मैले नजिकबाट चिनेको साहित्यकार महानन्द पौड्याल

- नवीन पौड्याल

महानन्द पौड्याल मैले सानैदेखि चिनेको साहित्यकार हुनुहुन्छ। साइनाले उहाँ मेरो काकाबाजे। हामी परिवारका निम्ति कान्छाबाबु। सबैसित मिलजुल गर्ने, आफन्त चिन्न मन पराउने, सबैलाई हौसला दिने, शिक्षा जोड दिएर अर्ती दिने, अनुभव र संस्मरण सुनाएर रमाइलो पार्ने महानन्द पौड्याल हाम्रा परिवारका 'कुलशिरोमणि' हुनुहुन्छ। हामी सबै उहाँलाई सम्मान गर्छौं, पारिवारिक सरसल्लाह लिनु परे उहाँलाई सोध्छौं। गाउँमा केही साना ठुला घटनादि भए उहाँलाई थाहा दिनुपर्छ। उहाँलाई गाउँको मोह छ, गाउँले स्वाद बिर्सिनु भएको छैन। उमेरको वार्द्धक्यले उहाँ दैनन्दिनका क्षणिक कुरा बिर्सनु हुन्छ तर पहिलेका कुरा हत्तपत्त बिर्सनुहुन्न।
महानन्द पौड्याल एक समयका शिक्षक, प्रशासक, राजनैतिक दलका एक हस्ती, समाज सेवक आदि जे भए पनि मूलरूपमा लेखक हुनुहुन्छ। साहित्य नै उहाँको जीवनको मूल साधना, सफलता, उपलब्धी र अस्तित्व हो। उहाँले साहित्यरूपी छाहारीमा आफ्नो आजीवन बिताउनु हुँदैछ। उहाँले सन् १९५२ सालेदेखि हालसम्म नै अविच्छिन्न रूपमा लेखिरहनु भएको छ। साहित्यिक व्यक्तित्व केलाउँदा महानन्द पौड्यालका दुईवटा पाटा छन् – एक गहन अध्येता र अर्को लेखक व्यक्तित्व। लेखक व्यक्तित्वमा पनि उहाँ एक विशिष्ट कथाकार, एक कुशल निबन्धकार र एक निर्भीक समालोचक। निबन्धका क्षेत्रमा एक विचारोत्तेजक र अनुसन्धानमूलक निबन्धकार। कुनै तथ्यलाई खोजी निकाली त्यसलाई प्रमाणका रूपमा पुष्टि गर्दै आफ्नो विषयगत पुर्पक्ष छिन्नु उहाँको लेखनगत विशेषता हो। सिक्किमका सन्तवीर लिम्बू, अच्छा राई रसिक, नरेन्द्र प्रसाद कुमाईँ आदिका बारेमा कति वर्ष लगाई खिप्ती गरेर ग्रन्थ तयार पार्नुभएको छ।
आफु उहाँको नाति हुनाले उहाँको मन र लेखनको नजिक छु। उहाँले लेखेका कैयौं लेखहरूको म पहिलो पाठक बनेको छु। कति लेखहरू मैले सारिदिएको छु। उहाँको साहित्यिक गफ सुनेको छु, संस्मरणका अनेक पाटाहरू सुनेको छु। उहाँका साहित्यिक बन्धुहरूको संसर्ग केही मात्रामा भए पनि थाहा गरेको छु। उहाँसित मिलेर सन्धान पत्रिकाको सम्पादन पनि गरेको छु। उहाँसित साहित्यिक यात्रा पनि गरेको छु। यद्यपि लेखनका मामलामा उहाँको एउटा व्यक्तिगत कमजोरी पक्ष के छ भने उहाँले घरमा सामान्य खेस्रा लेखनलाई साफी नगरूञ्जेलसम्म कतिपय लेखका पानाहरू हराइसक्छन्। एउटा रोले खातामा लेख्नुहुन्छ अनि लेखिसकेर ती पन्नाहरू मूल खाताबाट उधार्नु हुन्छ। छेउमा पिनकाँटी छ भने त्यो बाँच्छ, नत्र ती पानाहरू छरपस्ट भएर हराउने स्थिति आइपुग्छ। उहाँको घरको कोठाभरि त्यस्ता पन्नाहरूको क्रमिकता नमिलेका छरिएका र थाक भएको देख्न पाइन्छ। यसरी धेरैजसो लेखोटहरू अधूरा, छरपस्ट भएका छन्। लेख्दै छोड्दै गर्ने उहाँको बानीले हामी घरकाहरूलाई पिरोल्छ, किन यसो गरेको होला भन्ने औडाहा हुन्छ। त्यहाँ ज्ञानका स्रोत छन्, संस्मरणको अद्भुतता हुन्छन् र अनुभवको अनन्त भण्डारहरूका त्रिवेणी हुन्छन्। ती जम्मैलाई पुस्तकाकार रूप दिनसके उहाँका अझै पाँचवटा ठुल्ठुला किताब हुनसक्ने छन्। तयारी रूपमा रहेका उहाँका 'चीनको महापर्खाल र अन्य कथाहरू' (कथासंग्रह), 'सम्झनाका पन्तराहरू' (संस्मरण), एउटा उपन्यास, अझै कति समालोचनात्मक लेखहरू पुस्तकका रूपमा आउन थाँतीमा नै छन्।
प्रस्तुत पुस्तक 'केही संस्मरण केही मूल्याङ्कन' यसले शीर्षकले नै संकेत गरेको जस्तै छन्। यसमा जम्मा बाइसवटा लेखमा जम्मा चौबीसजना साहित्यिक लेखकहरूको विविध पाटाबाट सम्झनाका साथसाथै उनीहरूको साहित्यिक योगदानको मूल्याङ्कनपरक निबन्ध लेखेका छन्। यसमा रहेका पादरी गङ्गाप्रसाद प्रधानबाहेक अरू जम्मै सर्जकहरूसित उहाँको संसर्ग र घनिष्टता भएको बुझिन्छ। 'पादरी गङ्गाप्रसाद प्रधान : जसलाई मैले जसरी चिनेको छु' निबन्धमा पादरीको साहित्यिक योगदानको निष्पक्ष रूपमा मूल्याङ्कन गरिएको छ। यसमा पादरीलाई कोही इसाई र अइसाई कसैले भेदभाव गरेका छैनन् भन्ने तर्क प्रस्तुत गरेका छन्। 'सुधपाको पुनीत स्मृति' नामक लेखमा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रदानका साहित्यिक योगदानको लेखाजोखा छ। 'चर्चामा भाषाभक्त गोपाल पाँडे असीम' गोपाल पाँडेको भाषिक योगदानलाई मूल्याङ्कन गरिएको छ। 'शिवकुमार राई स्मृतिपटलमा उतारी निहार्दा' निबन्धमा शिवकुमार राईसम्बन्धित विभिन्न पक्ष केलाउनु भएको छ। शिवकुमरा राईले आफुलाई विद्यालयमा पढाएको, राजनैतिक दलसमा सँगै काम गरेको, पछिबाट विभिन्न कारणले शिवकुमार राईले गोर्खा लीग दल छोडेर अन्यमा जाँदा उनीप्रति राजनैतिक तुष राखेको, राईले साहित्य अकादमी पुरस्कार लिन भुवनेश्वर ढिलो गरी पुगेको, उनले हिमाली आभा दैनिकमा केही खटेको ऐतिहासिक तथ्यहरूलाई प्रस्तुत गरिएको छ। यसलाई जीवनीपरक समालोचनाको रूपा लिन सकिन्छ। 'नाटककार टिकाराम शर्मा : स्मृतिका पक्ष अनेकन' निबन्धमा आफ्ना प्रिय गुरू टिकाराम शर्मासित बिताएका समयको सम्झना गर्नुहुन्छ। टिकाराम सरको शैक्षिक योगदानका साथै साहित्यिक योगदानको छलफल गर्नुभएको छ। 'सिक्किमको नेपाली सङ्गीतका जनक रत्नकमल देवान : एक चिनारी' 'सिक्किमका प्रथम कवि सन्तवीर लिम्बू' 'रामकृष्ण शर्माको जीवनमा पक्ष कतिपय : एक विहङ्गावलोकन' 'सिक्किमेली नेपाली र लिम्बू साहित्यका उन्नायक पदमसिंह सुब्बा : एक परिचायक' निबन्धमा चाहिँ अपतनका एक हस्ती पदमसिंह सुब्बाको साहित्यिक र स्वभावगत विशेषताको चर्चा गरिएको छ। 'भाइचन्द प्रधान : सन्दर्भ उनको भाषा एवं व्याकरणको आग्रह' प्रबन्धमा चाहिँ भाइचन्द प्रधानको साहित्यिक , भाषिक मत र योगदानको चर्चा गर्दै उनका केही व्याकरणिक अडानमाथि कतै खण्डन र कतै मण्डन गरेका छन्। 'पिपलको छहारीमुनिका कवि कृष्णप्रसाद ज्ञवाली' निबन्धमा चाँहि शिलाङका कवि कृष्णप्रसाद ज्ञवालीको स्वभावबारे सामान्य चर्चा गर्दै उनको कवित्वमाथि प्रकाश पारिएको छ। 'डा जगत छेत्री : भाषा साहित्यका एक अथक कर्मयोगी' निबन्धमा पौड्यालका एक घनिष्ठ मित्र जगत छेत्रीको सामाजिक, साहित्यिक, भाषिक योगदानको स्मरण गर्नुभएको छ। जगत छेत्री स्वयम् एकजना सिङ्गो संस्था थिए, कर्तव्यनिष्ठ सज्जन र अति व्यस्त लेखक आदि थिए भनेर उनका साहित्यिक र सामाजिक काम कुराको सम्झना गर्नुभएको छ।
अर्को लेख 'बालसाहित्यकी प्रणेता खिरोदा खँड्का' मा नेपाली बालसाहित्यमा खिरोदा खँड्काको योगदानको चर्चा गर्नुभएको छ। 'तुलसीराम कश्यपको साहित्य यात्रा एवं उनको साहित्यिक मूल्याङ्कन' लेखमा तुलसीराम कश्यपको साहित्यिक मूल्याङ्कनका बारेमा आफ्नो पक्ष राख्नुभएको छ र कश्यपको साहित्यिक योगदानको चर्चा गर्नुभएको छ। 'राम अपतन उनको कविताभित्र' लेखमा अपतन साहित्य संस्थाका एक अनुयायी कवि राम अपतनलाई विभिन्न पक्षबाट मूल्याङ्कन गर्नुभएको छ। 'सम्झनाभित्र कथाकार बी. बी. लकान्द्री' मा चाँहि आफु सिलगडीमा बस्ता बी. बी. लकान्द्रीसित बिताएका समयको सम्झना गर्दै उनको कवितामाथि समीक्षा लेख्नुभएको छ। 'कटुसत्य' - भित्रको सत्यताको एक निरीक्षण' र 'वैरागीको 'यात्रा यो मोडसम्म' एक पारिचायिक' यी दुईवटा लेख चाँहि कृतिकारपरकभन्दा कृतिपरक बन्नपुगेका छन्। सिक्किमका एक सफल नाटककार ध्रुव लोहागनको नाटक 'कटुसत्य' र सिक्किमकै कवि प्रेम मुखिया वैरागीको कवितासङ्ग्रह 'यात्रा यो मोडसम्म' कृतिमाथि समीक्षा गर्नुभएको छ। 'कवि पवन चामलिङ किरण' लाई राजनैतिक नेताका रूपमा भन्दा साहित्यिक रपमा परिचय दिइएको छ। 'कवि शोभाकान्ति थेगिम' निबन्धमा शोभाकान्ति थेगिम आफ्नो छिमेकीका रूपमा रहेकी र उनका साहित्यिक योगदानको चर्चा गरिएको छ। 'हरिभक्त कटुवाल' लेखमा पनि कटुवालसित बिताएको आफ्नो समय, उनको काव्यिक, चित्रकारिता व्यक्तिमाथि प्रकाश पारिएको छ।
महानन्द पौड्यालको लेखन भाषाबारे कसैले त्यति लिखित रूपमा चर्चा गरेको पाइन्न। उहाँको भाषाको पकड बलियो छ। प्रायःजसो छोटा छोटा वाक्यमा खारिएको, माझिएको र शुद्ध मानक रूपमा लेख्ने गरेको पाइन्छ। आफ्नो तर्कलाई स्पष्टतासँग अघि राखेर लेख्दा भाषा सशक्त बनेको छ। विकास कार्कीद्वारा सम्पादित अगमसिंह गिरी संस्थान, सलुवाको पत्रिका 'परदेशी' ले 'महानन्द पौड्याल अङ्क' तथा 'करूणादेवी धर्मार्थ गुठी', गान्तोकको पक्ष राजीवशंकर श्रेष्ठद्वारा प्रकाशित तथा गुप्त प्रधानद्वारा सम्पादित 'महानन्द पौड्याल : उनकै विविध आयामहरूमा' प्रकाशित गरेर उहाँको योगदानको कदर गरेको हो। यद्यपि यी दुवै ग्रन्थहरूमा कसैले उहाँको लेखनगत भाषाको सामान्य प्रसङ्गबाहेक खासै चर्चा गरेका छैनन्। यस पक्षबारे हामीले गहन अध्ययन र अनुशरण गर्नुपर्ने देखिन्छ।
प्रस्तुत संग्रहका आधारमा हामी निम्न कुरा विशेषताका रूपमा यसरी लिन सक्छौं –
क) महानन्द पौड्यालको संस्मरणभित्र मूल्याङ्कन हुन्छ औ मूल्याङ्कनभित्र संस्मरण।
ख) कुनै लेखकमाथि आफुले चिनेको जानेको तथ्यलाई प्रस्तुत गरिएको छ। माथिका प्रायः सबै लेखकहरूसँग आफुले संसर्ग गरेको हुनाले ती ती सर्जकहरूलाई नजिकैबाट चिनेर तिनका स्वभाव, विशेषता, चारित्रिक र लेखनगत प्रवृत्ति आदिबारे प्रकाश पारिएको छ।
ग) यसमा केही संस्मरणपरक छन्, कुनै समीक्षापरक, कुनै मूल्याङ्कनपरक छन्।
घ) महानन्द पौड्याल एक स्पष्टवादी, इमानदार र निर्भीक लेखक हुन् भन्ने प्रमाण त उनका लेखहरूले नै दिएका छन्। कसैप्रति अनावश्यक व्यक्ति पूजा प्रशंसा र निन्दा गरिएको छैन र ती ती लेखकहरूको योगदानको स्वस्थ रूपमा चर्चा गरेका छन्।
ङ) आफ्नो उमेरको अनुभवलाई जतिसक्दो प्रयोग गरेर पाठकहरूलाई पहिलेका रोचक प्रसङ्ग, साहित्यिक गतिविधि, परिवेश, तथ्यादिबारे जानकारी दिइएको छ।
च) प्रस्तुत पुस्तकमा मूलरूपमा जीवनीपरक पाइन्छ भने कतै विवेचना, कतै इतिहासपरक कतै व्याख्यात्मकता, कतै मूल्याङ्कनपरक समालोचना पाइन्छ। अझ पहिलेका ऐतिहासिक प्रसङ्ग, रोचक संस्मरण आदिले पनि ग्रन्थ शोभित छ। अनुसन्धाताका निम्ति पनि यो ग्रन्थ उपयोगी सिद्ध हुनेछ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2073

लेखकका अन्य रचनाहरु