तीजको रन्को

- लीला लुइटेल

अनेक जातजातिको बसोबास रहेको हाम्रो नेपालमा मनाइने चाडपर्व त कति छन् कति... तर किन हो कुन्नि आज मलाई तीजबारे पेटभरि कुरा गर्न मन लागिरहेको छ । साउन महिनाको सुरुसँगै नेपाली जनजीवनमा चाडपर्वको ओइरो लाग्ने कुरा लाटाबुङ्गालाई पनि थाहा छ । अचेलभरि तीज मान्ने–नमान्ने सबैको विरोध र व्यङ्ग्यको तारो तीज र दसैँ नै भएको छ नि हैन र ? दसैँलाई एकछिन पन्छाएर यस अहिलेचाहिँ मलाई तीजको चर्चा गर्न मन लागेको हो । तीजका सन्दर्भमा हाम्रा समाजशास्त्रीहरू विद्वान्हरूको दृष्टि नपुगेको हो कि मेरो ज्ञानको क्षेत्र सीमित भएका कारण मैले कुरो नबुझेको हो भेउ पाउनै सकिरहेकी छैन । यस सन्दर्भमा मैले नबुझेका प्रसङ्ग तल क्रमशः उल्लेख गर्दैछु । यस विषयमा समाजशास्त्री, मानवशास्त्री, अधिकारवादी, प्रगतिवादी पक्षधरहरूले मलाई कुरो बुझाइदिनुहुन्छ कि भन्ने आशा गर्नु मेरो हकअन्तर्गत नै पर्छ होला ।
मैले बुझेअनुसार हरितालिकाको अगिल्लो दिन चेलिबेटीलाई बोलाएर दर खानेखुवाउने प्रचलन नेपाली समाजमा परापूर्व कालदेखि चल्दैआएको हो । पराइघर पठाइएका चेलीहरू छोटै समयका लागि भए पनि बुहार्तनबाट मुक्त भई स्वच्छन्द ढङ्गले दिदीबहिनीहरू एकआपसमा सुखदुख साट्न सकुन्, मिठोमसिनो खाउन्, नाचगान गरेर मनोरञ्जन गरुन् भन्ने मनसायले यसरी माइतीले बोलाएर दर खुवाउने चलनको विकास भएको त होला नि... । अचेलभरि तीजको दर खाने खुवाउनेका विरुद्ध अनेकप्रकारका व्यङ्ग्य पो देखिन थाले त । पत्रपत्रिका, फेसबुकजस्ता विद्युतीय सञ्चारका माध्यम त तीजको आलोचना नगरे आफ्नो अस्तित्व नै नरहने हो कि भन्ने स्थितिमा पुगिसके बा...अझ महिना दिनअगि देखि दर खानुपर्ने भन्दै हामीले अनेक प्रकारका कटाक्षको सामना गर्नुपरिरहेको पाइन्छ ।
यसो हेरिल्याउँदा नेपाली समाजमा बुहारी भनेको सहनशील तथा इमानदार नोकर हो अनि जिउँदोजाग्दो, विवेकशाली र संवेदनायुक्त मेसिन पनि हो । यसले बुहारी भनेको बुहार्तनकै पर्याय हो कि जस्तो पनि देखिन्छ । बुहारीहरूले भोग्नुपर्ने अनेक खालका बुहार्तन नेपाली समाजबाट पूर्ण रूपमा हटिसकेको त छैन तैपनि केही समययता परिस्थिति क्रमशः कछुवाकै चालमा भए पनि परिवर्तन हुन थालेको आभास मलाई चाहिँ कताकता हुँदैछ है । अहिले आंशिक रूपमै भए पनि घरबाहिर निस्केर दाजुभाइसरह प्रतियोगितामा भिडी हाम्रा दिदीबहिनीहरूले पनि अलिअलि कमाउन थालेका छन् । एउटा लिपिस्टिक, एक दर्जन चुरा किन्न बुढाका अगाडि हात पसार्नुपर्ने अवस्था त कम हुँदै गएको हो नि । अनि, अर्काे कुरा माइती पक्षले छोरीको कमाइ खान नहुने भन्ने सङ्कीर्ण सोचाइमा बिस्तारैबिस्तारै परिवर्तन आउन थालेको छ । यसरी कमाइ भएका चेलीले आफ्ना दिदीबहिनी, काकी, फुपू, माइजू, भाउजूबुहारी, भदाभदैलाई बोलाएर खुवाउन र उपहार दिनसक्छन् र दिन पनि थालेका छन् । चेलीले पनि यसरी आप्mना स्वजन एवं प्रियजनलाई बोलाएर खुवाउनु र उपहार दिनु अपराधै त होइन होला नि । चेलीले मात्र माइत गएर दर खानुपर्छ र आफूलाई परेको दुखेसो गर्नुपर्छ भन्ने परम्परा बिस्तारै हट्दै गएकोमा मचाहिँ असाध्यै खुसी छु है हजुर ... ।
तीजको दरखाने दिन आफन्तलाई बोलाएर एकै ठाउँमा भेला हुन सबैलाई समय नमिल्न पनि सक्छ । अनि घरको चौघेराबाट बाहिर निस्केका दिदीबहिनीका लागि उपयुक्त समय मिलाउन पनि निकै कठिन छ । त्यसैले आफन्तहरूसँग सल्लाह गरी कुन दिन कसकहाँ भेला हुने भनी योजना बनाउनु पर्ने कारणबाट समय लम्बिएको हो कि भन्ने मेरो अनुमान रहेको छ । यसरी योजनाबद्ध ढङ्गले चेलीमाइती पालैपालो एक ठाउँमा भेटघाट गर्दा हाम्रो समाजमा किन पहिरो गएको होला ? आर्थिक रूपले सबल हुँदै गएका चेलीहरूले आफन्तसँग भेटघाट गर्ने चाँजो मिलाउँदा कस्तो विकृति भित्रिन्छ, अनि कहाँनेर आडम्बर भयो ? लौन, कसैले मलाई कुरो बुझाइदिऊँ ।
तीजको दरमा सामान्यतया मद्यमांसको प्रयोग गरेको मैले त्यति देखेको छैन । हाम्रा समाजमा प्रचलित कतिपय धार्मिक एवं सांस्कृतिक पर्वमा मासु र रमरमे पदार्थको प्रयोग अनिवार्य भएको कुरो हामीबाट छिपेको छ र ? अझ हाम्रा कतिपय चाडपर्वहरूमा त ईश्वरका नाममा पशुबलि दिनुपर्ने प्रचलन पनि त छ नि । अर्काेतिर आफ्ना कलिला लालाबालाको मुख मोसी अन्न कुहाएर तयार पारिएको शरीर र दिमागलाई नै रमरम गराउने पदार्थ विभिन्न चाडपर्वमा सगुन एवं ईश्वरको प्रसादका निहुँमा प्रयोग गर्ने प्रचलन हाम्रै समाजमा छ हैन र ? यसले व्यक्तिको स्वास्थ्यमा हानि गर्छ भन्ने कुरा कसैलाई भनिरहनु पर्ला र ? यसका साथै यसले कतिपय पारिवारिक एवं सामाजिक सम्बन्धमा पनि धमिरा लगाएको हाम्रै आँखाअगाडि छ । यसरी चाडबाडका निहुँमा शरीर र चेतनाले नै थेग्न नसकी आपूmलाई सम्हाल्न नसक्दा पारिवारिक एवं सामाजिक सम्बन्ध त कहाँ पुग्छ कहाँ, यसको प्रभावले दुर्घटना एवं झैझगडा भई सोल्टीको ज्यानै गएको घटना हामीले देखेसुनेका र भोगेका छैनौँ र ? अनि अर्काे कुरा यस्ता रमरमे पदार्थ बनाउन अन्न कुहाउनुप¥यो नै, अचेल त झन् युरिया मलको प्रयोग हुने कुरा पनि गाइँगुइँ सुनिन्छ । यस्तो कुरा रमरमेका स्वादेहरूले बुझेका छैनन् भन्नेमा रामोराम मेरोचाहिँ विश्वास छैन है । एक्काईसौँ शताब्दीको विद्युतीय युगमा आइपुग्दा पनि जानीजानी भावी पुस्तालाई कुपोषणकोे खाडलमा धकेली रमरमे पदार्थ ईश्वरको प्रसाद एवं सगुनका निहुँमा अनिवार्य हुने, यसको प्रयोग संस्कृतिको संरक्षण हुने तर वर्ष दिनमा एकपटक चेलीबेटीहरू बोलाएर आफ्नो गच्छेअनुसार एक छाक खुवाउनुचाहिँ विकृति हुने किन होला हजुर ? व्यक्ति, परिवार, समाज एवं देशलाई नै हानि गर्ने यस्ता विकृतितर्पm कसैको पनि ध्यान नजाने अनि भएभरको शक्ति लगाएर तीजको चाहिँ आलोचना गर्नुपर्ने किन होला कुन्नि ?
अहिले तीज एक महिना अगिदेखि मनाए अनि समय र पैसाको दुरुपयोग गरे भनेर दिदीबहिनीको खिल्ली उडाएको पनि भेटिन्छ । हाम्रा दिदीबहिनीहरूले यो चाड मनाउँदा घरपरिवारलाई नै बेवास्ता गरेर हिँडेका त छैनन् । तीजमा आफन्तसँग भेटघाट गर्ने योजना बनाउँदा एउटी आमा आफ्ना बच्चालाई खुवाइपियाई विद्यालयमा पु¥याएर मात्र यस्ता कार्यक्रममा सहभागी हुन्छे अनि त्यस्ता कार्यक्रममा भेला भैसकेपछि पनि मेरो घरमा बुबाआमालाई (सासूससुरा) लाई खाजा खुवाउने बेला भयो, चिया खुवाउने बेला भयो, स्कुलमा बच्चा लिन जाने बेला भो भन्दै कार्यक्रम स्थल छोडेर जान्छे । यसरी आफ्नो कर्तव्य निर्वाह गर्दै एक क्षण दिदीबहिनी भेला भएका ठाउँमा उपस्थिति जनाएर केही बेर भए पनि रमाउँदा विकृतिको पहाडै खसेजसरी खिल्ली उडाउनु पर्ने किन होला कुन्नि ?
तीजको दर तारे होटलमा खानथाले रे, व्यापक खर्च गरे रे ! अहिले तीजको दर पारिवारिक स्तरमा मात्र सीमित भएको देखिँदैन क्या । विद्यालय, कलेज, सरकारी एवं गैरसरकारी संस्थामा आबद्ध दाजुभाइहरूले दिदीबहिनी रमाइलो गरुन् भनेर भेटघाटको परिवेश सिर्जना गरिदिएको नराम्रो हो र ? अब कुनै सङ्घसंस्थाले गर्ने कार्यक्रम कसैको घरमा गर्न सकिन्छ र ? एक आना, दुई आनामा घर बनाउने जमानामा कसको घरमा ठाउँ पुग्छ र ? त्यसैले पार्टीप्यालेसजस्ता ठाउँहरूमा कार्यक्रमको आयोजना गर्नुपरेको कुराचाहिँ यथार्थ हो । अनि सम्पत्ति हुनेले त दैनिक नै तारे होटेलबाट नै मगाएर खाएका छन् त । त्यस्तालाई त तीजको दर पर्खनै पर्छ र उनीहरूलाई सधैँ तीज, सधैँ दसैँ, सधैँ चाडबाड... । अलिअलि हुनेखाने दाजुभाइले के जाति क्यासिनो, के जाति बार अनि के जाति रेडलाइट एरियामा गएर बाउबाजेको छाला नै स्वाहा पारेको हामीले देखेका छैनौँ र ? दाजुभाइका यस्ता पुरुषार्थले समाजमा केही असर नगर्ने तर आफ्नो कर्तव्य निर्वाह गरेर वर्ष दिनमा एकपटक दिदीबहिनी मिलेर भेटघाट गरी मनोरञ्जन गर्दाचाहिँ सामाजिक विकृति भित्रियो भनेर कोकोहोलो मच्चाउनु पर्ने किन होला कुन्नि ?
हुनेखानेले लुगागहना प्रदर्शन गरे रे, तीजले सामाजिक विभेद सिर्जना ग¥यो रे । ए हजुर त्यो त विवेकै नभाको मान्छेले गर्ने कुरा भैगो नि । मेरा वरिपरिका छिमेकी सबै निजी गाडी चढेर हिँड्छन्, मेरो घरनेर आइपुगेपछि मलाई सुनाउन बेस्सरी हर्न बजाउँछन् तर मैले अहिलेसम्म मलाई पनि गाडी चाहियो भनेर बुढालाई कचकच गर्नु त परै जाओस्, धरोधर्र्म सपनामा पनि चिताएको छैन हजुर । अरूले घोडा चढे भनेर आपूm धुरी चढ्न खोज्नेलाई त काँध थाप्नु त परै जावस् ‘राम ∕ राम ∕’ मात्र भन्न सकिँदैन नि ।
अँ, अहिले तीजका विरुद्ध सुनिने अर्को चर्चा त एकदम रोचक छ नि । तीजको गीत रत्यौलीकाजस्ता अश्लील भए रे, परिवारसँग बसेर सुन्नै नसकिने भए रे । आदरणीय महानुभावहरू यसप्रति आलोचना गर्नुअगि एकपटक अलि गम्भीर ढङ्गले सोचिहेर्नुस् त, तीजेगीतलाई रत्यौलीगीतजस्तो बनाएको हाम्रा दिदीबहिनीहरूले हो र ? यो त सङ्गीतका व्यापारीले दिदीबहिनीको दुरुपयोग गर्दै आप्mनो दुनो सोझ्याएको मात्र हो । दाजुभाइकै सक्रियतामा परिवार एवं सङ्घसंस्थाबाट आयोजित दर खाने कार्यक्रममा मनोरञ्जन गर्दा गाइने गीत त्यस्तो भएको कसैले सुन्नु भएको छ भने मलाई पनि जानकारी दिनोस् न है । उहिले पश्चिमाञ्चलतिर गाइने तीजेगीतमा त्यसबेलाका राजनैतिक व्यवस्थाको जरोमुरो उखेलेर फाल्नुपर्छ भन्दै दिदीबहिनी उत्साहपूर्वक छमछमी नाचेको हामीले देखेको हैन र ? अनि अहिले देशमा लोकतन्त्र आएपछिका गीतमा त झन् यस्तो पो सुनियो —
राष्ट्रपति, सभामुख, प्रधान न्यायधीश पाइयो
अब हामीलाई प्रधानमन्त्री पनि चाहियो ।।
तीजको विरोध गर्नेहरूले हामीलाई छेड हान्ने अर्काे कुरो गहनाको प्रदर्शनी भयो रे । अझ त्यसमा पनि छड्के तिलहरी र झिलीमिली सारीको विरोध त कति हो कति ? आजभोलि त छड्के तिलहरी आधा तोला सुनमा पनि बन्छ हजुर । हाम्रा जातिगत पहिचान दिने अरू कतिपय गरगहनाहरू घटीमा पनि छसात तोला सुन नभई सोच्नै पर्दैन । विभिन्न जातिका दिदीबहिनीले अनेक खाले महँगा गहना लगाई चिटिक्क परेर हिँड्नुचाहिँ संस्कृतिको संरक्षण हुने अत्यन्त कम मूल्यको गहना बिचरो छड्के तिलहरीले त्यत्रो विरोध सुन्नुपर्ने । अहिले जातीय पर्वका बेला दिदीबहिनीहरू आफ्ना जातीय पोसाक एवं गहनामा चिटिक्क परेर हिँडेको देख्दा हामी सबैलाई रमाइलो लाग्छ भने तीजमा दिदीबहिनी रातो सारीचोलोमा सजिँदाचाहिँ किन सबैको टाउको दुखेको होला कुन्नि ?
अहिले एक्काईसौँ शताब्दी रे, विद्युतीय सञ्चारको युग रे । यस्तो युगमा बाँच्न पाएका हामी नेपाली दिदीबहिनीहरू अभैm पनि देउकी प्रथा, छाउपडी प्रथा, बादी प्रथा, झुमा प्रथा, बहुपति प्रथा, दाइजो एवं तिलक प्रथा, मुस्लिम समाजमा प्रचलित तलाक प्रथाजस्ता अनेक थोकबाट हामी किचिएको यथार्थचाहिँ किन कसैले नदेखेको ? अझ विधवा, रजस्वला, निःसन्तान तथा गर्भवतीजस्ता विविध अवस्थामा धार्मिक एवं सामाजिक कार्यमा प्रतिबन्धित गरी हामी मनोवैज्ञानिक रूपले पनि किचिपिची भैरहेका छैनौँ र ? आपूmलाई शिक्षित तथा सभ्य भन्न मनपराउनेले पनि यस्तैयस्ता कुरालाई बढावा किन दिएको होला ? बहुपति प्रथाको सिकार भएकी दिदीबहिनीको ठाउँमा आपूmलाई राखेर एकछिन सोचौँ त हजुर, कस्तो भयावह त्रासदी देखिन्छ ? वर्षैपिच्छे दाजुभाइलाई पालैपालो लोग्ने मान्नुपर्ने स्थितिमा आफैँले छोरासरह स्याहारेको सबभन्दा कान्छो देवरको पालो आइपुग्दा शरीर र मन दुवै शिथिल भएका ती दिदीबहिनीको दशाप्रति हाम्रो ध्यान किन नपुगेको ? अनि वैध मानिएको कथित तलाक प्रथाबाट किचिएर समाजमा तिरष्कृत भई वेवारिसे अवस्थामा नारकीय जीवन गुजार्न बाध्य हाम्रा मुसलमानी दिदीबहिनीको पीडातर्फ हाम्रो ध्यान किन नगएको ? यस्ता विकृतिलाई जातीय संस्कृति एवं रीतिरिवाज भनेर कहिलेसम्म हामी दिदीबहिनी प्रताडित भइरहनुपर्ने ? यिनलाई जातीय चालचलन भनेर बेवास्ता गर्ने हो भने सती प्रथाको उन्मुलन गरेको हामीले नै हैन र ? रजस्वला नहुँदै छोरीलाई अन्माउने चलन मेरै पुस्ताले पनि भोगेको अनि अन्त्य पनि हाम्रै पुस्तामा भएको हैन र ? मानव अधिकारको अवधारणालाई चुनौती दिने अनि मानवीय मूल्यहरूको खिल्ली उडाउने यस्ता प्रचलनहरूमा आवाज नउठाएर किन तीजको विरोध गरेको होला कुन्नि ?
हामीमध्ये कतिपय दिदीबहिनीहरू दाइजो एवं तिलकरूपी क्यान्सरका कारण जिउँदै जलिरहेका छौँ अनि कतिपय दिदीबहिनीचाहिँ जिन्दगीभर निको नहुने घाउ पालेर जिन्दगी घिच्च्याइरहेका छौँ । कतिपय दिदीबहिनी आँसुको पोखरीमा डुबिरहेका छौँ । यति मात्र हो र, दिनप्रतिदिन अकल्पनीय ढङ्गले महँगा हुँदै गएका ज्वाइँ नामक बोकाले हाम्रा जन्मदाता बाबुआमाको ज्यानै लिने तथा बासै उडाउने कुकृत्य हामीले भोगेका छैनौँ र ? यसतर्फ ध्यान गएको भए तिलकका रूपमा लिएका नगद महिला अधिकारका नाममा डलर भजाउनेहरू कतिले फिर्ता गराएको छ ? अनि यस क्यान्सरबाट पीडित कति दिदीबहिनीको जीवन सहज बनाउन अग्रसरता देखाइएको छ ? हुन त दाइजो लिनुदिनुलाई हाम्रो प्रशासनले वैधता नै प्रदान गरेको तथ्य त सत्तामा रहनेहरुका अकुत सम्पत्ति दाइजोमा पाएको देखाइनुले प्रष्ट हुन्छ नै । मानवअधिकारलाई नै चुनौती दिने हाम्रा यस्ता चालचलनको विरोध गरेर सत्तासीन एवं शक्तिवालालाई चिढाउनुभन्दा दिदीबहिनीले वर्षमा एकपटक गर्ने रमाइलोकै विरोध गर्नु सजिलो छ नि त हैन र ?
आजभोलि लोग्नेका दीर्घायुको नाममा व्रत बस्ने भनेर चाड भनेर तीजलाई उडाउन थालिएको पनि देखिएको छ । ए हजुर, हाम्रा कतिपय जातिमा ‘मामाकी छोरी त हकै लाग्छ’ भनेर दिदीबहिनीको इच्छाविरुद्ध जबर्जस्ती बिहे गर्नेगराउने प्रचलन पनि हामीले भोगिरहेका छौँ । अर्काेतिर हाम्रा गाउँघरमा प्रचलित कैयौँ मेलापर्वहरूमा केटाले हुल बाँधेर भएभरको शक्ति लगाई केटीलाई जबर्जस्ती उठाएर लाने प्रचलनबाट पनि हामी दिदीबहिनी आतङ्कित छौँ । यसरी केटीको राजीखुसी विना जबर्जस्ती गर्नेगराउने कार्यचाहिँ महिलाविरोधी नभएर सांस्कृतिक प्रचलन हुने अनि तीजमा एक दिन स्वेच्छाले व्रत बस्दा महिला अधिकारको पहाड गल्र्यामगुर्लुम ढल्ने किन होला कुन्नि ?
व्रत बस्दा त्यसको सकारात्मक–नकारात्मक परिणामको प्रभाव त व्यक्ति स्वयंले भोग्छ । मिथ, पुराकथा एवं किंवदन्तीमा भएका कुरा त अलग हुन् । संसारका सबै जातजातिमा अनेकथरी मिथ पाइन्छन् । अरे बाबा, ती त हाम्रा लौकिक सम्पदा हुन् । त्यस्ता मिथ वर्तमानमा हाम्रा लागि के कति वैज्ञानिक एवं जीवनोपयोगी छन्, अनि तिनलाई कतिसम्म व्यवहारमा उतार्ने भन्ने कुरा शिक्षित एवं विवेकशील व्यक्तिले देशकाल परिस्थिति हेरेर स्वयं निर्धारण गरौँ न । कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामी कागतिरै दौडिने हामी नेपालीको स्वभावै हो । उदाहरणका रूपमा नेपालमा पचासको दशकपछि फस्टाएको ‘साउनमा हरियो चुरा लगाए सौभाग्य अटल हुन्छ भनेर शास्त्रमा लेखिएको पाइन्छ’ भन्ने हौवा फिँजाइदिएको हेर्नुस् त । साउनमा हरियो चुरा लगाए सौभाग्य अटल हुन्छ भनेर कुन शास्त्रमा लेखिएको छ बताइदिने कोही छ ? यो त विभिन्न सञ्चार माध्यममा जागिर खाने उपबुज्रुग सम्वाददाता शास्त्रका ज्ञाता भइटोपलेर फुँदा जोडिदिएको मात्र त हो नि । यसैले तीजको व्रतका सन्दर्भमा प्रचलित मिथ जेजस्ता भए पनि अहिले अधिकांश दिदीबहिनीहरू व्रत बस्न वा नबस्न स्वतन्त्र छन्, परिवारका कसैले पनि व्रत बस्न उनीहरूलाई बाध्य पार्ने चलन बिस्तारै हराउँदै गएको देखिँदैछ त । त्यसैले यसलाई त्यति ठूलो हौवाका रूपमा व्याख्या गर्नेगराउने किन होला कुन्नि ?
यति कुरा गरिसकेपछि मलाई केही प्रश्न सोध्न मनलागेको छ । आज्ञा मागेँ है त— तीज पर्व नेपाली महिलाहरूले भोग्नुपर्ने अन्य कतिपय बाध्यात्मक प्रचलनभन्दा पनि दुखद छ ? ईश्वरका नाममा निरीह पशुको बलि दिने प्रचलनभन्दा पनि आलोच्य छ ? प्राणदाता अन्न नष्ट गरी बनाइएको रमरमेलाई सगुन मानेर अनिवार्य रूपमा सेवन गर्नैपर्ने प्रचलनभन्दा निकृष्ट पनि छ ? दाइजो र तिलक प्रथाभन्दा पनि आततायी छ ? मुस्लिम समाजमा प्रचलित तलाक प्रथाभन्दा पनि निन्दनीय छ ? वर्षेनी एकपछि अर्काे उमेर नमिलेका लोग्ने भोग्नुपर्ने चलनभन्दा पनि त्रासदीपूर्ण छ ? इच्छाविरुद्ध जबर्जस्ती घिच्च्याउनुभन्दा पनि घातक छ ? यस्ता प्रचलनतर्पm कसैको ध्यान नगई तीजका विरुद्ध मात्र किन आवाज उरालेको ? यी प्रश्नको जबाफचाहिँ जसले दिए पनि हुन्छ है... ∕
अनि अर्काे कुरो नि, तीजका पक्षमा वकालत गर्नु रामोराम मेरो अभीष्ट हैन है । साँच्चै भनौँ— सांस्कृतिकताका नाममा हामीले भोगिरहेका यी प्रचलनतर्पm यहाँहरू सबैको दृष्टिकोण जान्न मन लागेको मात्र हो । व्यक्तिगत रूपमा मलाई सोध्नुहुन्छ भने मन, वचन र कर्मले कसैको चित्त नदुखाई लुसुलुसु आफ्नो काम गर्नु नै धर्म होजस्तो लाग्छ मलाई त । यी चाडपर्व, देवता, रीतिरिवाज भनेका आफन्तका बीचमा भेटघाट गराउने, सद्भाव साटासाट गर्ने निहुँ मात्र हुन्, अनि आर्यघाटमा नसुताउन्जेल कहिल्यै नसकिने लठाराहरूलाई एकछिन पन्छाएर यसो रमाइलो गरिटोपल्ने साधन हुन् । हाम्रा कुनै पनि सामाजिक प्रचलनप्रति मेरो आग्रह–पूर्वाग्रह छैन भनेर कसैले पत्याउनु भएन भने म जे भन्नुहुन्छ त्यही टाउकामा राखेर किरिया नै खानसक्छु । मेरा मनमा उठेका ठेट्नाहरूलाई कसै न कसैले शान्त पारिदिनुहुन्छ भन्ने विश्वासमा बसेकी छु नि हजुर... ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2073

लेखकका अन्य रचनाहरु