइसकेको मान्छे पनि उनलाई नहेरी रहन सक्दैनथेँ।

आमाचाहिँले धार्मिक विषयमा बोल्न मलाई अनुरोध गरिन्। ‘कृष्णचरित्रबारे बताउनुस् न स्वामीजी,’ उनले अलि उत्साही हुँदै भनिन्। र, पुलुक्क आफ्नो छोरातिर हेरिन्।

उनी आफ्नो छोराको स्वभावलाई लिएर कहियै कुनै प्रश्न गर्दैन थिइन्। उदाहरणमा कृष्णका गोपिनीको संख्यालाई लिन्थिन्। र, भन्थिन्, ‘मेरो छोराले त्यतिविधि केटीसँग सम्पर्क त राखेको छैन नि!’ आमाको प्रोत्साहनले छोरा गद्गद् थियो। आमालाई अंकमाल गर्थ्यो र गालामा म्वाइँ खान्थ्यो लाडिँदै।

यस्ता थुप्रै घरपरिवारको म प्रिय प्रवचक स्वामी बनिसकेको छु। खुल्ला चौरमा त्रिपाल टाँगेर दिने प्रवचनभन्दा मलाई यही सानो समूहमा आफ्ना धारणा राख्न मज्जा लाग्छ।

त्यो युवकले केही समयअघि कोटेश्वर तीनकुनेको खुल्ला चौरमा मैले दिएको प्रवचन सुनेको रहेछ। ‘म तपाईंसँग प्रभावित छु, स्वामीजी। तपाईंको बोल्ने शैली, विज्ञानमा आधारित तर्कले मलाई आकर्षित गरेको छ। तपाईंका प्रेमसम्बन्धी प्रवचन मलाई ज्यादा मन पर्छ। जब तपाईं प्रेमबारे बोल्न थाल्नुहुन्छ, निकै भावुक बन्नुहुन्छ। मनभित्रबाट आवाज निस्कन्छ तपाईंको। ज्यादा आकर्षित म तपाईंको आवाजबाट भएको छु। तपाईंको आवाजमा जादु छ, सायद। त्यो आवाजले प्रेमका बारेमा कथा जोडिरहँदा मलाई तपाईं साँच्चै नै स्वामी लाग्छ। मलाई भगवान्का चरित्रसँग कुनै लेनादेना छैन, म मान्छेको चरित्रबारे अध्ययन गर्दै आएको छु। म एउटा ‘गोस्ट राइटर’ हुँ, अर्काको नाममा लेख्ने लेखक। आजसम्म मैले २० जनाको आत्मकथा लेखिदिइसकेको छु। तिनले मलाई लेखिदिएबापत पैसा दिन्छन्। बजारमा चलेको गोस्ट राइटरमध्ये म सबैभन्दा महँगो हुँ। मैले लेखिदिएका सबै पुस्तकले बजार लिएका छन्। प्रकाशकहरू मैले लेखेको पुस्तक छाप्न तँछाडमछाड गर्छन्। अब म तपाईंको आत्मकथा लेख्न चाहन्छु। तर म त्यसबापत तपाईंसँग एक पैसा लिने छैन। सित्तैमा लेखिदिन्छु र आफंै प्रकाशन पनि गर्छु। बिक्रीबाट हुने नाफाको आधा हिस्सा तपाईंलाई दिनेछु। तर तपाईंको आत्मकथाचाहिँ चरित्रमै केन्द्रित हुनुपर्नेछ। तपाईंको चरित्र अर्थात् तपाईंको विगत। तपाईंको प्रेम, विपरीत लिंगीसँगको सम्बन्ध।’

युवकको कुराले म झसंग भएको छु। ऊ मसँग मेरो विगत सुन्न चाहन्छ। चरित्र र अध्यात्मबारे प्रवचन दिने कार्यमा ख्याति कमाएको स्वामी प्रेमराजको चरित्र पुस्तकमा उतारेर पैसा कमाउन चाहन्छ त्यो युवक। पुस्तक ‘हटकेक’ हुने उसको अनुमान छ।

तर त्यो पुस्तक निस्क्यो भने मेरो हालत के होला! म अवाक् छु। त्यो युवकको प्रस्ताव राख्ने शैली कति प्रभावकारी! मैले सोही बखत त्यसलाई ‘हुन्न’ भन्न किन सकिनँ? चुपचाप बसेका कारणलाई उसले ‘स्वीकृति’का रूपमा बुझेको छ, सायद।

त्यो युवकले मसँग भेट्न खोजेको लामो समय भइसक्यो। तर मैले टार्दै आएको छु। आज उसलाई टार्न मलाई गाह्रो भइरहेको छ। मलाई त्यसले यसरी ‘कन्भिन्स’ गर्योै कि, त्यहाँ ‘नाइँ’ भन्न मुस्किल थियो।

त्यो युवकले आज नभेटी हुन्न भनेकाले उसैलाई समय दिएँ। अब त्यो युवक मेरो आधुनिक कुटीमा आउन जम्माजम्मी दुई घन्टा बाँकी छ।

०००

छपाइ पनि कत्ति राम्रो, असाध्यै खुलेको। ठ्याम्मै पाँच सय पृष्ठ भएछ। हातमा लिँदा पनि मज्जा आउने आकार। पुस्तकको आवरणमा मेरो तस्बिर छ। रंगीन त्यो तस्बिर निकै आकर्षक देखिएको छ। पुस्तकको पहिलो प्रति उसले मलाई नै ल्याएर दिँदै भन्यो, ‘अब हेर्नुस् स्वामीजी मेरो कमाल! नेपालको पुस्तक व्यापार मैलेजति कसले बुझेको होला र! यो पुस्तक एकै सातामा दस हजार प्रति बिक्री हुनेछ। आजै म यसलाई बजारमा लैजानेछु।’ यति भनेर ऊ बाहिरियो।

म पुस्तकका पृष्ठहरू पल्टाउन थालेँ।

मेरा आँखा मेरी सबैभन्दा पछिल्लो पूर्व–प्रेमिकासँगको सम्बन्धबारे लेखिएको अनुच्छेदमा पर्योो।

पाँच वर्षसम्म चलेको प्रेम प्रसंगको बयान थियो त्यहाँ। उनीसँग मेरो भेट भएको दोस्रो दिनदेखि नै हामीबीच यौनसम्पर्क हुन थालेको हो। उनी एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर खान्थिन्। आम्दानी राम्रो थियो। मलाई जागिर नखान र केवल उनलाई प्रेममात्र गरिरहन आग्रह गर्थिन् उनी। उनको भनाइ मैले मानिदिएँ। नमान्नु पनि किन? खल्तीभरि पैसा, घुमफिर गर्दै, मनोरन्जनसहितको जिन्दगी बाँच्न पाउँदा कसलाई काम गर्न मन लाग्ला र! मलाई पनि लागेन। प्रेमले तीव्र गति समातिरहेको थियो। अवरोधरहित त्यो प्रेम र त्यसले सृजना गर्ने यौन क्रियाकलाप! मलाई गहिरो पोखरीमा पौडी खेलिरहेको महसुस भइरहेको थियो।

अचानक हामीबीच विवाद हुन थाल्यो। पहिलो विवाद मैले उनलाई सम्झाएर टुंग्याएँ। दोस्रोपटक पनि सोही सन्दर्भमा विवाद उत्पन्न भयो। विवादको विषय थियो— ‘एबोर्सन’।

म एबोर्सनको पक्षमा थिएँ, उनी विपक्षमा।

पहिलोपटक त मैले जबर्जस्ती नै एबोर्सन गराउन लगाएको थिएँ। ट्याक्सी राखेर सहरकी एक जना प्रख्यात महिला डाक्टरको क्लिनिकमा लगेको थिएँ। उनी बच्चा जन्माउन चाहन्थिन्। मलाई त्यो स्वीकार्य थिएन।

दोस्रोपटक पनि सोही झन्झट आइलाग्यो। झन्झट दुवै जनाको असावधानीका कारण आइलागेको थियो। ‘तिमीले मसँग बिहा नै गर्नुपर्छ भन्ने छैन, केवल प्रेम देऊ जीवनभर। म बच्चा जन्माउँछु’ उनी भन्थिन्। तर म त्यो चाहन्नथेँ। प्रेम त म पनि गर्थें उनीसँग। मलाई औधी मनपर्थिन् उनी। त्यसअघि गरेका केही जनासँगको प्रेममा सायद ‘प्रेम’ थिएन, बासनामात्रै थियो। यो प्रेम पृथक थियो। यसमा प्रेमका सारा तŒव थिए। म तृप्त थिएँ र उनी पनि।

मैले धेरैपटक उनलाई एबोर्सनका निम्ति अनुरोध गरेँ। उनले मान्दै मानिनन्। दिन बित्दै गयो। एबोर्सन गर्न नहुने अवस्थामा उनी पुगिन्।

त्यसपछि टुट्यो उनको र मेरो प्रेम। हाम्रो भेट हुन छाड्यो। केही वर्षपछि मैले सुनेँ— उनी बच्चासहित अमेरिकामा बस्दै छिन्।

त्यसपछि मैले कहिल्यै कुनै केटीसँग शारीरिक सम्बन्ध राखिनँ। केवल मित्रतामा सीमित राख्न थालेँ विपरीत लिंगीसँगको सम्बन्धलाई। क्रमशः मलाई जिन्दगीसँग विमोह पैदा हुन थाल्यो। र, नै यो स्वामीको रूपमा आफूलाई अवतरण गराएको हुँ।

म पुस्तक पढिरहेको थिएँ। कसैले मेरो झ्यालमा ढुंगाले हान्यो। सिसाबाट ‘झर्यााम्म’ आवाज आयो— फुट्यो। मैले झ्यालमा गएर हेरेँ। एक हुल मान्छे मेराविरुद्ध नारा लगाइरहेका थिए। मलाई ढोँगी, चोर, चरित्रहीन, स्त्रीलम्पट, फुँडो भनिरहेका थिए, ती मान्छे। तिनले हातमा ढुंगा बोकेका थिए। ती म भएतिरै आइरहेका थिए। तीमध्ये अधिकांश मेरो प्रवचनका प्रशंसक थिए। केही दिनअघिसम्म मेरो गोडा नै छुन आउने मान्छे आज मेराविरुद्ध नारा लगाइरहेका थिए। झ्यालतर्फ ढुंगा सोझ्याइरहेका थिए।

झर्यानम्म! मेरो कोठाको सबैभन्दा ठूलो झ्यालको सिसामा कसैले ढुंगाले हान्यो। बाहिर ती मान्छेहरू मलाई कालोमोसो दलेर बजार घुमाउने कुरा गर्दै थिए। झ्याल चढेर एउटा केटा मेरो कोठामा पस्यो। र, मेरो गेरु वस्त्र तान्न थाल्यो। म निर्वस्त्र भएँ, त्यसको प्रतिकार गर्न म सकिरहेको थिइनँ। मेरा हातगोडा निश्चल भएका थिए। मेरो टाउकामा पछाडिबाट कसैले ढुंगाले हान्यो। रगत बग्न थाल्यो, त्यसलाई रोक्न खोजेँ मैले। हात बेस्सरी झ्यालको ह्यान्डिलमा गएर ठोक्किएछ।

०००

मेरो शरीरमा पसिना आइरहेको थियो। श्वासप्रश्वासको गति तेज भएको थियो। जाडो महिनामा पनि म पसिनाले निथु्रक्क थिएँ। मैले सिरक हटाएँ, भित्ताको घडी हेरेँ। युवक आउने समय भइसकेको थियो। मेरा हातगोडा कमजोर र शिथिल बनेका थिए। दिउँसै देखिएको सपनाले मलाई तर्साइरहेको थियो। त्यसले मलाई लखेटिरहेको थियो।

‘त्यो सपना थियो कि पूर्वचेतावनी?’ मैले आफैसँग प्रश्न सोधेँ। मनले त्यसलाई सपना मान्दै मानेन।

कसैले ढोका ढकढक्यायो। पक्कै पनि त्यो युवक आएको हुनुपर्छ। मैले झ्यालको एक कुनाबाट चियाएर हेरेँ।

गोस्ट राइटर हातमा टेपरेकर्डर र क्यामेरा बोकेर उभिइरहेको थियो।

मलाई ढोका खोल्न मन लागेन। झ्याल अलिकति खोलेर मैले कोठाभित्रबाटै उसलाई भनिदिएँ, ‘अहिले होइन भाइ, केही वर्षपछि लेखौंला मेरो आत्मकथा!’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु