हजुर आमाहरुसँगको अलास्का यात्राको स्मरण !

- डिग बहादुर तामाङ्ग

अमेरिकाको अलास्का राज्यको आफ्नै प्रकारका महिमा छन् । त्यसमाथि पनि ७२ लाख डलर तिरेर सोभियतसंघसंग, १८६८ मा अमेरिकाले राष्ट्र्पति
Andrew Johnson को पालामा खरिद गरेको । जस्को भूभाग अकल्पनीय छन् ७,३८,४३२ स्व्यायर माइल अथवा नेपालको भूभाग भन्दा १३ गुना फराकिलो र ठूलो । यो राज्य अलास्लाई अमेरिकामा “Last Frontier’’ भन्ने चलन पनि छ्, किन भने झण्डै अर्कै भूभाग तिर पर्ने हुनाले पनि होला ।

अमेरिकाको राजधानी वासींगटन डिसीबाट ४,२६६ माइल टाढा रहेको अलास्काको अंकोरेज Anchorage भन्ने शहरसम्म, सिधै हवाइ जाहजमा सवार मिल्यो भने पनि नौं घण्टाको उडान समय लाग्नेरहेछ । सम्पूर्ण अलास्काको कूल जनसंख्या अमेरिकाको तथ्यांक अनुसार सात लाख छतिस हजार सात सय बहतर जनाको बस्ती रहेछ, काठमाडौंको हालको जनसंख्या भन्दा पनि कम । सालाखाला बार्षिक आम्दानी प्रति व्यक्ति तीस हजार डलर आय रहेछ । अब मलाई ईईर्ष्या लाग्नु पनि स्वभाविकै थियो, कहाँको तिन सय डलर हामी नेपालीको अम्दानी कहाँको तीस हजार डलर बार्षिक आम्दानी ?!

मलाई पनि अमेरिका आएदेखि नै कस्तो होला अलास्का भन्ने लागिरहेकै थियो । म आएको बेलामा धेरै नेपालीहरू नै थिएनन् तै पनि सोलोखुम्बोकी एउटी शेर्पेनी बहिनी विवाह गरेर त्यहाँ पुग्नु भएको रहेिछन । काम विशेषले फोनमा कुरा हुँदा, “आउनु दाइ यहाँ त कोही पनि नेपाली पसेको थाहा छैन भनेकी थिइन १९८१ सालतिर । त्यसपछि, नेपालबाट हाती र नेपाली माहुते पनि साथै आएको समाचारहरुले मलाई मनमा एक पटक त्यहाँ जान पाए हुन्थ्यो जस्तो लागेको थियो । त्यहाँ जाने सपना थियो तर जान पाँउछुजस्तो लागेको थिएन, आफू बसेको ठाँउबाट अमेरिकाको राजधानी वासींगटन डीसीबाट धेरै टाढा भएकोले पनि । हवाई उड़ान नै १२ घण्टा कार्चिलो पनि काम हुने कुरै भएन ।

तैपनि मलाई एकपटक जसरी भए पनि अलास्का एक पटक घुम्ने रहर जागेर आएको थियो । समय र परिस्थितीले साथ दिइ रहेको थिएन ।


संयोगले भनौं कामको सिलसिलामा विश्व प्रसिद्ध विद्वान डा लेैरि पीटरस जो लाइसेन्स प्राप्त मनोचकित्सक तथा मनोविज्ञानबारे नेपाली, मंगोलियन झाँक्रि सम्बन्धी अध्यपानको कामले नेपाल गइ रहन हुन्थ्याो। करिब तिस बत्तिस जना पि एच डि का विद्यार्थीहरु लिएर । उहाँले लेखेको झाँक्रि सम्बन्धी किताब पनि मैले पढेको थिएँ ।


एक दिन उहाँले तामांग भाषामा” ऐ अलास्कारी निपा सेम मुला” ( नेपाली भाषामा “ ए तामांग सर अलास्का जाने मन छ ?) भनेर फोनबाट सोध्नु भयो । मैले जाने त मन थियो, तर खर्च गर्ने बजेट मसंग छैन ल्यारी भनेपछि अंग्रेजीमा “ डक्टर ज्योति विल कल यू” भनेर फोनको सम्बाद समाप्त भयो । मलाई केहि थाह थिएन, को हुन डक्टर ज्योति नेपाली हुन वा भारातीय ? केहि मेसो पाएको थिएन । अप्रिल महिनाको दोस्रो हप्ता भएको थियो, अचानक मेरो मोबाइलको घण्टी बज्यो मैले हेल्लो के मात्र भनें उताबाट केटिको आवाजमा ’आर यु डिग ?” भनेको सुनें तर मैले यस भन्नु नपाउँदै उनले भनिन्-”हामीहरुको यसपाली अलास्कामा संसार भरिका हजुर आमाहरुको परिषदले अखण्ड जग्गेको गर्ने कार्यक्रम हुँदै छ, तपाईको सहभागितको खाँचो परेकोले तपाईलाई निम्तो दिन मैले फोन गरेकी हुँ, “म सेन्टर फर सेक्क्रट स्टडीको डईरेक्टर हुँ, तपाईंको टिकट र होटेलको व्यवस्था हामीले गर्ने छौं, यसबारेमा हाम्रो संस्थाकी डा. डोरिन हन्टरले तपाईको सवारी चालाक अनुमतिपत्रको विवरण लिनेछिन ।” मैले सधन्यवाद भनेर फोन राखिदिएं ।


केहि समयपछि डा. डोरिनले फोनबाट सम्पूर्ण विवरण मागिन र मैले दिएँ । एकै छिनमा विद्युतीय पत्र मार्फत मेरो वासींगटन डीसीबाट डेन्भर, कोलोराडो, कोलोराडोबाट स्याटल, त्यसपछि मात्रै अन्कोरेज शहर पुग्ने ल्फाइटको टिकट र अन्कोरेज शहरको म्यारियट होटेलको २२ वौं तल्ल खोठा नं. २२६०, ८२०, ७ स्ट्र्टि मा बस्ने व्यवस्था भएको जानकारी आयो । डाउन टाउन अथवा हाम्रा देशका असन, इद्रचोकजस्तै मध्य शहरभित्र पर्ने गाँउमा ।


ल्यारी पिटरसलाई धन्यवाद दिदैं मैले निम्तो सहर्ष स्वीकार गरेर मइ महिनाको १५ तारिखको २०११ दिन विहान ९ बजेतिर कान्छी छोरी (त्यसबेलाको उमेर १७ बर्ष) ले हाँकेको गाडि चढेर रेगन नेश्नल विमाघटमा ९।३० बजेतिर ओर्लिएं, चेक जाँच गरेर एक बजे मात्रै फ्रन्टिएर एयरलाइन्सको उडान नम्बर ७७७३ बाट डेन्भरको लागि जाहज उड्यो ।


जाहाज भर्जिनिया, ओहायो, इन्डियना मिसिसिपी नेब्रस्का हुदैं दिनको ४ बजे तिर ओर्लियो डेन्भर अन्तरराष्ट्र्यि विमान स्थलमा । मैले अर्को जाहज साँझ ७ बजे मात्रै पाउने र त्यसैमा उड्नु थियो । अन्कोरेजको लागि पर्खि रहनुभन्दा, यसो भाडाको गाडी लिएर एक पटक बोल्डोर तिर घुम्न जाने किजस्तो पनि लाग्यो जो कोहिलाई पनि कोलोराडोको डेन्भर शहर पुग्दा नेपालको राजधानी काठमाडौंजस्तै लाग्ने र त्यस्तै सौन्दर्यले भरेको छ, चारैतिर पानोरामिक पहाडरुले घेरिएको हिमपात भएको पर्वतहरु विचभागमा शहर पर्छ जस्को उच्चाई ५२०० फिट रहेको छ समुद्र सतहदेखि । जे होस भनेर फेरि मनलाई अन्तैतिर लगाएर एयरपोर्टबाट बाहिर निस्केर टिपीहरु (रेड डिन्डियनहरुको बस्ने पालहरुको जस्लाई उनिहरु आफनो घरनै सम्झिन्छन्) थुप्रोतिर तस्बिर खिच्न लागियो । केहि समयपछि फर्केर आएर झोलासंगै लगिएको पत्रिकाहरु हेरेर समयलाई बिताइयो ।


साँझको खाना स्यान्वेच (बेरिएका रोटीमा मासु सागपात राखेर बेच्ने रोटी) र एक बोतल पानी पिएर गेड नं. ४९ तिर लागें । पहिलेकोभन्द अलि ठूलो जाहज र हस्याँइलो पाराको दुइटी परिचारिकाहरुले स्वागत गर्दै सिटतिर बस्ने आदेश दिइन, मेरो सिट नं. थियो ८ ए । करिब ७ घण्टाको उडान पछि स्थानीय समय अनुसार ११ बजे अन्कोरजको स्टिभिन अन्कोरेच अन्तरराष्ट्र्यि विमान स्थलमा अवतरणको क्रममा हवाई परिचारिकाले माइकबाट उद्घोषण गरिन, तपाईहरुको दायाँपट्टि बिशाल हिम नदी छन् चारैतिर,नङ्गो हिम चुलीहरुले घेरिएको दक्षिणी समुद्रको खाडीमा प्रतिविम्वीत देखिन्थ्यो अन्कोरज शहर ।


जहाज ओरालियो मध्यराततिर तर आकाशमा भने टन्टलपुर घाम लागि रहेको थियो । अचम्म लाग्ने नै भयो, मध्यरातमा पनि घाम, तर मैले ९ कक्षामा शरणहरि श्रेष्ठद्वारा लेखिएको संसारको भूगोलमा पढेको थिएँ-उत्तरी र दक्षणि ध्रुबमा ६ महिना दिन र छ महिना रात हुन्छ । मध्यरातमा चारैतिर मनमोहक हिम श्रंखलाहरुले घेरिएको दक्षिणी भागमा बे आफ अन्कोरेजको रिल्फक्सनले टलक्क टल्काएको अन्कोरेज सहर कतै दुलही झै सिंगारेर बैंसको मुस्कान छरि रहेको जस्तो भान हुन्थ्यो मनमा ।


आज साक्षत देखेकोले मनमा एक प्रकारको आनन्दको अनुभूति लिएर, आफ्नो पोको पन्तुरा सामान लिने ठाउँमा पुगेको मात्र “ हेलो डिग दिस इज डोरिन, एण्ड सि इज लिन्ली हल फ्रम न्यूनिल्याड” भनेर परिचय दिनु भयो आयोजकको तर्फबाट मलाई लिन आउनु भएकी डा. डोरिनले । मैले नमस्ते तथा Thank you so very much for coming ”तपाईलाई धेरै धन्यवाद मलाई लिन आउनु भएकोमा” भनें । तर मेरो सामान डिसीमै छुटेकोले भोलि अर्को उडानमात्रै आउने भयो भनेर एयरलाइन्सका कर्मचारीले भने र एउटा सानो पोका दिइयो । डोरिनले गाडी हाँकिन, म अगाडिको सिटमा बसें, लिन्ली हाल पछाडिको सिटमा बसिन, र कुरा गर्दा गर्दै तस्तै सात माइल जति गाडिको सवरपछि हामीहरु होटेलको लबिमा पुगियो । त्यहाँ बडेमानको ग्रिजिली भालूको भिमकाय टफि ““Grizzly bear’s life Tuffy” साँच्चिकै हो कि जस्तो देखिन्थ्यो, म झसंग भएँ ।


उहाँहरुले खाना मेरो लागि छुट्याएर खोठामा लगेर राख्न भएको रहेछ । कार्य तालिक दिएर, मई १६ तारिखमा बिहानको खाना खाने हलको नाम दिएर गाइन् । भोलिपल्ट बिहानी पाखा पत्ता लाउन गाह्रो भएको थियो, स्थानीय समय अनसार रातको १२ बजिसकेको थियो । न्यूयोर्क समयभन्दा चार घण्टा ढिलो हुँदो रहेछ अन्कोरजको समय ।


बिहान छ बजे नै नेपालबाट आउनु भएकी हजुर आमा श्रीमती बुद्ध मायाँ तामांगको कोठा ढक्ढ्याउन पुगें । किनकि उहाँलाई लिएर ब्रेकफष्ट ख्वाउने स्थानमा जानु पर्ने मेरो जिम्मेबारी थियो । “माम फ्या फुल्ची” ढोग गरें आमा । उहाँले मुसुक्क हाँसेर “घैमा दोखाची आले आइ” कहिले आइ पुग्यो भाई भन्नु भयो ? मैले विनम्रपूर्वक हिजो राती ११ बजे आइ पुगेको भनें, हामीहरु १९ ताल्लाबाट दुई तल्लाको लिप्ट(विद्युतीय भर्याङग) को लागि बटम थिचेपछि सररर तल ओर्लियो । त्यहाँ संसारभरिबाट आएका हुजुर आमाहरुको निकै भिड देखिन्थ्यो ।


सबैभन्दा पहिले मैले र नेपाली आमाले खादा दिएर ओरिगनबाट आउन भएकी ८८ बर्षकी Alex Baker Piligrim अविवादन गरेपछि, उहाँले सबैजनासँग परिचय गराई दिनुभो । त्यही क्रममा युकान क्षेत्र तथा अंकोरजमा बसोबास गर्ने आदीवासी जनजातीहरु मध्ये युपिकजाति अथवा स्किमोहरुको टाइबल डक्टर Rita Pitka Blumenstein परिचय क्रममा आइस ल्यण्ड, ग्रिल्याण्ड, सुइडेन बाट इत्यादि देशका प्रतितिधिहरुसँग परिचय भयो । विहानीको नास्तलाई प्रार्थना गरेर मात्रा खाने चलन रहेछ । नेपाली आमाले प्रार्थना शुरु गर्नु भयो “ तेतिसकाटी देवदेवाताहरु हामी सबैलाई रक्ष गरिदेउ” भनिन् र नास्त गर्ने क्रममा विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँग पनि परिचय भयो । डा. रीता को निमन्त्रणमा भएकोले उहाँलाई त झन विशेष सम्मान गरेर नै हाम्रो परिचय दिनु भो । करिब ७८ बर्षकी मुख र अनुहार चाउरी परेको, हस्याइलो स्वभावकि रहेछन उनी । मैले शुभ प्रभात भन्ने बितिकै उनले भनिन् “तिमी त हाम्रै मानिसहरुमध्येको एकजस्तो लाग्यो मलाई त” । उहाँकी सहयोगी प्रोफेसर मेरि मेड त झन हाम्रो गाँउकी कोइराला बोटकी आम्थेबा जस्ती देखिन्थी (हाम्री ठूली आमा जस्तै) देखिन्थी । अन्कोरेज विश्वविद्यालयमा उहाँले पढाउने काम गराउँदो रहेछ ।


करिब ९ बजे तिर, कसैले धूपौरोमा सल्लको खोटोको धूपा हालेर, कसैले चिलको प्वाँखको हाते पंख हम्काउदै, कसैले एकपाखे ढ्याँग्रो बजाउदे करिब तिन सयजतिको हुलको ताँती निस्के । होटेलबाट जग्गे करिब १० मिनेटको हिडाइमा पुग्ने रहेछ । चारैतिर तारको बार एउटा ढोका प्रवेशको लागि बनाइएको रहेछ । ढोकाको दाँया र बाँयातिर धुपौरोमा धूपि र सेच नामक धूप बालेर सबै आगन्तुकहरुर्लाइ पूरिफाई गरेर मात्र अथवा (सुद्ध बनाएर मात्रै) जान दिने चलन रहेछ । सबैजनालाई बस्ने मेच राखिएको थियो चारैतिर । बिचमा जग्गेको आगो दनदनी बलेको थियो । संसारभरिका हजुर आमाहरुले जग्गे घुमेर मात्रै आशन ग्रहण गर्ने चलन रहेछ । सबैजना बसेपछि, उद्घोषकले भने “अब तपाईहरुलाई स्वागत हाम्रा जनजाति भजनबाट हुन्छ।”


सिलमाछाको भुँडिबाट बनाइएको ढयाँग्रो बजाएर “हे नान हे नान हे” भनेर स्क्यूमा भाषामा भजन पछि मात्रै रोलक्रम अनुसार पूजा गर्न पाउने रहेछ ।
मोन्टानाकी हजुर आमा मार्गरेट बहाम र साएन जातकी जनजातिबाट पूजा शुरु गर्न संस्थानकी हजुर आमा आक्नास बेगर पिलिग्रीमबाट आदेश भएपछि उनले आफ्नो पोल्टबाट चिलको प्वाँखको पंखा निकालीन, झोलाबाट कूशको बाटेको एक हात जति लामो दाम्लो झिकिन्, लामो सुर्तीको पातलाई कागजले बेरिन । उनैको भाषमा के जाति के जाति मन्त्र उच्चारण गरिन् , सुर्तिको बिंडी सल्काउँदै आकातिर हेरिन् । पहिलो धुँवाको मुस्लो आकाशतिर पठाइन्, दोस्रो जमिनमा तेस्रो मुस्लो आफ्नै जिउको वरिपरि फुकिन । एक सर्को आफूले नै तानिन् त्यसपछि आफ्नी छोरिलाई दिइन् । यसै प्रकारको विधि अनुसार सबैको पालो सकियो । जब नेपाली झाँक्रिको पालो आयो, ढँग्ग्रो बजाएर फलाक्न थालिन । नेपाली हजुर आमा तेतिसकोटी देविदेवता, रामा लक्ष्माण वीर हनुमान, यस गाउँका शिमेभुमे नाग नागिनी भागे पछि उनी पनि काँम्न थालिन । संसार भरिका मानिसहरु तिन छक परेर रमिता हेर्नतिर लागे । कोहि आकाशतिर हेरेर प्रार्थना गर्न थाले, म छेवैमा बसेर यो सबै हेरि रहेको थिएँ । जब आमाले कलसको पानी सबैतिर अभिशेष तवरले छर्किन करिब २० जनाभन्दा बढि लोग्ने मानिस स्वास्नी मानिसहरु काम्न थाले, त्यो दृष्य देख्दा मलाई लाग्यो “मास हिस्ट्रिया” पो भयो कि जस्तो लाग्यो । पुन सेतो चामाल छर्के छि अधिसम्म काम्ने मानिसहरुले भन्न थाले ”आमा ह्याज ग्रेट पाउर,”अथवा आमासंग शक्ति छ ।


खाना पिनाको व्यवस्था यस्तो थियो -
पञ्चभूत तत्वद्वारा निर्मित हामी मानव जातिको शारिरिक बनावट रहन सहन खाना पिना फरक पर्ने नै भो । नदीको तिरमा बस्नेले बढि माछाको परिकारबाट जीवनलाई पौष्टिक तत्वले भरिपर गर्छन भने, पाहडमा बस्नेहरुले, कोदोको ढिंडो, सागपात, दालचमाल खाएर जिउन पर्ने । तर अलास्का भन्ने राज्यमा पुगेपछि, ह्वाइल माछाको मासु, सिल जातको माछाको सितन, सिस्नुका सलाद, नौसिंगे जरायोको स्टिेक जस्लाई ’मुस डिर’ भन्ने चलन छ, रेन डियर, एल्प भन्ने जनवारहरुको मासु खाएर जीवनलाई धानि राखेको हुन्छन । आफ्नो घरमा तथा गाँउमा आएका पाहुनहरुलाई पनि यी परिकारहरु खाना दिएर अतिथिलाई सत्कार स्वरुप गराएर यी खाद्यपदार्थहरुले स्वगात गरेको थियो स्कूमो गाँउमा । अर्कोदिन सिवार्ड हिम नदी र जनवारहरुको कन्जरभेशन डलाउने व्यवस्था गरेको थियो । हामीहरु हिम नदिको छेवै भएर, गाडिमा सवार गर्न पर्ने कोहि ठूलो बसमा, कोही जिपमा, कोही लिमोजिनमा, हाम्रो देब्रेपट्टी पत्तरे चट्टानको भिर दाहिने समुद्र , गाडिबाट ह्वाईमाछाहरु तैरीरहेका देखिन्थ्यो । भिरबाट सेता बथान जंगली बाख्राहरु चरिरहेका देखिन्थ्यो । करिब एक घण्टाजति गएपछि, हामी हिमनदीपट्टि मोहर फर्काएर बनाइएको घरमा हाम्रो गाडि रोकियो, त्यहाँ दिँउसो खानाको व्यवस्थ गरेको रहेछ । खानाभन्दा नि’ हिमनदीको श्रंखलाको मनमोहक दृष्यले सबैलाई मोहित बनाएको थियो ।

त्यसपछि अलास्का राज्यले व्यवस्था गरेको बन्यजन्तु संरक्षण स्थलमा पुर्याइयो हामीहरुलाई । टुहुरा चारवटा खैरो भालुका बच्चाहरुले मनोरन्जनात्मक खेलले मानव मनलाई पनि लोभ्यायो । सानैमा आमाहरु हिँउको पैरोमा खसेर मरेका रे ! बन्यजन्तु संरक्षणका टोलिले ती बच्चाहरुलाई ल्याएर पाल्ने काम भएको थियो । त्यसैले ती भालुका बच्चा स्याहर गर्ने मानिस जता गयो उतै जाने, लुकभन्दा लुक्ने, निस्कभन्दा बाहिर निस्कने व्यवहारले निकै दर्शकको मनलाई छोयो । त्यसपछि, हामीहरु स्वोवार्ड ग्लेसेर तिर लाग्यौं, ब्राजिलकी लोराले गौरी शंख फुकेर आकाशतिर प्रार्थना गरिन्, नेपाली आमाले त्यहाँका हिमनदी पग्लेर बगेको पानीलाई सानो सिसामा हालेर पोल्टामा हालिन । हामी चडेको लिमोजिन चलाउने सवारी चालकीले बिचबिचमा आफनो कारुणमय काहानी सुनाऊँथिन । तिम्रो श्रीमान के गर्छ भनेर सोधेकी मात्रै के थिइन, टिमकी अध्यक्षले रुन्चे स्वरमा भनिन्-पेशाले जिव जनवारहरुको चिकित्सक हुँ, मेरो श्रीमान पनि त्यहि पेशा थियो । तर पोलर बियरलाई रेडियो कलर हाल्न आँफै सानुखाले हवाइ जाहज चलाई नोर्थ पोल्को छेउतिर गएको निकै भयो कहिले पनि फर्केन, अब त धेरै बर्ष भै सक्यो सायद उनको मृत्यु भै सक्यो होला, हाम्रो बाल बच्च पनि छैन, यहाँका सरकाले पनि मृत्युनै भै सक्यो भनेर घोषणा पनि गर्न सकेको छैन, कनै प्रकारको चिन्ह नपाएकोले ।
अलास्का यात्राका यस्ता अन्य झाँकीहरू अझैपनि मनमा उकुश मुकुश भएर बसिरहेका छन् ।

वाशिंगटन डीसी

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु