मेरो प्रथम गुरु कमलमणि दीक्षित

- इन्दिरा दिक्षित

सरदार राममणि आचार्य दीक्षितका पाँच छोरामध्ये जेठा छोरा केदारमणि दीक्षितका माहिला सुपुत्र कमलमणि दीक्षित हुनुहुन्थ्यो । उहाँको र मेरो परिचय मेरो विवाह भएपछि मात्र भएको हो । जहिलेदेखि मैले उहाँलाई चिनें, नाममा झल्केको आशय जस्तै उहाँको स्वभाव पनि कमलपुष्प जस्तै थियो ।
फरक परिवारबाट दीक्षित परिवारमा जोडिन गएकी म ! नाताले उहॉं मेरो जेठाजु र म उहाँकी भाइबुहारी पर्थें । एकै बाबुका छोरा भाइभाइका सन्तान भए तापनि बसाइ पृथक् पृथक् थियो । उहाँको र मेरो कैलेकाही पारिवारिक समारोहमा मात्र भेटघाट हुन्थ्यो ।
मैले धेरैजसो उहाँलाई साहित्य सम्बन्धी कार्यक्रममा अध्यक्षता ग्रहण गरेको देख्थें ।
उहाँको स्मरणशक्ति पनि तीक्ष्ण भएको मैले पाएकी थिएँ । "मन्चदेखि तल झरेर मसँग कुरा गर्न आइपुग्नुहुन्थ्यो ! के छ बुहारी ! सन्चै छ्यौ ?"
"सन्चैछु दाजु" मेरो जवाफमा वरिपरिका आँखा मैतिर भएझैलाग्थ्यो, सायद यत्तिठूलो मान्छेको नातेदार भनेर होला ।
यदाकदा मेरो घरको समारोहमा पनि उहॉंको उपस्थिति हुन्थ्यो र परिवारको बिहावारीमा दुबै परिवारको उपस्थित दुबैतिर हुन्थ्यो । यत्ति ठूलो परिवारको जमघटमा म उहाँलाई सबैभन्दा फरक पाउँथे । गमक्क परेर नबस्ने, सबैसँग राम्रो तरिकाले बोल्ने, फर्स्याइलो व्यक्ति, अनि स्मरणशक्ति पनि अति धेरै कैले पनि नबिर्सने । जैले भेट्दा पनि सधै भेटिरहेजस्तो, पराइपनको आभाश हुन नदिने ! यस्तो कसरी हुँदो होला भन्ने सोच हुन्थ्यो मेरो मनमा ।
दीक्षित परिवारभित्र पसेकी हुनाले मेरो सन्मुख रहेका परिवारको मनःस्थिति, भाव, विचार सबै म राम्ररी बुझ्छु । हामी त उच्च कुलीन हौ भन्ने अहम् प्रायः धेरैजसो दीक्षितहरुमा मैले पाएकी छु । यी सबैमा फरक विचारका रुपमा स्पष्टवादिता कमल दाजुमा भएको मैले देखें । सायद साहित्यिक मन भएर हो कि !
लेखकहरु अलिबढि भावुक र सबैमा समभाव देख्ने खाले हुन्छन् । खुल्ला हृदय र खुल्ला विचार भएका हुन्छन् । खुला दिमागभित्र नै त नयाँ सृजना निस्कन्छ ! तव न मान्छे कवि
बन्छन् लेखक र साहित्यकार बन्छन् ।
पारिवारिक झमेलाबाट निवृत्त भएपछि मेरा दिन खाली खाली बित्न थाले । खालिसमयको सदुपयोग म निकै कितावहरु बटुलेर पठ्न थालें । अरुको लेख पढ्दा म आफैलाई पनि लेख्न मन लाग्यो । निकै अगाडिदेखि नै केही लेखूँ जस्तो भावनाले गॉंजेर कविता, लेख आदि लेख्ने गरेकी थिएँ, मेरा सामग्री पढ्ने एक दुई जनाले राम्रो छ पनि भन्थे, तर निरन्तरता दिनकसेको थिइन । अब खाली बस्दा लेख्नतिर मन गयो । केही कविता अनि केही कथा तयार पारे । अनि कमल दाजुको याद आयो फोन गरें "दाजु म हजुरलाई भेट गर्न आउँछु कति वेला आऊँ" उहाँलाई भेट्न त समय लिएर जानु पर्ने, व्यस्त मान्छे, तर पनि मेरो आग्रहलाई तुरुन्त स्वीकार गरेर भन्नुभयो "तिम्रो लागि जैले पनि म उपस्थित छु, आफ्नै घरका मान्छेको लागि के समय चाहियो ? जैले मन लाग्छ आए हुन्छ ।"
म पनि दङ्ग भएर पाटनढोका उहाँको निवासमा पुगे । मेरो हातमा केही पन्ना लेख र एउटा सानो आइप्याड थियो । पर्खेर बसेजस्तै लाग्यो "खोइ देखाउ त बुहारी तिम्ले के लेख्यौ ?" उहाँले भन्नुभो ।

मैले आफ्नो लेख उहाँसमक्ष राखें । केही बेर हेरेपछि भन्नुभयो "चित्त नदुखाऊ, दाजुले यसो भन्यो नभन, तिम्रो लेख मलाई मन परेन" ! दङ्ग परेको मेरो अनुहार मलिन भएछ, उहाँले चाल पाउनुभयो र भन्नुभयो, "लेख्नु भनेको साधना हो, यत्तिकै जो पनि लेखक बन्न सक्दैन, तिम्रो लेख, कविता हेर्दा लेखक बन्न सक्ने क्षमता देखिन्छ तर भाषा मिलेन । शिष्ट र शालीन भाषा हुनुपर्छ लेख्दा, शुध्दतातिर पनि ध्यान दिनुपर्छ, अनि कविता लेख्दा ग़द्दारी नगर है, छन्दतिर ध्यानदेऊ, छन्द मिलाउन नसके गद्य कविता लेख, आजभोलि त गजल, मुक्तक के के भन्छन् कि त्यस्तै लेख ! यो तिमीले लेखेको कविता भएन, छन्दतिर मिल्न खोजेजस्तो तर छन्द पनि मिलेन, यसरी छन्दमा गद्दारी नगर, छन्दमा लेख है ! छन्द भनेको, सुन्दा, पढ्दा, अनि लेख्दा पनि आनन्द आउँछ ।"
एकैपटक उहाँले सबै कुरा भन्नुभयो तर मेरो दिमागले केही बुझेन । छन्दको 'छ' पनि नजान्ने म कसरी छन्दमा कविता लेखूँ ? अब जिल्ल परेको देखेर उहाँले अझै सिकाउने मनशायले मेरो हातको कागज निकालेर केही छन्दमय कविता लेखेर देखाउनुभयो, अनि केही छन्दको गणहरु पनि लेखेर देखाउनुभयो, "यस्तो तरिकाले लेख है "!

हस् ! हुन्छ त भनें तर मेरो दिमागले केही बुझेको थिएन । उस्तै अल्पज्ञानी म ! उहॉंको बडेबडे कुरा झट्ट कसरी बुझ्नु र !
अब हिड्ने बेला भयो । उहाँले भन्नुभयो , "लेख्दै गर्नु अनि लेखेको कुरा जुनसुकै समयमा मलाइ देखाए हुन्छ । नभए इमेलमा पठाउ म हेर्छु, केमा लेख्छ्यौ ? कम्प्युटरमा कि कापीमा ? मैले हातको आइप्याड देखाउँदै भने " ऐले त यसैमा लेख्दैछु दाजु ! म पछि कम्प्युटरमा नै लेख्नुपर्ला" । दङ् गपर्दै मेरो हातको आइप्याड लिएर हेर्न थाल्नुभयो । यसमा कसरी लेख्ने बुहारी मलाई पनि लेखेर देखाऊ त ! यति बेला उहाँको रुप र हाउभाउ एउटा पाचँवर्षीय बालकको जस्तै लाग्यो मलाई । त्यो चञ्लता र त्यो उत्सुकता मिसिएको उज्वल मुहार म हेर्दै दङ्ग परें । मैले पनि लेखेर देखाएँ, सारै सजिलो अथवा राम्रो के लाग्यो कुनि तुरुन्तै एउटा अफिसको कामदारलाई बोलाएर भनिहाल्नुभो "यो के हो बाबु"? उनले भने 'यो एउटा फोन जस्तो हो हजुर" 'तिम्लाइ चलाउन आउँछ' ? उहाँले सोध्नुभयो । 'आउँछ हजुर' उनको जवाफ पछि " यो यतै बजारमा पाइन्छ कि बाहिरबाट मगायौ बुहारी ?" "बाहिरवाट ल्याएपनि अचेल यतै पाइन्छ दाजु" मेरो जवाफपछि "लौ बाबु कतिपर्छ मलाई पनि एउटा किनेर ल्याइदेउ त सारै मज़ाक़ो लाग्यो"
आजभोलि सबैका हातमा हुने आइप्याड सायद न देखेर होला उहाँलाई नौलो लागेछ । त्यो उमेरमा पनि उहाँको चञ्चलता र नयॉं वस्तुप्रतिको आकर्षण देखेर म दंग परें । एउटा बालकले खुसिहुदै मनभावन वस्तुको माग गरेझै लाग्यो । समय निकै बितेकोले दाजुसँग बिदा मागेर म आफ्नो धर फर्कें ।
अब मेरो दिमाग भरि उहाँका कुरा घुम्न थाले । कत्ति नै राम्रो लेखें भनेको त केही भएनछ । अब कसरी लेख्नेहोला ! मेरो सम्पुण ध्यानजति कमलदाजुको कुरामा अड्कियो । कविता लेख्ने मेरो रुचि अगाडि कसरी बढाउँ, छन्दमा कसरी लेखूँ !
भोलिपल्ट अफिसमा बसेर सोच्दै थिएँ, एकजना परिचित व्यक्ति सम्झिए जुन लेखक हुनुकासाथै नेपाली विषयमा विद्यावारिधी गरेका ब्यक्ति थिए, उनको नजरमा म निकै सन्मानित पनि थिएँ, कमलमणिको परिवार भित्रको भनेर होला । एक फोनमै मेरो अफिस आइपुगे, " केलाइ होला हजुर ?"आफूभन्दा ठूलो र धेरै विद्वान् मान्छेले यसरी मेरासामु झुकेको मलाई राम्रो लाग्ने थिएन, जति भने पनि उनी मान्नेवाला थिएनन्, यो सबै पन्छाएर मैले मूल कुरो नै निकाँले, "मैले कविता लेखेको थिएँ, कमलदाजुले छन्दमा लेख भन्नुभयो, मलाई छन्द सिकाउनुपर्यो" उनी सँगैको मेचमा बसेर छन्दबारे के के भन्न थाले मेरो सङ्कीर्ण दिमागले केही बुझेन, कापी भरी के के धेरै कुरा लेखे जुन मैले बुझ्नै सकिनँ ! उनको अन्तिम कुरा मैले समातें त्यो थियो माथि जुन लाइनमा लेखिन्छ तल्लो लाइन पनि उस्तै लाइन र बराबरी अक्षरमा लेख्दा एउटा छन्द बन्छ ।
बराबरी अक्षर, ह्रस्व दीर्घ मिलाएर लेख्दा लय र छन्द मिल्दोरहेछ भन्ने कुरा बुझें मैले । त्यसपछिको साधना मेरो आफ्नै थियो, निकै लगनले फेसबुकमा भएको कविता र छन्दचौतारीमा भएका छन्दहरु पढें, त्यसै छन्दमा लेखिएका अरुका कविता हेर्दै आफू पनि त्यस्तै लेख्न थालें । लेख्न त लेखें तर केही मिलेन किनभने ममा व्याकरणको ज्ञानको कमी थियो । ह्रस्वदीर्घ मिलेन, अनि छन्द पनि मिलेन ।

तर फेसबुकमा निरन्तर कविता लेख्ने दिग्गज कविहरुपनि हुनुहुदोरहेछ । नामै त म किन लिनु र मैले लेखेको कविता पढेर म माथि दयालागेको हुनुपर्छ । एक एक अक्षर मिल्यो मिलेन सबै सिकाइदिने गुरुहरुपनि मैले भेटें । भावना मात्र भएर हुँदो रहेनछ , एउटा सबल लेखक बन्न सबै कुरा जान्नु पर्दोरहेछ, जानेर मात्र हुँदैन लगनर र धैर्य पनि चाँहिदो रहेछ ।

सिकाएको कुरो झट्ट टिप्ने र त्यसैअनुरुप कविता लेख्ने गर्न थालें । काहानि, कथा, लेख हरुपनि म फेसबुकमा भेटिएका गुरुहरुबाटनै सिकेर लेख्न थालें ।
कुरो करिव दुइ वर्ष जति अगाडिको हो । मैलै हार नमानेर रटन लाएर लेख्न थालें, फलस्वरुप आज म केही कथा, केही नियात्रा साथै छन्दोबध्द केही कविता पनि लेख्न थालेकी छु, निकट भविष्यमा किताव छपाउने मनशाय पनि छ ।
मैले जे जे गरें त्यो सबै मेरो अथक परिश्रम र साधना त छदैथियो, लगन बिना त केहि हुन्नथ्यो होला तर पनि यो सबैको श्रेय कमलदाजुमै जान्छ उहाँले पहिलो खुट्किलो चढ्न नसिकाएको भए सायद म तलै हुन्थें अथवा निम्न स्तरको कवितामै रमाएर बस्थे होला ।
किताव छपाएर खुसी सहित् उहाँलाई देखाउँने धोको त मनमै रह्यो तर पनि उहाँको दिवङ्गत आत्माले मेरा लागि सधै आशीष बर्साइरहन्छ होला भन्ने कामना गर्दै दिवङ्गत मेरा पहिला गुरु तथा मेरा अग्रजमाथि आभारी हुँदै शततः नमन गर्दछु दिवङ्गत दाजुको आत्माको चिर शान्तिको कामना समेत गर्दछु । अस्तु !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु