भीम ‘सन्तोष’को संस्मरणात्मक निबन्ध लेखनशिल्प

- डा. राजकुमार छेत्री

नेपाली साहित्यमा कथाकार, उपन्यासकार, कवि तथा निबन्धकारका रूपमा परिचित भीम ‘सन्तोष’का एउटा नौलो बेग्लो स्वाद र शैलीलिएर खुल्ला झ्याल शीर्षकमा (प्रथम खण्ड सन् २००९ र द्वितीय खण्ड सन् २०१३) प्रकाशित भएको छ। वर्तमान नेपाली साहित्य र समाजका एकजना शिखर र इतिहास पुरूष, छहारी र साहित्यिक तीर्थ बनिसकेका डा. इन्द्रबहादुर राईद्वारा विभिन्न समय र विभिन्न साहित्यिक सभा-समारोहरूमा दिइएका मन्तव्य र वार्ताहरू, भेटघाटमा भएका कुराकानीहरूबाट केलाई कुलाई गरी छानिएर, चुनिएर दुधबाट नौनी निकाले जस्ता घटना-प्रसङ्ग र विचारहरूलाई कृतिकार भीम ‘सन्तोष’ले अत्यन्त मेहनत र इमान्दारीपूर्वक प्रस्तुत पुस्तकमा सङ्ग्रह गरेका छन् । समाविष्ट रचनाको स्वरूप तथा संरचना, काया र कैरन, प्रकृति र प्रवृत्ति हेर्दा कतै कतै रिर्पोट त कतै अन्तर्वार्तामूलक शैलीमा लेखिएको जस्तो देखिए पनि यसलाई आधुनिक निबन्धलेखनभित्रै पर्ने एक प्रकार संस्मरणात्मक निबन्धअन्तर्गत राखेर अध्ययन-अनुशीलन गर्न सकिन्छ। गुरु-चेलाको सानिध्यमा भएको समाज- साहित्य विषयक कुराकानी, कहिले हल्का फुल्का र कहिले भने गहन विचार-विमर्शबाट जन्मिएका नौलो स्वाद र शैलीका यी निबन्धात्मक रचनाहरूले पाठकलाई निकै मोहित पारेको देखिन्छ। साँच्चै प्रथम खण्डको भूमिकामा हरेन आलेले भने झैं ‘गुरु-शिष्यको साइनोबाट जन्मिएका यतिका सुन्दर लेखहरू सबैले सराहना गर्नै पर्नेछ, श्याबास पनि भन्नै पर्नेछ। भीम ‘सन्तोष’ समकालीन नेपाली कथा साहित्यका एक कुशल शिल्पी यहाँ शिष्य अनि श्रद्धेय इन्द्रबहादुर राई गुरु। एक-अर्काका चसान्निध्य र सौहार्दमा यत्तिका सुन्दर साचहित्य सृजना भएका छन्।...वेदव्यासले भट्याउँदै जाऊन् , गणेशले लेख्दै जाऊन्।’ दोस्रो खण्डको छोटो भूमिकामा अझै आफ्नो कुरा थप्छन्- ‘...भीम ‘सन्तोष’ले गुरुपूजा आफ्नै प्रकारले गरेका छन् ।...यो भन्दा ठूलो गुरुपूजा अरू के हुन सक्छ।’ राजु प्रधान हिमांशुकै शब्दमा भन्नु हो भने ‘सच्चा गुरुलाई एक सच्चा शिष्यले साँचो अर्थमा चोखो मनबाट चढाएको गुरुदक्षिणा बराबर साबित भएको छ ।’

प्रथम खण्डमा हरेन आलेका अतिरिक्त भीम ‘सन्तोष’सित प्रत्येक पल्टको भेटघाट र सभा-समारोहमा साथसाथै रहेका अन्तरङ्ग साथी कवि-सम्पादक श्री टेकघ्वज जिम्बा आशाज्यूका समय र विषय सान्दर्भिक गहकिलो भूमिकाले अझ प्रस्तुत पुस्तकको शोभा बढाएको छ। सोही प्रकार द्वितीय खण्डमा पनि टेकध्वज जिम्बा आशा, हरेन आले, प्रा. तेजमान बराइलीका गहन भूमिकाका अतिरिक्त डा. लक्खीदेवी सुन्दास, डा. माइकल जे. हट, कमल दीक्षित, डा. दिवाकर प्रधान, डी. के. श्रेष्ठ ,राजु प्रधान हिमांशु, प्रा. नवीन पौड्याल, विमल राई, मिलन बान्तवा आदिका छोटा-छरिता मूल्याङ्कनपरक शुभकामना सन्देशलाई समेत समाविष्ट गरिएकाले कृतिको गरिमा अझ उक्लिएको बोध हुन्छ। अतःदुइ खण्डमा जम्मा बत्तीस(१८+१४=३२)वटा डा. इन्द्रबहादुर राईसितको अन्तरङ्ग समयाङ्कनलाई अत्यन्त रोचक शैलीमा प्रस्तुत गरिएको छ। यस सन्दर्भमा प्रा. नवीन पौड्याले पनि इन्द्रबहादुर राईको व्यक्तित्व नै एउटा खुल्ला झ्याल सरह रहेकोले सबैले तन-मनको दर्शन गर्न सक्छन् साथै वीरपूजाको परम्परालाई अघि बढाएकामा लेखक भीम ‘सन्तोष’को प्रस्तुत पुस्तकमा देखिएको नौलो लेखनकारिताको मुग्ध कण्ठले प्रसंशा गरेका छन्।

प्रस्तुत पुस्तकका दुइवटा खण्डहरूमा समाविष्ट समयाङ्कनहरूमा भारतेचली विशेष गरी दार्जिलिङ्गे नेपाली सचमाजको समाज-सांस्कृतिचक परिप्रेक्ष्य(इन्द्रबहादुर राई र उनको सामाजिकता, भारतीय नेपाली साहित्यका प्रर्वतक, भारतीय नेपाली साहित्य जगतका स्रष्टा), भारतीय नेपाली साहित्यिक बन्धुहरूको शवयात्रामा सम्मिलित हुँदा (आर.पी. लामाको शवयात्रामा, अन्त्येष्टि क्रियामा जाँदा),कतिपय पुस्तक लोकार्पण कार्यक्रम,पुरस्कार अलङ्करण समारोह तथा साहित्यिक सभाहरूमा राख्नुभएका विभिन्न समय र विषय सान्दर्भिक मन्तव्य र वार्ताहरू( डा. बी. एस. बिष्ट स्मृति पुरस्कारको प्रथम पुरस्कार समारोह, एम. पथिकको अतितसित वर्तमानसितको विमोचन..., कविवर मोहन ठकुरीको अभिन्न अक्षर, फेरि एक विमोचनमा, प्रथम चम्पादेवी अग्रवाल स्मृति पुरस्कार समारोह, लोकार्पण पञ्चै बाजा बजाउँदै र विविध विकिरण, खुल्ला झ्याल(१)-को विमोचन), साहित्यिक बन्धुहरूले उपहार स्वरूप चढाएका पुस्तक-पत्रपत्रिकाहरूको सन्दर्भमा (मीठा-मीठा कुराहरू, भारतीय नेपाली साहित्य जगतका स्रष्टा, चौबन्धी पत्रिका र..., फेरि अर्को भेट), व्यक्त गर्नु भएका महत्वपूर्ण विचारहरूलाई सूचनाप्रद र रोचक शैलीमा प्रस्तुत गरेका छन्।

विश्वसाहित्यमा गुरु-शिष्यहरूबारेमा धेरै रोचक कथा प्रसङ्गहरू सुन्न-पढ़न पाइन्छ । अरस्तु र प्लेटोजस्ता गुरु-शिष्य तथा महाभारतमा द्रोणाचार्य र एकलव्यको कथा-प्रसङ्ग साँच्चै अविस्मरणीय छन्। विश्वसाहित्यमा खोजी लागेमा यस्ता हजारौं कथा-प्रसङ्गहरू हुन सक्छन्। भीम ‘सन्तोष’ज्यूले पनि आफ्ना अन्यतम गुरुका मुखारवृन्दबाट टप्केका वचनामृतहरूलाई निकै रोचक ढङ्गमा प्रस्तुत गरेका छन्। खुल्ला झ्यालभित्र देश-विदेशका विभिन्न साहित्यकार र उनीहरूका साहित्यिक सिर्जनाहरू, पत्रपत्रिकाहरू तथा ती साहित्यकार, चिन्तकहरूका सम्बन्धमा डा. राईले व्यक्त गरेका विचारहरू, लोकार्पण कार्यक्रम र साहित्यिक सभाहरूमा सम्बोधनको क्रममा अभिव्यक्त तथ्यहरूमा प्रशस्त ज्ञान र सूचनाको भण्डार रहेको पाइन्छ।

कवि मोहन ठकुरीको कविता कृति अभिन्न अक्षरको लोकार्पण समारोहमा प्रमुख अतिथिको सम्भाषणमा डा. राईले कवि ठकुरीको काव्यिक भावभूमि तथा कविता लेखनशिल्पबारे मनमोहक शैलीमा राख्नु भएको उपयोगी विश्लेषणात्मक मूल्याङ्कनलाई लेखक भीम ‘सन्तोष’ले यस प्रकार प्रस्तुत गरेका छन्- ‘अनुभूति आएर मात्रै कविता हुँदैन, शब्दमा लेखिँदैमा पनि कविताले सठीक रूप लिँदैन। कम्प छुटेर आएको कवितालाई शब्दमा लेख्नु साह्रै कठिन काम हुन्छ। कविले आफ्नो सम्पूर्ण कौशल खर्चेर लेख्छन्।...अघि रूपनारायण सिंह हुनुहुन्थ्यो, चाहिने शब्दहरूमा मात्रै टकटक भन्दिने। सायद मोहन ठकुरीले पनि रूपनारायण सिंहलाई धेरै पठन गर्नुभएको छ। मैले देखें उहाँले स्थितिमा कविता पाउनु हुँदोरहेछ।’ त्यस्तै एउटा प्रसङ्ग छ, संस्कृतका महाकवि भर्तृहरिको शतक त्रयम अन्तर्गत वैराग्य सतकको प्रभावमा परेर कवि तिलविक्रम नेम्बाङज्यूले पनि मेरो माया मफलर भए शीर्षक कविता लेखेपछि उनले आफ्नो नाम वैरागी काँइला राख्न पुगेको सन्दर्भमा डा. राईको मन्तव्य यसप्रकार रहेको छ- ‘उनी त्यसबेला भर्खर कलेज पढ़दै गरेको पट्ठो जवान थिए। उनलाई पनि यस्तै कविता लेख्छु भन्ने झोंक चलेछ। त्यसबेला उनी युनियनको लिडर थिए, कहाँ साधु-सन्तले लेखेको कुरा उनले पनि लेख्छु भनेर एकदिन; कविता लेख्न बसेछन्। कविता श्रृङ्गार सतक हो कि वैराग्य सतक हो, त्यो छुट्याउन नसकिने गरी यसरी लेखेछन्।... यहीं कविता लेखेपछि उनले आफ्नो नाम वैरागी काइँला राखेछन् र आजपर्यन्त यही नामले उनी नेपाली साहित्यमा चिनिन्छन्।’

डा.इन्द्रबहादुर राईले व्यक्त गरेका मन्तव्यहरूमा आख्यानकार रूपनारायण सिंह,लैनसिंह बाङ्गदेल, शिवकुमार राई, बी. बी. लकान्द्रीको लेखनशिल्प तथा कवि वैरागी काइँला र मोहन ठकुरीको काव्यशिल्प सम्बन्धमा अति संक्षेपमा भएपनि मूल्याङ्कनपरक टिप्पणी राखिएको छ। साथै विदेशी साहित्यकार,दार्शनिक, चिन्तकहरूको प्रसङ्गमा विशेष गरी होमर, एरिस्टोटल, दार्शनिक हेगेल, काल मार्क्स, फ्रायड, स्टिफन हकिङ्ग,टी. एस. इलियट, एजरा पाउण्ड, प्रेमचन्द, डी. एच. लरेन्स, विलियम फकनर, टल्सटाय, डा.माइकल जे. हट, बौद्धभिक्षु सिस्टर वाजिरा, कर्णेल मर्सर, एरिक आभारी, शरद्चन्द्र चट्टोपाध्याय आदिको कृति र कार्यको पनि उल्लेख गरिएको छ।

खुल्ला झ्यालको प्रथम र द्वितीय खण्डमा गुरु इन्द्र र शिष्य भीमले कुराकानीको क्रममा चर्चा गर्न र टिप्न भ्याएका कृति र त्यसका सर्जकहरूको नामोल्लेख गर्न पर्दा यी नामहरू मुख्यरूपमा भेटिन्छन्- ग्रिभाण्डोको-Minimalism, समरसेट ममको- Hundred Shorts Stories, The Summing Up, Writers’ Note Book, अलेकज्याण्डार डुमाको-थ्री मस्कीटचर्स्, सबिता गोमदेनको- The Laws of Nature साथै सुनिल पोखरेल-पुतलीको घर, झमक घिमिरे- जीवन काँड़ा कि फूल, राजनारायण प्रधान- पञ्चै बाजा बजाउँदै, गोपीचन्द्र प्रधान- विविध विकिरण, अविनाश श्रेष्ट- करोडौं सूर्यहरूको अन्धकार, बद्री अधिकारी- अकबरी सुन, परशुराम घिमिरे- मनको आँखा, नवराज पाण्डे- बीच बाटोमा बिउँझेर, जयप्रकाश पाण्डे- नित्यार्चना, हरिप्रसाद बराल- उदधोषभित्रका फूलहरू, आर.पी.लामा- इन्द्रधनुष, बी.बी लकान्द्री- आमा घर फर्किनन्, सुवास दीपक- आधारशिला, रवीन्द्रनाथ-काबुलीवाला, प्रचण्ड मल्ल-कान्तिपुरको रङ्गमञ्च, हाजिरमान राई-मीठा मीठा नेपाली गीत, कृष्णसिंह मोक्तान-जीवन गोरेटोमा, कृष्ण बराल-अवतरण, मुकेश मल्ल-आधुनिक नेपाली कलाको अभिलेखन, कृसु छेत्री-आगोको मूच्छर्ना र अर्धमुदित आँखाहरू, मनोज न्यौपाने- सिजापतिको आलु, बलबहादुर थापा(सम्पा)- इब्सन,प्रयोग र सन्दर्भ, टेकध्वज जिम्बा आशा- जुन नअस्ताएको बिहान, पर्खिरहूँला, ईश्वर वल्लभ- सीमान्तवर्ती र धुवाँको जङ्गल, विक्रमवीर थाप- मणिसिंह गुरूङ, युग पाठक- उर्गेनको घोडा, कुमार नगरकोटी- मोक्षान्त काठमाडौं फिभर, मणिकुमार प्रधान- सञ्चयन, कृष्ण धरावासी-लीला लेखन र राधा, नकुल सिलवाल- नकुल सिलवालका कविता, गुप्त प्रधान- धूमिल पृष्ठहरू, मत्स्येन्द्र प्रधान- आरोहण, रत्ननारायण प्रधान- प्रेम लहरी, विश्वनाथ हरिहर- प्रेम तरंग र माया लहरी, एम. पथिक- अतितसित वर्तमानसित, विश्व शाक्य- पुड्को मान्छेको पुड्को कविता, डा.जस योञ्जन प्यासी-परख, डा.जीवन नामदुङ-उल्लेख, जगदीश घिमिरे-अन्तर्मनको यात्रा, कृष्णभक्त श्रेष्ठ- रातको दश बजे, मोहन कोइराला- आज कसैलाई बिदा दिनुछ, शैलेन्द्र साकार- कवितामा अमेरिका, विप्लव ढकाल- कालो मध्यान्तर, शाश्वत पराजुली- बादलुले रङ्ग फेर्दा, श्यामल – लय ब्रह्म, हेमराज आचार्य- आलुबारीका देवता, ठाकुर बेलवासे- सागरको वरिपरि मनको समारोह, अरूण वैद्य- समुन्द्रको आँसु चाँहिदैन साथै साहित्यिक पत्रप-त्रिकाहरूमा मधुपर्क, गरिमा, दियालो, चौबन्दी, नेपाली, वसुधा, शारदा, भारती, प्रभात, बिन्दु, हाम्रो ध्वानि, हाम्रो कथा, तरूण, आरोहण, Flat File, Journal of Delhi Hill Students Association आदिको नामोल्लेख भेटिन्छ।

यसका अतिरिक्त महाकवि लक्ष्मीप्रसाद देवकोटा, महाकवि भर्तृहरी, युगकवि सिद्धिचरण श्रेष्ठ, मोदनाथ प्रश्रित, डा.वासुदेव त्रिपाठी, सरूभक्त, नरबहादुर दाहाल, मातृका गजमेर, डा. लक्खीदेवी सुन्दास, डा. पवन चामलिङ, नरेन्द्रराज प्रचसाईं, कमलमणि दीक्षित, मानसिङ गुरूङ, खड़गबहादुर विष्ट, डा.गोकुल सिन्हा, नन्द हाङखिम, मणिकुमार सुब्बा, स्नेहलता राई, विन्द्या सुब्बा, कृष्ण खड़का, नयनप्रकाश सुब्बा, चन्द्र शर्मा, हरिभक्त कटुवाल, भरत यादव, शारदा शर्मा, कृष्णभूषण बल, देवकुमारी थापा, बबरसिंह चथापा, टङ्कप्रसाद न्यौपाने, जी. एस. गुरूङ, दिलुसिंह राई, , जीवन लाबर, मनप्रसन्न योञ्जन, मञ्जुश्री थापा, अञ्जनादेवी, मनप्रसाद सुब्बा, विचन्द्र प्रधान, अगमसिंह गिरी, नरेन्द्रप्रसाद कुमाई, सावित्री सुन्दास, डी.टी.लेप्चा, कनकमणि दीक्षित,भवानी भिक्षु, गोविन्दबहादुर गोठाले, धनहाङ सुब्बा, सानु लामा, खगेन्द्र संग्रौचला, रोचक घिमिरे, लैनसिंह बाङदेल, देवेन्द्र भट्टराई, बालकृष्ण सम, डा.कविता लामा, कमलकुमार शर्मा, नन्दध्वज राई, रामचन्द्र तामाङ, डा.कुमार प्रधान, के. बी. नेपाली, एल.- बी. राई, टी. बी. चन्द्र सुब्बा, डा.पारसमणि प्रधान, हायमनदास राई किरात, सूर्यविक्रम ज्ञवाली, हृदयचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने, माधवप्रसाद घिमिरे, मदनमणि दीक्षित, पुष्कर लोहनी, महेश प्रसाईं, डायमन शमशेर, मञ्जुल, डा.सत्यमोहन जोशी, डा.रामवरण यादव, प्रेम के. सी, सतीश रसाइली देखिलिएर आजका युवा जमातका सक्रिय विमल राई, केवलचन्द्र लामा, कमल रेग्मी, सविता सङ्कल्प प्रभृति कवि-साहित्यकारहरूका साथसाथै गीत सङ्गीत, चित्रकला, नाट्य-चलचित्र, खेलकुद र राजनीति क्षेत्रका विशिष्ठ हस्तीहरूको सन्दर्भमा अम्बर गुरूङ, कर्म योञ्जन, अरूणा लामा, कुमार सुब्बा, बद्री खरेल, भूपेन हजारिका, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डिइगो भेलास्की लामेनिना, पिकासो, माइकल एञ्जलो, भोटु प्रधान, ठाकुर चन्दनसिंह, मदन तामाङ, कुमार भोटिया आदिको कतै योगदानको चर्चा र कतै भने नामोल्लेखसम्म गरिएको भेटिन्छ।

यतिका सर्जक र सिर्जनाहरू बातचितका सन्दर्भमा आउनु अनि प्रसङ्गमा आएका कुराहरूलाई कतै नबिराइ कन गुरूका अमृत वाणीहरू जस्ताको तस्तै आफ्ना शब्दहरूमा उतार्न सक्नु निकै धर्य र साहसको काम हो, यो काम भीम सन्तोषले अत्यन्त सफलतापूर्वक सम्पन्न गरेर दृष्टान्तस्वरूप हाम्रो अघि प्रस्तुत गरेका छन् । कवितात्मक भावलहरको प्रयोगले उनको लेखनशैली अझ आकर्षक र पठनीय बनेको छ। उनको काव्यमय चित्रात्मक प्रयोगहरू दृष्टान्तका रूपमा यहाँ एकदुइ यसरी टिप्न सकिन्छ - सधैँ जस्तो चदार्जीलिङ शहर चाँदीको मुकुट लगाएर झलमल छ। वरपर देखिने सिक्किमका अनाम , पहाड़हरू एकार्कामा हातेमालो गरेर क्रमबद्ध उभेका छन्। माघको ठिही उस्तै छ ।(दोस्रो खण्ड, पृ.४४), दिनभरि आकाश आकाश हिँड़ेर लखतरान भएको सूर्य विश्रामहेतु पश्चिंमको डाँड़ामा उभिरहेको थियो।(दोस्रो खण्ड, पृ.४७), बिहानदेखि सिमसिमे पानी पर्लाजस्तो अँध्यारो छ। फुसफुसे कुहिरो दार्जीलिङ शहरभरि डम्म छ। वरपरका पहाड़हरू कुनै देखिने सम्भावना पनि छैन।(दोस्रो खण्ड, पृ.३५), दार्जीलिङको व्याप्त रहने भूँइकुइरोभित्र हामी बिलाउँछौं । त्यसले हामीलाई छोप्दैछोप्दै जान्छ, हाम्रा पयरहरू भने -अनवरत् हाम्रो बासस्थानतिर बढ़िरहन्छ एकोहोरो। भूँइकुइरोले भने हामीलाई पछ्‍याइरहन्छ। (दोस्रो खण्ड, पृ.४२),
डा. इन्द्रबहादुर राईले लेखक भीम ‘सन्तोष’लाई छिटो लेख्ने प्रसङ्गमा भन्नुभएको कुरालाई लेखकले यस प्रकार टिपेका छन्- ‘लौ है अब हतारिएर लेख्नुपर्छ, समयको गति द्रुत छ। हतारिएर लेख्दा अघिजस्तो प्रत्येक कुरालाई मिलाईमिलाई थुप्रै लय लाएर लेखिरहनुपरेन। अहिले लेख्दा हामी जेसमय देख्छौं, त्यसैलाई टकटकीसँगले राखेर लेखिनुपर्छ तब हामी समयसँगै बढ़्न सकौंला र समयले हामीलाई चिनाउँला।(प्रथम खण्ड, पृ.७), त्यसरी नै साहित्य अध्ययन र लेखनको सम्बन्धमा पनि केही महत्वपूर्ण कुराहरू यसप्रकार भन्नुभएको रहेछ- ‘हामीले उत्कृष्ट साहित्य रोज्नुपर्छ। नयाँ पुस्तक पढ़्यौं भने हाम्रो विचारमा नयाँ विचारहरू थपिन्छन्। यसैगरी लेखन सिद्धान्तहरू पढ़्यौं भने हामी अघि बढेको थाहा पाउँछौं र त्यहाँ एउटा छुट्टै बाटो पनि पाउँछौं।(प्रथम खण्ड, पृ.४९), ‘त्यसैले हामी संसारमा आफू बाँचिराख्नका निम्ति भानुभक्त र देवकोटाले जस्तो काम गर्नुपर्छ। हामी संसारबाट गएर पनि बाँचिरहने यहीं हाम्रो लेखाइ र पुस्तक हो। संसारमा दिगो रहने चीज यही हो। यो हामीले देख्दै गरेको बिल्डिङ पछि रहन्छ र ।...संसारमा लाख लाख पैसा त आउँछ, जान्छ।...तर हामी हाम्रो लक्ष्यबाट कहिले हल्लिनुहुँदैन, दिगो रहेर धूपीका रूख झैं हरियो रहनुपर्छ।(प्रथम खण्ड, पृ.५३)।
प्रस्तुत पुस्तकमा प्रा-ज्ञ इन्द्रबहादुर राईका अमृतवाणीलाई इमान्दारीपूर्वक जस्ताका तस्तै प्रस्तुत गरेर नेपाली साहित्यका पाठक समाज समक्ष एउटा नौलो स्वादको कृति प्रदान गरेकाले हामी उपकृत बनेका छौं। कवि मिलन बान्तवाकै शब्दहरूमा भन्नु हो भने साँच्चै अनुज साहित्यकारहरूले अग्रज साहित्यकारहरूलाई गरिनुपर्ने श्रद्धाको छुट्टै तथा विशिष्ट परम्परा यस पुस्तकबाट शुरू भएको छ। संस्मरणात्मक शैलीमा लेखिएका यी निबन्ध रचनाहरू अत्यन्त सूचनात्मक, शिक्षावर्द्धक, ज्ञानवर्द्धक तथा प्रेरणादायक प्रकृतिका छन्। अतःनेपाली साहित्य र समाजका शिखर व्यक्तित्व डा. इन्द्रबहादुर राईसँगका बिताएका विभिन्न अवसरलाई लेखक भीम ‘सन्तोष’ले शब्दहरूमा टिपेर भारतेली नेपाली साहित्यमा पनि एउटा उदाहरणीय र लोभलाग्दो नौलो किसिमको काम गरेका छन्।

(सहायक प्राध्यापक, स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय।)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2073

लेखकका अन्य रचनाहरु