भारतीय नेपाली कथामा नवलेखन

- डा. राजकुमार छेत्री

प्रस्तावना
भारतीय नेपाली कथाको सन्दर्भमा नवलेखन, नवप्रयोग वस्तु र शिल्पशैलीगत प्रवृत्तिमा के कसरी भित्रिएको छ, पारम्परिक कथा लेखनपरिपाटीभन्दा के कस्तो रूपमा आजको नवलेखन भिन्न हुन खोजेको छ, सर्वेक्षणमूलक नै भए पनि अनुशीलन गर्नु आजको यस सङ्गोष्टी तथा प्रस्तुत कार्यपत्रको पनि मुख्य अभिष्ट रहेको छ। तर भारतीय नेपाली कथालेखनको समृद्ध परम्परामा विगतदेखि आजसम्म अनवरत् रूपमा समर्पित सशक्त कथासर्जकहरूदेखि लिएर आज साहित्य लेखनमा उज्याला सम्भावना बोकेर देखापरेका नवोदित कथाकारका कथाहरूको साङ्गोपाङ्गो मूल्याङ्कन यस किसिमको निर्दिष्ट समय सीमा र पृष्ठहरूमा सम्भव हुने कुरो होइन। यसर्थ समकालीन भारतीय नेपाली कथालेखनमा स्पष्ट रूपमा देखा परेका मूलभूत प्रवृत्ति र विशेषताहरूलाई सङ्क्षेपमा प्रकाश पार्ने कोशिष रहेको छ।
आधुनिक भारतीय नेपाली कथालेखनको विकासपरम्परामा कथाशिल्पी, कथाचिन्तक इन्द्रबहादुर राईको जीवनवादी, आयामिक र लीलावादी कथा प्रयोग र वैशिष्ट्यले पूर्वीय र पाश्चात्य दर्शन, विज्ञान र कलाचिन्तनलाई कलात्मक साहित्यिक स्वरूप प्रदान गरेको छ। अतः रूपसंरचनावादी प्रवृत्ति र प्रविधितिर अघि बढेका आजका नेपाली कथालेखनमा विविध दर्शनको प्रयोग, विधातत्वको अतिक्रमण र अन्तर्मिश्रण तथा नव्यताका विभिन्न रूपविधान तथा रूपसंरचनात्मक शिल्पप्रविधिमा अपारम्परिकता जस्ता तत्वहरू नै नवलेखनका मूलभूत पहिचान र लेखनगत आदर्श हुन्। आयामेली लेखनले पूर्वसिर्जनलाई चेप्टो साहित्य भनेर त्यसमा भएको अपुग, अपूर्णता र त्यसको चेप्टोपनप्रति गतिलो र धारिलो प्रहार गर्‍यो। लेखन र अभिव्यक्तिको सहजताको निम्ति कतैकतै आवश्यक परेको ठाँउमा परम्परागत भाषिक संरचनालाई भाँचभूँच पारेर नयाँ किसिमको भाषिक अभिव्यक्ति समेतको निर्माण गर्‍यो भने लीलालेखनले नेपाली कथामा विर्निमाणवाद अर्थात् विधाभञ्जन, विधामिश्रण र विधाअन्तरणको प्रायोगिक रूपलाई अङ्गाल्न पुग्यो। वर्तमान समयसम्म आइपुग्दा कथाको परम्परागत परिभाषा र दृष्टिकोण दिनप्रतिदिन अझ निरर्थक हुँदै गएको प्रष्ट देखिन्छ किनभने आज लेखिँदै आएको कथाले पुरानो परिभाषा तथा कथागत मूल्य-मान्यताको सत्तालाई नै परिवर्त्तन गरिदिएको छ।
आधुनिकताको नवीन आग्रह र आयाममा भारतीय नेपाली कथालेखनको स्वरूप संरचना बदलियो भने कथालेखनगत मूल्य मान्यता र जीवनदृष्टिकोणमा समेत आमूल परिवर्तन देखा पर्‍यो। यसप्रकार कथाका परम्परागत मूल्यमान्यताहरू क्रमशः विघटित हुँदै गए। अतः आधुनिक नेपाली कथामा रैखिक ढाँचाका सरलगणितीय कथानकको अनुपस्थिति अनि यसको सट्टा मिश्रित प्रकृति र प्रवृत्तिको खकुलो कथ्यवस्तु र शिल्पसंरचना भएको विधाभञ्जन र विधामिश्रणको आग्रह राखेर कथाहरू लेखिनथाल्यो। यस नवीन विचार चेतनाको लेखनयात्रामा पाठकको चेतना, जीवनदर्शन, संवेग, अमूर्त चिन्तन तथा बौद्धिकतालाई कुनै न कुनै पक्षबाट अङ्गाल्ने अभिष्ट राखेको देखिन्छ।

समकालीन भारतीय नेपाली कथालेखनः प्रकृति र प्रवृत्तिगत सन्दर्भ-
आयामेली लेखनले जन्माएको नयाँ वैचारिकता, शिल्पशैलीगत नवीनता, प्रतीकात्मकतालाई अझ पछिल्ला चरणका कथासर्जकहरूले त्यसमा यौनमूलकता, अकथात्मकता, अस्तित्ववादी-विसङ्गतिवादी प्रगतिवादी चेतनाले कथालेखनलाई अझ प्रोत्साहन दिँदै अघि बढेको देखिन्छ। समकालीन कथालेखनभित्र अझ टडकारो रूपमा देखिँदै आएको कतिपय सिर्जनाशील लेखन अभियानहरू कविता लेखनमा बढी केन्द्रित भए पनि कथालेखनमा पनि त्यसको प्रभाव परेन भन्न सकिन्न। भारतीय नेपाली कथालेखन यात्रामा स्वच्छन्दतावादलाई रूपनारायण सिंह, शिवकुमार राई, हायमनदास राई किरात तथा यथार्थवादी सञ्चेतनालाई इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, लीलबहादुर क्षेत्री प्रभृति कथाकारहरूले पचाएरै नेपाली साहित्यमा ल्याए भने यौनमनोविज्ञानलाई चन्द्र शर्मा, प्रेम प्रधान, गुप्त प्रधान, राधाकृष्ण शर्मा तथा अस्तित्ववाद, विसङ्गतिवाद एवम् प्रगतिवादी दृष्टिचेतनालाई असित राई, समीरण छेत्री प्रियदर्शी, बद्रीनारायण प्रधान, बी. योञ्जन, नन्द हाङखिम, रूद्र पौड्याल आदि जस्ता कथासर्जकहरूले नेपाली कथासाहित्यलाई धनी तुल्याएका छन्। शिल्पशैलीगत नवीनता देखाउने ध्याउन्नमा प्रवृत्त देखिएका कथाकारहरूमध्ये सूर्यकुमार सुब्बा, आर्य लामिछाने, अर्जुन निरौला, मोहन ठकुरी, विन्द्या सुब्बा खडकराज गिरी प्रभृतिलाई लिन सकिन्छ।
समकालीन विश्वसमाज, भूमण्डलीकरण तथा साइबर संस्कृति आदि जस्ता आजको समयसित सरोकार राख्ने विविध विषयहरूमा कुनैकुनै अङ्गमा छोएर स्वैरकल्पना, वैचारिकता, असित व्यङ्ग्यको प्रयोग र यथार्थवादी लेखनको मिश्रित प्रवृत्तिलाई कथ्याधार बनाउँदै लेखनमा सक्रियतापूर्वक देखा पर्ने कथाकारहरूमा थीरूप्रसाद नेपाल, पेम्पा तामाङ, नीना राई आदिलाई लिन सकिन्छ। युद्धको विभीषिका, अभिघातका चेतनाले उत्प्रेरित भइ कथालेख्नेहरूमा गुप्त प्रधान, समीरण क्षेत्री 'प्रियदर्शी', नन्द हाङखिम आदि प्रमुख देखिन्छन्। आधुनिक भारतीय नेपाली कथालेखनलाई (क) यथार्थपरक कथालेखन, (ख) प्रयोगपरक कथालेखन र (ग) समकालीन कथालेखनको रूपमा वर्गीकरण गरी अध्ययन-अनुशीलन गर्न सकिन्छ।
आज लेखिएको भारतीय नेपाली कथामा नवलेखनको स्वरूप र विशेषताहरू निर्क्यौल गर्दा कथालेखनमा आएको उत्तरआधुनिक प्रवृत्ति तथा उत्तरऔपनिवेशिक स्वरलाई नै केन्द्रिय पृष्ठधारमा राखेको देखिन्छ। आजको कथालेखनले एउटा विशेष प्रवाहलाई एउटै केन्द्रीय अर्थमा मात्र समेट्न खोज्ने विचारलाई परित्याग गर्दै पाठको अनेक अर्थ र पठन गर्न सकिने पाटाहरूको अनुशीलन गरेको छ। आजको कथालेखनको मूलप्रवाह विपठनतिर मोडिएको छ। कथाकार इन्द्रबहादुर राईको कठपुतलीको मनअन्तर्गतका कथाहरूले अनेकताको व्याख्यामा फरक अर्थ लाग्ने प्रसङ्ग इङ्गित गरेको छ। यस पाठमा राईले कतै कथा, कविता र निबन्ध जस्तो र कतै भने नाटक, समालोचना र आत्मालोचनाको रूपमा प्रस्तुत गरेको हुनाले पाठकले पनि फरक फरक स्वाद र अर्थको तहबाट रसास्वादन गर्न सक्छन्। सोझै भन्ने हो भने प्रत्येक पाठले विकल्पपूर्ण अर्थ र स्वाद दिन सक्ने स्थिति र सामर्थ्य राख्दछ। कथाकार राईले जस्तो आफ्नै किसिमको सैद्धान्तिक आधार र दृष्टिकोणको स्थापना र उद्‍घोषणा नगरी सिर्जनात्मक लेखनमा सदा लागिरहने सानु लामा, समीरण छेत्री प्रियदर्शी, गुप्त प्रधान, रूद्र पौड्याल, प्रेम प्रधान, पेम्पा तामाङ प्रभृतिका कथाहरूमा आजको युगको संवेदनहीनता, नग्नता, यौनदुराचार, निस्सारता, निस्पृहता, विकृत सत्यको उद्‍घाटन गरिएका घटना प्रसङ्गहरू अधिक मात्रमा भेटिन्छन्।
तेस्रो आयामको जस्तै लीलालेखनको पनि आधारभूत लेखनसूत्रहरू निर्मित छन्। यसकिसिमको लेखनले अनिश्चितता, अनिर्धार्यता, वस्तुको वस्तुता, ज्ञानको सीमितता, पुनरावृत्ति, अर्थ वैयक्तिकता, विधासिद्धान्तमा अतिक्रमण, विघटनकारिता, मौलिकतामाथि गतिलो प्रश्नचिह्न, परम्परागत लेखनपद्धतिप्रति विरोधभाव, विधामिश्रण तथा अवतारवाद जस्ता विशेषताहरूलाई अङ्गालेको भेटिन्छ। वस्तुतः कथाकार राईपछि भारतीय नेपाली कथाकारहरूबाट पनि घोषित र अघोषित दुवै रूपमा लीलापरक कथाहरू लेखिएका पाइन्छन्। कथाकार राईका झ्याल र अनुवाद शीर्षक कथाहरू अन्य लीलावादी कथाका तुलनामा निकै दुर्बोध्य देखिन्छन्। रूद्र पौड्याल, अविनाश श्रेष्ठ, माधव बुढाथोकी र केदार गुरूङ प्रभृतिका कतिपय कथाहरूको कलेवर हेर्दा कथ्य र शिल्पविन्यासमा प्रशस्त नौलो र बेग्लोपन परिलक्षित हुन्छ। कथाकार पौड्याल र बुढाथोकीका कथामा पौराणिक कथ्यहरू समसामयिक प्रसङ्ग र परिदृष्यहरूमा आरोपित र प्रतिपादित भएको भेटिन्छ भने आजको समाज आडम्बरी चलन चाँजो, नीति नियमहरूबाट अनायसै प्रताडित बन्नपुगेको दुःख्दो स्थितिको स्वरलाई व्यङ्ग्यात्मक शैलीमा निकै कसिलो झापट हिर्काउन सक्षम बनेका छन्। मिङ लिवाङको मनभित्रको मनमा संवेदना र अनुभूति लेखनको एउटा बेग्लै फराकिलो नयाँ संसार देखिन्छ भने सतीश रसाइलीका ऐनाको मेघका कथाहरूमा आजको विश्वसमाजभित्र एउटा गम्भीर समस्याको रूपमा देखापरेको समलैङ्गिताको मूल्य मान्यता-अमान्यताको प्रश्नलाई विमर्शमा ल्याइएको छ। उनीहरूका कथासिर्जनाले अनुभूति र संवेदना तथा सामाजिक सरोकारका तीव्र स्वरलाई आत्मसात गरेको स्पष्ट देखिन्छ।
आजको कथामा विशेषगरी व्यङ्ग्यपरक विद्रोहात्मकता, प्रतीकात्मक बिम्व तथा समय र समाजसापेक्ष र समकालीनताको यथार्थ प्रस्तुति पाइन्छ। अझ सूक्ष्म रूपमा हेर्ने हो भने आज लेखिँदै गरेको कथाले सामाजिक सन्दर्भ, याथार्थिक सन्दर्भ, सांस्कृतिक सन्दर्भ, राजनैतिक सन्दर्भ, वैचारिक सन्दर्भ, प्रायोगिक सन्दर्भ र समसामयिक सन्दर्भलाई गम्भीरतापूर्क सम्बोधन गर्न खोजेको भेटिन्छ। साहित्यलेखनलाई चिन्ह, सङ्केत र शब्दको खेलमात्र मान्ने उत्तरआधुनिक लेखन सिद्धान्तभित्र एउटा लेखकको मृत्यु हुन्छ अनि एउटा मात्र होइन तर धेरैवटा सचेत पाठकको पनि जन्म हुन्छ र त्यो पाठक अर्थबहुलताको अगोचर चक्रव्यूहमा आफैआफ फस्दछ। यसर्थ एउटा लेखकको मृत्युले अर्को एउटा पाठकले जीवन पाएको हुन्छ। आजको नवलेखनले अनिश्चय र अनिर्धारण जस्ता धारणालाई आत्मसात् गर्ने हुनाले यसले कुनै पनि सत्यलाई शाश्‍वत र स्थिर मान्दैन, मान्नै सक्तैन। वास्तवमा कुनै पनि सत्य सन्दर्भसापेक्ष, समयसापेक्ष, समाज र व्यक्तिसापेक्ष हुनेगर्छ र सत्य कहिल्यै पनि सार्वभौमिक, सर्वकालिक, सर्वजनीन र परमसत्य हुनै सक्तैन। अतः कुनै पनि सत्य स्थान, समय, परिस्थिति र परिवेशअनुसार सामाजिक, सांस्कृतिक, वैचारिक, कालिक किसिमले निर्धारित हुन्छन्। विनिर्माण, विपठन, अन्तरपठन, विधाभञ्जन, विधामिश्रण, विधान्तरण, पुनर्लेखन, पुनर्सिजन, अन्तर्पाठीयता, अन्तरविषयकता, सङ्कथन-विकथन सिद्धान्त, स्वैकल्पना र द्विचरविरोधको सिद्धान्तहरूले आज लेखिँदै आएको नवलेखनको सिद्धान्त निर्माणमा कार्यकारी भूमिका निर्वाह गरेको छ। यसप्रकार समयको गतिक्रम सँगसँगै भारतीय नेपाली कथालेखनमा नयाँ स्वरूप संरचनाका नवीन कथ्यप्रस्तुति र शिल्पशैलीगत पद्धतिहरू भित्रिएको देखिन्छ।

भारतीय नेपाली कथामा नवलेखनको विशेष सन्दर्भ-
वर्तमान समयमा नयाँ सोंच र नवीन शिल्पशैली र बान्कीका सशक्त कथा लेख्ने कथाकारहरूमा इन्द्रबहादुर राईपछि प्रवीण राई जुमेली, उदय थुलुङ, सञ्जय विष्ट, युवा बराल अनन्त, निरङ्कर थापा, सुरज धड़कन, निमा निची शेर्पा, प्रकाश हाङखिम, छुदेन काविमो, निरज अयोग्य, सञ्जीव छेत्रीका साथसाथै अघिल्लो पुस्ताका केही सक्रिय कथाकारहरू पेम्पा तामाङ, सतीश रसाइली, शान्ति थापा, खडकराज गिरी, शमसेर अली, हरिश मोक्तान अल्लरे आदिले नेपाली कथालेखनमा नवीनताको महक छरेर राम्रा राम्रा कथाकृति दिएका छन्। यस कार्यपत्रमा कथाकार जुमेलीको ऋतुखेल(२००८), थुलुङको एकान्तवास(२००९), विष्टको जुनजस्तै घाम(२०१५),धड़कनको घर(२०१०), हाङखिमको ह्याङमेनको चिट्ठी(२०१४), काविमोको 1986 (२०१५), छेत्रीको साँचो जस्तै कथाहरू(२०१५), गिरीको कालो सर्प र नयाँ प्रजन्म(२०१४) अन्तर्गतका केही कथाहरूलाई दृष्टान्तका रूपमा राखेर अध्ययनलाई अघि बढाउन खोजिएको छ।
प्रवीण राई जुमेलीको ऋतुखेलअन्तर्गत खेलिरहन्छु खेल कति, खिल्ली, इम्मेलिया नाचको एउटा रूप, समय देशको एक इ-मानव, वर्जन आ क का ती पा सि, आइकोनोक्लास्ट पात्र, भ्रान्ति नाटकको सफलतापूर्वक प्रदर्शन, कला इडोस्पोपिक गाउँ र भोक अनन्त कथाको पुनःपठन शीर्षक दस कथाहरूमाथि क्रमशः जय क्याक्ट्स, पेम्पा तामाङ, कविता लामा, सुधीर छेत्री, वत्सगोपाल, राजा पुनियानी, वासुदेव पुलामी, उदय थुलुङ, राजेन्द्र भण्डारी र पारसमणि शमका कथाबारे गहन र गम्भीर विमर्शहरू राखिएका छन्। नेपाली साहित्यमा यो सर्वथा नौलो प्रयोग हो। पाठक प्रतिक्रिया सिद्धान्तलाई आधार मानी सङ्ग्रहीत कथाहरूबारे उत्तरआधुनिक शैलीमा कथाविमर्श प्रस्तुत गरिएका छन्। आजको साइबर संस्कृति(टेक्नोकल्चर)-ले भित्र्याएको सामाजिक मूल्यहीनता तथा दिनप्रतिदिन क्षीण बन्दै गइरहेको मानवीय संवेदनालाई पनि यी कथाहरूले आत्मसात गरेको छ। कथाकारको लेखनलक्ष्य निर्योल्दा आफूले लेख्न भनेर सुरु गरेको कथामा के लेख्ने( विषयगत सन्दर्भ) र कसरी लेख्ने(रूप अर्थात् शिल्पशैलीगत सन्दर्भ) भन्ने कुराहरूमा कथाकार जुमेली निकै गम्भीर बनेका देखिन्छन्। आधुनिक नेपाली कथाको विकासप्रक्रियामा एउटा नौलो प्रवृत्ति, विचार, चेतना र शैलीमा लेखिएका कथाको रूपमा कठपुतलीको मनलाई मान्दा नमान्दै कथाकार जुमेलीका अझ नितान्त बेग्लो प्रयोग र प्रवृत्ति, नितान्त नौला शिल्पशैलीका बान्कीहरू बोकेर ऋतुखेल आजका पाठकको हातमा आइपुग्यो।
इन्द्रबहादुर राईले कठपुतलीको मन-मा कथा कहिल्यै नपत्याउनु, कथामा म एउटै सत्य बोल्छु, एउटै र माया सत्य। भनेका कुरालाई कथाकार जुमेली अनि जुमेलीपछिका केही कथाकारहरूले अझ गम्भीर विमर्श गर्ने प्रशस्त ठाउँहरू छोडिदिएका छन्। जुमेलीका पछिल्ला समयमा लेखिएका यी कथाहरूमा विधाभञ्जन, विधामिश्रणका साथसाथै जादुमय यथार्थ र स्वैकल्पनाको प्रयोग निकै प्रभावकारी र कलात्मक ढङ्गमा गरिएको पाइन्छ। जुमेलीको खेलिबस्छु खेल कति शीर्षक कथामा कथाको विषय नै खेल छ, जीवन बाँच्ने खेल, सत्यताको अनेक खेल, भ्रान्तिहरूको खेल। यी खेलहरू नै विभिन्न सन्दर्भ विभिन्न परिप्रेक्ष्यमा विभिन्न स्वरूपमा खेलिन्छ। कथाको पठनक्रममा पनि विभिन्न कथारूपहरू सिर्जन भइरहन्छ र पाठकहरूद्वारा यो काम स्वतः भइरहेको हुन्छ। फेरि कुन पठनलाई पत्याउनु, एकै परिप्रेक्ष्यबाट गरिएका विभिन्न पठनहरूमा केही केही साम्य हुन्छ तर कुनै पनि पठन सर्वसम हुँदैनन्, कारण कुनै दुइ परिप्रेक्ष्य सर्वसम हुँदैनन्।(राईः२०१४, पृ.१३२)
सञ्जय विष्टको जुनजस्तै घाम(२०१५)-मा समाविष्ट कथाकारको आँखा, राजयोग नपरेका युवराजहरू,अन्डियाज् गट् ट्यालेन्ट शीर्षक कथाहरूमा भूमण्डलीकरणका प्रभाव, उपभोक्तावाद र उत्तरऔपनिवेशिक बजारवाद, बहुसांस्कृतिक समय चेतनागत प्रभाव र छापहरूलाई सङ्कथनमा ल्याइएको छ।(जय क्याक्ट्सः२०१४, पृ.१२७) हाम्रो जातीय सामाजिक-सांस्कृतिक गतिविधिप्रति सरोकार राखेर सङ्कटमय त्रासदीय स्थितिले ल्याएको सामाजिक विडम्बना र विद्रुपता तथा त्यसप्रतिको श्यामव्यङ्ग्यात्मक विरोध र विद्रोह उनका केही कथामा पाइन्छ भने किनारीकृत हाम्रो जातीय स्वअस्तित्व र अस्मिताको तीव्र स्वर, उत्तरफ्रायडीय यौनमनोविश्लेषणात्मक स्वर र चेतना एवम् नारीमनको विमर्श आदि जस्ता समकालीन सन्दर्भहरू उनको कथ्यकथनशिल्पका केही मुख्य प्रवृत्तिगत अभिलक्षणहरू हुन्। यसैले विष्टका अधिकांश कथाहरूमा इतिवत्तात्मकताको झर्कोलाग्दो लम्बेतान सङ्कथन भेटिँदैन। पराख्यानात्मक शैलीमा लेखिएको एउटा सफल दृष्टान्त हो यसमा कथाभित्रै एउटा अर्को एउटा सबल कथाले बास गरेको छ। यथार्थको भ्रम सिर्जना गर्न र वैचारिक द्वन्द्वका चर्चामा डा. दिवाकर प्रधान, डा.राजेन्द्र भण्डारी, सचिन खवास, सूरज रोसूरी, उमेश उपमा आदि जस्ता जीवित सहभागीहरूले कथा कथ्यनिर्माणमा समेत प्रत्यक्ष-परोक्ष रूपमा कार्यकारी चारित्रिक भूमिका निर्वाह गरेका छन्। अतः ती जीवित पात्रहरू चरित्रमा अवतरित भएका छन्। कथामा पराइतिवृत्तात्मक शैलीको प्रयोग भए पनि लेखक-कथक-पाठकको सोझो सम्पर्कमा कथा यथार्थपरक इतिवृत बन्न पुगेको छ। कथाका पात्रहरू आफ्ना स्थिति र अवस्थाबारे सचेत पनि छन् साथै कथकले पाठकसित वार्ता गर्नु र पाठक प्रतिक्रियाको अपेक्षा गर्नु, कथानकलाई अरैखिक र विखण्डित इतिवृतमा प्रस्तुत गर्नु यी सबै उत्तरआधुनिक आख्यानलेखनकै मूलभूत विशेषता र अभिलक्षणहरू हुन्।
उदय थुलुङको एकान्तवासमा सङ्गृहीत प्रायः सबैजसो कथाको कथ्यभावभूमि प्रष्ट पार्नका निम्ति प्राक्कथनको रूपमा प्रत्येक कथाअघि नेपथ्य राखेका छन्। ती कथ्यका नेपथ्यहरूले कथाको यथार्थिक पृष्ठभूमि बुझ्नमा सहयोग पुर्‍याएको छ भने कथाको भावभूमिसित काल्पनिक कथातत्वको सम्मीश्रणतिर पनि यसले सङ्केत गरेको छ। कथाको कथ्य बुझ्नका निम्ति कथ्यको नेपथ्य पनि राख्नु भारतीय नेपाली कथालेखन क्षेत्रमा यो एउटा नौलो प्रयोगको रूपमा देखिन्छ। एकान्तवासको नेपथ्यमा राखिएका कथ्यपृष्टभूमिलाई सूत्रात्मक रूपमा जोड्ने एउटा प्रायोगिक आग्रहले प्रस्तुत सङ्ग्रहका कथाहरूले बेग्लै स्वाद दिन सफल बनेको छ। इन्सेक्ट किलर पारिजातको शिरीषको फूल उपन्यासको पुनर्लेखन र पुनर्सिजन हो। पारिजातका पात्रहरू सुयोगवीर, शिवराज, सकमबरी आदि पात्र-चरित्रका औपन्यासिक घटना-प्रसङ्गलाई यस कथामा विपठन प्रविधिद्वारा पुनर्निमाण गरिएको छ। पारिजातको शिरीषको फूलको आख्यान विसङ्गतिवादी प्रवृत्तिलाई अँगालेको देखिन्छ भने कथाकार थुलुङको इन्सेक्ट किलरको कथात्मक वस्तुविन्यासले सामाजिक-सांस्कृतिक सरोकारलाई औंलाएको स्पष्ट देखिन्छ। प्रस्तुत कथाको रचनाविधानमा प्रयोगधर्मिता छ। अधिआख्यानात्मक स्वरूप लिएको यस कथामा जीवनबोध र समयचेतनाको आख्यानात्मक सङ्कथन रहेको पाइन्छ। मानवीय मूल्यविघटनको सन्दर्भमा कथाको संरचनात्मक स्वरूप विनिर्मित छ, संवादको नाटकीयता छ, भ्रम र यथार्थको परिवेश सिर्जित छ।
सुरज धड़कनको घर सङ्ग्रहका कथाहरू श्रृङ्खलबद्ध शैलीमा लेखिएका कविताहरू झैं श्रृङ्खला शैलीमा लेखिएका छन्। कथाकार परशु प्रधानले सीताहरू शीर्षकमा श्रृङ्खला कथाहरू प्रकाशनमा ल्याएका थिए त्यसैको प्रभाव र प्रेरणाको फलस्वरूप सुरज धड़कन, प्रकाश हाङखिम आदि कथाकारहरूले पनि यस शिल्पशैलीमा केही राम्रा कथाहरू लेखेका छन्। युवा कथाकार सुरजको घरअन्तर्गत भूइँ, आधार, छाना, धुरी, कोठा, झ्यालहरूःपर्दाहरू, ढोका, भित्ता, परिवार, घर लगायत परिशिष्ट कथाको रूपमा भूमिका शीर्षकका कथाहरू समाविष्ट रहेका छन् र प्रत्येक श्रृङ्खला कथामा देवेन्द्र र निलुलाई प्रमुख सहभागीको रूपमा चयन गरेर नेपाली कथा लेखनमा नौलो लेखनशैली र परिपाटी कायम गरेका छन्। कथाकार सुरजले आफ्ना कथाहरूमा हाम्रो जातीय सामाजिक-सांस्कृतिक-राजनैतिक विसङ्गति र विडम्बना, विश्रृङ्खलता, परम्परागत रूढीवादी मान्यता, व्याप्त अराजकता र विद्रुपतालाई यथार्थवादी तथा स्वैरकल्पनात्मक प्रविधिको मिश्रित प्रयोगद्वारा निकै धारिलो तरिकाले प्रहार गरेका छन्। प्रस्तुत कथामा केही कथा छ सीता, सुजता, देवेन्द्र र निलुहरूको पनि। कथाभित्रै ठाउँठाउँमा कवितामय सौन्दर्यात्मक अभिव्यक्तिको प्रयोग पाइन्छ।
युवा कथाकार प्रकाश हाङखिमका सुनपसिना र ह्याङमेनको चिठ्ठीका कथाहरू जातीय अस्मिकाको संघर्ष, समाज-सांस्कृतिक अर्थहरूमा अस्तित्व सङ्कट तथा मानवीय अवमूल्यानलाई नै विशेष कथ्यवस्तुको रूपमा प्रयोग गरिएको छ। स्वैरकल्पनाको प्रयोग गरि लेखिएका अत्यन्तै लोभलाग्दा कथाहरूमा सुनपसिनालाई दृष्टान्तका रूपमा लिन सकिन्छ भने मिसल एसएलजी, प्रजातन्त्रको हार, आफ्नो हिस्साको जिम्मेवारी शीर्षक कथाहरूमा गोर्खाल्याण्ड आन्दोलनको समयमा दार्जीलिङ पहाडी अञ्चलमा भए-गरेका विभिन्न विभत्स घटनास्थिति, दार्जीलिङको अन्तर आवाज तथा जातीय उन्मुक्ति अनि चिन्हारीको आन्दोलनको विद्रुप स्थितिलाई देखाइएको छ। कथाकार असित व्यङ्ग्य गर्दै यसप्रकार लेख्छन्- सरकार प्रजा मारेर प्रजातन्त्रको रक्षा गरिरहेको हुन्छ। कतिपय कुराहरूमा सरकारले संविधान खुट्टाले टेक्छ अनि संविधानको जयजयकार गर्छ।(पृ.१२७)
कथाकार खडकराज गिरीका रूप प्रतिरूप, अभाव र शून्य विकल्पपछि प्रकाशनमा आएको नयाँ शिल्पचेतना तथा नवीन मूल्यबोधका समसामयिक कथ्यविषयप्रधान कथाहरूको सङ्ग्रह कालो सर्प र नयाँ प्रजन्म एउटा सफल र उत्कृष्ट कथाकृति हो। लामा छोटा गरी जम्मा ४३ वटा समसामयिक कथाहरू सङ्गृहीत रहेको प्रस्तुत सङ्ग्रहका अधिकांश कथाहरूले प्रतीकात्मक अर्थ र युगीन स्वरलाई सम्वहन गरेका छन्। गिरीका प्रायः सबैजसो कथामा बिम्बात्मक र प्रतीकात्मक भाषाको प्रयोग तथा अलिक बग्लै किसिमको शिल्प विधान र नवीन दृष्टिचेत राखेर कथाको कथ्य आधारभूमि निर्माण गरिएको भेटिन्छ। अतः सङ्ग्रहका सबैजसो कथाले नवीन दृष्टिचेतना र आग्रह राखेको पाइन्छ।
साँचो जस्तै कथाहरूका कथाकार सञ्जीव छेत्रीका कथालेखनमा लेखक र कथावाचक अर्थात् समाख्यातासितको सोझो सम्वादको प्रयोगलाई अझ नव्यकथ्यशैलीमा प्रस्तुत गरिएको भेटिन्छ। प्रत्येक जसो कथामा कथागत पात्रले लेखकीय सत्तासाई अर्थात् लेखकको एकाधिकारलाई अमान्य ठहर गर्दै पाठकीय स्वत्व र अस्मिताको वर्चस्वलाई कायम राखेको छ। यसप्रकार पाठकको बुझाइ र विमर्शलाई पराख्यानात्मक भाषिक खेलभित्र ल्याइएको छ। यसरी आजको कथालेखनमा नव्यभाषिक कथ्यशैलीको विकसित रूप सञ्जीवको कथामा स्पष्ट देखिन्छ। साहित्यलेखन समाज सरोकारको विषय भएकोले सामाजिक विविध सन्दर्भलाई सग्लो रूपमा चित्रण गरेर सकारात्मक नकरात्मक सन्देश दिन कथाहरू सफल बनेको छ। प्रस्तुत सङ्ग्रहका प्रायः सबैजसो कथाहरू स्वैरकल्पना, विनिर्माण तथा पराख्यानात्मक शिल्पप्रयोगमा निक्कै आकर्षक र प्रभावकारी बनेका छन् । कथाकार छेत्रीका कथा जस्ता ठानेर अनि मानेर पढिएका कथाहरू साँच्चिकै घटना(कथा) जस्ता छन् भने हलुका मानिएका, ठानिएका कतिपय कथ्यकेन्द्रीय विषयहरूले गम्भीर र गहन चिन्तनको नयाँ गोरेटो खन्ने काम समेत गरेको छ। कथालेखनमा उनले यसरी पाठकसित सोझै सम्वाद गर्नसक्ने कला निक्कै फरक किसिमले विकसित गरी आफ्नो कथालेखनगत शिल्प वैशिष्ट्यलाई अलग्गै चिनाउने प्रयास गरेका छन्।(क्याक्टसः२०१६,पृ ९९) रूसी समीक्षक मिखाइल वाख्तिनका सिद्धान्तहरूको आधारमा आज संवादात्मक समालोचना(Dialogic Criticism)को चर्चा हुन थालेको छ। यस समालोचना सिद्धान्तानुसार कुनै पनि कृति एक स्वरात्मक प्रकृतिको हुन्छ भन्ने केही छैन। कुनै पनि कृतिले विभिन्न स्वर र अर्थलाई समेटेर राखेको हुन्छ। कृतिभित्र कतिपय गौण ठानिएका अर्थात् दबिएर रहेका स्वरहरूलाई आवश्यकतानुसार कृतिबाहिर निकाल्न सकिन्छ र तिनीहरूबीच संवाद गर्न र आपस्तमा सहमति खोज्न सकिन्छ भन्न वाख्तिनको अवधारणा रहेको छ। (गौतमः२०६१,पृ९८) अतःकथा भन्नकै खातिर लेखिएको अबका कथामा पाठकसमाजलाई दिन सक्ने ठोस कुरा केही पनि हुँदैन।
छुदेन काविमो युवापुस्ताका एकजना उदयीमान प्रतिभा हुन्। उनको भर्खरै एघारवटा समसामयिक विषयकेन्द्रित कथाहरूको सङ्ग्रह 1986 शीर्षक बोकेर प्रकाशनमा आएको छ। काविमोका विचारप्रधान कथाहरू समसामयिक समयचेतनाले उद्‍बोधित छन् र ती कथाहरू आजको हाम्रो समाजका वास्तविक छाँया हुन्। व्रिटिश शासनकालदेखि चर्किँदै आएको दार्जीलिङको भुइँ सन् १९८६ मा अझ देखिने र दुःख्ने गरी पटपटी फुटेको हो। यहाँको सामाजिक-सांस्कृतिक, वैचारिक-मानसिक, आर्थिक-राजनैतिक भूगर्भले साँच्चै वास्तविक रूप देखाएको हो। यस्ता विषयहरूमा योजनागत साहित्यिक अभिलेखन नभएकैले साँचो साहित्यिक मूल्याङ्कन पनि हुन सकेन भन्ने कुरा कृतिको भूमिकामा राजा पुनीयानीले पनि सङ्केत गरेका छन्। अतः कथाकार छुदेनको कथालेखनमा समयचेतनाको पीडा, इतिहासबोधको उज्यालो प्रकाश तथा समाज-सांस्कृतिक सरोकारका समसामयिक विविध सन्दर्भहरूको निकै लोभलाग्दो ढङ्गमा प्रस्तुति पाइन्छ।

मूल्याङ्कन एवम् उपसंहार
आज भारतमा लेखिँदै आएका नेपाली कथामा केही लोभलाग्दो, ग्रहणयोग्य र गहिरो अध्ययन-अनुशीलन योग्य पक्षहरू देखिरहेका छौं र यी प्रवृत्तिहरू नै नवलेखन चेतनाका मूलभूत विशेषता, सम्भावना र अभिप्राप्तिहरू हुन्। वास्तवमा रोलाँ वार्थले लेखकीय मृत्युको घोषणा गरेपछि नै लेखकको सट्टा पाठकहरूको भूमिका निकै महत्वपूर्ण देखिन र मानिन थाल्यो। एउटा पाठको विपठनबाट धेरैवटा विपाठहरू विनिर्मित हुन थाले। पाठमा निर्देशित, निश्चित तोकिएका अर्थहरू भत्किन थाले र अनेक अर्थहरूको खोजी हुन थाले। परम्परागत कथाहरूको स्थानमा अकथा, कथानकहीन कथा, विकथा अर्थात् विनिर्मित कथाहरूले विस्तारै आफ्नो अस्तित्व कायम गर्न थाल्यो। अतः अन्य साहित्यिक विधाहरूको तुलनामा भारतीय नेपाली कथा लेखन पनि नवचेतनावादी स्वर र शिल्पशैली तथा समसामयिक चिन्तनको अन्तर्मिश्रणबाट सबल हुँदै आइरहेको देखिन्छ।
भारतीय नेपाली कथालेखनयात्रा समयसापेक्ष लेखनगत विविध मूल्य मान्यता, प्रयोग पद्धति, प्रवृत्ति र प्रकृतिलाई सकार्दै नकार्दै जुन प्रकारको नौलोपनको आग्रह आत्मसात् गर्दै अग्रसरित भइरहेको देख्दा अब भारतीय नेपाली कथाहरू पनि त्यति कमजोर छैन र विश्वस्तरीय कथालेखनको दाँजोमा कुम जोरेर हिँड्न सक्ने सामर्थ्य राखेको देखिन्छ। अतःभारतीय नेपाली कथालेखनमा नयाँ चेतना र शिल्पशैलीलिएर केही भिन्न रूपमा देखा परेका कथाकारहरूमा इन्द्रबहादुर राईको पछिपछि प्रवीण जमेली, उदय थुलुङ, मिङ लिवाङ, सञ्जय विष्ट, सुरज धड़कन, प्रकाश हाङखिम, सञ्जीव छेत्रीका साथसाथै कालूसिंह रनपहेंली, खडकराज गिरी, सतीश रसाइली, छुदेन काविमो, हरिश मोक्तान अल्लरे प्रभृतिका कथालेखनमा नवलेखनको स्पष्ट अनुहार देखिन्छ। आजका कथाले वैचारिक लेखनका साथसाथै सौन्दर्यचेतना र सामाजिक सरोकारलाई समेत उत्तिकै महत्व दिइएको छ। कथाको भाषिक शिल्पशैली सहज सम्प्रेष्य र बोधगम्य तथा सरल सरस र पाठकमैत्री प्रकृतिको छ। आजका केही नवोदित कथाकारहरू आफ्ना अग्रज कथाकारहरूले निर्माण गरेका वस्तुविधान र वस्तुप्रयोगलाई जतिसक्दो परित्याग गर्दै नव वस्तु र शिल्पसन्धानतिर अग्रसर बनेको देखिन्छ।

प्रमुख सन्दर्भ विवरण-
सुवेदी, राजेन्द्र र गौतम (सम्पा.,२०६८) रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक र प्रायोगिक दुवै खण्ड),काठमाडौः रत्न पुस्तक भण्डार
उप्रेती, सञ्जीव (२०६९)- सिद्धान्तका कुरा, चो. सं, काठमाण्डौःअक्षर क्रियसन्स् नेपाल
पौड्याल,परशुराम (२०६६)- कथाको रूपविन्यासःसिद्धान्त र विवेचना,काठमाण्डौःबुद्ध ऐकेडेमिक पब्लिसर्स
भट्टराई, गोविन्दराज (२०६४)- उत्तरआधुनिक विमर्श, काठमाण्डौः मोर्डन बुक्स्
भट्टराई, गोविन्दराज (२०६१)- आख्यानको उत्तरआधुनिक पर्यावलोकन, काठमाण्डौः रत्न पुस्तक भण्डार
गौतम, कृष्ण (२०६७)- उत्तरआधुनिक संवाद, काठमाण्डौःभृकुटी ऐकेडेमिक पब्लिकेसन्स्
नामदुङ, जीवन (सम्पा.,सन् २००८)- स्वतन्त्रोत्तर भारतीय नेपाली कथा , नयाँ दिल्लीः नेशनल बुक ट्रस्ट, इण्डिया
छेत्री, राजकुमार (सन् २०११)- अवलोकन अवबोधन, दार्जीलिङः मनमाया प्रकाशन
राई, इन्द्रबहादुर (सन् २०१४)- सम्पूरक, कालेबुङः उपमा प्रकाशन
तामाङ, पेम्पा (सन् २००५)- आख्यानदेखि पराख्यानसम्म, गान्तोकः सरिता प्रकाशन
छेत्री, राजकुमार (सन् २०१३)- सिर्जनाको समावलोकन,दो.सं. दार्जीलिङः मनमाया प्रकाशन
छेत्री, राजकुमार (सन् २०१४)- कृति आलोकन, दार्जीलिङः मनमाया प्रकाशन
योञ्जन, जस (सन् २०१४) परख, दार्जीलिङः श्याम ब्रदर्श प्रकाशन

साहित्यिक पत्रिका र जर्नल-
नेउपाने, पशुपति (२०६७)- उत्तरआधुनिकतावाद, गरिमा, जेठ-, पूर्णाङ्क-३३०, वर्ष-२८, अङ्क-६, काठमाडौः साझा प्रकाशन
श्रेष्ट, दयाराम-(२०५९)- नेपाली कथासाहित्यको विकासक्रम र वर्तमान सन्दर्भ, समकालीन साहित्य(नेपाली कथा-समालोचना विशेषाङ्क-
१),पूर्णाङ्क-४५, वर्ष-१२, अङ्क-३, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
चापागाई, निनु(२०६१)- नेपालमा उत्तरआधुनिक विर्मश र उत्तरआधुनिकतावाद, समकालीन साहित्य, पूर्णाङ्क-५५, वर्ष-१५, अङ्क-१,
काठमाडौःनेराप्रप्र
गौतम, लक्ष्मणप्रसाद(२०५९)- नेपाली कथामा उत्तरआधुनिक चेतना, समकालीन साहित्य(नेपाली कथा-समालोचना विशेषाङ्क-१),पूर्णाङ्क-४५,
वर्ष-१२, अङ्क-३, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
गौतम, कृष्ण(२०६१) वर्तमान नेपाली साहित्यमा नारीलेखन उत्तरआधुनिक परिप्रेक्ष्यमा स्रीवादी पठनको एक चित्र, समकालीन साहित्य, पूर्णाङ्क-
५५, वर्ष-१५, अङ्क-१, मकाठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
क्याक्ट्स, जय(२०१०)- भारतीय नेपाली कथा र समकालीनता, चरित्र (कथा विशेषाङ्क, वर्ष-२५, पूर्णाङ्क- १२), कालेबुङः चरित्र प्रकाशन
क्याक्ट्स, जय (२०१६)- भारतीय नेपाली कथालेखनमा नयाँ कथाहरूको स्वादः साँचो जस्तै कथाहरू, अध्याय, गीताञ्जली साहित्य संस्थान, सिटोङ
छेत्री, सुधीर (२०१४)- उत्तरआधुनिक आख्यानका स्वरूप र अभिलक्षणहरू, चरित्र (समालोचना विशेषाङ्क, वर्ष-२८, पूर्णाङ्क- १३), कालेबुङः चरित्र प्रकाशन
लामा, कविता(२०१०)- समसामयिक नेपाली कथा लिवाङ अनि विष्ट, चरित्र (कथा विशेषाङ्क, वर्ष- १५, पूर्णाङ्क-१३) कालेबुङः चरित्र प्रकाशन
भण्डारी,राजेन्द्र (१९९१)- भारतीय नेपाली कथाः एउटा सर्वेक्षण, स्रष्टा (भारतीय नेपाली कथा विशेषाङ्क, वर्ष-१२, अङ्क ३०),गेजिङःपश्चिम
सिक्किम साहित्य प्रकाशन
छेत्री, राजकुमार(२०१५)- समकालीन भारतेली नेपाली कथामा उत्तरआधुनिक चेतना, (साहित्य अकादमी नयाँ दिल्ली र नेपाली साहित्य सम्मेलन,
दार्जिलिङको संयुक्त तत्वावधानमा समायोजित भारतीय नेपाली साहित्यलेखनमा उत्तरआधुनिकता विषयक दुई
दिवसीय(अक्टुबर १७ र १८, २०१५ )साहित्य सेमिनारमा पहिलो दिन(अर्थात १७ अक्टुबर, २०१५)को प्रथम सत्रमा प्रस्तुत
गरिएको सङ्गोष्ठी पत्र)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 पौष, 2073

लेखकका अन्य रचनाहरु