बीपी राजमार्गको यात्रा: धरानदेखि काठमाडौंसम्म

- इन्दिरा दिक्षित

इष्टमित्रको आग्रहलार्ई टार्न नसकी काठमाडौबाट धरान गएकी थिएँ । सुन्दर नगरी धरानले मलार्ई निकै प्रभावित बनायो । मोहक धरानको वातावरणमा म रंगिएछु । पाँचदिनको बसाइ मेरा लागि अविष्मरणीय बन्न पुग्यो । मन अनौठो कल्पना गर्न पुगेछ, कठमाडौंदेखि मधेशतिरै बिहे हुनु थियो त नियतिले यतै किन बनाएन होला ! फेरि मनको अर्को कुनाले भाग्यलार्ई दोष दियो । सबैले भनेजस्तै पाएको भए जीवन कस्तो हुन्थ्यो होला ! सोचे र चाहेजस्तै सबैलार्ई काहाँ मिल्छ र ? मन त मनै न हो सुन्दर बस्तुतिर लालायित हुनु मनको स्वभाव र धर्म नै हो ।
पहिलो पटक धरान घुम्दै थिएँ । विजयपुर र भेडेटारको फेदीमा रहेको स्वच्छ सफा नगरी धरान । काठमाडौंको धुलो, मैलोको बानी परेकी म, नेपालको कुनै ठाउ पनि यति सफा हुँदोरहेछ भनेर पत्याउनै मुस्किल भयो । मनले छाड्न नमाने तापनि फर्कनुपर्ने बाध्याता छँदै थियो । क्षणिक जता रुमल्लिए पनि बासस्थान त फर्कनैपर्छ ।
धरान जाँदा रातीको यात्रामा कतै केही देखिएको थिएन । उत्ति रमाइलो लागेन, अँध्यारो दुनियाँ हेर्न । फर्कंदा त उज्यालो दिनमा नै यात्रा गर्ने निधो गर्यो । बाटोभरिको दृश्य आँखाभित्र समेट्ने लालच पनि त थियो । धरानदेखि काठमाडौंसम्मकै बस थियो । बिहान पाँचबजे नै बसपार्कमा पुग्न पर्ने बाध्यताले आधी रातमै उठायो । नित्यकर्म पछि एककप चिया पिएर ४.३० तिर भानुचोक पुग्यौं । बसमा हामी दुईजना फर्कंदै थियौ । अलि पर इटहरी पुगेपछि एउटी किशोरी सायद १६/१७ जतिकी होलिन् र उनीसँगै एउटी अधबैंसे आइमाई ४५,५० जतिकी हुदी हुन् दुबैजना चढे । हामी सँगैको अघिल्लो सिट खाली थियो त्यसैमा बसे, सायद त्यो सिट उनैको नाममा आरक्षित थियो होला ।

बसभरी त थुप्रै मान्छे थिए सबैको के गन्ती हुन्छ र, तर उन्को हाउभाउले मलाइ निकै आकर्षित बनायो । गहुँगोरी, मंगोलियन अनुहार परेकी लामो कपाल सामान्य कद भएकी, थोरै बाक्लै शरीर भएकी ती किसोरी घरी घरी सहचालकको ध्यान आफूतिर तान्न खोज्दै थिइन् । कैले झ्याल लगाउने बहाना, कैले पर्दा नमिलेको बहाना त कैले क्यासेटको गीत राम्रो भएन भन्दै अर्को गीतको आग्रह गर्दैथिइन् । केटोमान्छे अनि तन्नेरी २४/२५ वर्ष जतिको सहचालक पनि त के कमको थियो र ! किशोरीको रँगमा ऊ पनि रँगिन थाल्यो । मानौ बसमा अरु कोही नभएर उनै दुई मात्र थिए । बिहानको करिव ७,३० तिर बस कोशी ब्यारेज नजिकै एउटा चिया पसलमा रोकियो, चिया नास्ता र अरु आवश्यक कार्यको लागि होला ।
बस यात्रीहरु सबै चिया नास्ता र अन्य कार्यतिर लागे । सहचालक भने किशोरीको नजिकै नास्ताको आग्रह गर्दै थियो । हामी पनि चिया पसल तिर लाग्यौ । त्यो ठाउँमा दूधको शुध्द पेडा पाइने रहेछ । सबैले किन्दै थिए, केही सौगात हुन्छ भनेर हामीले पनि किन्यौं । केही बेरमा सहचालक पनि पेडाको बट्टा बोकेर बसभित्र पस्यो र उनै किशोरीको हातमा थमायो ।
आधा घन्टा जतिको रोकाइ पछि बस फेरि बाटो लाग्यो । तराईको एकनास बाटोबाट बस ९ बजेतिर जनकपुरको बर्दिवास पुग्यो । बर्दिबासबाट तराई र पाहाडको बाटो छुट्टियो । हाम्रो बस त्यताबाट तराईको बाटो छोडेर सिन्धुलीको पाहाडीबाटो समात्न पुग्यो । यही सिन्धुलीको बाटो हुदै हामीलाइ काडमाणडौ पुग्नु थियो ।
सिन्धुली बर्दिवास सडक जापान सरकारको सहयोगमा भर्खरै निर्माण गरिएको नयाँ र मजबुत सडक हो, यो अल्लि साँगुरो त रहेछ तैपनि हामीले त्यतैबाट हिड्ने निधो गरेरर हिंडेका थियौं ।
उकालो अनि अग्ला रुखहरुले भरीभराउ जङ्गलको बिचमा सर्प हिडेजस्तै बाटो थियो । अग्ला अग्ला साल सँगै अरु केकेका रुख म त्यति चिन्दिन थिएँ। सालचाहि स्पष्ट चिन्थें किनकि त्यो विशेष प्रकारको बलियो अग्राख गनिन्थ्यो । बाटोको दुबैतर्फ निकै घना जङ्गल थियो । रुखैरुख मात्र देखिन्थ्यो । ध्यानले म अग्लाअग्ला रुखहरु हेर्दै थिएँ कानमा तिनै किशोरीको आवाज पर्यो । मेरो एकतमासको हेराइ भङ्ग भयो । “दाइ असाघ्दै गर्मी भयो यो झ्याल खोल्दिनु न !!’ सहचालक पनि प्रफुल्ल हुँदै झ्याल खोल्न तम्सियो । यो झ्याल त खोल्न बन्द गर्न सजिलै छ, म पनि सक्छु, फेरि यति तरुनीले नसक्ने त के कुरा हो र म दङ्ग परेर त्यता हेर्न थालें । सायद अरु यात्रीहरु पनि हेर्दै थिए होलान् ! मैले याद गरिन ।
करिव ११ बजेतिर सिन्धुलीको एउटा होटलमा खाना खान बस रोकियो । भोक त सबैलाई लागेकै थियो, हतारिदै सबै ओर्लिए, म पनि ओर्लिएँर हातमुख धुनतिर लागें । धारा ट्वाइलेट अलि परै थियो, सकेर फर्कदा फेरि उही दुईजना कुरा गर्दै थिए । वास्ता नगरुँ भन्दा पनि कानमा आबाज पर्यो । “नाइ के दाइ, म कुखुराको मासु खान्न मलाई मनै पर्दैन” किशोरीले भन्दै थिइन् । “त्यसोभए माछाको मासु सँगै भात खाऊ न त है ! भोकै बस्नुहुन्न के ।” अरु केके भन्दै थिए कुनि म खुरुखुरु आफ्नो बाटो लागेँ । आफ्नो खाना खाइसकेर फर्कदा कुनामा बसेर दुबैजना मजाले सँगै खाइरहेको झुलुक्क देखें, म आफ्नो बाटो लागें ।
सबैजना बसिसकेपछि बस फेरि हुइँकियो । सिन्धुलीको रमणीय ठाउँ माडी, गडी आदि धेरै अग्लो ठाउँ, अनि यस्तो अग्लो ठाउमा बनेको बाटो हेर्दाहेर्दै म दङ्ग परेछु । ओहो ! यति अग्लो डाँडोको थुम्कोसम्म पनि कसरी यस्तो मजबुत बाटो बनाएको होला ! लाग्छ जापानले आफ्नो सम्पूर्ण कला खन्याए जस्तै देखिन्थ्यो ।
निकै माथि बाटो, निकै तल छङ्गाछुर भिर ! माथिदेखि तलसम्म हेर्दामा निकै काहाली लाग्ने । म त इतिहास सम्झन थालेछु, सिन्धुलीमा अँग्रेजलाई पराजित गरेको युध्द, यत्ति माथिबाट गुल्ट्याएको ढुँगाले ती अङ्ग्रेजलाई कसरी माथि आउन देओस् त ।
अग्लो सिन्धुलीको ठाडो छिचोल्दै गाडी खुर्कोट पुग्यो । परपर अग्ला डाँडा देखिन्थे । तल तल ठुला नदी बगेका देखिन्थे । डाँडाको टुप्पोमा एउटा दुइटा घर कसरी बसेका होलान् ! देखेर आश्चर्य लाग्यो । काठमाडौंको सुविधा सम्पन्न ठाउँमा बस्दा त चाहिएको चिजको सधैं अभाव हुन्थ्यो तर यस्तो विकट र पाखोमा पनि त मान्छेले निर्वाह गरेकै त छन् नि । कसरी होला मलाई आश्चर्य लागिरह्यो । म सोच्न थाल्छु जसो गरे पनि त मान्छे बाँचेकै हुँदारहेछन् ! सानोसानो कुराको अभावमा पनि हामी बस्न सक्दैनौं, जसरी पनि चाहिन्छ ।
एक दिन पानी ट्याङ्कीमा नभए घरभरी हाहाकार हुन्छ तर यस्तो अग्लो डाँडोका मान्छेले कहाँबाट पानी ल्याएर खाँदा हुन् । यो देशमा अधिकाम्स घरहरु यस्तै बनेका छन्, यस्तो ठाउँमा बसेर कसरी निर्वाह हुदोहो ! बिना पुर्वाधार पनि त मान्छे बॉंचेकै त छन् । नेपालीको नीयतिनै यस्तै होला ।
मेरो ध्यान फेरि तिनै किशोरीले तानिन् ! “दाइ लौन असाध्यै प्यास लाग्यो के, पानी छैन
भन्या ?”
कैले उन्ले आवाज देलिन् भनेर पर्खेर बसेको झै देखिन्थ्यो सहचालक । एकदम फरासिलो पाराले पानीको बोतल किशोरी छेउ पुर्याएर भनिहाल्यो— “यी के त बैनी तिम्लाई नै भनेर अघिदेखि नै राख्दिएको ।” किशोरी दङ्ग हुँदै पानी पिउन थालिन् ।
गाडी घुर्मी पुग्यो, पारितिर सडक बनेको स्पष्ट देखियो । फेरि अर्को ठुलो सडक बन्दै रहेछ । यो खुसीको कुरा हो । नेपालका प्रत्येक ठाउँ सडकले भेट्नुपर्छ, तब न देशको विकास हुन्छ । तराईदेखि पाहाडसम्म अझ हिमालसम्म जोडीनुपर्छ । सडकले सबैलाई नजीक्याउँछ । अपन्वत्व बढेपछि ऐलेजस्तो तेरो र मेरो भन्ने कलह हुदैन होला । जनता एकभए फुटाएर राजगर्ने नेताको के लाग्थ्यो र ।
दुधकोशी, भोटेकोशी, तामाकोशी हुँदै गाडी सुनकोशी पुग्यो । आहा !! हाम्रो देशमा कति धेरै नदी । यिनै सप्तकोशी मिलेर तराई पुग्दा त्यत्रो सप्तकोशी जलाधार परियोजना बनेको छ, त्यसैमा भारतको रजगज पनि छ । कति अग्लो हिमालदेखि बगेका अमृतजस्तै हाम्रा नदीहरु ! सम्झँदै म गौरवान्वित हुन्छु । एकैछिनमा मन फेरि खुम्चन्छ, खै र यी नदीको सदुपयोग ? अमृत जस्तै नदी बगेर खेर गएको देख्दा मेरो मन कुँडिएर आयो । कति धनी विकसित देश पनि घुम्ने शौभाग्य मिलेको थियो र घुमेकी पनि छु । तर त्यता यस्ता नदीनाला कतै देखिन, खाली नुनिलो समुन्द्र मात्रै थियो । ओहो ! ती विकसित देशमा यस्तो नदी भएको भए कस्तो हुन्थ्यो होला !! तर हाम्रो देशका नदीनाला त कौवालाई बेल पाके सरह जस्तै छ । माल पाएर चाल पाए पो र ! देश विकास गर्छु भनेर चुनाव जितेर गएका नेताहरु आआफै झगडामा व्यस्त छन्, हाम्रो मन कुँडिएर मात्रै के हुनु र खै !
दिनको करिव २ बजेको थियो बस एकछिन रोकियो । सायद चालकलाई थकाइ मार्न चिया पिउन आदि इत्यादिको लागि होला । हामी पनि ओर्लियौ । चियाको तलतल त लागेकै थियो । नजिकै सानो पसलतिर लाग्यौ । नजर फेरि उही किशोरीमा पर्यो, सहचालकले चिसो कोकाकोला हातमा लिएर पिउन आग्रह गर्दैथ्यो । “नाइ के दाइ, मलाई कोकाकोला मन पर्दैन फ्यान्टा चाहिन्छ” ती किशोरीको नखरा अर्कै थियो, “फ्यान्टा सकिएछ के बैनी यही पिऊन ल । “सहचालक निकै आत्मीय भावले बोल्दै थियो । किशोरीले नमानेपछि सहचालकले किशोरीको हात समाएर अर्को पसलतिर लान थाल्यो, किशोरी उसको इसारामा उसले जता भन्यो त्यतै जान तयार परेको जस्तो भान हुँदै थियो । अर्काे पसलमा फेन्टा भेटिएछ । दुबै दङ्ग हुँदै पिउँदै थिए । मलाई चाहि अचम्म लाग्यो, यतिचाँडै अन्जान मान्छे यति नजिकै कसरी हुन्छ होला ! हातै समाएर हिड्न मिल्ने गरी !! सायद म निकै सँकुचित सोच भएकी महिला भएर पो यस्तो भएको हो कि । न उनीहरु साँचैका निकट पो थिए कि ! वा पहिलेदेखिकै मित्रता पो थियो कि त ! मनमा अनेकौ बिचार उर्लियो, समयले कोल्टो फेरेको छ । आजको आधुनिक परिवेश बुझ्न निकै कठिन हुन्छ
करिव आधाघन्टापछि सबैजना चडे, बस फेरि हुइँकियो । दुम्जातिरको बाटो हुदै हिंड्दै थियो । पारि देखिएको दुम्जाडाँडोले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ । दुम्जाको आफ्नै इतिहास छ । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पुर्ख्यौली थलो त्यही दुम्जा डाँडो थियो । नेपालमा पछिलो समयसम्म पनि राजनीतिमा यिनै कोइराला वंशको वर्चस्व कायम थियो । बिराटनगरतिर त पछि यतैबाट सरेका रहेछन् ।
सडकदेखि अलि पर सुनकोशी नदीको किनारमा प्रसिध्द कुशेश्वर महादेवको मन्दिर स्पष्ट देखिन्थ्यो । ऐले दर्शन गर्न नमिले तापनि धेरै अगाडि कुशेश्वर महादेवको दर्शन गर्ने शौभाग्य जुरेको थियो । निकै पुरानो र कलात्मक मन्दिर हुनुका साथै झट्ट हेर्दा पशुपतिनाथको मन्दिरजस्तै झल्को दिलाउने, चारैतिर ढोका भएको अगाडि बसाहा अनि ठुलो ठाउँ ओगडिको शिवमन्दिर छ । नजिकै बगेकी सुनकोशीले बाग्मतीको याद पनि दिलाउछ । शान्त र सुन्दर हरियालीले भरिएको वातावरणमा अवस्थित कुशेश्वर माहादेवको मन्दिरलाई मैले मनमनै दर्शन गरें !
“फेसबुक चल्दैन दाइ यता ?” तिनै किशोरीको आवाज कानमा पर्यो, "चल्न त पर्ने हो नेटवर्क छैन कि ! खै म हेरुँ ?” सहचालक केठीसँगै बिचैमा मोवाइल समाएर बस्यो । अब ऊ केके सिकाउँदैथ्यो कुनि । सँगै बसेकी महिला पनि चुपचाप हेर्दै थिइन् ।
गाडी अब उकालो लाग्दै थियो । सिन्धुली सकिएर सिन्धुपाल्चोकतिर लाग्दै थियो । सुनकोशी नदी पनि देखिन छाड्यो । सानो रोशी खोला देखिन थाल्यो । अब त बाक्लो बस्ती पनि देखिन थाल्यो । सायद राजधानी नजिकको जिल्ला भएर होला ।
भकुन्डे बेसी पुगिएछ । हाम्रो बस निकै माथि र तल उपत्यका देखियो र बाक्लो बस्ती पनि रहेछ । रोशी खोलाको किनार, ठुलो उपत्यका, उब्जाउ भूमि सम्पूर्ण रुपमा मानव बस्तीको लागि उपयुक्त ठाउँ रहेछ भकुन्डे बेसी । अझ मुख्य कुरा यातायातको सुविधाले पनि साथ दिएको रहेछ । माथि डाँडाबाट हेर्दा निकै मोहक बस्ती रहेछ । ठुला र झुरुम्म परेका घरहरुले लाग्थ्यो भकुन्डे बेसीमा बाच्न जीवनका लागि चाहिने आधारभूत सरजाम अलि सहज होलान् ।
चार बजेतिर नेपालथोक हुँदै काभ्रे पलान्चोक पुगियो । काभ्रेको मंगलटारमा बस रोकियो । हाम्रो बस अलि चाँडो भएछ, यता गति सीमितको पाबन्दी रहेछ । चेकजाँचमा परिएला भनेर वरै रोकेका रहेछन् । सबै जना गाडीबाट तल झरे । म भने अन्यमनष्क भावले यताउता हेर्दै थिएँ । मेरा आँखा फेरि उही किशोरीमा परे । सहचालक र उनको अब निकै राम्रो सम्बन्ध बनेजस्तो देखिन्थ्यो । गफ गराइ र हाउभाउले निकै पैलेदेखिका चीरपरिचित जस्ता देखिन्थे । हामी दुई पनि तल ओर्लियौ । चिया पिउने तलतल लाग्यो, वरिपरि अरु पसल पनि थिएनन् । किशोरी र सहचालक भएतिरै लागियो ।
सहचालक भन्दैथियो, ‘ऐले कता बस्छ्यौ त बैनी ?”
साथैमा रहेकी अर्की अधबैंसे महिलातिर देखाउँदै किशोरीले भनिन् “आमाको फूपुको घर छ, बानेश्वरमा ऐले त त्यतै जाने हो, पछि कता हुन्छ था छैन ।" मैले बल्ल बुझें । अध बैंसे महिला किशोरीकी आमा रहिछन् । म चिया पिउँदै उनको गफतिर ध्यानले सुन्न थाले, उनी आफ्नो यथार्थ बताउँदै थिइन् ।
भरपुर घरपरिवार भएको तर भुइँचालोले सर्वस्व बनाएको रहेछ । यतै काभ्रेतिरै तिनको पहिला घर रहेछ । "त्यहीं पर त थियो नि दाइ हाम्रो घर, ऐले त कता हो कता ।" उनी अरु पनि धेरै सुनाउँदै थिइन् । भत्कँदा घरभित्रका चौपायाको साथै घरमूली अनि सबैका सहारा बाबु पनि मरेछन् । दाजु, आमा र उनीमात्र जीवित भएछन् । बस्ने ठाउँ नभएपछि धरानतिर आफन्तको घर रहेछ उतै लागेका रहेछन् । ऐलेसम्म दुखजिलो गरेर गुजारा गरिरहेका रहेछन् । त्यतैबाट दाजु विदेशिएछ । कामको अभाव अनि अर्काको घरमा धेरै बस्न मन भएनछ । अझ आफन्तको व्यवहारमा परिवर्तन भएको देखेर छोडेर हिडेका रहेछन् । कठमाडौमा भए त जसरी पनि काम पाइन्छ । भाँडा माझेर भए पनि जीविका चलाउँला भन्ने उद्देश्यले आमाछोरी यतातिर लागेका रहेछन् । अब भने मलाई ती किशोरीको अनुहार देखेर सारै मायाँ लाग्यो ।
सामान्य परिवारमा जन्मेकी केटी पाहाडिया जीवन भए पनि खान लाउनको दुःख नझेलिएकी साथीभाइसँग हाँसीखेली जीवन बिताउँदै गरेकी किशोरी आज आफ्नो जीवन मात्र हैन आमाको समेत जिम्बेवारी उनकै काँधमा आएको रहेछ । काठमाडौमा पनि त बस्ने ठाउँको टुङ्गो लागेको रहेनछ । " कतै काम पाइन्छ होला नि हैन त दाइ" उनको त्यो भनाइले मेरो मन निकै द्रवित बनायो । बोलाएर भनौ कि तिमी मेरो घर जान्छ्यौ त ? तर कसरी भन्नु र ! मनले सोचे झै कामले गर्न गारो हुन्छ । भरपुर परिवारभित्र मेरो कुरा सबैले मान्लान् जस्तो लाग्दैन । फेरि दुनियॉंमा यिनै किशोरी जस्ता अरु धेरै किशोरीहरु होलान्, ती सबैको अविभावक म कसरी बन्न सक्छु र ! मन मारेर चुपै लागी बसिरहें । फेरि बस हिंड्ने सुर गर्यो र सबै जना चढ्यौ ।
घाम ओरालो लागिसकेको थियो । पाँच बजेतिर धुलिखेल हुँदै साँगा पुग्यो । साँगामा निकै लामो गाडीको लर्कन चेकजाच गर्न बसेका रहेछन् । निकै बेरको पर्खाइपछि हाम्रो पालो आयो । प्रहरीको चेकजाँचबाट निवृत्त भएपछि बस हिड्यो। मनमनै आनन्द लाग्दैथ्यो अब त धर नजिक आयो । भक्तपुर, तीनकुने हुँदै गाडी गौशालापुग्यो । बाटो अति जाम, चाबहिल पनि उस्तै, सदाबाहार गाडीको लर्कन । यत्तिको गाडी कता जान हिडेका होलान् ! फेरि यसो हेरें ती किशोरी नजिकै बसेको सहचालक । बिचरी यिनी के गरेर गुजारा गर्छिन् होला ! यो सहचालक निकै छट्टु जस्तो छ , कतै बम्बै त पुर्याँउँदैन ? यो सबै मैले सोच्नु पनि बेकार छ । मैले यिनका लागि केही गर्न सक्ने त हैन । यो उनको जीवन हो नियतीले जता लैजाला उतै जालिन् । समयको चपेटाले उनलाई बाँच्न सिकाउँछ । सोच्दासोच्दै हाम्रो गन्तव्य पनि आएछ । बसबाट ओर्लिएर ट्याक्सीबाट घर पुग्दा बेलुकीको ६ बजेको थियो । बाटो भरि जेजसो भएता पनि, यात्रा भने मोहक नै भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 पौष, 2073

लेखकका अन्य रचनाहरु