गुड फ्राइडे

- भूधरा उपाध्याय

धेरैजसो मान्छेले भनेको सुनेको छु शुक्रवारलाई 'गुड फ्राइडे' भनेर। तर मैले कसैलाई सोधेको छैन - 'किन गुड फ्राइडे ? यो दिनलाई गुड बनाउन के के गर्छौ?' स-साना नानीहरुको स्कुलमा 'हाफ' बिदा हुने हुनाले पढ्नु पर्दैन , छिट्टै घर फर्किएर धेरै खेल्न पाउँछन् त्यसैले 'गुड फ्राइडे' भयो होला। कार्यालय समय पनि अरु दिनको भन्दा दुई घण्टा कम भएकोले साथीहरुसँग रमाउन, सिनेमा हेर्न अथवा मासु वा माछाको पोको बोकी घरमा बसेर खाँदै रोमान्स गर्न‌ पाइने हुनाले 'गुड फ्राइडे' भयो होला।

म पनि शुक्रवार निकै खुसी हुन्छु। बिहान नुहाइधुवाइ चिटिक्क पर्छु। नयाँ ताजगी ल्याउन अनुहार सिंगार्छु अनि शरीरभरि मगमग वास्ना आउने अत्तर छर्किन्छु। निकै फूर्तिकासाथ कार्यालय पुग्छु। दिन ढल्किदै जान्छ। म काममा व्यस्त हुन्छु। जतिसुकै व्यस्त भए पनि घडीको छोटो सुइले बाह्र बजेतिर संकेत गर्छ अनि लामो सुइले बाह्रको अङ्कलाई बिस्तारै स्पर्श गर्दै बुइ चढ्छ । मेरो बेचैनी शुरु हुन्छ। घडीको सुइ आनन्दले बुइ चढेर बसिरहदैन चकचक गर्दै घुमिरहन्छ, हो त्यतिबेलै म आफ्नो मोबाइलको जाँच गर्न थाल्छु। कुनै एस एम एस आयो कि? मेरो मोबाइल साइलेन्टमा त छैन? म यही क्रम दोहोर्याइ रहन्छु। घडीको सुइले फेरि पनि एकलाई अनि दुईलाई बुइ चढी पार गरिसकेको हुन्छ।

मेरो धैर्यको बाँध टुटिसकेको हुन्छ। बाह्बजेपछिको काम भनेकै अनगिन्ती पटक मोबाइल हेर्नु र अधैर्यले छटपटाउनु हुन्छ। छातीमा नजानिदो पीडा हुन्छ। हृदय टुक्रिएको भान हुन्छ। मन उडेर काँहा जान्छ, काँहा पुग्छ पत्तै हुदैन। कार्यालय बन्द हुन्छ। मेरा पाइला घरतिर फर्किनै मान्दैनन्। गह्रुङ्गो पाइताला बिस्तारै घरतिर बढाउँदा फेरि मोबाइल हेर्छु तर कुनै एस एम एस र मिस्डकल पाउदिन। लाग्छ बाटोमा कुनै पोखरी होस् र सिधै गएर झ्वाम्म हाम्फालुँ अनि आफ्नो इहलिला नै समाप्त गरुँ। 'नरहेगा बाँस नबजेगी बाँसुरी' टन्टै साफ। जलस्रोतको दृष्टिले विश्वको दोस्रो धनी राष्ट्र नेपालको बासिन्दा भएर पनि मैले काँहा पाउनु मन लाग्ने बित्तिकै मलाई डुबाउने पोखरी? छेउमा भएको हनुमन्ते खोलामा फोहोरको डङ्गुर छ। कालो मैलो सतहमा कतै कतै देखिएको पानीले ढलको प्रतिनिधित्व गरिरहेजस्तो लाग्छ। त्यसमा म कसरी हाम फालुँ जसले मलाई डुबाउदैन। बाग्मती नदीमा हाम्फालुँ भने त्यसले पनि बगाउदैन। मलाई डुबाउने पानी खोज्दा खोज्दै शुक्रवार बितिहाल्छ। यसै क्रमले मेरा हरेक शुक्रबार यसरी नै बितेर जान्छन्। एउटा खिन्नता र गहिरो पीडाबीचमा झुलिरहेको मेरो जिन्दगीमा यो 'गुड फ्राइडे' को कुनै तुक छैन। त्यसैले 'गुड फ्राइडे' मनाउनेहरुसँग सोध्न मन लागेको छ - 'तिमीहरु 'गुड फ्राइडे' कुन खुसीमा कसरी मनाउँछौ हँ?'

कुनै शुक्रवारको दिन ठिक एघार बजे आकाश र म काठमाण्डौको व्यस्त सडकलाई छिचोल्दै कपनतिर लागेका थियौँ। बाटोमा छिन्छिनमा भएको जामको हामीलाई कुनै पर्वाह थिएन। आकाशको हातमा गाडीको स्टेरिङ खुब सुहाएको थियो। उसले त्यो स्टेरिङ्लाई मायालु स्पर्शसँगै घरि दाँया घुमाउँथ्यो त घरि बाँया। अनुहारमा हँसिलो चमकता थियो । आधा घण्टाको ड्राइभमा नै हामी कपन बौद्धगुम्बाको फेदीमा पुगिसकेका थियौँ।

हामीले त्यहीँ गाडी पार्क गरेर बाँकी यात्रा पैदलैै तय गर्ने निधो गर्यौँ। बिस्तारै उकालो उक्लिन थायौँ। शान्त वाताबरणमा‌ चराचुरुङ्गीको आवाज कानमा ठोक्कि रहेको थियो। म अघि अघि थिएँ। केही समयपछि पछाडि फर्किएर हेरेँ। आकाश त दुबै हात फैलाएर आकाश तर्फ हेर्दै रहेछ। उसको अनुहारमा रुखका पातबाट चियाउँदै छिरेर घामको प्रकाशले प्रज्वलित बनाइ रहेको देखेँ। आहा कति मनमोहक थियो उसको अनुहार ! उसका दुबै बाहु मेरालागि फैलिएका हुन् की झै लाग्यो। हेरिरहेँ धेरैबेर अनि बिस्तारै छेऊमा गएँ र उसको दाहिने हातको औँला समाएँ। उसले बिस्तारै मलाई हेर्यो र मुस्कुरायो।

कति आनन्दले श्वास फेर्न सकिन्छ है यहाँ! ऊ बोल्यो।
तिमीलाई यस्तो ठाउँ मन पर्छ ? मैले प्रश्न गरेँ
साह्रै मन पर्छ- उसले जवाफ दियो।

हामी केही क्षण उभियौँ र काठमाण्डौ शहरलाई हेर्न थाल्यौँ। मैले भने- कचौरामा कोइला राखेजस्तो कति नराम्रो शहर है?
भर्खरै डढेलो लागेर निभाएको जस्तो पो देख्दैछु म त- उसले भन्यो।
हामी त्यही ठाउँबाट आएको तर अहिले हेर्दा त्यहाँ कसरी श्वास फेर्थ्यौँ होलाजस्तो लाग्यो। गुजुमुज्ज घर, अव्यवस्थित शहर हेर्दै दिक्कलाग्दो - मैले थपेँ।
उसले लामो श्वास तान्दै भन्यो - यसैले त म अहिले आनन्दले श्वास लिदैछु नि!

मैले उसको हात तान्दै भने - यहीँ उभिइ रहने कि गुम्बामा पनि जाने?
हिँड जाऊ!- भन्दै उसले मेरो हात च्याप्प समात्यो।समाइका दुई हात हल्लाउँदै हामी अघि बढ्यौँ।
केही क्षणको सन्नाटापछि मैले उसको अनुहार पुलुक्क हेरेँ। पलभरलाई चार नयन दुई भए।

उसका र मेरा कुराको सिलसिला कहिल्यै सकिदैनन्। उसले अष्ट्रेलीयाको कुरा गर्यो, मैले अमेरिकाको। उसले युरोपको कुरा गर्यो, मैले भारतको। उसले बि पि को कुरा गर्यो, मैले शुसिला कार्कीको। मैले सोचेँ आज त आकाशले केही भन्ने छ हाम्रो बारेमा। मिठा मिठा कुरा गर्नेछ हाम्रो सम्बन्धमा तर न त उसले केही भन्यो, न त मैले नै।

हामी गुम्बाको सुन्दर बगैँचामा पुगिसकेका थियौँ। बिस्तारै गुम्बाभित्र छियौँ। शान्त सफा ठाउँमा बडेमानका पित्तलका बौद्धका मूर्ति अगाडि उभियौँ। त्यहाँको सरसफाइ देखेर हाम्रै शरीरको मैला त्यहाँको भूईमा लाग्ने हो कि भन्ने डर लाग्यो। हामी मूर्तिको अगाडि एउटा कुनामा पलेटी कसेर बस्यौँ। मैले बुद्धका अर्धमूर्च्छित नयनलाई एकटक हेरेँ । केही क्षणपछि आकाशतर्फ फर्किएँ। ऊ त दुबै आँखा बन्द गरेर गहिरो ध्यानमा बसेको रहेछ। मैले उसका प्रत्येक अङ्ग प्रत्याङ्गलाई निहारेँ। उसको काखमा टाउको राखेर आनन्दले निदाउँ झैँ लाग्यो तर हिम्मत भएन। फेरि बुद्धका अर्धमुर्च्छित नयनलाई हेरेँ अनि बिस्तारै आँखाबन्द गरेँ।

निकैबेर ध्यानमग्न भएपछि आफ्ना आँखा खोलेँ। छेउमा आकाशलाई हेरेँ । ऊ त्यहाँ थिएन। बुद्धको मूर्ति अगाडि गएँ र दुबै हात जोडेँ अनि बाहिर निस्किएँ। आकाशलाई खोज्दै गुम्बाको दायाँतिर गएँ। आकाश त्यहीँ चउरमा बसेर परपर हेर्दै रहेछ। मलाई किन नबोलाई एक्लै यहाँ आएको?- मैले सोधेँ।
तिमी ध्यानमा मग्न थियौ त्यसैले - मतिर नहेरी उसले जवाफ दियो। हेरन त्यो पारी कति राम्रो जङ्गल ! फेरि कुनै शुक्रवार हामी त्यहीँ घुम्न जाने है - उसले मलाई नहेरी भन्यो।
नाई म त जान्न, त्यहाँ मलाई डर लाग्छ - मैले भने।
उसले मतिर हेर्दै सोध्यो - के को डर नि ? त्यहाँ बाघ भालु केही पनि छैनन्। बाघ भालु त नेपालबाटै लोप हुने अवस्थामा पुगिसकेका छन्। फेरि म भई हाल्छु नि सँगै।

बाघ भालुको डर हैन, मलाई तिम्रो डर लाग्छ - मैले मुकुराउँदै ऊ तिर हेरेर जवाफ दिएँ। उसले एकटकले मलाई हेर्यो तर केही बोलेन। उसको यो हेराईले मलाई असजिलो महसुस भयो। बेकारमा मैले उसँग जिस्किने कोशिश गरेँ भनेर पछुतो‌ पनि लाग्यो। मैलेे बुझ्न सकिन उसको यो हेराइ र मौनताको अर्थ।

निकैबेरको सन्नाटापछि ऊ जुरुक्क उठ्यो। निहुरिएर मेरो हात समात्यो र उठ्ने इसारा गर्यो। म चुपचाप उठेँ र उसकै साथमा अघि बढेँ। अब जाउँ है - उसको आवाज थियो। मैले स्वीकृतिमा टाउको हल्लाएँ। हामी उरालो लाग्यौँ। त्यही रुखका पातलाई छल्दै घामका किरणहरु हामी हिड्ने बाटोमा चियाइ रहेका थिए। ती किरणहरुले घरि आकाशको शरीरलाई छुन्थे र लुगाभरि बुट्टाजस्ता देखिन्थे भने घरि मेरो शरीरमा। हामी गाडीभित्र पस्यौँ। फेरि आकाशका हातहरु गाडीका स्टेरिङ्गमा नाच्न थाले।

म झ्यालबाट परपर हेर्दै बसेँ। रोमाञ्चताभित्रको सन्नाटा मलाई असह्य भयो र भने आकाश ! मैले केही गल्ती गरेँ र ?
होइन । किन र? - उसले सोध्यो।
किन चुपचाप छौ तिमी? - मैले जिज्ञासा राखेँ।
उसले भन्यो - म तिमीसँग धेरै कुरा गर्न चाहन्छु तर अहिले होइन। मैले मेरो व्यवहार मिलाउनु छ अनि मात्र एउटा निचोडमा पुग्नेछु। अर्को भेटमा तिमीलाई सबै कुरा भन्नेछु। त्यतिञ्जेल तिमीले मलाई कुनै सम्पर्क नगर्नु हुन्छ?

म छक्क परेँ। हुन्छ वा हुन्न केही बोल्नै सकिन। आँखामा आँसु टन्न भरिए। आशंका र पीडा दुबै मुटुभित्र सजिए। दिनभरिको रमाइलोले चम्काएको मेरो अनुहार एकाएक खङरङ्ग भयो। पेटबाट के हो कुन्नि सुलुलु बगेर आयो र मेरो घाँटीमा टम्म भरियो। आवाज अवरुद्ध भयो। सोध्न सकिन उसको भनाइको तात्पर्य के थियो ।

बातावरण निस्सासिदो भयो। त्यसमा पनि सिंहदरबारदेखि गाडी जाममा पर्यो। हामी चुपचाप आ-आफ्नै सोचाइमा व्यस्त थियौँ। माइती घर पार गरेपछि सडक केही खुकुलो भयो। गाडीले आफ्नो रफ्तार पक्रिसकेको थियो।बबर महल पार हुनै लाग्दा उसले मेरो दाहिने हात आफ्नो हातमा लिदै भन्यो - म छिट्टै तिमीलाई कल गर्नेछु। मैले उसका आँखामा हेरेँ। आँखाबाटै उसको मन मुटुसम्म पुगेको महसुस गरेँ। बिस्तारै मेरा आँखा झुक्दै उसको छातीसम्म पुगे। त्यही छातीमा टाउको राखेर डाको छोडेर रोउँ झै भयो।

बिजुली बजारको एकछेउमा गाडी टक्क अडियो। म केही नबोली गाडीबाट उत्रिएँ। बाहिरबाट केही झुक्दै उसलाई बाई भन्दै हात हल्लाएँ। उसले मलाई हेर्दै बाई भन्यो र हातलाई स्टेरिङ् मै नचाउन थाल्यो। हेर्दा हेर्दै गाडीले युटर्न गर्यो। झ्यालबाट एउटा हात निस्कियो र निकै बेसम्म हल्लिरह्यो। चिप्लिरहेको गाडीसँगै मेरो मन पनि चिप्लिरह्यो।

आफ्नो अगाडि कडा आवाजमा हर्न बजेको सुनेर थरङ्गै तर्सिएँ। म कतिबेलादेखि त्यहाँ टोलाइ रहेकी थिएँ हेक्का भएन। बल्ल मैले थाह पाएँ कि मेरो गन्तव्य पूरा गर्न बाँकी नै छ। आफू अनुकूलको बस छानेर गन्तव्यतिर सोझिएँ। मेरो शरीर बसको सिटमा बसेको थियो तर मनले आकाशलाई पछ्याइ रहेको थियो। आँखाले परपर केही खोज्दै थिए भने शरीरले घरको बाटो नापिरहेको थियो। लाग्थ्यो, मेरो शरीरका प्रत्येक अङ्गहरु टुक्रा टुक्रामा बिभाजित छन् र तिनीहरुले छुट्टा छुट्टै आ-आफ्ना काम एउटै समयमा गरिरहेका छन्।

हो यही समयदेखि म शुक्रवारको दिन उसको फोनको प्रतिक्षामा खुसी हुन्छु। दिन ढल्दै गएपछि बैराज्ञतामा डुब्छु र मनमनै भन्ने गर्छु -आकाश ! तिम्रो आइटी सम्बन्धी दक्षताले सबैलाई फाइदा भएकोछ, शिवाय म। तिमीले आफैले मात्र मसँग सम्पर्क राख्न पाउने शर्त किन राख्यौ? के मैले कहिल्यै तिमीसँग सम्पर्क गर्न नपाउने? तिमी दिनरात नेटमा खेलिरहन्छौ तर मसँग जोडिन सकेनौ। यस्तो डिजिटलको दुनियाँमा मलाई आँखा नदेख्ने अन्धो र कान नसुन्ने बहिरो बनायौ। म यसरी कति दिन बाँच्न सकौँला र?अब मसँग एउटै उपाय छ तिमीलाई भेट्ने।

नेपालमा नयाँ संविधान आयो भन्छन्। अब कानुनी राज हुन्छ रे । कानुनअनुसार समानता र स्वतन्त्रता पनि पाइयो रे। कुनै लिङ्ग र वर्णका आधारमा भेदभाव हुने छैन रे। अब कुनै केटीले हाफ पाइन्ट लाएर हिड्दा कसैले सिठी मार्ने छैनन्। छोरी वा बुहारी एक्लै रात बिरात निर्ढुक्क सडकमा हिड्न सक्नेछन्। म पनि मेरो आकाशलाई बिजुली बजारको सडक पेटीमा एक्लै हरेक पल, हरेक घण्टा पर्खिएर बस्ने छु। दिनभर मलाई सडकमा उभिएको देख्नेले पागल भन्ने छैनन् किनभने देशमा संविधान आएको छ। म स्वतन्त्र छु ,आफूले चाहेको गर्न सक्छु। रातमा मेरो शरीर लुछ्न र चिथोर्न कोही आउने छैनन्। तिमीले छोडेर गएको ठाउँमा म तिमीलाई कुरेर बस्न सक्नेछु।

कुनै दिन यही बाटो गरेर कतै जाँदै गर्दा मलाई जडमूर्ति भएको देखेर तिमीले आफ्नो गाडी रोक्ने छौ र सोध्नेछौ -' बिन्दा तिमी अहिलेसम्म यहीँ छ्यौ?' अनि म भन्ने छु -' हेरन आकाश, तिमीले छोडेर गएदेखि आजसम्म म जड मूर्ति बनेर यहीँ बसेकी छु तिम्रो प्रतिक्षामा। मेरो शरीरमा रगत पनि जमिसकेकोछ । तिम्रो तातो हातको स्पर्शविना यो स्वचालित हुन सकेन। आउन, एकपल्ट मलाई छोएर हेर। मेरो शरीरमा फेरि रक्त सञ्चार गराइ देउ। बन्द हुन खोज्दैछ मुटुको धड्कन पनि। तिमीबिना यो धड्कन धड्किनै मान्दैन।'

उसको तातो हातको स्पर्शले मेरा नसाहरुमा बिस्तारै रक्त प्रवाह हुनेछ। मुटु ढकढक ढकढक गर्न थाल्ने छ। मेरो ओठ र जिब्रो चल्मलाउन थाल्नेछन् अनि बिस्तारै 'आइ लभ यु आकाश' भन्दै फुस्फुसाउने छन्।
म कामना गर्छु त्यो दिन शुक्रवार होस् र म पनि आकाशसँग गुड फ्राइडे मनाउने छु।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2073

लेखकका अन्य रचनाहरु